Category: स्वास्थ्य

  • गण्डकीमा शुक्रबार बिहान थपिए ३७ संक्रमित

    गण्डकीमा शुक्रबार बिहान थपिए ३७ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान ३७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । यी सबै पुरुष रहेको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

    गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् ।

    उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

    पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको पनि स्थानीय तह खुलेको छैन ।

    तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवक पनि कोरोना देखिएको छ ।

  • अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

    अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

    टेक्सस

    अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन: सुचारु भएको एक हप्तापछि त्यति उच्च संख्यामा संक्रमित देखिएका हुन । टेक्ससमा संक्रमितको संख्या मात्र होईन लगातार सोमबार, मंगलवार र बुधबार क्रमश: अस्पातल भर्ना हुनेहरुको संख्या समेत बढ्दै गयो । सोमबारका दिन १९३५, मंगलवार   २०५६ र बुधबार २१५३ जना संक्रमणको कारण अस्पताल भर्ना भएको डिपार्टमेन्ट अफ स्टेट हेल्थले जनाएको छ ।  

    टेक्ससमा ट्रिब्युनका अनुसार मंगलवार देखिएका अधिकांस संक्रमित जेफर्सन काउन्टीबाट छन् भने त्यसपछि हेरिस काउन्टी, डलास काउन्टी, बेक्सर काउन्टी र ट्रभिस काउन्टीबाट रहेका छन्  ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो, कुल मृत्यु हुनेको संख्या १६

    नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो, कुल मृत्यु हुनेको संख्या १६

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा क्वारेन्टिनमा रहँदै बिरामी परेका एक व्यक्तिको क्वारेन्टिनमै ज्यान गएको थियो । उनमा मृत्युपछि गरिएको स्वाव संकलनमा कोरोना पुष्टी भएको हो ।

    मालारानी गाउँपालिका ४ ब्याडापाटास्थित एक सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका बेला उनी बिरामी परेका थिए । त्यसपछि उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्कने क्रममा उनको बाटोमै ज्यान गएको थियो । मृत्यु हुने ५७ वर्षका पुरुष रहेको बताइएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार उनको जेठ २३ मा स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । उनको मृत्यु र कोरोना पुष्टीबारे स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न भने बाँकि रहेको छ ।

  • स्पेनिश फ्लु र कोभिड् – १९

    स्पेनिश फ्लु र कोभिड् – १९

    विजय खनाल, टेक्सस 

    आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ ।

    विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव जगतले ब्यहोरी सकेका छन् । ती मध्ये पनि सन् १९१८ मा फैलिएको महामारीलाई इतिहासकै डरलाग्दो  महामारीको रुपमा लिइन्छ । ‘स्पेनिश फ्लु’ नाम दिइएको उक्त महामारीलाई आधुनिक युगको हालसम्मकै सबैभन्दा ठुलो महामारी पनि भनिन्छ । 

    प्रथम बिश्वयुद्धको अन्त्य हुँदैगर्दा सन् १९१८ मा यो रोग बिश्वब्यापी रुपमा फैलिसकेको थियो । रोगले उग्ररुप लिइ सकेपनि बिश्वयुद्ध लडि रहेका सैनिकहरुको मनोबल गिर्छ र उनिहरुले युद्धस्थल छोडेर भाग्न सक्ने भयले गर्दा कुनै देशले पनि यसलाई प्रचारमा ल्याएनन् । आफ्नो देशमा ब्यापक महामारी फैलिसकेपछि स्पेनले सर्बप्रथम यसको जानकारी गराएपछी यसको नाम SPAIN’s FLUE (स्पेनिश फ्लु) रहन गयो । जवकी यो रोग स्पेनबाट जन्मिएकै थिएन । 

    अहिलेसम्म देखिएका कोरोना भाइरसका सबै लक्षणहरु फोक्सोबाटै शुरुभएको देखिए जस्तै रुघा, खोकी, ज्वरोबाट शुरु हुने स्पेनिश फ्लुमा सास फेर्न गाह्रो हुने, फोक्सोमा संक्रमण हुने, नाक-कानबाट रगत बग्ने, सम्पूर्ण शरिरको हड्डी नै टुटेको जस्तो गरी शरिरभरी अत्यन्त पिडा हुने, शरिर पहिले निलो-त्यसपछि भान्टा रंगको र अन्तिममा कालो रंगको भएर मानिसको मृत्यु हुन्थ्यो। 

    आधुनिक युगमा देखापरेको यो स्पेनिश फ्लुबाट हालसम्मकै सबैभन्दा धेरै मानिसहरुको मृ्त्यु भएको मानिन्छ । यद्यपी मृत्युको यकिन तथ्यांक स्पष्ट छैन । कसैले १०-२० करोड भनेका छन् भने कसैले ५-१० करोड भनेका छन् । नेपाल लगायत बिश्वका धेरैजसो देशहरु त्यतिबेला अबिकशित, यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद अबस्थामा थिए । अत: बिश्वका सबै मुलुकहरुको तथ्यांक नभएका कारण त्यस्तो भएको हुनसक्छ । भनिन्छ; ‘त्यतिबेलाको बिश्व जनसंख्याको औषतमा छ प्रतिशत मानिसको मृत्यु भएको थियो। भारतमा मात्र एक करोड असी लाख मानिसको मत्यु भएको थियो । त्यतिबेला दश करोड पचासलाख जनसंख्या भएको अमेरिकामा छ लाख पचहत्तर हजारको मृत्यु भएको थियो । 

    यो भाइरसबाट भारतमा २०.०६ प्रतिशतको मृत्यु भयो भने ब्रिटेनमा मृत्युदर ४.४ प्रतिशत रह्यो। प्रथम बिश्वयुद्ध लडेर भारतीय सैनिकहरु पानी जहाज मार्फत बम्बई बन्दरगाहमा ओर्लिए । त्यस मध्ये ७ सैनिकलाई रुघा खोकीको जस्तो लक्षण देखियो । उनिहरुलाई अस्पताल भर्ना गरियो । भारतमा स्पेनिश फ्लुको यो पहिलो घटना थियो जवकी त्यति बेलासम्म सारा बिश्वमा यो फैलिसकेको थियो । भारतमा यस रोगबाट पुरुष भन्दा महिला धेरै संक्रमित भएका थिए। यसको दुइवटा कारण थियो । पहिलो; पुरुषको तुलनामा महिलाहरुलाइ सन्तुलित भोजन कम मिल्थ्यो अर्को; संक्रमितहरुको रेखदेखमा महिलाहरुनै खटिनु पर्थ्यो । जसले गर्दा उनिहरुलाई संक्रमणको जोखिम ज्यादा थियो । भारतको पछिल्लो एकसय बिस बर्षको इतिहासमा आर्थिक मन्दि यति धेरै गिर्यो कि १९१८ मा त्यहाँको आर्थिक बृद्धिदर -१०.०८ (माइनस १०.०८) प्रतिशतमा झर्यो । मुद्रा स्फिति पनि ज्यादै नराम्ररी गिर्यो। THE GREAT INFLUENZA नामक कितावका लेखक JOHN BERRY ले लेखेका छन्; भारतमा स्पेनिश फ्लुबाट जम्मा एक करोड असी लाख जनाको मृत्यु भयो । भारतका सहरदेखि गाउँसम्म जताततै लाशहरुको ढेर लागेको थियो । कैयौं मानिसहरु हिंड्दा-हिंड्दै बाटैमा मर्थे भने ट्रेनमा चढेका यात्रुहरु गन्तव्यमा नपुग्दै ट्रेनभित्रै लासको खात लागेको हुन्थ्यो । सन् १९१८ अक्टोबर ६ तारिख एकै दिन बम्बैको ट्रेन स्टेशनमा मात्रै ७६८ जनाको मृत्युभएको थियो। त्यही बर्ष भारतमा अत्यन्त ठुलो सुख्खा परेको कारण भयाबह रुपमा भोकमरी पनि भएको थियो ।

    त्यतिबेला भारतीय मुक्ति संग्रामका योद्धा माहात्मा गांधीलाई पनि यो रोग लागेको थियो तर निको भयो। गांधीका छोरा, बुहारी गुलाव र नातिनी शान्तीको यसै रोगका कारण मृत्यु भएको थियो । महान साहित्यकार प्रेमचन्दलाई पनि यो रोग लागेको थियो । भनिन्छ; ‘गांधीजीको यो रोगका कारण मृत्यु भएको भए सायद भारत बृटिश उपनिवेशबाट त्यति छिटो स्वतन्त्र हुने थिएन होला। अर्कोकुरा स्पेनिश फ्लु, ब्यापक सुख्खा र भोकमरीका कारण भारतमा यति धेरै तहस-नहस र उथल-पुथल भयो कि जनताहरु स्वतन्त्रता संग्राममा होमिन स्वस्फुर्त तयार भए । 

    अन्तत; संसारभरी करिव पाँचदेखि सात करोड मानिसको ज्यान लिएर सन १९२० मार्च अर्थात बिसं १९७६ फाल्गुणमा उक्त बिनासकारी भाइरस नियन्त्रणमा आएको थियो । 

    आजभन्दा १०१ बर्ष अगाडि नेपालको अवस्था कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । राणा शासनको अन्धकार कालमा न यातायातको सुबिधा थियो, न त आमसञ्चार नै थियो । त्यसका वाबजुद पनि नेपाली युवाहरु भने बृटिश र भारतीय सेनामा थिए । उनिहरुले पनि प्रथम बिश्वयुद्धमा लडेका थिए र युद्ध सकिएपछि छुट्टीमा नेपाल आउँदा स्पेनिश फ्लु लिएर आएका थिए । यद्यपी संक्रमित र मृत्युको यथार्थ तथ्यांक पाइदैन। एउटा अनुमान अनुसार त्यतिबेला ८-१० हजार नेपालीहरुको मृत्यु भएको थियो। 

    कोरोना भाइरस गत जेठ २३, २०७७ देखि चिनको वुहानबाट शुरु भई आजको दिनसम्ममा कुल संक्रमित संख्या ७३,५७,२९४ छ भने मृत्यु संख्या ४,१४,४७६ पुगेको छ ।

  • अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

    अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

    अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ ।  एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि  भएको छ । म्यासाच्युसेट्स, फ्लोरिडा र न्युमेक्सिकोमा अघिल्लो हप्ता भन्दा ४० प्रतिशत ज्यादा संक्रमण फैलिएको छ । मिचिगनमा अघिल्लो हप्ता संक्रमितको संख्यामा १५० प्रतिशतले बृद्धि भएको थियो । यसरी कोरोना संक्रमणमा बृद्धि हुनुमा केही हप्तादेखि देशका ५० वटै राज्यले अर्थतन्त्रलाई आँसिकरुपमा खुला गर्न थाले पछि मानिएको छ । सरुवा रोग बिज्ञहरुले पनि मिनियापोलिसमा प्रहरी कस्टडीमा मृत्‍यु  भएका जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि राष्ट्रियरुपमा सुरु भएको बिरोध प्रदर्शनले अमेरिकामा पुन कोरोनाको दोश्रो ठुलो छाल आउने चेतावनी दिदै आएका छन् । यद्यपी उनिहरुले अहिले देखिएको संक्रमितको संख्यामा बृद्धि ती बिरोध प्रदर्शनको प्रभाबबाट हो वा होईन अहिले नै भन्दा हतार हुने पनि बताएका छन् ।

    जुनको १ तारिखका दिन युनिभर्सिटी अफ वासिङ्टन ईन्स्टिचुटले आगामी अगस्ट ४ तारिखसम्म अमेरिकामा १ लाख ३५ हजार १ सय ९ जना मानिसको कोरोना संक्रमणका कारण मृत्‍यु हुने अनुमानित आँकडा सार्वजनिक गरेको थियो भने ईन्स्टिचुटले यो हप्ता मृतकको अनुमानित आँकडामा १० हजार बृद्धि गरेर १ लाख ४५ हजार ७ सय २८ पुर्याएको छ । यद्यपी अनुसन्धानकर्तालेहरुले के कति कारणले मृतकको संख्यामा बृद्धि गरिएको हो त्यो भने खुलाएका छैनन् । जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा बुधाबारसम्म १ लाख १२ हजारको मृत्‍यु र २० लाख मानिस संक्रमित भै सकेका छन् । मृतक र संक्रमितको यो संख्या तिन महिना भित्रको हो ।  

    रेउटर्स कोभिड -१९ डाटा एनालाईसिसका अनुसार अमेरिकाको एरिजोना राज्यमा जुन ७ को सप्ताहमा अघिल्लो हप्ता भन्दा ९० प्रतिशत संक्रमण बृद्धि भएको हो ।  मिचिगनमा जुन ५ को हप्तामा १ सय ५८ प्रतिशतले संक्रमण बढेको छ । न्युमेक्सिकोमा ४० प्रतिशतले बृद्धि भएको छ भने फ्लोरिडा साउथ क्यारोलिमा नर्थ क्यारोलिनामा पनि अघिल्लो हप्ता भन्दा ३० प्रतिशत ज्यादा संक्रमित भएका थिए ।  

    स्वास्थ अधिकारीका अनुसार न्युमेक्सिकोमा बढेको आधा भन्दा धेरै केश ओटेरो काउन्टी भित्रैको रहेको छ भने युटाहामा देखिएको पछिल्लो संक्रमितको ठुलो हिस्सा मासु प्रसोधन केन्द्रसँग सम्बन्धित छ । रेउटर्सको उक्त डाटा अनुसार टेक्सस राज्यमा पनि गत हप्ता अघिल्लो हप्ता भन्दा संक्रमितको संख्या १९ प्रतिशतले उकालो लागेको छ । टेक्सस डिपार्ट्मेन्ट् अफ स्टेट हेल्थका अनुसार टेक्सस राज्यमा गत सोमबारसम्म अस्पताल भर्ना हुनेको संख्या १९ सय ३५ थियो । उक्त संख्या गत महिना ५ तारिखको भन्दा उच्च हो । अमेरिकाभरका संक्रमितहरुको राष्ट्रिय संख्यामा भने ३ प्रतिशत मात्र बृद्धि भएको छ । अनुसन्धानकर्ताहरुका अनुसार लगातार ५ हप्तासम्मको गिरावट पछिको यो बृद्धि भएको हो । पेन्सलभानिया र न्युयोर्क राज्यमा भने कोरोना संक्रमितको संख्या आठ हप्तादेखि लगातार ओरालो लागि रहेको छ ।  केन्टुकीमा पनि अघिल्लो हप्ता भन्दा संक्रमितको संख्यामा ४० प्रतिशतले बृद्धि भएको छ । त्यसै गरी ओक्लोहामा ३७ नेभाडा २८ मिनियासोटा २८ जर्जियामा १८ प्रतिशतमा संक्रमित संख्यामा बृद्धि भएको छ।  

    एजेन्सी

  • गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित

    गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित

    पोखरा । भारतबाट नेपाली घर फर्किएसँगै नेपालमा तिब्र रुपमा कोरोना संक्तमित बढिरहेकाछन् । मंगलबार बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसार मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकाका १२ जना पुरुषमा कोरोना देखिएको हो । सोही गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइनमा उनीहरु बसेका छन् ।

    संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ । उता, म्याग्दी जिल्लाको बेनी नगरपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका एकजना पुरुषमा समेत कोरोना पुष्टि भएको हो । मंगलबार बाग्लुङमा थप ११ जनामा संक्रमण पुष्टी भएको छ ।

    निसीखोला गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका तीनजना पुरुष र बरेङ गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका आठजना पुरुषमा कोरोना संक्रमण देखिएको कार्यक्रमले उल्लेख गरेको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ। प्रदेशमा एक जनाको मृत्य भइसकेको छ ।

  • नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

    भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमण पुष्टी भएका एक जना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका ११ का भएको अस्पतालले जनाएको छ । उनी ६८ वर्षका पुरूष हुन् । अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।

    उनमा कोरोना संक्रमण देखिएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याइएको थियो । उक्त अस्पतालको कोभिड आइसियूमा राखेर उपचारका क्रममा उनको मंगलबार बिहान ७ बजेर ५ मिनेटमा ज्यान गएको हो । मृतक सुगर तथा प्रेसरको समस्याबाट ग्रसित रहेको बताइएको छ ।

    शरीरमा कोरोनाको संक्रमण देखिएको र निमोनियाले समेत च्यापेपछि उनको ज्यान गएको अस्पतालको भनाई रहेको छ । नेपालमा यो कारोनाको १५ औं मृत्यु हो । पछिल्लो दिनमा नेपालमा संक्रमित र यसबाट ज्यान गुमाउने मानिसको संख्या समेत बढ्दो क्रममा रहेको छ ।

  • साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी

    साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी

    काठमाडौं । भारतबाट नेपाल आउने क्रममा १० जेठमा बाटोमै ज्यान गुमाएका एक युवकको शव बोकेर आएका ३० जना युवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपाल ल्याइसकेपछि ती युवकको स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । बाटोमै ज्यान गुमाएका युवाको शव बोकेका र सोही समूहमा आएकामध्ये ३० जनामा कोरोना पुष्टी भएको हो ।

    उक्त समूहमा ५० जना रहेको स्थानीय प्रशासनले जनाएको छ । उनीहरुमध्ये ३० जनामा कोरोना संक्रमण भएको हो । घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमार्टम भएको थियो । पोष्टमार्टमका क्रममा स्वाब संकलन भएके थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण भएको हो ।

    सोमबार संक्रमित पुष्टी भएकामध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाणिनी गाउँपालिकाका एक, एक जना छन् । कोरोनाका कारण १४ जनाको ज्यान गएकोमा एक जना अर्घाखाँचीका युवा हुन् ।

  • कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु

    कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुने मानिसको संख्या ४ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४ लाख ५ हजार ७४ जनाको निधन भएको हो । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३ सय ७५ जनाको ज्यान गएको छ । ५ महिनादेखि जारी महामारीले विश्वका २१३ मुलुकलाई प्रभावित बनाइसकेको छ । २ वटा पानीजहाजमा पनि यसको संक्रमण रहेको छ ।

    संसारभर संक्रमित व्यक्तिको संख्या भने ७० लाख ८२ हजार रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएको आंकडा रहेको छ । यसबीचमा ३२ लाख २० हजार ५०० जनाको उपचार जारी छ । उनीहरुमध्ये पनि ५३ हजार ७५८ जनाको अवस्था गम्भीर रहेको आंकडा छ । ३४ लाखभन्दा बढी व्यक्तिले भने कोरोनालाई जित्न सफल भएका छन् ।

    कोरोना भाइरसबाट युरोपियन मुलुकमा अहिलेसम्म १ लाख ७८ हजार ९४३ जनाको मृत्यु भएको छ । २० लाख ९४ हजार ३२४ जना संक्रमित थिए । १० लाख ८२ हजार १२८ जना निको भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ छ । ९ लाख २५ हजार ४४७ जनाले भाइरसलाई जितेको छन् । एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ ।

    १३ लाख ६१ हजार २४९ जना संक्रमित छन् । ८ लाख २२ हजार २९६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । दक्षिण अमेरिकी मुलुकमा ५० हजार २२२ जनाको मृत्यु भएको छ । ११ लाख ४६ हजार ४७० जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ३५ सय भन्दा बढी व्यक्तिमा संक्रमण भएको छ । १४ जनाको निधन भएको छ ।

  • नेपालमा कोरोनाबाट थप एकको मृत्यु

    नेपालमा कोरोनाबाट थप एकको मृत्यु

    पोखरा । नेपालमा कोरोना रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्याङजा वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनको निधनबारे स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनमा आइतबार मात्र कोरोना पुष्टि भएको थियो । उनी जेठ २३ मा अस्पतालमा भर्ना भएका थिए ।

    आइसोलेसनमा राखेर उपचार गरिएकोमा आइतबार निधन भएको अस्पतालले जनाएको छ । उनी भारतको सुनौल नाकाबाट जेठ २२ मा स्याङ्जा आएको प्रहरीले बताएको छ ।

    नाकामा लामो समय बसेपछि घर फकाइएको मध्ये उनी पनि एक थिए । ती पुरुष भारतबाट आउँदा नै बिरामी रहेका अस्पतालको भनाई छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ औं पुगेको छ । यसलाई स्वास्थ्य मन्त्रालयबाट घोषणा हुन भने बाँकि छ ।

  • झापाका १२ संक्रमित डिस्चार्ज

    झापाका १२ संक्रमित डिस्चार्ज

    धरान । शनिबार राती झापाका १२ जनाले एकै पटक कोरोनालाई जत्न सफल भएका छन् । झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो अस्पतालमा अझै ८३ जनाको उपचार भइरहेको छ ।

    प्रदेश नं एकमा शनिबारमात्र सात जना संक्रमित थपिएका थिए । उक्त दिन नेपालमा सर्वाधिक संख्यामा कोरोना देखिएको थियो । प्रदेश १ मा अब संक्रमितको संख्या २४७ जना पुगेको छ । ९० जना भने डिस्चार्ज भइसकेका छन् ।

    प्रदेश नं एकमा विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय अस्पताल गोठगाउँमा उपचार हुने गरी व्यवस्था मिलाइएको छ । नेपालमा ३२३५ जनामा संक्रमण भइसकेको छ । १३ जनाको ज्यान गएको छ । साढे ३ सय जना निको भएका छन् ।

  • नेपालमा एकै दिन थपिए ३२३ संक्रमित, ३२३५ पुगे संक्रमित

    नेपालमा एकै दिन थपिए ३२३ संक्रमित, ३२३५ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंमा ४ जनासहित देशभर ३२३ जना नयाँ बिरामी थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    अब नेपालमा कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। शनिबार एकै दिन ३२ जनाले कोरोनालाई जित्न सफल भए ।

  • डोल्पामा ५ दिन अगाडी मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी

    डोल्पामा ५ दिन अगाडी मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी

    डोल्पा । डोल्पामा २० जेठमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनको २० गते ज्यान गएको थियो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने बिरामीको संख्या १२ पुगेको छ । यसलाई स्वास्थ्य मन्त्रालयले घोषणा गर्न भने बाँकि रहेको छ । जेठ १८ मा नेपालगञ्जबाट डोल्पा आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

    प्रहरीका अनुसार लामो सममदेखि दमको समस्यासँग जुधिरहेका थिए । सोहीकारण उनलाई होम आइसोलेसनमा राख्ने गरी बिदा गरिएको थियो । होम आइसोलेसन मै उनको जेठ २० मा ज्यान गएको हो । मृत्युपछि मात्र उनको स्वाब संकलन गरी परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

    शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनलाई कोरोना पुष्टी भएको छ । उनको दाहसंस्कारमा गाउँका धेरै मानिस सहभागी भएका कारण गाउँ नै सिल गरिएको छ । भारतबाट आएका उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएको प्रहरीले जनाएको छ । उनीहरु सबै अहिले क्वारेन्टाइनमा छन्।

  • गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

    गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा शनिबार मात्र थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब् गराएको तथ्यांक अनुसार स्याङ्जामा १०, बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोना देखिएको हो । स्याङ्जामा वालिङ नगरपालिकामा ८ जना १६ वर्षदेखि ५४ वर्षका पुरुषमा संक्रमण भएको हो ।

    हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुषमा समेत पुष्टी भएको हो । बाग्लुङमा ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको छ ।

    नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुषमा समेत कोरोना देखिएको छ । नेपालमा देशभर करीव ३ हजार मानिसमा कोरोना पुष्टी भएको छ । ३३३ जना निको भएका छन् । ११ जनाको ज्यान गइसकेको छ ।

  • नेपालमा स्वास्थ आपतकालीन घोषणाको तयारी

    नेपालमा स्वास्थ आपतकालीन घोषणाको तयारी

    काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य आपतकालीन घोषणाको तयारी गरेको छ । सरुवा रोगको सङ्क्रमण २ हजार भन्दा माथी गएको अवस्थामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सक्ने प्रावधान छ । सोही आधारमा सरकारले स्वास्थ आपतकालीन घोषणाको तयारी गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार आपतकालीन घोषणाको प्रस्ताव मन्त्रीपरिसद पुगेको छ । तर, घोषणा भने भइसकेको भने छैन । नेपालमा बिहिवार सम्म २६३० जनामा कोरोना भइसकेको छ । १० जनाको ज्यान गइसकेको छ । २९० निको भएका छन् ।

  • नेपालमा कोरोनाबाट १० औं व्यक्तिको ज्यान गयो

    नेपालमा कोरोनाबाट १० औं व्यक्तिको ज्यान गयो

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपालमा १० औं व्यक्तिको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृत्यु पछि उनको नमुना परिक्षण पोजेटिभ आएको हो ।

    पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

  • डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

    डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

    डालस, टेक्सस

    नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको संयुक्त आयोजनामा ‘वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते कक्षा समाप्त भएको छ । चार हप्ते मेडिटेसन कार्यक्रमको संचालन नेपालस्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोभिड १९ को प्रभावले जूम मार्फत भर्चुअल्ली सम्पन्न गरिएको कार्यक्रममा हरेक हप्ता ३५ जनाले भाग लिएको एसोसियसनका अध्यक्ष स्वयम्भू शाक्यले जानकारी दिएका छन् । शाक्य भन्छन्; “पहिलो हप्तामा वेल बिईंगको परिचय र ध्यान बिधिको प्रायोगको बारेमा मौशमले सिकाउनु भएको थियो । दोस्रो हप्ता  विचारलाई कसरी अवलोकन गर्ने ? कसरी ब्यबस्थापन गर्ने ? बारे प्रयोगात्मक पाठ सिकाईएको थियो । तेश्रो हप्ता मनका भावनाहरु कसरी उत्पति र बिलय हुन्छ ? र यसलाई कसरी सही ढंगले हेर्ने सकिन्छ भनेर सिकाईएको थियो । चौंथो हप्तामा भने सिकेको ज्ञान र प्रयोग बिधिले सहभागीहरुले त्यसबाट फाइदा महसुस भए – नभएको बिषयमा छलफल भएको थियो । साथै बिधि कहिले र कसरी दैनिक जीबनमा प्रयोग गरेर व्यवहारिक बनाउन सकिन्छ भनेर छलफल गरिएको थियो । 

    कार्यक्रमको बिषयमा नेपालस्थित औरा क्रियशनका प्रमुख दीपक बज्राचार्य भन्छन;  “मौशमलाइ पहिलेदेखि चिनेको र नजिकको मित्र भएर पनि उहाँको कार्यक्रममा कहिले सहभागी हुन पाएको थिएन । यसपाली समय जुर्यो । उहाँको वेल बिईंगको अनुभव मलाई गज़ब लाग्यो । उहाँले सिकाउनु भएको ध्यान बिधिले हाम्रो तनाब धेरै कम गर्न सकिन्छ”  डालसस्थित एक हस्पिटलमा कार्यरत डा. जया भट्टराई बरुण भन्छिन्; “माइन्डफुलनेश हाम्रो स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ किनकि हाम्रो मनमा तनाब जबसम्म कम हुदैंन तबसम्म हामी स्वस्थ अनुभब गर्न सक्दैनौं । त्यसैले यो माइन्डफुलनेश र वेल बिईंगको तरिकाले हाम्रो तनावपूर्ण जीबन कसरी शान्त र आनन्ददायी हुन सकिन्छ भन्ने सिक्ने मौका पाए । बिशेष गरि यो कोभिड १९ को अवस्थामा धेरै जीबनहरु त्यतिकै खेर गएको देख्न पर्यो । यस्तो बेलामा हामी कसरी आफुले आफैलाई सम्हालेर अगाडि बढ्ने भन्ने र दिमागमा दिनभरीको तनाबको अवस्थामा यो कार्यक्रमले धेरै साथ् दिएको मैले पाएँ । यो कार्यक्रमले मलाई अध्यात्मको बाटो खुलाएको पनि अनुभब गरेको छु ।मौशमजीलाई धेरै धेरै धन्यवाद”। डालसस्थित पेशाले इन्जिनियर बिनय मानन्धर पनि यो कार्यक्रम धेरै लाभदायक भएको बताउदै भन्छन्; “धेरै किताबहरुको अध्ययन र अरु ध्यानको एप्सहरु पनि प्रयोग गरेको थिए तर मौशमजीको जस्तो प्रभाबकारी भएन । ३-४ हप्ता भयो म लगायत मेरो परिवारका सबै सदस्यहरु यो ध्यानबिधि प्रयोग गर्दै छु। यो बिधि शुरु गरेदेखि राम्रो निद्रा लागेको र बिहान उठ्दा धेरै फ्रेश भएको छु । मौशमजीको यो बिधिहरु एकदम नै साधारण र सजिलो भएकोले मेरो २१ बर्षको छोरा र १७ बर्षको छोरीले समेत प्राक्टिस गरिरहेका छन् ।

    संस्थाका महासचिव डा. निरज बज्राचार्य भन्नु हुन्छ “यो हाम्रो सानो प्रयास हो, हामीले हाम्रो कम्युनिटीमा अरु पनि ध्यान साधनको प्रयोग गर्दै आई रहेका छौं र पछि पनि हाम्रो प्रयास जारी रहने छ। भबिष्यमा मौशमजीसंग मिलेर फेरी अरु अरु पनि कार्यक्रम ल्याउने छौं । कसैलाइ हाम्रो कुनै प्रकारको सहयोग चाहिएमा नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास वा कमला शाक्य फ़ाउण्डेशनको फेसबुक पेजमा मेसेज गर्न हुन हार्दिक अनुरोध गर्दछौ” ।

  • बिहीबार कपिलवस्तुमा भेटिए १२ कोरोना संक्रमित

    बिहीबार कपिलवस्तुमा भेटिए १२ कोरोना संक्रमित

    कपिलवस्तु । बिहीबार कपिलवस्तुमा समेत १२ थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले यसको पुष्टी गरेको छ । अब कपिलवस्तुमा संक्रमित हुनेको संख्या ४ सय १४ पुगेको छ। बिहीबार वाणगंगा नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर २ का एक बालिका, एक महिला र एक पुरुष, वडा नम्बर ४ का एक पुरुष र वडा नम्बर ७ का एक पुरुषमा कोरोना देखिएको छ ।

    यशोधरा गाउँपालिका वडा नम्बर ७ का ६ जना पुरुषमा समेत कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले उल्लेख गरेको छ । भारतबाट आएका नागरिकलाई नेपाल भित्र प्रवेशको अनुमतिसँगै नेपालमा कोरोनाका बिरामीको संख्यामा गुणात्मक वृद्धि भइरहेको छ ।

  • एकाबिहानै गण्डकी प्रदेशमा थपिए १६ संक्रमित

    एकाबिहानै गण्डकी प्रदेशमा थपिए १६ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान १६ थप कोरोना भाइरस संक्रमित भेटिएका छन् । बिहीबार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण भेटिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ । बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिलामा कोरोना देखिएको हो ।

    बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना देखिएको छ । पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । देशभर भने २४ सय भन्दा बढीमा कोरोना देखिइसकेको छ । यसमध्ये ९ जनाको निधन भएको छ । २ सय ५० भन्दा बढीले कोरोनालाई जित्न सफल भएका छन् ।

  • राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट

    राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट

    एजेन्सी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक स्वास्थ रिपोर्ट ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको छ । ह्वाईट हाऊसका अनुसार ६ फिट ३ इन्च उचाईका ७३ बर्षीय ट्रम्पको तौल २४४ पाउण्ड छ । उनको रक्तचाप १२१/७९ एमएमएचजि छ भने मुटुको चाल ६३ बिट्स प्रति मिनेट देखिएको छ । राष्ट्रपति ट्रम्पले कोरोना रोकथाममा मद्दत गर्ने भन्दै बिवादास्पद औषधि हाईड्रोक्सक्लोरोकुईन खाएको दाबी गरेपछि उनको यो रिपोर्ट सार्वजनिक भएको हो ।  ह्वाईट हाऊस प्रेस सेक्रेटरी केलिग मेनिनीले ट्रम्प पूर्ण स्वस्थ रहेको बुधबारको प्रेस ब्रिफिङमा संकेत गरेकी थिईन ।  

    ट्रम्पको निजी चिकित्सक डा. सियान कोनलीले उनको स्वास्थ रिपोर्टमा अगाडिको भन्दा कुनै पनि त्यस्तो उल्लेख गर्न लायक परिवर्तन नभएको रिपोर्टमा जनाएका छन् ।  सन् २०१८ मा ट्रम्पको क्लोस्ट्रोल २२३ थियो भने २०१९ मा १९६ थियो । बुधबार सार्बजनिक गरिएको रिपोर्टमा भने उनको क्लोरोस्ट्रोलमा उल्लेख्य सुधार आएर १६७ मा झरेको छ भने एलडिएल १०० भन्दा तल छ । ट्रम्पले यस अगाडि उच्च क्लोरोस्ट्रोल भए पछि मध्यम किसिमको हृदयघातको खतरा हुने चिकित्सक सल्लाह बमोजिम क्लोरोस्ट्रोल घटाऊने औषधी खाएको मायो क्लिनिकले जनाएको छ । ट्रम्पले यस अगाडि २०१९ को नोभेम्बरमा नियमित जाँच गरेका थिए ।

  • यार्सागुम्बा संकलन खुला गर्ने प्रदेश सरकारको निर्णय

    यार्सागुम्बा संकलन खुला गर्ने प्रदेश सरकारको निर्णय

    सुर्खेत । कर्णाली प्रदेशले यार्सागुम्बा संकलन खुला गर्ने निर्णय गरेको छ । २५ जेठबाट उच्च हिमाली भेगका नागरिकलाई यार्सागुम्बा संकलनको अनुमति दिने निर्णय गर्दै यसका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले यार्सागुम्बा संकलन हुने क्षेत्रमा कोरोना संक्रमणको जोखिम जटिल नभएको निष्कर्ष निकालेको हो ।

    सोहीकारण २५ जेठबाट यार्सागुम्बा संकलन खुला गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । कर्णाली प्रदेशको उच्च हिमाली भेगका मानिसको मूख्य आम्दानी यार्सा संकलन गर्न नपाउँदा स्थानीय चिन्तित थिए । हुम्ला, मुगु, र डोल्पामा अहिलेसम्म स्थानीय स्तरमा कोभिड–१९ को संक्रमण देखिएको छैन । ती जिल्लााका नागरिक भारतबाट आएकामा भने कोरोना देखिएको छ ।

    तर, उनीहरुलाई भने सुर्खेतमा क्वारेन्टाइनमा राखिएका कारण हिमाली जिल्ला सुरक्षित रहेका छन् । प्रदेश सरकारले पीसीआर परिक्षण बढाउन किट किन्ने निर्णय समेत गरेको छ । स्थानीय तहमा अस्पताल, स्वास्थ्य केन्द्र र अन्य उपयुक्त स्थानमा आइसोलेशन बेड तयार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    जुम्ला र सुर्खेतमा रहेको प्रयोशालाका लागि किट किन्ने निर्णय भएको प्रदेश मूख्यमन्त्री कार्यालयले जनाएको छ । कोभिड–१९ का प्रभावका कारण उत्पन्न हुन सक्ने सम्भावित खाद्य संकट टार्न सरकारले तत्काल २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहुँ र तीन हजार क्वीन्टल दाल किनेर भण्डारण गर्ने निर्णय समेत गरेको छ ।

  • डडेलधुरामा क्वारेन्टाइनमा युवतीको ज्यान गयो, कोरोना परीक्षण हुँदै

    डडेलधुरामा क्वारेन्टाइनमा युवतीको ज्यान गयो, कोरोना परीक्षण हुँदै

    डडेल्धुरा । डडेलधुरामा एक युवतिको क्वरेन्टाइनमा बसेको अवस्थामा मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया युवतीको ज्यान गएको हो । मंगलबार राति उनी शौचालय गएको बेला बेहोस भएकी थिइन् । तर, समयमै एम्बुलेन्स लैजान नसकिएका कारण उनको ज्यान गएको प्रहरीले बताएको छ । उनी चार दिनअघि भारतबाट आएकी हुन् । उनमा काम्ने समस्या रहेको र गाउँबाट धामी झांक्रीसमेत मगाइएको बताइएको छ ।

    उनी श्रीमान् र छोरासँगै गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसेकी थिइन् । मंगलबार राति ११ बजे उनी बेहोस भएकी थिइन् । अस्पताल लैजान एम्बुलेन्स भने १ बजे पुगेको थियो । तर, उनमा कोरोना भएको भन्दै कसैले छुन नमानेपछि एम्बुलेन्सले बिरामीलाई अस्पताल लैजान सकेन ।अहिले उनको स्वाव संकलनको काम भइरहेको बताइएको छ ।

    अहिले भारतबाट अधिकांश व्यक्तिमा कोरोनाको संक्रमण पुष्टी भइरहेको छ । सरकारले भारतबाट नेपाली नागरिकलाई स्वदेश ल्याएसँगै दैनिक ३ सय औसतः बिरामी थप भइरहेको छन् । नेपालमा मंगलबार साँझसम्मको तथ्यांक अनुसार कुल संक्रमित २१ सय नाघेको छ ।

  • एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

    एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

    काठमाडौं । देशका विभिन्न अस्पतालमा उपचाररत ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार

    पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना, शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षिया महिला १०औं दिनमा, गुल्मी अस्पतालका ३१ वर्षे पुरुष आठौं दिनमा निको भएर घर फर्किएका हुन् ।

    योसँगै देशभर २१२ पुरुष र ५४ जना महिला गरी कूल २६६ जना कोरोना संक्रमण भएका व्यक्तिहरु निको भएर घर फकिएका छन्।

    देशभर २ हजार ९९ संक्रमितको उपचार भइरहेको छ। हालसम्म कोरोना संक्रमण भएका ८ जनाको मृत्यु भइसकेको छ।

  • एकाबिहानै थपिए १० कोरोना संक्रमित

    एकाबिहानै थपिए १० कोरोना संक्रमित

    पोखरा । नेपालमा मंगलबार बिहानै १० कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टी भएको हो । स्याङ्जामा पाँच र पर्वतमा पाँच गरी १० जनाका कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो।

    पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुषमा संक्रमण पुष्टी भएको छ । पर्वतमा पहिलो पटक स‌ंक्रमण पुष्टी भएको छ । उनीहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाइको छ।

    अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ। नेपालभर भने १८२१ जनामा संक्रमण पुष्टी भएको छ । त्यमध्ये २ सय ५० हाराहारीले कोरोनालाई जितेका छन् । ८ जनाको निधन भएको छ ।

  • कर्णालीमा फेरी थपिए ४३ संक्रमित, २ जना प्रहरीमा समेत पुष्टी

    कर्णालीमा फेरी थपिए ४३ संक्रमित, २ जना प्रहरीमा समेत पुष्टी

    काठमाडौं । कुनै समय सबैभन्दा बढी सुरक्षित कर्णाली प्रदेश अब नेपालमा कोरोनाको हटस्पट बनेको छ । सोमबार मात्र यस प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित ४३ जनामा कोरोना भाइरसको संक्रमण संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दिएको जानकारी अनुसार जुम्लाका १९ र दैलेखका २४ जनामा संक्रमण पुष्टी भएको हो ।

    जुम्लामा दुई जना प्रहरीमा कोरोना देखिएको छ । जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुषमा कोरोना देखिएको छ । दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जनामा संक्रमित पुष्टि भएको छ । । अब दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ ।

    कर्णाली प्रदेशभर १ सय ६६ जनामा संक्रमण देखिएको छ । सोमबार नै दाङ र पूर्वीनवलपरासीमा ५ जनालाई कोरोना देखिएको थियो । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या १५ सय नाघेको छ । ८ जनाको ज्यान गएको छ ।

  • बुटवलमा थप ४ जना डिस्चार्ज, २२४ जनाले जिते कोरोना

    बुटवलमा थप ४ जना डिस्चार्ज, २२४ जनाले जिते कोरोना

    बुटवल । नेपालमा कोरोनाबाट निको हुने संक्रमितको संख्या २२४ पुगेको छ । आइतबार बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएका छन् । आइतबार कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जनाले कोरोनालाई जित्न सफल भएका हुन् । यी संक्रमित वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका हुन् । पछिल्लो २४ घण्टामा लगातार दुई पटक कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उउनीहरु बिदा भएका हुन् ।

    यसअघि यस अस्पतालबाट रुपन्देहीको पहिलो कोरोना संक्रमित कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवकसहित ११ जना निको भएर घर फर्किसकेका छन् । कोरोना अस्पतालको आइसोलेसन जनरल वार्डमा अहिले ३१ जना र आईसीयुमा एकजना बिरामी छन् । प्रदेश पाँचमा भने कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना भएको छ ।

    बाँकेका २१ जना र कपिलवस्तुकी एकजना नर्स पनि निको भइसकेका छन् । आज कुल ५ जना डिस्चार्ज भए । यससँगै अब नेपालमा कुल डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ ।

  • नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

    नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको सङ्ख्या १५ सय नाघेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६६ जना नयाँ सङ्क्रमित थप भएका छन् । यसबाट अब नेपालमा १५६७ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घन्टामा कर्णाली र प्रदेश न २ मा बढी सङ्क्रमित फेला परेका छन् । यसमा कालिकोटका ३७ जना रहेका छन् । धनुषामा ४६ र रौतहटमा २९ जनामा कोरोना पुष्टि भएको छ । सल्यानमा २५ जना बिरामी थप भएको मन्त्रालयको तथ्यांकमा उल्लेख्य गरिएको छ ।

  • कोरोनाबाट थप एक जनाको मृत्यु, बाजुरामा बालिकाको मृत्युपछि कोरोना पुष्टि

    कोरोनाबाट थप एक जनाको मृत्यु, बाजुरामा बालिकाको मृत्युपछि कोरोना पुष्टि

    काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । अब नेपालमा कोरोनाका कारण मृत्युु हुनेको सङ्ख्या ८ पुगेको छ । बाजुरामा आइतबार ज्यान गुमाएकि दुई वर्षीया बालिकामा कोरोनाभाइरस पुष्टि भएको हो ।

    सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले कोरोना भएको पुष्टि गरे । उनका अनुसार बालिकाको आमालाइ समेत कोरोना देखिएको छ । बुबालाइ भने नेगेटिभ आएको छ ।

    बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेको अवस्थामा उनको मृत्यु भएको हो । उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो। नेपालमा कोरोनाबाट ज्यान गुमाएका मध्ये ७ जनाको मृत्यु पछि मात्र कोरोना पुष्टि भएको छ ।

  • न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

    न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

    न्युयोर्क     

    लकडाउन खुकुलो पार्दै ब्यापार ब्यवसाय सुरु गरेसँगै अमेरिकाको अलाबामा, क्यालिफोर्निया, विस्कन्सिन र आर्कान्सास गरी ४ वटा राज्यहरु कोरोनाको नयाँ एपिसेन्टरको रुपमा देखा परेका छन् । अलाबामामा पछिल्लो १४ दिनमा कोरोना संक्रमितको संख्या ६० प्रतिशत बृद्धि भएको ‘कोभिड एक्जिट स्ट्राटेजी’ ले जनाएको छ भने अर्कान्सास र नर्थ क्यारोलाइनामा ४० प्रतिशतले कोरोना संक्रमित बृद्धि भएको छ । गत मेई १३ तारिख लकडाउनलाई असंबैधानिक भन्दै सुप्रिम कोर्टले खारेज गरेको विस्कन्सिनमा पनि १४ दिनपछि संक्रमितको संख्यामा ४७ प्रतिशतले बृद्धि भएको छ ।

    अमेरिकाकै पहिलो कोरोना एपिसेन्टर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्यामा गिरावट आएको छ भने कनेक्टिकट र म्यासाच्युसेट्समा संक्रमित संख्यामा पछीलिलो १४ दिनमा ३० प्रतिशतले गिरावट आएको छ । अमेरिकामा कोरोनो संक्रमित हरुको पछीलिला आँकडाले लकडाउन खुकुलो पारिएको वा लकडाउन खारेज गरिएको राज्यहरुमा ब्यापक बृद्धि हुँदै शनिबारसम्म अमेरिकाभर १७ लाख ७० हजार संक्रमित र १ लाख ३ हजारको मृत्‍यु भएको जोन हप्किन्सको डाटामा जनाईएको छ ।  

    अलाबामामा पछिल्लो १४ दिन भित्र कोरोना संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको छ । यहाँ २ हप्तामा संक्रमितको संख्या ६० प्रतिशतले बढेको छ । स्टेटलाई पुन सुचारु गरेपछि अलाबामामा यो संख्या २ हप्तामा सबैभन्दा उच्च हो । त्यहाँ अहिले १७ हजार ३ सय ५९ संक्रमित र ६ सय १८ को मृत्‍यु भएको छ । एएलडटकमका अनुसार यो हप्ता बिहीवारसम्म त्यहाँ ४ सय भन्दा धेरै संक्रमित थपिएका छन् ।

  • डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट

    डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट

    एजेन्सी

    अस्पताल भर्ना भएका हरेक १० कोरोना भाईरस संक्रमित डाईबेटिजका बिरामी मध्ये प्रत्येक एक जनाको ७ दिन भित्रै मृत्‍यु हुने गरेको र पाँच जना मध्ये १ जनालाई भेण्टिलेटरमा राखेरै उपचार गर्ने  गरेको एक अध्यनले देखाएको छ । फ्रेन्च अनुसन्धानकर्ताहरुको ४० जनाको समुहले गरेको उक्त अनुसन्धानको प्रयोग र नतिजा 

    ‘डाईबेटोलिजा’ नामक म्यागाजिनमा बिहीवार प्रकाशित भएको हो । अनुसन्धानको नतिजा पछि डाईबेटिज कोरोना संक्रमणका बिरामीको लागि सबैभन्दा खतरनाक भएको निस्कर्ष समेत निकालेको छ ।  

    फ्रान्सस्थित ५३ वटा अस्पतालका जम्मा १३ सय बिरामीमा मार्च १० देखि मार्च ३१ सम्म अनुसन्धान गरिएका ८९ प्रतिशत कोभिड बिरामीमा दोश्रो प्रकारको डाईबेटिज र ३ प्रतिशतमा पहिलो प्रकारको डाईबेटिज थियो भने बाँकी बिरामीमा अन्य प्रकृतीको रोग भएको उल्लेख गरिएको छ । अनुसन्धान गरिएका बिरामीहरुको औसत उमेर ७० बर्ष रहेको छ । अनुसन्धान गरिएका अधिकांस पुरुष रहेको जनाईएको छ । अनुसन्धान सुरु गरिएको सातौं दिनसम्ममा २९ प्रतिशत बिरामीहरु कि त भेण्टिलेटरमा सारिएका थिए कि भने ५३ प्रतिशतको मृत्‍यु भएको थियो ।जसमध्ये १८ प्रतिशत अस्पतालबाट डिस्चार्ज     भएका थिए । डाईबेटिज भएकाको मृत्‍युको सम्भावना डाईबेटिज नहुनेमा भन्दा दोब्बर भएको र ७५ बर्ष माथिका डाईबेटिज बिरामीको मृत्‍यु हुने सम्भावना निक्कै धेरै भएको अनुसन्धानले जनाएको छ । ५५ बर्षदेखि ७४ बर्षसम्मका डाईबेटिज बिरामीको मृत्‍यु सम्भाबना तीन दोब्बर रहेको समेत जनाईएको छ ।