Category: कला / साहित्य

  • काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !

    काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन !

    पीपलमणि सिग्देल / न्यूयाेर्क

    नाैलाे राेग सरेर ग्रस्त हुन गाे साैन्दर्यकाे याे घर
    सारा विश्व अजीबकाे जहरमा पर्ला कि भन्ने डर ।
    आफ्नै बास भयाे नि जेल कसरी काँप्दाे छ याे जीवन
    काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?!

    नाैला ताेप विमान यानहरुकाे भारी थुपारी बसेँ
    लाखाैं शैनिककाे परेड हुनगाे उत्कर्षमा मैं पुगेँ !
    मेराे शान बढेर व्याप्त जगमा खाेज्दै छ उच्चासन
    काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?!

    पैसा पाैरख शान मान पदवी जाेडेर बस्छाैं कति
    यी सारा जगमा भए फगतका बेकारका ओखती ।
    याैटै साथ म लिन्छु याे समयमा सम्झेर बस्ने मन
    काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?!

    बिन्ती गर्छु हे दाजु भाइ र दिदी आमाहरुमा पनि
    याे पीडा कम गर्न उत्तम विधि हातै धुने हाे भनी !
    यात्रा बाहिरकाे नहाेस् घरमहाँ बस्दै जुटाैं है जन
    काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ?!

     

  • भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

    भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

    मुम्बई । भारतमा प्रधानमन्त्री राहत कोष स्थापना गरी कोरोनाविरुद्धको अभियान शुरु गरिएको छ ।

    यस दौरान बलिउड कलाकारले ठूलो धनराशी सहायताको घोषणा गरिरहेका छन् । यसमो अग्रपंक्तीमा आउने कलाकार अक्षय कुमार हुन् ।

    वर्तमान समयका सबैभन्दा व्यस्त अभिनेता अक्षयले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोगको घोषणा गरेका छन् ।

    अभिनेता बरुण धवनले प्रधानमन्त्री राहत कोषमा ३० लाख भारु सहयोगको घोषणा गरेका छन् । गायक गुरु रन्धवाले २० लाख रुपैयाँ यस कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

    अभिनेता सनी देवलले ५० लाख रुपैयाँ यस कोषमा राख्ने घोषणा गरिसकेका छन् । हेमा मालिनीले एक करोड रुपैयाँ सहायताको घोषणा गरेकी छिन् ।

    गायक कुमार सानुले ५ लाख भारु सहयोग गरेका छन् । हास्यकलाकार कपिल शर्माले यस कोषमा ५० लाख भारु राहत दिएका छन् ।

    कलाकार ऋतिक रोशनले २० लाख रुपैयाँ सहायताको घोषणा गरेका छन् ।

  • टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

    टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

    हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले  स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् ।

    ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै ठाउँमा बस्यो भने यस्तो राम्रो हुन्छ, आफुले कसैलाई नसार्ने अनि अरुबाट पनि आफुलाई नसार्ने । केही समय लाग्न सक्छ तर आफुले अरुलाई सकेको सहयोग गर्ने । आरामसँग बस्ने अनि यो पनि जान्छ” ।

    ६३ बर्षीय ह्यान्क्स् र विल्सनले आफुहरु कोरोना संक्रमित भएको खबर गत मार्च ११ मा पहिलो पटक सार्वजनिक गरेका थिए ।उनिहरुले त्यति बेला अस्ट्रेलियामा रहेर नै उपचार गर्ने बताएका थिए ।

    एजेन्सी

  • गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा

    गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा

    न्यूयोर्क

    प्रेमिल गजलकारको रुपमा परिचित पुष्कर बरालले आफ्नो गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

    बिगत लामो समयदेखि साहित्य लेखनमा सकृय बरालको गजल गीत “हलचल जिन्दगीमा” लाई लोकप्रिय गायक यम बराल स्वर र संगीत भरेका छन् । 

    “यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,

     किन झर्छ आसु यहाँ पलपल जिन्दगीमा”

    यस्तै खालका माया प्रेम र बिछोडका बहलाई पुष्करले शब्दमा उतारेका छन् । न्यूयोर्क सहरमा फिल्मांकन गरिएको म्यूजिक भिडियोमापछिल्लो समय अभिनयमा निकै ब्यस्त रहेकी नायिका / मोडल केकी अधिकारी, गजलकार पुष्कर बराल, नायक कृष थापा र पृन्साकोअभिनय रहेको छ । 

    ओएसआर डिजीटल यूट्युब च्यानलबाट बजारमा आएको यो गजल गीतलाई न्यूयोर्कमा लोकप्रिय बिक्की पुलामी मगरले भिडियोनिर्देशन गरेका छन् भने प्रज्वल पन्तको छायांकन रहेको छ ।

    भिडियो यहाँ हेर्नुहोस् ।

     

    ­

  • हिमेश पन्त बने कमेडी च्याम्पियन

    हिमेश पन्त बने कमेडी च्याम्पियन

    काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट धादिङका हिमेश पन्त विजयी भएका छन् ।

    उनले २५ लाख नगद, कारसहित उपाधी समेत जिते । शनिबार सम्पन्न फाइनलमा उनले दुई प्रतिस्पर्धीलाई उछिनेका हुन् ।

    फाइनलमा तीनजना बीच प्रतिस्पर्धी गराइएको थियो । फाइनलमा गेष्टको रुपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए ।

    उनले सुमन कोइराला र खड्गबहादुर पुन मगरलाई हराउँदै उपाधी जितेका हुन् । नेपालमा पहिलो पटक आयोजना गरिएको यो टेलिभिजन शो सर्वाधिक रुचाइएको कार्यक्रममा पर्न सफल भएको थियो ।

  • कविता : मैले लेख्न छोडें

    कविता : मैले लेख्न छोडें

    प्रवीण भट्टराई / श्रीजङ्गा-४, ताप्लेजुंग

    खै के लेखौं

    हरेक मौकामा

    रंग बदल्ने 

    छेपाराहरुको कथा

    खै के लेखौं 

    हरेक जमघटमा

    एकान्त खोज्ने 

    ढेडुहरुको कथा

    खै के लेखौं 

    मुखमा राम राम

    बगलीमा छुरा

    बोक्नेहरुको कथा

    खै के लेखौं 

    विहान 

    राम्रो कुरा

    दिउँसो 

    हाम्रो कुरा

    अनि साँझ 

    चाम्रो कुरा गर्ने

    चेपारेहरुको कथा ।

    म आजकल 

    अक्क बक्क अनि

    तीन छक्क पर्छु

    विहान भेटेको मान्छे

    दिउँसो अर्कै हुन्छ

    दिउँसो देखेको मान्छे

    साँझ अर्कै बन्छ

    साँझ देखेको मान्छे

    रातमा अर्कै हुन्छ

    न उस्को 

    नाम फेरिएको हुन्छ

    न उस्को 

    जात फेरिएको हुन्छ

    मान्छे उही हुन्छ, 

    जात उही हुन्छ

    अलिकति रंग 

    अलिकति ढंग 

    फेरिएको हुन्छ

    तर ऊ चन्द्रमामा 

    पुगेको हात्ती ठान्दै

    अरुलाई धरतीका 

    भुसुना ठान्छ

    अनि विवश हुन्छौं

    हामी विवश मान्छेहरु

    यी हात्तीका

    जोर लात्ती खान 

    खै के लेखौं यी

    मत्ता हात्तीहरुको गाथा।

    आजकल 

    मान्छे अन्धो भएको छ

    गधालाई गाई ठान्छ

    चोरलाई साधु मान्छ

    आजकल 

    चिनेजानेका भन्नेहरु

    सनै सनै हराए विलाए 

    अनि कसैको शिरमा 

    भर्याङ्ग ठड्‌याएर

    आस्था र विश्वासको 

    सगरमाथा चढ्नेहरु

    दिनको दुगुना

    रातमा चौगुना हुँदै 

    चढ्दै गए बढ्दै गए 

    शिखरमा पुगेर भर्याङ्गले

    सगरमाथा ढाल्न खोज्नेहरु

    अनि त्यही भर्याङ्गलाई फाल्नेहरु 

    उनीहरुलाई के थाहा

    फर्कनलाई भर्याङ्ग फेरी पनि चाहिन्छ

    म आजकल

    यस्तै 

    चेपारे अनि छेपारेहरुबाट बेरिएको छु

    कर्निसको किनारमा

    एक थान बकुल्लाहरु छन्

    माछा ढुकेर बसेका

    म केही दिन एता

    मरूभूमीमा

    बाग्मती खोजिरहेको छु 

    खै के लेखौं 

    यी बालुवामा पानी हाल्नेहरूको कथा

    खै के लेखौं

    सिरक ओढेर

    घिउ खानेहरूको कथा ॥

    ——————

     

  • के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

    के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

    काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह अहिले नेपाल भ्रमणमा छिन् । उनी बिहीबार काठमाडौं आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयले उनलाई नेपाल आउने चाजोपाँजो मिलाएको हो ।

    मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएसँगै नेपालमा यो मेघा इभेन्ट आयोजनाको सम्भावनाका विषयमा समेत चर्चा शुरु भएको छ ।

    किनकी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसमेत उनको साथमा छिन् ।

    जमैकन सुन्दरी टोनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए ।

    नेपाल आएकै दिन उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भेटेका छन् ।
    भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव छ की भन्ने विषयमा छलफल भएको बताइएको छ । यद्दपी यो प्रारम्भिक छलफल थियो ।

    सरकारले समन्वय गर्ने र निजी क्षेत्रले आयोजना गर्ने मोडलमा प्रतियोगिता नेपालमा आयोजनाको सम्भावनाबारे छलफल गरिएको छ ।

    मन्त्री भट्टराईले नेपालमा भेन्यू हेर्न, स्थानीय आयोजकसँग छलफल गर्न र उपयुक्त भए प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

    विश्वभर चर्चा हुने सौन्दर्य प्रतियोगिता नेपालमा आयोनाको सम्भावना हेर्नकै लागि विश्व सुन्दरी आयोजना गर्ने संस्थाका प्रतिनिधि नेपाल आएको बताइएको छ ।

    टोनीले तीन दिनको नेपाल बसाईको अवधिमा सिन्धुपाल्चोकस्थित सोलसिङ गाउँमा सञ्चालित स्वावलम्बन प्रोजेक्ट अवलोकन गर्नेछिन् ।

    उनी आज प्रोजेक्टको अवलोकनमा जाने कार्यक्रम छ ।

  • कथा : सपनाको सौता

    कथा : सपनाको सौता

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    सपना कसैको निम्ति हिजोको अनुभव होला त कसैको निम्ति भोलिको पूर्वानुमान । तर किन किन मेरो सपनामा भोलि देखिनु भन्दा हिजो नै बढी दोहरिन्छ । एक राती मैले गजबको सपना देखेथेँ । एउटा झ्यालको हरियो पर्दा खुल्यो र गोरो अनुहारको दर्शन भयो । बार्दलीको गमलामा फुलिरहेका फूलमा पानी छर्किरहेकी उनले मतिर हेरी मुसुक्क हाँसिन् । उनको मुस्कानको बदलामा मैले पनि उनको नाम के जप्न खोजेकी थिएँ, अचानक श्रीमतीले सपनामा के बर्बराएको भनी उठाई ।

    ‘सपनामा के सानी सानी भनी कराइरहनु भएकी ? को हो यो सानी भन्ने ? ’ म एकक्षण श्रीमतीको अनुहारमा टोलाएँ । मौन भएँ । सपनाको कथा उनलाई सुनाउन सकिनँ ।

    सपनाको यो पहिलो दर्शन होइन । किन किन सपनामा त्यही गमला ढकमक्क फुल्छ र त्यस्का फूलहरुसित त्यही सुकोमल हातका स्पर्शहरु नाँच्छन् । किन त्यही गोरो अनुहार मेरो सपनामा बारम्वार आउँछ ? म परपुरुष हुँ, कुनै श्रीमतीको श्रीमान् । अझ पनि त्यही अनुहार सपनामा मुस्कुराएर मलाई पथभ्रष्ट बनाउन खोज्छ । भन्न त मैले श्रीमतीलाई केही पनि भनेको छैन । तर, त्यो सपनामा आउने मेरै सपनाकी राजकुमारी थिई जस्ले अझै पनि मेरो सपनामा राजकुमारी बन्न छोडेकी छैनन् । त्यो गमला , त्यस्मा फुलेका फूलहरु र ती फूलसित बैँशालु कानेखुसी गर्ने हरिया चुराहरु मेरो अतीतको हिस्सा हो । जो सपनामा पूनरावृत भएर आउँछ । जस्ले मलाई कमजोर र दुःखी बनाउँदै लगेको छ ।

    एक रात त श्रीमतीकै अँगालोमै बर्बराएथेँ सानी भन्दै । निकै रिसाएर बोली –‘ के हो महोदय , अँगालोमा मलाई च्याप्ते तर नाम भने अरुको बर्बराउने ? उस्को नाम जप्नु छ भने शिरानी च्यापेर जप्दा हुन्छ ।’ आधा घुर्की र आधा माया देखाएर शिरानी मतिर फ्याँकेर भित्तातिर हेरेर अँगालोको ढोकामा ताल्चा लगाएको घटना सम्झिँदा म निराश बन्छु ।

    त्यस्तो बेला, यस्तो लाग्छ, सपना एउटा किटाब भएको भए , यस्को जम्मै अध्याय च्यातुँ । तर , कहाँ सक्छु र ? हर दिनको एउटा रात , रातको सपना र सपनामा त्यही गमलाका फूल र हातका नृत्यहरु । अनि आफ्नै श्रीमतीको अँगालोलाई घाऊ जस्तै दुखाउने पूर्व प्रेमिकालाई सम्बोधन ।

    एकरात श्रीमतीको अनुहार हेरेँ । साह्रै माया लाग्यो । बिरामी थिई । एक शय एक ज्वरोमा पनि सबै लुगाहरु धोएर रातको एघार बजेमात्र कोठामा आएकी थिई । मायालु अनुहार लगाएर मेरो छातीमा आफ्नो शिर बिछयाई । मेरो छाती उस्को निधारको आगोले भतभती पोल्यो ।

    ‘यति धेरै ज्वरो हुँदा हुँदै पनि किन रातीसम्म लुगा धोएकी ? ’ मैले सोधेँ ।

    ‘अफिसमा मैलो लुगा मात्र लगाएर गयो भने साथीहरुले हेप्छन् । सुकिलो लुगा लगाएर गए पो स्मार्ट भइन्छ । ’ उसले भनी ।

    मैले सोधेँ – ‘ तिमीलाई थाहाँ छ , तिम्रो ज्वरो कति छ ? ’

    उसले भनी – ‘ मेरो मतलब छोडनुस् । तपाईको तन्दुरुस्ती नै मेरो तन्दुरुस्ती हो । ’

    ऊ मुसुक्क हाँसेर मेरो छातीमा निदाई । म पनि निदाउने खुब प्रयत्न गरेँ तर सकिनँ । रातभरि त्यही डर लागिरहयो कि सपनामा फेरि त्यही गमला फुलेर त्यस्को नाम बर्बराएँ भने ! रातभरि ननिदाई जागै बसेँ । बिहान चार बजे ऊ उठेर गई अनि मात्र थोरै निदाएँ । थाहा भएन, सपनामा गमला फुल्यो कि फुलेन अनि बर्बराएँ कि बर्बराइनँ ।

    एक राति फेरि श्रीमतीको अँगालोमा उस्कै नाम जपेर बर्बराएछु । श्रीमतीले रिसाएर भनी –‘ त्यति नै मन पर्छ भने ऊसित बिबाह गर्दा पनि हुन्थ्यो । ’

    ‘ हाम्रो बिबाह सम्भव भएन । म नेवारको छोरो तर ऊ बाहुनकी छोरी । ’

    ‘हजुरले मलाई भन्दा उस्लाई बढी माया गर्नुहुन्छ है । ’उस्ले मन दुखाएर सोधी ।

    मैले भनेँ –‘होइन, म तिमीलाई नै माया धेरै गर्दछु । तिमी मेरी श्रीमती हौ । श्रीमतीको माया अरु कस्ले खोस्न सक्छ र ? धरोधम तिमीलाई नै माया धेरै गर्छु ।’ मेरो प्रत्युतर सुनेर मायाले गालामा हल्का थप्पड हानी ।

    त्यो रात पछि उस्ले मेरो जीवनमा कैले पनि उस्को बारेमा गुनासो गरिन । शायद त्यस पछि पनि मैले सपनामा कैयन पटक उस्को नाम जपेँ होला, कैयन पटक उस्को गालामा चुमे होला अझ ‘सानी, सिरक अलिकता यता देऊ’ भन्दै कैयनपटक बर्बराएँ होला , तर कुनै कुरामा पनि श्रीमती रिसाइन ।अचम्म लाग्छ , अझ पनि सपनामा त्यसरी नै गमला फुल्छ र म बर्बराउँछु । श्रीमती रिसाउँदैन ।

    घरको कामको बोझले प्राय बिरामी भइरहने श्रीमतीसँग एक रात किन किन ठट्टा गर्ने झोँक चलेर आयो । मैले सोधेँ –‘ शायद तिमीले सानीलाई बाटामा कहीँ भेटेको भए चिथोरेरै मार्थ्यौ होला, हगि ? ’

    उसले हाँसेर भनी –‘सपनाको सौताले के नै पो गर्न सक्छे र ? बिपनामा हजुरलाई भोग्ने त मै हुँ नि । उसले घमण्ड साथ बोली ‘ यस्तो लिपिस्टिक हजुरलाई उस्ले दिन सक्छ र , ओठैमा पर्ने गरी ?’ मेरो ओठमा ओठ दलेर बेसरी हाँसी । म पनि बेसरी हाँसे आफ्नो हाँसोमा मिसाउँदै सपनाको सौता, अनि के के सम्झेर त्यस महान नारीको पाऊमा दुईथोपा आँसु तप्प-तप्प झारें ।

  • देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

    देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

    फागुन १६, काठमाडौं

                गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । शुक्रवार गोकणेश्वर नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल गरेका पदम दाहालले नगद २१ हजार पाए । सान्त्वना पुरस्कार बापत् याज्ञबल्क्य न्यौपाने र डाक्टर सत्यराज थपलियाले १०–१० हजार प्राप्त गरे । विजयी कविहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कृत गर्नुभयो । 

                 त्यस्तै प्रदेशतर्फ एक नम्बरबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडा उत्कृष्ट भएका छन् । दुई नम्बर प्रदेशका  सम्पतकुमार काफ्ले उत्कृष्ट भए । तीन नम्बर प्रदेश (वागमती) मा शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसे उत्कृष्ट घोषित भए । चार नम्बर प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गंगा आचार्य सापकोटालाई उत्कृष्ट घोषित गरियो । पाँच नम्बरबाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चल उत्कृष्ट भए । त्यस्तै ६ नम्बर प्रदेश (कर्णाली) बाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्य उत्कृष्ट भए । ७ नम्बरबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागर उत्कृष्ट घोषित भए । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवियत्रीहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो । 

                 यसअघि शुक्रवार विहान देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको शुक्रवार उद्घाटन गर्दै  संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने धारणा राख्नु भएको छ । मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताउनुभयो । “अन्धकारमा रुमल्निे साहित्यको अबको समयमा कुनै अर्थ छैन” मन्त्री भट्टराईले भन्नुभयो । बेग्लै प्रसंगमा मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गर्नुभयो । वागमती प्रदेशका भौतिक, पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राख्नुभयो । प्रतिनिधि सभा सदस्य कृष्ण राईले साहित्य मार्फत् नै चेतनाको स्तरवृद्धि हुने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी गराउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली साहित्यको स्तरवृद्धिका लागि प्रतिष्ठान क्रियाशील रहेबो बताउनुभयो । प्राज्ञ डाक्टर देवी नेपालले स्थानीय तहकै आयोजनामा देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुनु गौरवको विषय भएको बताउनुभयो । महोत्सवको सहआयोजक ग्राम निर्माण बन्धु मण्डल क्लबका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले आगामी दिनमा पनि क्लबले साहित्यिक गतिविधिलाई उच्च प्राथमिकता दिने बताउनुभयो । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले साहित्यको उपेक्षा भएमा समाज समृद्ध हुन नसक्ने विचार व्यक्त गर्नुभयो । महोत्सव संयोजक तथा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिले  गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजीव थापा लगायते महोत्सवको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

  • कथा : भोलीको दोष कि मेरो ?

    कथा : भोलीको दोष कि मेरो ?

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    एक वर्षअघिको कुरा हो । एन्जिलाको मोबाइल टिनिनी.. . टिनिनी… बज्यो । एन्जिलाले ‘हेलो’ भन्नेवितिकै उताबाट आवाज आयो ।

    ‘एन्जिला, म शरद… । म तिमीसँग एकपटक, मात्र एकपटक भेटन चाहन्छु । बागबजारको ए-वन क्याफेमा एकपटक भेटौँ न, जहाँको कफी पिएर हामी पहिला घण्टौं प्रेमालाप गर्थ्यौं ।’

    ‘शरद, मलाई अहिले निकै फुर्सद कम छ । म अहिले आफ्नो अफिसको काममा निकै ब्यस्त छु । मैले बिदा पनि पाउँदिन । माफ गर्नुहोला, जिन्दगी लामो बाँकी छ, भोली छँदै छ नि ।’ यसो भन्दै उस्ले फोन काटी ।

    त्यस्को एक हप्तासम्म शरदको फोन आएन । फेरि एक हप्तापछि शरदको फोन आयो । शरदले फेरि अनुरोध गर्यो ।

    ‘एन्जिला, म तिमीसँग भेटन चाहन्छु । यस्तो अटेरी नबन । मलाई थाहाँ छ हामीबीच त्यस्तो पूर्ववत सम्वन्ध केही छैन । हामी के साथीको नाताले भेटन सक्दैनौ ?’ शरदको प्रश्न थियो ।

    ‘अफिसमा बिदा पनि हुनुपर्यो नि, शरद । जीवन त्यति छोटो छैन । अझै हाम्रो जीवनमा हजारौं भोलि बाँकी छन् । कुनै न कुनै एउटा भोलिमा हामी अवश्य भेटनेछौ, चाहेर पनि नचाहेर पनि । म अहिले किनमेल गर्दैछु ।’ झर्को स्वरमा यति भन्दै एन्जिलाले फोन राखी ।

    त्यसपछि हरेक हप्ता, शरदले फोन गरेर यस्तै प्रस्ताव राखि नै रह्यो । एन्जिलाले पनि झर्केको स्वरमा अस्विकार गरि नै रह्यो ।

    शरदले यसरी नै हरेक हप्ताको अस्वीकार झेलेर पनि फोन गर्ने क्रम टुटाएन । अन्तिम पटकको लागि फोन गरेको बेलामा शरदले भनेको थियो, ‘अव अति भयो एन्जिला । न मेसेन्जर रिप्लाई गर्छौ । न कहिले एक फोन नै गर्छौ । न भाइवरकै कुनै जवाफ दिन्छौँ । कस्तो बुझ्दैनौ, एक कफी पिएर तिमीसँग केही अधुरा कुरा गर्नु छ ।’

    ‘के कुरा छ फोनमै भनन् ?’ एन्जिलाले फेरि झर्को स्वर नै बनाएर प्रश्न गरी ।

    ‘कतिपय कुरा फोनमा गर्नु उचित हुँदैन ।’ शरदले यति मात्र के बोलेको थियो, एन्जिलाले शरदको फोन काट्यो र तत्क्षणै अरु दुईपटक गरेको कललाई कठोर मन बनाएर रिसिप गरेन । कल नउठेपछि शरदले मोवाइलमा एउटा मेसेज पठायौ–तिमी एकदिन पछुताउने छौ एन्जिला ।

    शरदको ‘तिमी एकदिन पछुताउने छौ एन्जिलाको मेसेज’ले उस्लाई विगततिर डोर्यायो । शरदसितको पहिलो भेट, दोस्रो भेट, तेस्रो भेटदेखि लिएर ऊसित गरिएका कैयन संवाद पनि सम्झयो । यसैक्रममा शरदसँग बिताएको सावनको कैयौं झरीले स्मृति रुझायो, छाताले ओगटेको सानो र सुखी परिधिदेखि लिएर छाताभित्रको एकाकारलाई पनि सम्झे । र अन्त्यमा, सम्झ्यो शरद र उस्को बीचमा आएको त्यो एउटा ठूलो सम्वन्धको दरार पनि । जव त्यो दरार सम्झयो, ऊभित्र एउटी अभिमानी स्त्री जागृत भयो र मनमनै भन्न थाल्यो, अव त म तिम्रो प्रेमिका होइन । बितेका दिन बित्यो, बित्यो, त्यस्लाई फेरि कफीमा किन तताउने ? चिसो भएको सम्वन्धलाई चिसै रहन देऊ न… ।

    हप्ता हप्तामा शरदले कल गर्दा सँधै झर्किने एन्जिलालाई जव शरदको फोन तीन महिनासम्म ठप्प नै भयो फेरि मनले प्रश्न गर्न थाल्यो, किन फोन आएन ? यो सुन्यता अव के मृत्युसम्म नै यसरी नै तन्किएर जान्छ ? एन्जिलालाई औडाहा भयो । सँधै फोन गरेर उस्लाई दिक्क बनाउने शरदको फोन उस्ले आजभोलि मिस गर्न थाल्यो । एक, दुई र तीन हुँदै चार महिना बित्यो तर शरदको कुनै अत्तोपत्तो थिएन । फेरि आज आएर मायालु मनले सोची, दिलैदेखि दुखेर फेरि एकपटक यो मान्छे मेरो जीवनबाट टाढा भयो ।

    शरदको वारेमा केही अत्तोपत्तो थिएन । फेसबुकबाट पनि रिटाएर भएर कतै गुमनाम बाँचेको जस्तो देखिन्थ्यो । फेसबुकको सर्चमा संसारभरिको शरद देखायो तर उस्को शरद कतै देखाएन । एन्जिलालाई आज आएर आफूले नै कल गरुँ जस्तो लाग्यो, तर अभिमान भित्र अझै बाँकी थियो । न उताबाट कल आयो न यताबाट गयो । मोवाइलको धर्म हो ‘टिनिनी’ बज्नु, त्यो आफनै रफ्तारमा बजिरहयो, तर कुनै पनि टिनिनीले शरदको ‘हेलो’ लिएर आएन ।

    शरदको फोनको अनन्त प्रतिक्षाको घडीमा एकदिन उस्को जीवनको लामो सुन्यतालाई ‘टिनिनी’ले चिर्दै उस्को साथी रियाको फोन आयो । उस्ले ‘हेलो’ भन्यो । उताबाट हेलोको जवाफमा रियाले भनी, ‘सो सेड यार ।’

    ‘के भयो र ?’

    ‘शरद एक्पायर भयो नि यार । तिमीलाई थाहाँ छैन र ?’

    ‘अहँ ।’

    ‘कसरी ?’

    ‘लामो समयदेखि क्यान्सर रहेछ । केही थाहाँ भएन है साथीहरुलाई पनि । गुमनाम बाँच्थ्यो पहिलादेखि मर्दा पनि गुमनामै मर्यो ।’

    रियाले हेलो, हेलो भनिरहेकै थियो, एन्जिलाले फोन काटिदिई । उस्का आँखाबाट आँसुको दोधाराले गालाको बाटा हुँदै चिउँदोको गन्तव्य पछयायो । मोवाइल अफ गरेर ओछयानमा घोप्टो परेर घण्टौं रोई । दुई महिना यसरी नै प्रायश्चितको आँसुले ओठ पखाल्यो तर निलो ओठमा सम्वेदना झन झन उर्लिन थाल्यो । शरदको फोटो हेर्दै एकदिन मनमनै बोली–मलाई माफ गर शरद । तिम्रो रिक्तताले मलाई यो पाठ सिकायो, जीवनमा भोलिको महत्व नबुझे जीवनभरि प्रायश्चित गर्नु पर्ने रहेछ । खेद, समयको खेल हेर, मसित भोली बाँकि नै छ, तिमीसँग छैन ।

    निर्भय जो एन्जिलाको अहिलेको प्रेमी हो त्यो पनि एन्जिलाको यो मौनताले आजीत बन्दै गइरहेको थियो । हरेक पटक फोन गर्दा तपाईले ‘सम्पर्क गर्न खोज्नु भएको मोबाइल अफ गरिएको छ’ भन्ने हुनाले दुईबीचमा सम्वन्ध पनि चिसिँदै गइरहेको थियो । निर्भयले एन्जिलालाई आज भोलि तिमी फेरिँदै गइरहेकी छौ भनी दोष लगाउनसम्म थालेको थियो ।

    सम्बन्धको मुना भाँचिनै लाग्दा अन्त्यमा सोची, अव शरदको लागि मात्र रोएर भएन । उस्को आफ्नो बर्तमान छ । असाध्यै माया गर्ने प्रेमी छ । एन्जिलाले अन्तिममा निधो गरी, सम्वन्ध जोगाउने नै हो भने निर्भयको सामु मौनता तोडेर स्पष्ट हुनुपर्छ ।

    शरदको निम्ति अन्तिम आँसु निर्भयको अँगालोमा बगाउने मनसुवा लिएर, एन्जिलाले आफ्नो प्रेमी, निर्भयलाई अन्ततः उहीँ क्याफेमा बोलाई, जहाँ शरदले अन्तिम एक कप कफीको लागि एन्जिलालाई एक वर्ष प्रस्ताव गरेको थियो । निर्भय समयमै आयो । दुबै क्याफेको सोफामा वारीपारी बसे र वेटरलाई मिनु हेर्दै दुई कप कफीको अर्डर गरे । मिनेटको मौनतालाई चिरफार गर्दै, निर्भयको आँखामा पुलुक्क हेर्दै एन्जिलाले भनी, ‘निर्भय तिमीलाई आज म एउटा मेरो जीवनको सेक्रेट कुरा भन्छु माइण्ड नगर है ।’

    निर्भयले भन्यो, ‘इटस ओके यार । भनन । के कुरा हो ?’

    ‘तिमी भन्दा पहिला म कोहीसित रिलेसनमा थिएँ ।’

    ‘को हो ?’

    ‘शरद । त्यौ नै मेरो पहिलो प्रेम र पहिलो चुम्वन हो ।’

    ‘कहाँ छ अहिले त्यो ?’ निर्भयले सुस्केरा फेर्दै, जिज्ञासु हुँदै सोध्यो ।

    ‘तीन महिनाअघि उस्को एक्पायर भयो ।’ एन्जिलाका आँखामा आँसु प्रतिविम्वित हुन थाल्यो ।

    निर्भयको ‘कसरी’को प्रश्नलाई पछिल्लो सबै घटना र परिघटना सुनाइसकेपछि, क्याफेमा निर्भयसित कफी पिउँदा पिउँदै एन्जिलाले भावुक भएर सोधी, ‘तिमी पनि एउटा पुरुष हौ । पुरुषको सवेदना, पुरुषले जति म एउटी नारी भएर कमै जानुँली । तिमीलाई के लाग्छ निर्भय ? उस्ले किन मलाई भेटन सयौं पटक क्याफेमा बोलाएको होला ।’

    निर्भय एकक्षण चुप लाग्यो । एन्जिलाको नजरबाट आफ्नो नजरको छुवाइ मेटदै बोल्यो, ‘ब्रेकअप भए पनि तिमीहरु बीच प्रेम बाँकी नै थियो । दुवैमा प्रेम भन्दा अभिमानको वजन अलि भारी थियो । शरदलाई जव आफ्नो मृत्यु ज्ञात भयो, अभिमान पग्लियो, तिम्रो मृत्यु अज्ञात थियो तिम्रो पग्लेन । कफी उस्को बहाना मात्र हो । ऊ यो संसारबाट सँधैका लागि जाने बेलामा तिमी सुखी छौ कि दुखी छौ हेर्न मात्र चाहन्थ्यो होला । तिम्रो अन्तिम दर्शनको आकांक्षा पनि हुनसक्छ । अझ तिम्रो अस्तित्वभरि उस्को स्मृति पनि बाँच्ने एउटा केही उपहार दिन खोजेको पनि हुन सक्थ्यो । क्यान्सरले कलेजो सवै कुटुकुटु खाइसकेको र आफ्ना रहर सवै गलिसकेको प्रेमीमा आफ्नी प्रेमिकाप्रति यो एउटावाहेक अरु के नै रहर होला र ?’

    निर्भयको जवाफले उस्लाई असहाय बनायो । निर्भय बोलिरहेकै थियो तर एन्जिला आफ्नो कुर्सीबाट जुरुक्क उठी । ‘म गएँ भन्दै अरु केही नबोली सरासर गई ।

    निर्भय ठूलो स्वरमा चिच्यायो, ‘यो के पारा हो, एन्जिला ? कफी पूरै पिएर जानु न ।’

    उस्ले निर्भयलाई सुन्नै चाहेन । जे होस् उस्लाई कोठामा पुग्नु थियो र अविरल आँसु बगाएर सारा पीडा पखाल्नु थियो । ऊ दौडियो र कोठामा पुगेर फेरि मोवाइल अफ गरेर रातभरि रोई ।

    तीनचार दिन आँखा पखाले, फेरि निर्भयको याद आयो र ऊसित गरेको नराम्रो व्यवहार सम्झेर ग्लानी महसुस गरी । निर्भयलाई फोन गरी । एक हप्तासम्म फोनै उठाएन । बल्ल एक हप्तापछि फोन उठायो ।

    एन्जिलाले सोधी, ‘हेलो निर्भय, के छ ? मलाइ माफ गर निर्भय । जे बित्यो, बित्यो, म तिमीसित फेरि त्यही आत्मियता र सम्वन्धको निरन्तरता चाहान्छु ।’

    ‘तिम्रो पहिलो प्रश्नको लागि मेरो जवाफ, ठीक छ । तर तिम्रो जो प्रस्ताव छ सम्वन्धको निरन्तरताको म त्यस्को पक्षमा छैन ।’ निर्भयले झर्को स्वर बनाएर जवाफ दियो ।

    निर्भयको जवाफलाई अझै ठट्टा नै मानेर, पहिलेकै आत्मीय भाव चोरेर घुर्कीको भावमा बोली, ‘मसित अहिले भेट तिमी ।’

    निर्भयले स्वरमा अझै गाम्भीर्यता ल्याएर बोल्यो, ‘सोच्नु कि मैले तिमीलाई भेटे पनि ब्रेकअप दिइसकेँ, जस्ट फै्रन्डको रुपमा मात्र आउँछु । आज म अलि बिजी छु । भोलि है एन्जिला, त्यो पनि निश्चय छैन ।’ निर्भयले यति भन्दै फोन काटिदियो ।

    भोलि पर्खियो, निर्भय आएन । फेरि अर्को भोलि कुर्यो, निर्भय आएन । प्रतिक्षाको कुनै पनि भोलिमा निर्भय आएन ।

    आज एन्जिला कहिले धर्तीलाई टाढा टाढासम्म हेर्थी र कहिले आकासलाई गाढा गाढा हेर्थी न धर्तीबाट निर्भयले सुसायो न आकासबाट शरदले बोलायो । यो कठिन अवस्थामा भने उस्ले आँखाका आँसु भोलि बगाउँछु भनेर साँच्न सकिरहेकी छैन । ऊ प्रायजसो मौन नै बस्थी र बोल्थ्यो त एउटै प्रश्न गर्न थालेकी थिई, भोलिको दोष कि मेरो ? उस्को एक मात्र र अन्तिम प्रश्नको प्रत्युत्तर दिने पनि त्यो सुन्यतामा कोही थिएन ।

  • अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

    अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

    काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते ।

    उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा धमकेदार इन्ट्री गरेका छन् ।

    पहिलो भाग सुरू भएलगत्तै अडिसनका दौरान सामान्य अमेरिकीभन्दा फरक अनुहारका व्यक्तिले निर्णयकलाई नमस्ते भन्दै उपस्थित भएसँगै उनले प्रस्तुती पनि उत्कृष्ट नै गरेका छन् ।

    चर्चित अमेरिकी गायक लियोनेल रिचीले सोधेको परिचयमा उनले आफू नेपाली नागरिक रहेको बताए ।

    उनले आफ्नो नाम दिवेश पोखरेल बताए भने काठमाडौं घर भएको परिचय समेत दिए । उनी २१ वर्षीय हुन् ।

    जजको भूमिकामा रहेकी लोकप्रिय गायिका क्याटी पेरीले उनको नामको अर्थ सोधेकी थिइन् ।

    उनले आफ्नो नामको अर्थ प्रकाश भनेर अथ्र्याए । दिवसले पहिलो इन्ट्रीमै जजको मन जित्न सफल भएक छन् । यसले आगामी दिनमा अझ प्रगति गर्ने अपेक्षा गरिएको छ ।

  • एक पुरुष : कथा

    एक पुरुष : कथा

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    अर्चनाले जीवनमा पहिलोपटक कहिले ऐना हेरेको थियो, उस्लाई याद छैन । तर हेरेको दिन पक्कै उस्लाई आगोले पोलेको हुनुपथ्र्यो र त्यसपछि उस्ले जीवनमा कहिले ऐना हेरेन । शरीरका अरु सबै अङ्ग सुन्दर भएता पनि अर्चनाको देब्रे गालामा एउटा ठूलो दाग थियो । उस्को देब्रे गालामा बसेको त्यो ठूलो दागले उस्को शरीरका अरु सौन्दर्य कुटुक्क खाइदिएको थियो ।

    सानोमा त त्यो दागलाई खासै वास्ता गरिएन । जव बैशले आफ्नो धर्म निभाउन थाल्यो, जोवन भरिलो हुँदै आयो, छाती ढकमक्क फुल्यो, उस्लाई आफ्नो रुपको निकै चिन्ता लाग्न थाल्यो । हजारौको निम्ति ऊ एक कुरुप भई भने एकदुई जना हितैषीको निम्ति सहानुभूतिकी पात्र भई । हितैषीहरु भन्थे, गालामा त्यो एउटा दाग नभएकी भए अर्चना कति राम्री हुन्थी ।

    अरुका निम्ति बैश उपहार भए पनि उस्को निम्ति उपहास सावित भइरहेको थियो । बैशका सालहरुमा प्रत्येक मसिरमा साथीहरु दुई चार जना दुलही हुन्थे । साथीहरु आफ्ना सिउँदा रंगाएर विहावारी गरिजान्थ्यो । अर्चनाको जीवनमा भने त्यस्तो लगन जुरेकै थिएन । जति पनि केटाहरुले उस्लाई हेर्थे नराम्री केटी भनेर छोडिदिन्थे । ऊ यसरी नै केटाहरुको अस्वीकार झेल्दाझेल्दै चौवीस, पच्चीस, छब्बीस, सठाइस, अठाइस, उनान्तीस हुँदै तीस पुगे । क्लासमा सँगै पढेका सवै साथीहरुको विवाह भइसकेको थियो । उस्ले विवाह नभएकोमा आफूलाई मात्र पायो । सारै अभागी थानेर आफूलाई धुरुधुरु रुन्थी ।

    जे होस् उस्लाई जीवनमा कसैको सहारा चाहिएको थियो, तर कोही पनि उसको सहारा बन्न तयार थिएन । करोडौं पुरुषहरु अटाएको यो ब्रहाण्डमा पनि उस्को सिन्दुर रंगाउने कोही थिएन ।

    दिन बित्दै गयो । शरीरभरि उस्को ढकमक्क फुलेको बैंश पनि विस्तारै विस्तारै ओइलाउन थालेको थियो । उस्ले जीवनमा अव कैले विवाह नै हुन्न भनेर पूरै हरेस खाइसकेको थियो । यस्तो निरस क्षणमा ‘म विवाह गर्छु अर्चनालाई ।’ यसो भन्दै एक पुरुषले उस्को जीवनमा प्रवेश गर्यो ।

    उमेरमा बीस वर्षको फरक थियो । त्यो पुरुषको वारेमा उस्लाई अरु केही जानकारी थिएन र जानकारी राख्ने इच्छा पनि राखेन । जे होस्, त्यो विराट सुन्यतामा उस्लाई केवल एक ‘पुरुष’ मात्र चाहिएको थियो । त्यो पुरुषलाई पति मानेर, समाजमा देखाउनु थियो कि उस्को सिउँदो पनि रगिन योग्य छ । ऊ धेरै खुसी भयो त्यो क्षण । न अनुहारको वारेमा कतै गुनासा न अस्ताएको बैंशको न कुनै सोधनी । हिलोमा फुलेको कमललाई टिपेर भगवानको चरणमा अर्पण गर्न खोज्ने, त्यो पुरुष उस्लाई भगवानकै अवतार जस्तो लाग्यो ।

    त्यही भगवानको अवतारसित उस्को विवाह भयो । वैवाहिक जीवनको प्रारम्भमा ऊ निकै खुसी थियो । बैशको पारी पुगेको उमेर भएता पनि श्रीमानमा कहिलेकाही मनोविनोद गथ्र्यो, जस्ले पोखिसकेको बैश फेरि उस्को अणु अणुमा उमारिदिन्थ्यो । नारी न हो, पतिको यस्तै ठट्टै ठट्टाले कोख ढममक्क होस् र पछि काख पनि मगमगाओस् भनी प्रार्थना गर्न थाल्यो ।

    दाम्पत्य जीवनमा पहिलो चिसो सुस्केराले उस्को ओठ तव स्पर्श गर्यो जव पतिबाट उस्को मातृत्व सपना पूरा हुँदैन भनी थाहा पायो । पतिलाई धेरै माया गर्ने भएकीले उस्ले पतिको अपूर्णताको कारण खोतलेन पनि । पतिले ओढाएको अँगालोमा अझै पूर्ण थिई ऊ । आमा हुन नपाए पनि पत्नी हुन पाइरहनु कम्ता शौभाग्यको कुरा होइन उस्को लागि, ऊ यसरी नै चित बुझाउँथी ।

    त्यस्तो माया गर्ने श्रीमान अव विस्तारै ऊबाट टाढा हुँदै गएको महसुस गर्न थाल्यो । अफिसबाट काम गरी ढिलो आउँथ्यो । आउने वितिकै थाकेर सुतिहाल्थ्यो । पतिको दिनदिनैको वेवास्ताबाट आजित भए पछि एकदिन अर्चनाले साहस बटुलेर सोधी, ‘म नराम्री भएरै हजुरको यो वेवास्ता हो भने मलाई किन विवाह गर्नु भएको ? म पनि एक नारी हुँ । मलाई पनि पतिको अँगालोको तातो मन पर्छ । गमलामा सजाउन मात्र गोडमेल गरेको हो भने गमलाको फूल बार्डलीमा सुहाउँछ, घरको कोठामा होइन ।’

    पत्नीको आशय बुझेपछि पतिले स्पष्टरुपमा भने, ‘हो, मैले तिमीसँग अलग भएर अर्को पलङ्गमा सुत्न थालेँ । यस्को अर्थ म तिमीलाई माया नै नगर्ने होइन । सँगै सुतेर अ‍ोढाएको मेरो अँगालोले तिम्रो कोखमा हरियाली आउँदैन पनि । मेरो हरेक अँगालोमा तिमीभित्र संतानको रहर पैदा नहोस् र त्यो रहर अपुरो हुँदा तिमीभित्र पीडा नहोस् भनेर अलगै भएको हुँ । मेरो उमेर पनि बैंशका कुटकुटी, खित्खिति र गुडगुडीबाट रिटायर हुँदैछ नि ।’

    पतिको यस्तो अप्रत्याशित जवाफले उस्का आँखा भुल्भुलाउन थाल्यो । ऊभित्र संतानको रहर पनि थिएन । बस उस्लाई श्रीमानको तातो आत्मीयताको मात्र खाँचो थियो । आफ््नो पति टाढा टाढा हुँदै गए पनि सिउँदोमा सिन्दुर फक्रिरहेकोले ऊ आफूभित्र गर्व महसुस पनि गथ्र्यो । यस्तो पीडादायी क्षणसम्म पनि उस्लाई ‘कसैकी पत्नी हुँ’को जुन गौरव पतिबाट प्रदान भएको छ त्यो भन्दा ठूलो उपहार उस्को संसारमा अरु केही थिएन ।

    समय बित्दै गयो । दाम्पत्य जीवनको पीडा चपाउँदै ऊ समाजमा हाँस्दै गइरहेकी थिई । दाम्पत्य जीवनको भित्रभित्र पाक्दै गएको कटुताले उस्ले दैनिकी पनि बिर्सन थालेको थियो । आफ्नो पतिब्रता धर्म निभाउने क्रममा साँझ पति अफिसबाट आउँदा एक कप कफी दिने परम्परालाई भने उस्ले त्यागेको थिएन । यस्तै एकदिन पतिलाई कफी लिएर कोठामा प्रवेश गर्दा पतिले अरु बेला भन्दा अलि बढी माया घुलेको स्वरमा बोल्यो, ‘एउटा कुरा आज तिमीसँग गर्छु । नजिकै बस् ।’

    अर्चना आफ्नो पतिको छेवै खाटमा बसी ।

    ‘तिमी माइण्ड नगर एउटा सत्य म आज उदघाटन गर्छु ।’

    अर्चनाको छाती कस्तो सत्य होला भनेर ढुकढुक हुन थाल्यो । पतिले फेरि संवाद थपे, ‘मेरो जीवनको एउटा अभिशाप नै भनुँ, मैले जो जो विहे गरेँ । उनीहरु अल्पायुमै हृदयघाटले बिते । तिमी नै मेरो जीवनको पहिलो जीवनसँगिनी हो, जोसित मैले यसरी ‘ हेप्पी एनिभर्सली’ मनाउन पाएको छु ।’ उस्ले झोला खोतलखातल पारी त्यहाँबाट एउटा केक निकाल्यो र टि टेबुलको बीच भागमा राख्यो र फेरि त्यही झोलामा हात छिराएर फूलको गुच्छा निकालेर अर्चनातिर बढायो ।

    ‘हेप्पी मेरिज एनिभर्सलि डियर अर्चु’

    अर्चनाले आफ्नो एक वर्षे वैवाहिक जीवनमा कहिले नसुनेको कुरा पतिबाट खोतलिँदा ज्यादै दुखी भए । मनमा के के सोच्दै उस्ले पहिलोपटक पतिका आँखामा आँखा जुधाएर सोधी ।

    ‘कति जना विहे गर्नु भयो अहिलेसम्म ?’

    ‘तिमीसहित चार जना ।’

    एउटा पुरुष आफ्नो चौथौ विहेलाई पनि कति सगर्व लिन्छन् । एउटी नारी भएकी भए तीनपटक बर्खी बार्नु पथ्र्यो । कति फरक छ, नारी र पुरुषको अस्तित्व यो संसारमा । मनमा अनगिन्ती कुरा खेलाउँदा खेलाउँदै अव भने उस्को देव्रे छातीमा कसैले बेसकन मुडकी बजारेजस्तो भयो । ऊ असहाय भयो । आफ्नो श्रीमानको फूलको गुच्छालाई तिरस्कार गरेर ऊ खाटमै डङ्गरङ्ग ढल्यो ।

    ‘के भयो, अर्चु ?’ श्रीमानले उस्को काँधमा छुँदै हडबडाएको स्वरमा सोध्यो ।

    ‘छाती दुख्यो ।’ उस्को निधारबाट खलखली पसिना छुटयो ।

    ‘अर्चु, अर्चु’श्रीमान आतिँदै उस्लाई बोलाइरहेको थियो ।

    ऊ आफ्नै छातीको पीडासँग जुध्दै थिई । मुटुलाई सकेसम्म आफ्नो हत्केलामा निमोठदै जीवन र मृत्युको वीचमा पर्खाल लगाउँन खोज्दै थिई । उस्का आँखाबाट आँसुका धारा अविरल बगिरहेको थियो । त्यो क्षण, आँसु पुछिदिने हत्केला पनि दुखेको छाती सम्हाल्दै बसेकाले आँखाहरु बेसहारा, टुहुरा उब्रिरहेको थियो, एउटा घनघोर जङ्गलभित्रको गुमनाम कुवाजस्तै । टि टेबुलको मध्य भागमा एउटा एनिभर्सरीको केक पडिरहेको थियो, वेवारिस, निसहाय र उदास, उदास । उस्को ओठ बर्बरायो, करोडौ पुरुषमा पाएको एक मात्र पुरुष पनि कस्तो पुरुष यो ? त्यतिबेला श्रीमानको चिच्याहटलाई भने कुनै अनकण्टार भीरको प्रतिध्वनि जस्तो मानेर, छातीको दुखाइको मात्रा जो बढदै बढदै गइरहेको थियो, त्यस्लाई नै सुम्सुमाउँदै गइरहेकी थिई । उस्का बन्द आँखाभित्र जीवनको पहिलोपटक हेरेको आफ्नो रुपको विम्व वाहेक अरु केही फक्रिरहेको थिएन, जुन रुपको देव्रे गाला पूरै दागले ढाकिएको थियो ।

  • प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

    प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

    काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाइरहेको र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटिरहेको फोटो सार्वजनिक भयो ।

    प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यो सांगितिक रुप भने सामाजिक संजालमा भाइरल भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको यो तस्वीरलाई आम मानिसले हाँसोको पात्र तथा ब्यंग्यका पमा प्रस्तुत गरेका छन् ।

    कसैले प्रधानमन्त्री निवासलाई रोधीघर भनेका छन् भने कसैले पार्टी प्यालेस भन्दै व्यंग्य गरेका छन् ।

    मंगलबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य र पाहुनाहरुकै अगाडी यो सांगितिक माहौल बनेको हो ।

    बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सबैलाई अचम्मित बनाएका हुन् ।

    मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलाइएको थियो ।

    सोही कार्यक्रमको तस्वीर भाइरल भएको हो । सम्पादकसमेत सोही अवसरमा बालुवाटारमा उपस्थित थिए ।

  • क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

    क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

    काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् ।

    उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए ।

    प्रियंका ब्याइफ्रेण्ड आयूष्मान देशराज जोशीका साथमा पुगेकी हुन । स्पेनिस लीग ला लिगा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेलका लागि उनी मैदानमा पुगेकी हुने ।

    उनको तस्वीर सामाजिक संजालबाट सार्वजनिक गर्दै बार्सिलोनाले ‘वि लभ नेपाल’ पोष्ट गरेको छ ।

    उनको भिडियोसमेत बार्सिलोनाले पोष्ट गरेको छ । यो पोष्ट भने दक्षिण एसियाली मुुलुकमा मात्र देखिन्छ । किनकी लालीगाको फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण हुने गरेको छ । लालीगाको प्रसारण अधिकार फेसबुकले लिएको छ ।

    प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत अंग्रेजी र नेपाली दुबै भाषामा बोलेकी छिन् ।

    उनले त्यसक्रममा धेरै नेपाली बार्सिलोना आउन चाहने तर नपाउने भन्दै भनेकी छिन्, ‘मैले सबैको लागि यो सपना बाँचिरहेको छु, यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’

    फेसबुक लाइभकै क्रममा प्रियंकालाई खेलमा कति गोल हुन्छ भनेर अनुमान समेत गर्न लगाइएको थियो । उनले कूल चार गोलको अनुमान गरेकी थिइन् ।

    फेसबुक लाइभमा उनले बार्सिलोनाका कप्तान लियोनल मेस्सी आफ्नो मन पर्ने खेलाडी रहेको बताएकी छिन् । ‘मलाई मेस्सी मन पर्छ किनभने उनी तेज छन् र उनको दाँजोमा अर्को कोही छैन, उनको भनाई छ ।

    उनी व्यवसायिक ब्राण्डको स्पोन्सरमा बार्सिलोनामा पुगेकी भएपनि कसले त्यहासम्म लग्यो भन्ने चाही सार्वजनिक भएको छैन ।

  • आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

    आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

    काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ ।

    यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ ।

    आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ ।

    काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता स्थानमा सरस्वतीको विशेष पूजा हुन्छ ।

    आज अक्षारम्भ गराउने दिनका रुपमा पनि चिनिन्छ । यस दिन विद्यालय भर्ना गर्दा बालबालिकालाई कुनै साइत हेराउनु नपर्ने जनविश्वास रहेको छ ।

    साना बालबालिकाको नाक–कान छेड्न समेत यही दिनको उपयोग गरिन्छ ।

    आज अन्य शूभकार्यमा समेत साइत हेर्न नपर्ने जनविश्वास रहेको छ ।

    आज अपरान्ह राष्ट्रपति विद्यादेवि भण्डारीसहित उच्च पदस्थ अधिकारी हनुमानढोका दरबारको नासल चोक पुगी वसन्त श्रवणमा सहभागी हुने प्रचलन रहेको छ ।

  • धरौटीमा छुटिन् गायिका आस्था राउत

    धरौटीमा छुटिन् गायिका आस्था राउत

    काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् ।

    उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।

    यस प्रकरणमा अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहित प्रतिवेदन बुझाएको थियो ।

    सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय दिएको थियो । राउतलाई चार दिन थुनामा राख्ने आदेश आएको भएपनि उनी अस्पताल भर्ना भएकी थिइन् ।

    उनी ‘हाइपर टेन्सन’ भएको भन्दै अस्पताल भर्ना भएकी हुन् । छुटेपछि राउतले प्रहरीको प्रशंसा गरेकी छिन् । उनी बुबा हरिबहादुर राउतसँगै प्रशासनबाट निस्किएकी हुन् । उनले सञ्चारकर्मीलार्ए प्रतिक्रियासमेत दिएकी थिइन् ।

    उनले प्रहरीप्रतिको बुझाइ दुई दिनमै फेरिएको प्रतिक्रिया दिएकी हुन् । उनले आफूबाट गल्ती भएको समेत पुनः स्वीकार गरिन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएपछि उनी फेसबुक लाइभमा आउकी थिइन् । फेसबुकबाट प्रहरीलाई तथानाम भनेपछि उनी विवादमा तानिएकी हुन् ।

  • लघुकथा : निलो पेटिकोट

    लघुकथा : निलो पेटिकोट

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    शिशिर याम । बाहिर हुस्सुको बाक्लो पर्दा । अफिस जाने तर्खरमा थिएँ । श्रीमती कोठामा आइन् र सुइटरको गला मिलाउँदै बोली; ‘एउटा पेटिकोट किन्नु पर्ने, सबै पुरानिसके ।’

    – कस्ले देख्या हुन्छ र पेटिकोटलाई, भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?’

    ‘त्यसो भनेर हुन्छ ? नयाँ लगायो भने जोश पनि नयाँ आउँछ । एउटा पेटिकोट किनेर ल्याउनुस् भरे असनबाट आउँदा !’ श्रीमती कर्की ।

    ‘श्रीमतीको पेटिकोट किन्ने ठेक्का लिएर बसेको छु र ?’ म पनि कर्कें । श्रीमती केही बोलिन । म सरासर आफ्नो अफिसको बाटो नापेँ ।

    असनको गल्लीलाई दिनको दुईपटक कुल्चेर हिँड्ने मेरो दैनिकी थियो । बेलुका घर फर्किने क्रममा श्रीमतीको पेटिकोटको मागलाई झल्यास्स सम्झेँ । असनमा पूरै बजार लागिरहेको थियो । अलि सस्तोमा देलाकि भन्ने आलसामा मधेशीको दोकानमा पुगें । – साहुजी पेटिकोट हेरौँ न ? भन्दा एउटा फुच्चेले विभिन्न रंगका पेटिकोटहरु भुइँभरि असरल्ल ओछ्यायो । मैले नीलो रंगको पेटिकोट अट्ठ्याएँ । बार्गेनिङ्ग गर्ने क्रममा डेढ सय रुपैँयामा मोल मिल्यो । एउटा झोलामा पोका पारेँ अनि लुखुरलुखुर घरतिर आएँ ।

    घर पुग्दा साँझको सात बजिसकेको थियो । श्रीमतीसँग भात खाइवरी कोठामा आएँ अनि आफ्नो पोका फुकाएँ । उस्ले त्यो नीलो पेटिकोट ओल्टाइ–पल्टाइ हेरी र पेटिकोट लगाएर ऐनामा खुब आफूलाई नियाल्न थाली । अनि मेरो छेउ आई । मलाई कैल्यै नबुनेको “अँगालोको एक न्यानो सुइटर” बुनेर लगाइदिई, त्यो पनि शिशिर यामको मुटु कँपाउने जाडोमा राहत मिल्ने गरी । मेरो गालामा आफ्नो लिपिस्टिक पनि छापी । ज्यादै सुखको अनुभूति भयो । सोचेँ, डेढ सय रुपैँयाले पनि दाम्पत्य जीवनमा यस्तो खुसी ल्याउँदो रहेछ ! उनी मलाई थप एक बोनस कसिलो चुप्प गरेर कोल्टे फेरी । म आँखा बन्द गर्दै सोचिरहें… सुहागरात भन्दा मीठो रातलाई म के नाम दिऊँ ? अनि आफैले बिहान बोलेको वाक्य सम्झेर मुसुक्क हाँसे, कस्ले देख्या हुन्छ र पेटिकोटलाई, भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?

    आँखा यसो खोल्दा नीलो पेटिकोट कहीँ थिएन । बाँकी थियो त श्रीमती र म मात्र । खाटको एक कुनातिर गुजुल्टिएर थुप्रेको पेटिकोटलाई मनमनै आभार व्यक्त गरें ।

    सिरक तानेर दुबैलाई ढाकें ।

    बिहान म व्युँझदा उनी कोठामा देखिन । निलो पेटिकोट सिसाको शो-केस भित्र सम्मानित अवस्थामा देखें ।

  • कथा : तिमी कसैकी प्रेमिका हौ कि समलिङ्गी ?

    कथा : तिमी कसैकी प्रेमिका हौ कि समलिङ्गी ?

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    पर आकासमा एउटा तारा झरेपछि उस्लाई रातको सन्नाटाले आँखा झिम्काएको महसुस भयो । कौसीमा बसेर, व्हिस्कीमा खसेको बरफको टुक्रा जस्तै ऊ आफैभित्र पग्लिरहेको थियो । परिवारका सवै सदस्यहरु आ–आफ्नो कोठामा गइसकेका थिए । उसको मनमा हठात आज श्रीमतीसँगको पहिलो रातको चेतना आयो ।

    सुहागरात शब्दै मीठो छ । आज तीस बसन्तपछि पहिलोपटक उनको रात सुहागसित जोडिएर आएको छ । मनभरि मीठा मीठा कल्पनाहरु । चलचित्रमा मात्र हेर्दै आएको सुहागरातको आज साँच्चिकै अनुभुत गर्न पाइने । मनभरि व्यग्रताले यस्तै यस्तै सोचाइ बुन्न थाल्योे, भित्र कोठामा श्रीमती घुम्टो ओढेर लजाउँदै होली, त्यस्को पनि मनको धडकन यस्तै तेज होला । कहिले पतिदेव आउला र सुस्त मुलायम हातले आफ्नो घुम्टो उठाउला भन्ने कल्पनाको सञ्चार उस्को मनमा पनि होला । आखिर नारी न हुन् । उसको मनले हठात एउटा गीत गायो, कभि कभि मेरे दिलमे ख्याल आता हे । गीतले फडको मार्यो, सुहागरात हे घुँघट उठारहा हुँ मे । मन सारै बेचैन भयो । सयौं चलचित्रको सयौं सुहागरातको दृष्य उसको मस्तिस्कमा खेल्न आयो । एक गिलास दुध, घुम्टो, हल्का हल्का लज्जा, अँगालो । कल्पनामा एउटी नवदुलहीले देखाउने धेरै कुराहरु आयो ।

    विस्तारै भित्र कोठामा प्रवेश गर्यो । श्रीमती कोठामा भित्तातिर मुख फर्काएर सुतिरहेकी थिइन् । चलचित्रमा देखाएजस्तो पत्नी जागेरै उस्को व्यग्र प्रतिक्षामा थिएनन् । उस्लाई झनन रिस उठयो । के तालकी केटी होली ? भित्रभित्रै गाली गर्यो । ऊ गएर त्यसको नजिक गएर बस्यो । कोल्टो फेरेकी श्रीमतीको मुख आफूतिर फर्काउन मन लाग्यो । तानेर आफैतिर फर्कायो । अर्धचेत अवस्थामा रहेकी श्रीमतीको दुवै गालामा बिस्तारै ओठ र जिब्रो दौडाए । गालाबाट एक किसिमको नुनिलो स्वाद आयो । यो के हो ? चुम्वन पनि यतिको नुनिलो हुन्छ र ? मीठो हुनुपर्ने होइन र ? आफ्नो ओठ निकालेर श्रीमतीलाई हेरे, आँखाबाट गालाको बाटो हुँदै आँसुका दोधारा अविरल बगिरहेको थियो । मानौँ, गालामा छोएको हल्का स्पर्श पनि उनलाई सह्य थिएन ।

    यो मेरी श्रीमती कि कसैकी प्रियसी ? किन उसलाई पतिको मायालु स्पर्शमा पनि सुख छैन ? म जति आनन्दित छु किन यो त्यति आनन्दित हुन सकेकी छैन ? ऊ किन उतेजित छैन । बरु मलाई जीवनको पहिलो चुम्वनमा पनि नुनिलो आँसु पिलाइरहेकी छे । यो पक्कै धोकेवाज हो । कुमारी होइन, नागिन हो । यस्को कुमारित्व धर्रर च्यातिसकेको छ, पुरानो लुगा जस्तै, होइन भने स्वर्गीय आनन्दमा पनि उस्को यो वेवास्ता किन ? उस्को मनमा नानाभाँतिका कुरा खेल्न थाले ।

    उस्ले सम्झ्यो फिल्मका धेरै धेरै दृष्यहरु । चलचित्रमा श्रीमानको स्पर्शमा उतेजित हुने श्रीमतीका कामुकताहरुलाई । पुरुषको प्रत्येक छुवाइ र चुम्वनमा, छिटो छिटो सास फेरेर, आँखालाई विचित्र चित्र बनाएर पानी विनाको माछीजस्तै तडपिने एक एक क्रियाकलापहरु सम्झेँ । तर, यहाँ हरेक चुम्वनमा नुनको स्वाद सिवाय केही छैन । सुहागरात भनेर यस्तो महत्व दिएको छ, यति झुर, कोरा र बेरस होला भनेर उस्ले कल्पना पनि गरेको थिएन । दसौं हजार रातको ब्यतीतपछि पाएको यो एक विशेष रात अरु रातकै मूल्यमा साटिएर पातबाट तप्केको शीतजस्तो निरर्थक जाला भनेर कल्पना पनि गरेको थिएन ।

    धेरै साथीहरुले आआफ्नो सुहागरातको बारेमा गरेको रंगिन ब्याख्या पनि उस्ले सम्झ्यो । आफूलाई मात्र अभागी देख्यो उस्ले । प्रेमविवाह नै गर्नुपर्ने रहेछ, यो कसैकी प्रेमिका पक्कै पनि हो । होइन भने यस्ले यति वेवास्ता कुनै पनि हालतमा गर्ने छैनन् । उस्लाई साह्रै रिस उठयो । श्रीमतीको जुन दिशाबाट खोसेर मुख यता फर्काएको थियो, फेरि उतै फर्काएर पडाडिबाट धकेलि दियो । उस्को बलले धकेलेकोले श्रीमती बेगिएर भितातिर ठोक्कियो । अघिको शान्त नदी ठूलै भेलको आकार लिएर सुसाएको अनुभव गर्यो । आवाज आयो भित्ताबाट–हिक्क, हिक्क । त्यो हिक्क, हिक्क यौनआवेगको थिएन, बल्कि यौन तिरस्कारको थियो ।

    उस्को मनमा त्यो बेला यौनसिवाय अरु कुनै भावनात्मक तरंग थिएन । विवाह गरे पछि पहिलो रातभरि सेक्स हुनुपर्छ भने पुरुषात्मक अहम् सिवाय केही थिएन उस्को मनमा । यो रात नै सुहागरात हो र चलचित्रमा देखाएजस्तो दुइटा नाँगो शरीर टाँसिएर एउटै हुनुपर्छ र त्यसमा पनि नारीको शरिर पुरुषको शरिरले ढाकिनुपर्छ भन्ने मानसिकता नै ऊभित्र हावी भइरहेको थियो । यसैले त सोचेजस्तो नभए पछि जिउँदो लास मानेर, श्रीमतीको शरीरलाई जोडले धकेलेर पारी पुर्यायो । त्यो व्यवहारले उनको शरीर वाहेक भावनामा कति ठेस पुग्यो, यौनपिपासु भएको बेला उस्ले कल्पना पनि गर्न सकेन । के, के सोच्दै त्यो रात, त्यो त्यहीँ भुसुक्क निदायो । श्रीमती त्यो रातमा सुत्यो, सुतेन उस्ले चासो पनि राखेन । भोली विहान उठ्दा श्रीमती कोठामा थिएन ।

    वाहिर जाँदा साथीहरुले उस्लाई रातभरि निदाइनस् कि क्या हो, आँखा त रातो रातो छ भनेर जिस्काए । उस्ले केही पनि बोलेन् । आफ्नो दु:ख पनि फुकाएन । म सावित रातझैँ समयमै सुतेको छु भनेर साथीहरुलाई जवाफ पनि फर्काएन । घर आयो । सुहागरात जस्तै अरु एक दुई हप्ता पनि त्यसरी नै रातमा यौन हारेरै बित्यो ।

    एकदिन श्रीमतीले बिहान चिया लिएर आउँदा कोठामा उस्ले आदेश दियो; ‘सोफामा बस्’। ‘तेरो आमाबुबालाई दाइजो लिएर आउनु पर्दैन भन । भो पर्दैन अव केही पनि तेरो सामान ओसार्न ।’

    नवदुलहीले विचित्र भावले सोधी, ‘किन ?’

    ‘मैले तिमीलाई डिभोर्स दिने निर्णय गरेको छु । मेरो वकिलसित सल्लाह गरेरै मैले यो कागजपत्र पनि बनाएको छु । यस्मा तिम्रो मात्र सिगनेचर बाँकी, मैले गरिसकेँ ।’ यति भन्दै उस्ले त्यो कागज र पेन टेबुलमा राख्यो ।

    ‘मैले त्यस्तो के गरेकी छु र हजुरले यस्तो निर्णय लिनुभयो ?’

    ‘कि तिमी कसैकी प्रेमिका हो, कि समलिङ्गी हो ।’ उस्ले आँखा ठूल्ठूला पारेर बोल्यो ।

    ‘कुन प्रमाण लिएर बोल्दै हुनुहुन्छ हजुरले ?’ उनले पनि रिसाएरै सोधिन् ।

    ‘त्यो सुहागरात…!’

    ‘कस्तो हुर्नेपर्ने त सुहागरात…?’

    ऊ जुरुक उठयो र लेपटप अन गरेर एउटा अश्लील भिडियोको सुहागरातको एक क्लिप देखाएर भन्यो, ‘यस्तो हुनुपर्ने हो सुहागरात ।’

    त्यो देख्नेवितिकै त्यस नारीको आँखाबाट आँसु अविरल बग्न थाल्यो । फेरि कहीँबाट एकमुठी शक्ति निकालेर, अविरल बगेको आँसुलाई हत्केलाले पुछदै बोलिन्,

    ‘तपाईको निम्ति सुहागरात भनेको किस हो, सेक्स हो । रातभरि सेक्स नै सेक्स नै सम्झेर बस्यौ होला, आखिर पुरुष न हो । म त त्यो रातभरि दुई महिनाको बाँकी जिन्दगी बोकेर छोरीलाई सकी नसकी कन्यादान दिने बाबुलाई सम्झिरहेँ । दुई महिना पछि बिधवा भएर लाचार हुने दमकी रोगी आमालाई सम्झिरहेँ । अपाङ्ग भाइलाई सम्झिरहेँ । मेरो यस्तै, यस्तै भावनाले मन–मुटु फाटयो होला, त्यो बेला, त्यो फटाइलाई तपाईले पूर्वप्रेमीले फाटेको कुमारित्व देख्नुभयो । तपाईको लागि भनेर सवै चिज त्यागेर आएकी नारीबाट कुनै न कुनै रातमा अवश्य सुहागरात पाउनु हुन्थ्यो । पहिलो रातमा नारीको भावनालाई सुम्सुम्याउनुहोस् अनि महान पुरुष हुन्छ । नारीले त्यागेको संसारलाई एउटा कोठामा बसेर जित्ने तपाई जस्ता पुरुषलाई नारीको पीडा के महसुस हुन्छ ? विवाहकै पहिलो रातमा सेक्स खोज्नुभयो । भावनात्मक समागमको आनन्द के महसुस गर्नुहुन्छ ? अव कहिले पाउनु हुन्न सेक्स तपाईले मसित । मैले पनि डिभोर्स दिने निर्णय गरेँ ।’ यति बोलेर उस्ले टेबुलमा राखेको कागज र पेन सँगै उठाइन् । सिगनेचर गर्नुअघि श्रीमानतिर हेर्दै मुसुक्क हाँसिन र उनको हातको कलम त्यो कागजमा चिप्लियो, सुरुरु । सिगनेचर गर्नुअघि उनको मस्तिस्कमा श्रीमानले बोलेको डाइलग आइरहयो मात्र, ‘कि तिमी कसैकी प्रेमिका हो, कि समलिङ्गी हो ।’ यही सोचाइको बीच बीचमा आफ्नो रोगी बाबुलाई पनि सम्झिरहिन्, सम्झिरहिन् र मुखबाट एउटा बोली फुट निस्कयो, पैँतालीस दिन बाँकी । यौनपिपासु श्रीमानले उस्को अर्धचेतमा निस्केको बोली भन्दा उस्ले सिगनेचर गरेर हातमा समातेको कागजमा ध्यान दिइरहेको थियो ।

  • गायिका आस्था राउतलाई पक्रन अनुमति

    गायिका आस्था राउतलाई पक्रन अनुमति

    काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ ।

    उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

    प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको अनुमति दिएको हो ।

    अब उनी प्रहरीको फरार सूचीमा परेकी छिन् । आस्थ अहिले सिक्किममा छिन् ।

    बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै उनले फेसबुकबाट भिडियो सन्देश जारी गरेकी थिइन् ।

    उक्त सन्देशमा उनले प्रहरी संगठनमाथि अमर्यादित भाषा बोलेकी छिन् भने तल्लो तहको कर्मचारीलाई होच्याएर बोलेकी छिन् ।

    त्यसपछि त्रिभुवन विमानस्थलको सीसीटीभी क्यामराले खिचेको भिडियो सार्वजनिक गरेको थियो ।

    भिडियोमा प्रहरी भन्दा आस्थाले प्रहरीलाई दूब्र्यवहार भएको देखिएपछि उनीमाथि कारवाहीको पक्रिया अगाडी बढाइएको हो ।

    उनको भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

    त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको हो ।

    सीसीटीभी फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएपछि प्रहरीले कारवाही अगाडी बढाउन लागेको हो श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा किटानी जोहरी दिएकी छन् ।

    सीसीटीभी क्यामरा बाहिरीएपछि भने आस्थाले सार्वजनिक रुपमा माफि मागेकी थिइन् ।

  • चर्चित नेपाली बुलफाइट आज

    चर्चित नेपाली बुलफाइट आज

    काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ ।

    देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो ।

    नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ । हजारौं मानिसले बलवान गोरु एक आपसमा जुधेको हेरेर मनोरन्जन लिनेछन् ।

    खासगरी सरकारी तवरबाटै यस मेलाई प्रवद्र्धन हुन थालेपछि स्थानीय बासी हौसिएका छन् ।

    उनीहरुले यही मेलाकै लागि भनी गोरुलाई सकेसम्म बलियो बनाउँछन् ।

    आफ्नो गोरुले जित्दा एकातिर पुरकास्कार पाइने र अर्कोतर्फ इज्ज्यत पनि पाइने भएकाले तारुका तथा वेत्रावति आसपासका कृषक निकै मिहिनेत गरी गोरुको स्याहार गर्ने गर्छन् ।

    आज माघ. संक्रान्तीको दिन पारेर यो मेला आयोजना हुने गरेको छ । यस दिन घिउ, चाकु, तरुलजस्ता खाद्यपदार्थ खाएर माघेसंक्रान्ती मनाउने गरिन्छ ।

  • गजल गायक भट्टराईको सवारी दूर्घटनामा निधन 

    गजल गायक भट्टराईको सवारी दूर्घटनामा निधन 

    काठमाडौं । गजल गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । सोमबार राती दरबारमार्गस्थित वानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उनी दूर्घटनामा परेका हुन ।

    प्रहरीका अनुसार कार उनी आफैले चलाएका थिए ।

    तीनकुनेस्थित सडक पोलमा उनको कार ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल ट्रमा सेन्टर पुर्याइएको थियो।

    तर, चिकत्सिकले उनलाई मृत घोषित गरे । उनी गजल गायनमा जमेका गायक हुन ।

  • मेटिने भए ट्रक साहित्य

    मेटिने भए ट्रक साहित्य

    काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ ।

    यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ ।

    लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् ।

    रमाइला, रोचक तथा प्रेमिल साहित्यले चालकको ध्यान आकर्षित गर्ने र त्यसले एकाग्रता टुट्न गई दूर्घटनाको समेत जोखिम बढेपछि यस्तो निर्णय लिनु परेको विभागको भनाई रहेको छ ।

    अब सवारी साधनमा यस्ता कविता वा स्लोगन लेख्न नपाइने र पुरानो गाडीमा लेखेको भए मेटाउनु पर्ने नियम विभागले कार्यान्वयन थालेको छ ।

    विभागले बिहीबार यस सम्बन्धमा सूचना नै जारी गरेको थियो । विभागका अनुसार कुनै पनि सार्वजनिक सवारी साधनमा यस्तो स्लोगन, कोटेसन वा कविता राख्न पाइने छैन ।

    अब सार्वजनिक सवारी साधानमा साहित्य वा कोटेसन भेटिए सवारी जाँचपास नै नहुने र कारवाही गरिने विभागले उल्लेख गरेको छ ।

  • मुक्तकमा ‘लिम्पियाधुरा’

    मुक्तकमा ‘लिम्पियाधुरा’

    कल्पना घिमिरे

    न्यूयोर्क/अमेरिका

    एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट…
    लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२)
    सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु ।
    किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२)
    ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।।

    सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो यो । नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाले गत शनिबार आयोजना गरेको मुक्तक वाचनमा सहभागी केही साहित्यकारहरुले नेपालको पूर्वी सीमाना लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचिएको बारे निकै रोचक ढंगले सरकारलाई कडा ब्यङ्ग गरे । २ लाइनको छोटो तर अनगिन्ति शब्द अटाउने सन्देश बोकेका मुक्तक बाचन गरिरहँदा कार्यक्रममा सहभागीहरुको वाहवायी गुञ्जिएको थियो । अर्का साहित्यकार गोबिन्द कोइरालाले लिम्पियाधुरालाई यसरी ब्यङग्य गरे ।

    महको लोभमा फसेको झिँगो, किन हेथ्र्यो र धारिलो छुरा,
    झिँगो फसाउन साह्रै सिपालु जालो बुन्दै छ माकुरा,
    निदाएको बहानामा रातभरी खुसुर–पुसुर गर्दै
    बालुवाटार मै टार घोक्नु छ, ‘छु मतलब’ त्यो लिम्पियाधुरा ?

    कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न राज्यबाट आएका साहित्य अनुरागीहरुले मुक्तक सुनाएका थिए । बोस्टन, न्यु ह्याम्पसायर, न्युजर्सी, नर्थ क्यारोलिनाबाट साहित्यकारहरुको सहभागिता थियो । बरिष्ठ कानुनविद् विनोद रोक्का, डा.गोविन्द कोइराला, डा.मधु माधुर्य, पुष्कर बराल, एनबी दाहाल, यादब गौतम, राजन महर्जन , शारदा क्षेत्री, तुलसी चित्रकार, कृष्ण कुसुम, विकास विष्ट, गोबद्र्धन पुजा, मिलन शाही लगायतले सुनिरहुँ लाग्ने मुक्तक सुनाएका थिए ।
    कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाज बोर्डको नवगठित कार्यसमितिका अध्यक्ष गीता खत्री, अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली लगायत सबै बोर्ड सदस्यहरुलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । मदन पुरस्कार बिजेता ‘योगमाया’ पुस्तककी लेखक निलम कार्की निहारिकालाई बिशेष सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई र प्रतिष्ठानका अध्यक्ष आनन्द श्रेष्ठले खादा र प्रमाणपत्रले साहित्यकारहरुलाई सम्मान गरेका थिए ।


    कार्यक्रममा बोल्दै नेपाली महावाणिज्यदूत भट्टराईले बिदेशमा रहेर हाम्रो धर्म, साहित्य, कला संस्कृतिबारे अमेरिकामा हुर्किरहेका बालबालिकालाई सिकाउन प्रष्तिष्ठानले मुख्य भूमिका खेल्न आग्रह गरे । साथै नेपाली साहित्यलाई विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
    प्रतिष्ठानका महासचिब ज्योतिकुमार श्रेष्ठले साहित्यका बिभिन्न पाटाहरुसंग जोडिदै प्रतिष्ठानले बिशेष गरी मुक्तक लेख्ने साहित्यकारहरु संग नजिक रहेर काम गर्ने बताए ।
    कार्यक्रममा बिभिन्न विषयबस्तु बारे मुक्तक सुनाइएको थियो । कतिपय साहित्यकारहरुले सामाजिक सञ्जाल फेसबुकले हाम्रो समाजमा भित्र्याएका बिकृति र बिसंगतिमाथि ब्यङ्ग्य गरेका थिए । फेसबुकलाई ब्यङग्य गर्दै सारदा श्रेत्री भन्छिन्,
    फेसबुकको साथी न–जन्ति न–मलामि बन्छन् रे ।
    कति कमेन्ट कति लाइक आएछ भनि गन्छन रे ।।
    इन्टरनेटको जमानाले पनि के के गर्यो हजुर ।
    उपस्थिति बिना श्रद्धाञ्जली दिँए भन्छन् रे ।।

  • प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

    प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

    काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो ।

    उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

    भोस्लेले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा काठमाडौंमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

    उनलाई नेपालका ३५ जना कलाकारले साथ दिनेछन् । केन्द्रले भारतीय प्रसिद्ध कलाकाररुलाई निरन्तर नेपाल भ्रमणमा ल्याउने गरेको छ ।

    ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थान भ्रमण गरी नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्नेछिन् ।

    नेपाली गीत संगितमा समेत उत्तीकै योगदान दिएकी उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसारजस्ता गीत गाएर नेपाली संगितलाई उर्वर बनाउन भूमिका खेलेकी छिन् ।

  • टुट्यो रामकृष्ण ढकालको जोडी

    टुट्यो रामकृष्ण ढकालको जोडी

    काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो ।

    पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो ।

    सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी टुटेको हो । ढकाल दम्पतीकी एक छोरी रहेकी छिन् ।

    छोरी आमासँग रहने भएकी छिन् । निलमले रामकृष्णको सम्पत्तिमा भने दावि नगर्ने भएकी छिन् । पछिल्लो समय गायक ढकाले काठमाडौंमा घर बनाउन सहकारीबाट लिएको ऋणको तनावमा थिए ।

    सम्बन्ध विच्छेदको कारण खुलेको छैन । तर, खटपटमा सोही कारण हुन सक्ने आंशका रहेको छ ।

    घर बनाउन लिएको ऋण घर नै लिलामी गर्दासमेत तिर्न नपुगेपछि गायक ढकाल समस्यामा छन् । सोही बेला उनलाई निलमले छोडपत्र दिएकी छिन् ।

  • लघुकथा : स्कुलकी प्रेमिका

    लघुकथा : स्कुलकी प्रेमिका

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    प्रेम त मैले पनि गरेको छु । तर एउटा मौनतामा सुरु भएर मौनतामै दुखद अन्त्य भएको प्रेम । एउटा कायर प्रेम । जुन प्रेमको सबुत, आज आएर मसँग एक थान प्रेमपत्र पनि छैन । जुन प्रेमको कथा लेख्नु असाध्यै गाह्रो कुरा हो । एउटा मौनता स्वयम् मौन भएर कथाको दावी नै कसरी गर्न सक्छ र ? भनुँ, मेरो कथा दुई थोपा आँसु हो, एउटा खालि पाना हो, अझ यो भनुँ, एउटा मौनता मात्र नै हो ।

    यो कथा जोडिएको छ ‘ऊ’ सित । जोसित स्कुले जीवनभरि मैले दुई शब्द पनि बोलिनँ । जस्को समिपतामा पनि मेरो दिलको धडकनको तिब्रता दुईले गुनिन्थ्यो । उस्को एक नजरमा पनि संसार जितेको सिकन्दर खुसी मनाउथेँ । सायद अहिलेका चुम्वनहरु पनि त्यो बेलाको एक प्रेमिल नजर जति नहाँस्दो हो । धेरैको नजरको पर्खाल चिरेर हेर्नु पर्ने फगत एक नजर । आज समयको परिवर्तनसँगै यो हिम्मत आएको छ, यो कथा मेरो र ‘ऊ’ अर्थात मेरो स्कुलकी प्रेमिकाको हो ।

    सरले क्लास लिनुहुन्थ्यो । मेरो नजर समय समयमा उस्को अनुहार पढन पुग्थ्यो । यति सुख अनुभव गर्थे । उसैलाई लिएर मनले मीठा मीठा सपना बुन्थ्यो । प्रेमिका बनाएर प्रेमिल पथमा फूल टेक्दै हिँडन मन लाग्थ्यो, तर मनमा त्यस्तो हिम्मत नै कहाँ थियो र ? समाजको डर, साथीहरुको डर र आफैसित आफैको डर । डरै डरको काँडाबीच फुलेको एक अबला फूल, मेरो प्रेम । भोलि दिन्छु भनेर किटावमै ओइलाएको एक गुलाफ, मेरो प्रेम । उस्को प्रेम पनि सायद एउटा कमजोर पखाई नै हुनुपर्छ त्यो बेला ।

    उस्को प्रेमको वारेमा त झन के भनुँ ? एक नजर हेर्न पनि डराउँथ्यो । नजर जुध्दा पनि अन्तै नजर मोडथ्यो । त्यतिबेला आफ्नै धडकन छामेर, उस्को धडकन अनुभव गर्न सकिन्थ्यो ।

    समय बित्दै गयो । स्कुले जीवन सकिएको पनि आज आएर पच्चीस वर्ष भइसकेको छ । बीचको त्यो लामो सुन्यतामा उस्ले पनि कोही पुरुषलाई र मैले पनि कोही नारीलाई जीवनसाथी बनायौँ । भन्ने नै हो भने पच्चीस वर्षको त्यो अवधिमा, एक अर्काको लामो अदेखमा ‘त्यो प्रेम’ पनि कतै बिलाएकै थियो कि जस्तो लाग्छ । जीवनमा आउने हरेक सुखमा उस्को हाँसो छुटेको र जीवनमा आउने हरेक दुखमा उस्को आँसु सुकेकै महसुस गरियो । बाँचिदिने क्षणहरुमा केही क्षणले उस्को स्मृति रंगाएर नझस्काएको पनि होइन । तर हत्केलाको रेखा हेर्दै अगाडि डोरिएँ । यो भयो हिजोको कुरा ।

    समयको बदलावसँगै आज हामी फेसबुक, मेसेन्जरसँगै अन्य धेरै प्रविधिमा जोडिएका छौँ । अझ दैनिकीमा पनि दुईपटक ठोकिन्छौँ । मैले बाँचेको भूगोलमा उस्ले पनि सास फेरिरहेको छ । मेरो दैनिकीमा ठोकिँदा मुसुक्क हाँसेर, उस्ले, मेरो प्रेमलाई आज यो बदमास समयमा पनि जिस्काइरहेको छ । बाटोमा भेट हुँदा बोल्छौँ,कता जाने, के छ ? अझ फेसबुक र मेसेन्जरमा त यो भन्दा धेरै नै खुलेका छौँ ।

    एकदिन छोरालाई बजारतिर डुलाउन हिँडदा, आफ्नी छोरीसित आउँदै गरेकी मेरी स्कुलकी प्रेमिकासित बाटोमा भेट भयो ।

    अरु बेला जस्तो सामान्य हाइहेलो त भयो । सामान्य भलाकुसारी पछि मेरो बुढो रोमान्टिक मनले कुरै कुरामा उस्लाई सोधें;

    ‘मैले तिमीलाई त्यो बेला प्रेमप्रस्ताव गरेको भए तिमी के भन्थ्यौं ?’

    उस्ले थोरै पनि शर्म नमानी भनी, ‘म तिम्रै प्रेम प्रस्तावको पर्खाइमा थिएँ । तिमीबाट कहिले प्रस्ताव आएन ।’

    ‘प्रस्ताव त तिमीले पनि गर्न सक्थ्यो नि ?तिमी पनि त मौनतामै अल्झियौ त ’

    ‘म एक नारीमा पुरुषमै बिलाएको साहस कसरी उम्लिन्थ्यो र ?’

    ‘आज प्रस्ताव गरे के भन्छयौ तिमी ?’ मैले जिस्काएर सोधेँ ।

    ‘आज पनि यस नै भन्ने हो । मलाई गर्लफ्रेण्ड बनाउने हिम्मत छ ?’ ऊ हाँसी मरी मरी । त्यो त म भन्दा झन खतरा पो भएर निस्की । म अवाक बनेँ उस्को चोटिलो ठट्टामा ।

    एउटा पुरानो प्रेम, समयको त्यो सुन्यतामा हामी दुवैको गाला चिस्याएर बिलायो । सायद यो संसारकै सुन्दर प्रेमलाई अनुभूत गर्ने यो दुनियाँमा कोही थियो त ऊ र म मात्र । सँगै पढेका क्लासका साथीहरुको निम्ति पनि हामी एउटै क्लासमा दसौं वर्ष पढेर पनि एक वचन पनि नबोलेका सहपाठी मात्र थियौँ । मैले मन बुझाएँ, उहिलेका प्रेमहरु यस्तै हुन्थे । मौनतामा फुल्थ्यो, मौनतामै ओइलाउथ्यो । मेरो प्रेम त खालि पानामा एउटा शब्दमा पनि कोरिएन । अहिलेका प्रेम हेर, फेसबुकभरि कति फोहर छ । मेसेन्जरमा कति अश्लील छ ।

    उस्को कुरा सुनेर मैले समयलाई मात्र धिकारेँ । म पच्चीस वर्षअघिको स्टुडेन्ट भएकोमा पछुतो मानेँ ।

    त्यति नै बेला मेरो दश वर्षको छोराले उस्की सात वर्षकी छोरीको हात च्याप समात्यो । उस्की छोरीको हात समातेको हो, उस्को गाला रातो भयो । अझ मेरो छोराले उस्की छोरीको गालामा एक चुम्बन दिइहाल्यो । ऊ अझ राती भई ।

    मेरो बुढो मन आज आएर रोमान्टिक थियो जो हिजो किशोर हुँदा निकै उदास, सुष्क र डरपोक थियो । बुढो मन अझ रोमाण्टिक हुँदै बोल्यो;

    ‘तिम्री छोरी निकै मायाबी छे हेर न मेरो छोराले सम्हाल्नै सकेन । ’

    ऊ हाँसी मरी मरी ।

    ‘तिम्रो छोरा पनि कम्ती प्लेब्वाय छ र ? हेर न मेरी छोरीलाई गालामा किस गरिहाल्यो ।’

    उस्को बुढी मन पनि आज आएर निकै रोमान्टिक भइसकेको रहेछ । हरेक कुरा पनि कति सहज, कति पाच्य ।

    हामी यसरी नै रोमाण्टिक कुरा गर्दागर्दै त्यो दिन छुटियौं।

    घरमा आएर पुराना दिनहरु सम्झेर बसेँ । पच्चीस वर्ष पुरानो एउटा गुलाफको फूल जो मरेर कितावमा धुलो भइसकेको थियो । हेरेँ, हेर्दाहेर्दै आँसुको एक थोपा गहमै चिप्लियो । यस्तो लाग्यो, त्यो फूलले मलाई सराप्दै छ ।

    उस्को कुरा सम्झेँ, तिम्रो छोरा पनि कम प्लेव्वाय छ र ? हेर न मेरी छोरीको गालामा किस गरिहाल्यो…

    मैले भगवानलाई मात्र धिक्कारेँ, जस्ले मलाई पच्चीस वर्षअघि स्कुलको स्टुडेन्ट बनाएर मसित एउटा रोमाण्टिक प्रेम छिन्यो । मेरी स्कुलकी प्रेमिकालाई पनि आजको समय र प्रेमसित डाहा लाग्दो हो, मलाई जस्तै ।

    कति पवित्र हुन्थ्यो त्यो बेला कागजमा फुल्ने चुम्वनहरु । तर एउटा मानव जीवन सार्थक बाँच्ने हो भने त अहिलेको प्रेम पो प्रेम हो नि ।

    फेरि उस्को अर्को कुरा सम्झेँ, ‘आज पनि यस नै भन्ने हो ।’

    बुढो मन रोमाण्टिक बन्दै थियो । हठात नजर छोरातिर गयो । सारा रोमाण्टिक कल्पनाहरु भत्कियो । उस्को भविष्यको चिन्ता लाग्यो ।

    डायरी लिएँ, यति मात्र कोरेँ,

    समयमै प्रेम चिनेर नैतिकतामा गरे, त्यो प्रेम उपहार हो

    अनैतिक भएर गरेको प्रेम, प्रेम नै भए नि, व्यभिचार हो

    साँच्चै, साँच्चै मलाई आजको मोर्डन प्रेमसित निकै लोभ छ, मेरी स्कुलकी प्रेमिकाको लोभ पनि यही लोभसित गाँसिएर बसेको हुनुपर्छ । अनि एक पुस्ता अघिका प्रेमिल मनहरुलाई सोध्न मन लाग्छ, तिमीहरुको प्रेम पनि यस्तै थियो ? स्कुलकी प्रेमिकालाई ‘गर्लफ्रेण्ड’ बनाउने चाहना तिमीहरुलाई पनि आज पनि छ ? कि मेरो मनको बैंश मात्र यति भरिलो छ ? हिजो पच्चीस वर्षअघि भित्र भित्र मन पराएर पनि एक नजर नहेर्ने तर पच्चीस वर्षपछि आफ्नो श्रीमान हुँदाहुँदै पनि ‘आज पनि यस नै भन्ने हो’ भन्ने स्कुलकी प्रेमिकालाई सम्झी मुसुक्क हाँसे ।

    समय जति मोर्डन भए पनि आज आएर मेरो बुढो ‘आइ लभ यु’ र तिम्रो त्यो बुढो ‘यस’ हाम्रो समाजलाई पचेको छैन । यो भन्दा अघि बढे ब्यभिचार हुन्छ । खराव समयको फाइदा लिएर उहिलेको एक प्रेमको सच्चाइलाई अपमान पनि नगरौँ । मेरी स्कुलकी प्रेमिका मलाई माफ गर, आज आएर, हाम्रो सम्वन्धको सीमा यति नै हो ।

    उस्को त्यो छिपिएको, चाउरिएको र मक्किएको ‘यस’ले मलाई रातभरि भावुक बनायो । म आफूलाई बलैले सम्हालेँ । त्यो प्राचीन प्रेम कुनै सुन्दर युवतीले आफ्नो अनुहारभरि छरिएको केश पन्छाए जस्तो त्यो रातको लागि पन्छाएँ । मनमनै स्वीकारेँ, स्कुलकी प्रेमिका यस्तै हुन्छे र पहिलो प्रेम यस्तै हुन्छ । होसियार, जीवन बाँकी रहञ्जेल जहिले पनि ब्युँझिन सक्छ । चालीस, पचास, साठी,अस्सी, नब्बे र सय उमेरको लेखाजोखा छैन । स्कुलकी प्रेमिकाको पच्चीस वर्षपछिको ‘यस’ले अझै मलाई समय समयमा सताउँछ ।

    Sent from my iPhone

  • नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

    नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

    मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ ।

    यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंहलगायत कलाकार सडकमा ओलिएका छन् ।

    कानुनको विरोधमा देशव्यापी प्रदर्शन भइरहेका बेला बिहीबार मुम्बईको अगष्ट क्रान्ति मैदानमा आयोजना भएको विरोध प्रदर्शनमा बलिउड कलाकारको उपिस्थति रहेको थियो ।

    यसअघि कलाकारले सामाजिक संजालको विरोध गरेपनि सडकमै भने पहिलो पटक उत्रिएका हुन् । भारतमा चर्किएको आन्दोलन ३ जनाको ज्यान गइसकेको छ ।

    गैरमुस्लिम आप्रवासीलाई नागरिकमा सहज गरेर मुस्लिम धर्मावलम्बीलाई लखेट्ने उद्देश्यसहित भारतले नयाँ कानून ल्याएको आन्दोलनकारीहरुको तर्क रहेको छ ।

  • डेरामा बस्ने केटी

    डेरामा बस्ने केटी

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    एक दशकअघिको कुरा हो । सँगै एउटै फ्लेट तर भिन्न कोठामा डेरा गरी बस्ने कोठाको केटी मलाई बिस्तारै मन पर्न थालेको थियो । म सोच्थेँ त्यतिबेला, यसरी नै माया फैलिँदै, भरिँदै जाने हो भने बेलुनजस्तो प्याट्ट फुटन के बेर ? त्यो अबला मुटु भित्र अनेक कुरा खेल्थे । म घरपेटीको छोरो भएपनि उहीँ फ्लेटमा वल्लो कोठामा बस्थेँ भने उनी पल्लो कोठामा बस्थी । मेरो मनभित्र उनीप्रतिको माया अथाह बनिसकेको थियो । कहिले जम्का भेट हुँदा भन्न मन लाग्थ्यो; “आउ डेरावाली, के भिन्दाभिन्दै कोठामा सुत्ने, मेरी रानी बनेर एउटै कोठामा सुतौँ । डेरावालीबाट तिमी पनि घरवाली बन ” ।

    मनमा नानाभाँतिको कल्पना आए पनि कहाँ सम्भव थियो र सोचे जस्तो…। मसित भेट हुँदा मुसुक्क हाँस्थी । जिस्काउँदै सोध्थेँ, ‘कहाँ जाने डेरावाली ?’

    कति पनि रिसाउँदिन । बरु मायालु नजरले मतिर हेर्दै बोल्थी, ‘हजुरले देख्नु भएन मेरो लुगा पनि ?’

    ‘तिम्रो युनिफर्ममा ध्यान कहाँ छ र ? म त केवल तिमीलाई मात्र हेर्दैछु ।’

    डेरावाली मेरो कुरा सुनेर मुसुक्क हाँस्थी । म उस्को मुस्कान, उस्को ‘हजुर’ शैली, उस्को मप्रतिको सम्मान, इशारा हरेक कुरामा प्रभावित हुँदै गएको थिएँ ।

    म उस्लाई हरेकप्रकारको सहयोग गर्थे, त्यो बेला । केही मीठो खानेकुरा छ भने पनि ‘खाऊ, डेरावाली’ भन्दै आधा उस्लाई दिन्थेँ । कैयनपटक उस्को फि तिर्न आफू रितिएँ । आफ्नो घरको डेरा भाडा आफैले तिरेर, उस्लाई घरवाली बनाएर म डेरावाल बनेको थिएँ । उस्लाई प्रेम प्रस्ताव गर्ने हिम्मत बटुल्दा बटुल्दै मैले प्रेम प्रस्ताव गर्न सकेको थिइनँ ।

    मलाई त्यो बेला सामाजिक प्रतिष्ठाको डर थियो । किनभने मेरी भाउजू पनि डेरावालीबाटै दाईले घरवारी बनाएका थिए । मलाई थाहाँ थियो, जातभातमा कट्टर मेरी आमाले पक्कै कान्छी बुहारी पनि डेरावाली नै ल्याउन पक्कै दिने छैनन् । डेरावालीसित मेरो प्रेम टुसाएको एक वर्ष नबित्दै मेरी आमाले मलाई डाकेर अह्राउनु भयो, ‘तँ अव पुरानो घरमा बस्न जा । नयाँ घरको हेरविचार तेरो दाइ र भाउजूले गर्नेछन् ।’
    मैले ‘किन’को कारण सोध्नै सकिनँ । मनमा चिसो मात्र पस्यो, डेरावालीसितको मेरो प्रेमको सुइँको आमाले कसरी पाउनुभयो । डेरावालीको कोठाको छेवैको कोठामा बस्न नपाएर निलम्वित भएको त्यो दिन म खुवै रोएँ ।
    केही महिना मलाई पुरानो घरमा सारियो । चार महिना पछि म नयाँ घरमा जाँदा उस्को कोठाको ढोकामा पर्दा अर्कै रंगको लगाएको थियो । मेरो पुरानो प्रेमिल ढोकाबाट कोही नौली युवती बाहिर आई, त्यो युवती, मेरी डेरावाली थिएन ।

    उस्को ढोकाबाट कोही अरु नै युवती रातो पर्दा छिचोल्दै बाहिर आउँदा म भित्रभित्रै भन्थेँ, ऐ डेरावाली, म हरियो पर्दा र तिमीलाई आज पनि मिस गर्छु ।

    समयको परिवर्तनसँगै दाजुको जुवाप्रेमले घरमा एउटा ठूलै आर्थिक समस्या आयो । आर्थिक समस्यासँगै घरहरु बैकमा धितो राख्नुपर्यो । बैंकको ऋण तिर्न नसक्दा दुइटै घर लिलाम भयो । नचाहेर पनि डेरावालीका सारा स्मृतिहरु अरुलाई नै सुम्पेर गएँ । एउटा ढोका उखेलेर ल्याउन मन लागेको थियो, तर सकिनँ । तर स्वयमँ आफै पनि डेरावाला भएर पनि आँखामा भने अझै त्यही डेरावालीको एक दर्शनीय प्यास थियो ।
    संसारमा खोजे के पाइँदैन । एकदिन न्युरोडमा त्यही डेरावालीसित भेट भयो । ऊ पहिला जस्तो मुसुक्क हाँसी । उस्को हाँसोले लाग्यो, पहिला अधुरा भएका दिलको पाना आज आएर ओछयाउँ । म डेरावाल, ऊ डेरावाली एक इन्च पनि सामाजिक मर्यादाको दुरी देखिनँ । पहिला जस्तो मैले आत्मीय भाव चोरेर सोधिहालेँ, ‘ऐ डेरावाली, तिमी कहाँ बस्छौँ अचेल ?’
    ‘डेरावाली नभन्नुहोला, म पनि घरवाली नै हुँ अचेल । यतै लुभुतिर हाम्रो सानो घर छ अहिले ।’ अघिको मुस्कान सबै गलहत्याएर, आँखा ठूल्ठूला पारी रिसाएर बोली ।

    काठमाडौंको शरीरमा चार आना किनेर दुई तला ठडयाउँदा, हिजोको यही गुलियो ‘डेरावाली’ आज आएर कति तितो भएको होला यो ‘डेरावाली’लाई , भित्रभित्र सोचेँ ।

    ‘विवाह भइसक्यौ ?’
    ‘के जस्तो लाग्छ ?’ स्पष्ट जवाफ फर्काएन । सिउँदोमा सिन्दुर त थिएन तर उस्को भावभङ्गिमामा कुमारित्व तुहिसकेको थियो । केही जवाफ फर्काइनँ ।

    ‘घर लिलाम गरिसक्नु भएछ रे, हो ? अहिले तिमी कहाँ डेरा बस्दैछौ ?’ हिजोकी डेरावाली, आजकी घरवालीले उल्टो मलाई प्रश्न सोधी ।

    सवै कुरा थाहाँ रहेछ यो डेरावालीलाई, मनमनै सोचेँ । मात्र बोलेँ, ‘कालिमाटी ।’
    कालिमाटी भन्नेवितिकै आज बिहान घरपेटीले बोलेको “छिटो कोठा सर” भनेको ध्वनी मेरो स्मृतिमा आयो । सोधेँ, ‘घरमा सानो एउटा कोठा छैन, घरवाली ?’

    मेरो प्रश्नले, ऊ खुव मरी मरी हाँसी । सायद उस्को ओठमा काउकुती ‘घरवाली’को सम्वोधनले लगाएको हुनुपर्छ भनेर चाल पाइहालेँ । समयको खेल न हो, आज आएर तिमीले काठमाडौँ जित्यौ, मैले हारेँ, यस्मा यति कठोर प्रतिसोध किन ? मनमनै सोधेँ ।

    झण्डै पाँच सेकेण्ड हाँसेपछि बोली, ‘सरी, तिम्रो लागि अहिले कोठा खालि छैन ।’
    ‘हजुर’ आज आएर ‘तिमी’मा झरे पनि मुस्कान भने हाँसोमा उक्लिसकेको रहेछ, जस्को आवाजमा मैले स्वार्थसिवाय अरु केही भेटाइनँ । जावो एउटा कोठा नदिने डेरावालीसित म मनमुटु कसरी मागुँ ? यही सोच्दै म बाटो नापेँ आफ्नै डेरातिर, हिजोकी डेरावाली र आजकी घरवालीले मलाई आँखा तन्काइ तन्काइ नै परसम्म हेरेको हुनुपर्छ, त्यो बेला । स्मृतिमा आइरहयो मात्र एक अबला, अब्यक्त र टुहुरो मेरो अभिब्यक्ति…”आउ डेरावाली, के भिन्दाभिन्दै कोठामा सुत्ने, मेरी रानी बनेर एउटै कोठामा सुतौँ । डेरावालीबाट तिमी पनि घरवाली बन “। पूरै आँखा, डेरावालीसितको स्मृतिले ढाकेर म निस्सासिने यो काठमाडौं सहरमा डेरा खोज्दै छु ।

  • उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

    उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

    काठमाडौं । स्वरसम्राट नारायणगोपालले भौतिक शरीर छाडेको तीन दशक पुगेको छ । तर, उनका सिर्जना भने नेपालीका मन मुटुमा अझै पनि जीवन्त छन् ।

    नेपाली संगीतका अमर व्यक्तित्व नारायणगोपाल गुरुवाचार्यको २९ औं स्मृति दिवस बिहीबार विविध कार्यक्रमसहित मनाइदैछ ।

    नेपाली संगीतलाई उनले कैयौं वर्षसम्म मेट्न नसक्ने छाप छाडेर गएका छन् । त्यसकारण पनि हरेक जन्मजयन्ती तथा स्मृति दिवसमा स्वरसम्राटको सम्झना गर्ने गरिन्छ ।

    बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको जन्म विसं १९९६ असोज १८ मा काठमाडौंमा भएको हो ।

    उनको निधन भने विसं २०४७ मंसिर १९ मा ५१ वर्षकै उमेरमा भएको थियो । नारायणगोपाल संगीत कोषले उनको स्मृतिमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

    नेपालमा हिन्दी संगितको दवदवा बढिरहेको समयमा नेपाली संगितलाई लोकप्रिय बनाउन उनले ठूलो योगदान गरेका छन् ।

  • टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

    टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

    काठमाडौं । टुँडिखेल अतिक्रमण हटाउन माग गर्दै खुला पार्क बनाउन दवाव दिने उद्देश्यले शुरु भएको अकुपाई टुँडिखेल अन्तर्गत शनिबार साहित्यिक जमघट हुँदैछ ।

    हरेक शनिबार दवावमुलुक कार्यक्रमअन्तर्गत शनिबार तेस्रो साताको कार्यक्रम आयोजना हुँदैछ । टुँडिखेलस्थित खरी बोटमा बिहान ८ बजेबाट कार्यक्रम शुरु गर्ने कार्यतालिका राखिएको छ ।

    जहाँ ३२ जना कविले चेतनामुलक कविता वाचन गर्ने कार्यक्रम राखिएको छ । दुर्गालाल श्रेष्ठ, देवी नेपाल, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, श्रवण मुकारूङ, विप्लव प्रतीक, विप्लव ढकाल, नवराज पराजुली, रञ्जु दाहाल, बलराम दाहाल, रूपक अलंकार, आनन्दसिद्धि तुलाधर, भोला बराललगायत कविले सहभागिता जनाउने भएका छन् ।

    आयोजकका अनुसार विष्णुकुमार सिंजाली, विजय बलम्ताली, सोम धिमाल, निरज दाहाल, प्रज्ज्वल अधिकारी, असीम सागर, रशिक राज, अच्यूत घिमिरे, रूपा जोशी, स्नेह सायमी, अरूना पन्त, रुपेश श्रेष्ठ, सरिता आचार्य, प्रकाश अमात्य, दिव्या ताम्राकार, रोनिका श्रेष्ठ, कोषराज न्यौपाने र रमिता बज्राचार्यको पनि सहभागिता हुने भएको छ ।

    संरक्षण अभियन्ताको पहलमा यो कार्यक्रम प्रारम्भ भएको हो । रानीपोखरीदेखि रंगशालासम्म फैलिएको विशाल टुँडिखेललाई सरकारी निकायले नै अतिक्रमण गरेपछि यसको आकार खुम्चिएको छ ।

    यसबीचमा नेपाली सेना र महानगरले हालिमुहाली गरिरहेका छन् । यसमा सरकारले कुनै ध्यान दिन सकेको छैन ।