Category: कला / साहित्य

  • माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

    माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

    काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएसँगै आयोगले उनीहरुको पद खारेज गरिदिएको हो ।

    निर्वाचन आयोगका अनुसार रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह माओवादी छाडेर एमालेमा गएसँगै उनको समेत सांसद पद खारेज भएको छ । सरकारबाट समेत प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएपछि उनी अहिले मन्त्री पनि छैनन् ।

    रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद समेत गएको छ । महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको छ ।

  • भगवानको वस्त्रधारी विलासी राजा

    भगवानको वस्त्रधारी विलासी राजा

    नीतिकथा प्रस्तोता : सुपेन्द्र बस्नेत, बोष्टन

    समाजमा सयौं वर्ष अघिदेखि सुनाउदै र सुन्दै आइरहेका कयौं यस्ता किम्बदन्तिहरु छन् , जो आज पनि व्यक्ति, परिवार, समाज, देश र संसारमा सकारात्मक सुधारका लागि आवश्यक ज्ञान, शिक्षा र सीप प्रदान गर्ने ब्रम्हास्त्रको रुपमा सावित छन् । बस बुझ्न र लागू गर्न सक्नु पर्यो । बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको बिड साबित तिनै ब्रम्हास्त्ररुपि किम्बदन्ति मध्यको एक समय सान्दर्भिक कथा;
    एउटा गरिब देशमा एक धनी राजा थिए । जो देश र प्रजाको उन्नति र प्रगतिमा भन्दा पनि आफू विलासी जीवन बिताउनमा निकै भोका थिए । उनको लालसा, विलासी महत्वाकांक्षा, स्वार्थ, अहंकार र दम्भ दिनप्रतिदीन बढ्दो थियो भने, जनता र देशप्रति राजधर्मको मोह र भूमिका घट्दो थियो । एक दिन एउटा जोगी सोही राजाको दरबारमा पुगेर द्वारपाललाई भेटी राजालाई भेट्ने ईच्छा जाहेर गरे । तर, द्वारपालले राजालाई दर्शनभेट दिन असम्भव रहेको जनाए । जोगीले आफू राजाकै भलो हुने अत्यन्त महत्वपूर्ण कामका लागि आएको भनेपछि द्वारपालले उक्त खबर राजालाई जाहेर गरे । राजाले जोगीलाई दर्शनभेट दिदै आफुलाई भेट्नुको कारण सबिस्तार जाहेर गर्न आदेश दिए । उसले राजाको आदेश अनुसार आफूले छ महिना भित्र अत्यन्त दुर्लभ बहुमूल्य देवस्त्र (भगवानले लगाउने लुगा) उपलब्ध गराउन सक्ने, तर त्यसका लागि धेरै धन दौलत खर्च गर्नु पर्ने कुरा राजालाई जाहेर गरे । विलासी जीवन बिताएका राजाले पृथ्वीमा देवताको वस्त्र लगाउने आफू पहिलो मानव बन्ने, विश्वमा चर्चित हुने र संसारकै शक्तिशाली राजा बन्ने लालसाले उक्त प्रस्ताव तत्काल स्विकार गरे । र, देशको ढुकुटी नै रित्याएर भए पनि कुनै पनि हालतमा छिटो भन्दा छिटो देवस्त्र उपलब्ध गराउन हुकुम दिए। राजाको हुकुम अनुसार आसेपासेहरुले सिघ्रातिसिघ्र जोगीलाई पहिलो किस्ता स्वरुप रकम उपलब्ध गराउदै संझौता मुताबिक कार्य अगाडि बढाउन निर्देशन दिए । जोगी पनि समय सिमाभित्र काम फत्ते हुने विश्वास दिलाउदै पहिलो किस्तावापत प्राप्त रकम लिएर आफ्नो बाटो लागे। जोगी बीचबीचमा दरबार पुगेर राजालाई आफ्नो जिम्मेवारीको कार्यप्रगति जाहेर गर्ने र किस्ता किस्तामा कबोल रकम उठाउने गर्थे। समय बित्दै गयो । जोगीले दिएको समय सिमा जति जति नजिकिदै गर्थ्यो । त्यति त्यति राजालाई देवस्र लगाउने भोक अत्याधिक जाग्ने गर्थ्यो।दरबारलाई जोगीले देवस्त्र समयसिमा भित्रै आइपुग्ने विश्वास दिलाएका कारण देवस्त्र देख्न पाउने सपनाले दरबारमा कौतुहलता र उत्साह जगाई रहेको थियो । नभन्दै संझौता अनुसार समय सिमाको अन्तिम दिन बाजागाजा सहित ठुलो बाकस लिएर जोगी दरबारमा हाजिर भए। यसले दरबारमा खुसीको सिमा रहेन । जोगीले राजालाई वस्त्र हस्तान्तरण गर्नु भन्दा अगाडि “जो ब्यक्तिलाई आफ्नो पिताप्रति शंका छैन, उसैले मात्र देवस्त्र देख्न सक्ने, तर, शंका हुनेले देख्न नसक्ने” वस्त्रको विशेषता रहेको बताए । जोगीले बाकस खोलेर एकपछि अर्को वस्त्र निकालेर दिदै राजालाई आफ्नो वस्त्र फुकाली धारण गर्न (लगाउन) भने । यसो भन्दा राजा अचम्मित भए । किनकी उनले जोगीले लगाउन दिएको कुनै पनि वस्त्रको आकार, प्रकार, रंग, डिजाइन आदि केही देखिरहेका थिएनन् । केवल जोगीले गरेको खाली हातको इसारा मात्र देखिरहेका थिए । सोही अवस्था देवस्त्र धारण कार्यक्रममा सहभागी हुनेहरुको पनि थियो । तर, तैचुप मैचुप रहे ।प्रतिवाद गर्न सकेनन् । यता आफूले कुनै वस्त्र नदेखेको सत्य बोले आफूमा आफ्नो पिताप्रति शंका भएको प्रमाणित हुने र आफ्नो राजपरिवार र दरबारको बेइज्जत हुने डरले जोगीले जसो जसो भन्दै गए, राजाले पनि यथार्थ देखे झै गरी उसै उसै गर्दै गए । राजाले आफ्नो शरीरको सारा वस्त्रहरु खोलेर निर्वस्त्र हुदै प्रसन्न मुद्रामा जोगीको आदेश अनुसार उसले दिदै गरेको वस्त्र (अदृश्य वस्त्र) एक पछि अर्को गरी लगाई रहेको इसारा देखेर वरपर रहेका राजपरिवार, आसेपासे, सुरक्षाकर्मी कसैले देवस्त्र नदेखे पनि दरबार र राजाको अपमान हुने र आफ्नै पिताप्रति पनि बिश्वास नभएको प्रमाणित हुने डरले तैचुप मैचुप वाह वाही गर्दै ताली र झ्याली पिटिरहे।कुनै पनि देवस्त्र नदेखिएको भएतापनि सत्य बोल्ने हिम्मत कसैले गरेनन्। बरु उल्टै एकै स्वरमा आहा कति राम्रो / महाराजलाई कत्ति सुहाएको भन्दै वस्त्र र राजाको प्रसंसा गर्दै जय जयकार गरिरहे। राजालाई आफू निर्वस्त्र भएको वस्तुस्थितिको यथार्थ जानकारी त थियो ।तर, जोगीले भनेझै देवस्त्रको विशेषता र अरुका जय जयकारले विश्वासका साथ स्विकार गर्न बाध्य पारिरहेको थियो । जसले गर्दा राजा जोगीको आदेश अनुसार वस्त्र लगाएको झैं क्रियाकलाप गर्न बाध्य थिए । भगवानको वस्त्र धारण गरेपछि राजा (जोगीका अनुसार पृथ्वीलोकमा भगवानको वस्त्र धारण गर्ने पहिलो मानव) ले देवस्त्रधारी स्वरुप प्रजालाई देखाउदा उक्त दृश्यले संसारमै झ्याली पिट्ने , राजा र राजसंस्थाप्रति जनताको आसा, विश्वास , भरोसा र गौरव अझ उच्चाईमा पुग्ने भनि जोगीले राजालई सल्लाह दिए । सोही सल्लाह मुताबिक भगवानको वस्त्र धारणको अवस्थामा जनतालाई दर्शनभेट दिन बाजा गाजासहित राजा दरबार बाहिरिए । उक्त खबरले देवस्त्र धारण गरेका आफ्ना महान राजालाई हेर्न जनतामा पनि निकै कौतुहलता र उत्साह जागिरहेको थियो । र, आफूलाई निकै भाग्यमानी प्रजा ठानी भगवानवस्त्रधारी आफ्ना राजालाई प्रत्यक्ष देख्न ब्यग्र प्रतिक्षाका साथ सडकको पेटीमा स्वागतका लागि लाम्बद्ध भएका थिए । प्रजालाई पनि उक्त भगवानवस्त्रको विशेषता अनुसार – “आफ्नो पिताप्रति संका नहुनेले मात्र वस्त्र देख्न सक्ने तर संका हुनेले देख्न नसक्ने” कुरा जानकारी गराईएको थियो । बाजागाजासहित राजाको सवारी जसै जसै अगाडि बढ्यो, उसै उसै सबैले देवस्त्रको वाहवाही र राजाको जय जयकारका गर्दै गए । यस्तो अवस्थामा राजा भने उक्त वस्त्र सबैले देख्न सकेको, तर आफ्नो पिता सक्कली नभएकाले आफुले मात्र वस्त्र देख्न नसकेको अपसोचमा डुब्दै भित्रभित्रै रिसले मुर्मुरिएर मातालाई घृणा गर्दै थिए । राजाको सवारी अगाडि बढ्दै गर्दा जय जयकारको हल्ला सुनेर एक युवा पनि उक्त भिडतिर हानिदै आए । उनी राजालाई जय जयकार गर्दै निर्वस्त्र सहर घुमाई रहेको देखेर आश्चर्य चकित परे । किन यसो गरिएको हो भनेर सोधीखोजी गर्दा उनले सबै नालीबेली थाहा पाए । पिता सक्कली भएकाले मात्र उक्त देवस्त्र देख्न सक्छ । तर , नक्कली पिता हुनेले देख्न सक्दैन भन्ने खबर ती युवकले पहिला थाहा पाएका थिएनन् । त्यसैले उनले राजालाई निर्वस्त्र नै देखे । जे देखे , सोही भने पनि । जो यथार्थ थियो र सत्य पनि । तर राजाको घोर अपमान गरेको भन्दै सबैले ढुंगामुडा गरेर ठाँउको ठाँउ उनको ज्यान लिए । राजाका आसेपासे , नारदे, चुले , हुक्के, चिलिमे , खेताले, भेडे, ढोकेहरुले भने सत्य बोल्ने हिम्मत गरेनन् । उल्टै राजालाई खुसी तुल्याई नजिकिएर निजी स्वार्थ पुरा गर्न र आफ्नो पिताप्रति शंका गरिएला कि भन्ने डरले लहैलहैमा लागिरहे। सत्य ढाकछोप गरेर जोगीले भने झै भगवानको कुनै वस्त्र नदेखे पनि देखेको अभिनय गरिरहे । त्यसमा प्रजाहरुले पनि लोलीमा लोली मिलाउदै राजा निर्वस्त्र भएको देख्दा देख्दै पनि उल्टै वाहवाही र जय जयकार गरेर प्रसंसा गरिरहे। जसको परिणाम जोगीले राजालाई नाङ्गेझार पारी सहर घुमाएर बेइज्जत गर्न सफल भए । यसरी जोगीले राजधर्म निभाएर देश र प्रजाको हितार्थ कर्म नगर्ने राजाको विलासी , दम्भी लालसी मनोदशा बुझी षड्यन्त्रपूर्ण तरिकाले छलकपट गरेर भगवानवस्त्र धारणका नाममा उनलाई निर्वस्त्र बनाए । र, देश दौडाहमा निकालेर प्रजासामु बेइज्जत गरे । जब जब मानिसको लालसा , महत्वाकांक्षा, स्वार्थ , अहंकारले सिमा नाघ्छ, तब तब उसको हविगत यही कथाको राजाको जस्तो हुन्छ ।

  • विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

    विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

    न्युयोर्क

    न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
    प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो ।

    कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार साथै सिंगो कलाजगतका ज्ञाता आदरणीय चेतन कार्की वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ गायिका लास्मित राइज्युका गीतहरु गाएर उहाँहरुप्रति श्रद्दाभाव प्रकट गरिएको थियो ।
    लाइभ ब्याण्डका साथ सम्पन्न आजको कार्यक्रममा गायन तथा बाद्द्यबादनमा कलाकारहरु गायक डा. महेशराज ठाकुर, जगदिश समाल, संगीता मुखिया चोछोन, न्हुछे नारायण डंगोल, तिलक बम मल्ल, बिमल डाँगी, राम सिंह (बाँसुरी ) हेमराज राई (गिटार) र सुवर्ण शाक्य लगायतले प्रस्तुति दिएका थिए ।

  • आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै

    आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै

    काठमाडौं । आज विश्वभर योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यो मितिमा योग दिवस मनाउनेबारे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गरेका थिए। प्रस्तावको पहिलो समर्थक तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन योगको ठूलो भूमिका रहने गरेको मानिन्छ ।

    नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउने गरिन्छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेका कारण योगाशनमा दैवि शक्तिको समेत प्रभाव रहने मान्यता रहेको छ ।

    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने मान्यता छ । पछिल्लो समय पश्चिममा मुलुकले योगलाई आत्मसाथ गरेसँगै यसको उदगम थलो मानिने नेपाल तथा भारतमा योगको नियमित अभ्यास प्रारम्भ भएको छ ।

  • लघुकथा : बाँच्न नजानेको जीवन

    लघुकथा : बाँच्न नजानेको जीवन

    विजयदेव खनाल, अमेरिका

    न्यूयोर्कको क्विन्सस्थित एक क्याफेमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने अठोट गर्दै थिइ।

    “मिरा, मलाइ मेरो जीवनको परिभाषा नै हराए जस्तो लाग्छ। म बांचेको त छु, तर बाच्न नजानेको एउटा असफल मानिस हॅु जस्तो लाग्छ। मलाइ अब बांच्ने मन पनि छैन, मर्न पाएपनि हुन्थ्यो।”

    मेरो मुटु ढक्क फुलेर आयो। के भनेकी यसले ? आख़िर किन ? दिक्क मान्दै सोधें- “तँलाइ के भयो? आज तँ के भन्दैछस् ? खुलस्त भन्।”

    निराले सुस्तरी भनि; “हुन त मेरो कहानी सुनाएर पनि अब केही फाइदा छैन तर पनि यो सहरमा तँ मेरो सबैभन्दा मिल्ने साथी! तँलाइ भनेर मन हलुका बनाउन मन लाग्यो… ’नेपालबाट फाइनान्स र अंग्रेजी साहित्यगरी दुइ विषयमा डिग्री सकेपछि लोकसेवा आयोगको परराष्ट्र समूह शाखा अधिकृत पास गरें र मन्त्रालयमा काम गर्न लागे। तर हाइस्कुल देखिनै मेरो मनमा भने संसारको स्वर्ग अमेरिका आउने धोको मरेको थिएन । मेरो पढाइ सानो देखिनै राम्रो भएको हुनाले स्टुडेन्ट भिसा पाइपनि हालें। नोकरी गरेको धेरै नभएकोले परराष्ट्रले बिदा दिन अस्विकार गरेपछि राजिनामा दिएर यहाँ आएँ।”

    “नजिकको नातेदारहरु कोहीपनि नभएकोले टाढा चिनजानका काका कहॅा केही दिन बसेपछि उहाँहरुको व्यबहार मेरो अनुकूल हुन छाड्यो। यसै बीच मनाड्गको मेरै जातिको दाइ प्रकाश गुरुड्गसंग चिनजान र मित्रता गाढ़ा हुदै गएपछि वहांले लिएको अपार्टमेन्टको लिभिड्ग रुममा गएर बसें । वहाँ उबर (एक प्रकारको ट्याक्सी) चलाउनु हुन्थ्यो।”

    निहुरिएको टाउको उठाउदै उसले मलाइ पुलुक्क हेरी- उसका दुइवटै ॲाखामा ॲासु टिलपिल भरिइसकेका रहेछन्। मैले करुणाभावले उसको कपाल मुसारिदिए। केही क्षणपछि फेरी भन्न शुरुगरी-“केही महिनापछि एकदिन वहांले विवाहको प्रस्ताव राख्नु भयो। एकपटक त म झल्यास्स भएं । फेरि मेरो बिगत संझियें। न्यूयोर्क जस्तो विशाल सहरमा वहांको साथ र सहयोग नपाएको भए म आज कस्तो अवस्थामा कहाँ हुने थिएं होला? म्याग्दी जिल्लाको एउटा विकट गाउंमा जन्मिएकी मलाई ट्रेनमा मेट्रो कार्ड घोट्ने, कलेज पुराइदिने, ग्रोसरी(दैनिक उपभोग्य बस्तुको पसल), लण्ड्रि (लुगा धुनें ठाउं), नोकरी आदि/इत्यादिमा त वहांकै साथ/ सहयोग छ । हेर्दा अग्लो सुन्दर अनि जात पनि मिल्छ… मैले नाइ भन्न सकिन।”

    “चार बर्षको बीचमा दुइ छोरा/छोरी जन्मिए… तर यतिबेला म सोच्दैछु – आख़िर मैले चाहिं के पाएँ ? विवाह पश्चात पढाइ छुट्यो र मेरो अमेरिका आउनुको उदेश्य र सपना पनि भताभुड्ग भयो। कामनगरी बस्दा व्यक्तिगत खर्चको अभाव हुनलाग्यो। बच्चाहरुलाइ बेबीसिटर (धाइआमा) राख्नु त परको कुरा- तिनिहरुलाइ हेल्दी(पोसिलो) खानेकुरा समेत खुवाउन हम्मे हुनलाग्यो। आख़िर हामी दुइबिच दैनिक जसो कलह/ठाकठुक हुन थाल्यो। निद्रा लाग्न छाड्यो। डाक्टर कहां गएँ – डिप्रेशन भएकोछ भनेर औषधिका साथै थेरापी गराउनु पर्छ भन्यो, गराउदै छु। तर ठिक हुनुको सट्टा अझ बढ़ी तनाव र पिडा हुदैछ,”

    “नेपालमैं भएको भए यतिबेला म परराष्ट्रको उपसचिव भइसक्थें होला। सायद यही न्यूयोर्कको कन्सुलर वा मिशनमा पनि हुन सक्थें अनि सोचेर ल्याउदा आफूलाइ यहाँ भोगिरहेको जीवन व्यर्थको जस्तो लाग्दैछ। आफैंलाइ सम्हाल्न खोज्छु, सक्दिन। भित्र कता मुटुमै घाउ भएजस्तो लाग्छ। म त यहाँ मनोरोगी पो हुन आइपुगेंछु मिरा….।” यति भनेर निरा दुवै आंखाबाट बलिन्द्र धारा आँसु बहाउंदै रुन लागिन् । म किंकर्तव्यविमूढ भएं।
    क्रमश…
    (वास्तविक घटनामा आधारित यो कथाको दोश्रो भाग अर्को अंकमा)

  • मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

    मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

    न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्‍याइएको आयोजकले बताएको छ ।

    विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, तथा मनिता देवकोटासमेत सहभागि हुँदैछन् । मिस नेपाल नर्थ अमेरिका आयोजक टिमका अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोरको रुपमा नियुक्त गरिएको छ ।

    पूर्वनेपाल सुन्दरी तथा पूर्वमिस नेपाल वर्ल्ड सदीक्षा श्रेष्ठले अफिसियल कोरियोग्राफरको जिम्मेवार पाएकी छिन् । त्यसैगरी पूर्व मिस नेपाल तथा मिस नेपाल युनिभर्स मनिता देवकोटाले प्रशिक्षक तथा प्रतियोगीलाई तालिम उपलब्ध गराउने भएकी छिन् ।

    आगामी अगस्ट ७ तारीखमा न्युयोर्क शहरमा ग्रान्ड फिनाले तय गरिएको मिस नेपाल नर्थ अमेरिकाको लागि प्रतिस्पर्धीले जुन २५ सम्म आवेदन दिन सक्नेछन् । नेपाल पर्यटन बोर्डले २०२१\२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्ने भएको छ ।

    भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने मुल नारा सहित सुन्दरी प्रतियोगिता आयोजना गरिएको आयोजक मध्येका एक सैलेश श्रेष्ठले बताए । मिस नेपाल नर्थ अमेरिका संयुक्त राज्य अमेरिकामा लगातार ३ बर्षदेखि आयोजना हुँदै आएको छ ।

  • उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने

    उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने

    काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा विश्व बैंकले सवा ७ अर्ब ऋण दिने भएको छ । ७ अर्ब २० करोड ऋण सहायता उपलब्ध गराउने घोषणा विश्व बैंकले गरेको हो । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नेपालस्थित विश्व बैंक कार्यालयद्धारा जारि विज्ञप्तीमा उल्लेख छ ।

    बैकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्नेछ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोसले मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको बताएका छन् । विश्व बैंक नेपालमा बढी सहयोग उपलब्ध गराउने द्धिपक्षी निकाय हो । विश्व बैंकले नेपालको पूर्वाधार र शिक्षामा बढी रकम सहायता उपलब्ध गराइरहेको छ ।

  • जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

    जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

    काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले एक अर्कालाई गरेको कारबाही अमान्य भएको हो । राजीतिक दलसम्बन्धी ऐन अन्तर्गत यस्तो निर्णय आएको आयोगको भनाई छ । यो पार्टीको पदाधिकारीको विवरण साविक कै कायम रहने भएको छ । यसले जसपालाई बाध्यकारी रुपमा मिल्नु पर्ने देखिएको छ ।

    जसपामा अहिले दुई पक्ष छन् । एउटा पक्ष सरकारमा गएको छ । अर्को पक्ष विपक्षी गठबन्धनमा रहेको छ । प्रतिपक्षमा रहेको भट्टराई–यादव पक्षले सरकारमा गएको ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो । आयोगमा यादव पक्षले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर बुझाएको थियो। ठाकुर पक्षले पत्र काटेको थियो ।

  • कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित

    कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको मिति दुई साता पर धकेल्ने प्रस्ताव गरेको छ । कोरोना महाकारीका कारण पूर्वनिर्धारित सबै प्रक्रियाहरु पर र्ने भएकाले महाधिवेशनको मिति समेत सार्नु परेको बैठकको निष्कर्ष रहेको छ ।

    बैठकले भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावको अनुमोदन भने केन्द्रिय समितिले गर्नुपर्छ । आजको बैठकमा सभापति शेर बहादुर देउवाले आफु कुनै पनि हालतमा महाधिवेशन गराउने पक्षमा रहेको बताएका थिए । यसअघि भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय काङ्ग्रेसले गरेको थियो । पार्टीको महाधिवेशन भदौ भित्र जुनसुकै हालतमा गर्नुपर्ने संवैधानिक बाध्यता समेत रहेको छ ।

  • पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं

    पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं

    काठमाडौं । नेपालका पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा लोकतन्त्र तथा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमला विरुद्ध एक हुन आह्वान गरेका छन् । उनीहरुले यसमा ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका हुन् ।

    शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ढुंगा गिटी निकासी सम्बन्धी निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेका छन् । नेपालका सम्बन्धमा नेपालीबाटै निर्णय हुनुपर्ने र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल मान्य नहुने उनीहरुको भनाई छ ।

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरि यस्तो आह्वान गरेका हुन् ।

    उनीहरुको आह्वानको पुरा रुप

    मितिः २०७८ जेष्ठ २९
    प्रेस वक्तव्य
    प्रधानमन्त्री केपी ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको छ। नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको छ।

    गत पुष महिनामा प्रतिनिधि सभा विघटन गर्ने उहाँको कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पार्नुभएको छ।

    सर्वोच्च अदालतबाट २०७७ साल फागुन ११ गते भएको फैसलामा नेपालको संविधानको धारा ७६ का सम्पूर्ण प्रकृया पूरा गर्दा पनि वैकल्पिक सरकार गठन नहुने वा धारा ७६ को उपधारा ५ अन्तरगत गठित सरकारले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मात्र प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोक्न सकिने संवैधानिक व्यवस्थाबारे स्पष्ट व्याख्या भएको छ।

    यस्तो स्पष्ट फैसला समेतको उल्लंघन गर्दै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी उहाँ काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भइसकेको अवस्थामा अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम झै प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने,संविधान सभाबाट जारी नेपालको संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशिल विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रीपरिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्ने, यसरी विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने, सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका छन्। हामी यस्ता कार्यहरुको भर्त्सना गर्दछौं।


    देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला राज्ययन्त्रलाई समग्ररुपमा महामारीबाट जनताको सुरक्षामा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीबाट स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेती गरिएको छ। सत्ता स्वार्थमा लिप्त भएर राज्ययन्त्र, सरकारी साधन र स्रोतको व्यापक दुरुपयोग गरिएको छ। भ्रष्टाचार र अनियमित कार्यलाई प्रधानमन्त्री र उहाँका निकटस्थहरुबाट संरक्षण र प्रश्रय दिइएको छ। कोरोना संक्रमणका विरुद्ध दिइने खोप प्राप्त गर्न राज्य प्रणालीको स्थापित पद्धति र मान्यता अनुरुप व्यवस्थित काम नगरी प्रचारमुखी मार्ग अवलम्बन गरिएको छ।

    पहिलो खोप लगाएका मानिसहरुले समयमै दोस्रो खोप नपाएर पहिलो खोप निरर्थक हुनसक्ने स्थिति उत्पन्न भएको छ। यस्तो अवस्थाप्रति गम्भीर हुँदै खोपको समुचित व्यवस्था गर्न, बन्द र बन्देजको अवस्थामा विपन्न, श्रमजीवी र कमजोर वर्ग एवम् समुदायलाई परिरहेको मर्का र कठिनाईप्रति संवेदनशील भई तिनीहरुको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजना सहित अग्रसर हुन नेपाल सरकारसंग माग गर्दछौं।


    प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहँुमा देशका विभिन्न भागबाट ढुँगा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ।

    यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भूबनौटमा असर पर्नगई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ। विशेषतः चुरे र महाभारत श्रुंखलामा हुने त्यस्तो उत्खनन्बाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने वातावरणविद्हरुको भनाईरहेको छ।

    आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं। काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरुलाई समेत आग्रह गर्दछौं।


    नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाल जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग समेत हार्दिक अपिल गर्दछौं। नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवैको ध्यान आकर्षित गर्न चाहन्छौं।

  • यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

    यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

    काठमाडौं । यस वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पहिलो पटक यस्तो मोडल अपनाइएको थियो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।

    कोरोना महामारीको बढ्दो संक्रमणका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएको भन्दै यस्तो निर्णय भएको हो । यसअघि राष्ट्रिय परिक्षा बोर्डले एसईई परिक्षा वैकल्पिक माध्यमबाट गर्न सरकारसँग सिफारिस गरेको थियो । आन्तरिक मूल्यांकन विधिबाट गर्दा अब विद्यालयहरुले आफै विद्यार्थीको नम्बर तय गरि केन्द्रमा बोर्डमा पठाउन सक्ने छन् ।

  • आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?

    आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?

    दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ ।

    कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी भोट हाल्न सक्ने छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन् । मतपरिणाम समेत साँझसम्म आइसक्ने बताइएको छ । यहाँ नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमाले गएपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

    यहाँ नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनाराय पाण्डे उठेका छन् ।

    उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेका छन्। उनी हालै नेकपा एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गरेका उमेदवार हुने । बागमतिमा जस्तै लुिम्बनीमा पनि माधवकुमार नेपाल पक्षले कहाँ भोट दिन्छन् भन्ने विषय भने चासोका साथ हेरिएको छ ।

  • आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट

    आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट

    काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस मनाईंदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनको अवसर पारी नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो । गणतन्त्र घोषणा भएको समेत १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो ।

    दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य गर्दै जनताका प्रतिनिधिले गणतन्त्र घोषणा गरेका थिए । यस वर्ष कोरोना भाइरसका कारण सरकारले औपचारिक कार्यक्रम भने आयोजना गरेन । सरकारले दीपावली गरेर दिवस मनाउन भनेको छ । यस दिवसको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा ४३० कैदीको भुक्तान हुन बाँकी कैद छूट दिएकी छिन् ।


    राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु

    संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु

    काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ ।

    शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिटको संख्या हो । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा समेत रिट लिएर सर्वोच्च पुगेका थिए। देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

    तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको छ । यो घटनापछि विपक्षी दलले सर्वोच्चको ढोका ढकढकाएको हो । सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने माग समेत गरेर रिट परेको छ ।

  • स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

    स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

    स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

    स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्यो
    स्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्यो
    यतिसम्म हत्यारा भयो सरकार
    लासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो

    वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थाले
    संरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थाले
    हदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरी
    साइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले

    चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थाले
    जोगाउन सत्ता शक्ति रातविरात अनुयायी धाउन थाले
    यतिसम्म निर्लज्ज नभएको भए हुन्थ्यो
    लाखौलाख भाञ्जाभाञ्जी हिजैबाटै मामाघर आउन थाले

    उपचारविनै मर्नुपर्ने घरका सन्तान ढल्न थाले
    जासुसलाई बैधानिकता राजधानीमै चल्न थाले
    कहिलेसम्म मौन बस्ने रातो रगत भएकाहरु
    स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले !

  • एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

    एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।

    यसले कम मात्र नेता माधव खनाल पक्षमा रहने र बाँकि नेताहरुलाई आफुतिर तान्ने सके आफ्नो गूट बलियो हुने आंकलन ओलीको छ । तर, एमालेका वरिष्ठ नेताहरुले भने पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको निष्कर्ष निकालेका छन् ।

    उनीहरुले कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम गरेको भन्द्यै ओलीलाई स्पष्टिकरण नदिने बताएका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन नेताहरुलाई पत्र पठाएका थिए ।

    स्पष्टीकरणमा वैशाख २७ मा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न राखिएको छ ।

  • विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

    विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

    काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेकी छिन् । विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपनि राष्ट्रपतिले अमान्नय हुने घोषणा गरेकी थिइन् । सोही विषयमा विपक्षी गठबन्धन हस्ताक्षरसहित नै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा छ ।
    रिट हाल्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले सांसदहरुको हस्ताक्षर, नागरिकताको फोटोकपीसहितका दस्तावेज तयार पारेका छन् ।

  • राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

    राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

    राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।

    अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था छ ।

    मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

  • प्रतिनिधिसभा विघटनबारे  सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

    प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् ।

    अदालतले फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको उनले स्मरणण गराएका छन् । संविधानको धारा ७६ .५) अनुसार वैकल्पिक सरकार गठन गर्न वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको उनको निष्कर्ष रहेको छ ।

  • गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

    गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नु पनि सबैलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन(कस्तो सेटिङ) प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए ।’

    उनी थप भन्छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण१नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।/

  • राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै

    राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् ।

    कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो कदमलाई संविधान फाल्ने षडयन्त्रको संज्ञा दिएका छन् । कांग्रेस नेता गगन थापाले अब राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त प्रयास भएको उल्लेख गरेका छन् । यसै सन्दर्भमा कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले पदाधिकारीसहितको बैठक बोलाएको हो। बैठक शुक्रबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

  • बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

    बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

    रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्। उनले ५०८८ मतभार पाए ।

    संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

  • आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

    आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

    उनीहरुलाई नेमकिपाका कृष्णबहादुर तामाङले चूनौति दिँदैछन् । देवकोटा र बादल दुबै एमाले भएकाले एमालेको एकता प्रक्रियाका लागि समेत यो महत्वपूर्ण निर्वाचन मानिएको छ । बादल सूर्य निर्वाचन चिह्नबाट चुनाव लड्दैछन् । यो एमालेको चिन्ह हो देवकोटाले भने कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् ।

    देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहले समर्थन गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

  • सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने

    सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने

    काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।

    न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क नलगाउनेसँग जरिवाना लिने उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने अधिकार नेपाल प्रहरीसँग नरहेको भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

    ‘यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल नेपाल प्रहरीले अनधिकृत रुपमा प्रयोग गरेको देखिँदा प्रस्तुत रिटको टुंगो नलाग्दासम्म मास्क नलगाउने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू, नगराउनू’ आदेशमा उल्लेख छ ।

    यद्दपी कोरोना महामारीमा मास्क लगाउनुपर्ने नागरिकको दायित्व भएको पनि सर्वोच्चको भनाई छ । तर, विपन्न नागरिकलाई मास्कको सहज आपूर्ति र वितरण नभएका कारण समस्या भएको सर्वोच्चले उल्लेख गरेको छ।

  • राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप

    राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍ ६ जेठमा हुँदैछ । निर्वाचनमा दुबै उमेदवार एमालेका छन् । तर, एमालले भने रामबहादुर थापामगर ुबादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका छन् ।

    उनले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उप्रमुखलाई पत्र लेख्दै यस्तो जानकारी गराएका हुन् । एमालेमा विवाद रहकै अवस्थामा कांग्रेस, माओवादी र एमाले माधव नेपाल समूहको तर्फबाट माधव कुमार नेपाल पक्षका नेता खिमलाल देवकोटा बादलको विपक्षमा उठेका छन् ।

    उनले आफुले कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने बताएका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा उपस्थित भई मतदान गर्नुपर्ने भएको छ । मतदातालाई कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन भनिएको छ ।

    निर्वाचन आयोगका अनुसार निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण नेगेटिभ आएको पीसीआर रिपोर्ट ल्याउनु पर्छ । पोजेटिभ आएको भए छुट्टै मतदात केन्द्र बनाएर भोट हाल्ने व्यवस्था गरिने भएको छ ।

  • मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय

    मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय

    काठमाडौं । २८ वर्ष अगाडी भएको एक रहस्यमय दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान गयो । आज २०५० साल ३ जेठमा भएको यो घटनाको सम्झनामा आज एमाले नेताहरुले विज्ञप्ती निकालिरहेका छन् । तर, पटक पटक एमाले सत्तामा पुग्दा समेत घटनाको यथार्थ पत्ता लगाउन नसक्नुमा भने एमाले कार्यक्रर्ता स्वयमः आक्रोसित हुने गरेका छन् ।

    नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन पुनः सम्बन्धित पक्षमा आग्रह गरेका छन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा जिप दुर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । यो दुर्घटना नभई हत्या भएको आरोप कार्यक्रर्ताको छ ।

    नेता नेपालले जननेता भण्डारी र आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआएको भन्दै घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको उल्लेख गरेका छन् ।

  • काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन

    काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन

    काठमाडौं । महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ ।

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

    सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/ इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ । जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

  • बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो

    बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिँदैछ । राष्ट्रपतिले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी थिइन् । यो समयसीमा आज राति ९ बजे सकिने छ । तर, बिहीबार बिहानसम्म नयाँ सरकार गठनबारेको अलमल टुंगिएको छैन । खासगरी जनता समाजवादी पार्टीमा देखिएको दुई धारले विपक्षी मोर्चामा बहुमत नपुग्ने देखिएको छ ।

    यसका लागि एमालेका सांसदले राजिनामा दिनुपर्ने हुन्छ । राजिनामाको चर्चा चलेपनि जसपाको निर्णय नआउँदा एमाले माधव नेपाल पक्ष पर्ख र हेरको अवस्थामा रहेको छ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएको छ । जनता समाजवादी पार्टीको बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष सकिएपछि अझै अन्यौल बढेको हो ।

  • प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

    सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

    विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।

  • एसईई र कक्षा १२ को परीक्षा स्थगित

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

    बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने कक्षा १२ को परीक्षामा करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

    यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

    यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।