Category: स्वास्थ्य

  • काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

    काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

    काठमाडौं । आइतबार नेपाल आइ पुगेका एक अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले चीनबाट नेपाल आएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पठाएको छ ।

    उनी चीन ट्रान्जिट बनाएर नेपाल आएका थिए । विमानस्थलस्थित हेल्थ डेस्क स्रोतका अनुसार नेपाल आउँदाआउँदै उनलाई जहाजमै ज्वरो फूटेको थियो ।

    चीनमा तीन घण्टा मात्रै बिताएको जानकारी उनले विमानस्थलमा गराएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचालनमा आएको हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरिएको छ ।

    यहाँ ज्वरो आएको भेटिएमा अस्पतालमा पठाउने गरिन्छ । नेपालमा एक जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।

    थप दुई नेपालीमा समेत संक्रमणको आंशका रहेको छ ।

    उनीहरुलाई आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरु चीनबाट फर्किएका र एक जना नेपाली तथा एक जना महिला रहेको बताइएको छ ।

  • पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन

    पर्यटकीय गतिविधि खुम्च्याउँदै चीन

    बेइजिंग । चीनले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभर हुने विभिन्न पर्यटकीय गतिविधि खुम्च्याउने भएको छ ।

    राजधानी बेइजिंगबाट विभिन्न प्रान्तलाई जोड्ने बस बससेवा कटौती गरिदैछ । चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण तत्कालका लागि रद्द गर्ने निर्णय लिएको हो ।

    यसले अति प्रभवित प्राप्तबाट अन्य स्थानमा कोरोनाको भाइरस नफैलियोस भन्ने उद्देश्य लिइएको हो ।

    आन्तरिक रुपमा पर्यटकीय गतिविधिमा धेरै सुस्तता आइसकेको छ । अब विदेशका पर्यटकलाई समेत प्रभावित क्षेत्रमा जान दिइने छैन ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा दिएको सन्देशमा चीनले गम्भीर अवस्थाको सामना गरिरहेको उल्लेख गरेका छन् ।

    चीनमा कोरोना भाइरसको संक्रमणबाट कम्तिमा ४२ जनाको ज्यान गइसकेको ।

    एक हजार चार सयभन्दा बढी सङ्क्रमित फेला परिसकेका छन् । अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, नेपाल, फ्रान्सलगायत मुलुकमा यसको सङ्क्रमण फैलिएको छ ।

  • कोरोना भाइरसको प्रभाव : विश्वभर चिनियाँ पर्यटकको आवतजावतमा कडाई

    कोरोना भाइरसको प्रभाव : विश्वभर चिनियाँ पर्यटकको आवतजावतमा कडाई

    काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले मानिसहरुको ज्यान जान थालेसँगै विश्वभर पुग्ने चिनियाँ नागरिकको यात्रा प्रभावित भएको छ ।

    चीन आफैले ११ शहरमा सबै प्रकारका पर्यटकलाई भ्रमणमा रोक लगाएको छ भने संसारभर विमानस्थलमा चिनियाँ नागरिकमाथिको स्वास्थ्य निगरानी कडा बनाइएको छ ।

    खासगरी ठूलो जनसंख्या भएका कारण चीनलाई यात्रामा प्रतिवन्ध लगाउँदा विश्वकै पर्यटन क्षेत्र प्रभावित हुन्छ ।

    चिनियाँ नर्या वर्षमा करीव ३ करोड चिनियाँ नागरिक आफ्नो थातथलो छाड्न पाएनन् ।

    यसले संसारभरकै पर्यटन व्ववसाय प्रभावित हुने भएको हो ।

    चीनको वुहान प्रान्तबाट यो भाइरल फैलिएको हो । यसले ४१ जनाको ज्यान लिइसकेको छ । हुबेई प्रान्तमा १५ जनाको ज्यान गएको छ ।

    एक जना चिकित्सकले समेत सोही रोगविस्द्ध अन्य बिरामीको उपचार गर्दागर्दै ज्यान गुमाएका छन् ।

    चिकित्सकहरुका अनुसार मानिसबाट मानिसमा यो रोग सर्छ ।

    डिसेम्बरमा पहिलो पटक देखिएको यो भाइरस चीनको किन्घी र तिब्बतमा भने अझै भेटिएको छैन । ९ सय जना यस रोगका कारण संक्रमित भइसकेका छन् ।
    एजेन्सी

  • कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी

    कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी

    काठमाडौं । छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोराना भाइरस नेपालमा समेत भेटिएको पुष्टी भएको छ ।

    चीनबाट नेपाल आएका विद्यार्थीमा यसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको पुष्टी भएको हो ।

    तीन विद्यार्थीको प्रारम्भिक जाँच गरी निश्चित गर्न डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो ।

    उक्त जाँचको रिपोर्ट पोजेटिभ आएको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । व्यक्तिमा लक्षण नदेखिए पनि संक्रमण रहेको पुष्टी भएको र उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

    मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा यस रोगबारे सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।

    मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिएको छ ।

    त्रिभुवन विमानस्थलमा समेत हेल्थ डेस्क स्थापना गरिएको छ । बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम समेत भइरहेको मन्त्रालयले जनाएको छ ।

    अब नेपालले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई विस्तृत परिवतरणसहित जानकारी गराउनेछ ।

    त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

    त्यहाँबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको छ मन्त्रालयले जानकारी दिएको छ ।

    अब चीनबाट नेपाल आउने हरेक विमानमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

  • कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

    कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

    काठमाडौं । त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

    कोरोना भाइरसको संक्रमण भएका व्यक्ति नेपाल प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    चीनसहितका मुलुकमा यो रोगको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग मिलेर विमानस्थलमा यस्तो कक्ष स्थापना गरिएको हो ।

    अब अध्यागमनमा प्रवेश गर्नु अगाडी भाइरस फैलिएको मुलुकका व्यक्तिले स्वास्थ परिक्षण गराउनु पर्ने भएको छ ।

    यो भाइरसले महामारीको रुप लिन सक्ने भन्दै संसारका धेरै मुलुकले यस्तो हेल्थ डेस्क संचलनमा ल्याएका छन् ।

    खासगरी एसियाली मुलुकमा यसको बढी जोखिम फैलन सक्ने सम्भावना रहेको छ । चीनमा कोरोना भाइरसको संक्रमणले आधा दर्जन मानिस मरिसकेका छन् ।

  • अमेरिकामा समेत भेटियो कोरोना भाइरस

    अमेरिकामा समेत भेटियो कोरोना भाइरस

    काठमाडौं । कोरोना भाइरसले चीनमा ६ जनाको निधन भइसकेको छ । यो रोग अब अमेरिकासम्म पुगेको पाइएको छ ।

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    जनवरी १५ मा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

    रोग नियन्त्रण केन्द्र अमेरिकाका अनुसार ती व्यक्तिको परिचय गोप्य राखिएको छ ।

    भाइरस चीनको बुहानबाट फैलिएको भनिएको अनुमान छ । चीनमा मात्र ३ सय भन्दा बढीमा यसको संक्रमण फैलिसकेको छ ।

    खासगरी सामान्य रुघाखोकीजस्तै लक्षण देखिने र अन्त्यमा मृत्युसमेत हुने यो डरलाग्दो भाइरसले संसारभर संक्रमण लिन सक्ने सम्भावना छ ।

    किनकी संसारमा सबैभन्दा बढी घुमघाममा निस्कने मानिस चिनियाँ नै हुन् ।

    एजेन्सी

  • रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

    रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

    काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ ।

    मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको छ ।

    घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?, रिसोर्टमा मापदण्ड पुगेको वा नपुगेको, सुरक्षात्मक प्रवन्ध भए या नभएको ?

    व्यवस्थापकीय कमजोरी भएको वा अन्य के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको पर्यटन विभागले उल्लेख गरेको छ ।

    छानविन समितिको संयोजकको भूमिका पर्यटन विभाग होटेल शाखाका निर्देशकलाई दिइएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, प्रहरी, होटेल संघ नेपालका प्रतिनिधि तोकिएका छन् ।

    विभागका होटेल शाखाका अधिकृतले सदस्यसचिवको भूमिका निर्वाह गर्नेछन् ।

    समितिले आगामी दिनमा यस्ता दूर्घटना नदोहोरिन के गर्नुपर्छ भन्ने बारे पनि सिफारिस गर्नेछ । यस घटनाले अन्तरराष्ट्रिय पर्यटन बजारमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।

  • कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

    कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

    काठमाडौं । चीनमा हालै देखिएको कोरोनाभाइरस नामक रोगले चीनमा ६ जनाको ज्यान लिएको छ ।

    यो रोगलाई एक अज्ञात रोग मानिएको छ । चिनियाँ अधिकारीलेहरुका अनुसार चीनमा यस रोगले महामारीको रुप लिने सम्भावना बढेको छ ।

    चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले मात्र यस रोगका लक्षण देखिन थालेका थिए ।

    वुहानका नगरप्रमुख झाओ सिआनवाङका अनुसार उक्त रोगबाट प्रभावितको संख्या २९१ पुगेको छ । सोमबार र मंगलबार थप ८० जना बिरामी उपचारको खोजीमा अस्पताल पुगेका छन् ।

    त्यसमध्ये २ जनाको मंगलबार निधन भएको हो । यो रोगका किटाणू चिनियाँ नागरिक हुँदै अन्य मुलुकमा समेत फैलन सक्ने भन्दै एशियाली मुलुकले विमानस्थलमा चिनियाँ नागरिकमाथि परिक्षण बढाएका छन ।

    सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण यस रोगमा देखिनेछन् । तर, केही समय गाँजेपछि यस रोगले ज्यानै लिन थालेको हो ।

    एजेन्सी

  • धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

    धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

    धादिङ । धादिङको निलकण्ठ नगरपालिका, ८ मा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

    घाइतेलाई हलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ट्रकमा २५ जना सवार रहेको बताइएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङ रहेका छन्।

    उनीहरु सबैजना नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा रहेको बताइएको छ ।

    धादिङको ज्वालामुखी गाउँपालिका, ४ स्थित ढोला मण्डलीमाई दर्शन गरी घर फर्कने क्रममा मिनी ट्रक दूर्घटनामा परेको हो ।

    ग१ख ८०१२ नम्बरको मिनी ट्रकले ठूलो संख्यामा यात्रु बोकेको पाइएको छ ।

    सामान्यतया प्रयोजन विपरित सवारी साधनले यात्रु वा सामान बोक्न पाउँदैन । पछिल्लो समय दूर्घटनामा परी ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।

  • दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

    दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

    काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ ।

    उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको हो ।

    प्रहरीका अनुसार मंगलबार राती सुतेका उनीहरु एउटै कोठामा थिए । दुई परिवारका बाबु, आमा र छोराछोरीको हिटरका कारण निसास्सिएर निधन भएको हो ।

    उनीहरु बिहान ८ बजेसम्म पनि नउठेपछि रिसार्टका कर्मचारी उठाउन पुगेका थिए । तर, ढोका नखोलेपछि कर्मचारीले ढोका खोलेका थिए ।

    ढोका खोल्दा ८ जना नै अचेत अवस्थामा थिए । त्यसपछि कर्मचारीले प्रहरीलाई बोलाएका थिए ।

    प्रहरी पुगेपछि काठमाडौंबाट हेलिकोप्टर बोलाइएको थियो । त्यतिन्जेल निकै ढिला भइसकेको थियो ।

    काठमाडौं पुर्याउनासाथ उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए । दामन अत्यधिक चिसो स्थान हो ।

    राती हिटर बालेर सबै झ्याल ढोका थुनेर सुतेका कारण अक्सिजनको कमीले निस्सासिएर उनीहरुको ज्यान गएको बताइएको छ ।

    घटनामा ४ पुरुष र ४ महिला छन् । उनीहरुमध्ये पनि ४ जना भने बालबालिका हुन् ।

    मृत्यु हुनेमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेका छन् ।

  • अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

    अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

    पोखरा । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका ७ जना (४ कोरियाली र ३ नेपाली)को खोजी कार्य आइतबारसमेत जारी रह्यो ।

    तर, बाक्लो हिउँ जमेका कारण उनीहरुका सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको कास्की प्रहरी जनाएको छ ।

    अन्नपूर्ण आधार शिविर जाने बाटोको देउराली आसपास गएको हिमपहिरोमा उनीहरु परेको बताइएको छ ।

    पहिरोले उनीहरुलाई पुरेका कारण जिवित फेला पार्ने सम्भावना भने छैन ।

    शुक्रबारदेखि उनीहरु हराइरहेका छन् । शनिबार अपरान्हदेखि मौसम सफा भएपनि उच्च पहाडी र हिमाली भेगमा जमेको बाक्लो हिँउले समस्या सिर्जना गरेको हो ।

  • विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

    विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

    काठमाडौं । विश्वकै होचा व्यक्तिका नाममा कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको शुक्रबार निधन भएको हो ।

    उनी २८ वर्षका थिए । उनलाई परिवारले बिहीबार अस्पतालमा भर्ना गरेका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

    अस्पतालले शुक्रबार दिउँसो करिव ३ बजे उनलाई मृत घोषणा गरेको थियो । अस्पतालका अनुसार उनमा मुटुको समस्या देखिएको थियो ।

    स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्याले उनलाई अस्वस्थ बनाएको र उपचारका क्रममा निधन भएको बताइएको छ ।

    उनी बाग्लुङको धुल्लुवासकोट ६ का मा जन्मिएका हुन् । खगेन्द्रलाई २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा कीर्तिमान लेखाइएको थियो ।

    उनको उचाई ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थियो । उनको शनिबार अन्तेष्टी गरिने भएको छ ।

  • यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

    यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

    यूएई । यूएईको आबुधाबीमा बिहीबार भयानक बस दूर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म तीन नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन् ।

    यूएइस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको ज्यान गएको छ ।

    घरको ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले समेत दूर्घटनामा ज्यान गुमाएकी छिन् ।

    आवुधावीको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किदा दूर्घटनामा परेको हो ।

    प्रहरीकाअनुसार बस चालक, एक जना श्रीलङ्कन एक जना अफ्रिकन महिला कामदारको समेत ज्यान गएको छ ।

    दूतावासका अनुसार बसमा कूल २४ जना कामदार चढेका थिए । उनीहरु बस्ने क्वार्टरबाट काम गर्ने स्थानतर्फ गइरहेका थिए ।

    दूर्घटनामा १४ जना नेपाली घाइते छन् । घाइते मध्ये पाँच जनाको आबुधाबीस्थित खालिफा सिटीको एनएमसी अस्पतालमा उपचार जारी छ ।

    दूतावासका अनुसार सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार जारी रहेको छ ।

    माफ्राक अस्पतालमा मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको उपचार सोही भइरहेको छ ।

    चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार क्याम्प फर्किएकी छिन्

    । अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्माको उपचार भइरहेको छ ।

    यसअघि गत असोजमा समेत दुबईमा भएको बस दूर्घटनामा ६ जना नेपालीले ज्यान गुमाएका थिए ।

    दुबईमा तिब्र गतिका कारण धेरै दूर्घटना हुने गरेका छन् ।

  • सुनिताले जन्माइन चम्ल्याहा शिशु

    सुनिताले जन्माइन चम्ल्याहा शिशु

    पोखरा । पोखराको मणिपाल कलेजमा चम्ल्याहा (चार) बच्चा जन्मिएका छन् । स्याङ्जा, पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानको कोखबाट भाग्यमानी चार सन्तानको जन्म भएको हो ।

    ३ छोरी र १ जना छोराको जन्म भएको । चिकित्सकका अनुसार शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।

    बिहीबार जन्मिएका यी शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । अस्पतालका अनुसार चार शिशुमध्ये पहिलो बच्चा छोरी १.६ किलोग्राम, दोस्रो १.३ किलो ग्राम, तेस्रो १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामका छन् ।

    दोस्रो शिशु छोराका रुपमा पैदा भए भने अन्य तीन छोरी हुने । मणिपाल शिक्षण अस्पातलका डा. महेन्द्र पाण्डे सहित ४ जनाको टोलीले शल्यक्रिया गरेर यी बच्चा निकालेका थिए ।

    चम्ल्याहा शिशुका रुपमा जन्म लिन पाउने यी शिशु निकै भाग्यमानी हुने । किनकी यस्तो संयोग अत्यन्तै कम हुन्छ ।

    अस्पतालका अनुसार शिशु र आमालाई अस्पतालले विशेष निगरानीमा राखेर हेर्नेछ ।

  • त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

    त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

    काठमाडौं । त्रिशुली नदीमा बिहीबार दुई बच्चासहित एक दम्पत्तीले हाम फालेको छन् । यस घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई बचाउन सकिएको प्रहरीले जनाएको छ ।

    धादिङमा भएको घटनामा दुई नाबालक र एक महिलाको निधन भएको छ र पुरुषलाई भने सकुसल बचाएर प्रहरीले निन्त्रणमा राखेको छ ।

    जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट उनीहरुले हाम फालेका थिए ।

    त्यसपछि महिला र ६ महिना तथा दुई वर्षका दुई छोराको ज्यान गएको हो । उद्दार हुने पुरुष चन्द्रागिरी नगरपालिकाका विनय लामिछाने हुन् ।

    प्रहरीका अनुसार हाम फाल्नुको कारणबारे उनीहसँग सोधपुछ भइरहेको छ ।

  • रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

    रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

    अर्जनप्रसाद मैनाली
    विश्वरक्तदाता

    रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै थिए । कतिपय आफुलाई ब्लडसुगर र कोलेस्ट्रोल छ भन्दै आनाकानी गर्दै थिए । अझ एकजनाले ‘कसैको मुटुमा बास बस्न मन छ भने सबैभन्दा सजिलो उपाय भनेको रक्तदान गर्नु हो’ भनेर त्यहाँ उपस्थित भएकाहरुलाई हौसला प्रदान गर्दै थिए । आपसमा रमाइलो गर्दै, रक्तदान लेखिएको ब्यानर, रक्तदाताहरुको नाम लेखेको कपी, चिया पानी, खाजा, फलफूलहरु र प्रमुख अतिथिका लागि फूलका गुच्छाहरु ईत्यादी तयार थियो ।

    उपस्थित मध्ये एकजनाले अर्जुन मैनालीबाटै आजको रक्तदान शुभारम्भ गरौं भन्ने प्रस्ताव गर्नु भयो । मैले इन्कार गर्ने कुरै थिएन् । हुन्छ भनें । स्वास्थ्य परिक्षण लगायत आधारभूत प्रकृया पुरा भएपछि मैले रक्तदान गरे । 

    रक्तदान गर्नको लागि सम्भावित रक्तदाताहरु पालो कुर्दै लाइन लागेर बसेका थिए । त्यहाँको माहोल कुनै कार्यालयमा जागिरको अन्तर्वार्ताका लागि प्रतिक्षारतहरुको जस्तै थियो । स्वास्थ्य परिक्षणमा अनुतीर्ण भएकाहरु फर्किने बेला खिन्न देखिन्थे । त्यो पनि उनीहरु अर्को पटक रगत दान गर्न मिल्ने आश बोकेर फर्किरहेका थिए ।

    त्यस दिन झन्डै १०० जना नेपालीहरु रगत दान गर्न तयार थिए । जम्मा ३९ जनाले रगत दान गर्न भ्याए । रक्तदान कार्यक्रम पश्चात त्यसै दिन रगत दान गर्ने सबैलाई सम्मान सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । यो घटना थियो, सेप्टेम्बर २५, २००८ मा न्युयोर्कको नेपाली समुदायमा किराँत याक्थुंग चुम्लुङ्ग संस्थाबाट पहिलो पटक संस्थागत रुपमा आयोजित रकतदानको ।

    यसको पनि रमाईलो प्रसंग छ । रक्तदान आयोजना गर्न संस्था त तयार थियो तर रक्तदान कार्यक्रम आयोजना गर्नु त्यति सजिलो थिएन । पहिलो त कम्तिमा ३५ जना सम्भावित रक्तदाताहरुको नाम संकलन गर्नु थियो । अर्को कुरा करिब १२ सय स्क्वायर फिट क्षेत्रमा फैलिएको उज्यालो (बिजुली बत्ति) धारा, बाथरुम, वेसमेन्ट वा दोश्रो तल्लामा भए लिफ्टको सुबिधा भएको हल चाहिने रहेछ । उक्त हल खोज्दै म लंग आइल्याण्डदेखि करिब ५-६ पटक ज्याक्सन हाइट, उडसाइड, सन्नी साइड आदि स्थानहरुका स्कुल, चर्च, लाइब्रेरीमा पुगेँ । हामीलाई सार्वजनिक यातायातको सुबिधाको पहुँच भएको र दिनभरका लागि हल आवश्यक थियो । निशुल्क रुपमा चाहिने मापदण्ड अनुसारको हल पाउन सकेनौं । अन्त्यमा पैसै तिरेर भएपनि हल बुक गर्यौं ।

    ११ देखि ४ बजेसम्मको अवधिमा हरेक ५ मिनेटको फरकमा रक्तदान गर्नेहरुको नाम संकलन गरियो । रक्तदान कार्यक्रमको ब्यानर, रक्तदाताहरुको लागि सर्ट, प्रसंसा पत्र, खाजाको ब्यवस्था, रक्तदान कार्यक्रम स्थलको लागि स्वयंसेवकहरुको बन्दोवस्त पनि भयो । रेडक्रसका प्रतिनिधिहरुले रक्तदाताहरुको नाम लेख्ने ठाउँ, रक्तदाताहरुले रक्तदानका वारेमा सामान्य जान्नैपर्ने कुरा पढ्ने ठाउँ, स्वास्थ्य परिक्षण, रक्तदान गर्ने ठाउँ अनि रक्तदान गरी सकेपछि आराम गरेर खाजा खाने ठाउँ लगायत सबै तयारी पुरा भएपछि करिब १०:३० बजे तिर रगत दान गर्न नेपालीहरुको आउने क्रम सुरु हुन थाल्यो । आयोजक लगायत हामी सबै रमाउन थाल्यौं ।

    त्यसपछि पनि अन्य संस्थाहरुलाई रक्तदानको लागि घच्घच्याईरहें । त्यसपछि अर्को रक्तदान कार्यक्रम नेपाली जन सम्पर्क समिति न्युयोर्कको आयोजनामा डिसेम्बर २८, २००८ मा सोही स्थानमा गर्ने सल्लाह गर्यौं । पछि-पछि अन्य बिभिन्न नेपाली संघसंस्थाहरुले समेत रक्तदानका कार्यक्रम आयोजना गर्न थाले । यसरी रक्तदान गर्न अभिप्रेरित गर्दै सम्भावित रक्तदाता र ब्लड डोनर सेन्टर बीच एक पुल बन्ने मेरो कोशिस सफल भएको अनुभव गरें । आज यहाँसम्म आईपुग्दा नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रुपमा लिन थालेका छन् । जन्मदिनको अवसरमा रगत दान गर्नेहरुमा मनग्य भेटिन थालेका छन् । यो सबै देख्दा मनैदेखि खुसी हुन्छु ।

  • महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

    महरा प्रकरण : रोशनीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई अदालतले बोलायो

    काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध लागेको बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परिक्षण गर्ने डाक्टरलाई बयानका लागि बोलाएको छ ।

    रोशनीले शुरुमा बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, त्यसको २४ घण्टा पनि नबित्दै उनले महराबाट त्यस्तो कुनै काम नभएको भन्दै उनी निर्दोष रहेको बयान दिएकी थिइन् ।

    तर, सरकारी वकिलको कार्यालयले भने बलत्कार प्रयास प्रमाणित भएको भन्दै अदालतमा पेश गरेको थियो ।

    महरा अहिले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालतले महराको मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश गरेको हो ।

    उक्त मुद्दामा आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटना विवरणको कागज गर्ने साक्षी र चिकित्सकलाई समेत बोलाउने आदेश गरेको हो ।

    इजलासले जाहेरवालाको स्वास्थ्यपरीक्षण गर्ने डाक्टर, घटनास्थलमा भेटिएका सामाग्रीको परीक्षण गर्ने प्रयोगशालाका विशेषज्ञ, घटना विवरण कागज गरिदिने साक्षीहरूलाई समेत बयानमा बोलाउन आदेश गरेको छ ।

  • पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

    पाम आयलको निर्यात रोकिएकोमा कांग्रेसको चिन्ता

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयल भारत निर्यात गर्न रोकिएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

    भारतले विभिन्न मुलुबाट आयत हुने पाम आयलमा प्रतिवन्ध लगाएको छ । भारतले लगाएको रोकलाई कूटनीतिक पहल गरी खुलाउन र अन्य मुलुकमा समेत निर्यातको सहज वातावरण बनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

    काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकाल्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्ने उल्लेख गरेका छन् ।

    यसबाट उद्योग, श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने उल्लेख गरेका छन् ।

    नेपालबाट पछिल्लो ५ महिनामा सबैभन्दा बढी निर्यात भएको पाम आयललाई भारतले प्रतिवन्ध लगाएको छ ।

    यसले अब नेपालको निर्यात बजार नराम्रोसँग प्रभावित हुने देखिएको छ । पाम आयल नेपालको उत्पादन नभएपनि कच्चा तेल नेपालमा आयात गरी प्रशोधनपछि भारत निर्यात भइरहेको थियो ।

  • प्रधानमन्त्रीको डायलासिस आज पनि

    प्रधानमन्त्रीको डायलासिस आज पनि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । शनिबार अपरान्ह मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीले डायलासिस गराए ।

    सोहीकारण उनी आज वालुवाटारमै बोलाइएको नेकपा सचिवालय बैठकमा भने सहभागी हुन सकेनन् ।

    आजसहित प्रधानमन्त्रीले अहिलेसम्म १३ पटकसम्म डायलासिस गराइसकेका छन् । मृगौलाको समस्याका कारण अहिले प्रधानमन्त्रीले नियमित डायलासिस गर्नुपर्छ ।

    सोहीकारण उनी नियमित काममा फर्कन सकेका छैनन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने ठिक छ ।

  • भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

    भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

    कन्नौज । भारतको उत्तरप्रदेशस्थित कन्नौजमा एक निजी बस र ट्रक ठोक्किदा बसमा भयंकर आगो लागेको छ । आगोमा जलेर कम्तिमा २० जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ ।

    करीव ४१ जना सवार भएको अनुमान गरिएपनि यकिन यात्रु संख्या पत्ता नलागेको बताइएको छ । यो स्लिपिंग बस थियो ।

    आगलागीका कारण कैयौं मानिस घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    २१ जनालाई उद्धारपछि अस्पताल लगिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् ।

    एसी जडान भएको बस र ट्रक एकआपसमा ठोक्किएपछि आगो लागेको बताइएको छ ।

    घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले मृतक र घाइतेहरुका लागि आर्थिक सहायताको घोषणा गरेका छन् उनले घटनाको अनुसन्धानका लागि समेत निर्देशन दिएका छन् ।

    उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई दुई दुई लाख र घाइतेहरुलाई जनही ५० हजार भारु राहत दिने घोषणा गरेको छ ।

    प्रदेश प्रहरी प्रमुख ओपी सिंहका अनुसार नजिकै रहेको डिजल ट्रक विस्फोट भएको र त्यसले बसमा समेत आगो पुर्याउँदा आगलागी भएको आंशका गरिएको बताएका छन् ।

  • अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

    अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

    सिड्नी । अष्ट्रेलियामा आगलागीका कारण २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले देशका विभिन्न स्थानमा भएको आगलागीमा परी २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् ।

    उनले संसदमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आंकडा सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीले २१ सय ३१ घरमा क्षति पुगेको छ ।

    मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने संकेत समेत उनले गरेका छन् । अष्ट्रेलियामा दक्षिणपूर्वी भेगको जंगलमा ठूलो आगलागी भएको छ ।

    जसका कारण समग्र अष्ट्रेलियामा तापक्रम बढेको छ । जसले गर्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

    अहिले भइसकेको भन्दा बढी क्षति हुन नदिन प्रयास जारी राखेको उनले बताएका छन् ।

    खासगरी कुनै पनि व्यक्तिले थप ज्यान गुमाउनु नपरोस भन्नेमा गम्भी रहेको उनले बताए ।

    आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

  • रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

    रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

    अर्जुनप्रसाद मैनाली
    विश्व रक्तदाता

    मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट २० को दिन म घुम्दै काठमाडौंको विशालबजार पुगेको थिए । त्यहाँ रक्तदान कार्यक्रम रहेछ । त्यही मैले पहिलोपटक वास्तविक रक्तदान देखें । र मैले पनि १९ बर्षको उमेरमा एक पोका रगत दान गरें । ब्लड बैँकबाट एक हप्तापछि रक्तदाता कार्डमा रगत समुह ‘ओ पोजेटिभ’ भएको पाएँ ।

    त्यसपछि म समय निकालेर हप्ता वा महिनामा एक पटक जसो रक्तसंचार सेवा केन्द्र पुग्न थाले । त्यहाँ बिरामीको उपचार गर्नका लागि रगतको खोजीमा आएकाहरुको भीड हुन्थ्यो । एक दिन ब्लड बैँकका कर्मचारीले विरामी श्रीमतीलाई बचाउनका लागि एक पटक मात्र भए पनि आफ्नो रगत दिनुहोस भन्दा श्रीमानले कमजोरी पो हुने हो कि भन्ने डरले रगत दिएनन  ।  यही घटनाले मेरो मन छोयो । त्यस्तो स्थितिदेखेपछि मैले रगत जरुरी पर्नेहरुका लागि नियमित रुपमा रक्तदान गरिरहने सोचें र प्रण गरें, ‘म जरुरी पर्ने जो कोहीलाई रगत दिन्छु ।‘ 

    रक्तदानको अभियानलाई निरन्तरता दिन र अझ ब्यापक रुपमा विस्तार गर्न सन् १९८९ मा नेपालमा ब्लड डोनर्स क्लब स्थापना गर्यौं  ।  मैले संस्थापक सदस्यका हैसियतले धेरै काम गरेँ । आज त्यही संस्था ‘ब्लड डोनर्स एसोसिएसन नेपाल’ नामले परिचित छ ।

    रगतको आवश्यकता त नेपालको राजधानी काठमाण्डौमा मात्र  होइन । अस्पताल भएका विश्वका जुनसूकै स्थानमा पनि रगतको खाँचो उत्तिकै टड्कारो थियो । रगतको जोहो गर्नु आम नागरिकहरुको कर्तब्य होजस्तो लाग्यो । रक्तदानको महत्व प्रचार–प्रसार गर्नाले समुदाय र असहायका लागि सहयोग हुन्छ भन्ने भावनामा दृढ हुदै गएँ । त्यही दृढताले आम जनमानसमा रक्तदानका लागि उत्प्रेरित गराउन आवश्यक ठानेर मैलेसन १९९० डिसेम्बर ५ मा ३१ दिनसम्म लगातार नेपाल अधिराज्यव्यापी साइकल यात्रा मार्फत प्रचार प्रसार गरेँ ।

    सन् १९९१ फेबु्रअरी २३ सम्ममा मैले १७ औं पटक रक्तदान गरी सकेको थिएँ । सन् १९९१ जुलाइपछि साथीभाईहरुले मलाई एउटा रक्तदाता मात्रमा सिमित रहन दिनु भएन् । लगातार चार पदावधि लियो जिल्लापरिषद, जिल्ला ३२५ मा रक्तदान समितिको संयोजक र त्यसपछि लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ मा रक्तदान कमिटिको सभापतिको जिम्मेवारी सुम्पिए । ती संस्थाहरुमा रहँदाको अवधिमा मैले हरेकलायन्स, लियो क्लबको नियमित भ्रमण गर्थे । स्थानीय सामाजिक संघसंस्थाहरुसँग लायन्स क्लबलाई समन्वय गराई रक्तदान कार्यक्रम राख्थे । काठमाण्डौ उपत्यकाका विद्यालयहरुमा रक्तदानप्रति उत्प्रेरणाकार्यक्रम सञ्चालन गरेँ । म स्वंम र सिङ्गै संस्थाका लागि यो गौरवको विषय थियो ।

    रक्तदानप्रति उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भईसकेको थियो । विभिन्न गतिविधि वारे नेपालको राष्ट्रिय समाचार पत्र गोरखापत्र मै समाचार छापिएपछि त मेरो चौतर्फी चर्चा चल्न थाल्यो । यस क्रममा मैले आफ्नो बेग्लै परिचय बन्न थालेको महसुस गर्न थाले । छरछिमेक तथा टोल र बिभिन्न संस्थाका मानिसहरु मेरो नामलाई रक्तदानको पर्यायवाचीठान्न थालेका थिए । टोलमा कोही बिरामीलाईरगत चाहिँदा अर्जुनलाई भेटे अवश्य पनि रगतको ब्यवस्था हुन सक्छ भन्थे । पछिपछि त घरमै रगत खोजी माग्न आउनेको संख्या बढ्न थालेको थियो । अफिसमा पनि रगतका लागि त्यत्ति नै फोन आउथे । लायन्सक्लबमा सबैलाई थाहा भएकाले मलाई नै बढी सम्पर्क गरिएको मेरो अनुमान थियो ।

    अमेरिकामा पहिलो पटक मर्सी अस्पताल, स्प्रिङफिल्डको ब्लड बैंकमा फेब्रुअरी ५,२००१मा ५०औं पटक रक्तदान गरे । अमेरिकामा बार्षिक ३० मिलिएन ब्लड कम्पोनेण्ट चाहिने गरेको कुरा समेत थाहा भयो ।अस्पताल जाने सात जना बिरामीहरु मध्ये एक जनालाई रगत नै संचार गर्नुपर्ने विभिन्न वेभसाइट तथा रक्तदान सम्बन्धी पर्चाहरुबाट जानकारी पाए । उक्त मागलाई म एक्लैले के नै गर्न सक्थे र ? तर पनि मैले नियमित रुपले रक्तदान गर्दै गएँ ।

    सन् २००४ मा सेन्टरिच, न्युयोर्कबाट रक्तदान गर्न ह्वाईट प्लेन्स सिटी, न्युयोर्क सिटी गई रहन्थे । ती सिटीहरुमा आवतजावत गर्दा ज्याक्सन हाइट तिर पनि घुम्न जाने गर्थे । भेटेका जति नेपाली मित्रहरुलाई आफ्नो अनुकुल भएको समयमा एक पटक मात्र भए पनि रक्तदान गर्नका लागि अनुरोध गर्थे । 

    नेपालदेखि नै रक्तदानको महत्व आफुले प्रत्यक्ष रुपमा बुझेको र जानेको हुनाले बिस्तारै–बिस्तारै अमेरिकामा बसोवास गर्ने नेपाली समुदायमा पनि रक्तदानका बारेमा जनचेतना जगाउन थाले । सम्भावित रक्तदाता र त्यहाँका ब्लड सेन्टर बीच पुलको भूमिका निर्वाह गने प्रयत्न गर्न थालेँ ।

  • देशभरको मौसममा सुधार

    देशभरको मौसममा सुधार

    काठमाडौं । आजबाट देशभर मौसममा सुधार आउने भएको छ । यद्दपी हुस्सुका कारण चिसो भने जारी रहने छ । उच्च हिमाली भेगमा जमेको हिमले चिसो बनाइरहने छ ।

    वर्षा र हिमपात भने तत्कालका लागि रोकिने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    महाशाखाका अनुसार आइतबारबाट मौमस बदली गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदैछ ।

    जसले गर्दा वर्षातःको सम्भावना छैन । उच्च हिमाली भेगमा अझै अलिअलि बादल भएकाले कतै छिटफुट हिमपातको सम्भावना रहेको छ ।

    काठमाडौं उपत्यकाको मौसम आज सफा रहनेछ । तराई तथा पहाडी भेगमा समेत बिहान हुस्सु भने जारी रहने छ ।

    तर, घाम लागिसकेपछि त्यसले पनि क्रमशः छाड्दै जान्छ । पछिल्लो तीन दिन यता देशभर पानी परेपछि चिसो ह्वात्तै बढेको छ ।

  • अष्ट्रेलियामा डडेलोको कहर

    अष्ट्रेलियामा डडेलोको कहर

    सिड्नी । अष्ट्रेलियामा डडेलेले राष्ट्रिय प्रकोपको रुप लिएको छ । नियन्त्रणबाहिर गइसकेको आगलागी नियन्त्रणमा हजारौं सैनिक परिचालन हुने अष्ट्रेलियाली सरकारले जनाएको छ ।

    प्रधानमन्त्री स्कट मोरिसनले शनिबार यस्तो जानकारी गराएका हुन । उनका अनुसार तीन हजारभन्दा बढी सैनिक आगलागी नियन्त्रणमा परिचालन गर्न लागिएको छ ।

    धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय शनिबार नै भएको उनले उल्लेख गरेका छन् ।

    धेरै हवाई जहाज र पानी जहाजमा सुरक्षाकर्मी तैनाथ हुनेछन् । अष्ट्रेलियाका विभिन्न भुभागमा एक महिना अगाडीबाटै अगालागी भइरहेको छ ।

    विनासकारी डडेलोले लाखौं जंगली जनावर मरिसकेका छन् । लाखौं मानिसलाई समुन्द्री तटमा बोलाइएको छ ।

    अहिले पनि करीव २ हजार सैनिक उद्दार र राहतमा खटिएका छन् । आगलानीका कारण अष्ट्रेलियाको तापमानले उच्च रेकर्ड राखिसकेको छ ।

    आगलागीका कारण अहिलेसम्म कम्तीमा १८ जनाको ज्यान गइसकेको छ । २८ जना भन्दा बढी बेपत्ता छन् । भिक्टोरिया राज्य आगलागीबाट बढी प्रभवित छ ।

  • शनिबार पनि मौसम प्रतिकूल

    शनिबार पनि मौसम प्रतिकूल

    काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ ।

    शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

    काठमाडौं उपत्यका अहिले केही खुलेको मौसम समेत दिनभर प्रतिकूल नै रहने छ । वर्षा र हिमपातले चिसो बढाएको छ ।

    यसले हिमाली भेगका राजमार्ग र हवाई रुट अवरुद्ध भएका छन् । शुक्रबारयता हिमाली भेगका विमानस्थलमा उडान हुन सकेको छैन ।

    जसले गर्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

    शुक्रबार काठमाडौंमा समेत जहाजको उडान उडान अवतरण प्रभावित भएको थियो । काठमाडौं आसपासका उच्च चुचुरोमा हिउ परेको थियो ।

  • सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

    सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

    काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो ।

    चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए ।

    प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना भएको समाचारमा जनाइएको छ ।

    जातीय समूहहरू बीच झडपप्रति संकटमा रहेका क्षेत्रमा राहत सहयोग पुर्‍याउन यो जहाज प्रयोगमा आइरहेको थियो ।

    समाचार अनुसार ज्यान गुमाउनेमा सात चालक दलका सदस्य, तीन न्यायाधीश र आठ सर्वसाधारण नागरिक छन् । त्यसमध्ये चार जना बालबालिका हुन् ।

    एजेन्सी

  • रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन

    रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन

    अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता, न्यूयोर्क

    नेपालमा मेरो बुवा फोक्सोको क्यान्सरबाट सिकिस्तै बिरामी हुनुहुन्थ्यो । डाक्टरले बुवालाई किमोथेरापी दिन छोडि सकेका थिए । नदुख्ने औषधीमात्र दिएका थिए । डाक्टरले फोनमा मलाई ‘बुवा धेरै गलीसक्नु भएको छ’ भनेका थिए । मार्च २०१९ को अन्तिम सातामा करिव तीन महिना जति बुवासँगै बस्छु भन्ने मनसायले जागिरमा अप्रिल १ देखि लागू हुने गरी बेतलबी छुट्टी मिलाएँ । साथी विश्वराज बास्तोलासँग केही पैसा सापटी गरेर न्यूयोर्कदेखि काठमाडौंको एकतर्फी जवाइजहाजको टिकट लिएँ । मेसेन्जरबाट फोन गरेर बुवालाई भनें; ‘अप्रिल २ मा काठमाडौं आई पुग्दै छु बुवा’ । बुवालाई भिडियोमा कलमा हेरें, वाक्य अड्किएर धेरै बोल्नै सकिन । बुवासँग मेरो हरेक दिन जसो भिडियो कल हुन्थ्यो । बुवाले ‘बावु अहिले आउनु पर्दैन, अमेरिकाको भिषा लाग्नासाथ म त्यतै आईहाल्छु, पैसा नभएको बेलामा किन बढी खर्च गर्छस !’ भन्नु भयो । घरका अरु सदस्यहरुले आफन्तहरुले पनि बुवासँग केही महिना समय छ भन्ने अनुमान गरेका थिए । तर बुवाले एप्रिल १ तारिख बिहानै करिव ४ बजे तिर हामी सबैलाई छोडेर जानु भयो । त्यो दिन पापमोचिनी एकादशी रहेछ । बुवाले एक दिन बढी पर्खिनु भएन । बुवाको अन्तिम समयमा बुवासँग “हजुरको कारणले यस धर्तिमा जन्मिएँ, मलाई राम्रोसँग हुर्काउनु भयो, स्याहार सुसार गर्नु भयो, म हजुरप्रती कृतज्ञ छु” भन्दै बुवाको दुखेका खुट्टा सम्सुमाउने इच्छा थियो, पुरा हुन पाएन । बहिनीले “अब बुवा रहनु भएन” भनी । मेरो भक्कानो फुट्यो । आँसु धेरै बगेकोले आँखाका डिल सुन्निएर आँखा पुरिन लागेका जस्ता भएछन् । लामो लामो सास फेरिदैं घुक्क घुक्क हुँदो रहेछ । यसरी रुनु हुँदैन भन्ने थियो, तर पनि अन्तर्मनदेखि आएकोले रोक्न सकिएन । मलाई सान्त्वना दिन केहीबेरमै धेरै साथीभाइ उपस्थित भए । साथीहरुको समवेदनाले निक्कै सजिलो भयो । संसारमा सबै थोक नासवान छ भन्ने सत्य कुरालाई हृदयगम गरेँ । यही कुरामा चित्त बुझाएँ । नेपालमा आफन्तहरुसँग ‘अब मलाई नपर्खिनु, बुवाको राम्रोसँग दाह संस्कार गरिदिनु, दागबत्ती दिन भाई छँदै छ’ भनेँ । भाई पनि दुई हप्ता अगाडिमात्रै कोलोराडोबाट नेपाल गएको थियो ।

    बुवा हुँदा धेरै ठुलो भरोसा हुन्थ्यो । केही पर्दा बुवाले साथ दिनु हुन्थ्यो । ठीक सल्लाह दिनु हुन्थ्यो । बुवालाई भेटेर त्यतै रक्तदान र सो सम्बन्धि कार्यक्रम गरौंला भन्ने सोचेको थिएँ  । बुवामा आफ्ना छोरा छोरीको अझै राम्रो होस भन्ने भावना थियो । मलाई रक्तदानमा पनि हौसला दिईरहनु हुन्थ्यो । सायद सबैका बुवाहरुमा पनि यस्तै भावना हुने होला । त्यस्तै आमामा पनि असिमित माया हुँदो रहेछ । यसरी बुवा आमाका निगरानी र मायाले गर्दा नै सृष्टी अनन्त कालदेखि नै चल्दै आईरहेको रहेछ । अझै पनि चल्दै जान्छ ।

    यस्तै यस्तै सम्झनाले न्यूयोर्कदेखि काठमाण्डौको यात्राा सकिएको पत्तै भएन । एअरपोर्टमा बहिनी, फुपू, मितज्यु र साथीहरु आएका रहेछन । मलाई सिधै किरिया घर लिएर गए । त्यहाँ भेट्न आउनेहरुको घुँइचो थियो । सबैले ‘तपाइको बुवा ठुलो हृदय भएको असल ब्यक्ती हुनुहुन्थ्यो’ भन्दै बुवाले समाजमा पुर्याएका योगदानका बारेमा कुरा गर्दथे  । बाह्र तेह्र दिनसम्म कृयापुत्री घरमा आफन्त, शुभचिन्तक, फुपू तेह्र दिने दाजुभाइ, तिनका दुलहीहरुले राम्रोसँग सघाए । बुवाको काजकृया पनि राम्रोसँग गर्यौँ । आमा र भाईहरु अलिक धार्मिक छन् । उनिहरुलाई यस्तै रितिरिवाज हुन्छ भन्ने ज्ञान रहेछ । तर बहिनीले आफुलाई धेरै दिनसम्म सम्हान सकिनन् । बहिनिले मलाई ‘दाइ बुवा एकछिन बाहिर कतै जानु भएको छ, अहिले एकछिनमा आउनुहुन्छ जस्तो लागिरहन्छ, भन्थिन ।

    यसरी सत्र अठार दिनको एकदमै दु:खद दिन बिताएँ । अमेरिका फर्किन मसँग चाहिने जति खर्च थिएन । बहिनीले सहयोग गरी । १८ तारिख न्यूयोर्क फर्किने टिकट बनाएँ । अमेरिका फर्किने दिन ए बि सि टेलिभिजनकी सन्तोषी अधिकारीले देशवासीहरुमा रक्तदान गर्न उत्प्रेरणा हुने खालको अन्तरवार्ता लिइन । मैले आफुले गरेका कामहरुका बारेमा जानकारी गराएँ ।

    बुवाको बियोगको दु:खका समयमा पनि रक्तदान कृयाकलापलाई रोक्न सकिनँ । न्यूयोर्क फर्केर एक दिन आराम गरेपछि अप्रिल २० मा क्यानडा गएँ । त्यहाँ पनि नेपालीहरु साथ रक्तदान गरेँ । उपस्थित भएकाहरुमा हौसला प्रदान गरेँ । जति धेरै रगत दान गर्‍यो त्यति धेरैले पुन: नयाँ जीवन पाउँछन् भन्ने मलाई लागि रहन्थ्यो । यही भावनाले मलाई सधैं रक्तदान गर्न प्रेरित गरिरहन्छ ।

  • मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

    मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

    काठमाडौं । मलेसियाको मलक्का राज्यमा मासु काट्ने मेसिनमा परी एक नेपाली कामदारको ज्यान गएको छ ।

    मेसिनको मर्मत गरिरहेका बेला अचानक मेसिन चलेपछि उनी दूर्घटनामा परेका हुन । ४७ वर्षिय नेपाली कामदारको नाम भने सार्वजनिक गरिएको छैन ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफसीले जनाएअनुसार उनको कम्मरमा गहिरो चोट लागेको थियो । मेसिनले काटिएपछि उनको घटनास्थलमै निधन भएको हो ।

    उनको शव निकाल्न मात्रै करीव आधा घण्टा लागेको थियो । मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गर्दागर्दै दूर्घटनामा परेका हुन् ।

    घटना सोमबार भएको हो । उनी अन्य तीन जना कामदारसँगै काम गरिरहेको बेला दूर्घटना भएको छ ।

    दूर्घटना कसरी भयो भन्ने सम्बन्धमा छानविन भइरहेको बताइएको छ । मलेसियामा करीव ३ लाख ६० हजार नेपाली कामदारले काम गरिरहेका छन् ।

  • न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार

    न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार

    न्युयोर्क

    न्युयोर्क राज्यस्थित एक शहरमा हनुक्का पर्व मनाईरहेका जुईसहरु माथि सांघातिक आक्रमण हुँदा ५ जना घाईते भएका छन् ।अन्य राज्यहरुका तुलनामा धेरै भाषा, बर्ण जाती र धर्मलाई प्रतिनिधित्व गर्ने न्युयोर्क राज्यस्थित रकल्यान्ड काउन्टीको एक घरमा हनुक्का पर्व मनाई रहेको समयमा शनिबार राती एक अज्ञात ब्यक्ती प्रबेस गरी खुँडा प्रहार गरेको हो । घटनामा दुई जनाको अवस्था चिन्ताजनक भएको र घाईतेहरुको हाल अस्पातलमा उपचार भई रहेको प्रहरीले जनाएको छ । घटनाका प्रत्यक्षदर्शी अरोन खोन नामका व्यक्तीले समाचार संस्थाहरुलाई जानकारी दिंदै भनेको छ; “हनुक्का पर्वको सातौं रात मनाई रहेका १०० जनाको भिडमा आक्रमणकारी प्रबेश गरी “ब्रुम स्टिक” जस्तो लामो देखिने चक्कु झिकेर अकस्मात हान्न थाल्यो । हनुक्काको अन्तिम रात मैनबत्ती बाल्ने तयारी हुँदै गर्दा आक्रमण भएको हो” । आक्रमणपछि आक्रमणकारी भागेर सेनेगाग भित्र प्रबेश गर्न खोजेका थिए तर कसैले सेनेगागको ढोका बन्द गरिदिए पछी आक्रमणकारी सेनेगाग पस्न नपाएको पनि हनुक्कामा सहभागी खोनले बताएका छन् ।
    घटनास्थल रकल्यान्ड काउन्टी न्युयोर्क शहरबाट ३० माईल्स उत्तरमा पर्दछ । यो काउन्टीको कुल जनसंख्या मध्ये ३० प्रतिशत जनसंख्या कट्टर जुईसहरुको बसोबास रहेको छ । अमेरिकामा पछिल्लो समय जात ,धर्म ,बर्णको घृणा अपराधमा ब्यापक बृद्धि हुँदै गएको छ । केही हप्ता अगाडि जुईस लक्षित आक्रमणमा न्युयोर्कसँगैको राज्य न्युजर्सीमा प्रहरी अधिकारी ,आक्रमणकारी सहित ५ जनाको मृत्‍यु भएको थियो भने न्युयोर्कमा मात्र गत हप्ता यस्ता घटना ८ ठाँउमा घटेका छन् । घृणा अपराधमा बृद्धि हुँदै गएको भन्दै “गार्जियन एन्जल” नाकम प्राइभेट निसस्त्र समुहले गस्ती गर्दै सुरक्षा दिने बताएको छ । यो समुहले न्युयोर्क शहर भित्रका बाक्लो जुईस बस्ती भएका ब्रुकलिन क्राउन हाईट्स ,बोरो पार्क ,विलियम्स बर्ग क्षेत्रमा सुरक्षा गस्ती खटाउने बताएको छ ।

    तस्बिर श्रोत : न्युयोर्क टाईम्स 

  • अब औषधिको जानकारी मोवाइल एपबाटै

    अब औषधिको जानकारी मोवाइल एपबाटै

    काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ ।

    विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ ।

    विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको जानकारी गराएको छ ।

    एप्स लगइन गरेपछि औषधिको प्रयोग, कतिपय औषधीबाट हुने नकारात्मक असर, मात्रा, नेपालमा उपलब्ध औषधीको विवरणजस्ता विषयबारे आम सर्वसाधारणले समेत जानकारी पाउने भएका छन् ।

    विभिन्न प्रकारका संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला के गर्ने, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे समेत जानकारी राखेर विभागले एप बनाएको हो ।

    एपमा चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधिको विवरण समावेश गरिएको छ ।

    नेपालमा औषधिको प्रयोग र किनमेल नजान्दा उपभोक्ता बढी ठगिने गरेका छने । एपको प्रयोगबाट उपभोक्तामा समेत सचेतना बढ्ने अपेक्षा गरिएको छ ।