Category: कला / साहित्य

  • काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

    काङ्ग्रेसले एक साताका लागि खुलायो सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

    १६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ । आज सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यतामा बसेको बैठकले यसबारे निर्णय गरेको हो ।

    ‘१५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्‌याउने, नविकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।

    यस्ता छन् कांग्रेस बैठकका निर्णयहरू

    १. १५ औं महाधिवेशनकालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नविकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्‌याउने, नविकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क सहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा मिति २०८३-१-१६ गते देखि १ हप्ताका लागि नविकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो ।

    २. १५ औं महाधिवेशनकालागि क्रियाशील नविकरण गरी अधिवेशन सम्पन्न गरेका जनसम्पर्क समिति र अधिवेशन हुन नसकेका जनसम्पर्क समितिहरुलाई वर्गिकरण गरी सम्वन्धित जनसम्पर्क समितिको समस्या पहिचान गरी समाधान गर्ने र अधिवेशन भइसकेका जनसम्पर्क समितिका क्रियाशील सदस्यहरुको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम अद्यावधिक गर्ने । केन्द्रीय कार्यालयको डिजिटल सिष्टममा इन्ट्री नभएका जनसम्पर्क समिति मार्फत दिइएका क्रियाशील सदस्यहरुको हकमा मिति २०८३ वैशाख १६ गते देखि १ हप्ताका लागि नविकरण र नयाँ क्रियाशील इन्ट्री गर्ने समय दिने निर्णय भयो । यसकालागि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गरिनेछ ।

    ३. जनसम्पर्क समितिको हकमा यो भन्दा अगाडिको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेको व्यवस्था बमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाइ निरन्तरता दिने । यसरी भरेको क्रियाशील अनलाइन फारम सम्वन्धित देशको जनसम्पर्क समिति अध्यक्षलाइ जानकारी गराइनेछ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेवसाइटमा राखिनेछ ।

    ४. नेपाली नागरिकता भएका व्यक्तिकालागि जनसम्पर्क समिति सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने साथै अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम व्यवस्था गरिएको छ ।

    ५. नवीकरण प्रविष्ट भइसकेका जिल्लामा विविध कारणले क्रियशील सदस्यता नविकरण छुट भइ सो को लागि केन्द्रमा निवेदन परेकोमा नेपाली कांग्रेसको नियमावली अनुसार विधानमा व्यवस्था भए बमोजिमको शुल्क लिइ २०८३ वैशाख १६ गते देखि लागु हुने गरि १ हप्ताकालागि केन्द्रबाटै नविकरण गर्ने व्यवस्था गर्ने । सो को विवरण सम्वन्धित जिल्लामा जानकारी गराइनेछ ।

    ६. विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरुको हकमा नेपाली कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नकालागि जिल्लारक्षेत्ररकेन्द्रीय प्रतिनिधिर वडा कार्यसमितले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिनेछ ।

  • सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

    सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

    १६ वैशाख, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

    मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ। एक सूचना जारी गर्दै मन्त्रालयले कर्मचारीलाई समेत ३ दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ। मन्त्रालयले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरू हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना निकालेको हो। सुचनामा तोकिएको समयभित्र हाजिर नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भनिएको छ।

  • सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

    सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

    १५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाएका हुन्। ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रवक्ता चालिसेले जारी गरेको वक्तव्यमा उल्लेख छ।

    अहिले रास्वपाको एकल सरकार छ। सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ।

    यस्तो छ कांग्रेसको वक्तव्य :

    नेपाल सरकारद्वारा संसद् स्थगित गरी अध्यादेशमार्फत् कानुन निर्माण गर्ने कदमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ। यो केबल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो।

    यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ। सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ।

    विशेषतः संवैधानिक परिषद् जस्तो संवेदनशील निकायमा प्रस्तावित संरचनागत परिवर्तनप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति छ। यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रित गरी ‘अजभअपक बलम दबबिलअभक’ प्रणालीलाई कमजोर बनाउने, विपक्षी सहभागिताबिना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्ने देखिन्छ।

    त्यसैगरी सहकारी क्षेत्रमा सुधार आवश्यक भए तापनि प्रस्तुत अध्यादेशले अत्यधिक केन्द्रीकरणमार्फत स्थानीय तह तथा सहकारी संस्थाहरूको स्वायत्ततालाई सीमित गर्ने र नियमनको नाममा राज्यको नियन्त्रण विस्तार गर्ने प्रवृत्ति देखाएको छ, जुन संघीयता र स्थानीय स्वशासनको मर्मविपरीत छ।

    अतः नेपाली कांग्रेस सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहन, संसद्को भूमिका र गरिमाको सम्मान गर्न तथा यस्ता कदमहरू तत्काल पुनर्विचार गर्न जोडदार आग्रह गर्दछ।

    देवराज चालिसे, प्रवक्ता

  • नेकपाद्वारा वाम एकताको आह्वान

    नेकपाद्वारा वाम एकताको आह्वान

    १५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको हो ।

    कम्यनिस्ट पार्टीहरू निकै साँघुरो गरी खुम्चिएको अवस्थामा नेकपाले कम्युनिस्ट एकताको प्रस्ताव अघि बढाएको हो । बैठकले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्न पनि नेकपाले सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गरेको छ ।

  • संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

    संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

    १५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

    तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए । प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गरेर सरकारले संवैधानिक परिषद्‌मा नियुक्तिका लागि सरकारले अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्‌मा ६ जना सदस्य हुने व्यवस्था छ ।

    प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । हिजो सोमबारमात्रै कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेको छ । कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । सरकारको यो कदमको अहिले चौतर्फी आलोचना भइरहेको छ । विगतमा सरकारले यस्तै प्रवृत्ति गर्दा रास्वपाले चर्को विरोध जनाउने गरेको थियो ।

  • संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

    संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

    काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्तासँग विशेष छलफल गरेको छ । संविधान कार्यान्वयनको एक दशकका अनुभव, चुनौती र जनचाहना समेटेर ठोस बहसपत्र तयार गर्ने उद्देश्यले कार्यदलले विज्ञहरूको राय सङ्कलनलाई तीव्रता दिएको हो ।

    छलफलका क्रममा सहभागीले संविधानका सबल पक्षको रक्षा गर्दै देखिएका व्यावहारिक जटिलता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सङ्घीयतालाई प्रभावकारी बनाउन प्रदेशलाई अधिकारसम्पन्न र बलियो बनाउनुपर्ने धारणा राखे । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले शासकीय स्वरूपमा कार्यकारी अधिकारको सन्तुलित बाँडफाँटबारे सुझाव दिए ।


    वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संवैधानिक निकायमा हुने राजनीतिक नियुक्ति पूर्ण रूपमा बन्द गर्ने गरी संशोधन गर्नुपर्ने प्रस्ताव गरे । वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले मन्त्री पदमा विज्ञ व्यक्तिलाई मात्र नियुक्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । प्रा.डा. ज्ञानेश्वर पराजुलीले प्रदेशको सबलीकरणमा जोड दिए भने अधिवक्ता मोहना अन्सारीले संवैधानिक आयोगको कार्यक्षमता बढाउन ‘छाता आयोग’ को नयाँ अवधारणा अघि सारे । उनले मौलिक अधिकारमा थप अधिकार थप्न जरुरी रहेको बताए ।


    यसै गरी वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधान संशोधनको अपरिहार्यता स्पष्ट पार्नुभयो भने अधिवक्ता अन्जिता खनालले न्याय सेवा आयोग र न्याय परिषद्को नेतृत्व एवं समानुपातिक निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याए । वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले भने संशोधन गर्दा संविधानका आधारभूत संरचनामा असर पर्न नहुनेतर्फ कार्यदललाई सचेत गराए ।

    कार्यदलका संयोजक असिम शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिइएको र यसले बहसपत्रलाई वस्तुनिष्ठ र व्यावहारिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यदलले सबै सरोकारवालाबाट लिखित सुझावसमेत सङ्कलन गरिरहेको जानकारी दिए ।

  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    काठमाडौँ, वैशाख १५ गते । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेको छ ।

    सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारितबाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध गरेको थियो ।

    विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८९१० ९ग० बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सुरु भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो । यसअघि हरेक वैशाख २ गतेदेखि शैक्षिकसत्र सञ्चालन हुँदै आएको थियो ।

    आदेशमा परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्ने उल्लेख गरिएको छ । अदालतले सम्बन्धित निकायलाई प्रचलित कानुनअनुसार कार्य गर्न निर्देशन दिँदै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा गत चैत ५ गते प्रकाशित सूचनामा वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपश्चात् नयाँ शैक्षिक सत्र २०८३ सुरु भएपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको थियो । रासस

  • संविधान संशोधनबारे विज्ञहरुसँग छलफल

    संविधान संशोधनबारे विज्ञहरुसँग छलफल

    काठमाडौँ, वैशाख १५ गते । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल, २०८२ ले सोमबार संविधान र कानुनविद्सँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो ।

    छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो । उनले संविधान संशोधनका लागि शासकीय स्वरूप, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ मन्त्री हुने, सांसद मन्त्री नहुने व्यवस्था, मन्त्रीपरिषद् गठन, मन्त्रीको जवाफदेहिता, निर्वाचन प्रणाली, विदेशमा रहेका नागरिकको मताधिकार छलफलका विषय हुनुपर्नेमा धारणा राखेका थिए ।


    उहाँले संवैधानिक निकायको सङ्ख्या, पदाधिकारीको सङ्ख्या, पदाधिकारी नियुक्तिलाई उत्कृष्ट बनाउने उपाय जस्ता विषय संविधान संशोधनका लागि छलफलको विषय हुनुपर्नेबारे पनि प्रस्तुतीकरण गरेका थिए । छलफलमा संविधानविद् पूर्णमान शाक्यले संविधानका आधारभूत संरचनालाई विचार गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा व्यक्त गरे । संविधानविद् डा. विपिन अधिकारीले पूर्ण संसदीय व्यवस्था कायम गरिनुपर्ने र प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुनु उपयुक्त हुने धारणा राखे ।


    संविधानविद् राधेश्याम अधिकारीले संविधान नागरिक र सरकारबिच सम्बन्ध स्थापित गर्ने पुल भएको हुँदा हतारमा संशोधन नगरी व्यापक छलफल र बहस हुनुपर्ने धारणा राखे । वरिष्ठ अधिवक्ता गोविन्द शर्मा बन्दीले सरकारले गरेको पहलप्रति धन्यवाद दिँदै न्यायपालिकालाई राजनीतिक हस्तक्षेपरहित बनाउन न्याय परिषद्को संरचनामा फेरबदल गरी कानुनमन्त्री र नेपाल बार एसोसिएसनको सदस्य हटाउनुपर्ने धारणा राखे ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसका विषय सान्दर्भिक भए पनि यसलाई संसद्ले स्वीकार गर्ने गरी अगाडि बढ्नु उपयुक्त हुने धारणा राखे । वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले संविधानले महिलाको अधिकारबारे थप स्पष्ट पार्दै लैङ्गिक सहभागिता बढाउनुपर्ने धारणा राखे । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले यो कार्यदललाई संविधानले नचिन्ने हुँदा संयोजक सङ्घीय संसद्को सदस्य बनेर अध्यक्षता गर्दा थप परिपक्व हुने धारणा राखे ।


    कार्यदलका संयोजक शाहले कार्यदलका सदस्य तथा विज्ञले दिएका सुझावसमेतलाई मनन गरेर संविधान संशोधनको बहसपत्र तयार गर्ने कुराको प्रतिबद्धता गरेको कार्यदलका सदस्य सचिव तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख लीलाधर सुवेदीले जानकारी दिए ।

  • नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा

    नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा

    काठमाडौँ, वैशाख १४ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ । आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ । रासस

  • पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

    पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

    काठमाडौँ, वैशाख १४ गते । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ । कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो ।

    उक्त कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद, पूर्वसंवैधानिक निकायका पदाधिकारीको निश्चित सीमा तोकी विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको थियो । पूर्वविशिष्ट पदाधिकारीको उपचार खर्च कटौती गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) रिट निवेदन दायर गरेका थिए । स्वदेशमा उपचार गर्दा भने सरकारले खर्च दिने व्यवस्था यथावत छ । रासस

  • कक्षा १२ को परीक्षा आजदेखि

    कक्षा १२ को परीक्षा आजदेखि

    १४ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।

  • राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    १४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ जाँदैछन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ शिलान्यासमा राष्ट्रपति पौडेल सहभागी हुँदैछन् ।

    भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे भानु नगरपालिका–४, चुँदी रम्घामा एक विशेष समारोहका बिच उद्यानको जग बसाल्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलकै परिकल्पना र पहलमा आयोजनाले मूर्त रूप लिन लागेको हो ।

    राष्ट्रिय गौरवको आयोजना यसअघि घोषणा भएर पनि विविध प्राविधिक कारणले अगाडि बढ्न नसकेको यो बहुप्रतीक्षित आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको जानकारी दिए ।


    गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमशः यहाँ सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिनेछ । सांस्कृतिक तीर्थस्थलको रूपमा विकास भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यो उद्यान केवल एक भौतिक संरचना मात्र नभई विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा सांस्कृतिक तीर्थस्थल हुने बताइन् । “राष्ट्रपतिज्यूको हातबाट हुने यो शिलान्यासले रम्घाको मुहार फेर्ने ऐतिहासिक प्रस्थानविन्दु तय गर्नेछ । उपप्रमुख गोतामेले भनिन् ।


    नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्न र भावी पुस्ताका लागि अनुसन्धानको केन्द्र बनाउन यो उद्यान कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय भइसकेको नगरपालिकाले जनाएको छ । राष्ट्रपतिको आगमनलाई लिएर यतिबेला तनहुँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने स्थानीयबासीहरूमा उत्साह छाएको छ ।

  • चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

    चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

    कर्णाली, वैशाख ११ गते । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिए ।


    उनले भने, “तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपालको कर्णाली क्षेत्रलाई केन्द्रविन्दु बनाई सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गर्छौँ । यहाँ प्रचुर सम्भावना भए पनि पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतविधिहरू प्रायः शून्य छन् ।”

    कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, वेशभूषा, कला, संस्कृति, साहित्य, परम्परा र रीतिरिवाजलाई संरक्षण र प्रवर्द्धनका लागि राज्यको भूमिका प्रायः शून्य रहेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियानको थालनी गरिएको निर्देशक चन्दले बताए ।

    साहित्यकार, लेखक तथा महोत्सवका सल्लाहकार महेन्द्र मल्लले कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिताको घोषणा गरी विज्ञहरूबाट कथा छनोट कार्य भइरहेको बताए । उनले कर्णालीको मौलिकता झल्कने, कल्पनामा नभई यथार्थतामा आधारित कथाहरूलाई प्राथमिकतामा राखेर छनोट गरिने र उत्कृष्ट कथा लेखन लागि रु एक लाख राशि प्रदान गरिने जनाए ।


    खासगरी पर्यटन प्रवर्द्धन, सांस्कृतिक उजागर, सामाजिक रुपान्तरण, आर्थिक समृद्धि, अन्तरराष्टिय पहिचान, सिनेमाको पहुँच वृद्धि गर्न र कर्णालीलाई चलचित्र पर्यटन तथा छायाङ्कनको हब बनाउन चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । सुर्खेतबाट शुभारम्भ गरिएको महोत्सव सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिम, जाजरकोट, दैलेख, कालीकोट हुँदै जुम्लामा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

    मप विश्वविद्यालयमा ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन’ हुँदै

    कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयमा आजदेखि ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ हुने भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले वैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गर्ने भएको हो ।

    ‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्युचर इन द एज अफ एआइ एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएकोबारे बिहीबार पत्रकार सम्मेलनमार्फत विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञावलीले जानकारी दिए ।

    कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दिगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तरराष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उनले बताए ।


    उनले भने, “सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायत विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछ ।

    कार्यकारी निर्देशक डा ज्ञावलीका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, पाँच सयभन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् । रासस

  • आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

    आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

    ११ वैशाख, काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

    सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२\६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

    २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

    विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदैरहटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

    यद्यपि जनताका अपेक्षा पूरा नहुँदा जनतामा निराशा कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति बेला बेला असन्तुष्टि सुनिने गरेको छ । जनतामा देखिएका असन्तुसष्टिलाई बेलैमा सम्बोधन गरेर लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकिएको सन्दर्भमा लोकतन्त्र दिवस खास अर्थमा सार्थक बन्न सक्छ ।

  • कांग्रेसले आज निर्वाचनमार्फत संसदीय दलको नेता छान्दै

    कांग्रेसले आज निर्वाचनमार्फत संसदीय दलको नेता छान्दै

    ११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयनको प्रक्रिया अघि बढाइएको छ । पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दिने कार्यक्रम छ । दाबी विरोध, जाँचबुझ, दोस्रो नामावली प्रकाशन, नाम फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    त्यसपछि अपराह्न चार बजेदेखि पाँच बजेसम्म मतदानको कार्यक्रम राखिएको निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका छन् । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट जितेको थियो ।

    प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्नै लाग्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । कांग्रेसका एक शीर्ष नेताका अनुसार सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको चाहना बाझिँदा दलको नेता चयनमा ढिलाइ भएको हो ।

    सभापति थापाले प्रत्यक्षतर्फका सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिकतर्फका सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउन चाहिरहेका छन् । आचार्य रसुवाबाट प्रत्यक्ष र आङ्देम्बे पाँचथरबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । आङ्देम्बे १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए ।

  • संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न

    संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न

    काठमाडौं, वैशाख १० गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि झन्डै दुई घण्टासम्म चलेको उक्त बैठकमा कार्यदलका सदस्य सचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। बैठकले कार्यदलका सबै सदस्यहरूको सुझावसमेत समेटेर उक्त कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ।

    स्वीकृत कार्ययोजनाअनुसार आगामी सोमबारदेखि हरेक दिन दिउँसो ३ बजे विज्ञ तथा सरोकारवालाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आमन्त्रण गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै, बैठकको अध्यक्षता गर्नुभएका कार्यदलका संयोजक शाहले कार्यादलले पूर्वनिर्धारित समयमै आफ्नो जिम्मेवारी सम्पन्न गरेर सरकारलाई बहसपत्र पेश गर्ने दृढता व्यक्त गरे । उनले कार्यदलका सदस्यहरुले पनि खुलेर साथ दिइरहेको र आगामी दिनमा पनि सोही किसिमको साथको अपेक्षा गरेको बताए ।

  • बजेट अधिवेशन बोलाएको बैठक नबस्दै स्थगत

    बजेट अधिवेशन बोलाएको बैठक नबस्दै स्थगत

    १० वैशाख, काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । यसअघि सरकार गठनपछिको पहिलो अधिवेशन चैत २७ गते स्थगित भएको थियो । यो अधिवेशनमा सभामुखमा डीपी अर्याल, उपसभामुखमा रुबीकुमारी ठाकुर चयन गरेको थियो । त्यस्तै विभिन्न संसदीय समितिका सभापतिहरू पनि चयन भएका थिए ।

  • शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान

    शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान

    कोलम्बो, वैशाख १० गते । श्रीलङ्कामा केसर रङका वस्त्रधारी बौद्ध भिक्षुले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् । पदयात्रामा उद्धार गरिएको बेवारिसे कुकुरको उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ ।

    भियतनामी भिक्षु पन्नकाराको नेतृत्वमा १३ सदस्यीय टोलीले राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर उत्तरमा रहेको ऐतिहासिक डम्बुला बौद्ध मन्दिरबाट बिहान आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो समूह यसअघि संयुक्त राज्य अमेरिकामा टेक्सासदेखि वासिङ्टन डिसीसम्म करिब तीन हजार ७०० किलोमिटर लामो १०८ दिनको पदयात्रा पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको थियो । त्यतिबेला उनीहरूले बरफले ढाकिएका सडक र कठोर मौसममा समेत यात्रा गर्दै शान्तिको सन्देश फैलाएका थिए ।

    यसपटक उनीहरू ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने श्रीलङ्काको अत्यधिक गर्मीमा नाङ्गो खुट्टा हिँडिरहेका छन् । भीषण गर्मीबिच पनि स्थानीय भक्तजनले उनीहरूको यात्रालाई समर्थन गर्दै सडकमा पानी छर्कने, हरियो केराका पात र फूल राख्ने तथा शीतलता प्रदान गर्ने प्रयास गरेका छन् । केहीले त भिक्षुलाई पानी छर्केर राहत दिन खोजिरहेका दृश्य पनि देखिएका छन् । यो पदयात्रा अप्रिल २८ मा राजधानी कोलम्बो पुग्ने अपेक्षा गरिएको छ ।

    त्यहाँ श्रीलङ्काका राष्ट्रपति अनुराकुमार दिसानायकले उनीहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । यस पदयात्राको विशेष आकर्षण बनेको छ अलोका नामको उद्धार गरिएको आवारा कुकुर । यो कुकुरले भिक्षुहरूको साथमा अन्तर्राष्ट्रिय यात्रादेखि नै ध्यान तानेको छ । भारतमा उद्धार गरिएको उक्त कुकुरले अमेरिकी यात्रामा समेत भिक्षुलाई साथ दिएको थियो र त्यसक्रममा ठुलो लोकप्रियता कमाएको थियो ।

    अलोका पहिले भारतका भिक्षुलाई पछ्याउँदै गर्दा कारको ठक्करबाट जोगिएको थियो र त्यसपछि उनीहरूकै साथमा यात्रा जारी राखेको थियो । पछि संयुक्त राज्य अमेरिकामा भएको पदयात्रामा पनि उसको उपस्थिति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । उक्त यात्राले प्राप्त गरेको ध्यान र दानले सम्पूर्ण अभियानलाई आर्थिक रूपमा सहयोग पुगेको बताइएको छ । स्थानीय एक भिक्षुका अनुसार टेक्सासदेखि कोलम्बोसम्म अलोकालाई ल्याउने हवाई खर्च सामान्य यात्रुको तुलनामा करिब दस गुणा बढी परेको थियो ।

    यसले अभियानको अन्तर्राष्ट्रिय पहुँच र लोकप्रियता झल्काएको छ । श्रीलङ्कामा अहिले अलोकाको सुरक्षाका लागि सेनाका कमान्डो परिचालन गरिएको छ । दुई जना कमान्डो लगातार कुकुरको दुवै छेउमा रहेर पदयात्रा अघि बढाइरहेका छन्, ताकि स्थानीय सडक कुकुरबाट कुनै जोखिम नहोस् । प्रहरीको केनेल विभागसमेत यसको सुरक्षामा खटाइएको छ । पदयात्राको दृश्यले स्थानीय सडकमा ठुलो आकर्षण सिर्जना गरेको छ, जहाँ भक्तजनले श्रद्धापूर्वक भिक्षुलाई अभिवादन गर्दै यात्रा अवलोकन गरिरहेका छन् ।

    यस अभियानको सामाजिक सञ्जालमा पनि व्यापक प्रभाव देखिएको छ । पिस वाकको फेसबुक पेजमा मात्रै ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने श्रीलङ्का यात्राको प्रत्यक्ष प्रसारण पहिलो पाँच घण्टामै ५१ हजारभन्दा बढी पटक हेरिएको आयोजकले जनाएका छन् । धार्मिक आस्था, सामाजिक सन्देश र एउटा उद्धार गरिएको कुकुरको उपस्थिति मिसिएको यो पदयात्रा अहिले श्रीलङ्कामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ध्यानको केन्द्र बनेको छ । रासस-एएफपी

  • हचुवाका भरमा समाचार प्रकाशन–प्रशारण नगर्न सञ्चार मन्त्रालयले गरायो सचेत

    हचुवाका भरमा समाचार प्रकाशन–प्रशारण नगर्न सञ्चार मन्त्रालयले गरायो सचेत

    ९ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन–प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाश तथा प्रशारण भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाश तथा प्रशारण गरिएको पाइएमा त्यसता समाचार वा सूचना प्रकाश गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरासमेत अवगत गराइन्छ ।’

  • सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    ९ वैशाख, काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।

    आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराए ।

    जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ ।

    आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

    आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ। कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।

    यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट (स्क्रिनिङ) गरिरहेको छ। आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

  • मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना

    मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना

    ९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने भएको छ । बुधबार बसेको मेयर्स फोरमको बैठकले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाईसमेत ध्यानमा राखी यस्तो निर्णय गरेको हो ।

    ‘नेपाल सरकारले हालै गरेको निर्देशनलाई समेत मध्यनजर गर्दै शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्नरगराउन काठमाडौं उपत्यका मेयर्स फोरमको मिति २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरियो,’ मेयर्स फोरमले जारी गरेको विज्ञप्तिमा छ ।

    साथै मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा इन्धनको थप संकट बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गरन फोरमले भनेको छ ।

    २२ चैतको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखदेखि र पठनपाठन २१ वैशाखदेखि सुरु गर्ने निर्णय गरेको थियो । यस निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोप्रति मेयर्स फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सरोकार निकायबाट प्राप्त गुनासो सम्तको विश्लेषण गरी विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्नका लागि सबै विद्यालयहरूङ्गा शैक्षिक सत्र सञ्चालनको भावना अनुरूप पठनपाठन सुरु गर्न आवश्यक रहेको मेयर्य फोरमको बुझाइ छ ।

  • उसु खेलाडी तथा प्रशिक्षक राजिवको जीवन फर्केर हेर्दा

    उसु खेलाडी तथा प्रशिक्षक राजिवको जीवन फर्केर हेर्दा

    प्रेमकृष्ण श्रेष्ठ

    उसु, बक्सिङ, किक बक्सिङ र कँराते खेलाडीको जीवन आम मानिसको जीवन भन्दा फरक हुन्छ । विदेशको रापिलो घाम र अनुहारमा आफ्नो देशको झन्डाको शीतल छाँया; विदेशी हावा तर हावामा आफ्नो देशको राष्ट्रिय गानको बहाव; तक्माले आफ्नो छातीमात्र गर्वले भारी होइन, आफ्नो देशको झन्डालाई उचाइमा हेर्न पाउने सौभाग्य । यस्तै, यस्तै सपनाका लागि कैयनपटक लडेका भुइँ टेकेर उठछन् खेलाडीहरु । यसैले भनिन्छ, खेलाडीको जीवनमा जति रगत बग्छ, त्यति जीवनको इन्द्रेणी रंगिन बन्छ ।

    उसु खेललाई लिएर विश्वमा विभिन्न चलचित्रहरु बनेका छन् । निर्देशक एन्थोनी स्जेको ‘युवा पुस्ता’ नामक चलचित्र, जस्मा पाँच जना बालकहरुले उसुको प्रशिक्षण लिँदै साथीपन, कडा मेहनत र प्रतिस्पर्धाले जीवनका मूल्यहरु सिक्छन् । त्यस्तै, ‘फियरलेस’, ‘ताइ चि जिरो’, जेट लीको ‘द साउलिन टेम्पल’, ‘हिरा’े, ‘का्रउचिङ टाइगर’ र ‘हाउस अफ फ्लाइङ डेगर्स’ उल्लेखनीय छन् । यी निर्मित सबै चलचित्रले उसु खेलाडीको जीवनमा आउने विभिन्न उतारचढाव देखाएका छन् । चलचित्रमा देखाइएका, यस्तै संघर्षपूर्ण जीवन भन्दा कुनै फरक नभएको जीवनको प्रतिनिधि हुन्, नेपाली उसु खेलाडी तथा प्रशिक्षक राजिव महर्जन । उसु खेलाडीको जीवनमा स्वभावतः आउने सुखदुख, घामछाया र उतारचढावको उनी पनि साक्षी भए । खेल जीवनमा विभिन्न बाधा र अडचन आए, उनी ती कुनै बाधासँग कहिले अविचलित भएनन् । फलस्वरुप जीवनका कठोर परिस्थितिहरु उनको अगाडि निरीह भएर आफै झुके । आज उनी उसु खेलमा नेपालमा मात्र प्रतिष्ठित भएका छैनन्, उनलाई विश्वका कैयन देशका मानिसहरुले चिन्छन् । विश्वका कैयन दर्जन खेलमैदानमा उनको खुट्टाले नेपालको प्रतिनिधित्व गरी टेकिसकेका मात्र छैनन्, कैयन देशको बतासमा उनले आफ्नो देशका झन्डा फर्फराइसकेका छन् । आज उसु र राजिव एकअर्काको पर्याय जस्तो भैसकेको छ ।

    उसु प्रशिक्षक राजिव महर्जनको जन्म आज भन्दा एकचालीस बर्ष अगाडि कीर्तिपुरको पाँगाको ढोकासीमा बुबा राम महर्जन र आमा हिरानानीको कोखबाट कान्छो छोरोको रुपमा भएको थियो । त्यो बेलामा उनको हजुरबुबा दरबारमा सुसारेको काम गर्नुहुन्थ्यो । दरबारमा राजपरिवारको रेखदेख गर्ने क्रममा, भारत जानु भएका हजुरबुबासँगै महर्जनको पुरै परिवार नै बसाइँसराइ गरेर जाँदा उनको बाल्यकाल भारतको मध्यप्रदेशको इन्दोरमा नै बित्यो । सानैदेखि चन्चले स्वभावका महर्जन, इन्दोरको विद्यालयमा पढदा उनी विशेषतः बक्सिङ र एनसिसिमा सहभागी हुने गर्दथे । यसरी सुरु भएको उनको खेलजीवनले पछि नेपाली खेलकुदमा केही नयाँ आयामहरु थपे । बाल्यकालका केही अंशहरु विदेशी भूमिमा बिताएर, परिवार नेपाल आउँदा उनी फेरि परिवारसँगै नेपाल फिर्ता भए । नेपाल फिर्ती पछि, कीर्तिपुरको पाँगा माध्यमिक बिद्यालयमा कक्षा ५ मा भर्ना भए । भारतमा बसेको उनको खेलप्रतिको मोह, जन्मथलो फर्किदा पनि उस्तै थियो । त्यसैले उनी मार्सल आर्ट सिक्न आतुर देखिन्थे । यसै क्रममा कक्षा ६ पढदा त्यो बेलामा राराहिलमा उसु खेलको प्रशिक्षण भैरहेको जानकारी पाए । उनी उसु खेल सिक्न राराहिल पुगे । यसरी उनले मार्सल आर्ट सिक्ने आतुरता त्यही मेटे । यसरी उनको औपचारिक उसु र कँराते खेलयात्रा यसरी सृुरु भएको थियो । खेलकुद र पढाइलाई सँगसँगै लाने क्रममा उनको बिद्यालय परिवर्तन भयो । उनी कीर्तिपुरकै बालकुमारी माध्यमिक विद्यालयमा भर्ना भए । उनी त्यही स्कुलको प्रतिनिधित्व गर्दै जुनियर स्कुल च्याम्पियनको रुपमा उदाए । यो पल उनको लागि अविस्मरणीय पल हो भन्दा अत्युक्ति नहोला, जहाँबाट उनी एक चम्किला उसु खेलाडीको रुपमा उदय हुन पुगे ।

    खेल जीवन त्यति सहज थिएन । मार्सल आर्ट खेल नै, चोटपटकबाट कहाँ मुक्त थियो र ? सुरु सुरुमा आफ्नो खेल शारीरिक चोटसँग सम्वन्धित भएकोले, कोमल दिल भएका आमाबुबालाई त्यो खेल रुचिकर भएको थिएन । तर, आफ्नो दुढ अठोटको सामु बुबाआमाले पनि विस्तारै साथ दिन थाले । उनी आफ्नो स्वर्गीय दाइ अमित महर्जनलाई सम्झन्छन्, जस्ले उनको जीवनको हरेक पलमा साथ दिए । उनी आफ्नो कैयन खेलमा दाइ साथै आएर हौसला बुलन्द गरेको सम्झन्छन् । दाइको यो साथमा भगवानको आँखा लाग्यो भनुँ या अरु कसैको, दाइको प्रेरणाको बोट नै नियतिले सँधैको लागि चुँडयो । ती तिता पल सम्झिँदा आज पनि उनका आँखा सजल बन्छन् ।

    उनले खेलजीवनमा पाएको उपलब्धि लेखिसाध्य छैन । सन २००३ मा ‘पहिलो बुद्ध जयन्ति उसु च्याम्पियन्स’मा प्रथम भएका थिए । सन २००६ र २००७ मा आयोजित पाँचौ र छैठौ राष्ट्रिय उसु च्याम्पियन्समा उनी लगातार प्रथम भएका थिए । उनको यो यात्रा यहीँ रोकिएन, सन २००९ को आयोजना भएको ‘पाँचौ राष्ट्रिय उसु खेल’मा ‘उत्कृष्ट खेलाडी’मा चुनिन पुगे ।

    उनले खेल जीवनको दौरानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेपाल उसु महासंघको उप–महासचिवको रुपमा खेलको विकास र विस्तारमा समय दिइरहेका छन् । यसअघि उनी नेपाल उसु महासंघमा २०१२ देखि २०२४ सम्म नेपाल उसु संघको उपाध्यक्षको रुपमा कार्यरत थिए । तीवाहेक महर्जन, ‘नेपाल कुङग–फु संघ’को बरिष्ठ उपाध्यक्ष, ‘सन २०१२ देखि हालसम्म नेपाली सेनाको उसु प्रशिक्षक, ‘मार्सल आर्ट संस्था नेपाल’को संस्थापक, ‘अखिल नेपाल खेलकुद महासंघ’को उपाध्यक्ष र सन २०१७ देखि हालसम्म उनी नेपाल जिजित्सु्को महासचिव छन् ।
    उनको खेलजीवनमा कैयन अविस्मरणीय घटनाहरु घटे, जुन भोगेको बेला कष्टप्रदायक भए पनि आज सम्झिँदा आनन्द प्रवाह गर्छ । उनी हाँसो र आँसु संयोजित आँखा लिएर, पुराना तस्वीरहरु देखाउँदै यस्ता तीता मीठा संस्मरणहर सुनाउँछन ।

    दोस्रो साउथ एसियन खेलमा उनको खेल ‘आजटक‘ले लाइभ प्रशारण गरेको थियो । त्यो खेलमा उनी घाइते भएका थिए । त्यो बेला नेपालमा लाइभ हेरिरहेका आमाबुबा टिभीमा आफ्नो घाइते छोरालाई हेर्दाहेर्दै रोएका थिए रे ! यस्तै यस्तै घटनालाई सम्झेर उनी आफ्नो जीवनको इन्द्रेणीमा आफ्नो रगत र आमाबुबाको आँसुको रंग पनि परेको उनी स्वीकार्छन् । पछि आमाबुबा रोएको घटनाको बारेमा सुन्दा उनका आँखा पनि रसाए ।

    कुनै समय यस्तो पनि थियो, खानामा भातलाई औधि मन पराउने राजिवले लगातार बीस दिनसम्म एसियन खेलका लागि भातको मुखै हेरेको थिएन, किनकी उनलाई त्यो बेला खाना भन्दा तौलको चिन्ता थियो ।

    अझ रोचक प्रसंग यो छ कि, सन २००८ मा नेपालमा पहिलोपटक इपिएस प्रारम्भ हुँदाबखत उनी कीर्तिपुरको निवासबाट दशरथ रंगशालासम्म एक्लै दौडेर गएका थिए । उनले कोरिया जानेहरु दशरथ रंगशालामा साँझैदेखि आएर रंगशालाको मैदानमा सुतेका थिए भनी चाल पाएका थिएनन । त्यस्तै मध्यरातको ३ बजेतिरको समय थियो । भुइँमा असरल्ल सुतिरहेकाहरुलाई नदेखेर कुल्चेरै दौडिरहेका थिए रे । होसमा आँउदा उनलाई त्यहाँ असरल्ल सुतिरहेका मानिसहरु, लासै लास सुताएको कुनै मुर्दाघर जस्तो लागेको थियो रे । जीवनमा कमै भयभित भएका राजिव त्यो दुश्यले भयभित भएको बताउँछन् । रंगशालामा छनोटको लागि आठ बजे पुग्नु पर्ने राजिव रातको तीन बजे नै पुगेको घटनाले खेलप्रतिको उनको समर्पण देखाउँछ । नेपालमा उसु खेलका साथ साथै मार्सल आर्ट क्षेत्रको विकासमा निरन्तर लागिरहेका राजिवले नेपालमा पहिलो पटक जिजित्सु र एम.एम.ए खेल भित्राइ खेलकुद क्षेत्रमा नयाँ आयाम थपेका छन् । खेलकुद क्षेत्रका यस्ता कर्मठ ब्यक्तित्व कीर्तिपुर नगरले मात्र होइन, देशले नै विरलै प्राप्त गर्दछ ।

    उनको जीवनमा खेलको दौरानमा, नेपालदेखि ढाकासम्म तीनदिनसम्मको अविरल बसको यात्रा गरेर खेलमा सहभागी भएको अनुभव पनि ताजै छ ।

    बि.स. २०७० साल असार १७ गते उनको खेल जीवनमा नयाँ मोड आयो । लाखौ समर्थकहरुको मन चिस्याउँदै, उनको खेल जीवनमा पूर्णविराम लाग्यो । चिकित्सकले उनलाई खेल्नको लागि स्वीकृति दिएनन् । खेल जीवनमा पूर्णविराम लागे पनि उनले उसु खेलप्रतिको लगावलाई त्याग्न सकेनन् । उनी खेल जीवन समाप्त भए पनि नेपाली सेनामा उसु प्रशिक्षकको रुपमा निरन्तर लागिरहेका छन् । उनले बाह्रौ एसियाली खेलकुदमा सेनाको प्रशिक्षक भएर क्रमशः एक स्वर्ण, आठ रजत र एक काश्य प्राप्त गरेका थिए भने तेहा्रै एसियाली खेलमा पाँच स्वर्ण, छ रजत र पाँच काश्य पाउन सफल भएका थिए । उनको खेलाडी जीवन जति सफल थियो, प्रशिक्षकको जीवन पनि उतिकै सफल छ ।

    राजिव महर्जन आफ्नो खेलजीवनमा सन्तुष्ट छन् । आज उनी आफ्नो खेलजीवनबाट रिटाएर भएर, आफू जस्ता खेलाडीहरुको उत्पादनमा लागिरहेका छन् । जर्मनको लुब्स नगरपालिकाले उनलाई समर र विन्टर केम्पका लागि हायर गरेका छन् । उनले आजसम्म खेलको सिलसिलामा चौतीस पटक अन्र्तराष्ट्रिय विमानस्थल टेकेका छन् । भारत, बंगलादेश, श्रीलका, कोरिया, टर्की, मकाउ, हंगकंग, इरान, दुबई, बहराइन, अष्ट्रिया, इटली, जर्मनलगायत अन्य देशमा पुगेका छन् । लुब्स नगरपालिका र कीर्तिपुर नगरपालिकालाई भगिनी सम्वन्ध स्थापित गराउन पनि उनले अतुलनीय योगदान दिएका छन् ।

    आफनो खेल जीवनले उनले धेरै कुरा पाए, थोरै गुमाए । तर खेल जीवनमै लागेर जीवनमा औपचारिक शिक्षामा मास्टर्स गर्न नपाएकोमा दुख ब्यक्त गर्छन् । उनी आफ्नो खेलजीवनको सफलतामा आफ्ना गुरुहरु सुनिल शाक्य, राम महर्जन, गणेश अर्याल, नवराज लामा र उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई आफ्नो श्रेय दिन्छन् भने आफ्ना समकक्षी साथीहरु युवराज गुरुङ्ग, विकास श्रेष्ठ, धनविर महर्जन, राजु महर्जन, प्रताप थापा, सिताराम हुमागाईँ र पुरुषोतम रिजाललाई आज पनि उतिकै प्रेरणाको स्रोत मान्छन् । उनीहरुको हौसलाको जोड बिना यो अगणित सफलता सम्भव नै थिएन ।

    उसु खेलको बारेमा एउटा विश्वप्रसिद्ध भनाइ छ –‘उसु केवल शब्द होइन, यो जीवन जिउने तरिका हो ।’ राजिवले पनि उसु खेलले जीवन जिउने तरिका सिके । आज उनको जीवन व्यवस्थित छ । खेलसँगै व्यवसायमा पनि उनी आज संलग्न छन् । उनको ब्यवसायिक जीवनमा साथ दिएकी छिन्, आफ्नै जीवनसाथी करुणा रंजितले । सात बर्षकी छोरी इभाना महर्जनलाई देख्दा, देशको लागि केही गर्ने उत्साह जागेर आउँछ रे, किनकि देशको भोलिसँग आफ्नी छोरीको भोलि जोडिएको छ । आजका कैयन बालबालिकाको भविष्य गाँसिएको छ ।

    राजिवको जीवन समग्रमा सफल छ । अनेकन राष्ट्रिय र अन्तराष्ट्रिय अवार्डले कोठाको भिता भरिएका छन्, भिताको पूर्णताको बावजुद पनि, उनको जीवन एक सिधा रेखा जस्तो सरल छ । जीवनशैलीमा कुनै तुजुक छैन । उनको सरल जीवनशैलीलाई हेर्दा यो भन्न सकिन्छ कि, उसु खेलाडी तथा प्रशिक्षक राजिव महर्जन, आफ्नो देशलाई विश्वभरि चिनाएको, एक सफल खेलाडी मात्र होइन, सफलतामा पनि सरलतालाई संयोजित गर्दै जीवन जिउन सकिन्छ भन्ने एउटा सार्थक परिभाषा पनि हो ।

    ्

  • कांग्रेसको निर्वाचन समिक्षा बैठक विराटनरमा, सभापति सहभागी हुने

    कांग्रेसको निर्वाचन समिक्षा बैठक विराटनरमा, सभापति सहभागी हुने

    ९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन्।

    पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।

    कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।

    पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव सङ्कलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।

    कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा सङ्गठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिइन् ।

  • कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदै

    कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदै

    ९ वैशाख, काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ । जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

    स्थापनाको ८ दशक पुग्न लाग्दा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

  • सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

    सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

    ८ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन २०८३ बुझाइएको छ । प्रतिवेदनको प्रस्तावनामा प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न र परिआएको खण्डमा बाधा अड्काउ फुकाउ नियमावली बनाइएको उल्लेख छ ।

    प्रतिवेदनमा प्रतिनिसभाको अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, बस्ने क्रम, निर्वाचन, शपथ, दैनिक कार्यसूची, कार्यव्यवस्था परामर्श समिति, समयावधि निर्धारण, शून्य र विशेष समय, प्रश्न उत्तरको समय, सूचना दिने समय, सूचना संशोधन, बैठक प्रारम्भ, पालना गर्नुपर्ने नियम, बोल्ने क्रम, नियमापत्ति, निर्णयार्थ प्रश्न पेस गर्ने विधि, विभाजन, सदस्यको निलम्बन र सभामुखको विशेष अधिकारजस्ता विषयवस्तु समेटिएको छ ।

    राष्ट्रपतिबाट सम्बोधन, धन्यवादको प्रस्ताव, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव, स्थगन प्रस्तावको सूचना, नीति तथा कार्यक्रमसम्बन्धी कार्यविधिजस्ता विषय प्रतिवेदनमा समेटिएको छ ।

    प्रतिवेदनमा कार्यपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन मिलाउन संसद् र संसदीय समितिमार्फत दिइने निर्देशन कार्यान्वयन भए नभएकोबारे ३० भित्र खोज्न सक्नेगरी समयसीमा तोकिएको छ । सदन र समितिले दिएका निर्देशन निष्कर्षमा पु¥याउन नसक्ने अवस्था रहेमा कार्यपालिकाले समयसीमाभित्रै व्यवस्थापिकालाई जानकारी गराउनुपर्नेछ । सदन र विषयगत समितिमा जनताका तर्फबाट उठेका मुद्दा सामूहिक रूपमा कसरी सम्बोधन गर्ने तथा व्यावहारिक र प्रभावकारी बनाउने भन्ने पक्ष पनि प्रतिवेदनमा समेटिएको छ ।

    सभामुख अर्यालले मस्यौदा प्रतिवेदन ग्रहण गर्दै प्रतिनिसभा र मातहतका विषयगत समितिका कामकारबाहीलाई अघि बढाउन प्रस्तुत निमावलीको मस्यौदा प्रतिवेदनले महत्त्वपूर्ण मार्गदर्शन गर्ने बताए । उनले समितिको अथक प्रयासबाट तोकिएको समयसीमा भित्रै तयार भएको मस्यौदा प्रतिवेदन आगामी सदनमा पेस गरिने बताए ।
    सभामुख अर्यालले भने, “मस्यौदा प्रतिवेदनमा कहीँ कतै कमी कम्जोरी रहेको खण्डमा सुधार गर्न र संशोधनका लागि समय दिइनेछ । सदनका गतिविधि संविधान, कानुन, नजिर, अभ्यासका आधारमा अघि बढाइनेछ ।” निर्धारित समयभित्रै काम सम्पन्न भएको विषयले आगामी दिनका लागि पनि नजिर बसाल्ने बताउँदै उनले समयसीमाभित्रै काम सम्पन्न भएमा आफूलाई गर्व लाग्ने मात्र नभई जनताले त्यसबाट लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।


    मस्यौदा समितिका सभापति गणेश पराजुलीले जनतासमक्ष समयमै कानुन बनाएर न्यायको सुनिश्चिता गर्ने वाचा गरेबमोजिम समितिले पनि समयसीमा र क्यालेन्डर बनाएर काम गर्ने व्यवस्था मिलाएको बताए । उनले कार्यपालिकाले व्यवस्थापिकालाई जवाफदेहिता बनाउने र व्यस्थापिकालाई कार्यपालिकाले बिजनेस दिनुपर्ने प्रमुख दायित्व हो भन्ने विषय सुनिश्चित गरिएको बताए । सबै सदस्यको क्षमता, विज्ञता र अनुभव समेटिएकाले संसदीय अभ्यास र गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन मस्यौदा प्रतिवेदन महत्त्वपूर्ण डकुमेन्टका रूपमा रहने उनको विश्वास छ ।

    पन्ध्र सदस्यीय मस्यौदा समितिले नियमित रूपमा चौधवटा बैठक बसी मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । समितिमा केही विषयमा दलगत अडान रहे पनि ९५ प्रतिशतभन्दा बढी विषय सर्वसम्मत रूपमा अघि बढाइएको सभापति गणेश पराजुलीले जानकारी दिए । त्यस अवसरमा प्रतिपक्षी सदस्यहरूले संसद्लाई बढी लोकतान्त्रिक, जवाफदेही र उत्तरदायी तुल्याउने विषयमा आफूहरूको पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता जनाए ।

  • विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गरौं : प्रधानमन्त्री

    विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गरौं : प्रधानमन्त्री

    ७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

    छलफलमा उपकुलपतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका थिए ।
    प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए ।


    छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनहरू हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरे । जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए ।


    प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे । प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिए ।

    त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनहरू खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जेन्जी आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए ।


    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताए । अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरे ।

  • कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    ७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
    जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

  • प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    ७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बताइएको छ । साथै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ ।

    बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरु पनि उपस्थित हुनेछन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने उनको सचिवालयले जनाएको छ ।

    यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफलको कार्यक्रम राखिएको छ ।

  • अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

    सिबी अधिकारी–रासस
    काठमाडौँ, ६ वैशाखः अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो ।

    तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ । यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक÷कर्मचारीहरूको खोजबिन गर्न डा जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य हुनुहुन्छ ।

    उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ । यसबाट त्रिविलाई आर्थिका साथै प्राज्ञिक क्षति पुगेको छ । अध्ययन बिदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिविलाई थप आर्थिक भार परेको छ । समितिका संयोजक डा काफ्लेले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको सङ्ख्या बढ्दा त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताए । “शिक्षक कर्मचारीबाटै अध्ययन बिदामा गएर नफर्किने लापरवाही प्रवृत्तिले विद्यार्थीमा नकारात्मक सन्देश गएको छ”, उनले भने, “त्रिविप्रतिको धारणामा असर पनि पुगेको छ ।”

    त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी कुल ३९८ प्राध्यापक छन् । समितिका संयोजक काफ्लेका अनुसार थप ५०–६० फाइल पनि भेटिएको छ । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

    अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् । पाँच वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमा बस्ने गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले धेरै वर्षदेखि पेचिलो बनिरहेको अध्ययन बिदा दुरुपयोगको विषयलाई त्रिविले आँट गरेर बाहिर ल्याएको उल्लेख गरे । उनले भने, “समितिले गरेको अध्ययनमा १९३ जना पाँचवर्षे अध्ययन बिदा सकेर नफर्किएका र अध्ययन बिदा लिएर अध्ययन पूरा नगरेका ४०० भन्दा बढी पाइएको छ ।”

    शिक्षाध्यक्ष डा केसीका अनुसार विश्वविद्यालयसँग गरेको कबुलियतअनुसार साँवाब्याजसहित फिर्ता गर्न त्रिविले पत्राचार गरेकामा २० जनाले रकम बुझाइसकेका छन् । उनीहरूबाट रु छ करोड रकम फिर्ता भएको छ । अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । सोही कबुलियतनामाअनुसार रकम फिर्ता गरिरहेका हुन् ।

    त्रिविले ताकेता गरेपछि ५० जनाभन्दा बढी प्राध्यापक फिर्ता गर्ने प्रक्रियामा छन् । त्रिविका अनुसार नफर्किने प्राध्यापकले प्रतिव्यक्ति कम्तीमा रु १० लाखदेखि रु ५० लाख बढीसम्म फिर्ता गर्नुपर्ने देखिएको छ । डा केसीले भने, “हामी निर्ममतापूर्वक अहिले पनि लागिरहेका छौँ । अब पहिलो चरणमा पैसा नबुझाउनेलाई दोस्रो चरणमा कानुनी परामर्श लिएर नाम सार्वजनिक गर्छौँ, ३५ दिने सूचना अवधिमा पनि सम्पर्कमा नआए सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।”

    त्रिविको उपप्राध्यापक पदको शिक्षकको सेवा सुविधालाई मात्र आधार मान्ने हो भने एक शिक्षकको रु ४८ हजार ७३७ बेसिक तलब जम्मा आठ ग्रेडबापत रु १३ हजार र कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष समेत १०–१० प्रतिशत कट्टी गर्दा रु १२ हजार ३४८ र मासिक बिरामी बिदाबापत रु दुई हजार ५७३, महँगी भत्ता रु दुई हजार र प्राज्ञिक भत्ता रु एक हजार चाडबाड खर्च रु ६१ हजार ७३७ गरी जम्मा वार्षिक रु १० लाख १७ हजार ६३३ को हिसाबले ३९७ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा करिब रु दुई अर्बको हाराहारीमा दुरुपयोग गरेको प्रतिवेदनको प्रारम्भिक विवरणमा छ ।

    प्रधानमन्त्री र शिक्षामन्त्रीको चासो

    अध्ययन बिदाको दुरुपयोगका विषयमा सरकारले चासो लिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री सस्मित पोखरेलले चासोका साथ अध्ययन गरिरहेका छन् । प्रधानमन्त्री शाह र शिक्षामन्त्री पोखरेलको सचिवालयले छानबिन समितिका संयोजक डा काफ्लेसँग छलफल गरेको छ । प्रधानमन्त्री र शिक्षमन्त्रीले चासो देखाएपछि त्रिविले कामलाई थप तीव्रता दिएको छ ।

    समितिका संयोजक डा काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभागलगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताए । उनले भने, “पूर्ववत रूपमा आकलन गरिएको सङ्ख्याभन्दा अझ बढी सङ्ख्यामा दुरुपयोगको अवस्था देखिएको छ भने समिति गठनपश्चात् दुरुपयोग गर्नेहरू सार्वजनिक जीवनमा पर्न जाने असरलाई मूल्याङ्कन गरी आफूले दुरुपयोग गरेको क्षतिपूर्ति रकम त्रिवि नियमअनुसार बुझाउन अग्रसर देखिएका छन् ।”

    डा काफ्लेका अनुसार हालसम्म टोलीले त्रिविका ६० प्रतिशत आङ्गिक क्याम्पस र कार्यालयमा प्रत्यक्ष रूपमा अवलोकन गर्दा अध्ययन बिदा लिई सेवामा नफकर्ने शिक्षक कर्मचारीका साथै अध्ययन बिदा लिई उपाधि हासिल गर्न नसक्नेहरूको सङ्ख्या समेत उल्लेख्य रूपमा रहेको पाइएको छ ।

    त्रिविले विशवविद्यालयअन्तर्गतका क्याम्पस कार्यालयहरूमा कार्यरत स्थानीय शिक्षक तथा कर्मचारीलाई निजहरूको वृत्ति विकासका लागि अध्ययन अध्यापन र अनुसन्धान कार्य गर्न एक वर्षदेखि पाँच वर्षसम्मको अध्ययन बिदा दिने गरेको छ । यसरी अध्ययन बिदाबाट प्राप्त गरेको ज्ञान र सीप विश्वविद्यालयको समग्र हितमा हुने अपेक्षाका साथ एक वर्षदेखि पाँच वर्षसम्मको तलबी अध्ययन बिदा दिने गरेको हो ।

    अध्ययन बिदामा बसेको शिक्षकहरूले आफूले अध्ययन बिदा उपयोग गरेको समयअनुसार विश्विद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ र सोअनुसार सेवा नगर्ने शिक्षक कर्मचारीका लागि दण्ड सजायको समेत व्यवस्था गरिएको छ । अध्ययन बिदामा बसी नफर्कने शिक्षक कर्मचारीलाई त्रिविले पत्र काटेर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन सबै निकायलाई भनेको थियो । तर सही विवरण नआएपछि समिति क्याम्पस क्याम्पसमा पुगेर सङ्कलन गर्न लागेको हो ।

    “समितिले सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ । ठूलो सङ्ख्यामा शिक्षक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ”, समितिका संयोजक डा काफ्लेले भने। विसं २०४४ यताका सबै फाइल खोजेर अध्ययन गरिरहेको समितिले जनाएको छ । अध्ययन बिदामा गएका त्रिविका कति शिक्षक कर्मचारी फर्किए, कति उतै लुके भन्ने तथ्याङ्क त्रिविसँग थिएन । त्यसैले समिति बनाएर त्रिविले तथ्याङ्क सङ्कलन गरिरहेको हो ।

    समितिका अनुसार त्रिविका आङ्गिक क्याम्पस÷डिन कार्यालय÷केन्द्रीय विभागमा खोजबिन सकिएको छ । कति सङ्ख्यामा शिक्षक कर्मचारी विदेशमै लुकेका छन् भन्ने तथ्याङ्क एकैपटक सार्वजनिक गरिने उहाँले बताउनुभयो । असार मसान्तसम्मको समयावधि पाएको समितिले तीव्र रूपमा काम गरिरहेको छ ।

    चार सयले गरे बिदाको दुरुपयोग

    समितिले छ महिना त्रिविका सबै निकायमा पुगेर खोजबिन गर्दा ४०० प्राध्यापकले दुरुपयोग गरेको भेटिएको हो । समितिले ताकेता गरेपछि अहिले अध्ययन बिदाबाट नफर्किएका प्राध्यापकले धमाधम रकम फिर्ता गर्न थालेका छन् । हालसम्म ४४ जनाले निवेदन दिएको र तीमध्ये २० जनाले साढे छ करोड रकम फिर्ता गरेको समितिका संयोजक डा काफ्लेले जानकारी दिए । उनले भने, “अहिले २० जनाबाट साढे ६ करोड रकम उठिसकेको छ । अरुलाई पनि हामीले पत्राचार गरिरहेका छौँ ।”

    अध्ययन बिदामा बसेर नफिर्किने शिक्षक र कर्मचारी अहिले करिब चार सय पुष्टि भएको तथा अझै केही केशहरू पनि आइरहेकाले यो सङ्ख्या झन्डै पाँच सय पुग्ने बताइन्छ । विश्वविद्यालयको नियममा पाँच वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । तीन वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा तीन वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भए पनि खाएको रकम असुल गर्ने भनिएको छ । तर, २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् ।

    धेरैजसो प्राध्यापकको खाएको तलबभन्दा ब्याज बढी भएपछि फिर्ता गर्न आनाकानी गरिरहेका छन् । यसमा के गर्ने भनेर त्रिवि पदाधिकारीले छलफल गरिरहेको छ । शिक्षाध्यक्ष डा केसीले त्रिविलाई अझै पनि अध्ययन बिदा दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन तथा प्रतिवेदन कार्यान्वयनका चुनौती र छिद्रहरू रहेकाले जवाफदेही बनाउनका लागि सरकार, नागरिक समाज र सञ्चारमाध्यमको साथ र सहयोगको जरुरी भएको उल्लेख गरे ।

    अध्ययन बिदा लिएपछि क्याम्पस कार्यालयमा नफर्कने शिक्षक तथा कर्मचारीको सङ्ख्या अध्ययन संस्थानतर्फ सङ्कायतर्फको भन्दा तुलनात्मक रूपमा बढी देखिएको समितिले उल्लेख गरेको छ । त्रिविका केही शिक्षकहरूले स्वीकृत अध्ययन बिदा लिएपछि निर्धारित समयमा अध्ययन पूरा नगरेको तथा बिदा समाप्त भएपछि क्याम्पस वा विभागमा पुनः नफर्किनुले अध्ययन बिदाको मूल उद्देश्य नै विफल भएको समितिको ठहर छ ।

    त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म बिनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । विदेशबाट राजीनामापत्र त्रिविमा पठाउने तर रकम भने फिर्ता गर्दैनन् ।

    यी हुन् समितिले खोजबिन गरेका क्याम्पस

    अध्ययन बिदामा बसेर नफर्केका शिक्षक÷कर्मचारीको खोजबिन समितिले अहिलेसम्म खोजबिन गरेका क्याम्पसहरूमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, रसायनशास्त्र केन्द्रीय विभाग, प्राणीशास्त्र केन्द्रीय विभाग, भौतिकशास्त्र केन्द्रीय विभाग, वनस्पतिशास्त्र केन्द्रीय विभाग, भूगर्भशास्त्र केन्द्रीय विभाग, जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभाग, गणित केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, वातावरण केन्द्रीय विभाग, विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र बायोटेक्नोलोजी केन्द्रीय विभाग रहेका छन् ।

    यस्तै रत्नराज्यलक्ष्मी क्याम्पस, अमृत क्याम्पस, नेपाल ल क्याम्पस, पुल्चोक क्याम्पस, पुल्चोक, विश्वभाषा क्याम्पस, महेन्द्र रत्न बहुमुखी क्याम्पस, थापाथली क्याम्पस तथा झापाको मेची बहुमुखी क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस छन् ।

    त्यसैगरी, धरानको पूर्वाञ्चल क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, काठमाडौँको त्रिवि शिक्षण अस्पताल, आयुर्वेद क्याम्पस, मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, महाराजगञ्ज नर्सिङ क्याम्पस, पोखराको पृथ्वी नारायण क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, वन विज्ञान क्याम्पस रहेका छन् ।

    यसरी खोजबिन गर्दा मानविकी तथा सामाजिकशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् । तीन सय ९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेकामा मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् । वन विज्ञान अध्ययन संस्थानमा २८, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३, चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ, शिक्षाशास्त्र सङ्कायमा नौ, व्यवस्थापन सङ्कायमा १९ र कानुन सङ्कायमा एक प्राध्यापक रहेका छन् ।

    फिर्ता गर्नेमा सांसद पनि

    त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिई पूरा अवधि काम नगरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलबभत्ता फिर्ता गरेका छन् । कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् । सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए । चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।

    त्यसैगरी, रकम फिर्ता गर्नेमा मित्रमणि सुवेदी, हिमाकुमारी राउत, रीना श्रेष्ठ, पुष्पराज आचार्य, ज्ञानप्रसाद गौतम, डा आशुतोषकुमार सिंह, जीवनाथ लम्साल, डा बुना भण्डारी, दीपक पुडासैनी, सरस्वती दवाडी, थिरबहादुर बुढाथोकी, नारायण सुवेदी, प्रकाश आचार्य, शम्भु पौडेल, जगत तिमल्सिना, बालहरि पौडेल, वीरेन्द्रप्रसाद गुप्ता, अर्चना न्यौपाने तिमिल्सिना, शैलेन्द्रनाथ अधिकारी र आनन्दबहादुर चन्द छन् । त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राखेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ ।

  • मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

    मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

    काठमाडौँ, ५ वैशाख । नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । खड्गदल गण, रामेछापमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र अन्य २ (दुई) उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा आज भएको सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब छ हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।

    उक्त सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला, चार सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार अभिभावक तथा सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीलाई सम्मान, प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा फरक क्षमता भएका तथा अशक्त २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर तथा वैसाखी वितरण गरिनुको साथै रामेछाप जिल्लास्थित १०२ वर्षीय एकल महिला नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाका रूपमा अभिनन्दन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका यसवर्ष देशका विभिन्न स्थानमा भूपू सैनिक सम्मेलन भएका थिए । सम्मेलनले सेवारत र अवकाश प्राप्त सैनिकबीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यावहारिक सुझाव सङ्कलन गरी हिताधिकारीहरूलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने सेना विश्वास छ ।