Category: कला / साहित्य

  • युरोपमा ‘डबल रोल’ को चर्चा

    युरोपमा ‘डबल रोल’ को चर्चा

    आरएल श्रमजिवी, ब्रसेल्स  

    बिषयबस्तु गहकिलो भयो भने चर्चा स्वस्फुर्त हुन्छ, भन्ने भनाई चरितार्थ भएको छ । युरोपमा नेपालीका कथा बस्तुलाई समेटेर  कलाकार सन्तोष बरालले ‘कमेडी हब नेपाल’   युट्युब च्यानलमार्फत ‘डबल रोल’ नामक टेली सिरियल निर्माण गरिरहेका छन् ।  बरालका अनुसार डबल रोल हेरेपछि आम दर्शकले युरोपेली नेपाली डायस्पोराले भोगेका कथा ब्यथाको वास्तविकता थाहा पाउने छन् । निर्माता बरालका अनुसार देखेजस्तो सोचेजस्तो केही र कँही पनि हुदैन भन्ने सत्यता उजागर गर्ने सोचले यो टेलि सिरियल निर्माण गरेका हुन् । 

    आगामी सातादेखि कमेडी हव नेपाल युटुव मार्फत हेर्न सकिने डबल रोलको मुख्य ध्येय उद्देश्य आम नेपाली दर्शकलाइ स्वस्थ मनोरञ्जन दिनु पनि रहेको बताएका छन् ।  नेपालमा हुँदा विभिन्न कला बिधामा पारंगत कलाकारहरुले भुमिका निभाएको डबल रोलको लेखन तथा निर्देशन सन्तोष बरालले गरेका छन ।

  • आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

    आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

    काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ ।

    गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने प्रचलन रहेको छ । यो दिन ब्राह्मण, क्षत्री र वैश्य तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् ।

    तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने प्रचलन रहेको छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको छ । यसै दिन दिदीबहिनीले दाजु भाईको हातमा राखी बाधिदिने गर्छन् ।

    यसले दिदिबहिनी र दाजुभाइ बीचको सम्बन्ध प्रगाढ हुने विश्वास गरिन्छ । यो दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन समेत रहेको छ । क्वाटी स्वास्थ्यवद्र्धक खाद्य पदार्थ हो । यसवर्ष घरघर डुलेर रक्षाबन्धन नगर्न र धार्मिक स्थलमा समेत भिडभाड नगर्न सरकारले आह्वान गरेको छ ।

  • अब विद्यालयमा क्वारेन्टिन नबन्ने

    अब विद्यालयमा क्वारेन्टिन नबन्ने

    काठमाडौं । सरकारले अब विद्यालयसहितका शैक्षिक संस्थालाई क्वारेन्टिन वा आइसोलेसन भवन नबनाउने निर्णय गरेको छ । पठनपाठन शुरु गर्ने योजना अनुसार अब सरकारले विद्यालयलाई क्रमशः खाली गरेर त्यसलाई पूर्ण किटाणुरहित बनाउने योजना बनाएको हो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले गरेको निर्णय अनुसार शिक्षा मन्त्रालय यसको कार्यान्वयनमा जुटेको छ ।

    क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई अब तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने भएका छन् । सोही अनुसार स्थानीय तहमा सर्कुलर जारी गरिएको छ । अहिले पनि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन भइरहेको भए त्यसलाई खाली गराएर सुरक्षित बनाइने छ ।

    सरकारले १ भदौबाट भर्ना खोल्ने निर्णय गरिसकेको छ । अब सुरक्षा प्रवन्ध अपनाएर शैक्षिक गतिविधि नियमित गर्ने तयारी सरकारको छ । नेपालमा ५ महिनायता विद्यालय बन्द छन् । शैक्षिक गतिविधि समेत ठप्प छन् । अब मन्त्रालयले विद्यालय संचालन गर्न आवश्यक मापदण्ड बनाएर जारी गर्ने भएको छ ।

  • कविता : छिमेकी

    कविता : छिमेकी

    अच्युत सिग्देल, न्युयोर्क

     

    मेरो धुरीबाट 

    धुँवा उडेको देखेपछि 

    हनहनी ज्वरो आउँछ 

    बारीको काँक्रा फर्सी

    मेवा र मकैको घोगामा 

    चोखे लगाउँछ 

    ऱ्याल चुहाउँछ 

    औंसी पुर्णे लागिरहन्छ 

    उसलाई 

    कहिले मेरो घरको 

    जग उस्को हो भन्छ

    कहिले मेरो आगनको पर्खाल सार्छ 

    बाजे भन्नु हुन्थ्यो, 

    वुवा भन्नु हुन्थ्यो 

    छिमेकी सार्न सकिन्न 

    मर्दा पर्दा चाहिन्छ 

    मन नलागी नलागी म पनि त्यसै भन्छु

    तर मेरो सानो छोरा

    पटक्कै मन पराउदैन उसलाई

    हेर्न नै चाहदैन 

    उस्को कुटिल र कपटी अनुहार 

    सॉझ बिहानै 

    मेरो घर तेर्स्याएर 

    विष्टाउने उस्को बानी 

    पटक्कै मन पर्दैन उसलाई 

    हाम्रो

    सानो घर, सानो ऑगन 

    कम सँख्याको परिवार 

    सिमित घर खेत 

    कम खर्च र कम आयश्रोत 

    खुसी र सुखी परिवारको 

    हैसियत सोधी रहन्छ उ 

    कहिले कुलो नदिने मेसो 

    कहिले बाटो नदिने वहानामा 

    कच्कच गरिरहन्छ

    हेपाहा बनेर 

    आजकल 

    हाम्रो बाउबाजेको छालामा 

    छेकारो लगाउन थालेको छ 

    हिजो अस्तिदेखि भन्न थालेको छ 

    ऑखै नलाग्नु रे 

    हिड्दै नहिड्नु, छिर्दै नछिर्नु 

    गोली ठोकिदिन्छु पो भन्छ 

    मापाको भएको छ छिमेकी

    रिसले मुर्मुरिएको छोरा

    भुत्ते खुकुरी उध्याएर बस्छ 

    ऑगनको डिलमा हुक्का तान्दै

    काका उखानमा उस्काउँछन्

    सुकेको नाडीको बल 

    अनाड़ीलाई के थाहा ? 

    उहिले नालापानीमा 

    पानी मात्र खान पाएको भए 

    कान्धारसम्म चन्द्र सुर्य गाढिन्थ्यो  

    बजियाको छातीमा 

    घोडा दौडाउन पाईन्थ्यो 

    म्लेच्छको बाँझो पऱ्यो 

    त्यसको झट्केलो छिमेकीको 

    दिनदिनको बुहार्तन कति सुन्नु

    हुक्काको सर्को उडाउँदै काका भन्छन् 

    ‘अति गर्नु अतिसार नगर्नु’

    फेरी सोचेर एकै छिन 

    तर पनि छिमेकी हो 

    मर्दा पर्दा चाहिन्छ 

    अलिअलि त सहनै पऱ्यो !

  • नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?

    नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?

    काठमाडौं । नेपालमा सरकारले १ भदौबाट भर्ना अभियान संचालनको तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि १० चैतयता सबै विद्यालय तथा विश्वविद्यालय बन्द छन् । अनलाइनमाध्यमबाट केही पठनपाठन प्रारम्भ गरिएको भएपनि विद्यालयमा भने विद्यार्थी बोलाइएको छैन । शिक्षा मन्त्रालयका अनुसार १ भदौपछिको १५ दिनको अवस्था विश्लेषण गरी विद्यालय खोल्नेबारे तयारी भइरहेको छ ।

    कोरोना भाइरसको संक्रमण सामान्य भएमा १५ भदौबाट नै पठनपाठन सूचारु गर्न सकिने सम्भावना छ । यद्दपी सरकारले भर्ना खोलेको १५ दिन भने परिस्थितिको मूल्यांकन गर्ने बताएको छ । विद्यालय ५ महिना बन्द हुँदा अधिकांश परीक्षा प्रभावित भएका छन् । यसमध्ये सरकारले एसइइ र कक्षा ११ को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिने व्यवस्था मिलाइसकेको छ ।

    कक्षा १२ र अन्य परीक्षा भने नियमित संचालनको तयारी गरिएको छ । उता, विश्वविद्यालयहरुले समेत प्राध्यापकहरुलाई हाजिर हुन आग्रह गरिसकेका छन् । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलाइएको छ । त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा तयारी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

  • आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस खुल्ने

    आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस खुल्ने

    काठमाडौं । आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस संचालनमा आउने भएका छन् । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयबाट जारी कोभिड १९ विरुद्धका सुरक्षा निर्देशिका तथा निर्देशन पालना गर्दै क्याम्पस सञ्चालनमा आउने भएका हुन् । सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । अधिक भिडभाड हुने केही क्षेत्रबाहेक नेपालमा सबै क्षेत्र अब पुर्ववतः अवस्थामा फर्काइएको छ ।

    नेपालमा ११ चैतमा लकडाउन शुरु भएको थियो । विश्वविद्यालयले लकडाउन अन्त्य भएसँगै आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको हो । विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय समेत गरेको छ । यसअघि स्थगित भएका परीक्षा दशै अघि नै सक्ने लक्ष्य विश्वविद्यालयको छ । दशैपछि अन्य नियमित परीक्षा हुने भएका छन् ।

    विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका प्रँध्यापकहरुलाई समेत क्याम्पस बोलाउने निर्णय गरिएको छ । उनीहरु क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापक बोलाउने निर्णय त्रिविले गरेको हो । सरकारले १ भदौबाट विद्यालयहरुमा समेत भर्ना खोल्ने निर्णय गरेको छ ।

  • गम्बुको अर्को राष्ट्रप्रेमी गीत सार्वजनिक

    गम्बुको अर्को राष्ट्रप्रेमी गीत सार्वजनिक

    काठमाडौं

    गीत मार्फत सन्देश दिन मन पराउने गायक गम्बु शेर्पाको स्वरमा ‘कोही भन्छन UK जा कोही अमेरिका’ नेपा टेक समुहको प्रस्तुतिमा सार्वजनिक भएको छ ।

    ‘नजिक’ एल्बम अन्तर्गत समाविष्ट सो गीतको म्युजिक भिडियोलाई ‘नेपा क्रियसन’ले नै तयार पारी युट्युब मार्फत दर्शक-श्रोता माझ ल्याएको हो । गीतकार तुलसी बस्नेतको रचनामा सन्तोष श्रेष्ठले संगीत एवम् एरेन्ज बिष्णु अधिकारीले गरेका छन् । 

     

    देशमा नै केही गर्नु पर्छ भन्ने सोचराखि लामो अमेरिकाको बसाई त्यागेर नेपाल फर्केका गायक शेर्पाले यसअघि पनि बिभिन्न देशभक्तिका गीत गाइसकेका छन् । दर्शनीय प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन गायक शेर्पाले आफै गरेका छन् ।

  • प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

    प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मस्थान भारतमा नभई नेपाल भएको र त्यो वीरगन्ज नजिकै ठोरीमा भएको बताएपछि नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा ठूलो विचलन आउने आंकलन गरिएको थियो । तर, त्यसको भोलीपल्ट नै परराष्ट्र मन्त्रालयले एक स्पष्टिकरण सार्वजनिक गर्यो ।

    जसमा प्रधानमन्त्रीको बोली राजनीतिक नभएको र कुनै धर्म र आस्थामाथि प्रहार गर्ने उद्देश्यले नआएको स्पष्ट पार्यो । परराष्ट्रको यो स्पष्टिकरणले भने नेपाल र भारत सम्बन्धमा आउन सक्ने सम्भावित फाटोलाई केही सुधार गरेको पाइएको छ । भारतमा संचारमाध्यमले बहस चलाएपनि भारत सरकारले भने यो मुद्दालाई उचाल्ने संकेत गरेन् ।

    भारतीय विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे पत्रकारले प्रश्न राखेका थिए । उनले नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको भन्दै थप टिप्पणी आवश्यक नभएको बताएका छन् । ‘भारतको विशाल संस्कृतिक विरासतबाट विश्व जानकार छ । र, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेकाले थप टिप्पणी गर्न चाहन्नँ’,उनले भने ।

  • ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

    ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतमा नभई पर्साको ठोरीस्थित अयोध्यापुरीमा भएको बताएसँगै अहिले ठोरी चर्चामा रहेको छ । ठोरीबासी समेत हर्सित छन् । प्रधानमन्त्रीले बीना अध्ययन बोलेको आरोप लागेसँगै अब भने आधिकारिक निकायलाई ठोरीमा अध्ययन गर्न दवाव बढेको छ । सोही क्रममा सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक तथ्य खोजीका लागि उत्खनन गर्न सकिने सम्भावनाबारे विज्ञहरुसँग छलफल थालेको छ ।

    अयोध्यापुरीमा पुरातात्विक तथ्य खोजी गर्न विज्ञसँग छलफल गर्ने तयारी भइरहेको पुरातत्व विभागले जानकारी दिएको छ । विभागका एक अधिकाीका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिपछि विभागलाई अब अनुसन्धानका लागि दवाव र चूनौति दुबै थपिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेका थिए । इतिहासविद्, संस्कृतिविद् र धर्मविदसँग छलफल गरी निर्णय लिने तयारीमा विभाग रहेको छ । प्रारम्भिक चरणमा उत्खननको लागि विज्ञहरुसँग छलफलको प्रक्रिया अगाडि बढाइएको ति अधिकारीको भनाई छ ।

  • एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न

    एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न

    न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्तीकाे पावन अवसरमा ‘साहित्यिक चाैतारी’ कार्यक्रम जुम मार्फ़त् जुलाई १३ तारिख साेमबार भब्यतापुर्वक सम्पन्न गरेकाे छ । 

    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यकाे याेगदानकाे चर्चाका साथै एनआरएनएसँग मिलेर साहित्यिक उत्थानमा सहकार्य गर्ने बताउनु भयाे र एउटा कविता समेत पाठ गर्नु भयो। समाराेहका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव  प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले भानुकाे नेपाली साहित्य र समाजमा परेकाे प्रभावका विषयमा चर्चा गरी नेपाली शब्दकोश एप,  भानु पुरस्कार तथा प्रवासी साहित्यकारकाे कृति प्रकाशित गर्नेजस्ता प्रज्ञा प्रतिष्ठनका याेजना सुनाउँदै आफ्नाे सशक्त कविता पनि प्रस्तुत गर्नुभएकाे थियाे । 

    एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिका संयाेजक सर्वज्ञ वाग्लेद्वारा सभाको सभापतित्व गर्दै दीपप्रज्ज्वलन एवं आदिकवि भानुभक्त आचार्यकाे तस्बीरमा माल्यार्पण गरी प्रारम्भ गर्नुभएकाे कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, कालिफाेर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, अनेसास बाेर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, निजानन्द मलल्ल लगायतका अतिथिहरूले भानुभक्तकाे याेगदान र रचनाका साथ शुभकामना व्यक्त गरेका थिए । 

    समितिकाे तर्फबाट राजेन्द्रप्रसाद अर्यालकाे स्वागत मन्तव्यका साथ सुरु भएकाे कार्यक्रममा मुरारी गुरागाईकाे संगीतसहित सरु गुरागाईले भानुभक्तकाे रामायणबाट सुमधुर वाचन गर्नुभएकाे थियाे । 

    कार्यक्रममा मदन पुरस्कार प्राप्त गर्ने स्रष्टा निलम कार्की निहारिका, राम कुमार सुवेदी, छत्रपति दाहाल, डा. ऋषि बास्ताकाेटी, कृष्ण कुमारी पाैडेल,  प्रकाश भट्ट, खेमराज पाेखरेल, लेखनाथ काफ्ले, सीता अर्याल, डा. दुर्गाप्रसाद अर्याल, नम्रता गुरागाईं, रीता देवी प्रधान, भावना खतिवडा, प्रकाश पाण्डे, गीता बजगाईं, मित्र पाैडेल, प्रकाश नेपाल, तेज विनाेद, पशुपति पराजुलीलगायतका साहित्यकारहरुले कविता, गजल, गीत, मुक्तक तथा आदिकवि भानुभक्त आचार्यका रचनासमेत वाचन गरेका थिए । 

    पीपलमणि सिग्देल, प्रकाश पाण्डे तथा गीता बजगाईंले संचालन गर्नुभएकाे कार्यक्रममा कृष्ण कुमार गिरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने संयाेजक एवं समारोहका सभापति सर्वज्ञ वाग्लेले शुभकामनाका साथ कार्यक्रम समापन गर्नुभएकाे थियाे । 

    NRNA NCC USA काे फ़ेसबुक पेज, www.osvevo लगायतबाट लाइभ गरिएकाले हजाराै दर्शककाे सहभागिता रहेकाे थियाे । 

  • प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

    प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिव्यक्तिमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने उद्देश्यले नआएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीको भारतसहित नेपाल भित्र समेत आलोचना भइरहेको छ ।

    सोही सन्दर्भमा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको स्पष्ट पारेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

    परराष्ट्रले प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको उल्लेख गरेको छ । प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयले बताएको छ ।

    विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्रले यस्ता तथ्यबाट दुई देश र जनताबीचको सांस्कृतिक समानता झल्कन उल्लेख गरेको छ ।

  • भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

    भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

    काठमाडौं । भगवान राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे भारतमा व्यापक निन्दा र आलोचना शुरु भएको छ । पौराणिक कालदेखि मान्यताप्राप्त इतिहासलाई बीना कुनै तथ्य बोलिदिएपछि ओलीको पुनः एक पटक निन्दा शुरु भएको हो । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति सोमबार दिएका थिए ।

    भारतको सत्तारुढ दल तथा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै कडा शब्दामा आलोचना गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नपाइने उल्लेख गरेका छन् । ओलीको आलोचना गर्दै शास्त्रीले भगवान राम आस्थाको प्रतीक भएको र यसमा कसैले पनि खेलवाड गर्न नपाउने उनको भनाई थियो ।

    प्रभानमन्त्रीको अभिव्यक्तिलाई भारतीय संचारमाध्यमले समेत कच्चा कुटनीति भन्दै आलोचना गरेका छन् । ऐतिहासिक तथ्यबारे बोल्दा यथेस्ष्ट प्रमाण अगाडी सार्नु पर्ने र नभए आस्थामाथि प्रहार गर्न नपाउने उनीहरुको तर्क रहेको छ । त्यसमाथि धर्म नमान्ने कम्युनिष्ट नेताले धार्मिक तथ्यमाथि बोल्नु अझ तर्क संगत नभएको उनीहरुको भनाई रहेको छ ।

  • राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

    राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

    काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले  नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् ।

    २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको बताए । सांस्कृतिक तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको भन्दै उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने उल्लेख गरे ।

    भारतले विवादित अयोध्या खडा गरेको उनको तर्क छ । नेपालकी छोरी सिता भारतका रामलाई नभई अयोध्याका रामलाई दिएको भन्दै उनले अयोध्या नेपालमा पर्ने उल्लेख गरे । उनले भने, ‘अयोध्या वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्यहाँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन ।’

    अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका भएकाले राम नेपाली नै रहेको उनको तर्क छ । संचारको कुनै सुविधा नभएको समयमा भारतले भनेको अयोध्याबाट छोरी माग्न कुनै पनि व्यक्ति जनकपुर आउन नसक्ने प्रधानमन्त्रीको तर्क छ ।

  • स्मृतिमा : भानुभक्त

    स्मृतिमा : भानुभक्त

    आचार्य पीपलमणि सिग्देल, न्युयोर्क

     

    खाेला र खाेल्सा अनि खेतबारी

    बाेकी अनाैठाे जलकाे भकारी

    डटेर आफैं शुभ दृष्टि पार्न

    आषाढ आयाे जग याे सिंगार्न 

     

    राेजेर नाैलाे जगमा बिहानी 

    बर्सिन्छ वर्षा नव जिन्दगानी 

    अनन्त उत्पत्ति दिएर धर्ती 

    उर्लन्छ याे दिव्य सुकर्म शक्ति 

     

    राेपार लाठे पिरती सजाई

    भाका कलाकाे लयमा रमाई

    टिपेर वाणी मनले सशक्त 

    बाेकेर दिन्छाै युग भानुभक्त 

    साहित्य राेप्ने कवि भानु याैटा 

    लिएर लाठे सम देवकाेटा 

    आषाढ हाे खेत तथापि एक 

    उम्रिन्छ भाषा र कथा अनेक !

  • अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

    अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

    नयाँ दिल्ली

    बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती  अस्पताल भर्ना गरिएको छ ।

    अभिनेता बच्चनले कोरोना संक्रमित भएको ट्विट गरे लगत्तै बलिउड कलाकार र हजारौं प्रशंसकले उनको सिघ्र स्वास्थ लाभको कामना गरेका छन् ।

  • भुवनको ‘काली’ बोलको गीत ट्रेण्डिङमा

    भुवनको ‘काली’ बोलको गीत ट्रेण्डिङमा

    काठमाडौं

    कार्टुन्ज क्रुले जुन पाए त्यही गीत गर्दैनन् । जुन गीत गर्छन् धमाकेदार गर्छन् । भुवन थापा मगरले ‘काली तिम्रो मायाले’ बोलको गीत कार्टुन्ज क्रुको घामपानी ३ अन्तर्गत सार्वजनिक गरेको छ । 

    गीत सार्वजनिक भएको ३ दिनमा नै झण्डै मिलियन भ्यू पुगेसँग नेपाली गीत हिटलिष्टको ट्रेण्डिङ ३ मा पुगेको हो । गीतकार डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र भुवन थापा मगरको स्वरको गीत अहिले यूट्युबमा सबैको रुचीमा परेका छन् । डान्सिङ् प्याटर्नको गीतलाई आकर्षक रुपमा प्रस्तुत गर्न कोरियोग्राफर पेम्बा मगर र निमबाबु तामाङले राम्रो काम गरेको देखिन्छ । 

     

    काठमाडौंका रेष्टुरेण्ट र दोहोरीहरुमा लामो समयदेखि आफ्नो स्वरको जादु देखाउँदै आएका भुवन थापा मगरले आफ्नै स्वरमा म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेको भने पहिलो पटक हो ।

  • चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक

    चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक

    काठमाडौं

    पछिल्लो समयका लोकप्रिय गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ ।
    रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

    म्युजिक भिडियोमा रविन बिष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेरदेखि संगीत र साहित्यमा रुची राख्न थालेका हुन् । यसअघि उनका “गर्व लाग्छ” र “महसुस” बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियारसंग काम गर्न पाउँदा आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् ।

    अमेरिकामा फिल्म निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन् । आगामी दिनहरुमा अझ स्तरीय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, श्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

  • सरकारको बेथिति विरुद्द ‘ल्याँङ भो’ गीत सार्वजनिक (भिडियो सहित)

    सरकारको बेथिति विरुद्द ‘ल्याँङ भो’ गीत सार्वजनिक (भिडियो सहित)

    न्युयोर्क

    युवा पुस्ताको आवाज समेटिएको गीत ‘ल्याँङ भो’ सार्वजनिक भएको छ । व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराशा र सर्वसाधारण नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ ।  

     रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलले स्वर एवम् सङ्गीत दिएको छ । हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन निरौलाले बनाएका हुन् । छिट्टै अफ़िसिएल भिडियो सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी गीतकार जोशीले दिएका छन् । लिरिकल भिडियो जोशीकै च्यानल मदर नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

    अमेरिकामा विज्ञान विषय अन्तर्गत विद्यावारिधी गर्दै गरेका जोशी ‘नेपाल फर्कौं’ अभियानका अभियन्ता समेत हुन् । उनी भन्छन्; “यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्यम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरिएको छ” ।

  • गायक सुरजको राष्ट्रिय भावको गीत तथा भिडियो सार्वजनिक

    गायक सुरजको राष्ट्रिय भावको गीत तथा भिडियो सार्वजनिक

    काठमाडौं

    बिगत ३ दशकदेखि नेपाली गीत – संगीतमा समर्पित गायक सुरज कुमार थापाको नयाँ म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । ‘चिनारी’ एल्बममा समाबिष्ट गीत “हामी कमजोर हैनौ केले यो हाल गरायो?
    यो शान्तिको फूलबारी आँधी कताबाट आयो ?” का रचना तथा संगीत कम्पोज विश्वनाथ प्रेम ‘बराल’ ले गरेका हुन् भने संगीत एरेन्जमेण्ट नोर्बु छिरिङ्ले गरेका छन् ।

    बिसं २०५० सालदेखि नेपाली संगीताकाशका नक्षत्र श्रद्धेय अम्बर गुरुङ्सँग औपचारिक संगीत सिकेर स्वर परिक्षा उतिर्ण गरी नेपाली संगीतमा होम्मिएका गायक सुरजकुमार थापाका कयौं दर्जन गीतहरु मध्ये पूर्णरुपमा देशप्रेमले ओतप्रोत भएको यो पहिलो गीत हो ।

    शालिन व्यक्तित्वका धनी एवम् उत्कृष्ट किबोर्ड बादक गायक थापाले कयौं नेपाली संगीत पुरस्कारहरु पनि पाइसकेको छ ।

  • बेबी सावर गीत युट्युबमा सार्वजनिक

    बेबी सावर गीत युट्युबमा सार्वजनिक

    न्युयोर्क

    गीतकार दुर्गा खनाल घिमिरेको ‘बेबी शावर’ उत्सव लक्षित गीत बजारमा आएको छ । परिवारमा सबैभन्दा बढी खुसी त्यति वेला हुन्छ, जति वेला उत्तरदायित्व लिने सन्तान आमाको कोखमा छ भन्ने थाहा हुन्छ । अनि उत्सवको माहोल बन्ने गर्दछ । त्यही उत्सवको माहोललाई प्रतिनिधित्व गर्ने बेबी सावर सम्बन्धि गीत डि -४ युट्युबमा सार्वजनिक गरिएको हो ।

    दुर्गा खनाल घिमिरेको यस गीतमा प्रताप दास र मिलन नेवार अमात्यको स्वर रहेको छ । नेपालीहरू संसारभर पुगी सकेको बर्तमान परिप्रेक्षमा बेबी शावर मनाउँदै गर्दा बजाउने गीत समेत नेपाली शब्द र स्वरमा नभए पछि गीतकार खनाल बेबी शावर गित रचना गर्न पुगेको बताउँदछिन् । 

    गिताको म्युजिक एरेंज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले विवेक साउण्ड स्टुटुडियोमा गरेका हुन् । यस गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह, कलाकारहरू आयुश रिजाल, अन्जली अधिकारी, रश्मी भट्ट, कमल कान्त मैनाली रहेका छन भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा, एडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहेका छन् । गीतको प्रडक्सन डि -४ प्रडक्सनले गरेको छ भने र निर्देशन गम्भिर विष्टले गरेका हुन् ।

  • न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

    न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

    सकुन ज्ञवाली, न्युयोर्क

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा जुन ६ तारिखका दिन अ ने सा स न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह ‘अन्तर्ध्वनि’ को भर्चुअल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

    भर्चुअल लोकार्पण गरिएको ‘अन्तर्ध्वनि’ नेपाली साहित्य जगतमा नै पहिलो भर्चुअल्ली लोकार्पित कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पूनम काफ्लेका प्रकाशित कृतिहरू; भावना, छायाँ छवि, परदेशिएका पाईलाहरू, जून तारा, अन्तर्धारा, गीतहरु हुदैँ अन्तर्ध्वनिसम्म प्रकाशित हुन आएको छ । उक्त अवसरमा नेपाल निगमका महाबाणिज्य दूत पुष्पराज भट्टराई, अ ने सा स केन्द्रका अध्यक्ष राधेश्याम लेकाली, अ ने सा स ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा. मधु माधुर्य, जगदिश उपाध्याय, पूर्ब च्याप्टर अध्यक्षहरु साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट, राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरु, सल्लाहकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे, राजन महर्जन, जानुका वस्ति ढकाल, मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम, पूर्व पदाधिकारी बेदा आचार्य ,साहित्यकार सिता खरेल, समालोचक रश्मि भट्ट, साहित्यकार बिनोद रोका, साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरुको पनि गरिमामय उपस्थित थियो । 

    उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पूनम काफ्लेलाई बधाई ज्ञापन गरेका थिए । नेपालबाट अतिथि राधेश्याम लेकाली र मधुवन पौडेलका साथै अतिथि पुष्पराज भट्टराई, गीता खत्री, जगदिश उपाध्याय लगायत सबैले आ आफ्नो छोटो मिठो भावनाहरु व्यक्त गरेका थिए । अंतर्ध्वनि कथा संग्रहको समीक्षा गर्दै डा.मधु माधुर्यले पूनम काफ्लेको कृतिमा समाबेस भएका बीसवटा कथाका बारेमा प्रष्ट पार्दै कथामा निहित मधुर भाव ,मानवीय समबेदना, पुराना र नयाँ सोचको द्वन्द, रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन, आदिको बारेमा प्रकाश पारेको थियो |

    उपस्थित पूर्व अध्यक्षहरु लगायत च्याप्टरका सदस्यहरुले पनि सर्जकलाई बधाई एवम् शुभकामना दिई बिदेशी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकापर्ण भएकोमा खुसियाली व्यक्त गरेका थिए । सहभागीहरुले सर्जक काफ्लेको लेखन आख्यानमा अति उत्कृष्ट भएकोले नेपाली साहित्यमा उहाँको उपन्यास पनि छिट्टै पाउने आशा गरेका थिए। श्रस्टा पूनम काफ्लेका श्रीमान किरण काफ्लेले पनि उक्त कथा संग्रहबाट एक हरफ़ कथा पढेर सुनाएका थिए । सदाझैँ अ ने सा स न्यू योर्क च्याप्टरका महासचिब राजन महर्जनले रमाईलो बाताबरणमा कार्यक्रम संचालन गरेका थिए।

    अध्यक्ष शकुन ज्ञवालीले पूनम काफ्लेको सौम्य शालीन, सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित सवैलाई धन्यबाद दिदै दुइ घण्टे पुस्तक बिमोचन कार्यक्रम समापन गरेकी थिईन् ।

  • अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख

    अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख

    अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता)

    मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन । म त १० कक्षा पढ्ने विद्यार्थी मात्रै थिएँ । पछि मेरी कान्छी माइजूलाई सुनाएँ; ‘पाहुना भान्जालाई मान गरेका होलान्’ भनेर अझ थपि दिनुभो । सरको अर्थ अझ भेग बन्यो ।

    यता अमेरिकामा आएपछि मैले मेरो कामको बोसलाई ‘सर’ भनेर सम्बोधन गर्दा मज्जाले रिसाएको पनि सम्झन्छु । मलाई किन सर भनेको ? म केको सर ? नामले बोला नत्र नबोल भन्छ गाँठे ! यही ‘सर’ संग जोडिएको अर्को प्रसंग पनि जोड्न मन लाग्यो । पहिला म प्राय: यसो हेरेर अनुमानको आधारमा दाइभाइ भनेर बोलाउँने गर्दथें । जसलाई दाइ भनेर बोलाउन थालें, उनीहरु आवस्यकता भन्दा बढी सम्मान गरेको सम्झेर तिमी भनेर बोलाउन थाले । तिमी भन्नु खराब त होइन तरपनि खैके खैके लाग्ने ! त्यसपछि मैले दाइभाइको सट्टा प्राय: ‘सर’ भनेर सम्बोधन गर्न थालें ।

    सर भन्नु सजिलो पनि छ । नाम सहित भनेर नामको पछाडि ‘जी’ जोडिराख्नु भन्दा छरितो लाग्छ । यद्यपी सर शब्द सुन्यो कि नानाथरी दिमागमा घुम्छ । अगाडि सर भएको सरकारले गर्ने गरेको “अघि सर वा पछि सर” वाला व्यवहार मलाई ताज्जुब लाग्छ । भारतबाट आउने नेपालीमा पछि सर्ने चीनबाट आउने नेपालीमा अघि सर्ने, प्रतिपक्षमा हुँदा अघि सर्ने, सरकारमा हुँदा पछि सर्ने, भाषणमा अघि सर्ने, काममा पछि सर्ने, यो सरकारसँगको “कार” अघि र पछि सरेको देख्दा खै कता सरेको हो यो “सर-कार” बिलखबन्दमा छु । अनि यो पछि भएको सर “अवसर” पनि परिस्थिति हेरी अघिपछि सर्दो रहेछ । अवसरबादी भनेर प्राय: बाम्पन्थीहरुले प्रयोग गर्ने शब्द उनीहरु पनि कहिले अघि सर्न र कहिले पछि सर्न प्रयोग गरेको थुप्रै पटक देखियो/ सुनियो । अवसर शब्दले राम्रो कुराको संकेत गरे पनि अवसरबादीमा पुग्दा भने सबैले सजग हुनु नै जाती हुँने रहेछ । “सरकार”मा जानुलाई जनताको सेवामा प्रयोग गर्ने “अवसर” लिनुको सट्टा आफ्नै र आफ्नाहरुलाई दुनो सोझ्याउन प्रयोग गरिने अबसरको रुपमा लिएपछि खै जनता “अघि सर्ने कि पछि सर्ने” झुक्किएका छन । 

    सरकारले आफ्नो अवसरलाई प्रयोग गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । अघि “सर” र पछि “सर” को मित्रताले जनतामा अग्रगामी असर पर्ने देखिन्छ । 

  • कुट्न पाइने सम्वन्ध

    कुट्न पाइने सम्वन्ध

    अच्युत सिग्देल, न्यूयोर्क

    दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा टोकाटोक नै । उनले एक प्याकेट गैंडा चुरोट र सलाई किने ।

    ढोकाबाट बाहिरिने क्रममा उनी एकाएक पसल भित्र वसिरहेको मान्छे माथि जाइलागे । कुटाकुट चल्यो पसल भत्कियो । पहिला चियाको चुस्किमा रमाई रहेका मानिसहरू दुई भागमा बिभाजिन भए । धेरैको टाउको फुट्यो । रगतले अनुहार छोपियो । आफ्नै साथीहरू पराई भए । जो जो छुट्याउन गए उनीहरूले पनि गज्जवको लात्ती भेटे । आधा घण्टाको लड़ाई पछि पसल रण मैदानमा परिणत भए । जित्ने गोरूले हार्ने गोरू लखेटे जस्तै एक हुल मान्छेहरु भागे बाँकी रहेका सबै पछि पछि लाग्दै जे जेले भेट्यो त्यसैले हान्दै लखेटे । 

    साँझपख तिर पुलिसको भ्यान र जीप आयो । प्रधानपञ्च लगाएत वडा अध्यक्ष र सदस्यहरू समातिए । ज्यान मार्ने उध्योग गरेकोमा जिल्ला अदालतमा मुद्दा परेको सुनियो । घटनामा संलग्न आधाजति भागिसकेका थिए । 

    पुलिसले घटनाको मुख्यपात्र जस्ले कुटपिट सुरू गरेका थिए । उनको बावुलाई समातेर हतकडी लगायो र भ्यानमा कोचिदियो । हतकडीलाई फलामको चेनले बॉधिएको थियो । उनी प्रतिष्ठित थिए । जब उनी समातिएको खबर फैलियो तर घटनामा सँलग्न भै भागेकाहरू फटाफट एक एक गर्दै निस्किन थाले । पुलिससँग अरू हतकडी रहेनछ, सबैलाई डोरीले बॉधेर राखे । 

    हेर्नेको भिड लाग्यो । बर पिपलको रूखमा चढेर हेर्ने टन्नै थिए । चिलाउने कटुस र काप्रोको बोटमा चढ्ने पनि थुप्रै थिए । हल्दार सापले कानेखुसी के गरेका थिए । एक फुलीवाला असई साप जँगिइहाले; “मामीमुमेहरू, चरा मारे जस्तो गोलीहानेर झारी दिऊँ ?” अलिअलि डराएर ओर्लिए । तर धेरै जना रातीसम्म रमिता हेरिरहे । 

    पुलिसले मिलापत्र गराएको गाईंगुई सुनियो । २०० जारी तिर्न बाँकी नतिरेकोले कुटेको रे भन्ने सुनियो । ‘अरूको स्वास्नी भगाउने अनि जारी पनि नतिर्ने अनि कुटाई खाईदैन त ?  अर्काको स्वास्नी भगाउने मुर्दारलाई मार्नु पर्ने । कम भयो’। यस्तै यस्तै भन्दै थिए – मान्छेहरू । 

    रात परेपछि लाल्टिन बालेरै भएपनि मिलापत्र गराइएछ । पसलको तोडफोडको रकम पॉच सय तोकिएछ । त्यो मघ्ये झगडालु दुबैले दुईसय पचास – दुई सय पचास तिर्नुपर्ने भएछ । जारीको सॉवा व्याज मिलाएर तीनसयमा सहमती भएछ । कुट्नेलाई हातहाले बापत थप दुईसय जरिवाना सुनाईएछ, कानून हातमा लिएकोले हो रे । 

    प्रहरीको समन्वयमा सहमती भयो । दुबैले नेपाली कागजमा सहछाप गरे । लेनदेन पनि भयो होला । दुबै समुह मिलेर पुलिसले खाएको पैसा पनि तिरी दिएछन् । बेलुका सुरा – लुईचे पार्टी चल्यो । सम्धी सम्धी भन्दै अंकमाल भयो । रक्सीले पनि मध्यस्तकारी भूमिका निभायो । पुलिस काम सकाएर टुप्पीमा रातो बत्ति बाल्दै आफ्नो बाटो लाग्यो । 

    फेरी अर्को वर्ष तिहार आयो । पिङमा फेरी मान्छे कुटेको खबर आयो । त्यही पुरानो कथा दोहरिएछ । रगताम्य भएको बिरामी अस्पताल लगिएछ । हामी स-सनालाई जान दिइएन । फेरी पुलिस आयो पटके अभियोग लगाएर ठूलो क्षतिपूर्ति दिलाई यो रे । 

    हामीपनि समयसँगै बढ्दै गयौ । हरेक दशैं तिहारमा गोरू चुटेजस्तो चुट्ने र चुटिईने क्रम रोकिएन । ती दाइ नेता पनि भैसकेका थिए । हामीसँग मिलनसार नै थिए । एक पटक मैले सोधेको थिएँ । ‘अनाहकमा मान्छे किन कुटेको ?’ भनेर । 

    उनको जवाफ थियो । “जारलाई त नमरून्जेल पिटी रहनु पर्छ नि” । मैले कानून मिच्न नपाईने र आफूले पढेको “प्यार अमर हुन्छ, प्यारमा तगारो बन्नु हुन्न” भन्ने क़िस्सा सुनाएको थिएँ । उनी भन्थे “जव पुरूषार्थमा दाग लाग्छ, त्यो कसैले मेटेर मेटिन्न । ईख नभएको मान्छे र बिष नभएको सर्प के काम “? अझ थप्थे; ‘यो पिट्न पाइने सम्वन्ध उसैले जोडेको हो’ । ऊ पिट्न पाइने सम्बन्धको भ्रम बोकेर कानूनमाथि सवार हुन अझै तयार थियो ।

    बिरोधाभाषी सँस्कार र सँस्कृतीमा हुर्किएको हाम्रो समाजमा घट्ने यस्तै घटनाहरू अझैपनि उस्तै लाग्छन् । 

    कानूनले एउटा बाटो देखाउँछ । परम्परागत चलनले अर्कै बाटो देखाउँछ । जवसम्म शिक्षा, चेतनास्तर र आर्थिक अवस्थामा आमूल परिवर्तन आउँदैन, तवसम्म मान्छेको सोच परिवर्तन गराउन गार्हो हुन्छ । बिवेक बुद्धि बंगारो जस्तै हो । सबैभन्दा बिस्तारै पलाउँछ ।

  • स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु

    स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु

    काठमाडौं । लामो लकडाउनका कारण नयाँ शैक्षिक सत्र नै प्रभावित हुने भएपछि सरकारले अब वैकल्पिक व्यवस्था गरेरै भएपनि पठनपाठन शुरु गर्ने भएको छ । यसका लागि शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ ल्याएको छ । यस निर्देशिका अनुसार अब शिक्षण संस्थाले सम्भव हुने विकल्प प्रयोग गरी घरमै रहेका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउनु पर्नेछ ।

    तर, यसबीचमा स्कूल खोल्ने निर्णय भने नभएको मन्त्रालयले स्पष्ट पारेको छ । १ असारबाट स्कुल खुल्दैछन् भन्ने सन्देश गएको छ । तर, यसमा भने नेपाल सरकारले गर्ने निर्णय नै लागु हुने भन्दै मन्त्रालयले आफ्नो स्तरबाट कुनै निर्णय नगरेको स्पष्ट पारेको हो । तर, स्कुल खोल्ने अवस्था नभए पनि पढाई भने अब सूचारु गरिने भएको छ ।

    विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न लागिएको मन्त्रालयको भनाई रहेको छ । असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायले पहल गर्नुपर्ने भएको छ । अब इन्टरनेट, रेडियो, टिभी, अनलाइन, अफलाइन वा अन्य विकल्पबाट समेत पठाई हुनेछ ।

  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन

    चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन

    काठमाडौं

    चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सुचना जारी गरि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । सिने पत्रकार तथा कलाकार भिमा मैनालीले आफुसँगको व्यवस्थापकीय क्षमता र योग्यता सहितको आवेदन परेपछि सबैको ध्यान एक्लो महिला आवेदकमा परेको छ । सो आह्वानसँगै चलचित्र बिकास बोर्ड अध्यक्षका लागि चलचित्रकर्मिहरु अगाडि सरेका छन् । जसमा १० जनाको आवेदन परेको छ । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ ।

    चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका भीमा मैनाली २० वर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय छन् । काभ्रेका मैनालीले ‘थोरै भए पुगीसरि’, ‘जीवनचक्र’ लगायतका थुप्रै टेलीशृंखला, चलचित्रहरुमा समेत अभिनय गरिसकेकी छन् । साथै उनी रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गर्दै आएकी छन् ।

  • ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

    ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

    न्युयोर्क

    न्युयोर्क ब्रुकलिनमा बसोबास गर्दै आएका एक उदाउदो र्यापरको फिल्मी शैलीमा शुक्रबार राती हत्या भएको छ । हालै ‘क्यान नट डाई ईन द स्ट्रिट’ यानेकी ‘म सडकमा मर्न सक्दिन’ बोलको गीत गाएर चर्चामा आएका २३ बर्षीय के जे बाल्लाको गोली प्रहारबाट हत्या गरिएको हो । २२ तारिख शुक्रबार राती ब्रुकलिनमा गाडी चलाईरहेको अवस्थामा र्यापर बाल्लामाथि गोली प्रहार भएको हो ।  ब्रुकलिन ईस्ट न्युयोर्कस्थित आफ्नै निवासबाट एक माईलको दुरीमा राती १० बज्न केही मिनेट बाँकी हुँदा र्यापर बाल्लालाई ५ राउण्ड  गोली प्रहार गरिएको न्युयोर्क प्रहरीले जनाएको छ । बाल्लालाई आफ्नो गाडीसँगै सडकमा गुडिरहेको अर्को गाडीबाट फिल्मी शैलीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । र्यापर बाल्लालाई ब्रुकलिन युनिभर्सिटी मेडिकल सेन्टरमा शुक्रबार राती नै मृत घोषणा गरिएको थियो । 

    घटनाको समय र्यापर बाल्लासंगै गाडीमा रहेका अर्को एक जनाको गोली लागेर घाईते अवस्था उपचार भै रहेको बताईएको छ ।  घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ परेको छैन ।

     

  • कविता : मालिक

    कविता : मालिक

    तुलसीराम पुरी 

    मालिक, म गोरु हुँ, तिमी हली

    तिमीले जुवामा नारेउ,

    मैले दुई धार्निको जुवा काँधमा थापी दिएँ,

    जोतारोले मेरो गला कसेउ मानी दिएँ,

    डेड हात लामो हलो झुण्ड्याएउ तानी दिएँ,

    छेउ भनेउ छेउ लागेँ, मेलो भनेउ मेलो लागेँ

    कुना भनेउ कुना लागेँ ।

    भसाउनु हलो भसाएउ, धासाउनु छेउ-कुना धसाएउ।

    जानी जानी हलो अडकाएउ।

    अनि मेरी डडाल्नुमा सिर्कुना बर्साएउ।

    मेरो के दोष थियो मालिक ?

    जोत्ने मेरो काम, तानी दिँएकै थिँए हलो ।

    राँटो रह्यो त गल्ती तिम्रो हैन ?

    हो मालिक तिमीले जोत्न जानेनौ ।

    अनि बोलाएउ छिमेकको हली ।

    नारेउ फेरि जुवामा ।

    उसले त सुरुमै सिर्कुना बर्सायो अनि भन्यो होऽऽऽरि आईज !

    न पानी न घाँस ,

    म जान्दथे तिमीले सिकाएको छेउ कुना, होरि, मेलोको भाषा ।

    लुरु लुरु गरि रहें आफ्नो काम, 

    तै पनि छोडेन चुट्न, भाँच्यौ दर्जनौं सिर्कुना,

    टोक्यो मेरो पुच्छर, सायद ढिला हिनेकी ?

    मालिक, भोको पेटले गोडा लाग्छ र ? लाग्दैन नि !

    मालिक,

    तिम्रो अगाडि मैले बाच्नै सकिन ।

    कसै गरिनी टिक्न अनि बिक्न सकिन ।

    दलाल लगाएर बेचेउ खाडीमा ।

    सिपालु हलीले जोत्यो, फुर्क्याएर जोत्यो, घुर्क्याएर जोत्यो, खुवाएर जोत्यो, हँसाएर जोत्यो, रुवाएर जोत्यो ।

    जिन्दगीको फरक फरक स्वाद चखाएर जोत्यो ।

    मेरो पौरखमा ठडियो उस्को गगनचुम्बी भवन,

    बन्यो उस्को देशमा लमतन्न सडक अनि रेलको लिक ।

    मैले मेरो ज्यानले सकेको कमाएँ,

    मेरा पनि तिम्रा जस्तै भुरा छन पढाएँ, बढाएँ ।

    अझ भनौँ ?

    मेरो पसिनाको रेमिट्यान्सले नै तिम्रो गुजारा चल्या  छ।

    बिना बिरुवा अनि बिना गोडमेलको फल,

    तिम्रै वरिपरि फल्या छ।

    अझै पनि मदेखि खुसी छैनौं मालिक ?

    तिमी भन्छौ, थपडी बजाउ, तिम्रै गुणगान गाउ,

    तिम्रै सिद्धान्तमा आउ ।

    माफ पाउँ मालिक,

    बिना भक्ती गाईने भजनमा, रागको मिठास दिन पटक्कै सक्तिन ।

  • नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश

    नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश

    काठमाडौं । नेपाली प्रतिभाशाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ भित्र अटाउन सफल भएका छन् ।

    विश्वचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल उनले निरन्तर निर्णायकको मन जिजिरहेका छन् ।

    भोटिङ र निर्णायकले दिएको नम्बरका आधारमा उनी उत्कृष्ट ७ मा अटाउन सकेका हुन् । उनको पछिल्लो प्रस्तुतीपछि अब फाइनल राउण्डमा प्रवेशका लागि भोटिङ शुरु भइसकेको छ ।

    उनले सोमबार बिहानको एपिसोडमा सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत घन्काएका थिए ।

    अब हुने भोटिङ पछि २ जना आउट हुनेछन् भने ५ जना फाइलन प्रवेश गर्नेछन् । फाइनल एपिसोड भने १७ मेमा राखिएको छ ।

    काठमाडौंमा जन्मिएका दिवस सन् २०१४ यता अमेरिकामा छन् । नेपालमा प्लस टू सम्मको अध्ययन पछि उनी अमेरिका छिरेका हुन ।

    अहिले भने सपरिवार अमेरिकामा बसोबास गरिरहेका छन् ।

  • नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश

    नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा प्रवेश

    काठमाडौं । नेपाली युवा दिवेश पोखरेलको अमेरिकन आइडलमा जादु चलिरहेको छ । उनी प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेको स्वयमः दिएका छन् ।

    जोन डेनभरको ‘कन्ट्री रो’ गित धन्काएका उनी टप १० मा पुग्न सफल भएका हुन । यो उपलब्धी हाँसिल गर्ने उनी एक्ला र पहिलो नेपाली पनि हुन् ।

    उनले अमेरिकन आइडलको प्रारम्भ देखि नै निर्णायकको मन जित्न सफल भएका छन् । अमेरिकन आइडलमा उनको निकनेम भने ‘अर्थर गन’ हो ।

    टप १० मा छनोट हुनुमा आफ्ना समर्थकको हात रहेको भन्दै उनले धन्यवाद ज्ञापन पनि गरेका छन् ।

    संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भएको उनको भनाई छ । सन् २०१४ मा उच्च शिक्षाका लागि अमेरिका पसेका उनले पछिल्लो दुई वर्षमै संगितमा धमाका देखाउन थालेका हुन् ।

    उनी काठमाडौंका स्थायी निवासी हुने । उनले एस कलेज अफ इन्स्टिच्यूटबाट व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेर अमेरिका गएका हुन् ।

  • कविता : जीवनबाट पीडित जिन्दगानी

    कविता : जीवनबाट पीडित जिन्दगानी

    ~ किशनसिंह धामी, न्यूयोर्क

    खै, कति महिना भ्रूण भए 

    अनि च्याँहाँ च्याँहाँ गरि 

    कति दिनसम्म ती आमा-अमृतका धारा चुसें ? 

    आमाले चुसाएर पीड़ित भइन्

    अथवा मैले अमृत चुसेर पीडित भएँ ?

    मैले नबुझेर म पीड़ित भएँ ।

    नाङ्गो गोडा लिएर पाटीको भारी बोकी

    बर्षौंसम्म पाठशाला ओहर दोहर गरें,

    हेड मासापले पढाएर पीड़ित भए ?

    अथवा शिक्षाको लागि म पीड़ित भएँ ?

    गाई-वस्तु, गोठालो बनि

    धुलो-माटो खेती-बारीमा लडीबडी गरें,

    नाँच-गानले पीड़ित भए

    अथवा डेउडा गीतले म पीड़ित भए, ? 

    देशमा सत्ता फरक भयो

    देशका कुना कप्चा देखें

    गरिब, म र म जस्ता कयौं

    गरिब देखेर पीड़ित भएँ ? 

    अथवा गरिबी देखेर पीडित भएँ ?

    देशमा शासन सत्तासंगै पीडा फरक भयो 

    तर पीड़ित सदावहार

    राजाबाट पीडित

    प्रजातन्त्रबाट पीडित

    बहुदलबाट पीडित 

    माओवादीबाट पीडित

    नेताबाट पीडित

    शरणार्थीबाट पीडित

    सेनाबाट पीडित

    पुलिसबाट पीडित

    ठालुबाट पीडित मुखियाबाट पीडित 

    पंचबाट पीडित

    दाजुबाट पीडित

    पतिबाट पीडित

    पत्नीबाट पीडित

    हाकिमबाट पीडित

    बलत्कारबाट पीडित

    पीडित तर पृथक शैलीबाट पीडित !

    भारतीय पुलिसबाट पीडित

    कर्फ्यूबाट पीडित

    नेपाल बन्दबाट पीडित

    सिमा सिलबाट पीडित

    बन्दरगाहाबाट पीडित

    बाडीबाट पीडित

    पहिरोबाट पीडित

    हावाहुरीबाट पीडित

    भूकम्पबाट पीडित

    घर सिमानाबाट पीडित

    सरकारी ढुकुटी नपचेर पीडित

    बढी पचाएर पीडित

    पचाउन नसकेर पीडित

    कम-बढी भएको सन्तुलन नमिलेर नदेखिएकोबाट पीडित । 

    ठुलो सहरमा रहर गर्ने पीडित

    रहरले पाएको पीडाबाट पीडित

    लकडाउनमा प्रेम-प्रेमिकाहरू पीडित

    फोन नहुँदा पीडित

    डिस्को-क्लबमा जान नपाउँदा पीडित

    चीर निद्राशयमा फूल नपाउँदा पीडित

    मृत्युशैय्यामा अनुहार नदेख्दा पीडित

    कोही ठुलो पीडित

    त कोही सानो पीडित

    तर पीडित महा-पीडित ।

    सिमाना तर्दा पुलिसबाट पीडित

    जेलबस्दा उडुसबाट पीडित

    रेल चढ्दा भाइरसबाट पीडित

    प्रेमिकाबाट पीडित

    प्रियसीबाट पीडित

    साइकलका पाँग्रा भएर पीडित

    नभएर पनि पीडित

    शिरको टोपीबाट पीडित

    टोपी नभएर पनि पीडित, 

    अहिले संसार नै कोरोनाबाट पीडित

    कतै नदेखिने 

    कहिल्यै नदेखिने 

    निर्जीवबाट जीव पीडित, 

    त्राही त्राहीबाट पीडित

    डरै डरबाट पीडित 

    जिन्दगी जीवनबाट पीडित ॥