Category: स्वास्थ्य

  • कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण

    कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृत्यु हुने पछिल्लो केही महिनायता कै बढी हो । नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ । यस अवधिमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्टबाट २४८६ जना र सीमा नाकामा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कुल संक्रमितको संख्या नेपालमा २ लाख ९७ हजार ८७ पुगेको छ । अहिले १६ हजार ८२८ संक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा ३५२, रुपन्देहीमा २६८, दाङमा १७२ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको मन्त्रालयले जनाएको छ ।

  • सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट दुधौली नगरपालिकातर्फ जाँदैगरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तरगत कमलामाई–१४ चन्दनपुरमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा सर्लाहीमा कार्यरत प्रहरीजवान दुधौली नगरपालिका–४ का यम कुमार दनुवारको मृत्यु भएको हो । मोटरसाइकल उनले चलाएका थिए । उनको पछाडी बसेका सोही ठाउँका १३ वर्षीया आशिष कुमार र अन्दाजी ९ वर्षीय अदित कुमार दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी गराएको छ ।

    यम कुमार र आशिषको घटनास्थलमै ज्यान गएको र अदितको सिन्धुली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मोटरसाइकल ढोली खोला नजिक सडकको ग्राभेलमा चिप्लिएर पुलको रेलिङमा ठोक्किएको बताइएको छ ।

  • ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु

    ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै राससले जनाएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।

    स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।

    प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् । घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ । आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

  • दैनिक संक्रमणको आंकडामा अमेरिकालाई भारतले उछिन्यो

    दैनिक संक्रमणको आंकडामा अमेरिकालाई भारतले उछिन्यो

    नयाँ दिल्ली । कोरोना भाइरसको दैनिक संक्रमण दरमा भारतले अमेरिकालाई उछिनेको छ । भारतमा बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो आंकडा सहित भारत एकैदिन सबैभन्दा बढी संख्यामा कोरोना देखिने विश्वको पहिलो मुलुक बनेको छ ।

    यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख ७ हजार ५ सय मानिसमा कोरोना संक्रमण भएको आंकडा आएको थियो । त्यो जनवरी ८ मा थियो । संक्रमण दर र मृत्युदर दुबै बढ्दा यतिबेला भारत आक्रान्त बनेको छ । बुधबार भारतभरि २ हजार १ सय २ जनाले ज्यान गुमाए ।

    भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ। अप्रिल ४ मा पहिलो पटक दैनिक संक्रमितको संख्या १ लाख पुगेको थियो। भारतमा महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना तिब्र गतिमा फैलिएको छ ।

    भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ । १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन्। भारतको संक्रमण दरले नेपालमा समेत जोखिम बढाएको छ ।

  • सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस

    सबै नागरिकलाई कोरोनाविरूद्ध खोप देउ : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्ध खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले कोरोनाबाट जनतालाई बचाउन विशेष कार्ययोजना तयार पारी सबै नागरिकसँग खोपको पहुँच पुर्याउन माग गरेको हो ।

    जनताको जीवन रक्षका लागि विशेष कार्ययोजना आवश्यक रहेको निष्कर्षमा कांग्रेस पुगेको हो । कोरोनाविरूद्ध खोप विश्व बजारमा उपलब्ध भइसकेको भन्दै हरेक नागरिकलाई पुग्ने गरी खोप आपूर्ति गर्न समेत माग गरेको छ । अहिले नेपालमा हरेक दिन १ हजार भन्दा बढी संक्रमति देखिएका छन् । यसले जनस्वास्थ्यमा असर गरिरहेको छ ।

  • टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

    टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

    काठमाडौं । टोखा नगरपालिका भित्रका विद्यालय यही वैशाख ९ गते देखि बन्द हुने भएका छन् । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

    नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ गते देखि विद्यालय बन्द गर्न लागेको विश्व न्युजलाई बताए ।

    ‘वैशाख ५ गतेदेखि ८ गते सम्म सबै विद्यालयका विद्यार्थीहरुमा दोस्रो चरणको कोरोना सम्बन्धि जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ, ‘ उनले बताए ।

    यस्तै टोखाले नगरपालिका भित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक ८, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

  • कोरोनाविरुद्धको दोस्रो डोज खोप भोलीबाट लगाइने

    कोरोनाविरुद्धको दोस्रो डोज खोप भोलीबाट लगाइने

    काठमाडौं । मंगलबारबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो खोप लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाउने दिन तोकिएको छ ।

    स्वास्थ्य सेवा विभागका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्छ । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

    माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार
    २०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोज लगाएकालाई वैशाख ७ मा दोस्रो डोज लगाउन भनिएको छ ।

    माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकालाई वैशाख ८ मा दोस्रो खोप लिन भनिएको छ । माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकालाई वैशाख ९ मा मिति तोकिएको छ ।

    माघ २९ र फागुन ३, ४, ५ र ६ गते खोप लगाएकालाई वैशाख १० माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई वैशाख ११ को मिति तोकिएको हो । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने छ । यसअघि खोप लगाएको स्थानमै पुगेर खोप लगाउनु पर्नेछ ।

  • पेडियाट्रिक सोसाइटीको ५ बुँदे अपिल-‘बालबालिकालाई भिडभाडमा नलैजानूस्’

    पेडियाट्रिक सोसाइटीको ५ बुँदे अपिल-‘बालबालिकालाई भिडभाडमा नलैजानूस्’

    काठमाडौ । बाल रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेपाल पेडियाट्रिक सोसाइटीले अभिभावकहरुलाई ५ बुँदे अपिल जारी गरेको छ।

    पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बालबालिकामा बढ्न थालेपछि उक्त अपिल गरेको हो ।

    अपिलमा सोसाइटीले अतिआवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान, स्वास्थ्यका मापदण्ड पालनना गर्न, स्वास्थ्य मापदण्ड पुरा हुने भएमा मात्र बालबालिकालाई शिक्षण संस्थामा पठाउन, बच्चाहरुमा कुनै समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान लगायतका सुझाव दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि पाँच वर्षमुनिका बालबालिका पनि जोखिममा रहेकाले उनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

    केही स्वास्थ्यकर्मीलेसमेत पाँच वर्षमुनिका बालबालिका जोखिममा नरहेको बताउने गरेको भन्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना भाइरसबाट सबै उमेर समूहका मानिस जोखिममा रहेका जानकारी गराएका हुन् ।

    नेपालमा अहिलेसम्म तीन हजार पाँच सय ६५ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अहिले पाँच वर्षमुनिका ५१ जना बालबालिका सक्रिय संक्रमित छन् ।

    यस्तै नेपालमा अहिलेसम्म पाँच वर्षमुनिका १० बालबालिकाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

    यी हुन् सोसाइटीका ५ बुँदे अपिल

    १ अति आवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजानुहोस्। केही गरी जान परेमा स्वास्थ्यका मापदण्डहरु अपनाउनुहोस । (मास्क, सामाजिक दुरी, ह्यान्ड सानिटाइजर)

    २. अहिले रोग द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालय समेत विद्यालय भर्चुअल कक्षा सञ्चालन गर्न अनुरोध गरेकाले स्वास्थ्य मापदण्ड पुरा हुने अवस्था भए मात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउनुहोस् ।

    ३. सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड पुरा गर्नुहोस् ।

    ४. सरकारी मापदण्ड अनुसार नेपाल सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप, साथै अन्य नियमित खोप लगाउनुहोस् । यसले तपाईं र तपाईंको परिवारलाई कोभिडबाट बचाउँछ । याद गर्नुहोस् हाल १८ वर्षमुनिका बालबालिकाहरुलाई कुनै खोप सिफारिस गरिएको छैन ।

    ५. बालबच्चामा कुनै समस्याहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीहरुबाट सल्लाह लिनुहोस् ।

  • भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण

    भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको छ । यहाँ दैनिक संक्रमण साढे २ लाख माथि पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिबार २४ घण्टामा भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । यो अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । शुक्रबार २ लाख ३४ हजार मानिसमा कोरोना पुष्टी भएको थियो ।

    संक्रमण बढेसँगै मृत्युदर समेत वृद्धि भएको । २४ घण्टामा यहाँ १५ सय भन्दा बढी मानिसको ज्यान गएको आंकडा रहेको छ । यद्दपी यो संख्या संक्रमणको तुलनामा भने मृत्यु कम भएको भारतीय संचारमाध्यमको विश्लेषण छ ।

    तर, भारतमा अधिक जनसंख्या रहेको र पहुँच नभएका मानिससम्म परीक्षण नै नपुगेका कारण कोरोनाबाट मृत्यु हुनेको संख्या कैंयौ गुणा बढी हुन सक्ने आंशका समेत गरिएको छ । उनीहरुको तथ्यांक समेत राख्ने गरिएको छैन । आजतकको एक रिर्पोट अनुसार अहिले नयाँ दिल्लीका सम्सानघाटमा साविकको तुलनामा दोब्बर भन्दा बढी शव ल्याउने गरिएको छ । उनीहरुमा कोरोना भएको हो वा होइन भन्ने कतै पनि रेकर्ड छैन ।

  • नेपालमा ८४३ जनामा कोरोना पुष्टी ५ जनाको मृत्यु

    नेपालमा ८४३ जनामा कोरोना पुष्टी ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो ६ हजार ४ जना मानिसमा गरिएको परीक्षणमा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ५३३३ जनामा पिसिआर गर्दा ७६८ र ६७१ मा एन्टिजेन परीक्षण गर्दा ७५ लाई कोरोना पुष्टि भएको हो। अब नेपालमा कोरोना संक्रमितको संख्या कुल दुई लाख ८३ हजार ६५८ पुगेको छ।

    पछिल्लो २४ घन्टामा २२६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७५ पुगेको छ।

  • बाँकेको कोहलपुरमा बस दुर्घटना, कम्तिमा ५ को मृत्यु

    बाँकेको कोहलपुरमा बस दुर्घटना, कम्तिमा ५ को मृत्यु

    बाँके । सुर्खेतबाट धरानका लागि छूटेको यात्रुबाहक बस बाँकेको कोहलपुरमा दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किँदा दुर्घटनामा परेको थियो । ५ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको खबर आएको छ ।

    दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार जारी रहेको छ ।

  • कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप

    कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप

    काठमाडौं\एजेन्सी । कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा एक दिनमै करीव ४ हजार मानिसले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको ज्यान गएको छ । अब ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ । यसअवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वर्ल्डओमिटरको आंकडामा उल्लेख छ ।

    उता, भारतमा समेत पछिल्लो २४ घण्टामा अर्को कीर्तिमानी संख्यामा संक्रमण पुष्टी भएको छ । यहाँ २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् । भारतमा १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा बढेको संक्रमणले जोखिम नेपालमा समेत बढेको हो ।

  • ‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

    ‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्र (रेड जोन)मा राखेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रेड जोनमा परेका हुन् ।

    यी क्षेत्र खासगरी दुई प्रकारले जोखिममा छन् । एउटा भारतसँगको सिमाना जोडिएको र मानिसहरुको खुलेआम आवतजावतका कारण कोरोनाको उच्च जोखिममा देखिन्छन् । दोस्रो शहरी इलाकाको बढ्दो जनसंख्या र त्यहाँ मानिसहरुले देखाइरहेको लापरवाही गतिविधिले जोखिम बढाएको छ । तर, त्यसको नियन्त्रणमा समेत राज्य उदासिन देखिएको छ ।

    सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भएका छैनन् । होटेल रेष्टुरेन्टको भीड थामिनसक्नु रहेको छ । पार्टी प्यालेसहरुमा मानिसहरुले निष्फिक्री कार्यक्रम गरिरहेका छन् । राजनीतिक दलहरुले समेत आफ्नो गतिविधि रोकेका छैनन् । क्लव र डान्सबारहरुमा समेत मानिसहरुको भिड उत्तिकै रहेको छ । सरकारले यी जिल्लामा भीडभाड हुने सबै गतिविधि रोक्न भनेको छ ।

    मेला पर्व समेत नगर्न भनेको छ । तर, काठमाडौं उपत्यकासहितका क्षेत्रमा हजारौं भिड जम्मा भएर मेला पर्व अहिले पनि बीना सचेतना मनाउने गरिएको छ । प्रशासनको उदासिनता र जनताको लापरवाहीले निकट भविश्यमै नेपालमा कोरोनाले विष्फोटक रुप लिन सक्ने चिन्ता विज्ञहरुको रहेको छ ।

  • रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता

    रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु, एक वेपत्ता

    रसुवा । रसुवामा टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार गएराति करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा कालिका गाँउपालिका १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा उनका भाई २९ बर्षीय सागर तामाङ रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१००६ ख १६८८ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकबाट करिव दुई सय मिटर तल खसेको छ । टिपरमा सवार एक जना यात्रु भने वेपत्ता रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

    गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी चढेको जिप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको बिदाको अवसर पारी स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा परेको थियो ।

    आज बिहान भएको दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले उल्लेख गरेको छ ।

    जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारका सदस्य थिए । कुल १६ जना सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा ११ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

    घुम्ती सडकमाबसलाई ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । सडकबाट १ सय ५० मिटर तल झरेको जिप दुर्घटनाका कारण नयाँ वर्ष कै दिन गुल्मी जिल्ला भने शोकमा डुबेको छ ।

  • टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार

    टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार

    काठमाडौं । कोभिड १९ का संक्रमितको संख्यामा भएको वृद्धिसँगै अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ । यस अस्पतालबाट यसअघि भइरहेका सबै सेवा बन्द गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनका अनुसार मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने गरी अन्य सेवा बन्द गरिएको हो ।

    एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने अस्पतालमा यथावत् रहनेछ । अस्पतालमा अहिले कोभिड सङ्क्रमित आउने क्रम बढेको छ । अहिले ललितपुरस्थित पाटन अस्पतालमा समेत कोरोनाको उपचार हुने गरेको छ । नेपालमा पछिल्लो एक सातायता कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएको छ ।

  • गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु

    गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु

    गुल्मी । गुल्मीमा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षिय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षिय गोविन्द विकको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा उनीहरु डुबेका हुन् । दुवै जनाको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।

  • दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

    दोलखामा जिप दुर्घटना : चार जनाको मृत्यु, १७ घाइते

    दोलखा । दोलखामा जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४, सिँगटी भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । १७ जना व्यक्ति दुर्घटनामा घाइते रहेको प्रहरीले जनाएको छ ।


    सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    घाइते भएकामध्ये १० जनालाई थप उपचार गर्न काठमाडौंमा पठाइएको छ । केहीको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार जारी छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको खबर आउनासाथ जिल्लाबाट उद्दार टोली घटनास्थलमा राती नै खटिएको थियो ।

  • चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान

    चितवन ट्याक्टर दुर्घटनाका मृतकको भयो पहिचान

    चितवन । आइतबार साँझ चितवनमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान भएको छ । चितवनको राप्ती नगरपालिका, भन्डाराको पहाडी क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा उनीहरुको ज्यान गएको थियो ।

    चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ र खैरहनी–९ बैरहनीकी ५० वर्षीया छनिया महतो छन् ।

    एक जना अन्दाजी २४ वर्षका पुरुष रहेको भएपनि उनको नाम नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्य्राक्टर चालक खैरहनी–७ मझुहीका २६ वर्षीय राजन चौधरी घाइते छन् । घटनामा एक दर्जन घाइते भएका थिए । उनीहरुको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

  • काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला

    काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको छ ।

    शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको थियो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो । शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

    प्रहरीले कोठामा घर्तिसँगै बसेका राजकुमार गाहा र झक्कुराम बस्नेतलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । गेष्टहाउसमा सँगै बसेका दुई जना शनिबार राती नै उपत्यकाबाट भागेको र बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

    भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

    नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ ।

    दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग सम्बन्धित काम रहेका छन् ।

    राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी बाहेक अन्य व्यक्तिले स्वीमिङ पूल प्रयोग गर्न नपाउने भएका छन् । बढ्दो गर्मिका बीच लागेको प्रतिवन्धले समस्या निम्त्याउन सक्ने बताइएको छ ।

    विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिसलाई भाग लिन दिइने छैन । रेस्टूराँ र बारमा ५० प्रतिशत भन्दा बढी मानिस राख्न पाइने छैन । दिल्लीका सबै कलेज र कोचिङ संस्था बन्द गरिएको छ ।

    सार्वजनिक सवारीले सीटमा ५० प्रतिशतमात्र यात्रु राख्नु पर्नेछ । कोरोनाबाट भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रुले आफू संक्रमित नरहेको प्रमाण देखाउनु पर्नेछ ।

    रिर्पोट नभए अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । यसका वावजुत पनि आर्थिक गतिविधि रोक्ने गरी भने दिल्ली सरकारले प्रावधान ल्याएको छैन । यसले दैनिक मजदुरी गर्नेहरुलाई भने राहत दिने छ ।

  • नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना

    नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस दिन ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ ।

    आज एक सय ५१ जना निको भएका छन् । नेपालमा कुल दुई लाख ७३ हजार आठ सय ८६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । नेपालमा हाल २ हजार आठ सय जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

  • आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’

    आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’

    लण्डन । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एक दुर्लभ असर मात्र रहेको युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले निष्कर्ष निकालेको छ ।

    बीबीसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिको जोखिमको तुलनामा यसमा फाइदा बढी पाइएको निष्कर्ष निकालेको हो । प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको बताइएकोछ ।

    ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन । रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलामा देखिएको हो ।

    बेलायतको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने सुझाव दिएको थियो ।

    बेलायतमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो । यसमध्ये १९ जनाको मृत्यु भइसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको सम्भावना रहे पनि त्यसको पुष्टि नभएको बताएको थियो । यो खोप संसारभर २० करोड मानिसले लगाएको र त्यसमध्ये नगन्य मानिसमा मात्र समस्या देखिएको उल्लेख छ ।

  • पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पा । पाल्पाको तानसेनमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना गएराती साढे १२ बजे भएको हो ।

    दुर्घटनामा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको छ । उनीहरुको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।

  • कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको ज्यान गइसकेको छ ।

    यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण थप भएको छ । अहिलेसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएको भन्दै संघले स्वास्थ्य सावधानी अपनाउन आह्वान समेत गरेको छ ।

  • भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

    भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा केही मानिसहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङलाई स्थानीय युवाले कुटेका थिए । त्यसक्रममो उनको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिटमा संलग्नहरु पक्राउ समेत परेका छन् ।

    कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा शनिवार राति घटना भएको हो । उनलाई पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरिएको थियो । प्रहरील स्थानीय टेकबहादुर केसी, नवीन कोजु, विनोद लाखा, कमल खत्री र सनिशकुमार रायलाई पक्राउ गरेको छ ।

  • नेपालमा १२८ कोरोना संक्रमित थपिए, १६१ ले जिते

    नेपालमा १२८ कोरोना संक्रमित थपिए, १६१ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२८ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । कुल २ हजार ७२७ जनाको नमुना परीक्षणपछि १२८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

    अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा १६१ जनासहित २ लाख ७३ हजार १२३ जना निको भएका छन् ।

    यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ ।

  • बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको घटनामा ८ आरोपित पक्राउ

    बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको घटनामा ८ आरोपित पक्राउ

    बागलुङ । होली खेल्ने क्रममा भएको विवादपछि बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो । बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होली पूर्णिमाको दिन दर्लिङ र राजकुतका युवाबीच झडप भएको थियो ।

    सो क्रममा दुई युवालाई भीरबाट धकेलिएको थियो । घटनामा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक परियारको ज्यान गएको छ ।

    प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा बडिगाड गाउँपालिका–१० दर्लिङका २८ वर्षीय रेशम बुढा मगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षीय रेशम भन्ने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा र ३६ वर्षीय ढालबहादुर बुढालाई सार्वजनिक गरेको छ ।

    उनीहरुमध्ये सूर्य बुढा र ढालबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए । पक्राउ पर्नेमाथि जिल्ला अदालतबाट म्याथ थप गरी घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । यो घटनामा मदिरा मूख्य कारण रहेको समेत प्रहरीको भनाई छ । अत्यधिक मदिरा सेवन गरेका दुबै तर्फका युवाबीच एक युवतीलाई रंग दल्ने विषयलाई लिएर झगडा शुरु भएको थियो ।

  • कैलालीमा हात्तिले लियो एक जनाको ज्यान

    कैलालीमा हात्तिले लियो एक जनाको ज्यान

    कैलाली । कैलालीमा हात्तिको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिका–६ मा हात्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ । त्यहाँको जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तिको आक्रमणमा परी ज्यान गएको हो । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

  • कीर्तिपुरमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

    कीर्तिपुरमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

    काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको हो ।


    टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दक्षिणकाली नगरपालिका–१ का ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको शव बिहीबार फेला परेको हो । सशस्त्र प्रहरी बलको निलबाराही गणबाट खटिएको टोलीले उनीहरुको शव पोखरीबाट बाहिर ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।