Category: स्वास्थ्य

  • म यो उमेरमा मर्न चाहन्न !

    म यो उमेरमा मर्न चाहन्न !

    सुवास तामाङ, रसुवा 

    म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर बिदेश गई केही कमाएर ल्याएँ । जसोतसो गरी बैंकबाट ऋण निकाली एउटा मिनी ट्रक निकालेर चलाउन थालें । मेरो दुर्भाग्य; ट्रक पल्टियो । गुल्टिएर त्रिशुली खोलामा पुग्यो । धन्न म सहित अन्य मरेनौं । हामी घाइतेलाई उपचार गर्न काठमाडौं लगियो । त्यतिबेला म २६ वर्षको थिएँ । त्यसैबेला मेरो ‘मृगौलाले काम गरेको छैन’ रहेछ भन्ने थाहा भयो । म छाँगाबाट खसेजस्तो भएँ । सानो नाबालक छोराको अनुहार सम्झेर म बेहोस् सरह थिएँ । श्रीमतीले छोरा समातेर रातभर रुदै अस्पालको भुँईमा सुतेको हेर्न सक्दैनथे । रोएर मेरो आँसु सुक्यो । उपचार गर्दै भएको अलिअलि पनि सकियो । डाक्टरले तुरुन्तै डायलासिस गर्नु पर्छ भनेर फिस्टुला बनायो । ५ वर्षदेखि हेमो डायलासिस गराउँदै आएको छु । मेरो मृगौला फेल भएको पाँचौं चरणमा पुगि सकेकोले हप्ताको ३ पटक डायलासिस गर्नु पर्छ । 


    अहिले म ३२ वर्षको भएँ । म आफै बिरामी भएर अस्पताल धाउनु परेकोले घरको आर्थिक अवस्था थप नाजुक भएको छ । सरकारले डायलासिस नि:शुल्क हुने व्यवस्था गरेपनि औषधी किन्न थुप्रै खर्च हुन्छ । डायलासिस गर्न काठमाडौं नै बस्नु पर्ने भएकोले खान बस्न धेरै खर्च हुन्छ । युवाअवस्थामा यसरी बाँच्न कै लागि हारगुहार गर्नुपर्दा साह्रै अफ्ठेरो लाग्छ । तर मसँग बिकल्प छैन । बाबुआमा, श्रीमती र छोराकै लागि भएपनि म बाँच्नु पर्छ भन्ने लाग्छ । म यो उमेरमा मर्न चाहन्न ।

    मैले अझैपनि भ्याएसम्म पहिलेजस्तै सामाजिक कार्यमा हिड्ने गरेको छु । मेरो मनोबल र बाँच्ने चाहना देखेर मेरो परिवारले एउटा मृगौला दिन तयार भएको छ । तर पटक पटक सबै चेकअप गरेर प्रारम्भिक तयारी गरिसक्दा पनि उपचार खर्च अभावका कारण मृगौला प्रत्यारोपणको कार्य हुन सकेको छैन । गरिब भएर बाँच्नु, त्यो माथि पनि डरलाग्दो रोगको चपेटामा पर्नु साह्रै गाह्रो रहेछ । अझ सानो बच्चा देख्दा बोल्नै सक्दिन । हाम्रो देशको सरकारी अस्पतालमा पनि निशुल्क उपचार हुँदैन । मृगौला प्रत्यारोपणको लागि मेरो परिवारले आफ्नो सद्दे किड्नी दिन्छु भन्दापनि उपचार खर्च नभएकोले मैले उपचार पाएको छैन ।
    IMG_9156 (डायलासिसको भिडियो)
     

    मान्छेले बाँच्नको लागि जे पनि गर्नु पर्दो रहेछ । समयले मलाई माग्नुपर्ने बनाएको छ । मैलै सकेको बेला सबैलाई दिएरै खुसी राख्न खोजें । म अरुको त्यत्तिकै लिन नसक्ने स्वाभावको मान्छे हुँ तर आज बाँच्नको लागि माग्दै छु । देशभित्रै चिनेजानेकालाई भनें । अलिअलि दिएका पनि छन् । त्यसैले औषधी किन्न, खान र हिड्न थेगेको छु । तर मलाई किड्नी अर्को राख्न १५ लाख जति उपचार खर्च लाग्ने भएकोले बिदेशमा बस्ने सबैसँग अलिअलि सहयोग गरिदिन हुन अनुरोध गर्दछु । सबै सहयोगीको नाम लेखेर जीवनभर डायरीमा लेखेर राख्नेछु । म मरें भने मेरो बच्चा र श्रीमतीको के हालत होला जस्तो लाग्छ । पिर, अभाव अनि रोग लिएर बाँच्नुको पिडा कसरी सबै बताउन सकुँला । कृपया थोरै भएपनि सहयोग गरेर मेरो बाँच्ने आशा जोगाई दिनु है । मेरो मोबाइल नम्बर : ९८१३९७२४६१

    (सुवास तामाङ्सँग विश्वन्युजका योगेश आदीले गरेको कुराकानीमा हुबहु आधारित)

  • कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

    कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

    न्युयोर्क      

    गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा जीवन र मृत्‍युसँग पौंठाजोरी खेल्नु परेको समाचार आईरहेका छन्।हालसम्म विश्वमा ५ लाख ५५ हजार मानिसले भाईरसका कारण ज्यान गुमाएका छन् ।यहाँ हामी कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेर हाल केही राहत महसुस गर्दै गरेको न्युयोर्क कुईन्सका एक धार्मिक गुरुले कोरोनासँग पौंठाजोरी खेल्दै बिताएको तीन महिना २० दिनको अनुभव बाँड्दै छौं ।

    न्युयोर्क कुईन्सस्थित एक चर्चका धार्मिक गुरु गत मार्चको मध्यमा कोरोना संक्रमित भएपछि झण्डै स्वर्गको ढोका ढक्ढक्याउन पुगे ।उनी ५४ दिनसम्म भेन्टिलेटरमा बसे भने ६ हप्ता त कोमा (बेहोस) मा नै रहे ।३० बर्ष अगाडि भारतबाट अमेरिका आएका धार्मिक गुरु बेन्जामिन थोमसलाई कोरोना संक्रमण भएपछि लङ आईल्यान्डस्थित नासाऊ युनिभर्सिटी मेडिकल सेन्टरमा उपचारका लागि लगियो । उनलाई दुई हप्ता लङ्ग आईल्याण्डकै अस्पातलको भेन्टिलेटरमा राखेर उपचार त गरियो तर उनको स्थितमा सुधार भएन ।उनको जीवन प्रतिको आशा अन्त्य हुँदै गयो ।गुरुको स्वास्थ्य लगातार बिग्रिदै गएपछि थोमसको परिवार न्युयोर्कस्थित चर्चित अस्पताल माउण्ट साईनाइका चिनेजानेका एक मुटु सर्जन रबिन भर्गिजको संपर्कमा पुगे ।डा. भर्गिजको सल्लाहमा नै उनलाई माउण्ट साईनाइमा भर्ना गरी उपचार गरिएको बिहिबार अस्पतालले सार्वजनिक गरेको भिडियोमा डा भर्गिजले भनेका छन्; “धार्मिक गुरुको उपचार महामारी कै सबैभन्दा चुनौतिपूर्ण र अचम्मको उपचार हो”।

    कोरोना संक्रमणपछि बेन्जामिनको शरीरको तौल ५० पाउण्ड घटेको छ । आधुनिक चिकित्सा बिज्ञानले उपलब्ध गराएका सबै किसिमका औषधीले पनि बेन्जामिनको स्वास्थ्यलाभको आशाको अन्त्य गरि सकेको अवस्थामा चिकित्सकले अन्तिम अस्त्रका रुपमा ‘मेडिकल्ली इन्ड्युस कोमा’ मा राखेको थियो।त्यसको दुई हप्तापछि भने गुरु बेन्जामिनको स्वास्थ्यमा हल्का सुधार देखिएको बताईएको छ ।कोरोनासँगको १ सय १० दिनको लडाईंमा जित हासिल गरी नयाँ जीवन पाएको खुसीमा चर्चका सम्पूर्ण परिवारसँग भेट गर्न पाउने इच्छा ब्यक्त गर्दै अस्पताल परिवारसँग हेलो-हाई गरी जुलाई २ तारिख बेन्जामिन अस्पतालबाट घर फर्किएका छन् । ईष्ट मेडो लङ आईल्यान्डमा बसोबास गर्दै आएका धार्मिकगुरुले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा तयार पारेको भिडियोमा भनेका छन्; “मास्क लगाउने कुरा र सामाजिक दुरीको कुरामा अत्यन्त सम्बेदनशील हुनु” ।

  • अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

    अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

    न्युयोर्क

    नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा देखिएको संक्रमितको कुल संख्या भन्दा निकै धेरैको संख्यामा संक्रमित भएको हुन सक्ने अनुमान समेत गरिएको छ । गत साल डिसेम्बरमा चीनमा पहिलो संक्रमित देखिए यता अमेरिका सबैभन्दा कोरोना प्रभावित देश भएको छ । अमेरिकामा ३० लाख भन्दा धेरै संक्रमित भै सकेका छन् भने १ लाख ३३ हजार भन्दा धेरैको मृत्‍यु भै सकेको छ । त्यसैगरी ९ लाख ६९ हजार १ सय ११ जना निको भएका छन् ।
    अमेरिकामा महामारी सुरु भए यता ११ हजार ३ सय १२ गर्भवती महिला संक्रमित भएका छन् भने ३१ जना गर्भवती महिलाको कोरोनाको कारण मृत्‍यु भएको सिडिसिले जनाएको छ । कोरोना संक्रमित ११ हजार ३ सय १२ गर्भवती महिला मध्ये ४ हजार ५ सय ५३ जना हिस्प्यानिक र ल्याटिन समुहका महिला भएको समेत सिडिसिले जनाएको छ । साथै महामारी सुरु भए यता ट्रान्स्पोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेसन (टिएसए) का १ हजार १८ कर्मचारी अमेरिकामा कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ सय ४७ निको भए भने ६ जनाको मृत्‍यु भयो । अमेरिकाको बिमानस्थलमा काम गर्ने टिएसए कर्मचारी सबैभन्दा धेरै संक्रमित भएको छ ।न्युयोर्कस्थित जोन अफ केनेडी बिमानस्थलमा १ सय १६ जना संक्रमित भए भने न्युजर्सीस्थित नेवार्क लिबर्टि ईन्टर्नेसनल एयरपोर्टमा काम गर्ने ६९ टिएसए कर्मचारी संक्रमित भए ।
    मिसिसिपीका १३ वटा काउन्टीमा मास्क अनिबार्य गरिएको छ भने न्युयोर्क राज्यका मेयर ब्लजियोले सेप्टेम्बर अन्त्यसम्म कुनै पनि ठुलो भिडभाडको कार्यक्रम आयोजना खुला नगर्ने घोषणा गरेका छन् ।
    कोरोना महामारीको सुरुवातमा एपिसेन्टर बनेको न्युयोर्क र न्युजर्सीको जीवन सामान्यिकरण तर्फ उन्मुख भएको छ ।न्युयोर्क राज्यमा बुधबार ५ सय ८४ जना संक्रमित भेटिएका छन् भने बुधबार ८ जनाको मृत्‍यु भएको छ ।

    नर्थ क्यारोलाइनामा अस्पताल भर्ना हुनेको बिहिबार नयाँ रेकर्ड

    नर्थ क्यारोलाइनामा आजसम्म कै धेरै कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । गभर्नर रोई कुपरले नर्थ क्यारोलाइना राज्यमा बिहीबार १ हजार ३४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएको बताए । गभर्नर कुपरले अझै अस्पताल र आईसियुको क्षमता प्रशस्त भएको बताए पनि स्वास्थ अधिकारीहरुले भने सार्लेट क्षेत्रका अस्पतालमा निकट भविष्यको लागि चिन्ता ब्यक्त गरेका छन् ।

    टेक्सास, क्यलिफोर्निया र फ्लोरिडामा दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड

    क्यालिफोर्निया राज्यले बिहीबार कोरोनाबाट मृत्‍यु हुनेको दैनिक संख्यामा नयाँ रेकर्ड राखेको छ । त्यहाँ बिहीवार १ सय ४९ जनाको मृत्‍यु भएको गभर्नर गेभिन न्यु समले बताए ।

    यो संख्या क्यालिफोर्नियामा महामारी सुरु भएपछि मृत्‍यु हुनेको दैनिक कुल संख्यामा आजसम्म कै उच्च हो ।यो संख्यासंगै त्यहाँ ६ हजार ७ सय ११ को मृत्‍यु भएको छ । क्यालिफोर्नियामा बुधबार ११ हजार ६ सय ९४ संक्रमित थपिए भने ६ हजार १ सय २७ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये १७ सय ५२ जना आईसियुमा उपचारत छन् ।
    फ्लोरिडाले पनि दैनिक मृतक संख्यामा बिहिबार नयाँ रेकर्ड राखेको छ । बिहिबार फ्लोरिडामा १ सय २० जनाको मृत्‍यु भयो । यो संख्यासंगै बिहीबारसम्म फ्लोरिडामा ४ हजार जनाको मृत्‍यु भएको छ । बिहीबार ९ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या २ लाख ३२ हजार ७ सय १८ पुगेको छ ।
    टेक्सासमा पनि कोरोना संक्रमितको दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड कायम भयो । बिहीबार टेक्सासमा ९८ जनाको एकै दिन मृत्‍यु भएपछि त्यहाँ २ हजार ९ सय ४३ को मृत्‍यु भै सकेको छ । टेक्सासमा मंगलबारदेखि लगातार मृत्‍यु हुनेको संख्यामा बृद्धि हुँदै गएको छ । बिहिबारसम्म टेक्सासका अस्पतालमा ९ हजार ६ सय ८९ भर्ना भएर उपचार गराईरहेका छन् । टेक्सासमा कुल संक्रमितको संख्या २ लाख ३० हजार पुगेको छ ।

    एरिजोनामा अस्पताल भर्ना हुने र भेन्टिलेटरमा उपचारतको संख्यामा नयाँ रेकर्ड

    एरिजोना राज्यमा बिहीबार अस्पताल भर्ना हुने र भेन्टिलेटरमा रहेर उपचार गरी रहेका बिरामीको नयाँ रेकर्ड कायम भएको छ । बिहिबारसम्म एरिजोनाको अस्पतालमा ३ हजार ४ सय ३७ जना भर्ना भएर उपचार गरिरहेका छन् भने त्यसमध्ये ५ सय ७५ जना भेन्टिलेटरमा छन् । बिहीबार एरिजोनामा ७५ जनाको मृत्‍यु भयो । यो संख्यासंगै त्यहाँ २ हजार ३८ जनाको मृत्‍यु भै सकेको छ । एरिजोनामा बिहीबार ४ हजार ५७ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ १ लाख १२ हजार ६ सय ७१ संक्रमित पुगेको छ ।

  • नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

    नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

    काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन ।

    बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए । यस अवधिमा १३९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २५ वटा प्रयोगशालाबाट २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण भएको थियो ।

    जसमा १ सय ८ जना मात्र नयाँ संक्रमित थप भए । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिस छन् ।

    बिहीबार डिस्चार्ज भएका १ सय ३९ सहित अब देशभर ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन्। अहिले देशभर आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन्।

  • ६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने

    ६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने

    काठमाडौं । सरकारले ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परिक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन अनुमति प्रदान गरेको हो । एक प्रदेशमा एउटा प्रयोगशालालाई यस्तो अनुमति दिने निर्णय हो ।

    प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ लुम्बिनी अस्पताल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला सुर्खेत र सुदूर पश्चिममा धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिईएको छ । गण्डकी प्रदेशमा भने सरकारी प्रयोगशाला नै पर्याप्त भएका कारण थप अनुमति दिइएको छैन ।

    नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिन सकिने गरी निर्देशिका बनाइएको छ । बागमती प्रदेशमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई सःशुल्क सेवा दिने गरी अनुमति दिइएको छ । पछिल्लो समय सरकारले दैनिक १० हजार नमुना परीक्षणको नतिजा ल्याउने बताएको छ ।

  • डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

    डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले चीनलाई मात्र सहयोग गरेको र अमेरिकालाई समयमै उचित सुझाव दिन नसकेको बताउँदै आएका थिए । यो संयुक्त राष्ट्रसंघ मातहतको एक निकाय हो ।

    संगठनमा यसअघि अमेरिकाले सबैभन्दा ठूलो धनराशी सहयोग गर्दै आएको थियो । अमेरिकाले हात झिकेपछि संगठनमा अहिले चीनको सहयोग बढेको छ । राष्ट्रपति ट्रम्पले विश्वभर कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणमा समेत प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको आरोप डब्लुएचओमाथि लगाएका छन् ।

    अमेरिकाको यो आरोप र असन्तुष्टि तथा उसका कदमप्रति विश्वका अन्य मुलुक भने सहमत छैनन् । संगठनले समेत अमेरिकाको यो कदमलाई दुखदः भनेको छ ।

    डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारे अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । अमेरिका संगठनबाट बाहिरिने सम्बन्धी पत्र अमेरिकाले राष्ट्रसंघका महासचिव समक्ष पठाएको छ ।

  • के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

    के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा झरेको हो । यसले सरोकारवालामा सकारात्मक संचार उत्पन्न गरेको छ ।

    सरकारले यसबीचमा कोरोना परीक्षणको संख्या भने घटाएको छैन । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या भने १६ हजार ४ सय २३ पुगेको छ।

    बुधबार ४ हजार ६ सय ९६ गरी अहिलेसम्म नेपालमा पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । यो जनसंख्याको अनुपातमा दक्षिण एसियाकै सबैभन्दा धेरै हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनहरुमा २५ हजार ४० रहेको तथ्यांक छ । अहिले क्वारेन्टिनमा बस्ने मानिसको संख्या समेत उल्लेख्य घटेको छ ।

  • नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

    नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको हो ।

    पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ नमुना परीक्षण भएको थियो । त्यसबाट मात्र २ सय ४ जनामा कोरोना देखिएको छ । यो संक्रमणको दरको हिसावले अघिल्लो साताहरुको तुलनामा निकै संतोषजनक अवस्था हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो साता कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर समेत ओरालो लागेको हो ।

    १९ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षणबाट ७४० मा संक्रमण पुष्टि भएको थियो । यो दिन नेपालमा संक्रमितको ग्राफ सबैभन्दा उचाईमा पुगेको थियो । त्यो दिन औसतः संक्रमित दर दर १६.५ प्रतिशत देखिएको थियो । त्यसदिन पछि भने संक्रमित र संक्रमणको दरसमेत सुधारोन्मुख देखिएको छ ।

    असार २० मा ४०५० नमुना परीक्षणबाट २३२ जनामा मात्र कोरोना देखियो । सो दिनदेखि यता भने ३ सय संक्रमित कटेको छैन । सोमबार सबैभन्दा कम १८० जनामा मात्र कोरोना देखियो । यस दिन ४७०० नमुना परीक्षण भएका थिए ।

    मन्त्रालयका अनुसार मंगलबार काठमाडौं र ललितपुरमा मात्र क्रमशः १४ र १० जनामा संक्रमण देखिएको छ । यसले अब कोरोनाको जोखिम काठमाडौंमा बढी रहेको देखाएको छ । किनकी अहिले काठमाडौंमा लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको छ । यसले जोखिम पनि उत्तिकै बढाएको हो ।

    मंगलबार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित थपिए । अछाम र बैतडीमा ११, ११ जना थप भएका छन् । महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीमा ८, डोटीमा ७, मोरङ र डडेलधुरामा ६, ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलबार रुकुम पश्चिम, नवलपुर र सल्यानमा ५, ५ जना, सप्तरीमा ४, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीमा ३, ३ जनामा कोरोना देखिएको छ ।

    तनहुँ, पाल्पा र बर्दियामा २, २ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नवलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको तथ्यांक छ ।

  • कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

    कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

    न्यूयोर्क

    ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले आर्थिक गतिविधी रोक्न अस्वीकार गर्दै आएका थिए । उनले भाइरसलाई ट्रम्पले जस्तै ‘सामान्य फ्लू’ को संज्ञा दिएका थिए ।

    मंगलबार ब्राजिलियन टिभी च्यानलमा बोल्दै बोल्सोनारो आफैँले भाइरस लागेको जानकारी दिएका हुन् । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै भाइरसबाट बच्न भनेर बोल्सोनारोले हाइड्रोक्सिक्लोरिक्लिन र एजिथ्रोमाइसिन सेवन गर्दै आएका थिए । ट्रम्पले बिना बैज्ञानिक प्रमाण हाइड्रोक्सिक्लोरिक्लिनले भाइरस लाग्न नदिने एवं निको हुने दावी गरेपछि बोल्सोनारोले आफ्नो देशमा पनि ठूलो परिमाणमा उक्त औषधी मगाएका थिए । उनी आफैँले उक्त औषधी सेवन गरेको जानकारी भने राष्ट्रपतिको प्रेस अफिसले मंगलबार बिहान दिएको थियो ।

    ट्रम्पले हाइड्रोक्सिक्लोरिक्लिनले नै आफुलाई भाइरस लाग्नबाट रोकेको समेत दावी गरेका थिए । तर, उनका ब्राजिली समकक्षीको संक्रमणले उक्त रोगले भाइरस लाग्न नछेक्ने पुष्टि गरिदिएको छ । बोल्सोनारोलाई सोमबार ज्वरो आएको स्थानिय मिडियालाई उद्धृत गर्दै अमेरिकि सञ्चार माध्यमले जनाएका छन् । उनको घाँटीमा कुनै संक्रमण देखिएको थिएन ।

    ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख नाघेको छ भने ६५ हजारले ज्यान गुमाइ सकेका छन् । गत मार्चमा गरिएको परिक्षणमा उनको शरिरमा भाइरस देखिएको थिएन ।

     

  • विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

    विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

    काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ ।

    महामारीबाट बच्ने हो भने पर्यावरणमा सबै जीव जन्तुको अस्तित्व रक्षा गर्नुपर्ने सुझाव समेत विज्ञले दिएका छन् । जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञले सुझाएका छन् । पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विज्ञबाट यस्तो सुझाव आएको हो ।

    इन्सटिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणको क्षति, प्राकृतिक स्रोतसाधनमा अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडनजस्ता कारण मुख्य हुन् । विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । किनकी मानिसले प्रकृति र जीवजन्तुमाथि अधिक दोहन र उपयोग बढाएको छ ।

     

    त्यसको शिकार स्वयमः मानिस हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । मानिसले पर्यावरण र जंगली जीवजन्तु नबचाउने हो भने महामारीको सामना गर्न समेत तयार भएर बस्नुपर्ने सुझाव विज्ञको रहेको छ । विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर वार्षिक करिब २० लाख मानिसले ज्यान गुमाउँछन् ।

    पछिल्ला वर्षहरुमा देखिएका सबैजसो खतरनाका जंगली जनावरबाट मानिसमा सरेका हुन् । प्रतिवेदन अनुसार पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले वृद्धि भएको छ । कतिपय समुदाय घरपालुवा र जंगली जीवजन्तुको मासुमै आफनो जीवन निर्भर गराएका छन् । जंगली जनावरबाहेक बाँध, सिंचाइ, उद्योग कलकारखाना र खेतबारी पनि मानिसमा हुने संक्रामक रोगको लागि २५ प्रतिशत जिम्मेवार रहन्छन् ।
    एजेन्सी

  • भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

    भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरसबाट धेरै प्रभावित विश्वमै तेस्रो स्थानमा आएको छ । भारतले रुसलाई उछिनेको हो । पछिल्लो २४ घण्टामा भारतमा करीव २४ हजार नयाँ संक्रमित थपिए । यससँगै भारतले रुसलाई उछिन्न सफल भएको हो । अब भारतमा कुल संक्रमित ६ लाख ९७ हजार पुगेको भारतीय स्वास्थ्य मन्त्रालउले जनाएको छ । रुसमा भने ६ लाख ८१ हजार संक्रमित रहेका छन् ।

    विश्वभर सबैभन्दा बढी प्रभावित अमेरिका हो । यस मुलुकमा २९ लाख ८१ हजार संक्रमित पुगेका छन् । ब्राजिलमा १६ लाख संक्रमित रहेको तथ्यांक छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय संक्रमित थपिए । यस मुलुकले २४ घण्टामा २३४ जना नागरिकलाई गुमाएको छ ।

    ब्राजिलमा २६ हजार २ सय संक्रमित थपिए । यहाँ ५३५ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा २४ घण्टा भित्र ४२१ र रुसमा १३४ जनाको ज्यान गएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७१ हजार संक्रमित थपिए । यसअविधमा ३ हजार ५ सयको मृत्यु भयो ।

    अब संसारभर संक्रमितको संख्या १ करोड १५ लाख पुगेको छ। मृतकको संख्या ५ लाख ३६ हजार पुगेको छ ।६५ मानिसले यो रोगलाई जित्न सफल भएका छन् ।

  • नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

    नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

    काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्ने बिरामीको संख्या उल्लेख्य बढेको छ । आइतबारसम्म ६ हजार पाँच सय ४७ जना संक्रमितले कोरोनालाई जितेर घर जान सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आइतबारमात्र नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    अहिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना सङ्क्रमित भेटिएका छन् । चार सय ६९ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर २ मा चार हजार एक सय ६० जनामा सङ्क्रमण देखिएको छ । दुई हजार ३४ जना डिस्चार्ज भएका छन् ।

    वाग्मती प्रदेशमा पाँच सय ६३ जनामा सङ्क्रमण देखिएको छ । दुई सय ३४ जना डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशमा एक हजार एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । दुई सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा तीन हजार नौ सय ६८ सङ्क्रमित देखिएका छन् । एक हजार सात सय २५ जना डिस्चार्ज भएका छन् ।

    कर्णाली प्रदेशमा एक हजार पाँच सय ७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ७८ जनामा सङ्क्रमण देखिएको छ । यी प्रदेशमा क्रमशः एक हजार एक सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएको तथ्यांक छ । देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ ।

    आइतबार चार हजार सात सय १० जनाको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांक छ । अहिले संक्रमितको दरमा केही कमी आएको छ । आइतबारसम्म दुई लाख ५१ हजार सात जनाको परीक्षण गरिएको तथ्यांक रहेको छ ।

    देशभर क्वारेन्टिनमा ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ६ हजार पाँच सय ४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । नौ हजार दुई सय तीन जनाको आइसोलेशनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा ३४ जनाको ज्यान गएको छ ।

  • न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो

    न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो

    न्युयोर्क

    न्युयोर्कमा तीन हप्तापछि पहिलो पटक कोरोना संक्रमितको संख्या पुन: बृद्धि भएको छ । न्युयोर्कमा बिहीवार संक्रमितको संख्या ९ सय १८ र मृतकको संख्या ९ गणना  गरिएको न्युयोर्क गभर्नर एण्ड्रु कुमोले बताए ।महामारी सुरु भएपछि अन्तिम दिन जुनको १२ तारिख ९ सय १६ संक्रमित देखिएको न्युयोर्कमा त्यसपछि  संक्रमितको संख्या लगातार घटेको थियो । तीन हप्तासम्म घट्दै गएको संक्रमित संख्या हिजो बिहिबार बढेर  ९ सय १८ गणना भएको छ । यो संख्या न्युयोर्क राज्यस्तरमा देखिएको संख्या हो ।  

    गभर्नर कुमोले शुक्रबार भनें; “न्युयोर्कमा बिहीबार पुन: संक्रमितको संख्या ९ सय माथि पुगेको छ । यद्यपी यो संख्या बिहीबार जाँच गरिएका कुल संख्याको १ दशमलब ३८ प्रतिशत मात्र हो”। न्युयोर्कमा न्युयोर्क राज्यमा कोरोनाको कारण शुक्रबारसम्म २४ हजार ८ सयको मृत्‍यु भै सकेको छ ।

  • गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित

    गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा आज ३२ जनामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । ४ जिल्लामा कोरोना संक्रमित भेटिएको तथ्यांक छ । शुक्रबार नवलपरासीमा मात्र १९ जना नयाँ संक्रमित थप भएका छन् ।

    कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

    तनहुँमा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।

  • प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

    प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्य जाँच गरी निवासमा फर्किएका छन् । प्रधानमन्त्री ‌‌ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए ।

    अत्यावश्यक परीक्षण गरी निवासमा फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा स्वास्थ्य समस्या आएको नभई नियमित जाँचको लागि अस्पताल गएको उनको भनाई छ । प्रधानमन्त्री बुधबार साँझ अस्पताल गएका थिए ।

  • बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना थप भएका छन् । यसैगरी स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ। चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ । नेपालमा १३ हजारभन्दा बढीमा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना तिब्र रुपमा फैलिरहेको छ ।

  • गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मी । गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आइसोलेसनमा १४ दिन बसेपछि उनीहरुलाई म‌ंगलबार डिस्चार्ज गरिएको हो । मंगलबार ४५ जना सँगै अब गुल्मीमा आइसोलेसनबाट घर जाने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।

    जिल्लामा ७८ जना पुरुष र ९ जना महिला महिलाले कोरोनालाई जित्न सफल भएका हुन् । मंगलबार आइसोलेसनबाट घर फर्किनेहरुमा रेसुङ्ग नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १\१ जना छन् ।

    गुल्मी दरबारका ४ जना र सत्यवती गाउँपालिकाबाट समेत ६ जना डिस्चार्ज भएका छन् । जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसोलेसनमा राखेर घर पठाउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेको छ । गुल्मीमा कोरोना संक्रमणबाट तीन जनाको भने मृत्यु भएको छ ।

  • कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

    कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

    योगेश आदी 

    यसपटक लेख्नै पर्ने नैतिक दबाब परेपछि लेख्दैछु । मेरो कोभिड १९ एण्टिबडी टेष्टको रिजल्टले केही भ्रम उब्जाएको छ । न्यूयोर्क सहर कोरोनाभाइरसको एपिसेण्टर बनेको ३ महिनापछि पारिवारिक बटालिएन लिएर म कोभिड १९ एण्टिबडी टेष्ट गर्न गएँ । न्युयोर्कमा कोरोनाले ताण्डव मच्चाइराख्दा संसारको आँखाको तारो बनेको एल्महर्ष्ट हस्पिटल नै छानें । अझैपनि त्यो एरिया वरिपरी हिड्नै डराउनेहरु पनि छन् । त्यसताका म बसेको ज्याक्सन हाइट्स क्षेत्रलाई आगोको भुँग्रो संज्ञा दिएका थिए । अहिले अस्पताल परिसर सामान्य देखें । स्वास्थ्य कार्यकर्ताहरु पनि भाइजर विहिन र सामान्य मास्कमा मात्र थिए । ८ जनाले एण्टिबडी परिक्षण गरायौं । हाम्रो परीक्षणको नतिजाले हामीलाई नै चकित बनायो । धेरै प्रश्नहरु उब्जिए । हाम्रो एण्टिबडी टेष्टले कोरोनाभाइरसलाई थप कोतुहल बनायो ।

    के हो एण्टिबडी टेष्ट ?

    यो परिक्षण स्वस्थ अवस्थाको व्यक्तिलाई कोरोना भाइरसको संक्रमण बिगतमा थियो वा थिएन भनेर हेर्नको लागि गरिन्छ । एण्टिबडी टेष्ट भन्नाले भाइरसको बिरुद्धमा शरीरको लड्ने क्षमता नाप्नु हो । जुन भाइरससँग लड्नुपर्ने हो, शरीरमा पनि त्यही भाइरस हुनु जरुरी छ । मानव शरीरमा स्वस्फुर्त रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बिद्यमान हुन्छ तर नौलो प्रकृतिको रोग आयो भने शरीरले नयाँ भाइरस चिन्दैन अनि बिरामी पर्दछ । जस्तो; हामीलाई सानोमा दादुरा, डिपिडी, बिसिजी, मलेरिया इत्यादीको सुई लगाइदिने गर्दछ, त्यो सुईभित्र हामीलाई त्यही भाइरस दिइएको हो किनकि भाइरससँग लड्न शरीरमा भाइरस नै हुनु जरुरी छ । त्यसको मतलव हाम्रो शरीरलाई सानैमा ती भाइरसमैत्री बनायो भने पछि त्यही भाइरसले समात्न सक्दैन, भन्ने उद्देश्य हो । हामीले हरेक बर्ष ‘फ्लु शट’लगाउने भनेर सुई लिनुको अर्थ त्यो रुघाखोकीको भाइरस सुई मार्फत लिनु हो । कोरोना भाइरस पुरानो भएपनि, यो हाल चलेको कोभिड १९ भन्ने चाँहि नयाँ हो । यो भाइरससँग हामी परिचित थिएनौं । हाम्रो शरीरलाई नौलो लागेकोले लड्न इन्कार गर्यो, हामी बिमारी पर्यौं । हाम्रो शरीर त्यो भाइरसमैत्री बनिसकेको भए बिरामी पर्ने थिएनौं । त्यसैले, एण्टिबडी परिक्षण गर्नु भनेको आफ्नो शरीरको तोकिएको रोगसँग लड्ने भाइरसको लेभल हेर्नु पनि हो ।

    कोभिड १९ टेष्टको रिजल्ट कसरी बुझ्ने ?

    त्यसो त एण्टिबडी टेष्ट जुनसुकै भाइरसको पनि हुन्छ । हामीले गरेको कोभिड १९ नतिजा भने अलि फरक छ ।

    हाम्रो शरीरमा ४ प्रकारका कोरोनाका भाइरसहरु हुनसक्ने भएकोले यो कोभिड १९ नामाकरण गरिएको भाइरसको एण्टिबडी टेष्ट गर्दा चाँहि त्यसको लेभल (इण्डेक्स भ्याल्यु) १.३९ को बोर्डर लाइन तोकिएको छ । यदि कोही व्यक्तिको नतिजा त्यो भन्दा माथि देखायो भने ‘पोजेटिभ’ र सो भन्दा कम आयो भने ‘नेगेटिभ’ मानिन्छ । पोजेटिभ देखिनुको अर्थ शरीरमा त्यो भाइरस आइसकेको थियो र अब शरीरले त्यो भाइरस बिरुद्ध लड्नको लागि आफ्नो शरीरमैत्री भाइरस बनाइसकेको छ, भन्ने बुझिन्छ । त्यसको अर्थ; अब सो भाइरसले सितिमिती बिरामी पार्न सक्दैन वा पचाउन सक्छ भन्ने हो । नतिजा नेगेटिभ आउनु भनेको शरीर सो भाइरससँग परिचित छैन भन्नु हो ।

    मेरो नतिजा र भ्रम के हो ?

    मेरो परिवारमा ६ जना छन् । चर्पी, भान्छा, पानी बोतल, टावल तथा प्रायश सरसामान कमन प्रयोग गर्छौं । बहिनी ज्वाईको पनि सबै कमन देख्छु । हामी नजिकै भएकोले भेटघाट बाक्लै हुन्छ । ज्वाईले यो कोरोनाको महामारीभरी पनि सामान्य सरह नै पुरै काम गर्नु भो । ज्वाईको परिक्षणको नतिजा पहिल्यै कोभिड १९ डिटेक्टेड देखाएकोले भाइरस संक्रमित भैसकेको भन्ने बुझियो । हामी ८ जनाले एकै समय, एकै ठाउँमा परिक्षण गरायौं । ५ जनाको नेगेटिभ देखायो । ३ जनाको पोजेटिभ ।

    म नेगेटिभ । मेरो श्रीमती पोजेटिभ । ज्वाई पोजेटिभ, बैनी नेगेटिभ । बुवाआमा पोजेटिभ । छोरीछोराहरु नेगेटिभ । १८ बर्ष कम उमेरकाको नपर्ने भएकोले भान्जाको गरिएन ।

    म र मेरो श्रीमतीले यो कोरोना अवधिको कुनैपनि समय पहिले भन्दा फरक जीवनशैली अपनाएनौं । नतिजा किन यस्तो ? मैले अमेरिकाको प्रबिधि र बिज्ञान माथि प्रश्न गर्न नसकेपछि कारण आफैले खोजेर अनुमान लगाएँ ।

    संसारका ७ अरब मानिसको शरीरको प्रतिरोधात्मक गुण हरेकसँग फरक हुँदो रहेछ । चिनेका रोग बाहेक यस्ता नौलो रोगसँग हरेकको शरीरले फरकफरक किसिमले लड्ने देखियो । हाल संसारमा यो भाइरसको संक्रमण भएका मध्ये २ प्रतिशत मान्छे मर्नु । कोहीको ७ दिनमा लक्षण देखाउनु । कोहीको २/३ हप्तामा । कसैको सामान्य लक्षण देखाउँदै शरीरमा मिल्नु, जस्तै; मेरो श्रीमती, बुवाआमा । संसारका ८० प्रतिशत मान्छेले यो भाइरस पचाउन सक्न पनि भनिएको छ । न्युयोर्कस्थित स्वास्थ्यकर्मी तारा भट्टराईले एक लेख मार्फत लेखेकी छिन्; “एउटा १२X१४ साईज़काे काेठामा सँगै बस्ने तर छुट्टै बेडमा सुत्ने दुई पुरुषहरु मध्ये एकलाई काेराेना भाईरस हुँदा अर्काेलाई नसरेकाे ।

    दुई अलग १२X१४ साईज़काे काेठामा बस्ने तर चारजनाले एउटै बाथरूम प्रयाेग गरेकाे अवस्थामा एकलाई संक्रमण हुँदा अरु तीनजनालाई नसरेकाे अवस्था ।

    एउटै ६०० स्क्वायर फिटकाे काेठामा बसेका श्रीमान र श्रीमती मध्ये श्रीमानलाई भाईरस भएकाे तर एउटै बाथरूम प्रयाेग गरेर श्रीमानले मास्क लगाई ६ फिट डिस्ट्यान्स कायम गरेर कुराकानी गर्ने र खाना समेत पकाउने तर भॉडाकुँडा सेयर नगर्दा श्रीमतीलाई भाईरस नसरेकाे।”

  • नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित  अब कुल संख्या  १३ हजार ५ सय ६४

    नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

    काठमाडौ

    नेपालमा पछील्लो  २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    यो वृद्धिसँगै मङ्गलवारसम्म  देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ।

    तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १०,३४१ छ।

    अहिलेसम्म प्रदेश नं ५ मा सर्वाधिक ३,८०७ जना र २ मा ३,७९४ जना कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

    मङ्गलवार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२१ जना र प्रदेश नं २ मा ८२ जना थप सङ्क्रमित पुष्टि भएको छ।

  • कोरोना रोक्न  गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

    कोरोना रोक्न गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

    न्युयोर्क

    अमेरिकामा कोरोना महामारी सुरु भएपछि अधिकांश राज्यमा ‘स्टे होम अर्डर’ जारी गरी सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गरिए । लामो समय राज्यहरु बन्द गरेको भन्दै कतिपय राज्यहरुमा जनताहरु सांगठनिक हिसाबबाट स्थानीय सरकार बिरुद्ध प्रदर्शनमा उत्रिए ।राज्यको अर्थतन्त्र तत्काल खोल्न्नु पर्ने माग सहित आन्दोलनको नेत्रित्व गरेका मेरिल्यान्ड राज्यका एक ब्यक्ति स्वयम् कोरोना संक्रमित  भएका छन् ।

    कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनलाई मेरिल्यान्ड राज्यमा खोल्नु पर्ने मागको नेतृत्वकर्ता टिम वाल्टरले गत हप्ता आफु कोरोना संक्रमित भएको सोसल मिडियाबाट सार्वजनिक गरेका छन् । उनले सोसल मिडियामा लेखेका छन्; “म हिजो कोभिड -१९ पोजेटिभ भएको पत्ता लाग्यो । महिनौंसम्म मास्क नलागाई आन्दोलनमा हिंडेको थिए । चर्चमा अनि यता उता हिंडेको थिए ।  कस्तो अचम्म यो कस्तो सनकी चिज रहेछ” । टिम वाल्टरले मेरिल्यान्ड गभर्नर ल्यारी होगनले राज्यलाई बन्द गरेर ठीक नगरेको भन्दै आन्दोलन गरेका थिए । वासिङ्टन पोष्टका अनुसार वाल्टरले उनिसँग संसर्गमा आएका मानिसहरुको नाम बताउन अस्विकार गरेका छन् ।  


    उनलाई बिगत एक महिनादेखि सुख्खा खोकी लागेको थियो तर त्यो खोकी पछि झन् झन् बढ्दै गयो । बिस्तारै टाउको पनि ज्यादै दुख्न र ज्वरो आउन थाल्यो साथमा एउटा आँखाले राम्रोसँग हेर्न पनि नस्क्ने भए पछि वाल्टर  अस्पतालको आकस्मिक कक्षमा गए । त्यसपछि कोभिड -१९ पोजेटिभ भएको पत्ता लागेको वाल्टरले सामाजिक संजालमा लेखेका छन् । ५३ बर्षीय वाल्टर मधुमेहका बिरामी हुन । उनलाई सामान्य स्ट्रोक पनि भै सकेको वासिङ्टन पोष्टले लेखेको छ । 

    वाल्टरले शुक्रबार आफ्नो स्वास्थ अवस्था बारे जानकारी गराउँदै गरेको एक फेसबुक लाईभ भिडियोमा कतिपयले उनलाई आफुसँग प्रत्यक्ष संसर्गमा आएका मानिसहरुको नाम नबताएर स्वार्थी बनेको आरोप समेत लगाएका छन् । वाल्टर मेरिल्यान्ड राज्यको ब्यबस्थापिका संसदको सदश्यमा दुई पटक पराजित रिपब्लिकन पार्टीका उम्मेद्वार हुन् ।

  • कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

    कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

    सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् ।

    दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले कोरोनालाई जित्न सफल भएका छन् । दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष डिस्चार्ज भए ।

    दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक, एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको तथ्यांकमा उल्लेख छ ।

    शनिबार २१४ ले कोरोना निकोभएसँगै अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणलाई जित्ने बिरामीको संख्या ९३४ पुगेको छ ।कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या भने एक हजार ४४० पुगेको छ । तर, निको हुने दर बढी रहेका कारण कर्णालीमा ठूलो जोखिम भने देखिएको छैन ।

  • स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

    स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

    पोखरा । । स्याङ्जामा गत रात गएको पहिरोमा पुरिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घरमाथिबाट पहिरो खसेपछि अन्दाजी ५० वर्षीय यमबहादुर विकको ज्यान गएको हो ।

    घटनामा परी गम्भीर घाइते भएका यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो हो ।

    उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको छ । छोराको अवस्था भने सामान्य छ । यस भेगमा ठूलो वर्षा भएको थियो ।

    कच्ची बाटोमा पहिरो गर अवरुद्ध भएका कारण घाइतेहरुलाई राती समयमै अस्पताल पुर्याउन नसकेको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको छ ।

  • सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

    सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

    कोरोनाको महामारी छ । भाईरस सर्ने हो कि भन्ने त्रास छ । जति बेला पनि हात धुन सम्भव छैन । ह्याण्ड सेनिटाईजर बोकेर हिंड्नु पर्दछ तर त्यही सेनिटाईजर पनि गुणस्तर हिन भयो भने सेनिटाईजर बोकेको फलदायी हुँदैन । त्यसैले सेनिटाईजरको गुणस्तर बिचार  गरेर मात्र प्रयोग गर्दा उदेश्य पुरा हुने गर्दछ ।  अमेरिकास्थित उपभोग्य सामग्रीको जाँच तथा  गुणस्तर नियन्त्रणका लागि काम गर्ने फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले अहिले बजारमा छ्याप छ्याप्ती भेटिने ९ प्रकारका सेनिटाईजरलाई बन्देज लगाएको छ । एफडिएले ‘ईस्कबायोकेम एसए’ द्वारा उत्पादित ९ प्रकारको सेनिटाईजरमा सम्भाबित बिषाक्त रसायन भेटिएका कारण रोक लगाएको हो । एफडिएले यो कम्पनीले उत्पादन गरेको सेनिटाईजरमा मेथानोल  भेटिएको र मेथानोल छालामा सोसिंदा र शरीर भित्र प्रबेश गर्दा घातक हुने भनेर बन्द गरेको हो । बिभिन्न नामका सेनिटाईजर   उत्पादन गर्ने ईस्कबायोकेम म्याक्सिकन कम्पनी हो ।

    एफडिएले निम्न सेनिटाईजरलाई बन्देज गरेको छ :

    – अल क्लिन ह्याण्ड सेनिटाईजर   

    – ईस्कबायोकेम ह्याण्ड सेनिटाईजर   

    – क्लिन केयर नो जर्म एड्भान्स ह्याण्ड सेनिटाईजर  ७५% अल्कोहल ( एन डि सि : ७४५८९ -००८-००४ ) 

    – लाभर ७० जेल ह्याण्ड सेनिटाईजर    

    – द गूड जेल एन्टी ब्याक्टेरियल जेल ह्याण्ड सेनिटाईजर    

    – क्लिन केयर नो जर्म एड्भान्स ह्याण्ड सेनिटाईजर ८०% अल्कोहल

    (एनडिसि : ७४५८९ – ००५ -००३)   

    – क्लिन केयर नो जर्म एड्भान्स ह्याण्ड सेनिटाईजर  ७५% अल्कोहल 

    (एन डि सि : ७४५८९ -००९ -०१) 

    – क्लिन केयर नो जर्म एड्भान्स ह्याण्ड सेनिटाईजर ८०% अल्कोहल 

    (एनडिसि : ७४५८९ – ००३-००१) 

    – सानी ड्रम एड्भान्स ह्याण्ड सेनिटाईजर  

    शरीरमा धेरै मात्रामा मेथानोलको संसर्ग भयो भने रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, आँखा धमिलो देखिने, अन्धो हुने, बेहोस हुने, कोमामा जाने, स्नायु प्रणालीलाई स्थाईरुपमा असर पुर्याउने गर्दछ । एफडिएले ती सेनिटाईजरको प्रयोग गरेको छ भने पनि तत्काल जाँच गराउन भनेको छ । एफडिएले गत जुन १७ तारिखमा नै ती सेनिटाईजरको बिक्री बितरणमा रोक लगाएकोले तत्काल ती सेनिटाईजरको प्रयोग बन्द गर्दै सुरक्षित ठाउँमा फ्याक्न भनेको छ ।  

    समाचार श्रोत : सिएनएन

  • अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

    अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

    काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको बताइएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ५५४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर संक्रमितको संख्या भने १२ हजार ३०९ पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार काठमाडौं उपत्यकामा ५ जना नयाँ कोरोना संक्रमित भेटिए ।

    काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । शनिबार सबैभन्दा धेरै बाजुरामा ८६ जना संक्रमित थपिए । डोटीमा ७१, प्युठानमा ४९, रौतहटमा ३४, दाङमा ३१, महोत्तरीमा ३० र पाल्पामा २६ नयाँ बिरामी भेटिएका हुन् ।

    बैतडीमा २४, स्याङजामा २१, अर्घाखाँचीमा १८, कैलालीमा १४ तथा अछाम र सल्याानका १३, १३ जनामा संक्रमण देखिएको छ । शनिबार कपिलवस्तुमा ९, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बारामा ८, ८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७, ७ जना नयाँ बिरामी भेटिए ।

    सर्लाही र नुवाकोटका ६, ६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५, ५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३, ३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २, २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

    जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एक, एक जनामा रिपोर्ट पोजेटिभ देखिएको छ ।

  • नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

    नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

    भरतपुर । नेपालमा कोेरोना संक्रमणबाट थप एक जनाको निधन भको छ । चितवनस्थित भरतपुर अस्पतालको आइसोलेनमा ५० वर्षीय पुरुषको शनिबार बिहान ज्यान गएको हो । यससँगै अब नेपालमा कोरोना भाइरसको संक्तमणबाट ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको हो ।

    चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्यायएको थियो । अस्पताल स्रोतका अनुसार नी कैलालीका हुन् । शनिबार बिहान ७ बजे उनको मृत्यु भएको हो । कैलालीको गोदावरी नगरपालिका ७ का बासिन्दा उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।

  • कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

    कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

    अमेरिकाको टेक्सास र फ्लोरिडा राज्यमा संक्रमितको संख्यामा र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि ३ महिना भित्र पुन: दोश्रो पटक मदिराका बारहरु बन्द गरिने भएको छ भने एरिजोना राज्यबासीलाई ‘स्टे एट होम’ आदेश गरिएको छ । टेक्सास गभर्नर ग्रेग एबोटले टेक्सासका मदिरा बारहरुलाई शुक्रबार दिउँसोबाट बन्द गर्न आदेश गरेका छन् । फ्लोरिडामा भने डिपार्टमेण्ट अफ बिजिनेस एन्ड प्रोफेसनल रेगुलेसनले उक्त क्षेत्रमा तत्काल लागू  हुने गरी मदिरा बितरण रोक्न भनेको छ ।  टेक्सास र फ्लोरिडा दुबै राज्यले महामारी सुरु भएर बन्द गरिएको अवस्थामा सबैभन्दा छिटो लकडाउन खोलेर अमेरिकामा नै लकडाउन खोल्ने पहिलो राज्य बनेका थिए । टेक्सासमा भने गभर्नर एबोटले गत मे महिनामा नै मदिरा बारहरु खुल्ला गरी सामाजिक दुरीको नियमलाई कडाईका साथ लागू गरेका थिएनन् । टेक्सासमा संक्रमित र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि पुन: भिडभाडमा कडाई गर्न थालिएको हो । टेक्सासका रेस्टुरेन्टमा बसेर खानको लागि रेस्टुरेन्टको क्षमतामा ५० प्रतिशत घटाउन भनिएको छ भने राज्यका चर्चित खोलाहरुमा र्याफ्टिङ तथा ट्युबिङ्हरु समेत बन्द गरिएको छ । सय जना वा त्यो भन्दा धेरैको जमघटको लागि स्थानीय सरकारबाट स्वीकृति लिनु पर्ने निर्णय गरिएको छ । एरिजोनामा गभर्नर डग ड्युसीले बिहीवार राज्यबासीलाई घर भित्रै बस्न भनेका छन् ।

    फ्लोरिडामा दैनिक ९ हजारको संख्यामा संक्रमित थपिन थालेको र थपिएका संक्रमितमा पनि अधिकांश संक्रमित युवा जमात जो मदिरा बार र रेस्टुरेन्टमा जान्छन्,  त्यो समुहबाट संक्रमण फैलिन थालेपछि मदिरा बिक्रि बितरणको नियामक संस्थाले तत्काल बारबाट मदिरा बिक्री गर्न रोक लगाएको छ । अमेरिकामा बिहीवार मात्र ४० हजार संक्रमित थपिए भने मृतकको संख्या १ लाख २५ हजार पुगेको छ। 

    एजेन्सी

  • जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

    जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

    न्युयोर्क

    अमेरिकाको टेक्सस राज्यको एक परिवारमा आयोजित ‘बर्थ डे’ पार्टी पछि एकै परिवारका १८ जना नातेदार कोरोना संक्रमित भएका छन्  । पार्टी गत महिना उत्तरी टेक्ससको क्यारेल्टिनस्थित एक घरमा आयोजना गरिएको थियो । पार्टीमा सहभागी भएका एक बृद्ध दम्पत्ती र एक महिला जो ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिईन ती तीन जना अहिले अस्पतालमा कोरोनासँग संघर्ष गरी रहेको डेली न्युजले लेखेको छ । रोन बार्बोसा नामका उक्त परिवारका सदश्य जो ‘बर्थ डे’ पार्टीमा सहभागी भएका थिएनन्, उनले स्थानीय डब्लुएफएए -टिभीलाई भनेका छन्; “हाम्रो नराम्रो दिन मेई ३० तारिख सुरु भयो” ।

    बार्बोसाको ३० बर्षीय बुहारीको तिसौं जन्मदिन उनको भान्जाले आयोजना गरेका थिए । बार्बोसाको भान्जा त्यही बर्थ डे पार्टीमा थाहै नपाई संक्रमित भए र उनले परिवारको ७ जनालाई सरेको बताए । ती सात जनाले परिवारको अन्य १० जनालाई कोरोना संक्रमित बनाए । बार्बोसा भन्छन्; ‘पार्टी त्यति लामो समयको लागि पनि थिएन । छोटो समयको पार्टीले पनि परिवारको १८ जना संक्रमित हुन पुगे’ । बार्बोसा आफु पेशाले ईएमटी (ईमर्जेन्सी मेडिकल टेक्निसियन) हुन् । उनकी चिकित्सक पत्नी सहित दुबै जना भाईरस संक्रमणको डरले बुहारीको जन्मदिन मनाउन गएका थिएनन् । अहिले बार्बोसाको ८० बर्ष कटेका माता पिता अस्पतालमा छन् भने क्यान्सरसँग लडिरहेकी उनकी बहिनी पनि अस्पताल मै छिन् ।

  • नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

    नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए ।

    यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २६ पुगेको छ । नेपालमा ११ हजार भन्दा बढी संक्रमित पुष्टी भइसकेको छ ।

  • दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी

    दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी

    काठमाडौं । दैलेखका मृत अवस्थामा भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट १ महिनाअघि आएका २१ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याएर पोस्टमार्टम तथा स्वाब संकलन गरिएको थियो । उनको स्वाव कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो।
    बिहीबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट आएका दैलेख दुल्लु नगरपालिका १० का युवक १४ दिन दुल्लु नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

    क्वारेन्टिनमा उनको आरडिटी परीक्षण गरिएको थियो । उक्त परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । स्थानीय प्रशासनका अनुसार उनले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन । सेनाले उनको शव व्यवस्थापन गर्नेछ । मृत्युपछि कोरोना पुष्टी भएको भएपनि उनको मृत्युको कारण भने कोरोना मानिने छैन ।

  • ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

    ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

    एजेन्सी

    ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।  

    त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा पनि ब्राजिल, म्याक्सिको, पेरु र चिली सबैभन्दा कोरोनाले असर गरेको देश भएका छन् ।ब्राजिल कोरोनाका कारण धेरै मृत्‍यु हुने देशहरुको सुचीमा अमेरिका पछि दोश्रो नम्बरमा  छ । ब्राजिलमा ५२ हजार ६ सय ४० को मृत्‍यु र ११ लाख ४५ हजार ९ सय ६ जना संक्रमित भै सकेका छन् । 

    गत हप्ता सान पाउलो स्टेट युनिभर्सिटीकी प्रोफेसर अलेक्जान्ड्रा नाएमी बार्बोसाले समाचार एजेन्सी रेउटर्सलाई भनिन्; ‘ब्राजिलमा अहिले देखिएको सरकारी तथ्यांक भन्दा ५ गुणा मानिस कोरोनाबाट संक्रमित छन्’ । उनले भनेकी थिइन्, त्यो संख्या  ३० लाखदेखि १० लाखको बीचमा हुन सक्ने प्रोफेसर बार्बोसाको अनुमान थियो । त्यहाँस्थित संघीय न्यायाधिसले राष्ट्रपति जाईर बोल्सनारो जो कोरोना संक्रमणलाई ‘सामान्य फ्लु’ भन्दै आएका थिए उनलाई सार्वजनिक ठाँऊमा अनुहारमा मास्क लगाएर हिंड्न आदेश गरेका थिए ।