Category: स्वास्थ्य

  • बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

    बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

    काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।
    काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् । यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।
    बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।

    सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ६ जनाको मृत्यु ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार धादिङ र सिन्धुलीमा १–१ जनाको मृत्यु र १–१ जना घाइते भएको छ । धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मकवानपुरमा ७ जना बेपत्ता भएका छन् । शनिबार मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, स्थितबत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएको विवरणबाहेक प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु भएको हो ।

    इन्द्रसरोबरमा पहिरोले पुरिएका ६ जनामध्ये ३ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनीहरुको सनाखत हुन बाँकी छ । पहिरोमो पुरिएर बेपत्ता भएकाका अन्य ३ जनाको अवस्था अझै अज्ञात छ । चितवन, नुवाकोट, रसुवा र रामेछापमा विपदबाट हालसम्म मानवीय क्षति नभएको डीएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट १५ वटा पशुचौपायाको मृत्यु भएको प्रहरी तथ्यांक छ । ६६ वटा घरमा पूर्ण र २ वटा घरमा आंशिक क्षति पुगेको डीएसपी बस्नेतले जानकारी दिए । १९२ परिवार प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए । २ वटा पक्की पुल र एउटा बेलिब्रिजमा क्षति पुगेको छ । ५९ वटा घर तथा कार्यालय उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । विपद्तका घटनामा उद्दारका लागि ४ हजार ११९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

  • कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

    कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

    असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

    यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

    यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

    विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।

  • भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

    भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

    काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।


    परामर्शदाताले नेपालको आवश्यकता अनुसार विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

    स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनोट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए । बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको छ । २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिव ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

  • सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र, गुनासो भए सेवाग्राहीले फोन गरेर उजुरी गर्न सक्ने

    सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र, गुनासो भए सेवाग्राहीले फोन गरेर उजुरी गर्न सक्ने

    काठमाडौं । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । १२ पुस २०८० को मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८०मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा सयम तोकेकाले त्यसअनुसासर नै गर्न पत्रमा भनिएको छ ।


    मन्त्रिपरिषदको निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बिन्धकत कार्याएलय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ । पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।

    सरकारले सार्वजनिक विदाबारे हरेक वर्ष प्रकाशित गर्ने राजपत्रमा यसअघि सरकारी कार्यालयको सेवामा बाधा नपर्ने गरी आलोपालो मिलाएर सम्बन्धित कार्यालयले आधा घण्टाका लागि खाजा समय तोक्ने व्यवस्था गर्थ्यो । तर, गतवर्षदेखि सरकारले १ः३० देखि २ः ०० बजेसम्म खाजा समय उल्लेख गरेपनि आलोपालो मिलाउने कुरा उल्लेख गरेन । यसकै कारण सरकारी कार्यालयहरुले खाजा समयमा कर्मचारीहरुबीच आलोपालो मिलाउनेतर्फ ध्यान दिएका छैनन् ।

  • चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन

    चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन


    काठमाडौ । दशै, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ ।


    चाडपर्वको समयमा काठमाडौबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले त्यसको नियन्त्रणका मन्त्रालयले अग्रसरता लिएको हो ।

    आईतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरुबिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व शुरु हुनु अघिनै सडकका खाल्डाखुल्टीहरु तत्काल पुरि सक्न निर्देशन दिए ।

    जोखिम रहेका स्थानहरुमा सडक सुरक्षाका पूर्वाधारहरु निर्माण र मर्मत गर्न निर्देशन दिनु हुँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।


    सडक सुरक्षाको दिर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उहाँले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाईने समेत बताए । सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरु विच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए ।
    मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरु नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दुरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उहाँले जोड दिए ।

  • दुई छोरीको हत्या गरी बेपत्ता महिला पक्राउ

    दुई छोरीको हत्या गरी बेपत्ता महिला पक्राउ

    काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी बेपत्ता महिलालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

    यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइङ्कालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ। दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा फेला पारेको थियो।

    प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा आज झापा जिल्ला विर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।


    आरोपित अस्मितालाई सञ्चारकर्मीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए । आरोपि अस्मिताले श्रीमानले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफूले विष खाइ र छोरीलाई खुवाएकोमा छोरीको मृत्यु भएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन्। जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ।

  • सरकारी अस्पताल अब सरकारी बिदामा पनि खुल्ने

    सरकारी अस्पताल अब सरकारी बिदामा पनि खुल्ने

    काठमाडौं । सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो ।

    मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा सरकारी अस्पतालमा ओपीडी खोल्नुपर्नेछ ।

    जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका छन् । त्यसैगरी सार्वजनिक दिवश अन्तर्गत गणतन्त्र दिवश, शहीद दिवश, राष्ट्रिय प्रजातन्त्र दिवश, अन्तर्राष्ट्रिय महिला दिवश रहेको छ । जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुनेछन् । तर नेपाल चिकित्सक संघले सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

    संघले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको जनाएको छ । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेको छ । स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।

  • बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

    बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

    काठमाडौं । बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी भएकाले मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

    यही भदौ १४ गतेदेखि गेग्ली गाउँका श्यामलाल पासीको घरका सदस्यहरु झाडापखालाबाट बिरामी परेका थिए । ७५ वर्षीया शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र एक वर्षकी नाबालिका नन्दनीको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको थियो । सोही गाउँका १० वर्षीय युसुफ अलीको पनि मृत्यु भएको थियो । उनीहरुमा सुरुमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा हुने गरेको थियो ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र साहका अनुसार बिरामीहरुले सीमावर्ती भारतको क्लिनिकमा गएर उपचार गराएको र सोही क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनको भनाइ छ । सो घटनाबारे स्वास्थ्य कार्यालयले अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमीका कारण उनीहरुको मृत्यु भएको उल्लेख छ ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख साहले मृतकका आफन्तले समयमा उपचार नगराएको कारण अकालमा ज्यान गएको बताए । ‘समयमै जाँच गरेको भए रोग पहिचान भएर उपचार हुन्थ्यो’, उनले भने, ‘चेतनाको कमीले गर्दा र परिवारका सदस्यको लापरवाहीले गर्दा अकालमा ज्यान गएको हो ।’

    नरैनापुर गाउँपालिका ३ कालाफाँटामा पनि झाडापखालाका बिरामीहरु फेला परेका छन् । एक जनाको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । झाडापखालाका बिरामी भेटिएका गाउँमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच गरिएको छ । स्थानीयलाई पानी शुद्धीकरणका लागि आवश्यक औषधि पनि वितरण गरिएको छ ।

    – राससको सहयोगमा

  • सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरंग सेवा चलाउन निर्देशन

    सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरंग सेवा चलाउन निर्देशन

    काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

    गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ ।

    सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ । मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ ।

    विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवा लगायत सेवा सार्वजनिक बिदाको दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्ने बताए ।

    ‘हामीले सबै अस्पताललाई मन्त्रालयबाट निर्णय गरेर पत्राचार गर्ने तयारीमा रहेका छौं,’ उनले भने, ‘सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामी छलफलमा छौं ।’ उनले सार्वजनिक दिनमा बहिरङ्ग सेवा बाहेकको सबै सेवा सञ्चालन गरेको उल्लेख गर्दै बहिरङ्ग सेवा पनि कर्मचारीलाई अतिरिक्त समय काममा लगाए हुन्छ कि सिफ्टअनुसार हुन्छ भनेर छलफल गरिरहेको बताए ।

  • रोल्पामा हैजा पुष्टी, देशभर ७१ जनालाई देखियो

    रोल्पामा हैजा पुष्टी, देशभर ७१ जनालाई देखियो

    काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार एउटै वडाका चार जनामा हैजा पुष्टि भएको हो । संक्रमित हुनेमा ८०, २६ र १८ वर्षका तीन महिला र ८ वर्षका बालक छन् । यो सँगै यस वर्ष हैजाबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ । ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एकमा जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो ।

    हैजा पुष्टि भएका अधिकांश निको भइसकेका छन् । चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ । सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

    गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने चिकित्सक बताउँछन् । हैजाको संक्रमणबाट सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खाने बानी बसालेमा बच्न सकिने चिकित्सकको सुझाव छ ।

  • मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

    मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

    काठमाडौं । मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ । एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

    एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ“, डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले भनेका छन् सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    “एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन”, क्लुगेले भने । “हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ ”,उनले जेनेभामा भिडियो–लिङ्क मार्फत बताए । “के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो रु भन्ने प्रश्नको जवाफ स्पष्ट छः ‘होइन’ ”, उनले भने । क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए । “सङ्क्रमण फैलिने अन्य कारण अझै अलि अस्पष्ट छन् । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।”

    डब्लुएचओले मास्क प्रयोग गर्न सिफारिस नगरेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताए । “हामी अहिले विश्वव्यापी खोप अभियान सिफारिस गरिरहेका छैनौँ । हामीले हाल सबैभन्दा बढी जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गर्दैछौं, ”उनले भने ।

  • अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स

    अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स

    काठमाडौं । अफ्रिका बाहिर पहिलो पटक यूरोपमा मङ्कीपक्स (एमपक्स)को संक्रमण पुष्टी भएको छ । अफ्रिका भ्रमण गरेका एक व्यक्तिमा सो संक्रमण पुष्टी भएको अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले एमपक्सलाई विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ । यससँगै अब यो संक्रमण अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ । अफ्रिकी देश कङ्गोमा यसको संक्रमणबाट ४५० भन्दा माथिको ज्यान गइसकेको छ । यो अधिक संक्रामक र घातक रोग मानिएको छ ।

  • अफ्रिकामा फैलियो मन्कीपक्स, आपतकाल घोषणा

    अफ्रिकामा फैलियो मन्कीपक्स, आपतकाल घोषणा

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेसँगै स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
    बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरे । कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।

    अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अति संक्रामक रोग एमपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको थियो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ । यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

    डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ । यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

    एमपक्सका मुख्य दुई प्रकार छन्, क्लेड १ र क्लेड २ । सन् २०२२ मा क्लेड(२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । यसपटक क्लेड-१ संक्रमण देखिएको छ । यो क्लेड-२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् । डब्ल्यूएचओले एमपक्सविरुद्ध दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ ।

    डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले एमपक्सको संक्रमण फैलावटको स्थिति चिन्ताजनक रहेको बताएका छन् । उनले यसबाट हुने मृत्युदर रोक्न स्वास्थ्य सतर्कताका सटिक र व्यापक अभियान सञ्चालन आवश्यक रहेको बताएका छन् । साथै प्रभावित देशका सरकार, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र अन्य साझेदारहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।

    डब्ल्यूएचओले त्यसको फैलावट रोक्नका लागि निगरानी, तयारी र कारबाही सम्बन्धी गतिविधि सन्चालन गर्न सुरुमा डेढ करोड डलर आवश्यक पर्ने जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसका अनुसार १४ लाख डलर आपदा कोषमा जम्मा गरिएको छ । कोषमा थप रकम दान गर्न पनि उनले विश्व समुदायलाई अपिल गरेका छन् ।

  • पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार

    पाँच प्रदेशमा क्यान्सरको उपचार सेवा बिस्तार

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने भएको छ। यससम्बन्धी मन्त्रालयले कार्यविधि नै बनाएको छ। मन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका हुन्।

    ‘मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको थिएँ। मन्त्रालय सम्हालेको एक महिना पुग्दै गर्दा आज थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेका छौं,’ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। रणनीतिले सात वटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो। कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन्।

    कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।

    यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए। मन्त्री पौडेलले सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख थियो। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले अब बिरामीहरूले संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने बताए।

    स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने उनले बताए। अहिले संघीय सरकार मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन्। कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालले तत्काल सेवा उपलब्ध गराउन प्रक्रिया थाल्ने मन्त्रालयले जनाएको छ।

  • मिनरल वाटरमा भेटियो किरा, किम्ची रेष्टुरेन्टलाई जरिवाना

    मिनरल वाटरमा भेटियो किरा, किम्ची रेष्टुरेन्टलाई जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई २ लाख जरिबाना तिराएको छ । गत शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जाल संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

    सोही क्रममा सिलबन्द प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याइ पिउन थालेपछि वडा नम्बर ११ का सदस्य यशोमती परियारले पानीमा किरा सल्बलाएको देखिन् । कार्यक्रममा उपस्थित महानगरपालिका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाएपछि अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएकी थिइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।

    खानेकुरा तथा पिउने पानी स्वच्छतामा लापरबाही गर्न नहुने भन्दै उपमेयर डंगोलले अटेर गर्नेलाई कानुनी कारबाही गर्नुको विकल्प नरहेको बताइन् ।
    शुक्रबार नै तत्काल अनुगमन टोली पुगेर किम्चीबाट नमुना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय नसकेपछि महानगरले आज जरिबानाको निर्णय गरेको हो ।

    रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका–८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो । खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई पनि दुई पटक जरिबाना तिराएको थियो ।

  • स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

    स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य क्षेत्रमा सुधारका योजना प्रस्तुत गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको बताए ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताए । अहिले स्वास्थ्य बीमा मार्फत बीमितले १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । यसलाई बढाएर ५ लाख पुर्‍याउने योजना मन्त्री पौडेलले सुनाए । स्वास्थ्य बीमामा आवद्धता बढाउन औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारी रहेको उनले बताए ।

    बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्न ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । मन्त्री पौडेलका अनुसार स्वास्थ्य करकोष थप गर्ने, चिनीजन्य पदार्थमा प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य कर लगाउने, विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गरिने उनले बताए । आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बीमामा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमा मार्फत दिने योजना उनले सुनाए ।

    काठमाडौमा स्नायु रोग उपचार केन्द्र स्थापना गरिने उनले बताए । शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रलाई ५०० शय्याको विस्तार गर्ने, कान्ति बाल अस्पतालको पूर्वाधार थप गर्दै तत्कालै आईसीयू सेवा पूर्ण रुपमा सञ्चालन गर्ने बताए । त्यस्तैगरी जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था मिलाउने मन्त्री पौडेलले बताए । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई ग्रामीण भेगमा पठाउने योजना पनि उनले सुनाए ।

  • देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

    देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

    काठमाडौं । देशभर २२ जनामा हैजा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरे । डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

    यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्‍याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ ।

    ुभिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् । डा. बुढाथोकीका अनुसार हैजाको जिवाणुबाट संक्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको छ ।

    हैजा भनेको सामान्य झाडापखाला जस्तो होइन । तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मुत्युदर हुन्छ । हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जिवाणु हुनसक्छ । त्यस्ता संक्रमितले अरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ ।


    डा. बुढाथोकीले देशका अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आएपनि त्यो र्‍यापिड किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा ुभिब्रियो कोलेरा नभेटिएको पनि बताए । हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनु पर्छ ।

    यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका साहयताले निर्मलिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खानाखानु अघि अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।

  • जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

    जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

    काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने भएको छ ।

    केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

  • सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो

    सौर्य एयरलाइन्स दुर्घटना : परिवारलाई शव बुझाउन थालियो

    काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव बुझाउन थालिएको छ । आज पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

    दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

  • हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने

    हवाई दुर्घटना : पहिचान भएका शव शुक्रबार हस्तान्तरण गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् ।

    बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको बताए । पोस्टमार्टममा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पहिचान भएका शवलाई शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ लगायतबाट पहिचान हुन नसके डीएनए परीक्षण गर्नुपर्ने र त्यसको थप तीन, चार दिन लाग्न सक्ने चिकित्सकहरूले बताएको पौडेलले जानकारी गराए । मन्त्री पौडेलका अनुसार बुधबार ४ वटा शवको पोस्टमार्टम भएको थियो । तर त्यसलाई मृतकका आफन्तले दिएको हुलिया र क्लिनिकल परीक्षण गरी ‘म्याचिङ’ गर्न बाँकी छ ।

  • जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?

    जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । सौर्यको ९ एन(एएमई–सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जान उडेको थियो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्यबाहेक अरूको मृत्यु भएको छ। शिक्षण अस्पतालका अनुसार एउटा शव पोस्टमर्टम गर्न न्यूनतम ४ घन्टा लाग्छ।

    काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ। २५ जनाको टोलीले पोस्टमर्टम गर्ने तयारी गरिएको छ । पोष्ट मार्टम गरेको ७२ घण्टापछि परिवारलाई हस्तान्तरण हुन्छ ।

  • अमेरिकामा मानिसमा बर्ड फ्लू पुष्टी

    अमेरिकामा मानिसमा बर्ड फ्लू पुष्टी

    काठमाडौं । कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ । सङ्क्रमित चारैजना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ ।

    यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो । यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने लक्षण देखिने गर्छन् ।

    सन् २०२२ पछि कुखुरा फार्ममा काम गर्ने कामदारहरूमा बर्ड फ्लू सङ्क्रमणको यो पहिलो घटना हो । कोलोराडो कुखुरा फार्ममा काम गर्नेहरूमा एच–५ को पहिलो केस रिपोर्ट गरिएको सीडीसीले उल्लेख गरेको छ । बर्ड फ्लूको प्रकोपले अमेरिकाका ४८ राज्यहरूमा जुलाई १२ सम्म प्रभावित गरेको सीडीसीले जनाएको छ ।

    रासस, सिन्ह्वा

  • स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?

    स्वास्थ्य मन्त्री पौडेलले लगाएनन् खादा माला, के गरे निर्णय ?

    काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् ।

    ‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु’, उनले भनेका छन्, ‘शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चिजहरु नल्याइदिनु हुन अनुरोध गर्दछु । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’

  • त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत

    त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत

    काठमाडौं । शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए–नभएको पुष्टि भइसकेको छैन ।

    चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शव भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।

  • कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो

    कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको जानकारी दिइन् ।

    यही असार १६ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार १७ गते दुई लाख ७० हजार सात सय २० मात्रा, असार १८ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २० गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २१ गते दुई लाख ७० हजार सात सय २० मात्रा र असार २३ गते दुई लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो ।

    खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)बाट अनुदानमा ल्याइएको जनाइएको छ । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी–१’ ‘केपी–२’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने छ । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ । रासस

  • पश्चिम अमेरिका अधिक गर्मीको मारमा

    पश्चिम अमेरिका अधिक गर्मीको मारमा

    काठमाडौं । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ ।

    पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न र सतर्कता अपनाउन सचेत गराइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि एरिजोनामा गर्मीका कारण एक जना बालकको ज्यान गइसकेको छ । तातो लहरले बालबालिकासहित अरू धेरै जना बिरामी भएका छन् ।

    क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम यो हप्ता १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान छ । १ सय ३० डिग्री फरेनहाइट भनेको साढे ५४ डिग्री सेल्सियस हाराहारी हुन आउँछ ।

  • विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु

    विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु

    काठमाडौं । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको जानकारी दिएका छन् । अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।
    स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए ।

    रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो । भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिस मर्छन् । यो विषाक्तता हालका वर्षमा भयानक बन्दै गएको छ ।


    रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ । कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपियाँ मूल्य पर्ने रक्सी किन्ने र काम गर्नुअघि पिउने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले लेखेको छ ।
    रक्सीको सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए । कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो ।

    कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एमएस प्रशान्तले घटनासँग सम्बन्धित व्यक्तिमध्ये शनिबारसम्ममा ५३ जनाको मृत्यु भएको बताए । केही भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको सङ्ख्या ५५ पुगेको बताएका थिए ।
    नक्कली रक्सी त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको छ ।

    इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएकाको पत्नि घरेलु कामदार कोलान्जीसँग कुरा गरेको थियो । उनका अनुसार स्थानीयले सरकारी पसलबाट रक्सी किन्न नसक्ने तर नशाका लागि दुषित मुनशाइन नामक रक्सी पिउने गर्छन् । भारतका धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसलेगर्दा घातक ब्याकस्ट्रिट मुनशाइनजस्ता पेय पदार्थको कालोबजार फस्ट्याएको छ ।

  • आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै

    आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै

    काठमाडौं । आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो ।

  • भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु

    भारतमा निर्वाचनको दिन गर्मीका कारण ३३ कर्मचारीको मृत्यु

    काठमाडौं । देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६।९ डिग्री सेल्सियस पुगेको छ।

    सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताए । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए । “मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपियाँ ९अठार हजार अमेरिकी डलर० को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ” रिन्वाले पत्रकारसँग भने । जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरूले काम गर्न छोड्ने भई मानिसहरूको मृत्यु हुने विशेषज्ञहरू बताउँछन् ।

    “बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो, जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो” रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउँदै भने । रासस

  • सिरोहिया अस्पताल भर्ना

    सिरोहिया अस्पताल भर्ना

    काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएको सञ्चारमाध्यमले जनाएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।

    उनी डायबेटिज, उच्च रक्तचाप लगायतका समस्याबाट गुज्रिरहेको बताइएको छ । सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ ।

    सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले बताएका छन् ।
    मंगलबार कान्तिपुर अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो ।

    सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकूलता भोगेका थिए । उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।