Category: कला / साहित्य

  • यसरी देवकोटा सम्झिदा !

    यसरी देवकोटा सम्झिदा !

    कुमार न्यौपाने, न्युयोर्क

    मानवताको चुली पारी
    सुनौलो हृदय पुकारी
    मुनामदन भए प्रिय–करुणा
    सुलोचनाको घुम्टो उघारी
    कुञ्जीनी उस्तै प्यारी
    शाकुन्तलको तलतल अझै
    भिखारीले कस्को मन भारी ।

    वनकुसुमको लतालहरी
    ज्ञानी गुणी उही लुनि परी
    चम्पा र हेम्दुको चालमा
    लहलहाउँदो कृषिवाला झुली
    सुनको चम्किलो विहानि
    यात्री, मन्दिर जाँउ छानी छानि ।

    करुणामृत दिल भारी
    पागल कि उनी भिखारी
    सुन दिलको ए संस्कारी
    छ जात सदा अहितकारी
    नाम लक्ष्मी जन्मदिनको
    प्रसाद सरस्वती तिमी हृदयभरी ।।

  • गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

    गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेका छन् । मूख्यमन्त्रीका रुपमा २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका उनले ३ वर्ष ८ महिना सरकार चलाए । यसबीचमा उनले एक पटक विश्वासको मतको समेत सामना गरेका थिए । जसमा उनी सफल भए । तत्कालिन एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनको सत्ता जोगिएको थियो । ती सांसद अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा गरेका हुन् । गठबन्धनको सहमती अनुसार अब मुख्यमन्त्री पद नेपाली कांग्रेसले पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही यो पदका लागि आकंक्षी हुन् ।

    राजिनामा दिनु अगाडी मूख्यमन्त्री शाहीले सोमबार कर्णालीबासीका नाममा सम्बोधन गरे । जसमा उनले आजसम्म भएका कामको विवरण प्रस्तुत गरेका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूले राजीनामा दिएको बताएका छन् ।

    दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको समेत उनको भनाई छ । अनुभवका हिसावले आफु किशोर भए पनि कामका हिसावले युवा भएर काम गरेको उनको दावि छ ।

  • तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

    तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

    काठमाडौं

    आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।
    नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो ।
    कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाउनुभयो ।
    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताउनुभयो । उहाँले तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भएतापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानविय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुङाले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा र्हेन प्रेरित गरेको बताउनुभयो ।


    हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाइ उजागर गरेको बताउनुभयो । उहाँले दुङाललाई आधुनिकताबादमा परम्परा र इतिहासको संमिश्रण रहेको बताउनुभयो ।
    कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीडा साथै मानवीय संवेगलाई स्पष्ट पुस्तकमा उतारिएको बताउनुभयो ।
    पत्रकार एवं समिक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधी रुपमा लिने गरिएको भएतापनि यस उपन्यासले नितान्त मानविय संवेग र प्रेमलाई समेटेको बताउनुभयो ।
    कार्यक्रममा तिब्बती शरणार्थी एंव पाठक टासी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउदै पहिचान र राष्ट्र विहिन हुँदा धेरै समस्या झल्नुपरेको बताउनुभयो ।
    सांग्रील बुक्सद्वारा प्रकाशित दुङालको मुल्य चारसय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुङाल तेश्रो उपन्यास रहेको छ ।

  • राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम

    राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम

    काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको समयसीमा दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागिसकेको बारले शुक्रवार कार्यसमितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै ५ दिन भित्र राजीनामा गरिसक्न समेत अल्टिमेटम दिएको छ ।

    आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने गरि आन्दोलन घोषणा भएको छ । १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ । बारले तय गरेका कार्यक्रम अवधिभर पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

  • मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउदै, धर्मावलम्बीलाइ बिदा

    मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउदै, धर्मावलम्बीलाइ बिदा

    काठमाडौं । मुस्लिम समुदायले मङ्गलबार मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने प्रचलन रहेको छ । आज सरकारले मुस्लिम समुदायमा लागू हुने गरि बिदा पनि दिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  सोमबार बसेको  मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा मङ्गलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

  • सन्जीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ´ घमण्डी ` सार्वजनिक – ( भिडियो सहित )

    सन्जीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ´ घमण्डी ` सार्वजनिक – ( भिडियो सहित )

    काठमाडौँ, असोज २३ । गायक एवं गितकार सन्जीव श्रेष्ठको स्वरमा ´घमण्डी तिमी हौ `बोलको नयाँ म्युजिक भिडियो घमण्डी सार्वजनिक भएको छ।बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माण भएको भिडियोको कृष्ण के एले निर्देशन गरेका छन्।

    श्रेष्ठको रचना र संगीत कृष्णको रहेको म्युजिक भिडियोको बिहीबार आदित्य फिल्म युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।भिडियो सम्पादन रमित कुवर तथा विना राउतको रहेको छ ।बडा दशैँको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा सुन्दर ठाउँहरु धुलिखेलको गोसाइँकुण्ड हाइड र बूढानीलकण्ठ नगरपालिका स्थित सापाटर कौडोलको रमणीय दृश्यहरु उक्त भिडियोमा कैद गरिएको छ।

  • भरोसा हुन्न : अनन्त भेटुवाल (कविता)

    भरोसा हुन्न : अनन्त भेटुवाल (कविता)

    काठमाडौँ , असोज २१ ।

    मौसमको जमानतको कुनै भरोसा हुन्न ।
    कन्जुसको आतिथ्यको कतै भरोसा हुन्न।
    काँडाको वदमाशिसंग के-को गुनासो
    फूलको शालिनताको पनि भरोसा हुन्न ।

    सादा पानी र पसिनामा अन्तर छ विशाल ।
    कठोर चट्टान र मोतिमा अन्तर छ विशाल ।
    मुर्दा घडिको टिक् टिक् झैं चल्ने यो काया
    श्वास लिनु र जीउनुमा अन्तर छ विशाल ।

    अविचलित पर्वत झैं कठोर छ जीन्दगानी ।
    फुलको मुहार झैं कोमल छ जीन्दगानी ।
    प्रथम प्रेममा चुम्बनको त्यो मिठो अनुभूति
    वरिष्ठको उपदेश झैं तितो छ जीन्दगानी ।

                    अनन्त भेटुवाल               अनन्त 
  • कविता : रगतको पोलाई !

    कविता : रगतको पोलाई !

    • रामप्रसाद खनाल, अमेरिका

    ‘रगतले पोल्छ’
    त्यसै भनेका होइनन् रहेछन् बुढापाकाले,
    पोल्दो रहेछ,
    भतभति पोल्दो रहेछ !
    पोल्ने रगतले
    कसै कसैलाई ठाडै सुकाउँदो रहेछ
    कसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछ
    कसै कसैलाई त झन्
    आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !
    कतिखेर बरबराउने,
    कति खेर रुन मन लाग्ने,
    अचम्मकै पोलाई हुँदो रहेछ रगतमा !
    कति खेर फेरी जङ्गल जान मन लाग्ने
    कतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्ने
    कति खेर जुट्न मन लाग्ने
    कतिखेर फुट्न मन लाग्ने
    यता जाम कि उता जाम अस्थिर बनाउने
    वल्ला घरको नरे, पल्ला घर सरे जस्तै
    सरी रहने,
    शक्ति र भक्तिका लागि मरिरहने
    छिन मै हाँस्ने
    छिन मै रुने
    जे पनि गर्ने
    जसो पनि बोल्ने
    मानसिक अस्पताल भित्र,
    शैय्यामा बरबराउने बिरामी जस्तो !
    कतिखेर भावुक हुन मन लाग्ने
    अचम्मकै हुँदो रहेछ रगतको पोलाई !
    त्यसैले रगतसँग नखेल्दा राम्रो
    रगतको होलीबाट टाढै हुँदा राम्रो
    रगतसँग खेल्न त परैको कुरा,
    रगत नछुँदा नै राम्रो
    रगतलाई शरीर भित्रै खेल्न दिएको राम्रो
    मुटुलाई फिल्टर गर्न दिएकै राम्रो
    रगतको होली नबगाएकै राम्रो
    यस्तै छ जिन्दगीको अनुभव र ठम्याइ हाम्रो
    नपत्याए रगतले पोलेकाहरूलाई सोध्नुस !

  • भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

    भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

    काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई सन् २०२१ भर नेपाल प्रवेशमा रोक लगाएको छ ।

    अमेरिकी नागरिक पर्यटन भिषामा १८० दिनमात्र बस्न पाउने प्रावधान अनुसार उनलाई यो वर्ष नेपाल प्रवेशमा गृहमन्त्रालयले रोक लगाएको हो ।

    अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

    गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।

    उनी गत सोमबार नेपाल आएका थिए । तर, सोहीदिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाइदिएको थियो।

    सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् ।

  • आनन्दका दश मुक्तक

    आनन्दका दश मुक्तक

    मुक्तक १
    अँध्यारोमा हिड्नुपर्दा बाटो नाप्ने कति-कति !
    सित्थै बाँड्ने भेटिएमा दुई हात थाप्ने कति-कति !
    जुन स्वार्थले आगो बल्छ दोबाटो या चौबाटोमा
    थरी- थरी घ्यू हालेर आगो ताप्ने कति-कति !

    मुक्तक २
    आजकल बिना दलका मान्छे बन्न मुस्किल मुस्किल छ
    अझ बढी चामलबाट भुस निफन्न मुस्किल मुस्किल छ
    चुच्चे नक्सा छाप्नेबाटै उक्त नक्सा मेटिएपछि भने
    अब जस कसैलाई राष्ट्रवादी भन्न मुस्किल मुस्किल छ।

    मुक्तक ३
    व्यापारी नै सबै दलको शिकार भएपछि
    भ्रष्टकै झन् ठूलाठूला निधार भएपछि
    के सप्रन्थ्यो खेतीपाती सुख्खा जमीनमाथि
    सेवा हुने राजनीति नै व्यापार भएपछि।

    मुक्तक ४
    हिजोभन्दा अझ बढी खुल्दै आए हुन्छ
    बगैँचाको गुलाफ जस्तै फुल्दै आए हुन्छ
    दिनमा भन्दा रातमा भेट्न मजा लाग्छ भने
    बाटो भुले जस्तै गरी डुल्दै आए हुन्छ।

    मुक्तक ५
    मान्छे न हो, सानै कुराले पनि मन फाट्न सक्छ
    न कसैले कसैसँग आफ्नो जीवन साट्न सक्छ
    फ्यॉकिएको भनी हेला नगरिबक्स्योस् ए हजुर !
    पऱ्यो भने भुत्ते खुकुरीले पनि त गर्दन काट्न सक्छ।

    मुक्तक ६
    सुख जो सबैको साथ हुँदैन
    धर्तीमा सधैं नै रात हुँदैन
    मात्तिए मान्छे सच्चिए हुन्छ
    दु:खले नछुने जात हुँदैन।

    मुक्तक ७
    देवता सम्झनुपर्छ, भगवान सम्झनुपर्छ
    भगवानले दिईरहेको वरदान सम्झनुपर्छ
    मायामा डुब्ने मन त नभएको कहॉ हो र !
    माता पिता भएपछि सन्तान सम्झनुपर्छ।

    मुक्तक ८
    मर्ने अनेकौं बहाना हुन सक्छन्, जिउने अनेक बहाना हुन सक्छन्
    बिरूद्धमा कसै कसैको पूरापूर यो संसार, यो जमाना हुन सक्छन्
    यौटै धर्तीमा कतै रात परिरहँदा कतै दिनको उज्यालो हुन्छ भने
    बस्, जीवन नबुझ्नेले खोज्नुपर्छ, रमाउने अनेकौं ठेगाना हुन सक्छन्।

    मुक्तक ९
    देशभित्रै रही भ्रष्ट बन्दै नबन्ने सोंच कस कसमा बदलियो ?
    बदलियो, कुष्ट कमाऊ र राजनीति गर भन्ने सोंच हर जसमा बदलियो
    आमूल परिवर्तनको आशमा रहेका जनता के भन्छन् भने
    बदलियो त कुर्सीमा बसेपछि, मात्र ऑखा अघिको चस्मा बदलियो।

    मुक्तक १०
    तिम्लाई मुटु दिएर त बॉचिरहेछु अहिलेसम्म
    तिमीलाई सम्झिएर त बॉचिरहेछु अहिलेसम्म
    अन्तिम भेटमा पानी पानी बनाएर गएदेखि
    पानी मात्र पिएर त बॉचिरहेछु अहिलेसम्म।

    आनन्द श्रेष्ठ
    काठमाण्डौं, सामाखुशी-२६
    हाल : न्यूयोर्क

  • काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै  खुले

    काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुल आजबाट भौतिक रुपमै खुलेका छन् । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको थियो । सोही अनुसार स्कुलहरु समेत संचालनमा आएका छन् ।

    दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावकमा भने आक्रोस छ । यसलाई केवल शूल्क उठाउने बाटो खोलेका रुपमा उनीहरुले बुझेका छन् । किनकी अहिले पनि बालबालिकाले खोप पाएका छैनन् । यता, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने होइन । सञ्चालन गर्न चाहने विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सक्ने छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय गत बिहीबार गरेको थियो ।

  • काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

    काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

    काठमाडौं । काठमाडौं साक्षर जिल्ला घोषित भएको छ । सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । सामाजिक विकास मन्त्री सुवेदीका अनुसार साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजकको प्रस्ताव र प्रचलित कानुनअनुसार काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै यस्तो घोषणा भएको हो । अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला रहेको छ ।

    काठमाडौं समेत शतप्रतिशत साक्षर जिल्ला बनाउने घोषणा सो अवसरमा गरियो । शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान निर्देशन दिए । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवम्, जिल्ला र देशलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको निर्णय छ ।

  • आज बस्दैछ संसद बैठक, अर्थसम्बन्धी विधेयकहरु प्रक्रियामा जाने

    आज बस्दैछ संसद बैठक, अर्थसम्बन्धी विधेयकहरु प्रक्रियामा जाने

    काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । त्यसका लागि विधेयकहरुको प्रक्रिया शुरु हुनेछ । संसद सचिवालयका अनुसार विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय छुट्याइने भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुनेछ ।

    सांसदले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुनेछ । उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जानेछ । सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने र बजेट पास हुने सम्भावना रहेको छ । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।

    एमालेको अवरोध आज पनि निरन्तर हुने छ । अवरोद्धलाई वेवास्ता गर्दै संसदको कामकारवाही चलाउने तयारी छ । अहिले नेपालमा बजेट होलि डे छ । यो प्रक्रिया आगामी एक सातमा पुरा गरेर बजेट पास गर्ने तयारी गरिएको हो । बजेट प्रतिस्थापन विधेयकको विनियोजन विधेयक दुबै हाउसबाट पारित भएपछि मात्र बजेट खर्च गर्न सरकारलाई बाटो खुल्छ ।

  • कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण

    कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण

    काठमाडौं । संविधान दिवसका अवसर परि ९०३ जना व्यक्ति विभुषित बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी विभुषित हुनेको नाम आज गोरखापत्रमा सार्वजनिक गरिएको छ । संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन्।

    नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिएको बताइएको छ । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एंव नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरिएको छ।

    सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिएको छ। राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरिएको छ ।

  • आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

    आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । आज नेपालमा संविधान दिवस मनाइंदै छ। नेपालमा सरकारले २०७२ साल असोज ३ मा संविधान जारी भएको अवसर पारी सार्वजनिक बिदा दिने गरेको छ । यस उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताएकी छन् ।

    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्न, नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न समेत आवश्यक रहेको बताइन् । नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेको समेत उनले बताएकी छिन् ।

    लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

    उता, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको भनेका छन् ।

    प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउनु सरकारको मुख्य लक्ष्य भएको समेत बताएका छन् ।

  • नराम्रो सपना

    नराम्रो सपना

    लक्ष्मी श्रेष्ठ, न्युयोर्क

    मध्य रातमा ऊ ब्युझिन्छ
    देब्रे छाति छाम्छ, ढुकढुकी
    एकनासले बढी रहन्छ
    पसीना पसीनाले उसको शरिर
    निथ्रुक्क भिजिसकेछ!
    साईडको बट्टाबाट टिस्यु झिक्छ
    निधार र घाँटीको पसीना पुच्छ
    साईडको ग्लासको पानी
    एक्कै स्वासमा घुट्क्याउँछ
    सिरानीमा अडेस लगाएर बस्दै
    लामो लामो स्वास फेर्छ!

    उसले एउटा डरलाग्दो सपना पो देखेछ
    सपनामा – मुखुण्डो लगाएका
    राक्षसहरुले उसको आमालाई
    जबरजस्ति घिच्याउँदै रहेछन्
    राक्षसहरुबाट बचाउन ऊ बल लगाएर
    आमाको फरियामा झुण्डिएर आफुतिर तान्दोरहेछ
    राक्षसहरुले लुच्छ्दा-लुच्छ्दा शरिरमा
    करंग मात्रै बाँकी रहेकी,
    रुँदा-रुँदै आँखा भित्र गढेकी
    आफुलाई बेसहारा महसुस गर्दै
    थकित गलित उसकी आमा,
    कपाल फिंजाएर चिच्याउँदै, कराउँदै
    आफ्नो ज्यानको भिख माग्दै गर्दा पनि
    ती मुखुण्डोधारीहरुले
    आमालाई घिच्याउन नछोडेको देख्दा
    उ रुँदै-कराउँदै गुहार माग्दैरहेछ!

    मुखुण्डोधारीहरुले जबरजस्ति
    उसको मुख बन्द गरिदिएछन्
    आँखामा धारिलो सुईराले घोचिदिएछन्
    सम्पूर्ण शरिरमा फलामका डण्डाहरु बज्रिएछन्
    आमाको दशा देखेर उसको मन
    छियाछिया भएछ
    ऊ आफुलाई बिल्कुल निरीह ठान्दा-ठान्दै पनि
    ‘मेरी आमालाई कसैको हातमा नबेच’ भन्दै
    आफ्नो घुँडा जमिनमा धसेर
    रगताम्य हात जोड्दै
    आँखाबाट बलिन्द्रधारा रगतको
    आँसु खसाल्दै,
    मुखुण्डोधारीहरुसँग
    आमाको अस्तित्वको भिख माग्दै रहेछ
    आमाको अस्मिताको भिख माग्दै रहेछ
    आमाको स्वाधिनताको भिख माग्दै रहेछ !!

  • सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव

    सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव

    काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस््िथत भएको छ । सोहीकारण बैठक समेत विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सो सम्बन्धमा निर्णय लिन सभामुखले बैठक राखेका थिए । तर, एमालेले भने समाजवादी दलका १४ सांसदलाई कारवाही गर्न वा स्वयमः सभामुखले राजिनामा दिनुपर्ने शर्त राखेको छ । दुबै असभ्भव शर्तका कारण अन्यौल बढेको हो । आजको शीर्ष नेताको बैठकले भने संसद सूचारु गर्ने जिम्मा सभामुखलाई नै दिएको छ ।

    दलका नेताहरूले एमालेसँग सभामुखले छलफल गर्नुपर्ने र सहमति गरेर संसद् चलाउनुपर्ने सुझाव दिए । मुख्य विवाद रहेको एमाले नै बैठकमा नआएपछि कुनै निष्कर्ष ननिस्किएको नेताहरुले जानकारी गराए । माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने अत्तो थापेको छ । एमालेले ७ वटा बैठकमा नाराबाजी गरिसकेको छ ।

  • तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम

    तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम

    काबुल । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु भएको छ । बीबीसीका अनुसार तालिबान सरकारले यस्तो जानकारी गराएको हो । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने उल्लेख छ । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने समेत जनाएका छन् ।

    सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध थियो। तर, अब भने तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ। अगस्ट १५ तारिखमा सत्ता आफ्नो हातमा लिएसँगै उसले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मी बाहेक अन्य महिलाहरूलाई कामबाट टाढै रहन भनेको छ। आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झन्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षा सम्बन्धी नीति घोषणा गरेको हो ।

    तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हालमा लिएको थियो। पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको सङ्केत गरेको छ। यसअघि छात्राहरूले पोसाक सम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला(पुरुष एकै कक्षामा पढ्न पाउँथे। छात्र छात्राहरूलाई प्राथमिक र माध्यमिक तहका विद्यालयहरूमा पनि अलगै पढाइनेछ।

  • मकवानपुरका विद्यालय आजबाट खुल्ने

    मकवानपुरका विद्यालय आजबाट खुल्ने

    हेटौडा । पछिल्लो चार महिनादेखि बन्द मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय लिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउने भएका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउने गरि शैक्षिक संस्था खोल्ने निर्णय भएको हो ।

    वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो । यसबीचमा वैकल्पिक माध्यमबाट अध्ययन, अध्यापन भने भइरहेको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको हो ।

  • संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    काठमाडौं । संसदमा आज नेकपा एमालेले नाराबाजी गरेको छ । संसदको नियमित बैठक अवरुद्ध गरेको पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरि सभामुखविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले एमाले फुटाउन सभामुखले षडयन्त्र गरेको भन्दै विरोध गहिरहेका छन् । विरोधको माहौलका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

    नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएपनि एमाले आक्रोसित बनेको हो । बुधबार प्रतिनिधिसभा बैठक बस्नासाथ एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोध गरेकै समयमा सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिए । मन्त्री खाँडलाई रोक्न एमालेका सांसद तछाडमछाड गरेका थिए । उनीहरुलाई मर्यादापालकले अगाडी बढ्न दिएनन् ।

  • एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

    एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

    काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु हुने छ ।

    निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरूलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिइएको म्याद मंगलबार सकिएको हो । एमालेका जनप्रतिनिधिहरुलाई माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गर्ने समय तोकिएको थियो ।

    सबै जिल्लाहरुसँग समन्वय गरी सनाखतहरु प्रदेशको निर्वाचन कार्यालयमार्फत ल्याउन आयोगले निर्देशन दिएको छ । नयाँ दलमा सनाखतका लागि नागरिकता, मतदाता नामावली वा स्थानीय तहमा निर्वाचित प्रमाणपत्रको प्रतिलिपि लगायतका बुझाइएका कागजपत्रहरु ई–मेलमार्फत पनि पठाउन सकिने थियो । केही दिनमै आयोगले सनाखत सार्वजनिक गरि जनप्रतिनिधिको सूचि सार्वजनिक गर्नेछ । यससँगै संघदेखि स्थानीय तहसम्म दुई नयाँ दल अस्तित्वमा आउने छन् ।

  • अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    पुष्कर बराल, न्यूयोर्क

    उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।
    न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
    १७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन, सुमन टि लिम्बु रहेका थिए । सोहि असररमा नवनिर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको सपथग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

    नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ, चिनिया लाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

    अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवि साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिति थियो ।
    नेपाली अमेरिकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्दत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् ।

  • महान् पर्व तीज र यसको महत्व

    महान् पर्व तीज र यसको महत्व

    सुरेशराज पौडेल
    (उप. प्राध्यापक)
    वाल्मीकि विद्यापीठ , काठमाडौं

    हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड, व्रत, उत्सव, उपसना र उपवास हाम्रा प्राण हुन् । साथै यी कुराहरु हाम्रो संस्कृति बनेर जनजन र मनमनमा रहेका छन् । नेपाल र भारतलगायत जुन जुन ठाउँमा नेपालीहरुको बासेबास रहेको छ ती ती ठाउँमा सनातन धर्म र संस्कार पुगेको छ । सबै सनातन धर्मावलम्बीहरुले उल्लासका साथ यी पर्वहरु मनाउँदै आएका छन् । यिनै तमाम हाम्रा धर्म र संस्कारहरूमध्येको एक महत्वपूर्ण चाडका रुपमा प्रचलित तिज नारीप्रधान चाड हो । प्रत्येक वर्षको वर्षा ऋतुमा पर्ने भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्मका ४ दिनलाई तिजपर्वका रुपमा धुमधामसँग मनाइन्छ । तिज के हो र यसको महत्व के हो भन्ने विषयमा यो लेखमा छोटो र सान्दर्भिक विवेचना गरिन्छ ।

    तिज भन्नाले नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्मपराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने भाद्र शुक्ल तृतीयालाई बुझिन्छ । यस दिनलाई हरितालिका पनि भनिन्छ । तथापि नेपाली समाजमा दर खाने दिन अर्थात् भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्मका दिनलाई बोलिचालीमा तिज भनेर बुझिन्छ । तिजको पहिलो दिन अर्थात द्वितीयाका दिन आधारात पछि नारीहरुले आफ्नो माइतीघर र आफन्त इष्टमिमत्रहरुका घरमा गई उनीहरुले पकाएको , आत्मीय प्रेमले भरिपूर्ण भएको मीठो खाना अर्थात दर खाने चलन छ । दर भन्नाले विशेष प्रकारको दरिलो र आडिलो खाना भन्ने बुझिन्छ । यस खानामा घ्यू राखेर बनाएको लट्टे, खिर, ढकनि र विभिन्न तरकारीहरु पर्दछन् । भोलिपल्ट अर्थात तृतीयाका दिनभर उपवास बस्नुपर्ने भएकोले अघिल्लो रात त्यस्तै आडिलो खाना वा दर खाने गरिन्छ । यसरी दर खाएपछि भोली दिनभर केही पनि खाना पर्दैन र अघिल्लो दिन खाएको खानाका कारणबाट शरीरमा हुन सक्ने अफ्ठ्यारोलाई व्रतका प्रभावले शरीरलाई आाराम पनि हुन जान्छ । दर खाने दिनमा टाढा वा नजिक भएका आफ्ना दिदी बहिनी , फुपू , सानिआमा, ठुलीआमालाई बोलाएर माइतीघरको भान्सामा हाँस्दै रमाउँदै दर खाइन्छ र आँगनमा आएर गीतका भाकामा आफूले भोगेको पीडालाई अभिव्यक्त गरिन्छ । यस्ता गीतलाई तिज गीत भनिन्छ । यस पर्वले टाढिएका मनलाई आफन्तसँग जोड्ने गर्दछ र साामजिक प्राणी भई दुःख सुखमा बाँच्न सिकाउँछ । त्यसैले यो चाडलाई सामाजिक सद्भावको र मिलनको चाडका रुपमा लिन सकिन्छ ।

    सकेसम्म हस्ता नक्षत्रले युक्त चतुर्थी वा चतुर्थी तिथिले जतिखेर तृतीया स्पर्श गरेको हुन्छ त्यही भाद्र शुक्ल तृतीयालाई हरितालिका वा तिज भनिन्छ ।त्यसदिनमा विहान सबेरै उठेर सबै दिदीबहिनी एक आपसमा शिवपार्वतीको गुणगान गर्दै नदी किनार , खोला , कुवा , धारा आदिमा गएर दतिवनले दात माझेर, अमलाको बोक्रा, माटो र खरानी दलेर स्नान गर्ने गर्दछन् । त्यसपछि घरमा आई नयाँ तथा सौभाग्य झल्किने राता कपडा, सिन्दूर, चुरा, पोते पहिरेर शिव मन्दिर, खुल्ला चौर, नदी किनार वा अन्य मन्दिर र पवित्र स्थानमा गएर यज्ञमण्डप निर्माण गरेर बालुवाको गौरीसहित शिवलिङ्ग बनाएर आफ्नो कूल परम्पराअनुसार गृहसूत्रका विधिले प्राणप्रतिष्ठा गरेर सङ्कल्पपूर्वक यथाशक्य सङ्कलन गरिएका सामग्रीहरूले श्रद्धापूर्वक पूजा गरिन्छ । पूजापश्चात नाचगान गरेर रातभर जाग्राम बसिन्छ । यसरी व्रत बसेर पूजा गर्नाले आफ्नो पतिको आयु र आरोग्य बढ्छ । साथै आफ्ना सन्ततिको प्रगति र उन्नति हुन्छ र आफ्नो पनि सम्वृद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ । यस दिन महिलाहरू दिनभर निराहार बस्छन् र चतुर्थीले छोएको तृतीयाको पवित्र समयमा पूजा गरेपछि आफ्नो पतिबाट आशीर्वाद लिन्छन् ।

    हरितालिका तिजको व्रतको बारेमा पौराणिक कथा सुन्ने चलन छ । तृतीयाकै दिन गौरी र शिवको पूजा गरेपछि हरितालिका व्रतकथा श्रवण गरिन्छ । जसअनुसार भगवानले शिवलाई आफ्नी प्राण प्यारी पार्वतीले कुन दान , व्रत र धर्म गर्नाले अनादिअनन्त हजुरजस्तो परममेश्वरलाई पाएँ त्यो सबै बिस्तारपूर्वक सुन्न चाहन्छु भन्दा शिवजी स्वय‌ंले पार्वतीलाई सबै वृतान्त सुनाउनुहुन्छ । हिमालय पर्वतको छोरीका रुपमा जन्मिएकी पार्वतीले अघिल्लो जन्ममा दक्षप्रजापतिकी छोरी सतीदेवीको रुप धारण गरेर जन्मे पनि आफ्ना पिता दक्षले शिवको निन्दा गरेको सुनेर यज्ञ कुण्डमा शिव शिव भन्दै हामफालेर प्राण त्याग गरेकी थिइन् । त्यस जन्ममा शिवसँग यथायोग्य काल सतीले जिउन पाइनन् । अर्को जन्म शिवकै अर्धाङ्गिनी भएर जन्मन पाऊँ भन्ने उनको अन्तिम इच्छा थियो । सोही अनुसार हिमालय पर्वत र मेनकाका गर्भबाट उनको जन्म भएको थियो । बालककालदेखि नै शिवलाई नै पति पाऊँ भनी पार्वतीले घोर तपस्या गरेकी थिइन् । त्यसैले दिव्य बाह्र वर्षसम्म अधोमुख गरी धुवाँ पान गरेर तपस्या गरिन् । ६४ वर्षसम्म सुकेको घाँस पात खाएर तपस्या गरिन् । यस्तो देखेर हिमालय पर्वत अत्यन्त दुःखी भए । यी कन्या म कसलाई दिऊँ भन्ने सोचेको बखतमा भगवान् विष्णुले नारदलाई पार्वती विवाह गर्ने कुरा लिएर आएपछि हिमालय अत्यन्त खुसी भए र भने, “भगवान् वासुदेव स्वयं मेरो पुत्री हात माग्न आउनुहुन्छ भने छोरी दिन तयार छु ।” यो कुरा नारदले भगवान् विष्णुलाई सुनाए ।

    योग्यं योग्याय दातव्यं कन्यारत्नमिदं त्वया ।।
    वसुदेव समाेनास्ति व्रह्मविष्णुशिवादिषु ।।

    (भविष्योत्तर पुराण)

    पिता हिमालयका कुरा सुनेर आफ्ना पितामातालाई पनि थाहै नदिई हिंस्रक सिंह , बाघहरू भएको अनकन्टार वनमा लुकिन् । आफ्ना साथीहरुले किन यस्तो गरेकी भनेर सोध्दा मैले अघिल्लो जन्ममा नै आउने जन्ममा शिवलाई पति पाऊँ भनेर संकल्प गरेकी थिएँ । अहिले मेरा मातापिताले भगवान् विष्णुलाई विवाह गरेर दिने कुरा गरेकाले म लुक्न आएकी हुँ भनेपछि साथीहरुले सबै कुरा बुझेर हामी तिमीलाई कसैले पनि नदेख्ने र नभेट्ने ठाउँमा लगेर लुकाउँछौँ भनी लुकाउन लगे । सखी अर्थात् आलिहरुले हरित अर्थात् हरण गरेर लगेका अवस्थामा पार्वतीले व्रत गरी शिवको पूजा गरेको हुनाले यसै दिनलाई हरितालिका भनिएको हो र आज सम्म पनि यस दिनलाई हरितालिका तिज भनेर व्रत उपासना र शिवको पूजा गर्ने गरिन्छ ।

    नामस्य व्रतराजस्य श्रृणु देवि ! यथाभवम् ।
    आलिभिर्हरिता यस्मात्तस्मात्त्सा हरितालिका ।।

    (भविष्येत्तोरपुराण हरितालिका व्रत कथा ५२)

    यो पर्व आविवाहित नारीहरुले असल पति पाउनका लागि व्रत गर्नुपर्छ भन्ने बुझिन्छ भने विवाहित महिलाहरू आफ्ना पतिको दयालु स्वभाव र लामो तथा आफ्ना सन्ततिको उत्तरोत्तर प्रगति र दीर्घ आयु होओस् भन्ने कामनाले व्रत गर्दछन् । यसले पति र पत्नीबीचको सुमधुर सम्बन्ध कायम गर्दछ साथै सन्ततिहरू असल मार्गमा हिँड्दछन् भन्ने मान्यताले महिलाहरु यो व्रत र उपासना गर्ने गर्दछन् । तिज वा हरितालिका व्रत आफैमा अत्यन्त शुद्ध पवित्र चाड हो। आजकाल यस चाडलाई मानिसहरुले नै भड्किलो बनाएको देखिन्छ । र तिजलाइ बदनाम गर्ने काम पनि भइरहेका छन् । हिन्दु धर्ममा रहेको तिज त्यसमाथि कतिपय धर्म विरोधी चरित्र भएका मानिसहरूले यो चाडलाई बहिष्कार गर्ने र नकारात्मक भाव फैलाउने गरेको देखिन्छ । पुरुषका निम्ति महिला व्रत किन बस्नु भन्नेजस्ता कुराहरू आजकल बजारमा सुनिन्छन् । यसरी शास्त्रीय महत्वको तिज र हरितालिकाको गीतलाई नबुझ्नेहरूलाई एक पटक शास्त्र पढ्न पनि अनुरोध गरिन्छ । आफ्नो पति पत्नीबीच सुमधुर सम्वन्ध कायम राख्न पतिले आफ्नी पत्नीलाई पनि सदा खुसी राख्नु , मिष्ठान्न भोजन , मीठो बोली, सत्कार सम्मान गर्नु , गाली नगर्नु, अलंकार आदिले सदा भरिपूर्ण बनाउनु साथै पत्नीले युक्त भएर हरितालिकाको व्रत र पूजा गर्दा पतिलाई अझै राम्रो हुने कुरा शास्त्रहरूमा वर्णन गरिएको छ ।

    आलापैः सरसैः नित्यं तोषयेत् तां शपेन्न च ।
    भोजनाच्छादनैर्वस्त्रं भूषणाद्यैः निजस्त्रीयाम् ।।
    (स्कन्दपुराण)

    भने सदाचारले युक्त कुलीन घरानकी छोरी विवाहित भएर आफ्नो पतिको घरमा गएर पनि सोही किसिमका आचरणहरू गर्दछिन् । पत्नी नै घरकी देवी, घरकी संरक्षक र सिर्जना भर्ने शक्ति भएकोले आफ्नो पतिलाई आरोग्य , सदाचारी र ऐश्वर्यवान् बनाउन नारीको ठूलो भूमिका हुन्छ । त्यसैले जमाना फेरियो भन्दैमा घर बिगार्ने काम गर्नुहुँदैन । आफूलाई पति र पत्नीप्रति श्रद्धा छ भने पतिका गोडाको जल खानु अनुचित होइन, यसले समाज र घर बिगार्दैन । समाजमा नचाहिने कुरा गरेर महिलालाई उचालेर पुरुषभन्दा के कम भन्ने मानिसहरूबाट सिकेर समाज आज बडो दुर्दशामा पुगेको छ । पति, पत्नीको वशमा छैनन् , पत्नी पतिको वशमा छैनन् जसले गर्दा समाजमा विकृतिको भयानक जालो फैलिँदै गएको कुरा आजकाल प्रत्येक दिन सामाजिक सञ्जाल र सञ्चार मामध्यमबाट सुनिँदै र देखिँदै आइएको छ ।
    यसरी तिज हाम्रो परमपरागत पौराणिक र सांस्कृतिक पर्व भएकाले शास्त्रले बताएअनुसार विधिपूर्वक यसको उपसना र व्रत गर्नाले घर, समाज र राष्ट्रलाई राम्रो असर छाड्न सक्छ । यो पर्वमा धुमधाम खर्च गर, देखावटी गर, नभएको पनि जसरी तसरी मनाऊ भनेर शास्त्रले भनेको छैन । श्रद्धा , आस्था र विश्वास नै यस चाडको मौलिक तत्त्व हो । यस पर्वलाई श्रद्धा र विश्वासले युक्त भएर व्रत, उपासना र पूजा गर्नुपर्दछ भन्ने मूल आशय हो ।

  • कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

    कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

    काठमाडौं । कक्षा १२ को रोकिएको परीक्षा ३० भदौबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तय गरेको हो । कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो । रोकिएको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने गरि बोर्डले निर्णय गरेको हो । बुधबार एक सूचना सार्वजनिक गर्दै परीक्षाको मिति तोकिएको हो । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा हुने गरि तोकिएको थियो ।

    राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले परीक्षास्थलबाट महामारी नफैलियोस भन्ने उद्देश्यले परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप वितरण गरेको थियो । सोहीकारण अब भौतिक उपस्थितिमै परीक्षा दिन सहज भएको हो ।

  • गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

    गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

    किशनसिह धामी, न्युयोर्क

    गौःरापर्वको पहिलो शुक्ल पञ्चमीकादिन बिवाहिता महिलाहरु ब्रतबसी बिहान पानीको मुहानबाट तामाका भाडाहरुमा पानी ल्याएर देवताको भण्डार लिपपोत गरि पुजा आजा गरेर ठुलो तामाको भाडोमा पाँच किसिमका गेडागुडी (गहत, केराउ, मास, गहुँ, गुरास)लाई जेठी सासु वा जेठानीबाट झोडो (सगुन) गाउँदै छान्दै केलाउँदै भिजाउँने गर्दछन् । त्यसैलाई पंचबिरुडा भन्दछन् । पंचमीका दिन भिजाएका बिरूडालाई दोश्रो षष्टिका दिन गाउँ भरका महिलाहरु बिरुडाघरमा भेला हुन्छन् र भिजाएका बिरुडालाई सगुन गाएर पानीको मुहानमा लगि धानको खेतमा उम्रेको सँ (घास) कुश, वल, रोडियोँ, बेलपत्र, ऐसेलु र फुल आदीबाट गौःरादेवीको प्रतिमा बनाएर भजन गाएर पुजा गर्दै घास विरुवाले बनाएको प्रतिमालाई धोएर लस्करै सासु, जेठानी दिदी, देवरानी बहिनीले बिरुडा घरमा ल्याउने गर्छन् । उक्त सगुनलाई फाग भन्दछन् ।

    अविवाहिता महिलाहरुले यो ब्रत बस्ने चलन छैन । खास गरेर बिवाहित महिलाहरुले पतिको दिर्घायु र निःसन्तान महिलाले सन्तान प्रप्तिकालागि यो ब्रत बस्ने गर्दछन् । र बेलुकि पुजा आजा गरि फाग गाउदै, नाच्दै, डेउडा खेल्दै रात बिताउँने गर्छन् ।
    सप्तमीको बिहान सोहि प्रकृयाले बिरुडा धोएर बेलुकि त्यो प्रतिमा सहित त्यसै अनुसार नयाँ प्रतिमा बनाएर त्यसलाई धागोले बेरेर गुरु, वा पुजारीद्वारा ती डोराहरुलाई (शुद्ध) अप्सने काम गरिन्छ । यसरि पूजा गरिने बिधिलाई सप्तमी भनिन्छ । अष्टमी पछि ती डोराहरु महिलाले घाटिमा बाधने गर्छन जो आक्रषण तरीकाले बनाएका हुन्छन् । यसलाई स्थानीय भाषामा दुब्धागो भनिन्छ । पुरुषले जनै लाए जस्तै महिलाले दुबधागो लाएर प्रत्येक बिहानीमा पुजा गर्ने गर्छन् । त्यो सप्तमीको रातभरी जागाराम रहेर भजन गीत सगैँ नाचगान गरेर रात बिताउँछन ।


    अष्टिमीका बिहान ती प्रतिमालाई दुलहीको रुपमा सजाएर बिरुडाघरबाट सबै महिलाहरुले पालो पालो गरि आफ्नो टाउकोमा राखेर कमिलाको तातिझै एकै लाइनमा एक पछि आर्कोले क्रमैसंग बोकेर नाच्दै, गाउँदै खेल्दै बिरुडाले पुज्दै मन्दिरमा लाने गर्छन जुन दर्शकहरुका लागि सबैभन्दा आकर्षक पक्ष मानिन्छ ।


    अलग अलग गाउँबाट मन्दिरमा आउँदा दिदी र बहिनीका नाताले स्थापित प्रतिमाहरुको भेटहुँदा दिदीलाई बहिनीले दण्डवत गर्ने चलन छ । त्यहाँ केही समय उभिने गर्छन् । अनि त्यहाँबाट दिदी बहिनी दुबैलाई बाजा गाजा, भोकर, दमाहा सगुन फाग नाच गानसंगै फुल र बिरुडाले पुज्दै मन्दिरमा पुर्याइन्छ तब सम्म हजारौमा महिला पुरुषको अपार मेलाको उपस्थिति भइसकेको हुन्छ । मन्दिरको अगनमा नचाइन्छ खेलाइन्छ । धामी झाँक्रिलाई कमाइन्छ र देवता समर्पित प्रशाद दिने आसिस दिने गर्छन् । त्यस पछि ती ब्रतालु महिलाहरुका लागि गोःरामा चढाएका फलपूmलहरु महिलाहरुको बिशाल हुलका बिचमा आकास तर्फ फाल्छन् जसलाई “फलफटकाउन” भनिन्छ । जसले यो प्रसादलाई आकासमै समाउन सक्छ त्यसलाई शिबपार्वतीको बरदान पाउने बिश्वास गरिन्छ । क्रमशः फलफटकाइसके पछि ब्रतालू महिला सौभाग्यको प्रतिक शिब पार्वतीको प्रशादका रुपमा नयाँ दुबधागो लगाउने चलन छ । परम्परा अनुसार उक्त दुबधागो ग्रहण गर्नलाई गौरादेबीको सौभाग्यको प्रतिक मानि आफ्नो सम्पुर्ण शरीर पवित्र हुने बिश्वास छ र यो कार्य सकेपछि गौरामा चढाएको पञ्च बिरुडाले सम्पुर्ण आफन्तले ठुलाले सानोलाई पुज्ने गर्छन् र आपसमा बाडेर प्रसादका रुपमा लिन्छन् । परापुर्बकालदेखि मनाउँदै आएको महेश्वर र गौरिदेबीको पुजाआजा गरिने यो पर्वमा श्रद्धालुहरू अहिलेसम्म विश्वासकासाथ मनाउँने गर्छन् ।

  • आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा

    आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा

    काठमाडौं । नेपाल, भारतसहित विश्वभर रहेको हिन्दु धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी मनाउँदैछ । भगवान श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व धुमधामसहित मनाइन्छ । सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज धर्मावलम्बीहरु कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्छन् । व्रत बसी रातभर जाग्राम बस्छन् । जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ ।

    ललितपुर महानगरपालिकाका अनुसार यो वर्ष भने कोरोनाका कारण मन्दिरमा प्रवेश पाइने छैन । उता, काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । कोरोना महामारीका कारण यो वर्ष कुनै पनि मन्दिरमा भिडभाडसहित दर्शन गर्न पाइने छैन ।

    बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा समेत भक्तजन जम्मा भई पूजा आराधना गर्छन । घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन समेत रहेको छ । विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मान्यता छ सोहीकारण आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्ण सत्यका प्रतिक मानिन्छन् ।

  • कथा : कार्तिके कुकुरहरु

    कथा : कार्तिके कुकुरहरु

    प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’

    शेरे, एउटा भुस्याहा कुकुर त्यस टोलको । उस्को सामु टोलका अरु सबै भुस्याहा कुकुरहरु डरले थर्कमान । एक हिसावमा ऊ त्यस टोलको बादशाह कुकुर । एक चोक्टा मासुको लागि बगरेको पसलमा घण्टौं कुर्ने भएता पनि बगरेले फालेको मासुको चोक्टा अरु कुकुरले टोक्न आयो भने आफ्ना तिखा तिखा दाँतहरु देखाएर परसम्म लखेटन सक्थ्यो ।
    पिन्की, त्यस टोलको अर्को भुस्याहा कुकुर्नी । पहिला पाल्तु र त्यसपछि सडकमा फालिएकी भएकीले अरु भुस्याहा कुकुर भन्दा उस्मा व्यवहारमा अलि सभ्यता र सौम्यता । हेर्दा अलि राम्री भएर हो कि टोलभरिका कुकुरले उस्लाई प्रेम ब्यक्त गर्दथे । सवै कुरा पिन्कीको लागि सहय थियो, तर कुनै कुकुरले कामबासनामा उस्को जिउमा जिब्रोले चाट्न आएको उस्लाई मन पर्दैन । यसरी मायाले जिउमा सुम्सुमाउन आउने कुकुरलाई आफ्ना तिखा दाँत देखाउँदै र भुकाइले भुक्दै खेदथी । यस्तो अवस्थामा शेरे आएर भएभरका कुकुरलाई टोकुँलाझैं गरी परसम्मै लखेटथ्यो । अरु सबै कुकुर पर भागेपछि बडो बहादुरी साथ शेरेले पिन्कीको जिउमा जिब्रोले चाटथ्यो । शेरेले प्रितिभाव देखाउँदा भने पिन्की केही प्रतिक्रिया नजनाई भुइँमा थचक्क नै बस्थी । आफ्नो ज्यान जोगाउने हिरोको लागि शायद पिन्कीको त्यो उपहार पनि हुन सक्थ्यो ।
    यस्ता घटना र परिघटनाहरुलाई चलचित्रको दृश्य जस्तो आलिशान बंगलाको गोल्डेन बार्डलीमा बसेर टुलुटुलु हेरिबस्ने त्यस टोलको अर्को पाल्तु कुकुर हो– एलेक्स । बगरेले फालेको एक चोक्टा मासुमा हारालुछ, पिन्कीप्रति सवैको प्रेमोतेजना, अनि शेरे र पिन्कीको सहवासहरु ऊ हेरेर बस्थ्यो । कुनै दिन शेरे अरु टोलतिर गएको बेला, त्यस टोलका भएभरका भुस्याहाहरु आएर पिन्कीलाई बलात्कार गर्थे । झन्डै पच्चीस, छबीसको संख्यामा भुस्याहा कुकुरहरु छन्, त्यस टोलमा ।
    एलेक्सले भने दिनहुँ मासुको भात खान पाउथ्यो । मालिक र मालिक्नीले उस्को टाउकोमा सुम्सुमाएर प्रेम ब्यक्त गर्दथे । अझ त्यस घरका दुई केटाकेटी एलेक्स भन्यो कि हुरुक्कै हुन्थे । सँधै थालभरि मासु राखेर खान पाउँदा एलेक्सले गोल्डेन बार्डलीबाट हेरेर अरु भुस्याहा कुकुरलाई हेर्दै मनमनै भन्थे–एक चोक्टा मासुको लागि लुँछाचुँडी गर्ने ए भुस्याहा कुकुरहरु, तिमीहरु कति अभागी छौ ।
    एकदिन एलेक्सले शेरेतिर हेर्दै भन्यो– ‘एक चोक्टा मासु खान नपाउने ए भुस्याहा, तिम्रो के जिन्दगी हो त्यो ।’
    शेरे पनि के कम, पिन्कीको जिउ जिब्रोले चाट्दै जवाफ फर्कायो–‘मासु खान नपाए पनि मासु चाट्न पाएको छु । तैले पाएको छस् ? हामी त भोगी कुकुर, तँ जोगी कुकुर ।’
    एलेक्सको मन शेरेको जवाफले साहै्र दुख्यो । वास्तवमा एलेक्सको यौन चाहना नभएको होइन । तर, साहु र साहुनीले कहिले उस्लाई बाहिर पठाउने होइन । घरमै थुनेर राख्थ्यो । यस्को बदलामा थालभरि विभिन्न प्रकारको मासु पस्किदिन्थ्यो । शेरेहरुको स्वतन्त्र जीवन, प्रेम र यौन देखेर अव ऊ भित्रभित्रै जल्न थाल्यो । मेरो जीवनमा पनि पिन्की आइदिएको भए, ऊ भित्रभित्रै कल्पनामा डुब्न थाल्यो ।
    बार्दलीबाट बाहिर अवलोकन गर्ने क्रममा एकदिन टोलभरिका भुस्याहा कुकुरहरु बथानका बथान हिँड्न थाले । एउटा मेला लागे जस्तो दृष्य देखिन थाल्यो । सबै कुकुरले पिन्कीलाई सुघ्न थाले । सडकमा शेरेको कि अरु भुस्याहा कुकुरको यौन क्रिडा कहिले नटुटने । यस्तो मनमोहक दृष्य देखेर एलेक्सको मन साह्रै रोयो । आज आएर उस्लाई अभागी ती भुस्याहा कुकुरहरु होइन, आफू जस्तो लाग्यो । स्वतन्त्रता भन्दा ठूलो चिज केही छैन । एकदिन उस्ले घरको डस्टबिनमा फोहर कोतरेर हेर्दा एउटा अनौठो चिज भेटायो । पछि थाहा पायो, त्यो कण्डम रहेछ । भित्र घरको बन्द कोठामा साहु र साहुनीको यौनक्रिडा, बाहिर साथीहरुको । बीचमा अलपत्र परिरहेको एउटा मात्र उस्को अभागी लिङ्ग, जस्मा झिँगा भुन्भुनाएर जाने बेलामा थुकेर जान्थे । अव उस्लाई थालभरिको मासुमा मन लाग्न छाड्यो । सकिने भए, त्यो भुस्याहा कुकुरको हुलमै गएर मिसिउँ जस्तो लाग्यो । तर, कहाँ स्वीकृति छ र त्यसको ? ऊ त त्यस घरको रक्षक भएर घरमा कोही अपरिचित ब्यक्ति आयो भने भुक्न बाध्य छ ।
    एलेक्सको व्यवहारमा परिवर्तन आउन थाल्यो । विस्तारै उस्को पुच्छरको चञ्चलता पनि मर्न थाल्यो । मासु भात पनि खान छाड्यो । एकदिन त साहुको छोरालाई नै टोक्यो । त्यस एक हप्ता पछि साहुकी छोरीलाई टोक्यो । उस्को यस्तो परिवर्तित व्यवहारले साहु र साहुनीले उस्लाई बौलाउन लागेको थानी घरबाट बाहिर निकाले ।
    एकाबिहान ऊ त्यो गोल्डेन गेट त्यागेर बाहिर आए टुकुटुकु । उस्लाई देखेर शेरेले सोध्यो–‘ किन आएको यता ? मासु भात खान मन लाग्दैन ?’
    एलेक्सले शेरेलाई मुस्कुराउँदै भने–‘सेक्स सामु मासु भात केही पनि होइन रहेछ यार । मलाई सेक्स चाहियो यार । साहु र साहुनीहरु बन्द कोठामा सेक्स गर्ने, तर मेरो यौन इच्छालाई भने बर्षोसम्म कुल्चेर बसे । के जनावरको लिङ्ग नै हुँदैन ? के उस्लाई यौन प्राप्तिको अधिकार नै हुँदैन ? यसैकारण विद्रोह गरी आएको ।’
    ‘कसरी विद्रोह गर्यो ?’ समूहको एक भुस्याहा कुकुरको जिज्ञासु प्रश्न ।
    ‘पहिला साहुको छोरालाई टोके । त्यसको एक हप्तापछि साहुकी छोरीलाई । त्यस पछि मलाई बौलाएको थानेर साहु र साहुनीले घरबाट निकाले ।’
    शेरेले बडो गर्व साथ बोल्यो–‘लँ तँ आइस्, तँलाई हाम्रो समूहको सदस्यता दियौ । पहिलो चोटि हाम्रो टोलमा आएको छस्, के माग्छस् माग । हाम्रोमा आगन्तुक साथीलाई भनेकै दिने चलन छ ।’
    एलेक्सले भन्यो–‘म पिन्कीसित सेक्स गर्न चाहन्छु ।’
    अरु सबै कुकुरहरु दङ्ग परे । अरु सबै भुस्याहा कुकुरहरु पर गए, साथमा शेरे पनि । बाँकी थियो त एलेक्स र पिन्की मात्र । पिन्कीले पनि मेरो लागि मासु भात त्यागेर आएको भनी समर्पण भावमा भुइँमा थचक्क बसी । एलेक्स पिन्कीमाथि चढे । उस्लाई जीवनमा पहिलोपटक एउटा विशेष आनन्दको अनुभूति भयो । कहीँ परबाट आएको ढुंगाले एलेक्सको जिउमा डयाम्म लाग्यो । त्यसको चोटले कुइँकुइँ गर्दै पिन्कीबाट छुटिएर सडकको अर्को कुना लागे । एकक्षण पछि चोट लागेको ठाउँमा जिब्रोले चाटदै सोच्यो – कस्ता निष्ठूर हुन्छन् मान्छेहरु । के कुकुरलाई सेक्स नै चाहिन्न ? के यौन र प्रजनन उस्को मौलिक अधिकार होइन ? हामीलाई पनि बन्द कोठा र कण्डम देऊ, हामी पनि तिमीहरुझैँ सभ्य सेक्स गर्छौँ । यो सडकको छताछुल्ल यौन क्रिडा हाम्रो कुकुरगत निजी अधिकार हो । ढुंगा बर्षाउने कसैलाई अधिकार छैन । हाम्रो त्यो कुकुर अधिकारको हनन हो । बरु तेरो ढुँगाले लागेर म सहिद बनुँला, तर पिन्की र मेरो यौन क्रिडा कहिले समाप्त हुने छैन । आफ्नो चोट भुल्दै, पिन्कीलाई पछ्याउँदै ऊ दौडिरहयो, सडकको पर परसम्म । एउटा मानिस परबाट कराएको सुनियो– कार्तिके कुकुरहरु !

  • टेक्ससमा निबन्ध प्रतियोगिता, नियति र ओजस्वी विजेता

    टेक्ससमा निबन्ध प्रतियोगिता, नियति र ओजस्वी विजेता

    टेक्सस । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीका लागि गत महिना शुरु गरेको बुद्ध र उनको शिक्षा बिषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा विजेताद्वय नियति श्रेष्ठ र ओजस्वी अर्याललाई ईभ्यालुएटर्स च्वाईस अवार्ड र संसा गुलाती र रयान मान सिंह लाई अनरेवल मेन्सन अवार्ड बाट सम्मानित गरियो ।

    नियति श्रेष्ठलाई उक्त पुरुस्कार फोर नोवल युथ र ओजस्वी अर्याललाई बुद्धिजम एन्ड साईन्स, हाऊ ओभरल्याप बिषयक निबन्धको लागि प्रदान गरेको हो। किंडर गार्डन देखि १२ कक्षा सम्मका विद्यार्थीले भाग लिन पाउने कार्यक्रममा ४ कक्षा देखि १२ कक्षा सम्मका १६ जना विद्यार्थीले भाग लिएका थिए। कार्यक्रममा सम्पुर्ण प्रतियोगीले आ आफुले तयार पारेको निबन्ध पढेर सुनाएका थिए ।

    एशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरि लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताब हरुको लिंक, प्रतियोगिताका नियम, प्रतियोगी निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यले जानकारी गराएका थिए । प्रतियोगितामा भाग लिने विद्यार्थी लाई ४ हप्ताको तयारी समय दिएको थियो।

    उक्त कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थीलाई शोधकार्य गरि जानकारी दिने थियो । कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्ने आशा गरिएको छ । कार्यक्रमबाट विद्यार्थीले कसरी सत्य तथ्य कुरा इन्टरनेट र अन्य साधनको उचित उपयोग गरि संकलन गर्ने, यसरी संकलित सत्य तथ्यलाई कसरी निबन्धको रुप दिने तथा आफुले तयार पारेको निबन्ध सबैको अगाडी कसरि आत्मविश्वासका साथ मौखिक रूपमा व्यक्त गर्ने भन्ने बारे व्यावहारिक ज्ञान दिने यस प्रतियोगिता को उद्देश्य राखिएको छ ।

    नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास द्वारा आयोजित यस पहिलो बुद्ध र उनको शिक्षा बिषयको निबन्ध प्रतियोगिताको मुल्यांकन समितिमा एशोसिएसनका सचिब डा नीरज बज्राचार्य (संयोजक), धिरेन गुरुङ (सल्लाहकार), अनुजा घिमिरे, सुशील चौधरी, श्रद्धा श्रेष्ठ तथा सुरेश बस्याल छन् ।

  • दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

    दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

    काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधवार निवेदन दिए । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी दल दर्ता स्वीकृत गर्नेछ । माधवकुमार समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

    उता, जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले पनि बुधवार नै नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ। ठाकुरको नेतृत्वमा नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। वरिष्ठ नेता राजेन्द्र महतो रहनेगरी २४ सदस्यीय कार्यकारिणी समिति बनाइएको छ । विगतमा दलहरुको फुटले सरकार अस्थिर भएको भन्दै संविधानमा दल फुटाउन कडा प्रावधान राखिएको थियो । तर, यो प्रावधानलाई अध्यादेशमार्फत दलहरुले दुरुपयोग गरेका छन् ।

  • गायक डा.महेशराज ठाकुरको एकल गायन कार्यक्रम सम्पन्न

    गायक डा.महेशराज ठाकुरको एकल गायन कार्यक्रम सम्पन्न

    न्युयोर्क

    गायक डा. महेशराज ठाकुरको एकल गायन कार्यक्रम न्युयोर्कको ज्याक्सन हाइटस्थित गोर्खा रेष्टुरेन्टमा सम्पन्न भएको । करिब तीन घण्टासम्म चलेको गायक ठाकुरको एकल गायन प्रस्तुति हिमालय कल्चर एकेडेमी स्कुलको आयोजनामा सम्पन्न भएको हो । भारतबाट शास्त्रीय संगीत अध्ययन गरेका गायक ठाकुर सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका गायक हुन् । दुई राष्ट्रिय पुरस्कार जिति सकेका गायक प्राध्यापक पनि हुन् ।

    न्युयोर्कस्थित वाणिज्य महादूतावासका वाणिज्यदूत विष्णु गौतमको आतिथ्य र संयुक्त राष्टसंघका लागि नेपाली स्थायी राजदूत अमृतबहादुर राई प्रमुख अतिथमा कार्यक्रममा भएको हो ।
    कार्यक्रममा गायक डा. ठाकुरले नेपालका पुराना कलाकारहरुको आधुनिक तथा लोकगीतहरु गाउनुका साथै आफ्नै एल्वममा रेकर्डका गीतहरु गाएर दर्शकको मन जितेका थिए । गायक ठाकुरलाई गायिका संगीता मुखिया छोचुले युगल गीतमा साथ दिनुभएको थियो भने संगीततर्फ न्हुच्छेनारायण डंगोल, अभय ढुंगेल, सुभाष दाहाल र हेमराज राईले साथ दिएका थिए ।
    बरिष्ठ कालाकार तथा लेखक रामराज क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा दर्शक तथा सहभागीको उल्लेख्य उपस्थिति थियो ।