Category: स्वास्थ्य

  • नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

    नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ । सो बेला बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ । सरकारले एक सूचना प्रकाशित गरि आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ ।

    सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको निर्देशन दिएको हो । पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको चेतावनी मन्त्रालयको छ ।

  • अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

    अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

    काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् ।

    राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको दावि गरेका छन् । तर, यसको भने पुष्टी भएको छैन । अमेरिकी सरकारले नेपालसहित १६ एसियाली मुलुकलाई खोप दिने घोषणा गरेको छ ।

    अमेरिकाको यो घोषणाले नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ बनाउन भूमिका खेल्ने प्रधानमन्त्री ओलीको भनाई छ । यसअघि नेपाल सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी राष्ट्रपति जो बायडेनलाई पत्र लेख्दै खोप उपलब्ध गराउन आह्वान गरेकी थिइन् ।

  • चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

    चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

    काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् ।

    तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको छ । यसअघि चिनियाँ कम्पनी सिनोफार्मले निर्माण गरेको खोपलाई समेत डब्लुएचओले प्रयोगको अनुमति दिइसकेको छ । सो खोप नेपालमा समेत प्रयोग भइरहेको छ ।

    सिनोभ्याक खोप भने चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ मुलुकले प्रयोग गरिसकेका छन् । यो खोप १८ वर्षभन्दा माथिका मानिसहरूका लागि प्रयोगको अनुमति दिइएको छ ।

    साथै डब्लुएचओ फाइजर, बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनमा उत्पादन गर्ने खोपलाई समेत अनुमति दिएको छ । यसले विश्वभर खोप सप्लाईमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने

    चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने

    काठमाडौं । चीनले दुई सन्तानको कडा नीति हटाएको छ । जनसंख्या सन्तुलनको अवधारणा अनुसार अब चीनले एक दम्पत्तिलाई तीन जना सम्म सन्तान जन्माउन दिने निर्णय गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले कडा नियममार्फत जनसंख्या वृद्धिदर रोक्ने गरेको छ ।

    सिन्ह्वाले जनाए अनुसार सोमवार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका हुन् । सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही दशकमै सबैभन्दा कम भएको पाइएपछि गरिएको हो।

    जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको बीबीसीले जनाएको छ । यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।

    यो सङ्ख्या सन् २०१६ को एक करोड ८० लाखभन्दा कम हो । सन् १९६० को दशकयता सबैभन्दा कम हो। सो नतिजा सार्वजनिक भएपछि चीनले परिवार नीति नियमलाई सहज बनाउने अपेक्षा गरिएको थियो। चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक जना बच्चामात्रै जन्माउन पाउने नीति थियो ।

    यो महिनाको सुरुमा सार्वजनिक गरिएको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो।

    सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने नियम आएको हो । नयाँ बच्चाको जन्म नहुँदा बढी उमेरका मानिसको जनसंख्या अधिक हुने र युवा पुस्ता कम हुँदा सन्तुलन मै असर पुग्ने चिन्ता चिनियाँ अधिकारीहरुको छ ।

  • कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?

    कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?

    काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था झन गम्भीर बनेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्योपचारका लागि देश तथा विदेशबाट शुभचिन्तकले सहयोग गरेका छन् । अहिले भने सहयोग अभियान बन्द गरिएको छ ।

  • विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल

    विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल

    काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना भाइरसको संक्रमण पुष्टी भएका उनको भेन्टिलेटरमा राखेर उपचार जारी छ । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जनाएका छन् ।


    थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग सङ्कलन गर्न सकिने भएको छ । साथै खल्ती र ई–सेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने मिश्रले उल्लेख गरेका छन् ।

  • भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित

    भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित

    काठमाडौं । कोभिड १९ संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राती कुटपिट गरेका छन् । यो घटनाको शुक्रबार देशभर कडा निन्दा तथा आलोचना भएको छ । घटनामा सत्तारुढ एमाले निकट प्रदेश स्तरीय नेताको समेत हात रहेको पुष्टी भएसँगै यो घटनाप्रति आक्रोस बढेको छ ।

    नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलन मै उत्रिएका छन् । बिहीवार राति दाङका एकजना सङ्क्रमितको निधन भएपछि उनका आफन्तहरूले उपचारमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घटनाको पुष्टी गर्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।

    स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेसागत धर्म निभाउने वातावरण बनाउन समेत मन्त्रालयले अपील गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथिको घटना सह्य नहुने बताए । बिरामीको उपचारमा खटिएका डा. चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, वन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएको अस्पतालका स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् ।

    प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दुई छोरा र एक भाइ गरी तीन जनालाई नियन्त्रणमा लिइएको छ। आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    उक्त घटनाबारे सान्त्वना व्यक्त गर्ने क्रममा भने राष्ट्रपति विद्यादेवि भण्डारीको व्यापक आलोचना भएको छ । उनले दुख परेका बेला भावनात्मक उत्तेजना हुन सक्ने भन्दै घुमाउरो पारामा आक्रमणकारीको बचाउ गर्न खोजेको संकेत धेरैले गरेका छन् । राष्ट्रपतिले यस्तो भनेकी छिन्, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड १९ को उपचारमा संलग्न भेरि अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

  • गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्‍यो आइसोलेशन सेन्टर

    गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्‍यो आइसोलेशन सेन्टर


    अमृता के सी ( रोनी )
    काठमाडौँ, जेष्ठ १२ ।गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवा सहित २५ बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जगडोल स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामती स्मारकमा रहेको भवनमा आज एक कार्यक्रम बिच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेशन केन्द्रको उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल,नगर प्रमुख सल्लाहकार दिपक रिसाल,नगर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय सहित जनप्रतिनिधि, राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामती स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमार राज सुवेदी लगायतको उपस्थिति थियो ।

    आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका डाक्टर तथा नर्सहरुले उपचार गर्नेछन् ।गोकर्ण प्राथमिक अस्पताल स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का प्रमुख अध्यक्ष श्रीकुमार श्रेष्ठका अनुसार उक्त आइसोलेशनमा १ जना डाक्टर, ३ जना नर्स र ३ जना अहेवको टिम २४ सै घण्टा रहने बताए ।आइसोलेशन केन्द्रमा एम्बुलेसन पनि २४ सै घण्टा रहनेछ । आइसोलेशनको सुरक्षाको लागि नेपाल प्रहरी र नगर प्रहरी खटाइएको छ।

    कोभिड -१९ को पहिलो लहरमा पनि करिव ६० दिन सम्म उक्त ठाउँमा लायन्स क्लब ३२५ ए १ ले आइसोलेशन संचालन गरेको थियो।
    नगर प्रमुख चालिसेको नेतृत्वमा बिपत व्यवस्थापन अन्तर्गत हालको यस असहज परिस्थितिमा राष्ट्रिय शहिद तथा शान्ति पार्क, गोकर्णेश्वर नगरपालिका, र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को साझेदारीमा आइसोलेशन केन्द्र पुनःसंचालन गरिएको हो।नगरले बैशाख महिना भित्र सेन्टर संचालन ल्याउने जानकारी गराएको थियो। दोस्रो लहरको भेरियन्टमा संक्रमितहरुको अवस्था निकै गम्भीर भएकोले अक्सिजन र स्वास्थ्य सामाग्रीका साथै चिकित्सकहरुको अभावले ढिला भए पनि राम्रो व्यवस्थाका साथ निम्न आय स्तर भएका कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेशन प्रभावकारी हुने नगर प्रमुख चालिसेले बताए।आइसोलेशनमा सुरक्षाका मापदण्ड अनुसार खटिएका चिकित्सक टोलिलाई १५ दिन खटाइने छ र ७ दिन क्वारेन्टिनमा राखिने छ ।क्वारेन्टिन पश्चात काेभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै चिकित्सक टोलिलाई पुनः आइसाेलेशन सेन्टरमा खटाइने छ ।

  • गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

    गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

    काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री आउने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले यसको जानकारी गराएको हो । दक्षिण कोरियाबाट तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी आउने भएको हो ।

    यो रकम दक्षिण कोरियाली सरकारको तर्फबाट प्राप्त भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको विज्ञप्तीमा जनाइएको छ ।

    एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेको जनाइएको छ ।

    उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएका छन् ।

    उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको समेत सांसद खो यङ् यिनले जानकारी दिएको विज्ञप्तीमा उल्लेख छ ।

  • लायन्सले गर्‍यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग

    लायन्सले गर्‍यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग


    अमृता के सी ( रोनी )
    काठमाडौँ जेष्ठ १० ।लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले जोरपाटी स्थित नारायणटारमा रहेको शंकरापुर हस्पिटललाई करिब ३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जेष्ठ ९ गते आइतबार पूर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले शंकरापुर हस्पिटलका निर्देशक डा.रमेश ढकाललाई ३ थान प्यासेन्ट अभ्जर मोनिटर हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमार राज सुवेदी,जी एम टि लायन धर्म शरण श्रेष्ठ, डिस्ट्रिक चियर पर्सन लायन राजन ठकुरी ,लायन श्रीचन के सी,लायन गंगालाल श्रेष्ठ लगायत लायन्स लिडरहरुको उपस्थिति रहेको थियोे।

    कार्यक्रममा हस्पिटलका निर्देशक डा. ढकालले हस्पिटलले प्राप्त गरेको उक्त प्यासेन्ट अभ्जर मोनिटरको बिरामिलाई अतिरिक्त शुल्क नलाग्ने जानकारी गराए । हालको विषम परिस्थितिमा “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने मूल नाराका साथ नयाँ भेरियन्टको संक्रमणको उच्च जोखिम वृद्धि संगै हस्पिटल संग समन्वय गरेर संक्रमितलाई बचाउन लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले हाल शंकरापुर हस्पिटलमा ( आइसियु ) बराबरको १० बेड को उच्च निर्भरता इकाई (एचडियू) बनाएर संक्रमित बिरामी सेवा दिने जानकारी लायन भेटुवालले दिए।साथै कोभिड पोजेटिभको लागि लायन्स क्लबले विभिन्न चार ठाउँमा अक्सिजन सहितको आइसोलेशन सेन्टर खोलेर संक्रमितलाई सेवा दिइरहेको जानकारी गराए ।कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स गभर्नर श्रेष्ठले शंकरापुर हस्पिटलमा उपचार गर्न आउने कोरोना संक्रमितहरुले सस्तो शुलभ रुपमा सेवा उपभोग गर्न पाउन् भन्ने उदेश्यले उक्त बिरामीको अवस्था हेर्ने मेसिन हस्पिटललाई हस्तान्तरण गरेको बताए।

  • महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

    महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

    काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदमको रुपमा लिइएको छ । यो कदमको भने सशक्त प्रतिवाद गर्ने निर्णय पार्टीले गरेको छ ।

    त्यसका लागि कोरोना महामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने निर्णय भएको प्रचण्डले उल्लेख गरेका छन् । यसअघि शनिबार नै बसेको विपक्षी मोर्चाको बैठकले संसद विघटनबारे साझा धारणा बनाएर सार्वजनिक गरिसकेको छ ।

    कोरोना भाइरसको महामारी नियन्त्रण मूख्य प्राथमिकता हुनुपर्नेमा सरकार यसतर्फ उदासिन रहँदा यसले बहुआयामिक क्षेत्रमा असर पुग्ने समेत माओवादीको निष्कर्ष छ । पार्टीले महामारी नियन्त्रणमा आफ्नो शक्ति परिचालनको निर्णय समेत गरेको छ ।

  • नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

    नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

    काठमाडौं । नेपालमा थप १२९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। पछिल्लो दुई सातायता लगातार करीव २ सय हाराहारी रहेको मृत्युको संख्या शनिबार केही कम देखिएको छ ।

    संक्रमणदर स्थिर रहेपनि निको हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसले अस्पतालहरुका समेत मानिसहरुको अत्यधिक भिड केही कम भएको छ । साथै यो अवधिमा चीनसहितका मुलुकबाट आएको स्वास्थ्य सामग्रीका कारण मृत्युदर कम गर्न ठूलो सहयोग पुगेको छ । चीनबाट नेपाल वायुसेवा निगमको जहाजले मात्र २ हजार सिलिण्डर ल्याइसकेको छ । आज थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाल छिरेको छ ।

  • नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए

    नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । अब नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यस अवधिमा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको थियो ।

    नेपालमा दुई साता लगातार संक्रमण दर स्थिर रहेको छ । यो अवधिमा ८ हजार ८ सय ४८ जनाले भने कोरोना जित्न सफल भएको मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोनालाई जित्ने संक्रमितको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । नेपालमा कोरोनालाई जित्नेको दर ७५.८ प्रतिशत छ ।

  • एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन

    एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक संजालमार्फत उनको निधन भएको पुष्टी गरेका छन् ।

    स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो । उनी २०५६ सालको आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका निर्वाचित भएका थिए । उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् । केही दिनअघि मुटुको शल्यक्रिया गराएका उनमा कोरोना पुष्टी भएको थियो ।

  • रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन

    रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन


    अमृता के सी ( रोनी )
    काठमाडौं, जेष्ठ ५ । काठमाडौं महानगरपालिका १० बानेश्वर स्थित रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन भएको छ।युथ अफ नेशन १०० ग्रुपका बल्बु गुप्ता नेपालीको अध्यक्षतामा स्थानिय सरकार संगको सहकार्यमा स्कुल भवनमा अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालन गरिएको हो।करिब ३० बेडबाट सुरू गरिएको सेन्टरमा करिब ५२ वटा सम्म बेड संख्या बढाउदै लैजानै लक्ष्य रहेको जानकारी दिएको छ ।
    काठमाडौंमा मात्र नभई देशकै विभिन्न ठाँउमा कोभिड १९ महामारीको समयमा सडक पेटि,मन्दिरमा बसोबास गर्ने घरबार बिहिन व्यक्तिहरुलाई खाना वितरण कार्यलाई १०० ग्रुपका स्वयंसेवकले निरन्तरता दिइ रहेका छन् । “हामीले नगरे कसले गर्ने ,अहिले नगरे कहिँले गर्ने” भन्ने मुल नाराको साथ अक्सिजन र बेडको अभाव भईरहेको अवस्थामा गरिब तथा दिन दुखिहरुको सेवाको लागि सेन्टरको उद्घाटन मंगलबार गरिएको थियो । उक्त सेन्टरमा कोरोना पोजेटिभहरुको उपचार तथा हेरबिचारको लागि ३ जना डाक्टर सहित आवश्यक चिकित्सक टोलिको व्यवस्था गरेको छ।नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण संख्या दिनहुुँ बढेकोले हस्पिटलमा बिरामीको चाप बढी भै बेडका साथै उपचारको लागि बिरामीले हार गुहार गर्नुपर्ने समस्या न्यूनीकरणको लागि सेन्टरले केही हदसम्म मदत पुर्‍याउनेछ।

  • कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु

    कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ५ हजार भन्दा माथि पुगेको छ । नेपालमा कोरोनाबाट ५६५७ जना मानिसको ज्यान गएको छ ।

  • भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते

    भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते

    लमजुङ । बुधबार बिहानै आएको भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण आइसकेको छैन । यद्दपी जिल्लाका विभिन्न स्थानमा कच्चि घर भत्किएका छन् । केही मानिस घाइते भएको खबर छ । भुलभुलेमा ८५ वर्षीया वृद्धा घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनको उपचार जारी छ ।

    आज बिहान लमजुङको भुलभुलेलाई केन्द्र बनाएर ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो स्तर ठूलो भूकम्पका रुपमा मापन गरिन्छ । आज भूकम्प गएसँगै लमजुङ र यस आसपासमा मानिसहरु घरबाट बाहिर निस्किएका छन् ।

  • अन्तर्राष्ट्रिय समुदायबाट सहायताको पहल गर्न राजदूतहरुलाई निर्देशन

    अन्तर्राष्ट्रिय समुदायबाट सहायताको पहल गर्न राजदूतहरुलाई निर्देशन

    काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई मुलुकमा परेको संकटका बेला सहायता जुटाउने काममा लाग्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले राजदूतहरुलाई यस्तो निर्देशन दिएको हो । अन्तरा्रष्ट्रिय समुदायबाट कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न सरकारले राजदूतलाई निर्देशन दिएको हो ।

    मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल बैठक गरेका थिए । उनले बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएका छन् ।

    महामारीका कारण उत्पन्न संकट तथा देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिए । उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न समेत भनेका छन् ।

    उता, सरकारले विदेशी समुदायलाई अपिल र पत्राचार गरेसँगै सहयोग आउने क्रम समेत बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चीन, अमेरिका, युरोपेली युनियन, बेलायत, बंगलादेश, फिनल्याण्ड, थाइल्याण्डबाट सहयोगको प्रतिबद्धता आएको छ ।

  • आजबाट चिनियाँ खोपको दोस्रो डोज वितरण शुरु

    आजबाट चिनियाँ खोपको दोस्रो डोज वितरण शुरु

    काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोपको दोस्रो डोज वितरण शुरु हुँदैछ । १० बजेबाट चार बजेसम्म संचालन हुने खोप अभियानमा यस अघि पहिलो खोप लगाएका व्यक्तिले आफ्नो खोप कार्डसहित तोकिएको केन्द्रमा उपस्थित हुनुपर्नेछ । यसअघि वैशाखमा सरकारले चिनियाँ खोप वितरण गरेको थियो ।

    त्यो खोपको दोस्रो डोज समेत स्टक राखिएका कारण अहिले दोस्रो डोज लगाउन सम्भव भएको हो । यसअघि भारतबाट ल्याएको खोप लगाएका ६५ वर्ष भन्दा माथिका वृद्धवृद्धाका लागि भने सरकारले दोस्रो डोज अझै उपलब्ध गराउन सकेको छैन । भारतबाट खरीद गरेको थप १० लाख डोज खोप भारतीय कम्पनीले दिन नसकेपछि वृद्धवृद्धाको दोस्रो डोज प्रभावित बनेको हो ।

  • नेपालमा ८१६७ संक्रमित थपिए, ५४५५ ले जिते कोरोना

    नेपालमा ८१६७ संक्रमित थपिए, ५४५५ ले जिते कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो दिन संक्रमितको संख्या केही घटेको देखिएपनि कोरोनाको परीक्षण समेत शुक्रबारको तुलनामा कम भएको छ । शुक्रबार २१ हजार भन्दा बढी परीक्षण गरिएको शनिबार भने परीक्षण १८५४८ जनामा भएको छ । यो दिन ५४५५ जनाले कोरोना जित्न सफल भएको तथ्यांक आएको छ ।

    अब नेपालमा कोरोना पुष्टी हुने मानिसको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । यो अवधिमा कुल ३ लाख ३३ शजार १ सय ८ जनाले कोरोना जितेका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या भने १ लाख ९ हजार ७ सय ४० जना रहेका छन् । देशभर २७ लाख ५१ हजार ४ सय ८१ हजार पिसिआर परीक्षण भएको तथ्यांक छ ।

  • नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै

    नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै

    काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मानवीय क्षतिको उच्च दरमा केही कमी देखिएको छ । शनिबार सार्वजनिक पछिल्लो २४ घण्टायताको तथ्यांक अनुसार देशभर कोरोना भाइरस संक्रमणबाट १८७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशभर मृत्यु हुनेको संख्या ४८५६ जना पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये १.०८४ प्रतिशतको ज्यान गएको देखिएको छ । नेपालमा पछिल्लो दिनमा संक्रमित बढेसँगै मृत्युदर समेत बढेको हो ।

  • नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक

    नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक

    काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारीबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को धारणा आएको छ । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपतकालिन सहायताको आवश्यक रहेको संगठनको भनाई छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रवार नियमित प्रेस सम्मेलनमा यस्तो धारणा राखेका हुन् ।

    उनले भारतसहित नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताए । उनका अनुसार अफ्रिका र अमेरिकी महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको छ । यी देश सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत उनले बताए ।

    डा गेहब्रेयससले डब्ल्यूएचओ सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई यी मुलुकमा बिस्तार गर्ने उल्लेख गरे । पछिल्लो दुई सातामा नेपालमा एक लाख १० हजार ७६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १,३७१ जनाको मृत्यु भइसकेको छ ।

  • चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै

    चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै

    काठमाडौं । चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ उड्दैछ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जनाए अनुसार शनिबार राती ११ बजे बेइजिङ जाने तय भएको छ ।

    जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने बताइएको छ । नेपाल एयरलाइन्सले यसअघि वैशाख २८ मा चीनबाट चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री ल्याएको थियो । चीनले नेपाललाई २० हजार सिलिण्डर अनुदानमा दिएको छ ।

  • कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी

    कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी

    काठमाडौं । कोरोना संक्रमण र मृत्यु दरमा नेपालले भारतलाई समेत उछिनेको छ । संक्रमणको तिब्रताका दृष्टीकोणबाट नेपाल संसारकै अग्रणी मुलुकको सूचीमा पुगेको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा दैनिक प्रति १० लाख जनसंख्यामा २४० जना संक्रमित भएका छन् । नेपालमा यो दर ३०४ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा‍‍. अर्चना श्रेष्ठले जानकारी गराइन् । उनका अनुसार कोरोनाको मृत्युदर समेत भारतको तुलनामा नेपालमा उच्च भएको छ ।

    दैनिक प्रति १० लाख जनसंख्यामध्ये नेपालमा ३.३ को ज्यान गइरहेको छ । भारतमा २.५ जनाको मात्र ज्यान गएको छ । यस आधारमा नेपालमा संक्रमणले भयाभह अवस्था सिर्जना गरेको पाइएको छ । परीक्षण गरिएकामध्ये पोजेटिभ देखिनेको संख्या समेत भारतमा भन्दा नेपालमा उच्च देखिएको छ । औसतमा दैनिक भारतमा परीक्षण गरेकामध्ये २२. ६ प्रतिशतलाई कोरोना देखिएको छ । नेपालमा ४५. १ प्रतिशतलाई कोरोना पुष्टी भएको छ ।

  • पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी

    पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी

    काठमाडौं । कोरोना संक्रमण पछि काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन्। उनी बुधबार डिस्चार्ज भएका हुन् । भारतको हरिद्वारमा कुम्भमेलामा भाग लिएका पूर्वराजदम्पत्तिमा स्वदेश फर्किएपछि कोरोना संक्रमण पुष्टी भएको थियो । डिस्चार्जपछि उनी निजी निवास निर्मल निवासमा फर्किए ।

    पूर्वरानी कोमल शाहको भने अझै उपचार जारी छ । आइसियूमा राखेर लामो उपचारपछि उनी अहिले साधारण बेडमा छिन् । साधारण बेडमा समेत प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ । पूर्वअधिराजकुमारी प्रेरणा भने कोरोना जित्न सफल भएकी छिन् । उनी पनि अस्पतालमै छिन् । अब कोमलको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि दुबै जना डिस्चार्ज हुने भएका छन् ।

  • अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा

    अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा

    काठमाडौं । नेपालका चार जिल्लाबाहेक निषेधाज्ञा देशभर लागु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशभरका ७३ जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा रहेको छ । गृह मन्त्रालयका अनुसार अहिले मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा निषेधाज्ञा घोषणा भएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै ७ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो ।

    उपत्यकामा १६ वैशाखमा शुरु भएको हो । निषेधाज्ञा घोषणा भएका जिल्लामा समेत कडाई भने गरिएको छ । अत्यावश्यक बाहेकका सेवा रोकिएका छन् । सरकारले जिल्लाको अवस्था हेरि निर्णय लिन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कोरोनाबाट नेपालका ४४ भन्दा बढी जिल्ला रेड जोनमा परिसकेका छन् ।

  • बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र

    बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखा स्थित बि.एम.सी.ए विद्यालयमा २५ बेडको निःशुल्क आइसाेलेशन सेन्टर तयार भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाको संयोजनमा तयार पारीएको आइसोलेशन सेन्टरमा आवश्यकता अनुसार थप १० वटा बेडकाे व्यवस्था गरिने समेत जानकारी दिएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमित बिरामीलाई बूढानीलकण्ठ नगरपालिकाबाट नै निशुल्क नियमित खानपान सहित नेपाल सरकारले तोकिएको औषधि र भिटामिनको समेत व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

    सेन्टरमा भर्ना हुन बूनपा नगर भित्र डेरामा बसोबास गरेका, निम्न आर्थिक स्तर साथै होम आइसोलेशनमा बस्न प्रयाप्त ठाउँ नभएर समस्या परेका कोभिड संक्रमित व्यक्तिहरुले सम्बन्धित वडा कार्यालय वा बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखामा सूचना गराउनु पर्ने व्यवस्था गरिएको छ । सेन्टरमा १ चिकित्सक, १ स्टाफ नर्स र १ प्यारामेडिककाे टाेली रहकाे छ भने २४ सै घण्टा सेवाका लागि सहायक कर्मचारी समेत खटाइएकाे । सो टाेलीलाई १५ दिन खटाइने र १५ दिन क्वारेन्टिनमा राखिने छ । क्वारेन्टिनमा पश्चात काेभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै टोलीलाई पुनः आइसाेलेशन सेन्टरमा खटाइने छ ।कोभिड १९ को यो महामारीमा संक्रमितलाई हस्पिटलमा बेड नै खाली नहुने,घरमा छुट्टै बस्न ठाउँको समस्या भएको अवस्थामा सो आइसोलेशनमा दिनकाे २ पटक सरसफाइ गरि संक्रमितको उचित हेर बिचार सहितको व्यवस्था गरिएको जानकारी सेन्टरका संयोजक एंव वडा सदस्य राजेन्द्र श्रेष्ठ गराए।

  • बूढानीलकण्ठ  -१० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित” अभियान

    बूढानीलकण्ठ -१० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित” अभियान


    अमृता के सी ( रोनी )
    काठमाडौं, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित”अभियान संचालन भएको छ ।नेपालमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना लहर बढे संगै वडालाई सुरक्षित र संक्रमित मुक्त बनाउन स्थानीय युवाहरूको सकृयतामा अभियान संंगै संक्रमण रोकथाम कार्यक्रम सुरु भएको हो ।कोरोना संक्रमण रोकथाम लागि बूनपा वडा नं १० को मुख्य चोक तथा गल्लिहरुमा सोडियम हाईड्रोक्लोराईट छर्किने कार्य बैशाख २७ गते बाट सुरु गरिएको जानकारी उक्त अभियानका संयोजक विवेक अधिकारीले विश्व न्युजलाई गराए ।

    यदि तपाईंहरू यस अभियानमा जोडिइ अभियानको हिस्सा बन्न वा यस अभियानलाई सहयोग गर्न इच्छुक भए निम्न मोबाइल नम्बरमा कल गर्न सक्नुहुनेछ ।

    १.राजन श्रेष्ठ ९८४३-७०९१२६
    २.विवेक अधिकारी  ९८४६-६७९४१५
    ३.प्रशान्त खनाल  ९८०३६१४४८०

  • एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु

    एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु

     
    काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

    उनी एक साता अगाडि अस्पताल भर्ना भएका थिए । दोलखामा इमानदार नेताको रुपमा उनको छवि रहेको छ । एमाले नेता कार्यकर्ताले उनको निधनमा शोक व्यक्त गरेका छन् । कोरोनाबाट मृत्यु हुने हाइप्रोफाइल व्यक्ती हुन् ।

  • अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

    अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

    काठमाडौं । अक्सिजनको चरम अभाव अब काठमाडौं उपत्यका भित्रका अस्पतालहरुमा देखिन थालेको छ । मंगलबार काठमाडौंका विभिन्न अस्पतालले अक्सिजन नभएको भन्दै हात उठाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको भन्दै तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएको बताएको छ ।

    उसले अस्पतालमा अक्सिजन अपुग हुने भन्दै बिरामीलाई आफ्नो व्यवस्था गर्न भनेको छ । अक्सिजन अभावकै कारण बिरामीलाई डिस्चार्ज गर्न लागिएको र सम्बन्धित निकायहरुमा खबर पुर्‍याइएको समेत अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    उता, ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले समेत कोभिड र नन कोभिड बिरामीको उपचारमा प्रतिदिन ४५० देखि ५०० सिलिण्डर अक्सिजन चाहिने भन्दै सरकारबाट प्राप्त भएको १०० सिलिण्डर कोटाले उपचार पर्याप्त गर्न नसकिने बताएको छ । मेडिसिटीले अक्सिजन अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसकिने भन्दै हात उठाएको छ ।

    अस्पतालले यसबारे स्वास्थ्य मन्त्रालय, सिसिएमसी र सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ । दूर्गम भेग र तराईका बढी भिडभाड हुने अस्पतालमा समेत अक्सिजनको चरम अभाव छ । सोहीकारण कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारमा चूनौति थपिएको छ ।