Category: कला / साहित्य

  • आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

    आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ ।

    केपी शर्मा ओलीले नपाउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेमा १२१ सांसद छन् । त्यसमा पनि सबै मत आउने निश्चित भइसकेको छैन । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेस र ४९ सांसद भएको माओवादी केन्द्रले सरकारलाई विश्वासको मत दिने छैन । ३२ सांसद भएको जसपाले ह्विप जारी नगरेका कारण असन्तुष्ट सांसदले ओलीलाई मत दिने छैनन् । यो अवस्थामा राजनीतिक थप पेचिलो बन्ने निश्चित भएको छ ।

  • एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो ।

    अदालतको आदेशपछि माओवादी र एमाले बीचका एकता भंग भएसँगै ओलीले नेपाल पक्षका नेताहरुलाई अपमानजनक ढंगले कारवाही गरेका थिए । ओलीले शर्त नमाने २७ वैशाख अगाडी नै एमालेका सांसदको राजिनामा आउने छ ।

    अर्थातः आज साँझसम्म नै एमालेका प्रत्यक्षबाट निर्वाचित सांसदल राजिनामा गर्र्नेछन् । शनिवार साँझ बसेको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पनि ओलीले शर्त नमाने राजिनामा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले २७ वैशाखमा विश्वासको मत लिन ससद्को विशेष अधिवेशन बोलाएका छन् ।

    विश्वासको मत पाउन ओलीले अहिले माधव नेपाल पक्षका नेतासँग नरम रुपमा प्रस्तुत भएका छन् । विश्वासको मत पाएपछि कारवाही गर्ने कारवाही गर्ने ओली प्रवृत्ति बुझेका नेताहरु यसपटक भने नझुक्किने भएका हुन् ।

  • दोलखा भीमसेन मन्दिरमा आयो पसिना

    दोलखा भीमसेन मन्दिरमा आयो पसिना

    दोलखा । दोलखाको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमसेनमा पसिना आउँदा देशमा कुनै शुभ वा अशुभ हुने धार्मिक विश्वास रहेको छ । एक शिला तीन अवतारको रुपमा भीमसेनलाई पुज्ने गरिएको छ । यसअघि २०७७ मंसिर ९ गते र २०७६ फागुन ८ गते भीमसेन सीलामा पसिना आएको थियो। गत वर्ष सवा घण्टासम्म पसिना आएको थियो । यसपछि मुलुकमा कोरोना महामारी फैलिएको विश्वास गरिएको छ ।

    शनिबार मध्यान्ह सवा १२ बजेबाट पसिना आउन थालेको हो । भीमेश्वरमा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारले आजै क्षमा पूजा गरेका छन्। थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था छ । नेपालमा ठूल्ठूला परिवर्तन र राजाहरुको वंश नास हुने समयमा पसिना आएको थियो ।

  • राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?

    राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?

    काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुने भएको छ । निर्वाचन आगामी जेठ ६ गते तोकिएको छ । निर्वाचन आयोगले शुक्रबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्ने र आजै उम्मेदवारको नामावली पनि प्रकाशित गर्ने तयारी रहेको छ ।

    माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उठ्दैछन् । एमालेको तर्फबाट भने उमेदवारको टुंगो लागेको छैन । गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भनिएको भए पनि उनले हार्ने चुनाव नलड्ने अडान लिएका छन् ।

  • ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन

    ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका प्रधान बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

    वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।

    ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।

    प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

  • जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा

    जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा

    काठमाडौं । जेठ २५ देखि ८ असारसम्म निर्धारित जनगणना रोकिएको छ । कोरोना महामारीका कारण घरघर पुगेर जनगणना हुने अवस्था नभएसँगै सरकारले जनगणना रोक्ने निर्णय गरेको हो । जनगणना हरेक १० वर्षमा हुने गर्छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम गर्नुपर्ने भएकाले तत्कालका लागि यो कार्यक्रम नै स्थगित गर्नु परेको केन्द्रिय तथ्याङक विभागले जनाएको छ ।

    जनगणनाका सबै काम तत्कालका लागि रोक्ने निर्णय मन्त्रीपरिषद्बाट भएको हो । कोरोना संक्रमणको दर कम भएसँगै आगामी आर्थिक वर्षबाट भने पुनः जनगणनाको कामलाई गति दिइने भएको हो । विभागले बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो ।

    कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको उल्लेख गरेको छ ।

  • नेपालमा ५५० पत्रकारमा कोरोना, ७ को मृत्यु

    नेपालमा ५५० पत्रकारमा कोरोना, ७ को मृत्यु

    काठमाडौं । नेपालमा अहिलेसम्म ५५० पत्रकारमा कोरोना पुष्टी भएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी गराएका छन् ।


    सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार जारी छ । उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग समेत गरेका छन् । उनले संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरेका छन् ।

    “कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।

  • गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक

    गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक

    काठमाडौं

    लामो समय शिक्षण पेशामा संलग्न साहित्यकार भरत सिग्देलको “मुटुभित्र सीमा दुख्छ” बोलको स्वदेशगान युट्युब मार्फत सार्वजनिक भएको छ।
    सिग्देलको शब्द-रचना, लोकप्रिय सङ्गीतकार विकास चौधरीको सङ्गीत र युवा गायक विकास लिम्बुको स्वरमा रेकर्ड गरिएको गीतमा मनोज गजुरेल, उत्तम केसी, लय सङ्ग्रौला, रश्मी भट्ट, उदय सुब्बा, सुचित्रा श्रेष्ठ, सुवास मेचे लगायतका प्रतिष्ठित राष्ट्रिय कलाकारहरूले अभिनय गरेका छन् ।

    देशको सिमाना मिचिँदाको पीडालाई शब्दमा उतारेर लेखिएको गीतले चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा, राष्ट्रिय फूल लालीगुराँस, शान्तिदूत गौतम बुद्धको जन्मभूमी लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा तथा प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डबाट बहने पवित्र त्रिशुली नदी लगायतका राष्ट्रिय सम्पदाहरूको महिमा गाएको छ।
    MP 2 N Creation नामक युटुब च्यानले बुधवार सार्वजनिक गरेको भिडियोको छायांकन नुवाकोट जिल्लाको त्रिशूली र तादीको सङ्गमस्थल देवीघाटस्थित पृथ्वीनारायण शाहको सालिक, नुवाकोटकै तारुका, काठमाडौ, लुम्बिनी लगायतका स्थानहरूमा गरिएको छ ।

  • बन्द भए देशभरका स्कुल, उडान जारी रहने

    बन्द भए देशभरका स्कुल, उडान जारी रहने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच देशभरका स्कुल बन्द गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्कुल बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने गरी निर्णय भएको छ ।

    मंगलबारदेखि तोकिएको सबै प्रकारका परीक्षा समेत रोकिएको छ । बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई, मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने भएका छन् ।

    यसै अनुसार काठमाडौं उपत्यकामा समेत निषेधाज्ञा घोषणा भएको छ । उपत्यकासहित बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा जारी भएको छ । निषेधाज्ञाका बीचमा पनि अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने जारी रहेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपाली अनिवार्य १० दिन होम क्वारेन्टिन र विदेशी नागरिक होटल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

  • ६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न

    ६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न

    काठमाडौं । भूकम्पले भत्काएका देशभरका ६ हजार २४६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार देशभर सात हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा भत्किएका थिए । त्यसमध्ये ६ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ । बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिसक्ने प्राधिकरणको तथ्यांक छ ।

    आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनःनिर्माण विसं २०७२ बाट गर्न थालेको हो। विसं २०७२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो। क्षति भएकामध्ये एक हजार ५१९ विद्यालयको पुनःनिर्माणको काम हुन नसकेको राससले जनाएको छ ।

    जग्गा विवाद, पुरातत्वको कारणले ती विद्यालयको पुनःनिर्माण हुन नसकेको हो। अहिलेसम्म सात हजार ५५३ विद्यालयका ४८ हजार ७११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार ६५३ कोठा अन्तिम चरणमा रहेका छन्। पाँच हजार ३६ शौचालयमध्ये दुई हजार ७०७ सम्पन्न र दुई हजार ३२९ निर्माणाधीन रहेका छन्।

    एक हजार ७०१ खानेपानीमध्ये २१६ सम्पन्न र एक हजार ४८५ निर्माणाधीन रहेका छन्। क्षति भएकामध्ये ३२७ वटा विद्यालय मर्ज भएका र १५३ विद्यालय सञ्चालनमा छैनन्। विद्यालय भवन पुनःनिर्माणका लागि रु एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख आवश्यक पर्नेमा हालसम्म रु ५३ अर्ब १९ करोड ३९ लाख खर्च भइसकेको छ।

  • गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो

    गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो


    अमृता के सी ( रोनी )
    काठमाडौँ, बैशाख ९ ।
    गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरमा रहेको गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा गजुर राखिएको छ।श्री महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिको आयोजनामा बैशाख ९ गते बिहीबार दिउँसो १ बजे नगर प्रमुख सन्तोष चालिसेद्वारा सुनको जलप सहितको गजुर राखिएको हो ।  

    गजुर प्रतिस्थापन कार्यक्रममा नगर प्रवक्ता एवं वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर सल्लाहकार दिपक रिसाल ,वडा १ का अध्यक्ष राम मानन्धर , वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ ,वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , वडा ६ का अध्यक्ष रमेश अर्याल , वडा ९ का अध्यक्ष राजिब थापा, वडा ४ का वडा सदस्य जयराम महत, गोकर्ण प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल,सुनौलो पाइलाकि अध्यक्ष एवं समाजसेवी रोज बिष्ट, गोकर्ण महिला संजालकी सचिव अम्बिका निरौला, समाजसेवी प्रमिला शेर्पा लगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

    मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई लेपनबाट आकर्षक बनाइ पशुपतिनाथ मन्दिर जस्तै बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको श्री महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले जानकारी दिए।गोकर्णश्वर मन्दिरमा प्रत्येक वर्षको कुशे औँशीका दिन ठूलो मेला लाग्ने गर्दछ।

  • पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

    पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

    काठमाडौं । सरकारले जापान, अष्ट्रेलियासहित पाँच मुलुकमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बुधबारबाट लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको मन्त्रालयको भनाई छ ।

    वैदेशिक अध्ययन अनुमति पत्र दिन बन्द गरिएका ५ देश धेरै नेपाली विद्यार्थी अध्ययनका लागि जाने मुलुक हुन् । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।

  • टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

    टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

    काठमाडौं । टोखा नगरपालिका भित्रका विद्यालय यही वैशाख ९ गते देखि बन्द हुने भएका छन् । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

    नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ गते देखि विद्यालय बन्द गर्न लागेको विश्व न्युजलाई बताए ।

    ‘वैशाख ५ गतेदेखि ८ गते सम्म सबै विद्यालयका विद्यार्थीहरुमा दोस्रो चरणको कोरोना सम्बन्धि जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ, ‘ उनले बताए ।

    यस्तै टोखाले नगरपालिका भित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक ८, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

  • शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय,अनलाइन कक्षा सञ्चालन गरिने

    शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय,अनलाइन कक्षा सञ्चालन गरिने

    काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।

    तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।

    त्यस्तै जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ।

    यस्तै आजको बैठकले अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय भएको छ।

    ‘आजको बैठकमा अन्तर्राष्ट्रिय नाकामा ६ वटा होल्डिङ सेन्टर जसमा प्रदेश १ मा २, प्रदेश २ मा १, लुम्बुनी र सुदूरपश्चिम प्रदेशमा २(२ वटा होल्डिङ सेन्टर राख्ने निर्णय गरेको छ।

    त्यस्तै बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

  • प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

    प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

    जनकपुर । प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाले प्रस्ताव गरेका छन् । प्रदेश सभा २ सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन सांसदहरुसँग आह्वान गरेको थियो । सोही अनुसार सत्तारुढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समान नाम र राजधानीको प्रस्ताव दर्ता गराएका हुन् ।

    प्रदेशसभा सचिवालयले वैशाख ९ गते भित्रै नाम र स्थायी राजधानीका लागि दल तथा प्रदेशसभा सदस्यलाई आ–आफ्नो प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । आइतबार जसपाको तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले प्रदेशको नामका लागि प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन् ।

    जसपाले स्थायी राजधानीका लागि जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भित्र प्रस्ताव गरेको छ । माओवादी केन्द्रले राजधानीका लागि जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ । यहाँ एमाले र नेपाली कांग्रेसको प्रस्ताव आइसकेको छैन ।

  • शहरी भेगमा बैशाखभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    शहरी भेगमा बैशाखभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    काठमाडौं । कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी)ले वैशाख महिनाभर शहरी भेग र कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आज बसेको सीसीएमसी बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको हो ।

    कोरोना महामारी फैलनुमा विद्यालयहरुको ठूलो हात रहने र यसले बालबालिकामा समेत समस्या देखिन सक्ने सम्भावना रहेको निष्कर्षमा सीसीएमसी पुगेको छ । भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।

  • रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय  निर्माण शुभारम्भ

    रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ


    अमृता के सी ( रोनी )
    काठमाडौं, ३ बैशाख । जगडोलमा रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।बैशाख १ गते नव वर्षको अवसर पारेर राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ ।

    सङ्ग्रहालयको निर्माण कलाकार सरगम सम्राट पाख्रिनले गरेका हुन् । सङ्ग्रहालयमा अन्तर्राष्ट्रिय व्यक्तित्वका २८ कलाकृति सहित करिब १०० सामग्री सङ्ग्रह गरिएको छ ।सङ्ग्रहालयमा गौतम बुद्ध, महात्मा गान्धी, अलबर्ट आइन्स्टाइन, राइट ब्रदर्स, सर आइज्यक न्यूटन, माइकल फराडे, जेसस क्राइष्ट लगायत व्यक्तिका तस्बिर काठका ठुटा र रुखका जरा एवं राँगो तथा खसीका हड्डी प्रयोग गरेर बनाई सङ्ग्रहमा राखिएको छ । कार्यक्रममा बोल्दै पाख्रिनले रुखको ठुटा र जराबाट बनेको सङ्ग्रहालय विश्वमै पहिलो भएको दावी गरे ।

    कार्यक्रममा वन विभागका महानिर्देशक मानबहादुर खड्काले यस किसिमको सङ्ग्रहालय अहिले सम्म नेपालमा अन्यत्र नबनेको जानकारी दिए । साथै उनले शहीद तथा निजामती पार्क, घुन्सा जस्ता महत्वपूर्ण स्मारक निर्माण भइरहेको स्थलमा यस्ता सङ्ग्रहालयले नमूना स्थल बनाउन सहयोग गर्ने बताए । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन(युनेस्को)का नेपाल राष्ट्रिय आयोगका निमित्त सहायक महासचिव डा. बाबुराम अधिकारीले शहीद सङ्ग्रहालय सँगै युनेस्को सङ्ग्रहालय पनि निर्माण गर्न लागिएको बताए।

    कार्यक्रममा शहीद स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले सङ्ग्रहालय प्रवेशका लागि नेपाली आगन्तुक सँग रु २५, विदेशी सँग रु ५०, विद्यार्थी र सामुदायिक वनका सदस्यलाई रु १०, ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेश गराइने जानकारी दिए । शहीद स्मारकको कामको ७२ प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी कार्यक्रममा उनले दिए ।

    गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, शिक्षक प्रकाश अधिकारी, सामुदायिक वनकी सचिव देवी बजगाइँ लगायतले फरक किसिमका सङ्ग्रहालयले देशको पहिचान गराउनुका साथै आन्तरिक एवं पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

  • चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

    चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

    काठमाडौं । नेपालबाट विभिन्न समयमा चोरी भएर यूरोप र अमेरिका पुर्याइएको ५९ वटा मूर्ति नेपाल फर्काइएको छ । विदेशमा पु¥याइएका सम्पदामा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान र तिब्बतबाट २८ थान मूर्ति फिर्ता भएको पुरातत्व विभागलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले जनाएको छ ।

    विभागका अनुसार पाटनको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा रहेको वासुदेव कमलाज (लक्ष्मीनारायण)को मूर्ति हालै अमेरिकाबाट फिर्ता भएको थियो । १५ औं शताब्दीको उक्त मूर्ति सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सासस्थित डल्लास म्यूजियममा राखिएको बताइएको छ ।

    उक्त म्यूजियममा रहेको कुरा सन् २०२० मा इरिन एल थम्पसनले जानकारी दिएपछि फिर्ता ल्याउने शुरु भएको थियो । गत चैत ३१ गते नेपाल फिर्ता आएको यो मूर्तिलाई वैशाख २ गते पूरातत्व विभागले फिर्ता लिँदै पाटन संग्रहालयमा पठाएको छ ।

  • नेपालगन्जमा एक साताका लागि विद्यालय बन्द

    नेपालगन्जमा एक साताका लागि विद्यालय बन्द

    नेपालगन्ज । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच केन्द्र सरकारलाई विद्यालय बन्द गर्न दवाव बढेको छ । तर, विद्यालय संचालकले नमानेपछि केन्द्र सरकारले निर्णय लिन सकेको छैन । तर, नेपालगन्जमा भने स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय लिएको हो ।

    उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

    बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ । सरकारले आज देशभरका १४ जिल्लालाई कोरोनाको रेड जोनमा राखेको छ । जसमा बाँके पनि एउटा हो ।

  • भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

    भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लका राख्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

    सहप्रवक्ता डा। समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका हुन् ।

    मन्त्रालयको विज्ञप्तिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।

    ती जिल्लाका भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको औंल्याइएको छ।

    विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” अपिलमा भनेका छन् । साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

  • कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

    कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

    चैत, ३० – सौल, कोरिया

    नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा निरन्तर लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ ।

    अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने सूर्यले गरेका थिए भने कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य कार्यक्रम संयोजक आर. एन. ले दिएका थिए । नेपाली भाषासाहित्यमा लामो स​म​य​देखि योगदान गर्दै आउनुभएका वरिष्ठ साहित्यकार शैलेन्द्र साकारल​गाय​त अन्य​ अतिथिह​रू रमेश श्रेष्ठ,गोवर्द्धन पूजा र महेश पौड्यालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा कविता, गजल र मुक्तकको क्षेत्रमा कलम चलाइरहनु भएका वर्तमान समयका चर्चित साहित्यकारहरू रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन,कपिल अञ्जान, दिलु थापा मगर, प्राञ्जल, रामचन्द्र शर्मा र ऋद्धिमा रिजालले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए ।

    कोरिया च्याप्ट​र​ले स्थाप​नाकालदेखि नै अनवर​त भाषासाहित्य​को विकास​ र​ विस्तार​मा योग​दान दिंदै आएको अतिथी स्र​ष्टाह​रूले स्मर​ण​ ग​र्दै स​बैमा न​याँ व​र्ष​को शुभ​काम​ना दिए।अतिथि स्र​ष्टाह​रू र​ वाच​कह​रूलाई च्याप्ट​रले स​म्मान -प​त्र​ वित​र​ण​ ग​रेको छ​। त्य​सैग​री गतवर्ष आयोजित कोरियाव्यापी कविता प्रतियोगिता २०७७ मा प्रथम, द्वितीय र तृतीय हुनुभएका कविहरू क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ​।

    विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल,मुक्त​क ज​स्ता सबै विधामा सन्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​हरू ग​रेको स्म​र​ण ग​र्दै य​स​ कार्य​क्र​ममा प​नि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय कार्य गर्दै आएको छ ।

  • निर्जन सहरमा – एक्लो म

    निर्जन सहरमा – एक्लो म

    सम्भ्रान्त आधुनिक सहरको बीचमा,
    एक्लै ठिंग उभिएर चारैतिर नियाल्छु
    मानव आकृतिको तलतल लागेर,
    भव्य सुन्दर घरहरु अटालिका समेत,
    अनेक कलाकृति, सभ्यताका प्रतीक !

    वैभवताले भरिपूर्ण यस सहरमा-
    सबै कुराहरु यथावत् छन्- परिपूर्ण !
    तर, एउटै पनि छैनन् मानव आकृति !
    लाग्छ- सहर मानिस विहीन छ !
    चोक, गल्ली अनि स्ट्रिटहरु चाहार्दा पनि,
    भेटिदैनन् किन जीउँदा प्राणीहरु?

    कहीं दुर क्षितिजमा मेला लागेको छ कि?
    अथवा सहरभरी अकाल महामारी फैलिएर-
    कतै, सबैजनहरु आर्यघाट पो लागे कि !
    कही यो भूतको सहर पो रहेछ कि !
    किंवा सपनाको लहर पुगें- म
    स्वप्न महलयुक्त स्मशान पो हो कि?

    हाँस्न मन लागेर आउँछ
    एक्लै हाँस्न पनि सक्दिन म !
    पागलपनको मनोभ्रान्ति सादृष्य !
    निर्जन सहर ठिंग उभिएको छ- अगाडि
    मानवले बनाएको- मानव नबस्ने सहर!
    किनकि यहाँ मानव आकृति देखिदैन
    त्यसैले, लाग्छ यो एउटा निर्जन सहर हो !
    निर्जन सहरमा – एक्लो म

    टेक्सस, अमेरिका

  • ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो ।

    कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयको विश्लेषण छ। जनस्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरौं भन्ने विद्यालयका संचालकको आग्रहमा प्रवक्ता गौतमले जोखिमसँग खेल्न नहुने उनले बताए।

    सोमबार मात्रै शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय सञ्चालकहरुले बरु जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने व्यवस्था मिलाइनुपर्ने तर विद्यालय बन्द गर्न नहुनेमा जोड दिएका थिए। त्यसपछि तत्कालै विद्यालय बन्द गर्ने मनस्थितिबाट शिक्षा मन्त्रालय पछि हटेको थियो।

    तर स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमणको चेन ब्रेक गर्न विद्यालय बन्द गर्नुको विकल्प नरहेकोले एक महिना बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको हो।

  • राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’

    राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेका नक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएको छ । सरकारले नयाँ नक्सा जारी गरी लिम्पुवाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समेटेको भएपनि सर्वोच्च संस्थाबाट वितरण गरिने अति सम्मानित तक्मामा भने पुरानै नक्साको प्रयोग भएपछि सरकारको नियतमाथि प्रश्न उठेको छ ।

    तर, गृह मन्त्रालयले भने गत वर्ष नै तक्मा छापिएको र त्यति बेला नयाँ नक्सा नबनिसकेको भन्दै कुतर्क गरेको छ । नयाँ नक्सा सार्वजनिक गरेको एक वर्ष पुगिसकेको छ ।

    यस अवधिसम्म पनि तक्मामा नयाँ नक्सा राख्न नसकेको सरकारले नक्सा अंकित नभएको विषयमा आएका प्रतिक्रिया र समाचारको विषयमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

    संविधान दिवसको अवसरमा २०७६ साल असोजमा विभूषण घोषणा भएको हो । यी तक्मा २०७७ साल वैशाख एक गते वितरण गर्ने गर्ने कार्यक्रम थियो । तर, कोरोना भाइरसको महामारीका कारण तक्मा वितरण शुक्रबार मात्र भएको हो ।

  • विपुल पोखरेल  नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

    विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन ।

    महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।

    ती जिल्लामा थोरै मत रहेको र काठमाडौंको मत गणना पुरा भइसक्दा पोखरेलको अग्रता २ हजार १ सयभन्दा बढीको भइसकेका कारण उनी निर्वाचित भएका हुन् । आजै औपचारिक घोषणाको तयारी समेत रहेको छ ।

    पोखरेल नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीको समर्थनमा उमेदवार बनेका हुन् ।

    एमालेको ओली समूह निकट प्रेस चौतारीसहित ९ संगठनको तर्फबाट निर्मला शर्माले अध्यक्षमा दावेदारी दिएकी हुन् । गजेन्द्र बुढाथोकी स्वतन्त्र रुपमा उठेका थिए ।

  • विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

    विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

    काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् ।

    खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए । सोही अनुसार सरकारले यस्तो निर्णय गरेको हो ।

    अब नेपालमा माध्यामिक स्तरको मान्यता पाएको पाठ्यक्रमलाई विदेशमा समेत शिक्षण संस्थाले पढाउन सक्ने भएका छन् ।

    देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएकोमा त्यस्ता विद्यालयमा नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न शर्त तोकी अनुमति दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको उनले जानकारी दिए ।

  • पत्रकार महासंघ निर्वाचन : पोखरेलको अग्रता कायमै, नतिजा आउन ढिलाई

    पत्रकार महासंघ निर्वाचन : पोखरेलको अग्रता कायमै, नतिजा आउन ढिलाई

    काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि बुधवार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अध्यक्षका प्रत्यासी विपुल पोखरेलको अग्रता कायम छ । ७७ वटा जिल्लासहित केन्द्र स्तरमा भएको निर्वाचनको ६० जिल्लाको नतिजा आइसकेको छ । जसमा पोखरेलले आफ्ना प्रतिस्पर्धी निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई उछिनेका छन् ।

    काठमाडौं, ललितपुरसहितका जिल्लाको नतिजामा कांग्रेस, माओवादी केन्द्र र एमाले (नेपाल) समुह निकट पत्रकारहरुको गठबन्धन वियजी भएको छ । यही नतिजा केन्द्रमा समेत देखिएको छ । सबैभन्दा धेरै मत काठमाडौं जिल्लाबाट परेको छ । यहाँ १२ सय ३४ मत खसेको थियो । यो भोट निर्णायक मानिन्छ । सबै नतिजा आउन भने अझै एक दिन लाग्न सक्ने अनुमान छ । बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको छ ।

  • पत्रकार महासंघ निर्वाचन : पोखरेल प्यानललाई प्रारम्भिक अग्रता

    पत्रकार महासंघ निर्वाचन : पोखरेल प्यानललाई प्रारम्भिक अग्रता

    काठमाडौं । नेपाल पत्रकार महासंघको सबै तहको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । मतदान बुधबार सकिएको थियो । आज बिहानैबाट जिल्ला स्तरमा नतिजा आउने क्रम शुरु छ ।

    जिल्लास्थित पत्रकार महासंघ निर्वाचन कार्यालयले जनाए अनुसार धेरैजसो जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता रहेको छ । यो प्यानलमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुह संयुक्त रुपमा निर्वाचन लडेको हो । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको एमाले निकट पत्रकारको प्रतिनिधित्व गर्दै निर्मला शर्मा अध्यक्षको प्रतिस्पर्धी रहेकी छिन् ।


    पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसियटमा निर्वाचन भएको हो । यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएसँगै केन्द्रित नेतृत्वका लागि समेत सबै पत्रकारले प्रत्यक्ष भोट हाल्न पाएका छन् । १३ हजार मतदाता मध्ये ९२ प्रतिशतले भोट हालेको पाइएको छ । महासंघको नेतृत्वको कार्यकाल तीन वर्षे रहेको छ ।

  • आज पत्रकार महासंघको निर्वाचन, देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्दै

    आज पत्रकार महासंघको निर्वाचन, देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्दै

    काठमाडौं । आज नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदैछ । केन्द्रीय अध्यक्षसहितका पदाधिकारी छान्न हुन लागेको यो निर्वाचनमा पहिलो पटक देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्न लागेका हुन् ।

    यसअघि पार्सद चुनिएर उनीहरुमार्फत नेतृत्व छान्ने प्रचलन थियो । तर, विधान परिवर्तन गरी यस पटकबाट सबै पत्रकारले आफ्नो मन परेको उमेदवारलाई गोप्य मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

    देशभर रहेका १३ हजार भन्दा बढी पत्रकारले केन्द्रिय नेतृत्व चयन गर्न भोट हाल्ने छन् । निर्वाचन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने भएको छ । महासंघको अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल उठेका छन् । शर्मा र पोखरेलको प्यानल छ ।

    बुढाथोकी स्वतन्त्र रुपमा उठेका छन् । शर्मालाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओली निकट पत्रकारको साथ रहेको छ । नेपाली कांग्रेस, एमाले (नेपाल) र माओवादी केन्द्र निकट पत्रकारको साथ भने पोखरेलले पाएका छन् । आजै केन्द्रबाहेक प्रदेश र जिल्ला, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि समेत मतदान हुने छ ।

  • वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने

    वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने

    काठमाडौं । वायु प्रदूषणका कारण बन्द गरिएका देशभरका विद्यालय आजबाट सूचारु हुँदैछन् । हावामा प्रदूषणको मात्रा अत्यधिक बढेसँगै सरकारले चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको हो । केन्द्र सरकारको निर्णय स्थानीय तहमा भने आशिंक रुपमा मात्र कार्यान्वयनमा आएको छ ।

    स्थानीय सरकारले आफ्नो भेगका वायु सफा भएको भन्दै विद्यालय खुला राख्ने निर्णय समेत गरेका थिए । सरकारकै जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले वातावरणमा केही सुधार आएको छ ।

    तर, पूर्णतया आकास खुल्न भने अझै केही समय लाग्ने छ । विद्यालय भने पूर्ववतः अवस्थामा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।