Category: कला / साहित्य

  • संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

    संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

    काठमाडौँ, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले भने, “वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । यही अवस्थाबाट वर्तमान सरकारले जनताका चाहना र भावना पूरा गर्नुपर्नेछ ।”

    राष्ट्रपति पौडेलको सम्बोधनको पूर्णपाठ यसप्रकार छः
    सम्माननीय सभामुखज्यू,
    राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू,
    प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू,

    १. भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।

    २. सर्वप्रथम, म नेपाली जनताले पटकपटक गरेका ऐतिहासिक आन्दोलन, सङ्घर्ष र पछिल्लोपटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुर्याउन भएका सबै आन्दोलन र सङ्घर्षको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।

    ३. सुशासनको प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलनपश्चात मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकासका लागि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी छ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणासहित तत्कालीन प्रतिनिधिसभाको विघटन भएको विषय हामी सबैलाई अवगत नै छ । फागुन २१ गते तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भई ताजा जनादेशबमोजिम सरकार गठनसमेत भइसकेको छ । म यस अवसरमा निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवाहरू, निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्न चाहन्छु । उहाँहरूको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु ।

    ४. अन्तरिम सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु थियो । सोहीअनुसार तत्कालीन सरकारले राज्य संयन्त्रलाई लयमा ल्याई भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा सुधारसहित संवैधानिक र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकामा हार्दिक धन्यवाद दिन चाहन्छु ।

    ५. प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न आआफ्नो तर्फबाट भूमिका खेल्ने तत्कालीन सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

    ६. देशको विषम र संवेदनशील अवस्थामा सबै राजनीतिक दल, युवा पुस्ताका अभियन्ता तथा अगुवा, संवैधानिक अङ्ग, सुरक्षा निकाय, राष्ट्रसेवक, सम्पूर्ण राज्य संयन्त्रले निर्वाह गरेको भूमिका, सहयोग तथा नेपाली जनताले देखाएको संयमताप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

    ७. निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमै अभुतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहितको प्रतिनिधिसभा गठन भई नयाँ सरकारले कार्यप्रारम्भ गरिसकेको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ ।

    ८. जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुकभित्रै रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय, तीव्र आर्थिक सामाजिक विकास, शान्ति र स्थायित्वको आकाङ्क्षा राखेका छन् । पटकपटक भएका जनआन्दोलन, सङ्घर्ष र पछिल्लोपटक युवापुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो ।

    ९. जनताको यी चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित, जनकल्याणकारी कानुन निर्माण गर्नुपर्दछ । निर्माण भएका कानुनको मर्म र भावनाअनुरुप प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु । साथै, न्यायपालिकाबाट छिटोछरितो, स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन हुनसक्यो भनेमात्र परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ ।

    १०. वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । तर संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम हामीले गर्नुपर्ने काम अझै धेरै बाँकी छ ।

    ११. आजका युवाको चाहना विगतभन्दा धेरै नयाँ छ । उनीहरू नयाँ कुरा सिक्न चाहन्छन् । परम्परागत श्रमका क्षेत्रले मात्र श्रमबजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न सक्दैन । तसर्थ रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नै देश र आफ्नै गाउँमा बसौँबसौँ बनाउनुपर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ ।

    १२. यसैगरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराएर देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्ने छैन भन्ने पनि मेरो विश्वास छ । निराश जनशक्तिबाट कुनै पनि मुलुकको उन्नति भएको पाइँदैन । हाल युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको निराशाको अवस्थालाई तोड्न सरकारले विशेष ध्यान केन्द्रित गर्नेछ ।

    १३. भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आमनागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्दछ । सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नसक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ ।

    १४. हालैका दिनमा विश्व परिवेशमा देखिएका द्वन्द्व तथा अस्थिरताको अवस्थालाई मध्यनजर गरी सरकार र सम्बद्ध सबै पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्रराष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र पारस्परिक सम्मान र सहयोगमा आधारित कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    १५. जलवायु परिवर्तनले हामीलाई पारेको नकरात्मक प्रभावबाट परेको असर न्यूनीकरण गर्न जलवायु न्यायका लागि विश्व समुदायसँग सरकारले उचित पहल गर्नेछ ।

    १६. मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवद्र्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नुपर्ने खाँचो छ ।

    १७. अन्त्यमा, लोकतान्त्रिक मूल्य र मान्यता र आदर्शलाई आत्मसाथ गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधिहरू, राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ्न आह्वान गर्दै सार्वभौम संसद्, नेपाली जनताको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको चाहनालाई मुखरित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु ।
    जय नेपाल ।

  • उपसभामुख ठाकुरलाई प्रतिपक्षी दलले समेत गरे समर्थन

    उपसभामुख ठाकुरलाई प्रतिपक्षी दलले समेत गरे समर्थन

    काठमाडौँ, २७ चैतः प्रतिपक्ष दलले प्रतिनिधिसभाको उपसभामुख श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् । सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेसी समुदायको उम्मेदवार भएकाले आफूहरूको समर्थन ठाकुरलाई हुने बताए ।

    एमाले भने तटस्थ बसेको छ । उनीहरुले निर्वाचित भएपछि उपसभामुख ठाकुरले तटस्थ, निष्पक्ष र सन्तुलित रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ठाकुरका लागि समर्थन गरेकामा सबैलाई धन्यवाद दिए ।

  • प्रतिनिधिसभा बैठकः उपसभामुखमा ठाकुर निर्वाचित

    प्रतिनिधिसभा बैठकः उपसभामुखमा ठाकुर निर्वाचित

    काठमाडौँ, २७ चैतः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो ।

    कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्नेमा २२ मत खसेको थियो । हाल प्रतिनिधिसभामा दुई सय ७५ सदस्य रहेकामा मतदानमा दुई सय ५६ जना सांसदले भाग लिएका थिए । सयैबीच, सभामुख अर्यालले विजयी ठाकुरलाई बधाई दिए । विजयी २६ वर्षीया ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी नेकपा)ले मत दिएका थिए । आजै राति १२ः०० बजेदेखि प्रतिनिधिसभाको पहिलो अधिवेशन समाप्त हुँदैछ ।

  • बिस्काः नौ दिन आठ रात जात्रा

    बिस्काः नौ दिन आठ रात जात्रा

    लक्ष्मी गारु\रासस
    भादगाउँ (भक्तपुर), २७ चैतः भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पु¥याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

    काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

    बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पु¥याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

    जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल)तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

    जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः (लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

    यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । यसींद्योः उठाइसकेपछि राति नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

    यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पु¥याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ । बिस्का जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भीड हुन्छ ।

    यस दिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजन गरिन्छ । बेताललाई पोथी कुखुराको बलि दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत् रुपमा पूजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पु¥याएर एकापसमा जुधाई सङ्गम जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

    जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठाँै दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसादहरु चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।

    जात्राकोे अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।


    बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको संस्कृतीविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो ।

    भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताए । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उनले भने ।


    प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गरे । उनले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम रहेको बताए । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राकोे चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती ‘वि’ को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।

    उनले भने, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ ।

    यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”

    जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ः०० बजे भैलखः तानेर ५ः०० बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा सुरु गर्ने सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


    जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्ध रुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यस वर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिए । जात्रामा उच्छृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने उनले बताए ।


    भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाइते हुनु, च्याप्नु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाइके, गुथि र स्थानीय क्लबका सीमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यस वर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

    जात्रामा हुलदङ्गा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताए । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुनबमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिने बताए ।

  • राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

    राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

    काठमाडौँ, २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका छन् । त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

  • सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

    सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

    काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

  • दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

    दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

    काठमाडौं, २६ चैतः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले आज विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् ।

    नेपाल सरकार, मन्त्रिपरिषद्ले यही चैत २२ गते गरेको निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिकसत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको थियो ।

    दैनिक ज्यालादारीमा आश्रित अभिभावकका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने र यसले सामाजिक तथा आर्थिक असर पार्ने सो संस्थाको दाबी छ । यी चुनौतीबीच सरकारको निर्णय कार्यान्वयन गर्दै आफ्ना विद्यालयलाई आग्रह गर्दै नेशनल प्याब्सनले नयाँ भर्ना वैशाख २ गतेदेखि र पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठनपाठन कायम हुनुपर्ने शिक्षा नियमावलीमा व्यवस्था छ ।

  • हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका थिए । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए ।

    अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

  • उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास

    उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, २५ वर्षिय रुबीले उच्दैछिन इतिहास

    काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहेका छन् । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ।

    लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका छन् । ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।

    दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रमअनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ । संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए ।

  • विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

    विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

    काठमाडौँ, २६ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेशविपरीत हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको गुनासो आएकाले उक्त रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले भनेको छ, “कारबाही प्रक्रियाका सम्बन्धमा यस मन्त्रालयको मिति २०८२–१२–२२ गतेको प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई र मूलतः सबै स्थानीय तहहरूलाई अनुरोध गरिसकिएको छ, तथापि केही संस्थागत विद्यालयबाट अझै पनि कानुनविपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा १६ घ ९६० बमोजिम गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देश गरिन्छ ।”

    मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६ घ (७) को प्रावधान तथा अन्य प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वयका लागि पनि अनुरोध गरेको छ ।

    साथै, मन्त्रालयले विद्यार्थीको शुल्कसम्बन्धी सिकायत एवम् गुनासोको ‘रिपोर्टिङ’ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ स्थापना गरिएकाले सोही कक्षमा फोन गरी थप सहायता प्राप्त गर्न सकिने र सम्पर्क व्यक्ति निर्देशक निमप्रकाश सिंह राठौर (फोन ९८५१२१४६३८ लाई सम्पर्क गर्न सूचित गरेको छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २५ चैतः सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुहुनेछ ।

    त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ ।

  • प्रतिनिधिसभा :  बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

    प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

    काठमाडौँ, २४ चैतः प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङलगायत मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरे ।


    बैठकमा सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट बर्सेनि हुने डुबानको दिगो समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध भएको जेनजी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिन् ।

    सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानका लागि ध्यानाकर्षण गराए । सांसद आशिष गजुरेलले सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने गरेको तथ्य अवगत गराउँदै सडक सुरक्षा विधेयक तत्काल पेस गरी पारित गर्नका लागि ध्यानाकर्षण गराए ।


    सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गरिन् । सांसद इन्दिरा रानामगरले मुलुकका भविष्यका कर्णधार युवा दुव्र्यसनको सिकार भइरहेको अवस्थामा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गरिन् । सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरिन् ।

  • आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

    आज पनि बस्दैछ प्रतिनिधिसभाको बैठक

    काठमाडौँ, २४ चैतः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

  • काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

    काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

    काठमाडौँ, २३ चैतः काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

    उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गरेका छन् भने ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लङ्घन गरेको छ, सो विषयमा जानकारी दिने गरेको बताइएको छ । ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ ।

    अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार एक जना चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

    उनले भने, “एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।” ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौँ सार्वजनिक सवारीसाधनका चालकहरू मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेको जनाएको छ । पक्राउ परेका चालकहरूलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नाका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    यसैबीच, ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, सडकका ‘डिभाइडर’मा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको छ । लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी बताए । उनले भने, “लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति अब सह्य हुँदैन । यस्तो अवस्थामा केवल जरिवाना काटेर मात्रै पुग्दैन, आवश्यक परे चालकको लाइसेन्स नै खारेज गराउने प्रक्रिया अघि बढाइन्छ ।”

    ट्राफिक प्रहरीले मापसे र लापसे विरुद्धको अभियानसँगै ट्राफिक नियम उल्लङ्न गर्ने सवारीसाधनका चालकहरूमाथि पनि कडाइ गर्न थालिएको र विशेषगरी ट्राफिक लाइटको पालना नगर्ने चालकहरूलाई निगरानीमा राखेर धमाधम कारबाही भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ट्राफिक लाइट उल्लङ्घन गरेर रातो बत्ती बल्दा पनि सवारी नरोकी अघि बढ्ने चालकहरूलाई विशेष निगरानीमा राखिएको प्रवक्ता सुवेदीले बताए । उनले भने, “रातो बत्ती बल्दा नरोकीकन सवारी चलाउने, दिउँसै मापसे गरेर गाडी वा बाइक चलाउने चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेका छौँ । चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनका दर्जनौँ चालकहरू कारबाहीमा परेका छन् ।”

    ट्राफिक प्रहरी प्रमुख अधिकारीका अनुसार आगामी दिनहरूमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता चेकजाँच अभियानलाई निरन्तरता दिइनाका साथै चालकहरूलाई सचेतना कार्यक्रममार्फत ट्राफिक नियम पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरिने छ ।

    मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत आज बिहान गरेको सप्राइज चेकिङका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारीसाधन चलाउने १२ जना चालकलाई कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङका मापसे सेवन गरी सवारीसाधन चलाउने भाडा बस दुई, विद्यालय बस एक, भाडा मिनी ट्रक दुई, भाडा सुमो एक, भाडा माइक्रो एक, भाडा टेम्पो एक, पर्यटक भ्यान एक र निजी कार तीन वटा गरी १२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । उनले भने, “आज हामीले विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ १२ जना चालकलाई कारबाही गरेका छौँ, हाम्रो अभियान निरन्तर जारी छ ।” यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।

  • सुजनले चौथोपटक जिब्रो छेड्ने

    सुजनले चौथोपटक जिब्रो छेड्ने

    भक्तपुर, २३ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए । नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका र यस वर्ष पनि आफैँले जिब्रो छेडेर जात्रा मनाउने उनले बताए ।

    कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा तीन वर्र्षदेखि बुद्धकृष्णका कान्छा छोराले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा यस वर्ष चौथोपटक जिब्रोे छेडाएर जात्रालाई निरन्तरता दिने भएका हुन् ।


    जात्राका कर्मी नायोसमेत रहेका कृष्णचन्द्र बाग श्रेष्ठले चार सय वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताए । जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए ।

    यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दा अगाडि हजारौँले जयजयकार गरेको देख्दा आफूलाई कहिले जिब्रो छेडौजस्तो लाग्ने गरेको बताउँदै सुजनले पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमङ्गले दुखाइसमेत याद नभएको बताए ।

    पहिला जिब्रो छेड्ने मानिसको कमी हुने गरे पनि यस वर्ष भने चार जना युवाले जिब्रो छेड्न रहर गरेको बताउँदै उहाँले आफूले सक्ने भएसम्म जिब्रो छेडेर जात्रा सञ्चालन गर्ने बताए । सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेर यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्धीप बोकेर बोडे देश घुम्नेछु ।”

    बुद्धकृष्णले भने, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासंँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।” जात्राअघि चैत २८ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा रहेको उनी बताउँछन् ।


    जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०९ वर्ष जिब्रो छेड्को रेकर्ड रहेको छ ।

  • सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

    सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

    दोधारा चाँदनी (कञ्चनपुर), २३ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए । पालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेराबाट कक्षामा शिक्षक र विद्यार्थीबीच हुने गतिविधि प्रत्यक्ष अनुगमन गर्न सकिने भएको विद्यालयले जनाएको छ ।

    “ससाना कामका लागि कक्षाकोठा चहार्नु पर्दैन प्रधानाध्यापककै कक्षाकोठाबाट निगरानी गर्न सकिन्छ”, उनले भने, “विद्यालयका २४ क्यामेरा र माइक राखिएका छन् ।” उनका अनुसार क्यामेरा जडानपछि कक्षाकोठामा अनुशासन बढेको र सिकाइ वातावरण थप व्यवस्थित भएको छ । “कक्षामा हुने गतिविधि सहजै अवलोकन गर्न सकिने भएकाले शिक्षण प्रक्रिया अझ प्रभावकारी भएको छ”, उनले भने, “शिक्षक नभएको अवस्थामा प्रअको कार्यकक्षबाटै विद्यार्थीहरुलाई कक्षाकार्य दिने गरेका छौँ ।”

    उनले अहिलेको प्रविधिसँग विद्यार्थीलाई जोड्न सके शिक्षण सिकाइ प्रभावकारी हुने बताए । “यो प्रविधि खर्चिलो छ यसका लागि एउटा विज्ञ कर्मचारी राख्नुपर्ने अवस्था छ”, प्रअ जोशीले भने, “विभिन्न समयमा आउने प्राविधिक समस्या युट्युब हेरेर समाधान गर्ने गरेको छु ।” उनका अनुसार बेलौरी नगरपालिकाको रु तीन लाख सहयोगमा हरेक कक्षामा माइक र क्यामेरा जडान गरिएको हो ।

    बेलौरी नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नका लागि विद्यालयमा आइसिटी र विज्ञान प्रयोगशालामा जोड दिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिए । “सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन कक्षाकोठा व्यवस्थापनदेखि पूर्वाधार विकास गरिरहेका छौँ”, उनले भने, “विद्यालयमा पढाइका अतिरिक्त सिकाइलाई पनि प्राथमिकतामा राखेका छौँ ।” बेलौरी नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । यसमा माध्यमिक विद्यालय १४, आधारभूत विद्यालय पाँच र प्राथमिक विद्यालय १२ छन् ।

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २३ चैतः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८००८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची तय गरिएको छ ।

  • नवनियुक्त महान्याधिवक्ता डा कँडेलले लिए शपथ

    नवनियुक्त महान्याधिवक्ता डा कँडेलले लिए शपथ

    काठमाडौँ, २३ चैतः सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा कँडेललाई आजै उक्त पदमा नियुक्त गरेका हुन् ।

  • अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

    अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

    काठमाडौँ, २२ चैतः सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।


    यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ ।

  • सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने

    सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने

    काठमाडौँ, २२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालबाट सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ बनाउन भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । सभामुख अर्याललाई आज बधाई दिँदै उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

    सभापति लामिछानेले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गर्दै प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने सभामुख अर्यालको दृष्टिकोण सराहनीय भएको बताए । “सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्पराअनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो ।

    यस ऐतिहासिक अवसरमा सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उनले भने । सभापति लामिछानेले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाएकामा अर्जुननरसिंह केसीलाई धन्यवाद दिए । सभामुख अर्यालले आजै पदभार ग्रहण गरिसकेका छन् ।

  • अब नेपालमा शनिबार र आइतबार सार्वजनिक बिदा

    अब नेपालमा शनिबार र आइतबार सार्वजनिक बिदा

    काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ ।

    बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।


    बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ । यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ भने डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय वाहनमा परिवर्तन गर्न व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।

  • राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ

    राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ

    काठमाडौँ, २२ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।

    त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थित थिए ।

  • उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

    उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

    रासस
    काठमाडौँ, २२ चैतः धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।


    नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए । वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील हुनुहुन्छ। व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपाध्यक्ष छन् । संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उनले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गरेका थिए ।


    प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिए । प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

    दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन् । संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।

    विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ ।

  • सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    सभामुखमा अर्याल निर्विरोध निर्वाचित

    काठमाडौँ, २२ चैतः नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गञरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।


    सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्याल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष थिए ।

  • दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।

    “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उनले भने, “भानुभक्तको सालिक पुनर्निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरेर सौन्दर्यकरण गरिएको छ । यसले दिक्तेल बजारको सौन्दर्यकरणमा थप टेवा पुगेको छ ।”

    आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिएको छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

    भानुचोकमा भानुभक्तको सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको थियो । सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर भएको छ । पुरानो संरचनाका घरहरू रहेको दिक्तेल बजारको मुहार कोशी प्रदेश सरकारको लगानीमा विस्तारै फेरिँदै गएको महसुस गरिएको छ ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत सम्पन्न भएको छ । विसं २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको कच्ची सडकले सबैलाई सास्ती दिएको थियो ।

    लामो समयको प्रतीक्षापश्चात पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको बजेटले पूरै ढलान भएको हो ।

    दिक्तेलस्थित शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालयको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण कम्पनीले सडक ढलानको काम गरेको हो ।

  • कांग्रेस पन्ध्रौँ महाधिवेशनमा निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

    कांग्रेस पन्ध्रौँ महाधिवेशनमा निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

    पाटन (ललितपुर), २१ चैतः नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण, अद्यावधिक र साङ्गठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताए । “कांग्रेसको सङ्गठन सुदृढीकरण र सामाजिक अभियानमा जोडिनका लागि ‘जरा अभियान’ सञ्चालन गरिँदै छ ।

    पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र वडावडामा गएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस ‘आइडी’ प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्”, उनले भने ।


    महामन्त्री पौडेलका अनुसार पार्टीको केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रियस्तरमा बुद्धिजीवी र पेसाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । उनले भने, “नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ ।

    जरा अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारामसहित जिल्ला पठाइसकिएको छ, वैशाखभर सदस्यता अद्यावधिकको काम अगाडि बढ्ने छ ।” महामन्त्री पौडेलले पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार अभिमुखीकरण सम्पन्न भएको जानकारी दिए ।

  • रइ दाइ, नेपका हेमाले

    रइ दाइ, नेपका हेमाले

    नेपालमा चुनाव सकिएलगत्तै संसदको पहिलो बैठक बस्यो। नयाँ जोस, जाँगर र ऊर्जा बोकेका धेरै सांसदहरू साइकलमै संसद भवन पुगे। पुराना पार्टीका केही वृद्ध नेताहरू (समानुपातिकमा कोटा सुरक्षित गरेका) पनि गाडीमा सरर आए र लौरो टेक्दै संसद भवनमा छिरे। पत्रकार मित्रहरूले नेपालीमा प्रश्न सोधे पनि अंग्रेजीमा उत्तर दिने सांसदहरू थुप्रै रहेछन्।

    संसदको पहिलो बैठक हेर्नलायक थियो। मैले उठाउन खोजेको आजको प्रसंग चाहिँ त्यहाँ नेताहरूले के–के बोले भन्नेमा केन्द्रित छ। स्वतन्त्र पार्टीका रइ दाइले नरम शैलीमा गरम कुरा गरे। कांग्रेसले पनि राम्रै सन्देश दियो। ज्ञानकुमारले “राजा चाहियो” भनेर कुर्लिए। थर्कले घुमाउरो पारामा थर्काए। वर्षमानले उपसभामुखको कोटा हात पार्न चिल्लो दले।

    नेपका हेमालेका वरिष्ठ कार्यवाहक उपाध्यक्ष हरामबहादुर झरीले भने संसद भवनलाई नयाँ रौनक दिए। उनी बुरुक्क उफ्रिए, थचक्क बसे, टाउको समाते, निधार खुम्च्याए, इजार कसे र अर्कैले लेखिदिएको वक्तव्य पढ्न थाले। वक्तव्यभन्दा पनि नयाँ सरकार र त्यो सरकार बन्नका आधारबारे कान पाक्ने कथा सुनाए।

    रास्वपा विजयी हुनुमा सुशीला सरकारले खाजा बाँडेको थियो भने, अमेरिकाले पानी बाँड्यो भने, तिब्बतले तरकारी बाँड्यो भने। ‘एल्गोरिदम’ भन्ने देशबाट लाखौं मानिसहरूले अनधिकृत प्रवेश गरी भोट हालेको तथ्यसमेत खुलाए। सेनाले कठालो समातेर रास्वपालाई भोट हाल्न लगाएको प्रमाण पनि पेस गरे। रोस्ट्रममा उभिएर हरामबहादुरले बोलेको सुनेर उता चित्त दुखेर पित्तको ढुंगा निकाल्न अस्पताल भर्ना भएका ‘बा’ को बादल फाट्यो।

    जे होस्, चुनाव सकियो। परिणाम आयो। नयाँ सरकार बन्यो। कसैको आशा पलाएको छ भने कसैको दशा चम्किएको छ। एक पटक जनताले फरक स्वादको म:म: खान रहर गरेका छन्। तात्तातो म:म: खाने रहरमा जिब्रो नपिल्सियोस्।

    नयाँ सरकारलाई मयालु शुभकामना।

    (व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी’ का परिकल्पनाकार हुन्।)

  • संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा विवाद

    संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा विवाद

    प्रकाश सिलवाल–रासस
    काठमाडौँ, १९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको नेता चयन र प्रतिनिधिसभाको पहिलो बैठकमा दलका नेता रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ । प्रतिनिधिसभाको निर्वाचनपूर्व पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमाललेभित्र निर्वाचनमा पार्टीले अपेक्षाकृत मत प्राप्त गर्न नसक्नुमा नेतृत्वको कार्यशैली र समग्र स्थितिबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेकै थियो ।

    यसबीचमा पार्टीका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल सरकारको निर्णयका आधारमा जेनजी आन्दोलनमा प्रहरीको बल प्रयोग रोक्न तत्कालीन प्रधानमन्त्रीका हैसियतमा भूमिका निर्वाह नगरेको आरोपमा प्रहरीले हिरासतमा लियो । त्यस विषयलाई हेर्ने दृष्टिकोणमा एमालेको नेतृत्व र असन्तुष्ट पक्षबीच करिब समान मत देखिएको थियो ।

    अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधिको गलत व्याख्या गरेर पूर्वाग्रहपूर्वक नियन्त्रणमा लिइएको एमाले सचिवालय बैठकको निर्णय छ । त्यस्तै, किसिमको प्रतिक्रिया पार्टीका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलेलगायत नेताले दिएका छन् ।

    संसदीय दलको नेतामा प्रतिनिधिसभामा निर्वाचित सांसद एवं युवा पुस्ताका नेता सुहाङ नेम्वाङले दाबी गरे पनि पदाधिकारीहरुको दबाबमा नेम्वाङले उम्मेदवारी दर्ता गर्न नपाएको र उपाध्यक्ष थापा दलको नेता चयन भएको भन्दै पार्टीभित्र असन्तुष्टि व्यक्त भएको छ । खासगरी, मुलुकमा युवा युस्ताले राजनीतिक अगुवाइ गर्र्नुपर्छ भन्ने भावनाले स्थान पाइरहेका बेला संसदीय दलमा युवा सांसद नेम्वाङलाई नेता चयन गर्ने अवसर एमाले नेतृत्वले गुमाएको एमालेभित्र कुरा उठेको छ ।

    संसदीय दलको नेताको चयन पार्टी नेतृत्वको परामर्शमा सम्बन्धित सांसदहरुले गर्ने हरेक दलको अभ्यास हो । स्वयं सुहाङले थापालाई नेतामा चयन गरिएपछि बधाई दिएको र पार्टीको नीति, विचार र नेतृत्वको छलफलबाट अघि बढ्ने प्रतिक्रिया दिए पनि पार्टीका युवा पुस्ताका नेता–कार्यकर्ताले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै एमालेमा सुधारको अभियान चलाउन जोड दिन थालेका छन् ।

    संसदीय दलको नेता चयनको सन्दर्भ सेलाउन नपाउँदै कार्यवाहक अध्यक्षसमेत रहेका नेता थापाले संसद्मा दिएको अभिव्यक्तिलाई पार्टीको नीति र विचारसँग नमिल्दो भनी पार्टी भित्रैबाट आलोचना भएको छ । नेता थापाले गत फागुन २१ गतेको निर्वाचनमा एमाले पराजय हुनुमा नेपाली सेना, कर्मचारी वर्ग, बारबरा फाउन्डेसन र विदेशी पक्षले भूमिका खेलेको आरोप लगाएका थिए । यो विषयलाई लिएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले ती विचारहरु पार्टीको स्थापित नीति र मान्यता विपरीत भएको तथा त्यसबारे पार्टीभित्र छलफल हुने प्रतिक्रिया दिएका छन् ।


    उपाध्यक्ष पौडेलले यस विषयमा शुक्रबार हुने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताए । सचिवालय बैठकमा यो विषयमा ‘एजेन्डा’कै रुपमा छलफल हुने बताइएको छ । उपमहासचिव भट्टराईले एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)ले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने मान्यता बोक्ने भएकाले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानुपर्नेमा जोड दिए ।


    “यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अङ्गहरू, न्यायालयलगायतका संवैधानिक अङ्गहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन । त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ । संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ,” नेता भट्टराईले भने ।


    दलको नेता चयनको बहस


    संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको हस्तक्षेप भएको भन्ने विषयमा भने बैठकभित्रको छलफलको वातावरणबाहिर टिप्पणी गरिए भन्दा भिन्न रहेको सहभागी नेताहरुको भनाइ छ । बुधबार भएको संसदीय दल र पार्टीका पदाधिकारीको संयुक्त बैठकले कार्यवाहक अध्यक्ष थापालाई सर्वसम्मतरुपमा नेता चयन गरेको थियो । बैठकमा प्रतिनिधिसभामा सदस्य नेम्वाङले दलको नेतामा दाबी गरे पनि निर्वाचन हुने परिस्थितिसम्म आफूहरु नपुगेको बैठकमा सहभागी एमालेका सांसदहरुले बताएका छन् ।

    एमाले सांसद एवं केन्द्रीय सदस्य ऐनबहादुर महरले परिस्थिति उम्मेदवारी मनोनयनको प्रक्रियासम्म नपुगेकाले थापा संसदीय दलको नेता चयन भएको बताएका छन् । “अहिले एमालेको नेतृत्वलाई आलोचना गर्न अनेक प्रचार गरिए पनि पार्टीभित्रको वातावरण त्यस्तो होइन । दलको बैठकमा नेता चयनका लागि छलफलसँगै निर्वाचनको प्रक्रियाबाट पनि जाने कुरा चलेको थियो । त्यही बीचमा उम्मेदवारीको फारम वितरण भयो ।

    समर्थक र प्रस्तावक राख्ने समयमा निर्वाचन नहुने परिस्थति बन्यो,” सांसद महरले भने, “निर्वाचन भएको भए पनि केही फरक पर्ने थिएन । जे परिणाम आए पनि पार्टीका पक्षमा हुन्थ्यो । सुहाङले म जसरी पनि निर्वाचन लड्छु भनेर लागेको भए प्रस्तावक र समर्थक पाउनुहुन्थ्यो । मलाई नै मत जहाँ दिए पनि दिनुस् तर मेरो प्रस्तावक वा समर्थक बस्नुस् भनिएको भए म उहाँका लागी बस्थेँ । चुनाव लड्न पाउने सबैको अधिकारको विषय हो, तर परिस्थिति उम्मेदवारी मनोनयनको प्रक्रियासम्म पुगेन ।”

  • लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

    लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले २०१५ सालको पहिलो संसदीय निर्वाचनको परिणामपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिए ।

    सभाध्यक्ष केसीले नवगठित प्रतिनिधिसभालाई जनताले ठूलो भरोसाका साथ हेरिरहेका उल्लेख गर्दै सरकार मात्र होइन, शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई दिँदै सरकारले सार्वजनिक गरेको १०० बुँदे सुधारका कार्यक्रमलाई स्वागतयोग्य कदम हो भने ।


    सम्बोधनका क्रममा सभाध्यक्ष केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता औँल्याए । “वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा हो”, उनले भने । उनले संवैधानिक संस्थाको निष्पक्षता, पारदर्शीता र विश्वसनीयता सुदृढ गर्नुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरे ।


    गरिबी, बेरोजगारी, महँगी र सामाजिक असमानता जस्ता समस्यालाई साझा चुनौतीका रूपमा उल्लेख गर्दै सभाध्यक्ष केसीले यस् र यस्ता समस्याबाट मुक्ति दिलाउन संसद्ले प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने धारणा राखे । संविधानको मर्मअनुसार समावेशीता, समानता र जनसत्ता सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
    नवगठित सरकार र प्रतिनिधिसभा मार्फत जनताका अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै सभाध्यक्ष केसीले सहकार्य, संवाद र समझदारीमार्फत बाँकी संसदीय प्रक्रियाहरू सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “जनताको चाहना पनि यही हो । गठन हुन बाँकी विषयमा पनि सहमतिका आधारमा गठन भई जनहित र राष्ट्रहितमा प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।” यसैबीच, सभामुखको निर्वाचन भइनसकेको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा उनले बैठकको अध्यक्षता गरेका थिए ।

  • प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण

    प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण

    काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा (एमाले)का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा ध्यानाकर्षण गराए ।

    बैठकको प्रारम्भमा नै एमालेका सांसद गुरुप्रसाद बरालले उक्त पक्राउका विषयमा सदनको ध्यानाकर्षण गराए । यही चैत १४ गते नेपाल सरकारको निर्णयबमोजिम अध्यक्ष ओली र नेता लेखकलाई पक्राउ गरिएको थियो । बैठकमा सुरुआतमै एमालेका सांसदहरु आ आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदलाई आग्रह गरेका थिए ।