Category: कला / साहित्य

  • प्रेम

    प्रेम

    बिष्णु सिंह (बैजु) 
     
    “म तिमीलाई प्रेम गर्छु”
    अथवा जनजिब्रोको; आई लभ यू
    भन्न कति सजिलो
    अढाई अक्षरको “प्रेम”

    तर भने जस्तै सजिलै,
    बस्छ त युवा-युवती बीच प्रेम ?
    एउटा खल्तिबाट झिकेर
    अर्को खल्तिमा राखे
    जस्तै हो त प्रेम ?

    कृतिम प्रेम;
    पल्लो अपार्टमेटका एक जोडी  
    सधै चुम्बन गर्र बाई हनि
    नभनि काममा गए
    शुभ नहुने आभाष दिन्थे

    उत्कृष्ट प्रेमको नमुना
    देखाउँथे तिनले प्रेमलापमा ।

    केही हप्ता पश्चात एकरात
    गो टु हेल, यु शक् भन्दै
    दुबैले चिच्याएको सुनियो
    धेरै बेर भनाभन गुन्जियो

    अनि “बाई हनि” को सट्टा,
    दुबैको हातमा आ-आफ्नो ब्याग। 
     “आई लव यु” को सट्टा “द इन्ड ”  
    सदाको लागी बाटो अलग । 
     
    यति छिटो प्रेम र बिछोडको दृष्यले
    प्रेम बुझ्न कठिन भो ।


     
    प्राकृतिक प्रेम;
     एक जोडी चरा चिर्चिर गर्दै,
     समागम गर्न थाले । 
    अनि खानेकुरा टिपि,
    नजिकैको रुखमा आफ्ना 
    बचेरालाइ चुच्च्चोले खुवाए।

    यस्तो दृष्यले प्रेमको 
    मिठास अनुभुत गरायो
    मन तरंगित भई आयो

    अर्को प्रेम;
    अलि पर दुई युवती
    अनौठो हाउभाउ गर्दै,
    अर्को पट्टी त्यस्तै युवा जोडी
    कसले छेकेको छैन
    मानौं कसैले देखेको छैन

    प्रेम एक रुप अनेक;
    दुई सच्चा मित्र बीचको प्रेम
    छोराछोरी प्रतिको प्रेम
    छिमेकसंगको प्रेम्
    दाजु-भाइ दिदी बहिनीको प्रेम
    पशुपंक्षीसंगको प्रेम
    देश प्रेम…
    अनि अन्तिम क्षणसम्म रहस्य रहने
    आफ्नै जीवनँगको प्रेम

    अर्धअंगसँगको प्रेम;
    न उनलाइ रोजेको, न खोजेको,
    त्यतिबेलाको चलन अनुसार्
    बुबा-मुमाको निर्णय स्वीकारेको

    न उनलाइ कहिले गुलाब दिईयो,
    न कहिले “आई लव यु” भनियो ।
    तर जिन्दगीको यात्रामा,
    हरदम लभ यू महसुस गराइयो !

  • चीनले रोक्यो बिबिसीको प्रसारण

    चीनले रोक्यो बिबिसीको प्रसारण

    लण्डन । चीनले बेलायती टेलिभिजन बिबिसी वर्ल्ड न्युजको प्रसारणमा प्रतिवन्ध लगाएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले एक विज्ञप्ति जारी गरी यस्तो प्रतिवन्धको घोषणा गरको हो । बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारणमा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको आरोप चीनको छ ।

    प्रशासनले चीनको राष्ट्रिय स्वार्थ तथा जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेको बताएको छ । खासगरी कोभिड १९ सम्बन्धी एक रिर्पोटलाई लिएर बिबिसीसँग चीन रुष्ट बनेको हो ।

    चीन सरकारले कोभिड १९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको रिर्पोट बिबिसीले बजाएको थियो । बिबिसीको यो रिर्पोट निराधार रहेको चीनको आरोप छ ।

    चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनले यो वर्ष बिबिसीको प्रसारण रोक्ने र अर्को वर्ष समेत प्रसारण अनुमतिका लागि दिने निवेदन स्वीकार नगर्ने उल्लेख गरेको छ । उता, बेलायती विदेश मन्त्री डोमिनिक राबले बिबिसीमाथिको प्रतिबन्ध संचार स्वतन्त्रतामाथिको अंकुश भएको उल्लेख गरेका छन् ।

  • के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?

    के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ता र त्यसका माध्यमबाट संचारमाध्यममा सूचना प्रकाशन, प्रसारण हुने सामग्रीमाथि कडाई गर्ने तयारी गरेको छ । सामाजिक संजालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने गरी सरकारले निर्देशिका बनाउन लागेको छ ।

    यसलाई भने धेरैले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको रुपमा व्याख्या गरेका छन् । किनकी प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु देखि नै संचारमाध्यमप्रति असहिष्णु व्यवहार ेदेखाउँदै आएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्न लागिएको छ ।

    नेपाली समाजलाई अराजकता, विकृति विसङ्गतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराइने उनले जनाए । त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको समेत उनको भनाई छ ।

    पछिल्ला केही दिनमा स्वतन्त्रताका आडमा छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अङ्ग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई सामाजिक सञ्जाल र केही जिम्मेवार सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने पाइएको भन्दै सरकारले कडाई गर्न तम्सिएको हो ।

  • १८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?

    १८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?

    नयाँ दिल्ली । बिहिबार भारतको राजधानी दिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला जलाइयो । एक किशोरीको एउटा ट्वीटका कारण भारत भड्किएको छ । कारण हो, उनले भारतमा लामो समयदेखि जारी किसान आन्दोलनमा ग्रेटाको समर्थन ।

    बिहीबार भारतका सबैजसो मिडिया ग्रेटाको विरोधमा लागे । किनकी भारतमा मिडियालाई सरकारले आफ्नो पक्षमा राखेको छ । उनीहरु पनि किसानको मुद्दामा अनुदान बन्दै सरकारको समर्थन गरिरहेका छन् । ग्रेटाले ‘हामी आन्दोलनरत भारतका किसानसँगै छौं ‘भनी गरेको ट्वीटकै कारण भारत भड्किएको हो ।

    भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार थनबर्गको पुत्ला जलाइयो । बिहीबार नै दिल्ली प्रहरीले थनबर्गविरूद्ध साइबार मुद्दा समेत दर्ता गरेको छ । यद्दपी भारतको यो कदमले उनलाई कुनै असर भने पर्ने छैन ।

    File Photo

    किनकी भारतको किसान आन्दोलनलाई अहिले विश्वभरका सेलब्रेटीले समर्थन गरेका छन् । ग्रेटाको ट्वीट अगाडी पप गायिका रिहानाले भारतमा जारी किसान आन्दोलनसम्बन्धी समाचार ट्वीट गर्दै यसबारे बहस हुनुपर्ने बताएकी थिइन् ।

    सो ट्वीटपछि भने विश्वभरबाट सेलिब्रेटीले भारतमा जारी किसान आन्दोलनको पक्षमा आवाज बुलन्द गरेका हुन । यसबाट भारत सरकार भने भड्किएको छ । भारत सरकारले भने यसलाई देश विरोधी प्रोपागान्डाको संज्ञा दिएको छ ।

    विदेशमन्त्री एस जयशंकरले भारतलाई निशाना बनाउने अभियान सफल नहुने समेत उल्लेख गरेका छन् । भारतमा नोभेम्बरदेखि विभिन्न राज्यमा किसान कृषि सम्बन्धी नयाँ कानुनको विरोधमा नयाँदिल्लीमा जम्मा भाई आन्दोलनमा छन् । यो आन्दोलन अब अन्तर्राष्ट्रियकरण भएको छ ।

  • न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग

    न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग

    न्युयोर्क  

    अमेरिकाको न्युयोर्क राज्यस्थित नेपाली समुदाय लक्षित एकाउन्टिङ सेवा प्रदान गर्दै आएका पशुपती श्रेष्ठले  हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ मा पर्न  सफल काठमाडौं तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।न्युयोर्कमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका  पशुपति श्रेष्ठले बिहीवार उक्त सहयोग पठाएका हुन्न् ।काठमाडौं जिल्ला तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सम्मान स्वरुप नेपालका वरिष्ठ गायक रामकृष्ण ढकाल मार्फत सहयोग हस्तान्तरण गरेका हुंन् । 

    सि पि ए श्रेष्ठले नब गायक सुरेश लामाको गायनबाट आफु  प्रभाबित भएर भोलिका दिनमा देशकै इज्जत राख्न सक्ने ठानेर सहयोग गरेको प्रतिकृया दिएका छन् भने उनले सुरेश लामा  सहयोगको लागि समन्वय गर्नु हुने न्युयोर्कस्थित सामाजिक अभियन्ता  केशव राम राईलाई धन्यवाद दिएका छन् ।नेपालमा गोर्खा जिल्ला स्थाई घर भएका श्रेष्ठ अमेरिकामा  सर्टिफाईड पब्लिक एकाउन्टेन्ट ( सि पि ए )  हुन भने उनले यस अगाडि पनि यस्ता सकरात्मक अभियानको लागि पटक पटक सहयोग गर्दै आएका छन् । 

  • करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्

    करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्

    लस एन्जलस । अमेरिकी टेलिभिजन इतिहासकै सर्वाधिक चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । उनले ८७ वर्षको उमेरमा धर्तिबाट बिदा लिएका हुन् । उनको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा शनिबार उपचारका क्रममा ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । उनी अमेरिकामा सर्वाधिक अन्तर्वार्ता लिने प्रस्तोता समेत हुन् । ६० वर्षे आफ्नो करियरमा ५० हजार अन्तर्वार्ता लिएको रेकर्ड उनले राखेका छन् । ६ दशक लामो करियरमा उनले अमेरिकाका सबै राष्ट्रपतिसहित हलिउड कलाकार र खेलकुद प्रतिभासहितको अन्तर्वार्ता लिएका छन् ।

    ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गरेका थिए । उनल सबैजसो अन्तरवार्तामा सकारात्मक चर्चा कमाएका थिए । कम बोल्ने र अरुका कुरा सुन्ने उनको धैर्यले नै सफलता प्राप्त गरेको उनी स्वयमः बताउने गर्थे ।

  • काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

    काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

    काठमाडौं । आजबाट काठमाडौं उपत्यका भित्रका अधिकांश विद्यालय संचलनमा आउने भएका छन् । यसअघि अनलाइन कक्षा संचालन भइरहेका विद्यालयलहरुले अब भौतिक रुपमै कक्षा संचालन गर्न लागेका हुन् ।


    कोरोनाको जोखिम कम भएको भन्दै स्थानीय सरकारहरुले विद्यालय खोल्न अनुमति दिएका छन् । केही विद्यालय भने अझै बन्द हुने भएका छन् । विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने विषय भने व्यवस्थापन स्वयमको हुनेछ । तर, अब कुनै पनि बाहनामा पठनपाठन भने रोकिने छैन ।

    ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले समेत विद्यालय खोल्न औपचारिक निर्णय गर्ने तयारी गरेको छ । सरकारले भने विद्यालय खुलाउने जिम्मा स्थानीय सरकारहरुलाई नै दिएको छ ।

  • संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

    संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

    काठमाडौं । संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन भएका छन् । संघको १० औं साधारणसभाले संगीतकार पारस मुकारुङलाई संगीतकार संघ नेपालको अध्यक्षमा चयन गरेको हो ।

    संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा चयन भए ।

    सदस्यमा जेम्स प्रधान, राजन इशान, कालीप्रसाद बाँसकोटा र टंक बुढाथोकी रहेका छन् । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

  • एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

    एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

    काठमाडौं । लोक सेवा आयोगले एकै पटक ८४३ नासुका लागि जाखिर खुला गरेको छ । नायब सुब्बा पदमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति हुने गरी जागिर खुला भएको हो । आयोगले बुधबार विज्ञापन सार्वजनिक गरेको हो ।

    काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि आवेदन खुलेको छ । धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि आवेदन माग भएको छ ।

    जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने आयोगले जनाएको छ । पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुनेछ ।

    बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने आयोगके भनाई छ । सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

    दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको पदपूर्ति हुने भएको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगको विज्ञापनमा उल्लेख छ ।

  • नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

    नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

    काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

    न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो ।

    यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो ।

    नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

  • न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

    न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

    न्यूह्यामसर
    न्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

    ‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहान थापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न १७ सामूहिक एवं एकल प्रस्तुती प्रशारण गरिएको थियो । 

    स्तुती खतिवडाले ‘तिम्रो मायाले बाँधेर राख…’ गीत गितार बजाउँदै प्रस्तुत गरेकी थिइन् भने नेहा शर्मा, देव शर्मा, सुभन विष्ट, आहाना थापा, श्रेया खनाल नेपाली टेलिचलचित्र गिरे खुर्सानीको ‘प्यारोडी’ देखाएका थिए ।

    रिञ्जु र रोजर शेर्पाले बास्केटबल खेलका केही कलात्मक ‘सट’हरु देखाएको कार्यक्रममा जुनिपर गुरुङ र दिशिता गुरुङले ‘भैलिनी आइन्…’ बोलको तिहार गीतमा नृत्य देखाएका थिए । नुर सिंह र श्रेया खनालले पनि ‘आज हाम्रो भेट भको दिन…’मा नृत्य नै देखाएका थिए भने सारा क्षेत्रीले जिम्न्याष्टिक खेलका कला प्रस्तुत गरेकी थिइन् ।

    शीला अधिकारीले ‘डिस्कोवाले किसको…’ गितमा गायन र नृत्य प्रस्तुत गरेकी थिइन् भने समृद्धी अधिकारीले ‘ब्लाइन्डिङ लाइट्स…’ मा पियानो बजाएकी थिइन् । सुभन बिष्ट, देव शर्मा, नेहा शर्मा, आहाना थापा, स्पर्दा गुरुङ, स्तुती अधिकारी, आइशा केसी, रिचा थापा, गरिमा अधिकारी र कृती श्रेष्ठले ‘के माया लाग्छ र…’ र ‘दुबो फुल्यो…’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको कार्यक्रममा ‘घिन्ताङ घिन्ताङ…’ बोलको गीतमा कुशुम अर्यालले नृत्य देखाएका थिए ।

    मोहित बिष्ट, देव शर्मा, विभव शर्मा र गौरव महर्जनले कार्यक्रममा फरक स्वाद पस्कने क्रममा खाना पकाउने कला देखाएका थिए भने निना सुवेदीद्ये ‘दि साइन्टिष्ट…’ मा गितार बजाएकी थिइन् ।

    आहाना थापाले ‘सारङ्गीको धुनले …’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने सुहानी कार्की र सन्सार कार्कीले गितार र पियानो मार्फत ‘असारै मैनामा …’ गीतको धुन सुनाएका थिए । शविन सुब्बाले ‘दिक्तेल बजार…’ गीत गाएको कार्यक्रममा स्तुती अधिकारीको नृत्य र देव शर्माको गितार बादनसँगै कार्यक्रम सकिएको थियो । एक घण्टा छ मिनेटको कार्यक्रम अहिले पनि न्यूह्यामसर नेपाली समाजको फेसबुक पेजमा हेर्न सकिन्छ ।

    कार्यक्रमबाट करिव तीन हजार अमेरिकी डलर नगद समेत संकलन भएको छ । संकलित रकमबाट दूई हजार डलर नेपालमा कार्यरत मुनाफारहित संस्था लक्ष्मी प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ । प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामा लोपन्मुख राउटे विद्यार्थीहरु लक्षित छात्राबासमा निर्माणाधिन भोजन गृहका लागि खर्च गर्नेछ ।

    ‘नेपाली भाषा, कला र संस्कृतिलाई आउदो पुस्ताले संरक्षण र सम्बर्धन गरोस भन्ने हाम्रो लक्ष्य हो’ भर्जुअल कार्यक्रमका लागि युवायुवतीलाई सल्लाह, सुझाव र अभिभावकत्व दिएकी न्यूह्यामसर नेपाली समाजका पूर्व उपाध्यक्ष शान्ता विष्टले भनिन् । न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरुले नेपाली पहिचानलाई जोगाउँदै परोपकारी कामकोसमेत सुरुवात गरेकोमा सह्राना गरे ।

  • फिल्म हल खोल्न सरकारको अनुमति

    फिल्म हल खोल्न सरकारको अनुमति

    काठमाडौं । सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ । गत चैतयता बन्द रहेका फिल्म हल खोज्न सरकारले अनुमति दिएको हो । आइतबार प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषदका सदस्यसँग बसेको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, अभिनेता शिव श्रेष्ठ र आफ्नो पहलमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यसँग बैठक बसेको थियो ।

    बैठकमा अध्यक्ष दाहाल, शिव श्रेष्ठ, प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङसमेत सहभागी भएका थिए ।

    नेपाल चलचित्र संघले स्वःघोषित रूपमा पुस १० गतेबाट फिल्म हल खोल्ने निर्णय गरेको छ । यो निर्णयमा हल व्यवसायी र सरकारले भने अनुमति दिएका थिएनन् ।

  • म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

    म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

    काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् ।

    उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगगरी सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरेका छन् । उनले देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी देखाएको बताएका छन् ।

    नेताहरु विदेशीको इशारामा चलेकोतर्फ समेत उनले सावधान गराएका छन् । उनले भनेका छन्, ‘राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’

    परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको समेत उनको सन्देशमा राखिएको छ ।

  • बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने

    बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने

    काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ।

    आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ।

    त्यसपछि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन।

    विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

    विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब १० महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो।

    विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्रहरू खोल्न दिइने भए पनि कोरोनाको जोखिम बढे जिल्लाअन्तर्गतको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पुनः बन्द गर्न सक्ने अधिकार पनि दिइएको छ।

    केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

    सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् ।

    त्यस्तै, हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभएको खण्डमा कारबाही गर्ने निर्णय भएको पनि गुरागाइँले बताए।

    सबै क्षेत्र खुलिसक्दा पनि आफूहरुलाई सरकारले हल खोल्न नदिएको भन्दै नेपाल चलचित्र संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल संञ्चालनमा आइसकेको थियो। दर्शकको न्युन उपस्थितिका कारण हलमा फिल्म लगाउन ठूला ब्यानरका निर्माताहरु भने डराइरहेका छन्।

    यसैगरी बैठकले नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।

  • दिकेश प्रजापतिको नयाँ वर्षको कोशेली ‘तिमीसँगै रम्न पाऊँ’ सार्वजनिक

    दिकेश प्रजापतिको नयाँ वर्षको कोशेली ‘तिमीसँगै रम्न पाऊँ’ सार्वजनिक

    न्युयोर्क

    विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक दिकेश प्रजापतिले नयां वर्षको उपलक्ष्यमा तिमीसँगै रम्न पाऊँ बोलको गीत सार्वजनिक गरेका छन् ।

    आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको गीतका रचनाकार तथा संगितकार न्युयोर्क निवासी ॐ कर्माचार्य हुन् ।

    Dikesh’s Timi Sangai…

    यसअघि दुई गीतहरु ‘घर त तिम्रो पोखरा’ र ‘एकफेर’ सार्वजनिक गरेका प्रजापतिले लामो समयपछि नयां गीत सार्वजनिक गरेका हुन् ।
    गायक प्रजापति भन्छन्; अघिल्ला गीतहरूले जस्तै यो गीतले पनि राम्रो रेस्पोस पाउने आशा राखेको छु, अब छिट्टै नयाँ एल्बमको तयारी पनि गर्दैछु।

  • खुल्यो एसईई परीक्षाको फारम

    खुल्यो एसईई परीक्षाको फारम

    काठमाडौं । यो वर्ष एसईई दिने विद्यार्थीका लागि आजबाट परीक्षा आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि २०७७ सालमा सञ्चालन हुने एसईईको आवेदन फारम अब भर्नु पर्नेछ ।

    २०७७ सालमा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला भएको छ । बोर्डका अनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्ने भएको छ ।

    आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ शूल्क तोकिएको छ । बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न समेत भनेको छ । यो वर्ष एसईई परीक्षा हलमै गर्ने तयारी छ । गत वर्ष भने आन्तरिक मूल्यांकनका आधारमा अंक दिइएको थियो ।

  • १० महिनापछि आजबाट खुले सिनेमा हल, दुई सिनेमाको प्रदर्शन

    १० महिनापछि आजबाट खुले सिनेमा हल, दुई सिनेमाको प्रदर्शन

    काठमाडौं । नेपालमा सरकारले ११ चैत २०७६ मा देशव्यापी लकडाउन शुरु गरेयता बन्द रहेका सिनेमा हल आजबाट खुलेका छन् । १० महिनापछि खुलेका हलमा दर्शक तान्न भने अझै केही समय लाग्नेछ । किनकी समुहमा बसेर हेर्नु पर्ने भएकाले सिनेमा हलसम्म मानिस जान हिच्किच्याउने छन् ।

    सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपपछि हल संचालक आफैले आजबाट हल संचालनमा ल्याएका हुन् । आज लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ गरी दुई चलचित्र पुनः प्रदर्शनमा राखिएको छ ।

    हल सञ्चालकहरुका अनुसार पहिलो चरणमा ५० प्रतिशत मात्र दर्शक राखेर सिनेमा हल चलाइने भएको छ । हल चल्ने भएपछि कलाकार र सिनेकर्मीहरुमा भने खुसी छाएको छ ।

  • काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

    काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय संचालनमा नआउने भएका छन् । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखसँग छलफल गरेको थियो । विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको भन्दै काठमाडौंमा समेत तत्काल स्कुल नखोल्ने निष्कर्ष निकालेको हो ।

    काठमाडौंमा कोभिड अझै नियन्त्रणमा नआइसकेको अवस्थामा विद्यालय खोल्दा जोखिम हुन सक्ने आंकलन गरिएको छ । अर्कोतर्फ अहिले जाडोको मौसम समेत रहेका कारण अनलाइन कक्षालाई नै प्रभावकारी बनाउने निर्णय गरिएको हो ।

    बालबालिकाले स्वास्थ्य मापदण्ड आफैं पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभए बन्द गर्नेसम्मको तयारी समेत गर्नुपर्ने निर्णय समितिले गरेको छ ।

  • एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

    एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

    काठमाडौं । लोक सेवा आयोगले एकै पटक ५१३ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ।

    जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला प्रतिष्पर्धाबाट परिपूर्ति गरिने भएको छ । लोकसेवाले न्याय सेवाको खुलातर्फ ३६, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांग दुई र पिछडिएको क्षेत्रका लागि दुई जना माग गरेको छ ।

    परराष्ट्र, प्रशासन र महालेखा परीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खुलामा १३२ जना, समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ।आठ, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि पाँच जनाको दरखास्त आह्वान गरिएको छ ।

    ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जनामो माग गरिएको छ । परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालय तोकिएको छ। द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालय तोकिएको छ।

    दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म राखिएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ सम्म दिन सकिने भएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नु सकिने छ । आयोगले विज्ञापन खुला गरे पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ

  • युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग

    युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग

    काठमाडौं । युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)ले चक्रपथ बिस्तारका क्रममा स्वयम्भू क्षेत्रमा रहेका संरचना नभत्काउन माग गरेको छ । नेपाल सरकारले काठमाडौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एसोसिएशनले यस्तो माग गरेको हो ।

    भगवान बुद्धको पवित्र जन्म भूमि नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनु पर्नेमा उल्टै बिनास तर्फ उन्मुख हुनु ज्यादै दुःखदायी रहेको एशोसिएशनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको छ’, विज्ञप्तीमा भनिएको छ ।’

    यस असंवेदनशील निर्णयको कारण विश्व समुदायको सामु नेपालको छबिमा कालो धब्बा लाग्ने भन्दै एशोसिएशनले बौद्ध मान्यता अनुसार कुनै पनि स्थान बिशेषमा भुमि पूजन गरी स्थापना गरिएको मूर्ति, स्तूप या मन्त्रहरु कुँदिएका हातले घुमाउने मणिचक्र जे भए पनि एक पटक प्राण प्रतिस्ठा सम्पन्न गरी सके पछि कदापि हटाउन नमिल्ने समेत उल्लेख गरेको छ ।

    एक ठाउँबाट अर्को ठाउँमा सार्न समेत नमिल्ने त्यस्ता धार्मिक आस्थाका प्रतीकहरु भत्काउने कुराको कल्पना मात्रै पनि गर्न नसकिने विज्ञप्तीमा उल्लेख छ । कुनै पनि धार्मिक समुदाय बिशेषको भावनामा ठेस् पुर्याउन सक्ने सबै खाले अवांछित् कार्यमा संघको सदैव असहमति रहने भन्दै बिकास निर्माणको नाममा वर्तमान सरकारले गर्न लागेको यस कार्यको युनाइटेड शेर्पा एसोसिएशन भत्र्सना गर्ने उल्लेख छ ।

    संघले विकास निर्माणका लागि विकल्प खोज्न समेत सुझाव दिएको छ । सरकारले आफ्नो माग सम्बोधन नगरे धार्मिक सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा तीब्र बनाउँदै संयुक्त राष्ट्र संघ सम्म पुग्न बाध्य हुने चेतावनी संघका अध्यक्ष उर्गेन शेर्पाद्धारा जारी विज्ञप्तीमार्फत दिइएको छ ।

  • नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

    नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

    काठमाडौं । यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छिन् । फाइनलमा पुगेका कुल २० प्रतिस्पर्धीबाट उनी उत्कृष्ट बन्दै उपाधी जितेकी हुन् । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट २० जना छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । शनिबार राती काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अन्तिम प्रतिस्पर्धा आयोजना भएको हो ।

    नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितेकी छिन् । उनी सन् २०२१ का लागि ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने सुन्दरी बनेकी छिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

    यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठको हातमा पर्यो । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेकी छिन् । सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् ।

  • त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

    त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घन्टा मात्रै हुने निर्णय गरिएको छ । त्रिविका अनुसार कोभिड१९ संक्रमण जोखिमका कारण परीक्षा समय घटाइएको हो । यसअघि स्नातकोत्तर (एमए) व्यवस्थापन संकायको परीक्षा चार घण्टासम्म सञ्चालन हुने गरेको थियो।

    कोरोना त्रास कायमै रहेकाले परीक्षा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण कक्षा १२ को परीक्षा समय पनि घटाएर डेढ घण्टा तोकेर संचालन गरिसकेको छ ।

    सोही प्रकारको व्यवस्थापन त्रिभुवन विश्वविद्यालयले समेत मिलाएको हो । नेपालमा पछिल्लो समय क्रमशः शैक्षिक गतिविधि सूचारु हुन थालेका छन् । संक्रमणको संख्यामा आइरहेको कमी र सक्रिय संक्रमित समेत घटिरहेको समयमा स्वास्थ्य सतर्कता अपनाएर अब शैक्षिक गतिविधि संचालन गर्न दिने निर्णय सरकारले गरिसकेको छ ।

  • यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

    यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

    काठमाडौं । मेरियम वेब्स्टर शब्दकोशका प्रकाशकको भनाई अनुसार कुनै एक शब्दले युगकै परिभाषा बोल्छ । सन् २०२० मा यस्तै शब्दको चर्चा सर्वाधिक भएको छ । जसको नाम हो प्यान्ड्यामिक । महामारीका रुपमा चिनिने यो वर्ष इन्टरनेटमा सन् २०२० मा सबैभन्दा बढी खोजी गरिएको शब्द बन्न सफल भएको हो ।

    मेरियम वेब्स्टर शब्दकोशले इन्टरनेटका माध्यमबाट वर्षभर बढी खोजी भएको शब्द सार्वजनिक गर्दै आएको छ । यस क्रममा प्यान्ड्यामिक सन् २०२० को वर्ष शब्द बन्न सफल भएको हो । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिएसँगै इन्टरनेटमा यसबारे व्यापक जनचासो बढ्यो ।

    किनकी यो भाइरसले संसारलाई ठप्प मात्र बनाएर करोडौं मानिसलाई संक्रमित बनायो । १४ लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

    मेरियम वेब्स्टर डटकमले प्यानड्यामिक शब्दको अर्थका रुपमा एउटा रोगको प्रकोप जुन व्यापक भूगोलमा फैलिने गर्छ, एकभन्दा बढी देश वा महादेश र यसले सामान्यतया जनसंख्याको एक महत्त्वपूर्ण अनुपातलाई असर गर्दछ भनी राखेको छ ।

    कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले मार्च ११ मा महामारी घोषणा गरेको थियो । त्यसपछि यो शब्दको प्रयोग र खोजी अधिक हुन थालेको हो । एजेन्सी

  • पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

    पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

    इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ ।

    पाकिस्तानी संचारमाध्यमहरुका अनुसार सोमबार यस्तो घोषणा भएको हो । आगामी बिहीबारबाट बन्द हुने शैक्षिक संस्था आगामी जनवरी १० सम्म बन्द नै रहनेछन् । शैक्षिक संस्थामा लागेको प्रतिवन्धसँगै परीक्षा समेत स्थगित भएका छन् ।

    यसअघि कोरोना भाइरसलाई कुनै न कुनै रुपमा नियन्त्रणमा ल्याएका मध्यपूर्वी एसियाली र दक्षिण एसियाली मुलुकमा पुनः संक्रमणले गति लिन थालेको छ । इन्डोनेसियामा २४ घण्टामा ४ हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएको तथ्यांक आएको छ ।

  • लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

    लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि गत चैतयता नेपालमा कुनै पनि तहका परीक्षण संचालन हुन सकेका थिएनन् । तर, ८ महिनापछि पहिलो पटक कक्षा १२ को परीक्षा हलमै संचालन भएको छ । आजबाट परीक्षा प्रारम्भ भएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थीले परीक्षा दिँदैछन् । बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

    सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । एउटा कोठामा २० जनासम्म मात्र राखिएको छ । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने नियम छ ।


    सबैलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइन्छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था छ । परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गरिएको छ । परीक्षा मंसिर १६ मा सकिने छ ।

  • मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान

    मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान

    काठमाडौं । मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा संचालनको तयारी पुरा भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक विद्यार्थीलाई कक्षा कोठामै बोलाएर परीक्षा संचालनको तयारी भएको छ ।

    यसै सन्दर्भमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थीलाई कोरोना विरुद्धका स्वास्थ्य मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन आह्वान गरेका छन् । मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा समेत आवश्यक सचेतना अपनाउन अनुरोध गरेका हुन् ।

    सही ढंगले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य काममा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएको भन्दै उनले मापदण्ड पालनाको आग्रह गरेका हुन् ।

    परीक्षा केन्द्रमा समेत भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् ।

    यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने प्रावधान ल्याइएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुँदैछ ।

    बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्नेछन् ।

  • भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

    भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करीव ७ महिनादेखि स्कुल बन्द छन् । भौतिक रुपमा स्कुल संचालनको वातावरण बनेको छैन । तर, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ ।

    कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ । कार्यढाँचामा विद्यालय र स्थानीय तहलाई फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कक्षाकोठा बनाउन निर्देशन दिएको छ ।

    आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत समेत गर्नु पर्ने भएको छ ।


    विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नुपर्ने कार्यढाँचामा लेखिएको छ ।

    स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्ने कार्यढाचामा उल्लेख छ ।

  • हास्य कलाकार गजुरेलले जिते कोरोना

    हास्य कलाकार गजुरेलले जिते कोरोना

    काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो ।

    अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’।

    केही दिनमा पूर्ण स्वस्थ भएर आफु काममा फर्किने विश्वास उनको छ । उनमा १० कात्तिकमा कोरोना पुष्टी भएको हो । गजुरेलको बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो ।

    उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकलाई धन्यवाद समेत दिएका छन् । उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

  • महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

    महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

    काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका उनी नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने श्रष्टाका रुपमा रहेका छन् ।

    देवकोटाले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कवितामार्फत अतुलनीय योगदान गरेका छन् । देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

    नाट्यसम्राट बालकृष्ण समले देवकोटाको सम्मानमा भनेका थिए, उनी ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मिएका थिए ।


    विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी महाकविले नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान गरेका छन् ।

    उनी विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री भएका थिए । त्यसमय उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए ।

  • जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित

    जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित

    न्युयोर्क

    सबल नेपाल मिडिया प्रालिद्वारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।

    पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु गरेका थिए । उनले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन् । उनले कोरोना महामारी सुरु भएपछि विश्वभरिका नेपालीसँग कोरोना भाइरस न्युनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधिसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् । साथै जि पि के फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बहस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् ।