Category: स्वास्थ्य

  • नेपालमा ५८२ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

    नेपालमा ५८२ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । दुई हजार ३२८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हाल १० हजार ३७५ जना सक्रिय सङ्क्रमित छन् ।

  • नेपालमा ५६९ जनामा कोरोना, ६२२ जनाले जिते

    नेपालमा ५६९ जनामा कोरोना, ६२२ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार २९६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • काठमाडौं आइपुग्यो १२ वर्ष माथिकालाई लगाउन मिल्ने कोरोना खोप

    काठमाडौं आइपुग्यो १२ वर्ष माथिकालाई लगाउन मिल्ने कोरोना खोप

    काठमाडौं । नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ।

    कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौंआइपुगेको हो।

    यसअघि एस्ट्राजेनेका–कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप नेपालमा लगाइएको थियो।

    दुई मात्रा लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका र दीर्घ रोगीले पनि लगाउन मिल्छ। यसको प्रभावकारिता ९५ प्रतिशत छ।

    थोरै मात्रा आएकाले अहिलेलाई फाइजर खोप दीर्घ रोगीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप कात्तिक २८ गतेबाट लगाउन सुरू गरिनेछ।

  • कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने, खोपले काम गर्छ कि गर्दैन ?

    कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने, खोपले काम गर्छ कि गर्दैन ?

    काठमाडौं । बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निश्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ ।

    यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर, यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निश्कर्ष छ ।

    बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरु नै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।

    स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाई छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ, तर सङ्क्रमितहरुको सङ्ख्या भने कम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरुले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरुले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् ।

    साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरुले आह्वान गर्ने गरेका छन् ।

    कोरोनाभाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हँदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराएका छन् । एजेन्सी

  • धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु

    धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु

    धनकुटा । पहिरोका कारण धनकुटामा घर भत्किदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।  मंगलबार राति खसेको पहिरोमा परि ६ जना घाइते छन् 
    मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

  • अमेरिकामा कोभिडका कारण वालवालिकाको मृत्‍यु र संक्रमण दर वृद्धि

    अमेरिकामा कोभिडका कारण वालवालिकाको मृत्‍यु र संक्रमण दर वृद्धि

    न्युयोर्क

    अमेरिकास्थित संघीय सरकारले ५ बर्षदेखि ११ बर्ष उमेर समुहका वालवालिकालाई पनि कोभिड बिरुद्धको खोपको स्विकृति दिने अन्तिम तयारी गरेको छ । यो तयारी हुँदै गर्दा गत सेप्टेम्बर महिना अमेरिकाका लागि कोभिडका कारण मृत्‍यु हुने र संक्रमित हुनेको संख्यामा अत्यन्त खराब रह्यो ।
    अमेरिकन एकेडेमी अफ पेडियाट्रिकको डाटा अनुसार सेप्टेम्बर महिनामा बालबच्चाहरुमा सँक्रमणदर अत्यन्त उच्च रह्यो । सेप्टेम्बर महिनाको पहिलो हप्तादेखि अमेरिकामा प्राय: सबै बिद्यालाय खुलेको र विद्यार्थीहरु बिद्यालयमा नै उपस्थित भएर पढिरहेका छन् । कोरोना महामारी सुरु भएयता अमेरिकामा ६० लाख बाल बच्चाहरु सँक्रमित भएकोमा सेप्टेम्बर महिनामा मात्र ११ लाख बाल बच्चाहरु सँक्रमित भएको आँकडा अमेरिकन एकेडेमी अफ पोडियाट्रिकले सार्वजनिक गरेको छ । उक्त आँकडा सेप्टेम्बर ३ देखि ३० तारिख भित्रको हो । एकेडेमीको उक्त आँकडाले १५ बर्ष मुनि उमेर समुहका बाल बच्चाहरुको मृत्‍यु दर पनि सेप्टेम्बर महिनामा हालसम्म कै उच्च देखिएको छ । कोभिडका कारण अमेरिकामा सेप्टेम्बर महिनामा ४१ जना वालवालिकाको मृत्‍यु भएको एकेडेमीले जनाएको छ ।
    गत अक्टुबर ७ मा फाईजर र वायो एण्ड टेकले फुड एण्ड ड्रग् एड्मिनिस्ट्रेसनसँग ५ बर्षदेखि ११ बर्षसम्मका बाल बालिकालाई खोपको स्विकृति माग गरेपछि केही हप्ता भित्र स्विकृति दिन लागेको जनाइएको छ ।

  • कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

    कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

    काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो।

    परिषद्ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताए। ‘भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएका हो’, ,उहाँले भने, ‘दुवै खोप उत्तिकै प्रभावकारी छन्।’

    काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमामा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिए। उनका नुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव नौ प्रतिशतमा एन्टिबडी देखिएको छ। यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव एक प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ।

    वरिष्ठ अनुसन्धान अधिकृत धिमालले खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै जानाका साथै केही व्यक्तिमा १५० दिनसम्म पनि एन्टिबडी देखिने बताए। अनुसन्धानकै क्रममा कोभिड-१९ को सङ्क्रमण पुष्टि नभएका व्यक्तिमा एन्टिबडी परीक्षण गर्दा ५९दशमलव आठप्रतिशत मात्र एन्टिबडी देखिएको छ।

    कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड-१९ को सङ्क्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको बताए। खोप लगाएको दिनदेखि नमूना सङ्कलनको दिनसम्मलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेकामा ८२दशमलव३३ प्रतिशत एन्टिबडी देखिएको छ। यस्तै चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३दशमलव ७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको छ।

    यस्तै अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८ दशमलव नौ, दुईटा दीर्घ रोगी भएकामा ७१ दशमलव ६९ र तीन वटा दीर्घरोगी भएकामध्ये ४२ दशमलव तीन प्रतिशत एन्टिबडी देखिएको छ। कार्यकारी प्रमुख डा ज्ञवालीले कोभिड-१९ विरुद्धको खोप नलगाएका तथा कोभिड-१९ को सङ्क्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीमा पनि एन्टिबडी विकसित भएको देखिएकाले कोभिड-१९ समुदायस्तरमा फैलिएको हुनसक्ने बताए।

    अनुसन्धानलाई वैज्ञानिक बनाउने प्रयास गरिएको बताउँदै उहाँले खोप लगाएका व्यक्तिमा एन्टिबडी बढ्दै जाने गरेकाे बताए। काठमाडौँ विश्वविद्यालयको सहयोगमा गरिएको अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए।

    पचास दशमलव पाँच प्रतिशत औसत उमेरका व्यक्तिमा गरिएको अध्ययनमा १५ दशमलव चार प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो। कूल खोप लगाएकामध्ये ८५ दशमलव दुई प्रतिशतले कोभिसिल्ड, १४ दशमलव पाँच प्रतिशतले भेरोसेल, अन्य खोप लगाएका शुन्ना दशमलव दुई प्रतिशत थिए। खोप लगाएका १५ दिनदेखि १५० दिनसम्मका व्यक्ति अध्ययनमा सहभागी थिए।

  • अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो

    अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो

    काठमाडौं । अफ्रिकी मुलुकमा एक शताब्दीभन्दा लामो प्रयासमा तयार भएको मलेरिया विरुद्धको खोप वितरणको अनुमति प्राप्त भएको छ । यो ऐतिहासिक उपलब्धी भएको बीबीसीले लेखेको छ । धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको हो । खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि एउटा ठूलो सङ्कटको रूपमा छ।

    चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ। लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ। आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो। परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ।

    ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो। यस खोपले प्रत्येक १० जनामध्ये ४ जनालाई मलेरिया रोग लाग्नबाट जोगाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ। यसले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्छ।

    पहिलो तीन मात्रा एक(एक महिनाको फरकमा पाँच, छ र सात महिनाका शिशुलाई दिइन्छ भने अन्तिम बुस्टर मात्रा १८ महिना आसपासमा आवश्यक पर्नेछ। यसको व्यापक वितरणका लागि आर्थिक सहायताको पाटो भने अझै अस्पष्ट छ। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ऐतिहासिक क्षण भएको बताएका छन्।

  • कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?

    कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?

    काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार कोरोना विरुद्धको खोप आविश्कार गर्ने व्यक्ति तथा संस्थाले पाउने अपेक्षा थियो । तर, शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । उनीहरुले स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेको नोबेल एसेम्बीले जनाएको छ । यी दुई वैज्ञानिक अमेरिकी र लेबनानका हुन् । डेभिड अमेरिकी र अर्डेम लेबनानका नागरिक हुन् । गर्मी, चिसो र स्पर्श महसुस गर्ने हाम्रो क्षमता अस्तित्वका लागि आवश्यक रहेको र यसले आसपासको संसारसँगको अन्तरक्रियालाई बलियो बनाउने समेत नोबेल एसेम्बलीको भनाई छ ।

  • दशैं लगत्तै १८ वर्षभन्दा मुनीका बालबालिकाले कोरोनाको खोप पाउने

    दशैं लगत्तै १८ वर्षभन्दा मुनीका बालबालिकाले कोरोनाको खोप पाउने

    काठमाडौं । नेपालमा दशैं लगत्तै १८ वर्ष भन्दा मुनीका बालबालिकाले कोरोना विरुद्धको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको जानकारी गराए ।

    उनका अनुसार ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ । दसैँलगत्तै एक लाख फाइजर खोप आउने उनले बताए । उनका अनुसार फागुनसम्म बाँकि खोप आइसक्ने छ । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठले बताए । बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

  • ८६७ जनामा कोरोना पुष्टी, ९ जनाको निधन

    ८६७ जनामा कोरोना पुष्टी, ९ जनाको निधन

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यसअवधिमा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् ।

    त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

  • १०७८ जनामा कोरोना पुष्टी, १२ जनाको मृत्यु

    १०७८ जनामा कोरोना पुष्टी, १२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यसबीचमा ९११ जना निको भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ३६९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २६७, ललितपुरका ६५ र भक्तपुरका ३७ जना छन् ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा थप १७४, प्रदेश २ मा १६, बागमती प्रदेशमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकीमा १०३, लुम्बिनीमा ८६, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा २८ जना संक्रमित थपिएका छन् ।

  • ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?

    ए. समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना, के हो समस्या ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। केही दिनयताको ज्वरो निको नभएको र त्यसका कारण शारीरिक कमजोरी भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनको समस्या पहिचान भएपछि पथ उपचारबारे पत्ता लाग्ने छ । उनको अवस्था सामान्य रहेको र चिकित्सकले निगरानी शुरु गरेको अस्पताल स्रोतले जनाएको छ । नेता पछिल्लो केही महिनायता दौढधुपमा छन् ।

  • नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

    नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

    सुपेन्द्र बस्नेत, बोष्टन

    संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने उद्देश्यले सेप्टेम्बर २५ र २६ तारिखका दिन आयोजना गरेको दुई दिने घुम्ती कन्सुलर शिविर सम्पन्न गरेको हो।

    कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो । आफ्ना सेवाग्राहीहरुलाई राजदूतावासको कन्सुलर सेवाहरु हरसम्भव सहज रुपमा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको ‘घुम्ति कन्सुलर शिविर सेवा’ निकै प्रभावकारी भएको उहाँको ठम्याइ छ। ‘घुम्ति कन्सुलर शिविर निकै प्रभावकारी भएको पाँए। यस्ता सेवाहरुको संख्या बढाएर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने महसुस भएको छ ।’

    सिमित साधन र श्रोतका कारण यस्ता सेवाहरु प्राथमिकतामा रहदा रहदै पनि पर्याप्त संख्यामा सञ्चालन गर्न नसकिएको तथ्य स्विकार गर्दै खतिवडाले भन्नु भयो ‘ भविष्यमा वर्षमा सके दुई पटक, नसके कम्तिमा एक पटक भएपनि, यस्तो कार्यक्रम प्राथमिकताका साथ आयोजना गर्न राजदूतावासले हरसम्मभव प्रयास गर्ने छ ।’ स्थानीय आयोजक संस्थाहरु बीचको सहकार्य र महत्वपूर्ण भूमिकाका कारण राजदूतावासको कार्यक्रम सफलताका साथ सम्पन्न गरी गर्व गर्न पाएकोमा सहयोगी स्थानीय आयोजक संस्थाहरुप्रति खतिवडाले आभार प्रकट गर्नु भयो। उहाँले भन्नु भयो ‘हामीलाई निकै गर्व लागेको छ। यहाँहरुले देखाउनु भएको एकता, सहकार्य र समाजसेवी भावनाले थप उत्प्रेरित र उत्साहित बनाएको छ।”
    आयोजकले दिएको जानकारी अनुसार दुई दिने घुम्ति शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने दुई सय भन्दा बढी सेवाग्राहीहरु लाभान्वित भएका छन्।


    शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document) र पर्यटक भिषा (Tourist Visa) सेवाहरु प्रदान गरिएको नियोग उपप्रमुख कुमारराज खरेलले जानकारी दिनु भयो। कोरोना कहरको अवस्था सुधार भए पश्चात् विभिन्न राज्यहरुमा सात वटा घुम्ति शिविर सम्पन्न गरिसकिएको र बोष्टनमा सम्पन्न भएको आठौं घुम्ती शिविर पनि सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले खुशी व्यक्त गर्नु भयो। स्थानीय आयोजक संस्थाहरुको सक्रिय भूमिकाका कारण सोचे भन्दा बढी सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै खरेलले भन्नु भयो ‘सोचे भन्दा बढी सेवाग्राहीहरुलाई सक्दो गुणस्तरी सेवाहरु प्रदान गर्न सकेकोमा हामी सारै खुशी छौं। महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानीय आयोजक संस्थाहरुलाई धन्यवाद छ ।’
    घुम्ती शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुको प्रवाह हेर्दा लक्षित समुदायहरु सेवा लिन निकै लालायित भएको देखिन्थ्यो। सेवा लिने सेवाग्राहीहरुको घुइचोले, दुई दिने शिविर अपर्याप्त रहेको पुष्टि गरेको थियो। प्राविधिक सेवामा केही समस्याहरु भोग्नु परेको बाहेक समग्रमा घुम्ती सेवा फलदायी र प्रभावकारी रहेको सेवाग्राहीहरुले प्रतिक्रिया दिएका थिए। म्याद गुज्रिएको आफ्नो पासपोर्ट नविकरणका लागि छोरीसंग शिविरमा आउनु भएकी ५५ वर्षिया लक्ष्मी भट्टराईले सहज, छिटो र छरितो सेवा प्राप्त गर्न पाएकोमा निकै खुशी व्यक्त गर्नु भयो। भट्टराईकी ३५ वर्षिया छोरी नितु गौतमले पनि केही प्राविधिक समस्याहरु बाहेक समग्रमा सेवा प्रसंशनीय रहेको प्रतिक्रिया दिनु भयो। अधिकृत वारेसनामा बनाउन आउनु भएका भाष्कर ज्ञवालीले पनि शिविरमा प्रदान गरिएका सेवाहरु गुणस्तरीय नै रहेको जिकिर थियो। आफ्नी छोरीको पासपोर्ट बनाउन आउनु भएकी लक्ष्मी लम्सालको प्रतिक्रिया पनि उस्तै थियो ।अक्टोबरको पहिलो साता सपरिवार नेपाल जाने तयारी गर्दै गर्नु भएका हरि पौडेलले पनि सेवा गुणस्तरीय नै प्राप्त गरेको भन्दै स्थानीय आयोजक संस्थाहरु र राजदूतावासको खुलेरै प्रशंसा गर्नु भयो ।


    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएकोमा आयोजक संस्था एनआरएनए म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले खुशी व्यक्त गर्नु भएको छ। प्राथमिकता दिएर कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुने राजदूत युवराज खतिवडा र स्थानीय स्तरमै आएर नेपाली समुदायलाई आफ्ना अमुल्य सेवाहरु सहज रुपमा प्रदान गरिदिने राजदूतावासका कर्मचारीहरुप्रति तामाङले आभार प्रकट गर्नु भयो। ‘प्राथमिकताका साथ अमुल्य समय दिएर कार्यक्रममा सहभागी भइदिनु हुने राजदूत ज्यू र अहोरात्र खटेर सामुदायलाई गुणस्तरीय सेवा प्रदान गर्नु हुने राजदूतावासका कर्मचारीहरुप्रति आभार प्रकट गर्दछु।’ तामाङले भन्नु भयो,’कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रतक्ष्य अमुल्य सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्णलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गर्दछु।’
    यसैबिच, घुम्ती शिविर सोचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले पनि प्रतिक्रिया दिनु भएको छ।
    ‘कार्यक्रम सोचे भन्दा बढी सफल भएको मेरो बुझाइ छ।हरसम्भव सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने हाम्रो प्रयास रह्यो।’कार्कीले भन्नु भयो,’यो कार्यक्रम हाम्रा लागी पाठ सिकाइको अवसर पनि रह्यो। भावी दिनमा यस कार्यक्रममा भोगेका समस्याहरुलाई न्यूनिकरण गरेर थप गुणस्तरीय सेवा प्रदान गर्ने छौं’।सेवाग्राहीहरुको प्रतिक्रिया र कार्यक्रमको समग्र उपलव्धिको मुल्याङ्कन गर्दा, कार्यक्रम निकै प्रभावकारी र उपलव्धिमूलक भएको भन्दै कार्कीले कार्यक्रमलाई निरन्तरता दिन नेपाली समुदायका तर्फबाट राजदूतावासलाई अनुरोध समेत गर्नु भएको छ।
    दुरी,समय, खर्च र यस भेगमा बसोवास गर्ने झण्डै २५ हजार नेपाली समुदायहरुलाई छिटी, छरितो, चुस्त-दुरुस्त र किफायती हिसावले गुणस्तरीय कन्सुलर सेवाहरु प्रदान गर्न राजदूतावासले यस किसिमको घुम्ती सेवाहरुलाई प्राथमिकताका साथ निरन्तरता दिदै आवश्यक संख्यामा आयोजना गर्नु पर्ने देखिन्छ।यसका लागि यस भेगका नेपाली समुदायले कार्यक्रमको दौरानमा राजदूतावासंग जोडदार माग समेत गरेका छन्।

  • तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

    तीन अंकमा झर्यो कोरोना संक्रमण, ९५३ मा देखिँदा १३७१ जनाले जिते

    काठमाडौं । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण तीन अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा मात्र ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार कुल ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

    १३७१ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ । जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् । १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् । चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण देखिएको आंकडा छ ।

  • दशैंअघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने

    दशैंअघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

    शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने जानकारी दिएका हुन् । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ ।

    उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।”

    आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, “अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।”

    फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए ।

  • नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

    नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने

    काठमाडौं । नेपालमा ४० वर्ष उमेर भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले सरकारको उक्त तयारी बारे जानकारी गराएका हुन् । नेपाली नागरिकको मिर्गौलाको अवस्था जाँच गर्न र स्वास्थ्य पत्ता लगाउन पिसाव जाँच गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    सरकारले मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको जानकारी समितिलाई गराएको छ । आजको बैठकपछि समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो बनाउन सरकारलाई निर्देशन समेत दिएको छ । डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत समितिले निर्देशन दिएको छ ।

  • साइकल स्वस्थ जीवनको पर्याय

    साइकल स्वस्थ जीवनको पर्याय

    कुमार न्यौपाने, न्युयोर्क

    सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।


    जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
    केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।


    साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
    लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
    आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
    साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
    सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
    भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस ।

  • १८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु

    १८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको गति केही थामिएको देखिएको छ । तर, मृत्युदर भने उच्च नै रहेको छ । नेपालमा अगस्टपछि संक्रमण केही कम भएको हो । अहिले समेत यो गति कायम छ । शनिवार नेपालमा थप थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो १२ दिनयताको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम भएको छ भने मृत्युदर स्थिर देखिन्छ ।

    शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,१७६ वटा नमुना परीक्षणमा १८५७ जनामा कोरोना देखिएको छ । तीमध्ये ३,७६७ वटाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। अहिले परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १४ प्रतिशत छ । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४० हजार नाघेको छ ।

    मृतकको सङ्ख्या १०,६९० पुगेको छ। २४ घण्टायता २,२२२ जनाले सङ्क्रमणलाई जित्न सफल भएका छन् । अब देशभर ३६,८६६ जनामा सक्रिय सङ्क्रमण भएको छ । तीमध्ये ३३,८३५ जना घरमा र बाँकी संस्थागत आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवार अपराह्णसम्म ४० लाख नाघेको छ।

  • २०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु

    २०६५ जनामा कोरोना पुष्टी, २३३७ निको भए-२५ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमणदर केही घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३७ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । अब देशभर निको हुनेको सङ्ख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो ।

    अब देशभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ३८ हजार ९ सय ४८ पुगेको छ । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १५ दशमलव ७४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप २५ जनाको ज्यान गएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ६३ पुगेको छ । अहिले नेपालमा ३७ हजार पाँच सय ९९ सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६ सय ६२ जनाको आईसीयू र एक सय ७१ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • नेपालमा २६२४ जनामा कोरोना पुष्टी, थप २० जनाको मृत्यु

    नेपालमा २६२४ जनामा कोरोना पुष्टी, थप २० जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अब नेपालमा यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख पाँच हजार नाघेको छ । मृतकको सङ्ख्या १०,२५९ पुगेको छ। गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका मानिसमा सबैभन्दा धेरै संक्रमण पुष्टी भएको छ ।

    शनिवार सार्वजनिक विवरण अनुसार २४ घण्टामा १३,५७३ जनाको परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३२० जना सङ्क्रमणमुक्त भएको तथ्यांक छ । अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्। अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३३ लाख नाघेको मन्त्रालयले जनाएको छ।

  • किशोर-किशोरीमा लगाइने कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप फागुनसम्म नेपाल आउने

    किशोर-किशोरीमा लगाइने कोरोनाविरुद्धको मोर्डनाको ४० लाख डोज खोप फागुनसम्म नेपाल आउने

    काठमाडौं । सरकारले १२ देखि १७ वर्षका किशोर किशोरीलाई दिन खोप खरीद गर्ने सम्बन्धमा सम्झौता गरेको छ । मोर्डनाले बनाएको ४० लाख डोज खोप खरिद गर्ने सम्बन्धी सम्झौता भएको विश्व बैंकले जनाएको छ । खोप मार्च २०२२ (फागुन)सम्म नेपाल आइपुग्ने भएको छ । विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो । यससँगै नेपाल कोभ्याक्ससँग लागत(साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले यो खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्ने बताएका छन् । नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताएका छन् । कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ, जसमध्ये ६७।५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुने समेत विश्व बैंकले जनाएको छ ।

  • कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

    कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

    काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए लामो समय दोस्रो मात्रा कुरेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज खोप प्रदान गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाले यसबारे जानकारी गराएको हो । जापानले नेपाललाई दिएको कुल १० लाखमध्ये ८ लाख डोज नेपाल आएको छ । भुटानबाट ३ लाख डोज खोप आएसँगै अब कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकाले दोस्रो डोज पाउने भएका हुन् ।

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने जानकारी गराएका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाले खोप पाउने छन् ।

  • २३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै

    २३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै

    काठमाडौं । कोरोना भाइरस विरुद्ध जनस्तरबाटै समर्थन जुटाउन सरकारले मास्क अभियान चलाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २३ साउनबाट एक सातासम्म देशव्यापी मास्क अभियान चलाउने बताएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको जानकारी दिएको छ । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको जनाएको छ ।


    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको हो । जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेका कारण मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको हो । महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

    म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउन सरकारले आह्वान समेत गरेको छ ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो-‘नेपालमा आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन्छन्’

    स्वास्थ्य मन्त्रालयले भन्यो-‘नेपालमा आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन्छन्’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ।

    बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना यो प्रक्षेपण पेश गरिएको हो ।

    प्रस्तुत गरेको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने उल्लेख छ।

    प्रस्तुत तथ्यांकमा ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना व्यक्त गरिएको छ।

    प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ।

    संक्रमितमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल र ५ प्रतिशत गम्भीर हुने प्रक्षेपण पनि गरिएको छ।

    कोभ्याक्सअन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भदौ पहिलो साता र कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भदौ चौथो साता आइपुग्ने उल्लेख गरिएको छ ।

    वैदेशिक अनुदानबाट साउन अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौ दोस्रो साता आइपुग्ने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने जनाइएको छ ।

  • जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु

    जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु

    बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

    बैतडी प्रहरीका अनुसार जङ्गली बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको खुलेको छ । दाजुभाई भने बँदेल धपाउन मकैबारी छिरेका थिए । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटेको छ । जिल्लामा जङ्गली जनावरले मकै नष्ट गर्न थालेपछि त्यसलाई जोगाउन कृषकले अनेक उपाय लगाउने गरेका छन् ।

  • कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय

    कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देश कोरोना सङ्क्रमणको तेस्रो लहरको निकै नजिक रहेको भन्दै सचेत रहन आह्वान गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका दौरान स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएका छन् ।

    पछिल्ला दिनमा धेरै मानिसमा टाउको दुख्ने, सामान्य ज्वरो आउने वा कोरोनासँग मिल्दोजुल्दा समस्या लिएर अस्पताल जाने क्रम बढेको छ । उनका अनुसार स्वास्थ्यमा जटिल समस्या अएका कारण पनि केही व्यक्ति अस्पताल भर्ना भइरहेका छन् । यसले अस्पतालमा बिरामीको चाप बढेको छ । अर्कोतर्फ तथ्यांकले समेत यो पुष्टी गरिरहेको छ ।

    पछिल्लो ४३ दिनयताकै सर्वाधिक संक्रमण बुधबार पुष्टी भएको छ । डा. अधिकारी भन्छन्, ‘मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं, विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।’ उनले कोरोना परीक्षण निःशुल्क भइरहेको भन्दै कोरोना परीक्षणको दायरामा आउन आह्वान गरेका छन् ।

  • रक्तदानमा भगवानले परिक्षा लिए

    रक्तदानमा भगवानले परिक्षा लिए

    विश्व रक्तदाता : अर्जुन मैनाली, न्युयोर्क

    सायद कोरोना महामारीले गर्दा होला, गत बर्षको तुलनामा यस बर्ष त्यति रक्तदान संकलन हुन सकेको छैन । अमेरिकामा करिव आधा जनसंख्याले कोरोना बिरुद्ध खोप लगाएता पनि फेरी कोरोना संक्रमितको संख्या बढी रहेका छन । यस्तैबीच ब्लड बैंकहरुले आम जनमनसमा रक्तदान गर्न अनुरोध गरी रहेका छन । स्वस्थ ब्यक्तिहरुले नै रगत दिएर बिरामीहरु बचाउँछन भन्ने मलाई राम्रो सङ्ग थाहा छ । त्यसैले मैले जुलाई ९ र २३ मा दुई दुई युनिट प्लेट्लेट्स दान गरेँ ।      

    बिगत एक महिनादेखि मेरो शारीरिक, कलेजो, मृगौलामा पत्थरी,  रगत, आदी जाँच चली रहेको छ । अगष्ट ३ मा कोलोनोस्कोपि जाँच गर्न डाक्टरसङ्ग एक महिना पहिले नै समय मिलाएको छु । जुलाई २६ मा न्यूयोर्क ब्लड सेन्टरले फोन गर्दै ‘एकजना बिरामीको लागि तपाईंको प्लेट्लेट्स म्याच भएको छ, अगष्ट १ तारिखमा दिन सक्नु हुन्छ?’ सोधे । मैले तुरुन्तै हुन्छ भन्न सकिनँ । फोन होल्ड मै थियो । बिरामीको अवस्था, कमजोरीपन, अङ्ग प्रत्यारोपण गर्नु पर्दा, रातो रक्तकोष, प्लेट्लेट्स, प्लाज्नाको सुक्ष्म जाँच गरेर संचार गर्नु पर्ने हुन्छ । ती बिरामीसङ्ग मेरो प्लेट्लेट्समा हुने एच एल ए म्याच भएको रहेछ । ब्लड बैँकमा हरेक रक्तदाताको रगत, प्लेट्लेट्स आदी सुक्ष्म तरिकाले अध्ययन गरेर तथ्याङ्क अभिलेख गरिएको हुन्छ । कुनै कुनै बिरामीको जटिलता हेरेर चिकित्सकले रक्त तत्व मेल हुनेसम्म उपलब्ध गराउन कोशीस गर्दा रहेछन । एच एल ए भनेको ह्युम्यान ल्युकोसाइट एन्टिजेन्स हो। यो एक किसिमको प्रोटीन हो ।  हाम्रो शरीरमा रगत समुह भए जस्तै रगतको प्लेट्लेट्समा रहेको एच एल ए मा पनि समुहहरु हुँदा रहेछन । अति नै सुक्ष्म तरिकाले हेर्दा मात्रै यसका समुहहरु थाहा हुँदो रहेछ । मानव शरीरको प्रतिरक्षा प्रणालीले एचएलए मार्फत शरीरका आन्तरिक कोषहरुलाई आगन्तुक कोषहरुबाट जोगाउनको लागि हेर्ने काम गर्दो रहेछ । र शरीरमा तागत पनि दिदो रहेछ ।

    मलाई एकदमै अप्ठ्यारो पर्‍यो । कोलोनोस्कोपी गर्न एक महिनापछि पाएको समयलाई रद्द गरेर फेरी अर्को एक महिनापछिको समय लिन पनि मन लागेन । यो कोलोनोस्कोपि गर्न अघिल्लो दिन कुनै पनि ठोस खानेकुरा खानु हुँदैन रहेछ, साँझमा पेट पुरै सफा गर्न पखाला लाग्ने औषधी खानु पर्दो रहेछ, भोलिपल्ट कोलोनोस्कोपि गर्दा आन्द्राको परको भागसम्म देख्न सकियोस भन्ने हुँदो रहेछ ।

    ति बिरामीको जीवन मेरो रगतमा भर परेको छ । हे भगवान, यो मेरो कस्तो परिक्षा हो? मैले यत्तिका पटक रगत दिएर धेरै बिरामी बचाउन मौका पाएँ । यिनको लागि पनि जसरी भएपनि दिन्छु । मेरो आफ्नो सानो समस्यालाई अली पर सारेर तिनलाई बचाउनु पर्छ भन्ने भावनामा दृढ भएँ । अन्त्यमा मैले फोनमा हुन्छ भन्ने जवाफ दिएँ ।

    अनि अगष्ट १ तारिख बिहान ७:१५ बजे मेल्भिल डोनर सेन्टर, न्यूयोर्कमा प्लेट्लेट्स दान गरेँ । त्यहाँकी इन्चार्जले यो प्लेट्लेट्स ती बिरामीलाई भोली बिहान संचार गरिने छ भनिन । मनमनै ती बिरामीको छिट्टै स्वास्थ्य लाभ होस भनेर शुभकामना ब्यक्त गरेँ । यही नै मेरो धर्म हो भन्ने लाग्यो । सायद पुन्य पनि !    

    रक्तदान गरेर दुइदिनसम्म खाना नखादा, कमजोरी महसुस त पक्कै हुन्छ होला ! तर केही दिनमै तन्दुरुस्त भई हाल्छु नि !

  • कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त

    कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त

    काठमाडौं । सरकारले डा. भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा नियुक्त गरेको छ । गरेको छ । बस्नेतले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तिपत्र लिएका छन् ।

    सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

    प्रधानमन्त्रीले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री एवमं स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले डा. बस्नेतलाई वीरको जिम्मेवारी दिएका हुन् ।

    लामो समयदेखि वीर अस्पतालमा कार्यरत डा. बस्नेतलाई निर्देशक हुँदा अस्पताल व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय जाने गरेको छ ।

  • कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

    कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा १९१६ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।