Category: स्वास्थ्य

  • ११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप

    ११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप

    काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् ।

    सबैभन्दा कम खोप कर्णाली प्रदेशमा लगाइएको छ । कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन् । यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको छन्।

    जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ । महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमले खोपलको उपलब्धिका आधारमा कोशी प्रदेशमा धेरै देखिएको बताए । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइनेछ।

    डा। गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । गौतमका अनुसार लक्षित वर्गको ९० प्रतिशतभन्दा बढी खोप लिइने लक्ष्य राखिएको छ । नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ। चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

    एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन। वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन।

    त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ।’

    एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ। एचपीभी भाइरस संक्रमण पुरुषबाट सर्ने गर्छ। त्यसकारण यौन सम्पर्कका क्रममा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ। यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ। २५ वर्ष उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसमा संक्रमण हुन्छ, सर्छ।

    धेरैजसो मानिसमा भाइरस प्रवेश गरेको १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन् । महिनावारी भएको बेला एचपीभी खोप लगाउन मिल्छ । किशरीहरूमा महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपीभी खोप लगाउँदैमा किशोरीको महिनावारीको समय प्रभावित हुँदैन।

  • विश्व स्वास्थ्य संगठनबाट अर्जेण्टिना पनि बाहिरियो

    विश्व स्वास्थ्य संगठनबाट अर्जेण्टिना पनि बाहिरियो

    काठमाडौं । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ । “राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका हुन् ।


    एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमिमा पुर्‍याएको तर्क गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो ।

    पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘ (अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।”

    डब्लुएचओले अर्जेन्टिनामा काम गर्छ । तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लुएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए । यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्यलाई फिर्ता लिने योजना घोषणा गरेका थिए ।

  • आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

    आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

    काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

    नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

    यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे । उनले भने, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।”

    स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

    चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताइन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिइन् ।
    उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उनले भनिन्, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।”

    नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।

    स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । उनले भने, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधी व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।”

    खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए–नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।”

    राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२–७३ र आव २०७३–७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।

    सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ । रासस

  • स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

    स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए।

    सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका हुन् । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धि निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै बीमा रकम ५ लाख पुर्‍याउने तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी मन्त्री पौडेलले गरेका छन्।

  • विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त

    विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा राखेको छ । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र एजेन्सीबीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको समेत संगठनको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लूएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्लुएचओको यो बयान आएको हो ।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो,“ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्लुएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाका लागि महत्त्वपूर्ण छ ।” विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गर्‍यो ।

    “सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन् ,” विज्ञप्तिमार्फत डब्ल्यूएचओले जनाएको छ । “हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौं ।” रासस, एएनआई

  • सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

    सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।

    ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवनरक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

    थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।

    अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

    मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा। राजु पौडेलले बताए ।

  • अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु

    अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु

    काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार बिहानदेखि मासु खाएका सबै परिवारमा स्वास्थ्य समस्या देखिएपछि प्रहरीको सहयोगमा जिल्ला अस्पतालसम्म पुर्‍याएको उनले बताए ।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट अन्य कुखुराको परीक्षण गर्न पनि पहल भएको भण्डारीले बताए । ‘ प्रारम्भिक अनुसन्धानबाट फुड पोइजनको कारण मृत्यु भएको र सोही कारण बिरामी भएको हुन सक्ने देखिएको छ । सबै स्वास्थ्य रिपोर्ट आइसकेको छैन,’ प्रहरी प्रमुख भण्डारीले भने । ‘मरेको कुखुराको मासु खाने एक जनाको मृत्यु भइसकेको छ । तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनिन् ,‘हजुरामा र नातीनीको अवस्था भने गम्भीर छ । भोलि (सोमबार) बिहानसम्म पनि स्वास्थ्य अवस्थामा सुधार भएन भने अन्तै रेफर गर्नु पर्ने देखिन्छ ।’

  • साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी

    साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी

    काठमाडौं । साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले बताएको छ । एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ ।

    यसअघि पनि साउदैबाट फर्किएका एक जनामा एमपक्स देखिएको थियो । टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भएको छ । केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । नेपालमा एमपक्स देखिएको यो तेस्रो पटक हो ।

  • आव विश्व ध्यान दिवस मनाइदैं

    आव विश्व ध्यान दिवस मनाइदैं

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

    राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए । यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

  • मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान

    मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान

    काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।

    मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ । साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।

  • नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी

    नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी

    काठमाडौं । नेपाली नागरिकमा पहिलो पटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । एयरपोर्टबाट उनी सिधै मेडिसिटी अस्पताल पुगेका थिए । त्यहाँबाट टेकु अस्पताल रिफर भएको थियो ।

    टेकुले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखिएको छ । यसअघि गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

    एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ । पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।

    विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने गर्छ ।

    सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।

  • यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?

    यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?

    काठमाडौं । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि–कन्क्लेभ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे।

    उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री पौडेलले भने, ‘देशमा लोकतन्त्र त आयो, तर जनताले त्यसको महसुस गर्ने अवस्था बनेको छैन। विदेशमा अनुभव आर्जन गरेका स्वास्थ्यकर्मीहरूको सहयोगले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। आगामी महिनामा यसका लागि विशेष कार्यक्रम आयोजना गरी स्पष्ट नीति तय गरिनेछ।’

    कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका आठ स्वास्थ्य विशेषज्ञहरूले नेपालमा आफ्नो सहभागितामा सम्पन्न प्रोजेक्टहरूबारे दस्तावेज प्रस्तुत गरेका थिए। तीमध्ये नर्वेका प्रा. डा. दीपक सापकोटा, इटालीका डा। कौशलकिशोर तिवारी, स्वीडेनका डा. दीपराज थापा, बेल्जियमका डा. राजु श्रीवास्तव, जर्मनीका डा. सागर धिताल, अमेरिकाका डा. कृष्णप्रसाद खनाल, बेलायतका डा. बच्चु कैलाश कैनी, र स्वीजरल्यान्डका डा. विनयकुमार श्रेष्ठ प्रमुख वक्ता थिए।उनीहरुले नेपालमा स्वास्थ्य सेवा सुधारको सम्भावनाबारे विश्लेषण गरेका थिए।

    कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, डा. प्रकाश थपलिया, डा. भीमप्रसाद सापकोटा, र डा. विराज कर्माचार्यले पनि आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। बक्ताहरुले नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोराको भूमिकाबारे आफ्ना विचार राख्दै नीतिगत सुधार र सहकार्यको खाँचो औंल्याए।

    संस्थाका अध्यक्ष डा. विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा सञ्चालित प्रोजेक्टहरूमा देखिएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे पनि गहन छलफल भएको थियो। सहभागीहरूले विदेशमा सिकेका ज्ञान, सीप, र स्रोतसाधनलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न थप सहकार्य र निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए।

    प्रवासी नेपाली स्वास्थ्यकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य सेवा सुधारका लागि उपयोग गर्न नयाँ ढोका खोल्न कार्यक्रममार्फत प्रेरित गरिएको थियो। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पौष ११ र १२ गते (डिसेम्बर २६ र २७) काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ आयोजना गर्न तयारी गरिरहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य नेपालका स्वास्थ्य क्षेत्रको सुधारमा प्रवासी नेपालीहरूको योगदानलाई मूल्यांकन र सक्रिय बनाउने रहेको छ।

  • राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए ।

    प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो । उनलाई भेट्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए । राष्ट्रपति पौडेल १६ वर्षदेखि प्रोस्टेटको समस्याबाट पीडित छन् ।

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो।


    त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्। ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा। गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  • एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै

    एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

    ‘क्यान्सरको उपचारसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ’, लालले भने, ‘यस वर्ष अभियानकै रुपमा एकैसाथ परीक्षण गर्न लागेका हौं ।’ यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए । नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जरभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार २५५ नयाँ बिरामी भेटिएका छन् ।

    हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्जरभेटरीका अनुसार विश्वभर प्रति एक लाख बिरामीमा सात जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

    विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियान समेत सञ्चालन हुँदैछ । १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीले खोप पाउँछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप दिने सरकारले तयारी थालेको छ ।

  • प्रधानमन्त्री अस्वस्थ, नियमित भेटघाट बन्द

    प्रधानमन्त्री अस्वस्थ, नियमित भेटघाट बन्द

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेका छन् ।

    उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् । उनको रगतको परीक्षण भइरहेको बताइएको छ ।

  • १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क

    १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

    मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ । नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएका छन् । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

    ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए । ‘समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको पार्न सकिन्छ’, उनले भने, ‘तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं ।’

  • मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु

    मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु

    काठमाडौं । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

    मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताए । मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

  • शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

    शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

    काठमाडौं । सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेंगी फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । डेंगी संक्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयले लगेको त्यस्तो प्रस्ताव उपर मन्त्रिपरिषदले निर्णय लिदैं शुक्रबार १० बजे सबै १० मिनेट सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने भनेको छ ।

    कवाडी सामानहरुमा जमेका पानी फाल्ने सरसफाई गर्न अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद बैठक पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताएका छन् । डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण हो । डेंगी सार्ने लामखुट्टेले जमेको पानीमा फूल पार्छ । थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरुले सुझाव दिदैं आएका छन् । स्वास्थ्य मन्त्रालयले त्यस्तो अभियाननै चाल्नुपर्ने प्रस्ताव गरेपछि सरकारी कार्यालबाट प्रारम्भ गर्न लागिएको हो ।

  • फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु

    फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु

    काठमाडौं । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् ।

    पूरै गाउँ डुबानमा छन् । उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको प्रहरीले बताएका छन् । राजधानी मनिलाबाट करिब चारसय किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ ।

    “हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो” क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भने ।
    नागाको बिकोल सहरमा बाढीमा डुबेर ११ जनाको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख इर्विन रिबेलियनले बताए । राजधानीको दक्षिणपूर्व क्वेजोन प्रान्तमा एक वृद्धाको डुबेर मृत्यु भएको छ । एक बालकको पनि बाढी आएको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मनिलाको सिभिल डिफेन्स अफिसले रुखको हाँगाबाट खसेर एक जनाको मृत्यु भएको जनाएको छ । बेलुका ८ बजेसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट एकसय ५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघन्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ ।

    यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो । यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो । विगत २४ घण्टामा यस क्षेत्रमा पाँचसय मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ । रासस, एएफपी

  • संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

    संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।

    स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमासमेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ ।

    हाल राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । यसैगरी कान्ति बाल अस्पतालमा करिब तीन करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ । यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं’, उनले भने, ‘यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।’

  • तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने

    तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने

    काठमाडौं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो । तारे होटल र सबै रिसोर्टमा प्लास्टिकजन्य बोतलमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा पिउने पानीका लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोतलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।

    प्लास्टिकजन्य बोतलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक रेग्मीले बताए ।

  • ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै

    ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै

    काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिए।

    ‘शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौं, बाढीले छरपष्ट रूपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौं,’ नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं,’ महर्जनले भने। उनले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताए।

    ‘नख्खु र बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौं,’ महानगरप्रमुख महर्जनले भने। फोहर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुरलगायत विभिन्न संघसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताए।

    ‘बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ। स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ,’ उनले भने। ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गरे।

    ‘प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पार्‍यौं। साथै फोहरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौं। जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौं। भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ,’ उनले भने।

    प्रजिअ श्रेष्ठले क्षतिको यकीन विवरण संकलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढंगले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरे।

    महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिए। ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन्। बाढीले बगाएर ल्याएर नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उनले जानकारी दिए।

  • कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

    कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

    काठमाडौं । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो” र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ। आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन्। ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

    बहालवाला उपराष्ट्रपति समेत रहेकी ह्यारिसले आफ्ना “रिपब्लिकन प्रतिद्वन्द्वीले उनी राष्ट्रपति हुनका निम्ति स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी जनताले थाहा पाऊन् भन्ने नचाहेको” दाबी समेत गरेकी छन्। ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक नगरेको उनको चुनावी अभियान समूहले उनको स्वास्थ्य “एकदम ठीक” रहेको भनेर चिकित्सकले जानकारी गराएको प्रतिक्रिया दिएको छ।

    अभियान समूहले रिपब्लिकन उम्मेदवार “अति व्यस्त तथा चुनावी प्रचारप्रसारमा सक्रिय” रहेका बताउँदै ह्यारिससँग “ट्रम्पको जस्तो इच्छाशक्ति नरहेको” दाबी गरेको छ। ह्वाइट हाउसले राष्ट्रपतिको पद सम्हाल्न उपराष्ट्रपति ह्यारिसको “शारीरिक र मानसिक स्वास्थ्य उपयुक्त रहेको” भन्ने स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि दुई पक्षबीच आरोपप्रत्यारोप शुरू भएको हो।

    विगत तीन वर्षदेखि ह्यारिसका फिजिसियन रहेका अमेरिकी कर्नेल डा. जोशुआ सिमोन्सका अनुसार गत एप्रिलमा हेर्दा उनको स्वास्थ्य अवस्था “सामान्य” देखिएको थियो। ह्यारिसले स्वस्थकर र सक्रिय जीवनशैली अपनाउँदै आएकी पनि सिमोन्सले बताएका थिए। ह्यारिसको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिएपछि उनको चुनावी अभियान समूहका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन्स् “अब तपाईँको पालो, डोनल्ड ट्रम्प।”

    हाल ७८ वर्षमा रहेका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन्। चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडनबारे रिपब्लिकनहरूले पनि सोही प्रकृतिको आलोचना गर्दै आएका थिए। राष्ट्रिय जनमत सर्वेक्षणहरूले ह्यारिस ट्रम्पभन्दा झिनो मत अन्तरले अगाडि रहेको देखाएका छन्। नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आउँदो महिनामा निर्वाचन हुँदै छ।

    लगभग २४ करोड अमेरिकी यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवतः उनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ। औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार ह्यारिस वा रिपब्लिकन ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ। तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।

  • मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै

    मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै

    काठमाडौं । सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानीआजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ । आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो ।

    हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘भोलि मङ्गलबार मेलम्चीको पानी सुन्दरीजलमा पथान्तरण गरिने छ ।’

    वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्चीको पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच छलफल गरी तीन महिनाभित्र टुङग्याउने सहमति भएको छ । साथै हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठनको प्रस्ताव यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी कार्यन्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति छ ।


    संघर्ष समितिको माथअनुसार आयोजना पुनःर्निर्माण तथा स्थानीय सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा स्रोत सहमति लिएर अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने घर पूर्णरुपमा क्षति भएका बाढी पीडितहरुलाई तत्काल घर पुनः निर्माण गर्न २० लाख उपलब्ध गराउनका लागि विशेष पहल गर्ने पनि सहमति भएको छ ।

    यसअघि सरकारले ३ लाख उपलब्ध गराएको थियो । हेलम्बु गाउँपालिका भवन निर्माणका लागि थप रकमसहित स्रोत सुनिश्चितताका लागि खानेपानी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा एक हप्ता भित्र प्रस्ताव पेश गर्ने र प्रशासनिक भवन निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिले लिने पनि सहमति छ । यस आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको थियो ।

    सहमतिअनुसार तत्काल गर्नुपर्ने कामहरु अगाडी बढाउने र दीर्घकालमा गर्नुपर्ने काम आगामी आर्थिक वर्षहरुमा प्राथमिकताका आधारमा आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्न पहल गर्ने कार्यकारी निर्देशक लामिछानेले बताए । मन्त्रालयसँग भएको सहमतिसँगै संघर्ष समितिका आन्दोलनका सबै कार्यक्रम सोमबारदेखि नै स्थगित भएको छ ।

  • स्वास्थ्य मन्त्री भारत भ्रमणमा, समकक्षीबीच भेट

    स्वास्थ्य मन्त्री भारत भ्रमणमा, समकक्षीबीच भेट

    काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको भेटमा नड्डाले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, तनहुँलाई ३०० शय्या बनाउने प्रतिबद्धता जनाएका छन् । साथै ट्रमा सेन्टरको स्तरोन्नति, डायलाासिस सेवा थप्नका लागि आवश्यक सहयोग गर्न पनि नड्डा सकारात्मक छन् ।


    अब केही समयमा यसबारे दिपक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले जानकारी दिए । मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ’, भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’

  • चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु

    चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु

    काठमाडौं । चेन्नईको मरिीना बीचमा आइतबार आयोजना गरिएको एयर शोका दौरान चार जनाको ज्यान गएको छ । चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाले एयर शो आयोजना गरेको हो । यसको अवलोकनमा लाखोंको संख्यामा भीड जम्मा भएको थियो ।

    गर्मी र अधिक थकानका कारण चार जनाको ज्यान गएको बताइएको छ । ६ अक्टोवर भारतीय वायुसेनाको ९२ औं वर्षगाठको अवसर पारी यो एयर शो आयोजना गरिएको हो । लामो समय हिड्नु पर्ने र शरीरमा पानीको अभावले २ सय मानिस बेहोस भएका थिए । उनीहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

  • लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो

    लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो

    काठमाडौं । चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सीचिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सी र लेबनानका मन्त्रीले बताएका छन् ।


    विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, आज बिहान दशौं हजार मानिसको उपचार गर्न पर्याप्त ३० मेट्रिक चिकित्सा सहायता सामग्री लिएर एउटा विमान बेरुत अवतरण गरेको छ”, “आज र भोलि थप विमान सहायता समग्री लिएर आउनेछन् ।”

    एएफपीको आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बर २३ देखि इरान समर्थित हिजबुल्लाह लडाकुलाई लक्षित गरी भएको इजरायली आक्रमणमा लेबनानमा १ हजार १०० भन्दा बढी मानिस मारिएका छन् भने सयौं घाइते भएका छन् । पहिले नै आर्थिक र राजनीतिक संकटमा रहेको सानो भूमध्यसागरीय देशबाट बढ्दो हिंसाका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएको लेबनानी अधिकारीले बताएका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर)द्वारा आयोजित र संयुक्त अरब इमिरेट्सद्वारा वित्तपोषित सहायता प्राप्त गर्न स्वास्थ्यमन्त्री फिरास अबियाद शुक्रबार बेरुत एयरपोर्टमा पुगेका थिएृ । “यो सहायता लेबनानमा इजरायली आक्रमणबाट घाइते भएकाहरुको उपचारका लागि महत्त्वपूर्ण हुनेछ”, उनले भने ।

  • २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित

    २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित

    काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् ।

    सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।

    नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ । ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

  • बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने

    बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने

    काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

    शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकले हाललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको हो ।