Category: स्वास्थ्य

  • आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान

    आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान

    काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

    बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ ।

    भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । रासस

  • राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना

    राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुन: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिएका छन् । उनका अनुसार चिकित्सकहरूले उपचार जारी राखेका छन् ।

    राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । उनी सोमबार पनि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । त्यसबेला अल्ट्रासाउण्डको सहायताले पानी निकालेर परीक्षण गरिएको थियो । विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ ।

    तर सोमबार राष्ट्रपति पौडेलको छातीको तल्लो भागबाट निकालिएको पानी परीक्षणको रिपोर्ट के आयो भन्ने खुलाइएको छैन । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पनि पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

  • एमाले अध्यक्ष ओली अस्वस्थ्य

    एमाले अध्यक्ष ओली अस्वस्थ्य

    काठमाडौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।”

    आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गरेका छन् ।

    “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भनेका छन्, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु।”

    अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेखेका छन्, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

  • नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टी

    नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ७३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६१६ पुगेको छ ।

    काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

    हाल सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ।

  • पशु चौपायामा लम्पी स्किन रोग फैँलिदै, कसरी बच्ने ?

    पशु चौपायामा लम्पी स्किन रोग फैँलिदै, कसरी बच्ने ?

    काठमाडौं । गाई–भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग बढेसँगै किसानहरुमा त्रास फैलिएको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतै–कतै पशुचौपाया मर्न थालेका छन् ।

    पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको किसानको गुनासो छ । विगतमा फाट्टफुट्ट मात्रै पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण यसवर्ष थप फैलिएको हो । नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा। दोजराज खनालका अनुसार गाईरभैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।

    लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार हुँदै आएको विज्ञको भनाइ छ । रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिन गरी उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवम् पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा. वरुणकुमार शर्माको सुझाव छ ।

    रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठको सरसफाइ गरी किराको टोकाइबाट जोगाउन पनि उहाँको आग्रह छ । रोग लागेका क्षेत्रका पालिकाले लम्पी स्किन सार्ने झिँगा, लामखुट्टे र किर्ना मार्ने विषादी वितरण गर्न थालेका छन् । विज्ञका अनुसार लामखुट्टे, भुसुना, झिँगाको टोकाइबाट गाईभैँसीमा लम्पी स्किन सर्ने गरेको छ । भारत तथा चीनमा सन् २०१९ मा देखिएको रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो ।

  • कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी

    कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी

    काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत छन् । सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

  • बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक

    बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नर गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा जाँडरक्सी बिक्री हुँदा हिंसा, अपराध जस्ता घटना हुनसक्ने भन्दै जाँडरक्सीको खुला बिक्रीमा रोक लगाइएको उनको भनाइ छ ।

    खुला वा बोतलमा जाँडरक्सीको बिक्री वितरण, ओसारपसार तथा खाएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ । जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही हुनेछ । त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी आउँदो बिहीवार, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र खुला रुपमा जाँडरक्सी बिक्रीमा रोक लगाइएको छ ।

  • ६४ जनामा कोरोना पुष्टी

    ६४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

  • कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

    कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको पाइएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो। सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएको थियो।

    उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले बताएका छन् ।

    अनुहारको छाला राम्रो हुँदै आएको, बायाँ हातको पट्टी खोलिइसकिएको र कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएका छन् । दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। ‘दिनमा तीन–चार पटक हिँडाउन थालिएको छ।

  • जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत

    जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत

    काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह छ।

    त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान मन्त्रालयको सुझाव छ। गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयको सुझाव छ। २४ घण्टामा ७०१ जना कोरोना १९ को संक्रमण परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको छ। सोही समय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। सोही समयमा १८ हजार ५९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९४ पुगेको छ।

  • पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना

    पेट सम्बन्धी समस्याका कारण राष्ट्रपति अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेट सम्बन्धी समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार जारी छ । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।

    राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

  • श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

    श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

    काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।

    विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यसमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइनेछ ।

    बोर्डका प्रवक्ता राजन पौडेलले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने जानकारी दिए । विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिएको छ । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको हो ।

    बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको मृत्यु हुने गरेको छ ।

  • नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

    नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

    काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

    मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न थालेको हो। विभिन्न नाकाबाट आवत जावत हुँदा संक्रमितको संख्या बढेको सह–प्रवक्ता अधिकारीको भनाइ छ। सोमबार १२ सय ६६ जनामा परीक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६६ पुगेको छ। आइतबार १६, शनिबार तीन, शुक्रबार दुई, हिबीबार १७ जनामा कोरोना पुष्टि भएको थियो।

    गत बुधबार १३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा संक्रमणदर शून्य थियो। आफू र अरुलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानी हात धुने र स्यानिटाइजर प्रयोग र खोक्दा वा हाच्छुउँ गर्दा रुमाल प्रयोग गर्न सह–प्रवक्ता अधिकारीले सुझाव दिएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाउन समेत सरकारले आग्रह गरेको छ ।

  • तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

    तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

    तनहुँ । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको हुन् ।

    उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना विरामी भएको घिमिरले बताएको गोरखापत्रले लेखेको छ । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भने । उनले तत्कालका लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी दिए ।


    ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको उनले जानकारी दिए । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी जाँच गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए । घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

    मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताए । केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।

    घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।

  • सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी

    सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी

    काठमाडौं । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको भेटाएको छ । क्यान्टिनलाई तीन लाख जरिवाना गरिएको छ । त्यहाँ मम बनाउने किमामा समेत ढुँसी परेको भेटिएको छ ।

    विभागको आकस्मिक अनुगमन टोलीले उक्त क्यान्टिनको अनुगमनका क्रममा मसला, बेसार, धुलो दूधका प्याकेट म्याद नाघेको भेटाएको हो । विभागका अनुसार उक्त क्यान्टिन सहरी विकास मन्त्रालयको टेन्डरबाट भाडामा लिएर सञ्चालन गरिएको हो । उक्त क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत बिक्रीका लागि फ्रिजिङ गरेर भण्डार गरेको अवस्थामा भेटिएको छ । विभागका अनुसार अनुगमन टोलीले म्याद नाघेका दूध, मसला, बेसार र बासी वा दुर्गन्धित खानेकुरा नष्ट गरेको छ ।

  • स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ

    स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गतराति स्वीटजरल्याण्ड प्रस्थान गरेको छ ।

    कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् । यो स्वास्थ्य मन्त्रीका रुपमा उनको पहिलो विदेश भ्रमण हो ।

  • चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

    चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

    काठमाडौं । ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । भारतको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

    खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने योजना रहेको डाक्टर सुनिल केस्वानीले जानकारी दिएका छन् । भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरले जानकारी दिएका छन् ।

    भण्डारीको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो । गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारी र आमा हरिकला भण्डारी घाइते भएका थिए । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।

  • कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

    कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

    काठमाडौं । भारतको मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको शरीरमा रहेको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उपचारमा संलग्न डा. मुकेश मिश्रालाई उद्धृत गर्दै कांग्रेस नेथा योगराज कँडेलले जानकारी दिएका छन्

    । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना दिइने चिकित्सकहरूले बताएको उपचार समन्वयमा गएका नेता कँडेलले जानकारी दिए । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।

    सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

  • सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

    सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

    काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताएका छन् ।

    भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। शुक्रबार २ वटा शल्यक्रिया गर्ने तयारी गरिएको चिकित्सकहरूले जानकारी दिएको उनले बताए।

    भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो।


    भण्डारीको यसअघि कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो। आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो।

  • सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

    सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

    काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर बनेको छ। कीर्तिपुर अस्पतालले उनीहरुको उपचार नेपालमा सम्भव नहुने भन्दै सिघ्र देशबाहिर लैजान समेत सिफारिस गरेको छ । सांसद भण्डारीका २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको छ ।

    उनको फोक्सोमा समेत असर परेको अस्पतालले जनाएको छ । गतराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका हुन् । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा उपचार जारी छ ।

  • ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

    ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

    काठमाडौं । ग्याँस सिलिण्डर विस्फोटमा परी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गत राति ग्याँस सिलिण्डर विस्फोट भएको छ । राति खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको हो ।

    उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार जारी छ । चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर पुगेको छ ।

  • बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

    बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित

    काठमाडौं । बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा आएको छ। समयमै उपचार र दादुरा रुबेलाविरुद्धको तीव्र खोप अभियानपछि संक्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् ।

    तीमध्ये सबैभन्दा धेरै नेपालगञ्जका २०३ जना बालिबालिका दादुरा प्रभावित भएका छन् ।

    नेपालगन्जमा पहिलोपटक १२ पुसमा दादुरा देखिएको थियो। यहाँका एक ३१ महिने बालकको मृत्यु भएको छ।

    दादुरा संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालयले ६ महिनादेखि १५ वर्षमुनिका ८९ हजार ४५८ बालबालिकालाई लक्षित गरी दादुरा रुबेलाविरुद्दको खोप अभियान सञ्चालन गर्दै आएको छ । जसमध्ये शनिबारसम्म ७२ हजार ९३९ जनाले खोप लगाएको तथ्याङ्क छ ।

    नेपालबाट सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने सरकारको नीति छ।

  • उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

    उपप्रधानमन्त्री लिङ्देनले गरे ८३ औं पटक रक्तदान

    काठमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले ८३ औं पटक रक्तदान गरेका हुन् ।

    लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्दै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिँड्दा हिँड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कयौंपटक रक्तदान गरेको जानकारी गराए ।

    ‘यो जस्तो पवित्र कार्य अर्को कुनै छैन, अहिलेका युवामा रक्तदान प्रति उत्सुकता, संलग्नता र अग्रसरता देख्दा आफूलाई सन्तोषको अनुभूति हुन्छ’ लिङ्देनले भने ।

  • कोटेश्वरमा कोइला बालेर सुतेका  चार  जना बेहोस, उपचार जारी

    कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, उपचार जारी

    काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् । शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ ।

    बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का रहेका छन् । घटना भएको थाहा हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई सिभिल अस्पताल पुर्‍याएको थियो । अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको छ ।

  • अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?

    अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब-भेरिअन्ट तीव्र गतिमा फैलिन थालेको छ । एक्सबीबी.१.५ भाइरसले अमेरिकामा तीव्र गतिमा फैलावट लिएको हो । बीबीसीका अनुसार यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोनाभाइरसको प्रकार हो। ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा, बीटा, गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो।

    सन् २०२१ को अन्त्यतिर देखा परेको ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका त्यसअघिका सबै सब-भेरिअन्ट भन्दा सक्रिय हुन पुग्यो। अनि यो भेरिअन्टबाट अन्य कैयौँ सब(भेरिअन्टहरू पनि बन्दै गए जुन थप सङ्क्रामक छन्। एक्सबीबी.१.५ का कारण हुने सङ्क्रमणका लक्षणहरू ओमिक्रोन भेरिअन्टले कोभिड गराउँदा हुने जस्तै रहेको ठानिएको छ।

    तर, यसबारे अझै टुङ्गोमा पुगिहाल्ने अवस्था भने बनिसकेको छैन। यसबाट सङ्क्रमण हुँदा अधिकांश बिरामीलाई चिसो लाग्दा उत्पन्न हुने समस्या देखा पर्ने बताइएको छ। एक्सबीबी.१.५ आफैँ विकसित भएको हो। उक्त भेरिअन्ट सन् २०२२ को अगस्ट महिनामा भारतमा पहिलो पटक पहिचान गरिएको थियो। तर यो भेरिअन्टलाई त्यहाँका स्वास्थ्यसम्बन्धी निकायहरूले “भेरिअन्ट अफ कन्सर्न” अर्थात् चिन्ताजनक भेरिअन्टका रूपमा वर्गीकृत गरेका छैनन्।

    एक्सबीबी कोरोनाभाइरसको उत्परिवर्तित स्वरूप हो। त्यसले शरीरको प्रतिरक्षा प्रणालीलाई असफल गराउन सहयोग गर्छ। तर उत्परिवर्तनकै कारणले यो भाइरसको सङ्क्रमण गर्ने क्षमता पनि कम हुन्छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका वैज्ञानिकहरूका अनुसार अरू सब-भेरिअन्टको तुलनामा एक्सबीबी.१.५ लाई फैलिने अनुकूल परिस्थिति बढी हुन्छ। तर ‌ओमिक्रोन भेरिअन्टभन्दा गम्भीर वा हानिकारक रहेको भने कुनै सङ्केत देखा परेको छैन।

    बिरामीहरूमा पर्ने प्रभावबारे थप जानकारी प्राप्त गर्न आफूहरूले प्रयोगशालामा भइरहेका अध्ययन, अस्पतालहरूको तथ्याङ्क अनि सङ्क्रमण दरलाई नजिकबाट नियाल्ने डब्ल्यूएचओले जनाएको छ। अमेरिकामा देखा परेका ४० प्रतिशतभन्दा बढी कोभिड बिरामीमा एक्सबीबी.१.५ फेला परेको पुष्टि भएको छ। डिसेम्बर महिनाको आरम्भतिर यो भेरिअन्टले बिरामी पारेका मानिसको सङ्ख्या चार प्रतिशत मात्रै थियो। अर्थात् यसले ओमिक्रोनका अन्य भेरिअन्टलाई निकै कम समयमा उछिनेको छ।

    अमेरिकामा केही सातायता कोभिडका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेको छ। खोप लगाएका मानिसहरूबारे आफू खासै चिन्तित नरहेको प्राध्यापक बर्कले बताउँछिन्। तर कोभिडको जोखिममा रहेका मानिसहरू अनि प्रतिरोध प्रणालीमा समस्या रहेका बिरामीहरूमा पर्न सक्ने प्रभावबारे भने उनी चिन्तित छिन्।

  • चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

    चिसो बढेसँगै बेलायतमा स्वास्थ्य संकट

    लण्डन । चिसो बढेसँगै बेलायतमा स्वास्थ्य सेवामा संकट सुरु भएको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डले अहिलेकै अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीको समाचारमा उल्लेख छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन् ।

    केही अस्पतालका ए एन्ड ई (एक्सिडेन्ट तथा इमर्जेन्सी) विभाग संकटग्रस्त अवस्थामा पुगेको रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले जनाएको छ । रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन का अध्यक्ष डा. एड्रियन बोयलले समयमै आपत्कालीन उपचार नहुँदा सातामा तीन सयदेखि पाँच सय बिरामीको मृत्यु भइरहेको बताएका छन् । गुणस्तर निगरानी गर्ने आरसीईएमले यूकेको ‘ए एन्ड ई’ विभागले हालसम्मकै खराब अवस्था र बिरामीले सबैभन्दा बढी समय कुर्नुपरेको उल्लेख गरेको छ । ६ सातायता ए एन्ड ई आउने विरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको छ ।

    बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले ब्रिटेनमा गत महिनाको तुलनामा यस महिना फ्लूका कारण अस्पताल भर्ना हुने बिरामीहरूको संख्या सात गुणा बढेको जनाएको छ । पछिल्लो तथ्यांकका अनुसार गतसाता अस्पतालहरूमा फ्लुबाट पीडित ३ हजार ७ सय ४६ जना बिरामी भर्ना भएका थिए । तीमध्ये २ सय ६७ जनाको स्थिति गम्भीर रहेको जनाइएको छ ।

    एक महिनाअघि फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ५ सय २० मात्रै थियो । पछिल्लो एक सातामा फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ८० प्रतिशतले वृद्धि भएको एनएचएसले जनाएको छ । यसैगरी, अस्पतालहरूमा उपलब्ध प्रत्येक १० मध्ये ९ ओटा बेड भरिएका जनाइएको छ । फ्लुका कारण एनएचएसका हजारौं कर्मचारीले आकस्मिक बिदा लिएका छन् ।

  • नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

    नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरिएको बताएको छ । मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन् ।

    विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।

  • कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

    कोरोना पुनः बढ्न सक्ने भन्दै मन्त्रालयले गरायो सचेत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै मास्क प्रयोग गर्न समेत भनेको छ । मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

    ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ। पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

  • अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

    अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी

    काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।

    अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीको तथ्यांक छ । सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् । अमेरिका कोभिड १९ बाट समेत बढी प्रभावित मुलुकमा पर्छ ।

  • विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

    विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना

    काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको छ ।

    समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले त्यही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम तीन लाख रुपैयाँ जरिबाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ । अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिबाना सिफारिस गरेको हो ।

    अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गएको मङ्सिर २३ गते नवलपुरको गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको यस होटलमा भएको एक विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए ।

    समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिङ्गा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ ।