Category: स्वास्थ्य

  • नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित

    नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दरमा उच्च गतिमा गिरावट आएको छ । यसमा कोरोना परीक्षण घट्नु पनि एक कारण हो । तर, कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा समेत उच्च कमी आएका कारण समग्रमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । अब देशभर मात्र १५३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले देखाएको छ ।

    साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमितले रोगलाई जित्न सफल भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३६ जना संक्रमित डिस्चार्ज भए र अब देशभर दुई लाख ६९ हजार सात सय ५५ जनाले कोरोना जित्न सफल भएका छन् ।

    पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भयो । कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ५१ पुगेको छ । २४ घण्टा यता कोरोनाबाट मानवीय क्षति भने भएन ।

  • नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप

    नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाएका छन् ।


    यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो । दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।


    अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयको भनाई छ । मन्त्रालयले आउँदो २३ गतेदेखि भने दोस्रो अभियान सञ्चालनको तयारी गरेको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप दिइने छ ।

  • थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०६१ पुग्यो

    थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०६१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६१पुगेको छ ।

  • बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको आज अन्त्येष्टी गरिँदै

    बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको आज अन्त्येष्टी गरिँदै

    बैतडी । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गरिने भएको नेपाली संचारमाध्यमले लेखेका छन् । परिवारले बिहान शव बुझ्ने र त्यसपछि शवयात्रासहित उनको अन्तिम संस्कार गर्ने तयारी छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भट्टको हत्या भएको १७ औं दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि परिवारले उनको शव बुझ्न मानेका थिएनन् । हत्यारालाई कानूनको कठघरामा उभ्याउनु पर्ने भन्दै उनीहरुले शव बुझ्न मानेका थिएनन् ।

    प्रहरीले बुधबार चडेपानीकै किशोर दिनेश भट्टलाई उनको हत्या आरोपमा सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बयान दिएका कारण परिवार आस्वस्त हुन सकेका थिएनन् । किनकी शव परीक्षण रिपोर्टले भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ । भागरथीका घरपरिवार बलात्कार गर्ने व्यक्तिको समेत खोजी गर्नुपर्ने माग राखेका थिए ।


    बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामू दिनेशसँग पुनः बयान लिइएको थियो । बयानमा भने दिनेश आफैले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । दिनेश भागरथीका नजिकका भाई पर्छन् ।

    बलात्कार र हत्या आफैंले गरेको दिनेशको स्वीकारोक्तीपछि भने भागरथीका परिवार शव बुझ्न राझी भएका हुन् । माघ २१ मा विद्यालयबाट घर जान हिडेँकी भागरथी वेपत्ता भएकी थिइन् । उनको माघ २२ मा घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

  • २३ फागुनदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने

    २३ फागुनदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने

    काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप अभियान शुरु गर्ने भएको छ । प्राथमिकतामा परेका नागरिकलाई त्यस अगाडी नै खोप दिने र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप वितरणको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको बताइएको छ ।

    यो उमेर समुहमा कुल २८ लाख जनसंख्या रहेको अनुमान सरकारको छ । निकट भविश्यमा २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरीद गरेको भित्राइदैछ । कोभ्याक्समार्फत समेत कोरोना खोप आउने भएकाले खोपको अभाव नहुने बताइएको छ ।

    यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको हो । यसपछि भने ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने भएका छन् ।

    नेपालमा प्रारम्भमा चिकित्सक र फ्रन्टलाइनमा काम गर्ने, दोस्रो प्राथमिकतामा पत्रकार र तेस्रो प्राथमिकतामा सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई राखेर खोप दिइएको छ ।

  • कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ साता भित्र लगाउन सिफारिस

    कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ साता भित्र लगाउन सिफारिस

    काठमाडौं । कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ साताको बीचको अवधिमा लगाउन सकिने कोभिड १९ खोप प्राविधिक सल्लाहकार समितिले स्पष्ट पारेको छ । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस्तो सुझाव दिएको हो । सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको गरेको बताइएको छ ।

    यो प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको छ । मन्त्रालयले यसअघि खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने जानकारी गराएको थियो । तर, विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज)को सिफारिसका आधारमा नेपालमा समेत विज्ञ समुहको बैठकले यस्तो निर्णय लिएको हो ।

    सेजका अनुसार पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने बताएको छ । खोपको दोस्रो मात्रा ढिला लगाउँदा शरीरमा एन्टिबडी प्रभावकारी हुने देखिएको हो । चिकित्सकहरुका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसर दोस्रो मात्रा लगाउँदा भने कम मात्र देखिन्छन् । कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलता स्वास्थ्य समस्या समेत कम गर्ने बताईएको छ ।

  • आजबाट सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कोरोना खोप

    आजबाट सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कोरोना खोप

    काठमाडौं । नेपालमा आजबाट सरकारी कर्मचारी र जनप्रतिनिधिले कोरोना भाइरसको खोप लगाउन पाउने भएका छन् । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी । दोस्रो चरणमा पत्रकारलाई खोप दिइएको थियो । आजबाट तेस्रो चरणको अभियान शुरु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले खोप लगाउन सक्ने भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाले समेत यो चरणमा खोप लगाउन सक्ने भएका छन् । सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

    वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको हो । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्छ ।

  • शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा

    शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा

    काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि सत्यमोहन र उनकी श्रीमती राधादेवीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

    उनीहरूले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो ।

    वि.सं १९७७ बैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिएका जोशी नेपालका संस्कृतिविद् हुन् । उनले वि.सं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार पाएका छन् । उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन् । उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन् ।

    नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाण्डु विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

    नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटकसम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

  • लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङ । पुर्वि लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँमा भएको जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । अर्का तीन जा गम्भीर घाइते छन् । प्रहरीका अनुसार दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप बिहीबार साँझ ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेको हो ।

    दुर्घटनामा आयोजनामा कार्यरत दुई इन्जिनियर र जिप चालकको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा निवासी इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राईको मृत्यु भएको छ ।

    धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते छन् । स्कुल बिदा भएपछि खाली रहेको सीटमा विद्यार्थी समेत चढेका थिए । घाइतेको जिल्ला अस्पताल बेंसीसहरमा उपचार जारी छ ।

  • थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४७ पुग्यो

    थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

  • उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

    उत्तराखण्ड बाढी : एक नेपालीसहित २६ को शव फेला, अझै १७० वेपत्ता

    उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा हिमताल फुटेर आएको भिषण बाढीमा परी कम्तिमा २६ को मृत्यु भएको पुष्टी भएको छ । त्यसमा एक जना नेपाली रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यद्दपी उनको पहिचान खुलेको छैन ।

    चार जना नेपालीको भने सकुशल उद्धार गरिएको छ । आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीपीबी) को टोलीले गरेको उद्धारमा ४ जना नेपाली नागरिक समेत थिए । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आएको बाढीमा परी हराइरहेकाको खोजी अझै जारी छ ।

    बीबीसीका अनुसार अझै १७० भन्दा बढी मानिस वेपत्ता छन् । २६ जनाको मृत्यु भएको छ भने २५ जनाको सकुशल उद्धार भएको छ । उनीहरुलाई चमोली जिल्लाको तपोवनस्थित ऋषिगंगा जलविद्युत्को सुरुङबाट जीवितै उद्धार गरिएको हो ।

    धौलीगंगा नदीमा आएको भिषण बाढीले ठूलो मानवीय क्षति गरेको छ ।
    उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेको थियो । यसले धौलीगंगा, अलकनन्दालगायत नदीमा ठूलो बाढी आएको छ ।

    बाढीले चमोली जिल्लाको रैनी र तपवोवन क्षेत्रमा ठूलो क्षति गरेको छ । दुई गाउँ बगेका छन् । जोशी मठ नजिकै एक पुल बगेको छ । चारवटा जलविद्युत् आयोजना ध्वस्त भएका छन् । घटना आइतबार भएको हो । आज पनि खोज तथा उद्धार जारी रहने आईटीपीबीले जनाएको छ ।

  • सोमबारबाट कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले कोरोना खोप लगाउन पाउने

    सोमबारबाट कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले कोरोना खोप लगाउन पाउने

    काठमाडौं । नेपालमा शनिबारबाट पहिलो चरणको खोप अभियान पुरा भएको छ । यस दौरान फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीले खोप लगाएका छन् । यसबाहेक वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई समेत कोरोना खोप दिइएको छ ।

    दोस्रो चरणको अभियान भने सोमबारबाट शुरु हुने भएको छ । सरकारले सोमबारबाट पत्रकार, कूटनीतिक नियोग र संयूक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको हो ।

    बढी जोखिममा रहेका सार्वजनिक सवारीसाधनका चालक, सहचालक, समुदायमा रहेका वृद्धवृद्धाले भने अर्को खेप खोप आएपछि मात्र लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले भारतबाट आएको खोपको संख्या कम भएका कारण कम संख्यामा प्राथमिकतामा रहेका समुदायलाई कोरोना खोप लगाउन लागिएको हो ।

    यसमा करीव १३ हजार पत्रकारले खोप लगाउन सक्ने अनुमान गरिएको छ । पत्रकारले सूचना विभागको कार्डका आधारमा खोप लगाउन सक्ने छन् । पत्रकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट खोप प्राप्त गर्नेछन् । अहिलेसम्म पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाइसकेका छन्।

  • बैतडीमा बुबाले गोली हानेर छोरीको गरे हत्या

    बैतडीमा बुबाले गोली हानेर छोरीको गरे हत्या

    बैतडी । बैतडीमा एक बुबाले आफ्नै २० वर्षिय छोरीको गोली हानेर हत्या गरेका छन् । नेपाली संचारमाध्यमहरुका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका १० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेका हुन् ।


    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना शनिबार साँझ ५ बजेतिर भएको हो । प्रहरीका अनुसार श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको प्रारम्भिक जानकारी आएको छ । गोली हान्ने अभियुक्त भने फरार भएका छन् ।

  • काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो

    काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो

    काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुष्टी भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । राष्ट्रिय समाचार समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी गराएको हो । गत १६ माघमा तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण पुष्टी भएको थियो ।

    सङ्क्रमण देखिएको स्थानबाट फैलन नदिन थप सतर्कता अपनाएको र अहिले उक्त सङ्क्रमण नियन्त्रणमा आइसकेकेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिएका छन् ।

    उनका अनुसार उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आइएको छ । आसपासमा थस संक्रमण देखिएको छैन । रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।

    यसबाहेक एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो ।


    विभागले यसअघि नै भारतका केही प्रदेशमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सीमानाका बन्द गरिसकेको छ । अहिले भारतबाट पंक्षी नेपालमा ल्याउन पाइदैन ।

  • कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज खोप पाउने

    कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज खोप पाउने

    काठमाडौं । नेपालले कोभ्याक्स कार्यक्रमबाट पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप प्राप्त गर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने सम्भावना छ । यो खोपले नेपालको जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पुग्ने भएको छ ।

    खोप सन् २०२१ को‌ पहिलो छ महिना भित्र प्राप्त हुने प्रक्षेपण गरिएको छ । सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका हुन् ।

    कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य छ । नेपालले अनुदानमा पाउने मध्ये यो सबैभन्दा ठूलो संख्या हुनेछ । यसबाहेकको खोप भने मुलुक स्वयमःले खरीद गर्नुपर्छ ।

  • पहिलो चरणको खोप अभियान अन्तिम चरणमा, १ लाख ३५ हजार बढीले लगाए खोप

    पहिलो चरणको खोप अभियान अन्तिम चरणमा, १ लाख ३५ हजार बढीले लगाए खोप

    काठमाडौं । नेपालमा शुरु भएको पहिलो कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तिम चरणमा पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित लाइभ अपडेट मार्फत पहिलो चरणको खोप अभियान अन्तिम चरणमा पुगेको बताएका हुन्।

    खोप अभियानमा उत्साहजनक सहभागि भएका छन्, अबको तीनदिनमा पुरा हुने उनले बताए ।

    स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म १ लाख ३५ हजार १३ जना स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन्।

    लायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

  • गोकर्ण गाम्चामा कोभिड -१९ को कारण बन्द रहेको स्वास्थ केन्द्र पुन सूचारु

    गोकर्ण गाम्चामा कोभिड -१९ को कारण बन्द रहेको स्वास्थ केन्द्र पुन सूचारु

    कोभिड -१९ को कारण बन्द भएको गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको स्वास्थ केन्द्रको स्वास्थ्य सेवा एक कार्यक्रमका बिच पुन सुचारु गरिएको छ।सामुदायिक विकास समाजबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्रको आंशिक रुपमा संचालित स्वास्थ्य सेवा कार्यक्रम विश्व भरी महामरिको रुपमा फैलिएको कोरोना भाइरसको कारण बन्द गरिएको थियो।

    गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित स्वास्थ्य केन्द्रको सेवा पुन शुभारम्भ कार्यक्रमको सभापतित्व सामुदायिक बिकास समाजका अध्यक्ष गम्भिरमान श्रेष्ठले गरेका थिए भने नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मी भण्डारी,वालुवा स्वास्थ्य शाखा प्रमुख लेखराज निरौला,समाजसेवी किरण बहादुर बिष्ट,गोकुल बिष्ट,हर्क बहादुर तामाङ,रवि कुमार पौडेल,कृष्ण प्रसाद भण्डारी,श्याम राज गौतम,स्थानिय संघ-संस्था महिला समुहका प्रतिनिधि लगायत स्थानिय जनसमुदायहरुको शुभारम्भ कार्यक्रममा उपस्थिती थियो।


    कार्यक्रममा शुभकामना मनतव्य दिदैं नेत्र बिशेषज्ञ रबि कुमार पौडेलले आफुले महिनामा एक चोटि निशुल्क नेत्र शिविर संचालन गर्ने प्रतिबद्धता समेत जनाए।स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,स्वास्थ्य सेवालाई स्थानियहरुको लागि जिवन्त होस् भनी नगरपालिकाबाट दुई जना स्थायी कर्मचारी दरबन्दी सहितको व्यवस्थापन गराएर स्वास्थ्य केन्द्रको पुन शुभारम्भ गर्न पाउँदा आफू हर्षित भएको बताउदै नगर प्रमुख चालिसेले “कर्मचारीलाई स्थानिय जनसमुदायको उत्कृष्ट सेवा पुर्‍याउन आग्रह गरेका थिए “।

    गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाबाट निशुल्क औषधि उपचारको व्यवस्था साथ शुभारम्भ स्वास्थ्य सेवाबाट स्थानिय जनसमुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

  • मंगलबारसम्म १ लाख २८ हजारले लगाए कोरोना खोप

    मंगलबारसम्म १ लाख २८ हजारले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा मंगलबारसम्म १ लाख २८ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज खोप अभियानको सातौं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएका छन् ।

    प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको मन्त्रालयले उल्लेख गरेको छ । पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुले खोप पाइरहेका छन् ।

  • कैलालीमा मोटरसाइकल र ट्याक्टर ठोक्किए, दुई जनाको मृत्यु

    कैलालीमा मोटरसाइकल र ट्याक्टर ठोक्किए, दुई जनाको मृत्यु

    कैलाली । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । कैलाली प्रहरीका अनुसार घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    ट्याक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ वर्षीय रामसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यधिक गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

  • काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोक र नयाँ बसपार्कस्थित बिजी मल अगाडि सडक दुर्घटनामा एक–एक जनाको ज्यान गएको हो ।

    हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना भएको र सो क्रममा सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको छ । प्रहरीका अनुसार विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो । टिप्पर चालक प्रहरीको नियन्त्रणमा छन् ।

    उता, नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट ज्यान भएको छ ।

    गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक भने प्रहरी नियन्त्रणमा छन् ।

  • शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

    शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

    काठमाडौं । नेपालमा शनिबार मात्र देशभर करीव १५ हजार मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभरका १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४ सय २, गण्डकीमा १८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० व्यक्तिले खोप लगाएका छन् । आज नेपालमा खोप अभियानको चौथो दिन हो । यस दिनसम्म कुल खोप लगाउनेको संख्या भने ६४ हजार ४ सय २२ पुगेको छ।

  • नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज

    नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३३३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।

  • दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

    दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं । नेपालमा बुधबारबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको हो । आज बिहीबार दोस्रो दिनसम्मको आंकडा अनुसार २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा उत्साहजनक सहभागितासहित कोरोना खोप विरुद्धको अभियान चलिरहेको छ ।

    आजसम्म प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७, प्रदेश २ का २ हजार १ सय ७४, बागमतीका ११ हजार ४ सय ६१, गण्डकीमा ४ सय ८५३, लुम्बिनी २ हजार ३ सय ३, कर्णालीका १ हजार ६ सय ७७ र सुदूरपश्चिममा २ हजार ४ सय १६ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।

    मन्त्रालयका अनुसार खोप लगाएका व्यक्ति कसैमा पनि स्वास्थ्य समस्या देखिएको रिर्पोट प्राप्त भएको छैन । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका जनशक्तिले खोप पाइरहेका छन् । यसमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालक, खोप केन्द्रमा खटीने सुरक्षाकर्मी तथा स्वयं सेवक रहेका छन् ।

    यसैगरी शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयं सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, वृद्धाश्रमका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै जनसंख्यालाई पुग्ने गरी खोप भित्राउने घोषणा बुधबार गरेका छन् ।

  • गूड न्यूज : ६ महिनायता पहिलो पटक कोरोनाबाट नेपालमा शून्य मृत्यु

    गूड न्यूज : ६ महिनायता पहिलो पटक कोरोनाबाट नेपालमा शून्य मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएन । यो सुखद समाचार यस्तो समयमा आएको छ, जहाँ कोरोना विरुद्धको खोप अभियान शुरु भएको दुई दिन मात्र भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ६ महिनायता पहिलो पटक सुखदः दिन आएको हो ।

    नेपालमा २०७७ जेठ १ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएका बिरामीका पहिलो मृत्यु भएको थियो । सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोनाकै कारण ज्यान गएको थियो । त्यसपछिको एक महिना बित्दा नबित्दै नेपालमा कोरोना उत्कर्षमा पुग्यो र मृत्युदरले पनि गति लियो ।

    साउनको अन्तिम सातापछि भने हरेक दिन औसतः दैनिक १० जना हाराहारीको ज्यान गएको छ । नेपालमा अहिलेसम्म २ हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ । तर, पछिल्लो २४ घण्टाले भने त्यो सिलसिला तोकेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो पटक १९ साउनमा नेपालमा मृत्यू संख्या शून्य रहेको थियो । त्यसपछि आज यस्तो सुखद दिन रहन सफल भयो ।

    कात्तिक १९ मा नेपालमा एकै दिन सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर संक्रमितको तुलनामा ०.७५ प्रतिशत छ । यो अन्य मुलुकहरुको तुलनामा कम हो । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा २९६ जनाले कोरोना जितेका छन् ।

  • विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर १० करोड मानिसमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार बिहानसम्मको आंकडा अनुसार १० करोड नौ लाखभन्दा धेरै मानिसले यो भाइरसको सामना गरेका छन् ।

    यसमध्ये २१ लाख ६९ हजार मानिस भने यो भाइरससँग पराजित भई मृत्युवरण गर्न बाध्य भएका छन् । सात करोड २९ लाखभन्दा धेरै मानिस भने यो लडाईमा सफल बनेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । यहाँ २ करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण अमेरिकामा मात्र ४ लाख ३५ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट प्रभावित दोस्रो मुलुक भारत हो । यहाँ १ करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण भारतमा १ लाख ५३ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा मृत्युदर भने कम रह्यो । ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण भएको छ । यहाँ २ लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • टेकुमा ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक

    टेकुमा ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक

    काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहान टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाएका हुन्। उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् ।

    खोप लगाएपछि उनले खोप लगाउँदा केही नहुने भन्दै यसबाट केही नहुने बताएका हुन्। ‘सबैले खोप लागाउन,कसैलाई कोरोना नहोस भनेर लगाए,’उनले भने,‘म अहिले नर्मल छु। त्यसै डराएका मात्रै हुन। नडराइ ढुक्क भएर खोप लगाउँदा हुन्छ। केही हुँदैन।’

    पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई खोप लगाउन थालिएको हो।

  • कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

    कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरिएको छ। बिहान १० बजेबाट सुरु भएको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री पनि सहभागी छन्। कोरोना खोप अभियानमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएका छन् ।

    त्यसपछि दोस्रो नम्बरमा प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
    उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

  • जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै

    जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै

    काठमाडौं । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी भएको छ । मंगलबार साँझबाट शुरु भएको आगोलागीले ३० वटा घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । साँझको समयमा भएका कारण मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

    पानीको समस्या हुने यस स्थानमा आगो नियन्त्रणमा समेत समस्या आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पानीको समस्याका कारण आगो पुर्ण नियन्त्रणमा लिन सकिएको छैन ।

    यो स्थान सदरमुकाम खलंगाबाट ३५ किलोमिटर दूरीमा पर्छ । आगलागी नियन्त्रण गर्न आज समेत स्थानिय र प्रहरी बिहानैदेखि खटिएको कार्यालयले जनाएको छ । यी घरमा पालिएका ठूलो संख्यामा पशु चौपायाको ज्यान गएको छ । आगोलागीको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

  • दुई वर्षे छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण

    दुई वर्षे छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण

    अर्घाखाँची । अर्घाखाँचीमा एक युवाले आफ्नै दुई वर्षिय छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नेपाली संचरमाध्यमहरुका अनुसार अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर २ सीतापुर झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले मंगलबार आफ्नै छोरी सृष्टिको हत्या गरेका हुन्।

    नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्या गरेपछि उनी इलाका प्रहरी कार्यालय ठाडामा आत्मसमर्पणका लागि पुगेको बताइएको छ । दिउँसो १ बजेतिर आफुले छोरीको हत्या गरेको स्वीकार गर्दै उनी प्रहरी कार्यालय पुगेका थिए । सन्तोषले छोरीको हत्या गर्दा घरमा कोही नभएका कारण अप्रिय घटना हुन पुगेको हो ।

    उनकी श्रीमती भने बाँकेस्थित माइती बस्दै आएकी छन्। प्रहरीका अनुसार सन्तोषले मामाघरमा आमासँगै बसिरहेकी छोरीलाई डेढ महिना अगाडी मात्र घर ल्याएका थिए । श्रीमान र श्रीमतीबीचको सम्बन्ध भने राम्रो नभएको प्रहरीले जनाएको छ । छोरीको हत्यामा समेत यही विवादको कारण हो की भन्ने आंशका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको रहेको बताइएको छ ।

  • आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

    आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

    काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बावुवाटारबाट भच्र्यूअल रुपमा अभियानको थालनी गर्नेछन् । तर, उनले खोप भने लगाउने छैनन् । संसारमा धेरैजसो मुलुकमा सरकार प्रमुखले खोप लगाएर अभियान थालेका थिए ।

    यसले जनतामा आत्मविश्वास बढाउँछ । नेपालमा भने खोप लगाउनु अगाडी नै यसले गम्भीर असर गरेमा सरकार जिम्मेवार नहुने व्यहोराको शर्तनामामा हस्ताक्षर गर्नुपर्ने भएको छ । नेपालमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने भएको छ ।

    काठमाडौंमा एक दर्जन अस्पतालमा खोप लगाइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीमा आज स्वास्थ्यकर्मीका लागि खोप दिइने भएको छ ।


    भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिने छैन ।

    खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने भने बताइएको छ । यो खोप १८ वर्षमाथिका सबैले लगाउन मिल्छ ।

    कोरोसँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीले भने खोप लगाउनु हुँदैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।