Category: कला / साहित्य

  • भुगोल सरको थोत्रे साइकल

    भुगोल सरको थोत्रे साइकल

    माधव अधिकारी / दक्षिण कोरिया

    अनि देशका लागि के गर्यौ त ?

    दक्षिण कोरियाको सियोलमा एउटा रेष्टुरेन्टमा पलेँटी कसेर बसिरहँदा 

    साथीहरु बीचमा कुरा हुन्छ

    सिमा बिवाद अहिले चर्चामा छ,

    अनि बिभिन्न ह्याशट्याग र स्टाटसको बाढीपहिरो आउँछ । 

    तर फेरि प्रश्न ज्यूँ का त्यूँ, 

    सिमा जोगाउन के गर्यौ त ?

    बलभद्र कुँवर या भक्ति थापा जस्तो लड्न जाने सार्मथ्य नभएको हो या समय परिवर्तन भएको हो ? 

    प्रोक्सी वार शुरु भएको छ अनि अब देशप्रेम अनि एैक्यवद्धताका लागि हामीले के गर्ने त ?

    सुयोग ढकालका लेख अनि सांस्कृतिक अन्वेषणहरु हाम्रो पात्रोमार्फत एक यूगदेखि नेपालीहरुले पढि आएका छन् । 

    हाम्रो पात्रो एउटा झ्यालजस्तो लाग्दछ, बिदेशमा बस्दा नेपाल नियाल्ने र बाँच्ने झ्याल, 

    देशका चाडवाड मिस गरिरहेको बेला त्यहाँका शव्दहरु, ब्याख्या अनि भावनाहरुले हामीलाई नेपालको नोस्टाल्जीया पूनर्जागृत गरिदिने ठाउँ । 

    गाँउमा हुँदा स्कुल पढ्दाको समयमा हामीले यिनलाई एउटा आवाजका रुपमा अनि साथीका स्वरुपमा साथीसंग मनका कुरा कार्यक्रममा पनि सुनेका थियौं, 

    परदेशमा रहेका नेपालीहरुमा देशका चाडपर्वहरुको बाक्लो संझना दिलाउने लेखक यिनै हुन् ।

    देशका लागि आवाज हुनेहरु आवाज लिएर उठ भनें झैं 

    अहिले सुयोग ढकालका केही भिडियोहरु नेपाली देशप्रेम सम्बन्धित आउन थालेका छन्, 

    म फेसबुकमार्फत ति भिडियोहरु हेर्दछु । सामान्यतया म अरुका कविताहरु फेरि लेख्दिन तर यो कविता भुगोल सरको कविता चाँही लेख्छु;

     

    “भूगोल सरको थोत्रो खुइलिएको साइकल”

     

    यो एकादेशको किस्सा हो जुन आज भन्न जरुरी छ;

    भूगोल सरको रंग खुइलेको थोत्रो साइकल झैं

    मेरो देशको अवस्था पनि जिर्ण रहेछ

    हामीलाई भनें सरले नेपालको नक्शा बनाउन सिकाइरहे

    बनाएको नक्शाको सिमालाई जोगाउने कसरी कसैले सिकाएनन्

    स्कुलमा राष्ट्रगान गाँउदा

    शिर ठाडो पार्न सिकाए

    तर बास्तविक जिवनमा सबैजना मिलेर

    मेरो शिरको उँचाई धरौटी राखिसकेका रहेछन्

     

    मैले देशलाई माया गर्न के गरिन ?

    राजाको जन्मदिनमा बिहानै उठेर

    नुहाएर भगवानलाई झैं फुल टिपिन कि?

    माओवादीले स्कुलवाटै लाँदा

    बाटामा बन्दुक बोकिन कि, लाल सलाम भनिन कि?

    अरु त अरु ६२/६३ को आन्दोलनमा टियर ग्याँसलाई रुमालले छोप्दै

    ड्रममाथि बसेर कविता भनिन कि ?

    मैले श्रीमान गम्भीर पनि गाँए

    गाँउछ गीत नेपाली पनि गाँए

    त्यसपछि सैयौं थुंगा फुलका आयो, मैले स्कुल छाडिसकेको थिए

     

    देश बनाउने सपना देखाएर मलाई शासन गर्नेहरु

    मैले र मेरा साथीहरुले आन्दोलनमा

    बाटामा छाडेर, हराएर हिँडेका लाखौं चप्पलहरुका फेरिहिस्त छ तिमीहरुसंग ?

    महलमा बस्नेलाई साना कुराहरु संझना हुन्न रे तर सुन;

    आन्दोलनमा चप्पल छाडेका साथीहरु त्यसपछि बिदेश गए

    पसिनासंग पैसो साट्दै

    आँसु पुछ्दै नुन चाट्दै

    नेपालमा पसिनाको भाउ नपाएपछि उनीहरु हिँडे

    ति चप्पल तिनिहरुले यहाँ छाडेका सपनाहरु थिए

    हरियो पासपोर्टमा म्यानपावरको स्टीकर टाँसिएझैं

    उनीहरुको जिवन र जिवीकोपार्जन अब बिदेशमा टाँसिएको छ

    चैते दशैंमा गाँउमा काटिएको खसीको मासु भाग लगाए झैं

    तिमीहरुले आफन्तका लागि पद र पावर भाग लगाँउदै गर्दा

    मेरा साथीहरु पसिना बगाँउदै बिदेशमा

    हरेक महिना रेमिट्यान्समा गएर घरखर्च गन्दछन्

    अनि भाग लगाँउदछन् अर्को महिना कति छाक काटेर

    कति बढि पठाउने अनि नपठाउने

     

    संसारमा धेरै पीडाहरु छन्

    आमा बन्दाको पीडा, आमा बुवा नबन्दाको पीडा

    घाउ लाग्दाको पीडा, ओखती नपाँउदाको पीडा

    खोला नहुँदाको पीडा, बाढी आँउदाको पीडा

    उनले छाडेर जाँदाको पीडा, उनी साथ हुँदाको पीडा

    चुरोट नपाँउदाको पीडा अनि खोकी लाग्दाको पीडा

    यी सबै पीडाहरु एकतर्फ एउटा बोरामा कसेर राख

    अनि अर्को बोरामा देशको सिमाना मिचिँदाको पीडा राख

    देशको सिमाना मिचिँदाको उकुसमुकुस कैयौं गुणा बढि हुनेरहेछ

    भोली तिम्रा सन्ततीले लिपुलेक, कालापानी र लिपियाधुराको बारेमा सोद्धा

    के तिमी ठूलो स्वरले बन्दे मातरम भन्ने हौ र ?

    म त सक्दिन हेर साथी

    जब आउने पुस्ताले मसंग सिमाको बारेमा सोध्नेछ

    मलाई त बिस्मात र ग्लानी दुबै हुनेवाला छ

    साथमा केहि किलोग्राम लज्जा पनि

    कि मैले माटो जोगाउन सकिन

    आमालाई दाइजोमा दिएको दराज भित्रको

    मेरो बच्पनको नागाें फोटो

    एकदिन सगिंताले देखिछ

    त्यसपछि यस्तो लाज लाग्यो कि

    फोटो च्यातेर बारीमा बालेर

    संगितासंग आजसम्म एकशव्द बोल्न सकेको छैन

    अब सिमा बुच्चिएको देश आउने पुस्तालाई दिँदा

    त्यस्तै त्यस्तै केहि हुनेछ

    त्यो लज्जाले मलाई पगाल्दिन्छ

    नौनी पग्लेर घ्यू भए झैं

    नौनीको अस्तित्व केवल बिलौनीका केही तरहरुमा मात्र बाँकी हुनेछ

    अनि म लाजले बिलौनी झैं शायद बिलाउने छु

    देश सानो भएर कोही कमजोर हुँदैन

    देश गरिब भएर कोही कमजोर हुँदैन

    आवाज रहुन्जेल, शव्द कोरिउन्जेल

    अनि सगरमाथाको छायाँ रहुन्जेल

    तिमीहामी सबै बलियो छौं, आफूमा बिश्वास गरेमा

    तर अझै पनि तिमी आफूलाई कमजोर ठान्दछौ भनें

    हो तिमी कमजोर हौ किनभनें

    किनभनें तिमीमा अलिनो खाने साहस छैन

    तिमीसंग साइकल चढ्ने साहस छैन

    किनभनें तिम्रा लागि देशभन्दा भेश ठूलो कुरा हो

    किनभनें तिमीले भूगोल र ईतिहास पढेनौं

    या पढेर पनि भूलिदियौ

    तिमी मुला भुल्न खप्पीस छौ नि

    तिमीले के भुलेनौं ?

    टिस्टा, काँगडा सर्लक्क भुलेका हैनौं ?

    अरु त अरु तिमीले ठड्याएका फितला घरहरु देख्दा

    तिमीले त भुकम्प पनि भुलेछौ

    नाकाबन्धी भुलेर तिमीले स्वाभिमानलाई कोशीको पानीमा

    यसरी बगायौ कि मानौं कागजको ढुगांलाई बच्पनमा मैले बगाँए

    भूगोल सरको साइकल पुरानो थियो

    घन्टी बाहेक सबै कुरा बज्थ्यो

    तर सरको शिरको टोपी चटक्क सर्लक्क हिमाल झैं

    मैले हावाजहाज, पानीजहाज, गाडी, भटभटे धेरै चँढे

    बिदेश स्वदेश बेफ्वाँकले डुलेँ

    आधा विश्व डुलिसक्दा पनि

    मैले भूगोल सरजस्तो मान्छे भट्न सकिन

    उन्को साइकलजस्तो खुइलिएर पनि राम्रो

    अनि स्वाभिमानी सवारी कहिँ देखिन

    सरले सिकाएको नक्शामा म थोरै थप्ने अनुमति माग्छु

    त्यसमा कालापानी, लिपुलेक र लम्पीयाधुरा पनि थप्नेछु

    सरले धर्ती छाडेको दिन

    मैले अलिनो आएको थिँए

    सरको साइकल खोज्दै म गाँउ जाँदैछु

    यदि भुजियावालासंग साटिएको छैन भनें

    म त्यो साइकललाई राजधानी खाल्डोमा ल्याउने छु

    अनि माइतिघरमा ठूलो बाँसको खम्बा गाडेर

    त्यस साइकललाई अनन्तकालसम्म हुने गरि

    झुण्ड्याइदिनेछु

    दुनिँयाले थाहा पाओस्

    सबै जिर्ण र कमजोर कुराहरु

    महत्वहिन हुन्न ॥

  • छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म

    छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म

    प्रभात भट्टराई

    (ब्लग)

    सकृय अखवारी लेखनबाट ओझेल परेर करियरको पहिलो चलचित्र घामपानी निर्देशन गर्न थालेपछि दिपेन्द्र लामाप्रति मेरो मनमा जागेको प्रश्न थियो– आखिर यी दाइले कस्तो फिल्म बनाउलान् ?

    उनले बनाउने फिल्मको गुणस्तर जाँच्ने विधा मेरो होइन र त्यसबारे मलाइ कुनै ज्ञान पनि छैन । लामा दाइले थालेको कामप्रति चासो जाग्ने कारण भने फरक थियो । उनी अखवारमा फिल्म समिक्षा लेख्थे । यस्तो लेख्थे कि निर्माता र निर्देशकहरु पानी पानी हुन्थे । कैयन् निर्देशकले नानाभाँती गाली सहित सामाजीक सञ्जालहरुमा लामा दाइको समिक्षाको प्रतिवाद गरेको समेत देखेको छु ।

    कोही पनि कट्टर पुस्तक समिक्षक लेखक बनेका दिन या छुरा फिल्म विश्लेषक निर्देशक बनेका दिन उसले भोली सामना गर्नु पर्ने शाब्दिक आक्रमणप्रति चासो उठ्नु स्वाभाविक नै हो । दिपेन्द्र लामाको निर्देशनप्रति मेरो चासोको सीमा यति नै थियो । र, थियो केही शुभेच्छा– समिक्षाको ‘कम्फर्ट’ विधाबाट मोडिएर नयाँ हिम्मत जुटाएका यी सहकर्मी दाइले गरिखाउन् ।

    चलचित्र प्रदर्शनका बेला मुलुक बाहिर रहेका कारण घामपानी हेर्ने मौका जुरेन । फिल्मले ठीकै व्यापार गरेको खबर अवबारहरुमा छापियो । ‘समिक्षक’हरुबाट त्यस्तो क्रुर आलोचना पनि भएन । केही बर्षको ब्रेक पछि पोहोर लामा दाइको अर्को चलचित्र आयो– गोपी । एमाजाेन प्राइममा* रिलिज भइसकेपछि यो फिल्म भने हेर्न पाइयो ।

    कुनै एउटा फिल्मको समिक्षामा लामा दाइले लेखेका थिए– ‘… निर्देशकले यति पनि हेक्का राखेनन् कि नेपाल प्रहरीसँग लडाकु हेलिकप्टर छैन, जब संगठनसँगै नभएको उपकरण लिएर युद्दका लागि पुगेको दृश्य कसरी फिल्ममा राखिएको होला?’ नेपाली फिल्ममा देखाइने वास्तविकताभन्दा टाढाका भद्दा दृश्यहरु सधैँ लामा दाइको तारोमा हुन्थे । त्यसैले उनको फिल्म हेर्न बस्दा मेरो मानसपटलमा उनैले लेखका यी शब्दहरु दौडि रहेका थिए । यथार्थको सीमामा आफ्ना दृश्यहरुलाई यी दाइले कत्तिको अटाएका होलान् त ? मनमा जागेको प्रश्न यही थियो ।

    गोपीका कुनै दृश्यमा ह्या… भन्ने लागेन । फिल्म सलल बग्यो, आफ्नै गाउँ ठाउँको कथा जस्तो पनि लाग्यो । लामा दाइले अरुलाई जुन प्रसंगमा उडाउँथे आफु त्यो गल्ती नदोहोर्याइ फिल्न बनाउन सक्दा रहेछन् भन्नेसम्म लाग्यो । उनकाे अर्काे चलचित्रकाे प्रतिक्षा गर्न थालियाे ।

    नभन्दै दशैं छेक प्रदर्शनमा आउने भन्दै छ माया छपक्कैको प्रचार सुरु भयो । ट्रेलर युट्युबमा आयो । अभिनयमा छक्का पञ्जाको टिम थियो । व्यापारमा सुपर हिट भए पनि महिलालाई होच्याएर राखिएका केही दृश्य र वाक्यहरु छक्का पञ्जाको नमेटिने दाग थिए, कम्तिमा मेरा लागि । त्यही चलचित्रको अघोषित ‘सिक्वेल’ निर्देशनमा छिरेपछि लामा दाइले यसपाली चैं उनले गरेका पुराना सबै समिक्षाको हिसाव किताब राम्रै गरि बुझ्ने भए भन्ने लागेको थियो । तर, फिल्म प्रदर्शनमा आएपछि त्यस्तो चर्को आलोचनात्मक टिप्पणी सुन्नु परेन । केहीले कथाको आधार त केहीले पात्रहरुको भूमिकामा प्रश्न उठाए पनि फिल्मलाई झुर भन्न सकेनन् ।

    नेपालको सफलताकै कारण बाहिर पनि चलचित्रको माग बढ्यो । साथीहरुको पहलमा न्यूह्याम्पसर पनि छ माया छपक्कै प्रदर्शन भयो । फिल्मले उठाएको मुद्दा यथार्थको धराधलमा आधारित लाग्यो । एउटा पानी विहिन काकाकुल गाउँ र अर्को पानीले कलकल गाउँबीचको द्वन्दलाई फिल्ममा देखाइएको छ । राजनीतिका कारण पानी लेनदेन नभएका गाउँका मुखियाका सन्तानहरु आपसी प्रेममा परेपछि अवस्थाले नयाँ मोड लिन्छ । त्यससँगै नयाँ ढंगको बिद्रोहले काकाकुल गाउँमा पानी ल्याउने मात्र होइन, दुस्मन मुखियाहरुलाई सम्धी पनि बनाइदिन्छ ।

    केही प्रसंगमा फिल्म अनुत्तरित पनि लाग्छ । जल (केकी अधिकारी)की भाउजु काकाकुल घडेरी गाउँकी हुन्छिन् । तर, उनको माइती पक्ष को हो फिल्मले बुझाउँदैन । पानीको राजनीतिमा जल र बिपी (दिपकराज गिरी) को परिवार एवं साथीसंगी समेत संलग्न हुँदा उनका भाउजुको माइतीको भूमिका पनि केही हुनसक्थ्यो । तर, यस्ता खोट कोट्याउँदै जाँदा त कुनै पनि फिल्म पुर्ण हुँदैनन् ।

    समग्रमा गाउँ ठाउँको कथा बोकेको झन्डै साढे दुई घण्टाको फिल्म छ माया छपक्कै सरल छ । दिपकराज गिरी र दिपाश्री निरौलाको ब्राण्ड जस्तै बनेको भद्दा छाडा शब्द र प्रसंगलाई फिल्मले दोहोर्याएको छैन । त्यसैकारण होला हलबाट निस्किने सबैले फिल्मलाई ‘राम्रो’कै संज्ञा दिएको सुनियो । हिजोको राजेश हमालको ‘हाएएएएएएएएएएएए’ कै भरमा फिल्म हलमा जान नचाहने म जस्ता दशर्कलाई छ माया छपक्कै उडन्ते र हावादारी लाग्दैन । फिल्म हेर्न गएको समय र पैसा खेर गएको गुनासो पनि रहन्न ।

    तुलनात्मक रुपमा मौलिक स्वाद सहितकै आनन्द दिन्छ । ठूल्ठूला समिक्षकको तराजुमा कति तौल पाउने हो त थाहा छैन, तर हामी जत्तिका आम दर्शकलाई नेपाली फिल्म हेर्न हलसम्म तान्न यत्तिकाे चलचित्र काफी छ । यो फिल्म हेरिसकेपछि चाहिँ दिल खोलेर भन्न मन लागेको छ– दिपेन्द्र लामा दाइले पेशा बदलेर गजब गरेछन् । उनका समिक्षा लेखन जति मौलिक हुन्थे निर्देशनमा त्यो मौलिकता घटेनछ । लेख्नेसँगै देखाउने मेसोमा उनलाई थप सफलता मिलोस् ।

    *सच्याइएकाे ।

  • पुराणको विषय र अनावरणको प्रसङ्ग

    पुराणको विषय र अनावरणको प्रसङ्ग

    डा. बद्री पोख्रेल
    अध्यक्ष, जयतु संस्कृतम् नेपाल

    हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा तरक्की गर्न सफल भएका देशमा त पुराण पढ्ने, सुन्ने, लेख्ने इत्यादि विषय सोचमा पनि आउँदैन । यस्तो परिवेश र मासिकतालाई चिर्दै हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा तीनवटा महापुराणको अध्यायगत सारांश लेखिएका ग्रन्थहरुको विमोचन भएको छ । संस्कृतमा लेखिएको अग्नि महापुराण, मार्कण्डेय महापुराण र वामन महापुराणको समग्र अध्ययनपछि हरेक अध्यायको नेपालीमा सारांश मैले तयार पारेपछि विश्व स्वतन्त्र सञ्चार नामक संस्थाले पुस्तक प्रकाशन र वितरणको भूमिका स्वीकार गरेको हो । यसरी तयार भएको कृतिहरु नोभेम्बर ८ का दिन न्यूयोर्कको ज्याक्सन हाइट स्थित थकाली किचेन रेष्टुरेन्टमा जयतु संस्कृतम्को अमेरिका शाखा र विश्व अध्यात्म केन्द्रको आयोजनामा एकैसाथ जन्मिन पुगे । त्यसै पनि चिसो हुने न्यूयोर्कमा अत्यधिक जाडो भएकाले मुटु हल्लाउँदै र सवारीजाम छिचोल्दै सहभागीहरु उत्साहका साथ समयमै उपस्थित भएका थिए ।

    नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा पुराणहरुको विमोचन संयुक्त राष्ट्र संघका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, पूर्वमन्त्री नवीन्द्रराज जोशी र कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले छुट्टाछुट्टै गर्नुभयो । पुराणको महत्व, ग्रन्थको विषयवस्तु, संस्कृतको महत्व र जयतु संस्कृतम्का क्रियाकलाप सम्बन्धमा पुस्तकका लेखकका हैसियतले मैले पनि राख्ने अवसर पाएँ । वास्तवमा संस्कृत वाङ्मय ज्ञानको भण्डार हो । विज्ञान, दर्शन, कर्मकाण्ड, योग समेत संस्कृतमा पाइन्छन् । संस्कृत सबैले नवुझ्ने भएकाले संस्कृतमा भएका महत्वपूर्ण विषय नेपालीमा अनुवाद गरेर ज्ञान पस्कने प्रयास स्वरूप यी कृतिकहरु लेखिएका हुन् । आधुनिकताको नाममा समाज वेलगाम बनेको, पारिवारिक सम्बन्ध विग्रदै गएको, श्रीमान श्रीमतीका बीच विश्वास घट्दै र टुट्दै गएको, अनुशासन ह्रास हुँदै गएको र धर्म, संस्कृति र संस्कारको नाश हुँदै गएको कारणले हाम्रो अस्तित्व नै संकटमा पर्ने अवस्था देखापरिरहेको छ । मानव मानव नभएर दानव बन्ने स्थिति देखापरेको छ । यसको समाधान पूर्वीय दर्शनको अध्ययन र मननमा नै सुनिश्चित छ । मानवलाई मानव बनाउने क्रममा पूर्वीय दर्शनका ग्रन्थहरुले ‘सर्वे भवन्तु सुखिनः’ देखि विश्ववन्धुत्वको धारणा फैलाएका थिए । परोपकार नै पुण्यको एकमात्र मार्ग हो भन्ने सन्देश १८ पुराण लेखिसकेपछि व्यासले बताएका थिए । विग्रदै गएको समाजको अवस्थालाई हेर्दा पूर्वीय दर्शनको अध्ययन अपरिहार्य भएको छ । यसै आवश्यकता र दृढताको प्रतीक पुराणको अनुवाद गरी प्रकाशित गरिएको हो । १८ पुराण मध्ये १३ वटा पुराणको अनुवाद सम्पन्न गरिसकेको र बाँकी पुराणहरुको अनुवाद लेखन निरन्तर चलिरहेको छ । अनुवाद गरी तयार भएका पुराणहरु प्रकाशकको प्रतीक्षामा रहेका छन् ।

    कार्यक्रममा नेपाली भाषाको मानक तयार गर्न र संरक्षण गर्न लागिपर्नुभएका समालोचक प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलले भाषा संरक्षणमा लाग्दाका पीडाहरु बताउँदै यस्तै कृतिहरुले भाषाको मात्र नभै संस्कृति, सदाचार, मानवीय मूल्य–मान्यताको समेत जगेर्ना गर्ने बताउनुभएको थियो । उहाँको योगदानको उच्च कदर गर्दै न्यूयोर्कका साहित्यकारहरुको तर्फबाट सम्मान समेत गरियो । यसैगरी कार्यक्रमलाई सञ्चालनगर्ने सन्दर्भमा विश्व अध्यात्म केन्द्रका संयोजक एवं जयतु संस्कृतम् अमेरिका शाखाका उपाध्यक्ष पीपलमणि सिग्देलले जयतु संंकृतम् संस्थाको इतिहास केलाउँदै लोकार्पण भएका कृतिहरु हिजोसम्म लेखकका सम्पत्ति भएपनि आजदेखि सामाजिक सम्पत्तिमा रुपान्तरित भएको बताउनुभयो । पुराणको मात्र चर्चा नभएर जयतु संस्कृतम् संस्थाको पृष्ठभूमि कोट्याउँदै नेपालमा एकतन्त्रीय राणा शासनले आम जनता पीडित भएको अवस्थामा प्रजातन्त्रको स्थापनाको माग गरी राणाको विरुद्धमा गरिएको आन्दोलन थियो भन्दै स्मरण गरियो । यो आन्दोलनकै प्रभावले वि सं २००७ मा नेपालमा प्रजातन्त्रको स्थापना भएको इतिहास छ । जयतु संस्कृतम् आन्दोलनकै उद्देश्य र गतिलाई निरन्तरता दिने उद्देश्यले वि सं २०५५ मा विधिवत् संस्था दर्ता भएको थियो । हालसम्म अमेरिका र भारतमा समेतगरी संस्थाका १४ वटा शाखा स्थापना भई संस्कृतको प्रचार, प्रसार भइरहेको छ । विभिन्न संस्कृतमा लेखिएका दर्शन, पुराण लगायतका ग्रन्थहरुको अनुवाद गर्नेदेखि संस्कृतमा के छ जस्ता किताब तयार गर्ने, संस्कृतमा लेखिएको उत्कृष्ट एउटा कृतिको प्रकाशन गर्ने, संस्कृतको विकासमा जीवन समर्पण गर्ने उत्कृष्ट एकजनालाई जयतु संस्कृतम् पुरस्कारबाट सम्मानित गर्ने, उत्तर महाभारत ग्रन्थ तयार गर्ने जस्ता काम पनि जयतु संस्कृतम् संस्थाले गर्दै आएको छ ।

    साहित्यकार कमला प्रसाईको स्वागत भाषणबाट सुरु गरिएको विमोचन कार्यक्रममा नेपाली काग्रेसका नेता नवीन्द्रराज जोशी, महामहिम अमृतबहादुर राई, महावाणिज्यदूत पुष्पराज भट्टराई, प्रा.डा. खगेन्द्र प्रसाद लुइटेल, अनेसास बोर्ड अफ ट्स्टकी अध्यक्ष गीता खत्री, अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली, कानुनविद् विनोद रोका, साहत्यिकार डा. गोविन्द कोइराला, कवि डा. मधु माधुर्यलगायतका अतिथिहरुले अपार शुभकामनाको शब्दगुच्छा दिंदै लोकार्पण भएका ग्रन्थहरुले सच्चा मानव बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका जयतु संस्कृतम् शाखा अमेरिकाका संस्थापक सदस्य विष्णुप्रसाद सापकोटाले अरु पुराणहरु पनि छिट्टै प्रकाशन हुन सकून् भनी शुभकामना प्रकट गर्नुभयो । वक्ताहरुको गहन विचार सुन्दासुन्दै दुई घण्टा बितेको पत्तै भएन । समालोचक लीला लुइटेल, अनेसास न्यूयोर्कका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, साहित्यकार किशन धामी, पत्रकार बद्री गौतम, पत्रकार योगेश डंगोल, पत्रकार आकुर लुइटेल, रक्तदाता अर्जुन मैनाली तथा लंगआइल्यान्ड नेपाली समाजका सदस्य नरेन्द्र सुवेदीलगायत थुर्पै अतिथिको विचार सुन्न अर्को कुनै समारोह पर्खनुपर्ने भयो । सो अवसरमा नेपालका ७७ वटै जिल्ला भ्रमणगरी तयार पारिएको मेची–काली लगायत व्यवस्थापनका पाँच आयाम, अक्षरदेखि अक्षरसम्म, म भित्र अर्कै छ नामका कृतिहरू र पीपलमणि सिग्देलको कृति आँकुरापुञ्जको समेत प्रदर्शन गर्ने मौका जुट्यो ।

    अन्त्यमा अहिले संस्कृतको विकासमा पश्चिमी विद्वानहरु नै लागिपरेकाले संस्कृतको महत्वलाई झनै उजागर गरेको छ । युरोप र अमेरिकाका विश्वविद्यालयहरुमा खुलेका संस्कृत अध्ययन अध्यापनका छुट्टै विभाग, केन्द्र र संस्थानहरुले यसलाई प्रमाणित गरेका छन् । हिन्दुत्व, आर्यु संस्कृति र मानवीय मूल्यको सम्वर्धनमा लाग्न प्रेरणा दिने वेद, उपनिषद्, पुराण आदिको उद्गम थलो हिमालयको देश नेपालमा भए पनि यसको उचित संरक्षण र प्रवद्र्धन हुन नसकेकाले यसको संरक्षण र विकासको निमित्त जो जहाँ बसेको भए पनि तुरुन्त थालिहाल्नुपर्ने यथार्थ हामी सबैको मस्तिष्कमा छचल्कियो । यसरी तीन महापुराणले एउटा खुड्किलो पार गरे, बाँकी यात्रा पाठकको रुचिमा निर्भर रहनेछ ।

  • नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

    नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

    काठमाडौं

    “वातावरणको लागि दौड” नाम दिईएको दौड प्रतियोगितामा नेपाली सेलेब्रिटीहरु दौडने भएका छन् । फिल्म आर्टिष्ट एसोसिएसन नेपाल (फान) र कान्ती कल्चरल सेण्टरको संयुक्त आयोजनामा ३ किलोमिटर दुरीको सडक दौड प्रतियोगिता हुन लागेको हो । 

    रेभेल ईभेण्ट प्रा.लि महाराजगञ्जको ईभेण्ट संयोजनमा गरिने प्रतियोगितामा नेपाली सिनेमा एवम् सिनेसंगीत क्षेत्रका कलाकारले 

    भाग लिने रेभेलका प्रोपाईटर राजेश हमालले बताएका छन् । आगामी कार्तिक ३० गते शनिवार तदनुसार अक्टोबर १६ तारिखका दिन हुने उक्त कार्यक्रम फिल्म आर्टिष्ट एसोसिएसनको ३२ बर्ष र कान्ती कल्चरल सेण्टरको ५० बर्षे यात्राको उपलक्ष्यमा भएको बताईएको छ । 

    आयोजकले पर्यटन प्रवर्धनका लागि मनाउन गईरहेको नेपाल भ्रमण वर्ष २०२० को उद्देश्यलाई यस कार्यक्रमले थप सहयोग समेत पुग्ने जनाईएको छ । कार्यक्रमको उदघाटन तथा दौडको शुभारम्भ महाराजगञ्जस्थित राष्ट्रपति भवन अगाडिको सडकबाट बिहान हुने जनाईएको छ ।

  • Untitled post 5033

    न्यूयोर्क /८ अक्टोबर, २०१९

    विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाकाे आयाेजनामा डा. बद्री पाख्रेलज्यूद्वारा नेपालीमा अनुवादित
    मार्कण्डेय महापुराण, अग्नि महापुराण
    र वामन महापुराणकाे लाेकार्पण भयाे । कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचनको सभाकक्षमा शुक्रबार साँझ गरिएको हो ।

    संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईज्यूको प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य श्री नवीन्द्रराज जाेशीको विशिष्ट आतिथ्य, महावाणिज्यदूत पुष्पराज भट्टराईज्यूकाे आतिथ्यमा तथा वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा अरु विशेष महानुभावहरुकाे उपस्थिति रहेको लोकार्पण कार्यक्रममा पुराणका अनुवादक श्रष्टा डा. बद्री पोख्रेलले आफ्ना तीन कृतिमाथि प्रकाश पारेका थिए ।

    आचार्य पीपलमणि सिग्देलले श्लोक वाचन सहित सञ्चालन गरेको ग्रन्थ लोकार्पण कार्यक्रममा बिभिन्न बौद्धिक व्यक्तित्वहरुले यस्तो किसिमको ज्ञानका पुस्तकहरु नेपाली समाजले सहज भाषाशैलीमा उपलब्ध हुनु समाजलाई पुरस्कार सरह भएको बताएका छन् ।

    लेखक तथा अनुवाद डा. पोख्रेल पुस्तकबारे भन्नुभयाे; “संस्कृत भाषा आफैमा ज्ञान हो । त्यही ज्ञानलाई सरल भाषामा नेपाली पाठक तथा जिज्ञासुहरु समक्ष ल्याउने मेरो प्रयासलाई नेपाली वांमयले पक्कै सम्झनेछ । धर्म, संकृति र संस्कार नै जीवनको अनुशासन हो । मार्गनिर्देशन हो । मैले गरेको मेहनतले पक्कै पनि सभ्य समाज निर्माणमा एउटा ईंटाको काम गर्ने विश्वास लिएको छु ।”

    भाषा साहित्यका पाठकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैले लोकार्पण कार्यक्रम रुचिपुर्वक श्रवण गरेका थिए ।

    नेपाली मानक भाषाको संरक्षण गर्ने समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलज्यू तथा पुराणका अनुवादक डा. पाेख्रेलज्यूलाई न्यूयाेर्कका साहित्यकारहरूले सम्मान गरेका थिए ।

  • चर्चामा “रसुवा कला यात्रा”

    चर्चामा “रसुवा कला यात्रा”

    रसुवा

    रसुवा जिल्लको बेत्रावती र कालिकास्थानबाट ४ दिने चित्रकला यात्रा शुरु भएको छ । स्थानीय कलाकारद्वय डिल्लीराज घिमिरे र शशीकुमार डंगोलको संयोजकत्वमा राष्ट्रियस्तरको कला यात्रा शुरु भएको हो ।

    चित्रकला मार्फत ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको प्रचारप्रसारका हेतु चित्रकला कार्यशाला गर्दै आईरहेका काठमाडौंका कलाकारहरु यस पटक हिमाली जिल्ला रसुवा पुगेका छन् । रसुवा कला यात्रा नाम दिएर ४ दिनका लागि सञ्चालन भईरहेको यो कला यात्रामा रसुवा र नुवाकोटका बिभिन्न महत्वका क्षेत्रहरुको दृष्यहरु क्यानभासमा उतारिने छन् ।

    नेपालका बिभिन्न क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनमा टेवा पुर्याउँदै आएका उपत्यका स्थापित कलाकारका समूहले आसन्न “नेपाल भ्रमण वर्ष २०२०” लाई  लक्षित गरेर स्थानीय संयोजक कलाकारहरुको अनुरोधमा यो कार्यक्रम गरेको हो ।

    यस कलायात्रामा राधेश्याम कर्माचार्य, राकेशचन्द्र श्रेष्ठ, झलक केसी, रुविन बाडे, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, सूर्यराम सुवाल सहित स्थानीयस्तरमा रहेर कुची चलाईरहेका छवी रसुवाका शशीकुमार डङ्गोल र डिल्लीराज घिमिरे समेतको सहभागिता रहने छ ।  

    काठमाडौंस्थित कला केन्द्रमा हरेक शनिवार कार्यशाला गर्दै आएका स्थापित कलाकारहरुले काठमाडौं, वेत्रावती र कालिकास्थानसम्म गरेको यसकिसिमको कला यात्राले कलामा रुची भएका नयाँ पुस्ता तथा कलाका पारखीहरुलाई थप उर्जा मिलेको छ ।

    बिभिन्न समयमा नेपालका अन्य स्थानहरुमा समेत कला यात्रा गरिसकेका राजधानी कर्मथलो बनाएर जमेका कलाकारहरुको समूह रसुवा पुग्दा उतरगया गाउँपालिका वडा ५ रसुवाका अध्यक्ष इश्वर थापा लगायतका स्थानीयले स्वागत गरेका थिए ।

    फोटो : शशीकुमार

  • रानी शाक्यको “पहिलो माया” गीत सार्वजनिक

    रानी शाक्यको “पहिलो माया” गीत सार्वजनिक

    न्यूयोर्क

    सुमधुर स्वरकी धनी गायिका रानी शाक्यले आफ्नो नयाँ गीत “पहिलो माया” यूट्यूब मार्फत वर्ल्ड प्रिमीयर गरेकी छिन् । उनले यस पटक म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेको हो । जसमा रानी शाक्य र ओम कर्माचार्यको स्वर रहेको छ ।

    ओम कर्माचार्यको रचना तथा संगीत रहेको उक्त गीतको म्यूज़िक भिडीयोको छायांकन न्यूयोर्कको बिभिन्न स्थानहरुमा गरिएको छ ।कलाकारहरुमा ह्यान्सी राव र एलिजा कार्कीले अभिनय गरेका छन् । म्युजिक भिडियोका कलाकारहरु अमेरिकाको मेरिल्याण्ड र न्यूयोर्कमा बस्दै आएका छन् ।

    गीतको रेकर्डिङ कार्यदेखि म्यूजिक भिडियोको कार्यसम्म सम्पुर्ण काम न्यूयोर्कस्थित “ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शन” मा गरिएको छ । म्यूजिक भिडियोमा क्यामरा, एडिटिङ तथा निर्देशन कर्माचार्यले नै गरेका छन् ।

    गीतको बारेमा गायिका रानी शाक्य भन्छन्; गीत राम्रो बनेकाले दर्शक श्रोताहरुले पक्कै पनि रुचाउने छ” ।

    गीतको सम्पूर्ण पक्ष राम्रो बनेकोले गीत चल्ने विश्वास गरिएको छ । गीत युट्युबमा “पहिलो माया…” बाट हेर्न सकिनेछ ।

  • १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

    १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

    नोभेम्बर ४, कोलोराडो, अमेरिका

    १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम अ.ने.सा.स. कोलोराडो च्याप्टरद्वारा नोभेम्बर ४ तारिकका दिन सम्पन्न गरेको छ ।कार्यक्रमको सभापतित्व अध्यक्ष तारा अधिकारीले र स्वागत मन्तब्यमा महासचिव सम्झना आचार्यले गरेका थिए । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा आगन्तुकहरुबाट माल्यार्पण र दियो बालेर शुभारम्भ गरिएको थियो । अ.ने.सा.स. बोर्ड अफ ट्रष्टीका सदस्य डा.बिजय राज शर्माले महाकवि देवकोटाको जीवनीबारे उल्लेख गर्नु भएको थियो।

    कार्यक्रमको दोश्रो चरणमा देवकोटा सम्बन्धी पहिलो रचना आचार्य प्रभाले गर्नु भएको थियो भने अन्य रचना बाचन गर्नु हुनेहरुमा सम्झना आचार्य खनाल, निर्मल प्याकुर्याल, छवि रसाईली, केशब आचार्य, मारिया अधिकारी, बासुदेव खनाल, प्रमिला शर्मा, भुपेन्द्र महत, विजय राज शर्मा, पदम बिश्वकर्मा, मिना पौडेल, कृष्ण मुरारी ढुंगेल, ज्ञानेन्द्र गदाल, ज्ञानेन्द्र राज काफ्ले हुनुहुन्थ्यो यसै क्रममा गायिका सम्झना पाण्डेले देवकोटामा समर्पित छोटो मुनामदनको गीत गाउनु भएको थियो । यसै क्रममा अर्का उदीयमान गायक रविन रेग्मीले पनि “कुन मन्दिरमा जान्छौ यात्री” गीत प्रस्तुत गर्नु भएको थियो।  

    कार्यक्रमको अर्को प्रस्तुतीमा उपप्राध्यापक तथा कवि उपमा आचार्यज्युलाई ५ महिलाहरुद्वारा खादा ओडाएर फूलको गुच्छाले स्वागत गर्नु भएको थियो भने उहाँहरुको कृती छन्द कविता संग्रह “मातृत्व बन्दना “को लोकार्पण संस्थाकी अध्यक्ष तारा अधिकारी, प्रमिला शर्मा, मिना पौडेल, आचार्य प्रभा र सम्झना आचार्य खनालले एकै साथ गर्नु भएको थियो।

    सोही क्रममा अतिथि लेखिका उपमा आचार्यले आफ्नो कृतिको सन्दर्भमा बिस्तृत बयान गर्नु भई सोही कृतीबाट “आमा” शिर्षकको कविता बाचन गर्नु भएको थियो। यसै क्रममा अ.ने.सा.स. पुर्व केन्द्रिय तथा कोलोराडो च्याप्टर पुर्व अध्यक्ष ज्ञानेन्द्र गदालज्युले श्रष्टा उपमा आचार्यबारे संक्षिप्त परिचय र “मातृत्व बन्दना”भित्रका रचनाहरुबारे प्रकाश पार्नु भएको थियो। 

    कार्यक्रमको मध्यतिर अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम बिश्वकर्माज्युले कार्यक्रमको सम्बन्धमा छोटो मन्तब्य दिनु हुँदै आफ्नो रचना बाचन गर्नु भएको थियो।कार्यक्रमको अन्त्यमा अध्यक्ष तारा अधिकारीबाट सम्पुर्ण उपस्थित साहित्य प्रेमीहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेको थियो ।

  • उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

    उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश समय काव्यलेखनमा व्यतीत गरे, तन्नामा लेखे, कपडामै लेखे, जे पाए त्यसैमा लेखे । देवकोटा लक्ष्मीपूजाको दिन जन्मिए पनि जीवनभर धनको चरम अभाव झेल्दै सरस्वती माताका पुत्रको रmपमा प्रख्यात भए । १० वर्षकै उमेरमा कविता लेख्न प्रारम्भ गरेका देवकोटाले शाकुन्तल, सुलोचना, प्रमिथस, महाराणाप्रताप, वनकुसुम, पृथ्वीराज चौहान जस्ता महाकाव्य तथा मुनामदन, लूनी लगायत दर्जनौं खण्डकाव्य, थुप्रै निबन्ध तथा कविताका रचनाकार देवकोटा गौतम बुद्धपछिका नेपालका प्रबुद्ध हस्ताक्षर हुन् भनेर समीक्षकहरुले चर्चा गरेका छन् । मेरा सबै कृति जलाए पनि हुन्छ मुनामदको रक्षा गर्नू भन्ने अभिव्यत्ति दिने देवकोटाको कलम बिजुली जस्तै चम्कियो, प्रकाश देशविदेश पुग्यो ।

    क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन

    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

    भन्ने उद्गार गर्ने देवकोटाले प्रकृति चित्रण, बौद्धिक विन्यास, भावनात्मक शैली, आत्मपरक अनुभूतिका विशेषताका साथ कवितायात्रामा संलग्न हुँदै महाकाव्य, खण्डकाव्य तथा फुटकर कविताको गुणात्मक तथा परिमाणात्मक सघनता अद्वितीय बनाएको पाइन्छ । पूर्वीय तथा पाश्चात्य संस्कृतिसँग परिचित देवकोटाले आफ्ना रचनामा सांस्कृतिक पुनर्जागरण र अन्धविश्वासप्रतिको विद्रोह गरेका छन् । सहज र स्वतस्फूर्त भाषावेगमा स्वच्छन्दता, हार्दिकता, कल्याणकारिता, हृदयस्पर्शिता, सत्यता र सौन्दर्य जस्ता तत्व कवितामा समावेश गर्ने देवकोटा यान्त्रिक सिर्जनाको विपक्षमा उभिएका छन् ।

    वि. सं. १९९१ मा देवकोटाले प्रारम्भ गरेको स्वच्छन्दतावादी धारामा सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, माधव घिमिरे आदि कविहरूले कलम चलाएका छन् । कोमल हार्दिकता, कल्पनाको प्रचूरता, प्रकृतितर्फ उन्मुख, मानवप्रेम, देशप्रेम र विश्वप्रेम आदि विशेषताले स्वच्छन्दतावाद मौलाएको पाइन्छ ।

    पागल कविता कहाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता हो ।

    जरुर साथी ! म पागल !

    यस्तै छ मेरो हाल !

    म शब्दलाई देखदछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु

    आकाशभन्दा पातला कुरालाई छुन्छु…..

    ती कुरा जसको अस्तित्व लोक मान्दैन,

    जसको आकार संसार जान्दैन ।

    यसरी समाजका अन्यपक्षको कमजोरीलाई व्यड्ड्ग्य गरिएको छ । यसरी हेर्दा व्यञ्जनायुक्त ढङ्गमा शीर्षकले नै कविताको समग्र अर्थ बोक्न सकेको छ । यस कवितामा अन्य समाजको अवस्था र कवि दृष्टिको चर्चा गरिएको छ । तत्सम र आगन्तुक शब्दको प्रयोगले कतैकतै दुरुह जस्तो देखिए पनि भावलाई श्रृङखलावद्ध हुनबाट रोकेका छैनन् । ढुङ्गालाई पनि फूल देख्दै र पहाडलाई पनि बाचाल सम्झिने कवि मूर्खले ठिंगुरा हालेको र राँची पठाएकोप्रति असहमत छन् । अन्याय र अत्याचार सहन नहुने कुरा व्यक्त गर्दै शक्तिशालीले कमजोरलाई दबाएको कत्ति पनि मन पराउँदैनन् । यसरी विप्रौडोक्ति शैलीमा तयार भएको कविता देवकोटाको सशक्त रचना भन्दा अत्युक्ति नहोला । देवकोटाको अर्को साँढे कवितामा पनि हाँसो मिश्रित व्यङ्ग्यमा साँढेलाई प्रतिनिधि पात्रका रुपमा उतारी सामन्ती र हैकमवादी मिचाहा प्रवृत्तिको भण्डाफोर गरिएको छ । कविताको केन्द्रीय भाव बहन गर्न शीर्षक सक्षम देखिन्छ । यस कवितामा श्रृङ्खलाबद्ध भावानुभूति पस्किएको पाइन्छ । स्वच्छन्दतावादी काव्यधारामा कलम चलाउँदै कवि प्रौढोक्ति शैलीमा विशिष्ट भाषाशैलीका साथ प्रस्तुत यस कवितामा व्यञ्जनाको सशक्त प्रयोग गरिएको छ । समाजको मिचाहा र हेपाहा प्रवृत्तिलाई साँढेको स्वभावसँग तुलना गरी कवितालाई सबल तुल्याइएको छ । यसैगरी मानिस विराट् शीर्षकको कवितामा मानिसको प्रवृत्ति विराट् र वृहत् रहेको सन्दर्भ उठाइएको छ । मानिसको अहं प्रवृत्तिलाई आत्मसात गर्न सफल भएकाले कविताको शीर्षक कविको विचार बहन गर्न सक्षम देखिन्छ । यस कवितामा देशको गौरवगान पनि गरिएको छ । स्वच्छन्दतावादी धारामा शसक्त भाषाशैलीमा व्यञ्जना तत्वको प्रयोग गर्दै रचिएको यस कविताले मानिसको अहमताको सोचलाई चित्रण गरेको छ । त्यस्तै सन्ध्या पनि देवकोटाको प्रभावकारी कविता हो । सन्ध्यालाई प्रतीक बनाएर नारीपात्रको वर्णन र नारीलाई सन्ध्यासँग तुलना गरिएको यस कविताको शीर्षक पनि प्रतीकात्मक रहेको छ । आदि, मध्य र अन्त्यको श्रृङ्खलामा भावनात्मक उद्वेग मौलाएको यस कवितामा सन्ध्यालाई प्यार गर्ने युवक अमर र कीर्तिशाली हुने कुरा उल्लेख गरिएको छ । व्यञ्जना र दृष्टान्तको प्रयोग गरिएको यस कवितामा सशक्त एवं मौलिक भाषाशैलीको प्रयोग भएको छ ।

    परिष्कारवादपछि नेपाली कवितामा स्वच्छन्दतावादको प्रयोग प्रारम्भ भएको हो । स्वच्छन्दतावाद पाश्चात्य साहित्यको रोमान्टिसिजमबाट नेपालीमा भित्रिएको वाद हो । यस वादलाई नेपाली कवितामा भिœयाउने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा नै यो वाद विकसित भएको हो । परिष्कारवाद र स्वच्छन्दतावादका बीच स्पष्ट भिन्नता देख्न सकिन्छ । यथार्थमा स्वच्छन्दतावादी कविहरूले स्वतस्फुर्त अनुभूतिको आत्मपरक अभिव्यक्तिलाई अङ्गीकार गरी नयाँ धाराको निर्माण गरेको प्रतीत हुन्छ । देवकोटा जस्ता कविहरू सहज हृदयबाट प्रस्फुटित हुने भावुक अभिव्यक्ति र प्राकृतिक विषयवस्तुमा बढी जोड दिन्छन् । विराट् प्रकृतिको भण्डारमा आकर्षित भएर यिनीहरू काव्य सिर्जना गर्दछन् । परिष्कारवादी कवितामा आवेगलाई विवेकले नियन्त्रण गरिन्छ भने स्वच्छन्दतावादी कवितामा अतीतको गौरव, कृत्रिम र सहरी सभ्यताको खिल्ली उडाउँदै प्राकृतिक सभ्यताकै पक्षमा अभिव्यक्ति दिइएको हुन्छ । यसरी साहित्यको भन्डार भर्न देवकोटाको अतुलनीय योगदान रहेको छ । नेपाली साहित्यमा कलम चलाउने कसैले पनि देवकोटालाई भुल्न सक्दैनन् । नेपाली साहित्यको उत्थान गर्न सकेमात्र नेपाली साहित्यका उज्वल नक्षत्र देवकोटाप्रति सच्चा सम्मान र सम्झना हुनेछ ।

  • प्रबासबाट पायाे नेपाली साहित्यले पहिलाे ब्यङ्ग्य काब्य : बाग्लुङमा भयाे बिमाेचन

    प्रबासबाट पायाे नेपाली साहित्यले पहिलाे ब्यङ्ग्य काब्य : बाग्लुङमा भयाे बिमाेचन

    काठमाडौं

    नेपाली साहित्य र संगीतको क्षेत्रमा प्रवासी नेपालीहरुकाे याेगदान गर्व गर्न लायक छ । बिशेष गरि भारत, बर्मा र  भुटानमा रहेका नेपालीहरुले लगाउने साहित्यिक गुन समयसँगै युराेप, अमेरिका र अस्ट्रेलिया बस्ने नेपालीहरुले पनि लगाउँदै छन ।

    १११ औं लक्ष्मी जयन्ती मनाउँदै बिद्यामन्दिर पुस्तकालय बाग्लुङमा देवकोटा जयन्ती संयोजन समिति र बिद्यामन्दिर पुस्तकालयको संयुक्त आयोजनामा ब्यङ्ग्य कवि अर्जुन राज पन्तबाट रचित “ब्यङग्य काब्य काेइली” को बिमोचन बरिस्ठ आख्यानकार तथा समालाेचक प्रा.डा. भवानी प्रसाद पाण्डे ‘भास्कर’ बाट भएकाे छ । हाल टेक्सास अमेरिकामा रहेका काब्यकारकाे अनुपस्थितमा नै काब्यकारकी आमा तथा काब्य प्रकाशक टिका कुमारी पन्त लगायत गण्डकी धवलागिरी क्षेत्रका बरिस्ठ साहित्यकार तथा साहित्यानुरागिकाे सहभागितामा भएकाे यस कार्यक्रममा डा.षडानन्द पौड्यालद्वारा लिखित “काजी रोशनको काव्य साधना“ भन्ने समालाेचनाकाे समेत बिमाेचन गरियाे । दुबै कृतिको बिमोचन प्राध्यापक डा. भवानी प्रसाद पाण्डेले गरेका हुन ।

    सो अवसरमा बोल्दै डा. पाण्डेले उत्कृष्ट साहित्य मात्र समाजमा स्थापित र अमर बन्ने बताए । समाजमा बिभिन्न खाले साहित्य सृजना कसरी भएका छन ? भन्ने बिषयमा चर्चा गर्दै उनले साहित्यले धार पकड्न सके मात्र समाज परिवर्तन गर्नेमा जोड दिए ।

    अर्जुनराज पन्तद्वारा लिखित ” कोइली” व्यंग्य काव्यको पूर्व क्याम्पस प्रमुख, उप प्राध्यापक  आनन्दराज शिलवाल (नेपाली साहित्यमा बिद्याबारिधिरत ) समिक्षात्मक टिप्पणी गरेका थिए । बिगतमा काब्यकारकाे शिक्षक समेत रहेका शिलवालले कबि तथा काब्यकारकाे कवित्व माथि प्रकाश पार्दै , प्रबासमा बसेर पनि नेपाली साहित्यमा यसरी एक फरक धारकाे काब्य दिने कबिकाे कबित्वलाइ मुक्त कण्ठले प्रसंसा गर्दै भनें; “नेपाली सहित्यकाे काब्य बिधामा बिगतमा पनि फुटकर ब्यङ्ग्य कविता लखिन्थे र कतिपय काब्यहरुमा पनि कँही कतै ब्यङ्ग्यका बिषयबस्तु नआएका हैनन् तर एउटा काब्य नै ब्यङ्ग्यमा आउनु साहित्य इतिहासमा एक नयाँ उपलब्धी हो” भन्दै बिगतमा कविशिरोमणि लेखनाथ पाैड्यालबाट नब्यकाब्यकाे रुपमा “तरुण तपसी” आएको परिबेशलाइ स्मरण गरे । 

    ब्यङ्ग्य कवि हाल अमेरिकाकाे टेक्सासमा बस्छन् । याे काब्य उनले आफ्नो जन्मदिनको अवसर पारेर जन्मस्थल बागलुङमा प्रकाशित गरेका थिए ।

  • बियोण्ड दि हिमालयज् र प्रतीक ढकाल

    बियोण्ड दि हिमालयज् र प्रतीक ढकाल

    पुस्तक समिक्षा : रश्मी भट्ट, न्यूयोर्क

    नेपाली साहित्यका कवि, लेखक, एक चिन्तक ऊवम् विश्लेषक प्रतीक ढकाल हामी सबैका सुपरिचित नियात्राकार हुन् । अझ भनौं बिशेष गरी नियात्रा बिधाका सिद्धहस्त सफल र बरिष्ठ ब्यक्तित्व । जागिरे जीवनमा अनेकौं दु:ख दर्द खेप्दै लामो समय प्रशासनिक क्षेत्रमा बिताएका उनले दुई वटा प्रशासन सम्वन्धि पुस्तक, दुई अनुवाद कृति , एक शोक काव्य, सेती पनि काली पनि, हिमाल पारी पुगेपछि, बियोन्ड द हिमालयज ट्राभेलग, सगरमाथाको आधार शिबिरबाट जस्ता मुल्यवान नियात्रा कृति प्रकाशन गरेर नेपाली साहित्यमा योगदान पुर्याएका छन् । त्यसै गरी ” Beyond The Himalayas ” कृतिलाई अंग्रेजी भर्सनमा ल्याएर अनलाइनमा अर्थात् अमेजन्, बार्न्स एण्ड नोबल र आइ युनिभर्स डटकममा राखि विश्व साहित्याकाशमा नेपाली साहित्य र लेखक स्वयंलाई चिनाउने भर मग्दुर प्रयत्न गरेका छन् । यसले बिदेशमा बस्ने नेपाली पाठकलाई त यसै लाभ हुने नै भयो । विश्व भरका समस्त जिज्ञासु, पढ्ने बानी परेका मानव मनहरूलाई खुसी तुल्याउनेछ ।

    नेपाल हिमालयको देश भनेर नामले त बिश्वमा केही हदसम्म चिनिन्छ तर यस बियोन्ड द हिमालयज कृतिले अझ त्यसलाई साॅच्चै नेपाल हिमालयकै देश हो त ? कस्ता छन् त ती हिमाल र हिमालय क्षेत्रका जन जीबन, रहन सहन ? भनेर राम्रो र यथार्थ चिनारी दिन अत्यन्तै कसरत गरेको छ ।यात्राको सुख दु:खका अनुभुति बटुल्नु एउटा राम्रो पक्ष हो । ती ठाउॅ अबस्था, प्रकृति र जनमनको चित्रण गर्नु अर्को उच्च पक्ष हो । अझै त्यसमा पनि देश भित्रकै बिभिन्न ठाउॅ घुमेर , नियालेर पाठकलाई रौं चिरा दर्शन गराउनु उच्चतम कुरा हो । यस कृतिमा खास गरी नेपालका हिमाली जिल्ला मध्ये डोल्पा र उपल्लो मुस्ताड्को बारे बर्णन गरिएको छ । धेरै र सुन्दर हिमालय भएका, सेफोक्सुण्डो, मुक्तिनाथ जस्ता प्रसिद्ध ठाॅउ भएका यस जिल्लाका बारे हामी नगएकाहरूलाई गए जस्तै र गएकाहरूलाई थप रमाईलो दिन्छ । कृतिले हिमालय नजिक, हिमाल पारी अर्थात् हिमाली भेगका हिमालको सौन्दर्य मात्र वर्णन नगरी, त्यहाॅको भौगोलिक वातावरण, पर्यटनको सम्भावना, असर, सामाजिक, आर्थिक, साॅस्कृतिक, राजनैतिक सॅपुर्ण पक्षको राम्रो नराम्रो प्रभाबको स्पष्ट वर्णन गरेको छ ।

    हिमालयको देश भनेर गर्वले छाती फुलाउन हामी सबैलाई मन लाग्छ तर साॅच्चै हिमाली क्षेत्रमै पुगेर यसरी बर्णन गर्न जो पाएले सक्दैनन् र कमैलाई मात्र यस्तो अवसर, साथी र समय जुर्ला ! नेपाल गईसकेका, जान चाहने, नगइकनै नेपाललाई बुझ्न चाहने विश्वका जो कोही अंग्रेजी बुझ्नेलाई यस कृतिले नेपालका हिमाली भेगबारे पक्कै रसस्वादन गराउनेछ । त्यस भेगका गरीबीको चित्रणले पर्यटकले के सोच्लान् भने झैं पनि लाग्छ । लेखकले राम्रै राम्रो मात्र वर्णन गरेका भए नि हुने जस्तो पनि लाग्छ तर सत्य लुकाउन सकिंदैन र हुॅदैन पनि । यस कृतिले पर्यटकहरू भित्र्याएर नेपालको पर्यटन ब्यवसायलाई ठूलो टेवा पुर्याउनेछ । लेखकको मुख्य उद्धेश्य पनि पर्यटनको बिकाश नै देखिन्छ । साहित्यप्रेमी नेपालीलाई मात्र नभएर, हिमाली भु-भाग नजीकबाट प्रत्यक्ष नदेखेका जो कोही नेपालीका लागि पनि कृति पठनीय र उत्साहप्रद छ । आनन्ददायी छ । हिमाली भेगका दु:ख, अभाब , गरिवीले मुटु दुखाउॅछ भने, त्यहाॅको रहन सहन, भेषभुषा भौगोलिक वनावट प्राकृतिक वातावरण आदिले सुखको सॅचार गर्दछ । हरेक नेपालीले हेर्न ईच्छा राख्ने ठाउॅ पनि डोल्पाको फोक्सुण्डो ताल, दक्षिण तर्फका ती हिमालहरु, गुम्बा, चैत्य र उपल्लो मुस्ताङ्को कागबेनी, मुक्तिक्षेत्र, काली गण्डकी, सालीग्राम आदि नै हो ।

    नेपालले आउॅदै गरेको सन् २०२० लाई धुमधामले पर्यटन बर्षको रूपमा मनाई बीस लाख जति पर्यटन भित्र्याउने लक्ष्य राखीरहेको छ । यही समयमा सरकारी स्तरबाट पनि यो र यस्ता कृतिहरूको प्रबर्धन गर्न पाए राम्रो हुन्थ्यो । विश्वमा छरिएका बिभिन्न नेपाली राजदुतावासहरूले यो कृति मात्र नभएर यस्ता यस्ता सबै कृतिहरू यथासम्भव स्टकमा राखेर बिदेशीलाई उपहार दिन सके झनै राम्रो हुन्थ्यो होला । नेपालको गौरव बढ्नुको साथै पर्यटक पनि धेरै हदसम्म बढ्थे होलान् । तसर्थ नियात्रा बिधामा सिद्धहस्त प्रतिक ढकालको यस” Beyond the Himalayas” कृतिले साहित्यमा मात्र नभएर नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुर्याउनेछ भन्ने आशा हामीलाई छ । एक पटक खोजी खोजी यस कृतिलाई अध्यनन गरौं र गरेपछि अवश्य नै कृतिले नेपाललाई बिश्वमा चिनाउन लेखकले गरेका प्रयत्न हामीलाई थाहा हुनेछ । नियात्राको, आफ्नै भुमीको रसस्वादन पनि गरौं ।

  • चर्चित र्‍यापर भिटेन पक्राउ

    चर्चित र्‍यापर भिटेन पक्राउ

    काठमाडौं । प्रहरीले अर्का विवादित गायक (र्‍यापर) भिटेनलाई पक्राउ गरेको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट उनलाई पक्रेको हो ।

    अस्लिल शब्द मिसाएर गीत गाउने र त्यसलाई टिकटक तथा यूट्यूवमा राख्ने होडबाजीमा पछिल्लो समय गायक गायीकाले नेपाली संस्कृतिमाथि नै प्रहार गरिरहेका छन् ।

    प्रहरीले पछिल्लो समय अराजकता फैलने शब्द राखी गीत संगित निकाल्ने र छिट्टै हिट हुने खोज्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । मंगलबार मात्र मात्र गायक दुर्गेस थापा प्रहरीको फन्दामा परेका थिए ।

    भिटेनको वास्तविक नाम समीर घिसिङ हो । उनले ‘गरिबी ‘ गीतबाट र्‍याप गाउन थालेका हुन् । एक दर्जनभन्दा बढी गीत गाइसकेका उनले पछिल्लो समय निकालेको ‘यस्तै त हो नि ब्रो’ चर्चामा थियो ।

    सोही गीतमा राखिएका शब्दलाई लिएर उनीविरुद्ध उजुरी परेपछि प्रहरीले पक्रेको हो । उनको पक्राउको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रवधि मन्त्री गोकुल बास्कोटाले बचाउ गरेका छन् ।

    उनले गायका गीतको शब्द परिवारका साथ बसेर सुन्न नसक्ने रहेको भन्दै अराजकता फैलाउने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने बताए । प्रहरीले पक्राउ लगत्तै उनको भिडियो यूट्यवुबाट हटाउन लगाएको थियो ।

  • “नदिया लहर” सँग मेरो शब्द थुँगा

    “नदिया लहर” सँग मेरो शब्द थुँगा

    • विकास विष्ट / न्यूयोर्क

    “मलाई थाहा छ रोकिनु हुन्न कहिले फराकिलो त कहिले साँघुरो…” 

    हो यँहीबाट शुरू हुन्छ नदिया लहरको कबिताको दर्शन ! नदी, नदी भएर अस्तित्वमा रहदैन जब बगरमा परिणत हुन्छ, नदिया नदी नै ठहरिन चाहन्छिन् जो आफ्नो पहिचानलाई जिबित राख्न ।

    बगर भएर उराठ जिन्दगी बिताउनेलाई आफ्नो शितल नदीको स्पर्शसंगै रंगीन जीवनको अनुभुती दिलाउँछिन् आफ्ना जबर्जस्त काब्य बर्षा मार्फत ।

    पानीसँग उनको अनौठो संबन्ध छ, आकाशबाट झरे झरी, त्यही झरी बगेर नदी हुदै बिशाल भण्डारको आकारमा महासागर ! कस्तो चाहना उनको !

    यति धेरै रुझ्न सकूँ

    र, मेरो प्यास कसैले नदेखुन ।

    तिर्खाएका प्यासहरु

    यही बर्षाले मेटिदियोस् 

    चकमन्न रातमा चन्द्रमालाई साथ लिई कहाँ कहाँ खोजिन उनले तारालाई साक्षी राखेर रातभरि आकाश रोइरहँदा थाकेको शरीरसंगै भौतारिदै प्रेमीसंगको वियोगको बेदनालाई कवयत्रीले यति मिठो शब्दहारले “मेरो सपना” भन्ने कबितामा उनेकी छन् की यसले जो कोही पाठकलाई भाबुक बनाउँछ ।

    आमा भन्ने शब्द नै काफी छ ममताको परिभाषाका लागि । 

    यी २ अक्षर नै सबै हो ।

    बाल्यावस्थामा मातृ वियोगको

    कठिन पिडा कसलाई बोक्न सजिलो होला र ?

    प्रकृतिका हरेक उपजहरुलाई आमाको कल्पना गरेर लेखिएको “मेरी आमा” भन्ने कबिता मार्मिक छ ।

    अत्यन्तै शसक्त कलमले तिखारेकी छन् ।

    शहरमा सुतेर गाउँ पुगेछु, मिठा सपना देख्दै शहर बस्ने नदियाको आफ्नो माटो प्रतिको अगाध माया प्रिय ताप्लेजुङ्ग कबितामा पोखेकी छन् ।

    कैयौं पोतवारको प्रतिनिधित्व गरेको यो पोतवार कबिता गरिखाने श्रमजीबीमा समर्पित कथाको कबिता हो, सुख दुखमा सतीसाल झैँ ठडिएर अर्काको लागी जिबन जिउने !

    पोल्टाभरि थिए होलान गुनासा तिम्रा पनि

    आँसुका थोपाहरु मिले होलान कोशीमा ।

    कोशी तिम्रो सुख दुखको साथी !

    जिन्दगी निरासाको कालॊ बादल होइन आशाको क्षितिज पनि हो कल्पना कति रमाइलो र घमाइलो हुन्छ जब जानेपछि,

    औशीका रातहरु एक्लै बित्छन मेरा

    यस्ता काला रात नआइदिए हुन्थियो ।

    जहाँ मैले हेर्ने जून र ताराहरु हुदैनन

    जून एक्लो छैन त्यहा ताराहरु पनि छन

    सबैभन्दा ठुलो मेरो मन छ त्यहाँ ।

    म आफ्नै शरीरबाट बगेको रगतबाट म कसरि अछुत हुन सक्छु ? भन्दै सामाजिक कुरिती प्रति तिखो प्रहार गर्दछिन ” राजस्वला हुदा ” कबिता मार्फत ।

    कुलतमा परेर आफ्नो जिबन बर्बाद गरेका दुर्व्यसनीको कथा बोकेको कबिता ” आत्मग्लानी” र ” माफ गरिदेउ ” मा मार्मिकता साथ् प्रस्तुत गरेकी छन् /

    उही परमआनन्द प्यास जगाइरहेको

    अकाट्य सत्य यदी हो भने सर्माउछौ किन ?

    हटाएर ती सरमका पर्दाहरु

    हराईरहुँ एक अर्काको न्यानो स्पर्शमा ।

    पुगौं फेरी उत्कर्षको चरम बिन्दुमा

    बुझ्यौ नि तिमीले ?

    उनका कबिता मार्फत प्रकृती नै हो भने किन लुकाउनु छ र ब्रमाण्ड के प्रमाण होइन र मायाको ? यो उनको खुला सोचले पोखिएका यावत कबिता खुला पाना नै हुन् ।

    रातो चुरा, धागो र टिका खोसिए

    फेरी उही दोष र पोइ टोकुवा लाञ्छना ।

    अनि बल्ल मासिक धर्म देखा पर्दछ

    एक बिधुवाको मन पर्ने रंग बनेर ।

    “मेरो प्रश्न ” कबिताका जबर्जस्त लाइन हुन् यिनी महिला हिसा, बालबिबाह, बिधवा प्रतिको सामाजिक नजरलाई अत्यन्तै शसक्त कलमले तिखारेकी छन् ।

    ५५ कबिताहरु समाबेश गरी संग्रहित गरिएको यो कबिता पठनीय र संग्रहनीय छ ।

    नेपाली साहित्य जगतमा उदियमान यी सर्जक आफ्ना शसक्त सृजना मार्फत उदियमान होइन किर्तिमान कायम गर्न सफल छिन ।

    “नदिया लहर” बाट छुटेको उनको साहित्यिक सफर महासागरको अटल यात्रासम्म जान सफल होस् भनी एउटा पाठकको नातले 

    मेरो शब्द थुङ्गा उनको ‘नदिया लहर’ मा अर्पण गरें ॥

  • गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

    गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

    न्यूयोर्क

    गुणस्तरमा विश्वास गर्ने गायिका सिर्जना लामा स्याङ्दानले आफ्नै स्वरमा गीत “बसी सक्यो…” युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । माया प्रेमका गीत लेख्न खप्पिस खगीतकार गिता खत्रीको शब्द तथा चर्चित संगितकार हरी लम्सालको संगीतमा गीत राम्रो बनेको छ ।

    गीतको म्युजिक भिडियोमा एमयुए तनिशा लामाको श्रृङ्गारमा गायिका आफै देखिएका छन् भने गीतको फिल्मांकन वज्र फिल्म ईंक, न्यूयोर्कले गरेका हुन् । जुन अमेरिकामा तयार भएको हो ।

    गीतकार गीता खत्री थप्छन्; ” यो गीत प्रेमरसमा लेखिएको साथै संगीतकार र गायिकाले मेहेनत गरेकोले सबैको मन जित्नेछ” । गायिका लामाले यस गीतबाट उनले नेपाली माधुर्य संगीत मनपराउने दर्शक श्रोताको अपेक्षा पुर्ति हुने बताएकी छिन् ।

    गायिकाले सम्पूर्ण टिम लगायत एन्जिला लामा, एलिसन लामा र अलिशेष राईलाई विशेष धन्यबाद दिएका छन् । पछिल्लो समय गायिका सिर्जनाले समय अन्तरमा बजार गीत ल्याउने गरेतापनि स्तरीय गीत ल्याउने गरेको छ ।

  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

    न्यूयोर्क

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो ।

    १. अध्यक्ष  – शकुन ज्ञवाली   

    २. उपाध्यक्ष  – सान्ता घिमिरे 

    ३. महासचिव – राजन महर्जन 

    ४. सचिव- मेनका पराजुली 

    ५. कोषाध्यक्ष – जानुका ओस्ती ढकाल 

    ६. बोर्ड सदस्य – सिर्जना लामा 

    ७. बोर्ड सदस्य – शोभा गौतम

    अनेसास न्यूयोर्क च्याप्टरका नव गठित पदाधिकारीको पदावधि २ वर्षको हुनेछ । नयाँ कार्यसमितिलाई निबर्तमान अनेसास न्यूयोर्क चाप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको टिमले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

  • अनिश्चित भविष्य

    अनिश्चित भविष्य

    भीमनारायण श्रेष्ठ / काठमाडौं 

     

    जतिसुकै उनले थिचोमिचो अनि

    अन्याय अत्याचार गरे पनि

    मैले आदर सत्कार गरी

    जहाँ जतिबेला भेट्दा पनि

    दुई हात जोडी नमस्कार गर्दै हिँड्थें म

     

    अझ

    उनका साथमा लाग्ने

    अगुवा पछुवाहरूलाई पनि

    नमस्कार गर्न भ्याउँथे म

    उनीहरूले नमस्कार फर्काओस् वा नफर्काओस्

    मतलव राख्दिन म

    नमस्कार गर्न पाएकोमा

    खुशीले गद्गद् हुँदै

    रमाउँदै टाउको हल्लाउँदै

    अघि बढ्थें म

     

    किनकी,

    मेरो छ एउटा सदिच्छा

    मेरा पूर्खाको सपना पूरा गर्ने

    सुन्दर मनमोहक बगैंचा बसाल्ने

    जसमा सयौं जातका रङ्गीचङ्गी

    करौडौं फूलहरू अट्ने

    छ वटै ऋतुमा ढकमक्क फुल्ने

    ताल तलैयाको कमी नहुने

    राजहाँस र रङ्गीविरङ्गी पुतली खेल्ने

    चिरविर चिरविर चराचुरुङ्गी रमाउने

    कोइली मधुर स्वरमा कुहुकुहु गाउने

    झरझर झरनाको शीतल ताप्ने

    एउटा सुन्दर बाग बर्गैचा बनाउने

    मेरा पुर्खाको सपना साकार पार्ने

     

    मेरा सामु

    त्यही सपना साकार पार्न

    कम्मर कसी उभिएका तिनलाई

    मेरो बलबुत्ताले भ्याएसम्म

    भुईं नै भास्सिने गरी थामी

    पैताला देखिको बल खिँची

    मेरै काँधमा चढाई उकासेका तिनी

    मेरै सामुन्ने तिनको छायाँमा पनि

    म आफैमा कति गर्व गर्थे

    मनमनै गौरवान्वित हुन्थें

    खुशीले गद्गद् हुँदै

    दुई हात जोडी नमस्कार गर्थें

     

    अनि,

    “हजूर कता सवारी ?

    आराम हुनुहुन्छ ?” भनी सवाल गर्थें

    किनभने,

    मेरा पूर्खाको सपना साकार पार्ने

    आधारशीला भेट्टाएकोमा

    अझ उनले

    कालोलाई सेतो

    सेतोलाई कालो पार्न सक्ने

    चाहेमा दिनलाई रात

    रातलाई पनि दिनमा

    परिवर्तन गर्न सक्ने

    सर्वाधिकार छ तिनमा

     

    त्यसैले

    कोही कोही त वाध्यतावस पनि

    नमस्कार गर्न पुग्थे

    नमस्कार गर्ने बानी परेको मलाई

    नमस्कार गर्दा गर्दै

    बाटामा कुकुर, सुँगुर, गधा भेटिए पनि

    नमस्कार गर्दै हिँड्थे म

    आजभोली त मलाई

    त्यही नमस्कारले पोल्छ, पिरोल्छ

    कहिले काँही त

    आफै माथि पनि रिस उठ्छ

    म आफैलाई धिक्कार्छु

    जानी नजानी मैले

    नमस्कार गर्ने बानी बसालेकोमा

    तिनलाई सर्वोपरी ठान्ने गल्ती गरेकोमा

    किनभने

    तिनी त

    आफूलाई सर्वोत्कृष्ट ठानी

    सर्वाधिकार मुठ्ठीमा राखी

    आफ्नो स्वार्थमा तल्लिन रहे

    त्यसैले अहिले

    उनलाई नमस्कार गर्नु सट्टा

    बाटामा भेटिने गधा कुकुरलाई

    नमस्कार गर्नु नै बेस ठान्छु

    किनकी

    तिनले मालिकको सेवा त गरेका छन्

     

    यिनले त

    मेरा पूर्खाको सपना साकार पार्छु भनी

    सुन्दर भविष्यको रेखा कोर्न गएका

    भविष्य त कता हो कता

    वर्तमान नै लठालिङ्ग भताभुङ्ग पार्दै

    साराका सारा  चलन प्रचलन

    बालापनको खेल झैं सम्झी

    मख्ख पर्ने यी रक्त पिपाशूले

    भविष्य हाम्रा सुनिश्चित पार्ला कसरी

    पूर्खाको सपना साकार पार्ला कसरी

     

    त्यसैले

    आजभोली त मलाई

    तिनको अनुहार देख्दैमा पनि

    उदेक लाग्दै घिनलाग्छ

    बहुला कुकुर आफूलाई ताक्दै

    अघि बढी रहे जस्तो लाग्छ

    लाग्छ अहिले त मलाई

    बहुला कुकुरलाई झैं

    टाढैबाट ढुङ्गाले हानी

    लखेटी लखेटीकन सीमा

    कटाई दिउँ झैं लाग्छ

    हजूर…

    नमस्कार ॥

  • न्यूयोर्कमा भेटिएकी – नोमी

    न्यूयोर्कमा भेटिएकी – नोमी

    यात्रानुभुती : अच्यूत सिग्देल

    सिमसिमे पानीले निथ्रूक्क भिजेको थियो न्युयोर्क शहर । वेस्ट फोर स्ट्रिटमा हिप्पीहरू बबमार्ली स्टाईलमा शिववुटी उडाउँदै थिए । केमिकल मिसाएको घॉस र नानाथरीका हुक्का फ्लेवरले मान्छेका कपडापनि हल्का रेयाकुन फ़्लेवर पोखिएको भान हुन्थ्यो । टाउको दुखेर चिटचिट भएको जस्तो लाग्दै थियो । 

    हातमा गितानेस सिग्रेटको बट्टा र डुप्वॉ लाईटर लिएर एक सुन्दर युवती आईन । पहेला दाँत र मैला लुगा तर विन्दास शैली ।  उनको हुलियाले उनी फ्रेन्च भएको अनुमान लगाउन गार्हो भएन । उनले नोमी भनिन् मैले जन सेपा, किस्कि से तु । ज सुई आक्युट भनें । उनले ओ लाला तुत् पार्ले फँसेज भनिन मैले वातावरणलाई अलि सहज बनाएँ । “जस्ट किडिङ, ए लिटिल बिट् वन्ली” भनें । 

    बान्किलो मोहडा अग्लो कद, सयपत्रीले छरेको मुस्कान हल्का टाईटानिक फिल्मकी हिरोईन जस्ती । मैले नजिकै देखेको वा चिनेको जस्तै । कत्ति सजिलै मनमुटु मिले झैं हुन्छ, कसैकसैसँग ! मानौं हामीले सँगै रात बिताएका थियौं । कमसेकम डिनर या लञ्च  त खाएकै हुनु पर्छ । मेरो मानसपटल झोछें गल्लीदेखि मासन गल्ली हुदै ज्याठा ठमेल र कालधारा दौडिदै थियो । कँही कतै छेक छन्दों मिलेन । दिमागलाई स्क्यानिङ गर्दै डिल्लिबजारको उकालो चढाएर फ्रान्सेली केन्द्रमा रोकें । 

    उर्षिला, कविता, विपिन, सौकत, सौरभ, संकेत, रूचीहरूका प्रतिविम्ध पल्टिए । कल्पना धिमिरे मिस आईन । माथेमा सर सहपाठी उमेरका भएपनि हामी सर भन्थ्यौं । वीन्डिज, निरूलाजले मन पच्चिस बसन्तमा फर्कियो । अनायास कपिल टमोट सरको यादले मन अमिलो भयो । वाकवाकी आयो, झगडा सम्झायो । मेरो फ्रेन्च भाषामा एक्सपर्ट हुने सपना तुषारापात भएको याद दिलायो । लामो सुस्केरा फेरें । तामाको जगबाट पानी  पिएँ र थोरै हल्का भएँ । 

    लुकिङ मिररमा के हेरेको थिएँ ऑखा चार भै हाल्यो । उनले भनिन् “क्यान आई कम टु दि फ्रन्ट” ? मैले नो प्रोव्लम भने । लेट मी स्टप दि कार के भनेको थिएँ । उनले ‘आई कुड कम फ्रम हेअर ‘ भन्दै बिचबाट घुर्सिईन। 

    मेरो दिमाग एलिएन्स फ्रॉसेज भित्रको क्याफ्टेरियाटी कक्षाकोठामा प्रवेश गरिसकेको थियो । उदाउँदै गरेको नोभेम्वर महिनाको कोमल घाम एक २०-२१ बर्षको केटीको मिनिस्कट छिरेर भित्र पस्थ्यो । भर्खरै वि ए सक्याएर बिवाहको तयारीमा रहेका हामी बिध्यार्थी त्यो सुनौलो वातावरणको प्रतिक्षारत रहन्थ्यौं । सुनौलो रंगका उनका बदनमा पोखिएको विहानी लालिमाले हामी सबैलाई भुतुक्कै बनाउँथ्यो। सबैको ड्रिम गर्ल थिईन उनी – नोमी । 

    मैले उनलाई जिस्क्याउदै भने चु नो मि, डे एलियन्स फँसेज दि क्यातमान्डु ? 

    त्यतिखेरसम्म मेरो हुलिया उनको दिमागमा घुसिसकेको रहेछ । मलाई जोडले अँगालो मारिन् । गाला तिर उनको चु च्वाँ लटरम्म बर्षियो । Visit Nepal 98 मा हामीले गरेको सहकार्य दोहरियो । उनले काठमाण्डू, पाटन र भक्तपूरको गल्ली गल्ली बयान गरिन । 

    हामीले सँगै विताएको विम्पी, निरूलाजका कथाहरू दोहरिए । मेलम्ची आयोजनाको ठेक्का लिन आएको फ्रेन्च कम्पनी र अफिस म्यानेजर माथेमा सरको सम्झना भयो । फ़ाईल बढाउन एक पटकमा पियनदेखि हाकिमसम्म एक एक हज़ार चढाउनु पर्ने । गिरिजा सरकारसँग कमिसन नमिलेर फ्रेन्च कम्पनी फर्केको घटनाको हामी साक्षात्कार नै थियौं । माथेमा सरको छोरीको बिवाहमा VVIP रोहमा ह्विस्की समातेको, गिरिजावावुले योङ्म्यान लेट्स चियर्स भन्दा हात कामेको । भारतीय पत्रकारले गिरिजा बाबुको अन्तरवार्ता लिन मलाई चाकडी गरेको । Club Dynasty गएको लगायतका सबै प्रसंग स्मृत भयो । 

    एउटा गँजडी टाटूवालाको मायाजालमा फसेर  हामी सबैको दिल तोडेको प्रसँग कोट्याएँ । उनले ‘बोल्ड फेसण्ड’ हामी टु बोरिङ पर्सनालिटी भएको बताईन । भिजिट नेपाल ११ मा पिसकोर मार्फत नेपाल जान खोजेको तर एजेन्सीले ४७०० यूएस डलर मागेकोले उनी न्युयोर्क झरेकी रहिछन् । 

    न्युयोर्कले उनमा अनौठो बदलाव ल्याई दिएछ । गॉजा, हुक्का र अनेकों प्रजाती ड्रग्समा रमाउने । लिवर्टी जस्तै स्वतन्त्र । बिन्दास र निश्चल झरना जस्तै बग्न चाहने भईछन उनी । झण्डै तीस मिनेटको ड्राईभ पछि विलियम्स बर्गको युनियन पुल डिस्टिनेसन आईपुग्यो। उनले गाडी साईड लगाउन इसारा गरिन् । मलाई बाहिर आउन भनिन् । म बाहिर के आएको थिएँ । कसिलो अँगालोमा बेरि हालिन । पन्ध्र फिटको दूरीमा तिसौं केटीहरू भित्र पस्न लामबद्द थिए । सबैले पालैपालो अँगालो मारे किस गरेँ । फ़्लेवर फुल हुक्काको र शिववुटीको गन्धले म झण्डै ढल्न ढल्न लागेको थिएँ । उनीहरू सबै मिलेर मलाई उचाले Visit Nepal 2020 को सफलताको कामना गरेँ । अर्को साल राउण्ड अन्नपूर्ण जाने र मुक्तिनाथको ववमार्लि होटलमा अर्गानिक तान्ने सहमती भएको छ । हेरौं के हुन्छ !

    समय न हो १२ बर्षमा खोला त फर्कन्छ भन्छन्…

  • लघुकथा : सजाय

    लघुकथा : सजाय

    लीलाराज दाहाल / सर्लाही

    जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे ।

    समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।

    एउटी बाख्रीले भनी, हुनत म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ । उ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परें । क्षतिपूर्ति सहितको न्याय चाहियो ।

    लगत्तै एउटा स्यालले भन्यो, मेरै जातीको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ ।

    यत्तिकैमा फेरि अर्को हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो, ऊ त्यो छट्टुले मेरो छोरालाई अर्को राज्यमा बैदेशिक रोजगारीमा पठाई दिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो ।

    यसै गरी अन्यले पनि हत्या, आतंक, चोरी तस्करी, वातावरण प्रदुषण लगायतका समस्याहरुको उठान गरे ।

    सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।

    सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए – सबै ।

    अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो; “तिमीहरुले अपराध बमोजिमको सजाय त पाउँछौ नै ! त्यो भन्दा ठूलो कुरा मानिसको बानी व्यहोराको सिको गरेकोमा पहिला तिमीहरुलाई दण्ड दिने घोषणा गर्दछु” । जनावरहरु यतिखेर भने केही बोल्न सकेनन् ।

  • परदेशीको दशैं

    परदेशीको दशैं

    घनश्याम कडरिया बियोग

    नपर्खिनु बोकि हातमा अक्षताको थाली आमा

    आउन पाइन यो दशैंमा रह्यो निधार खाली आमा

     

    धान झुल्ला खेतभरी, फुल फुल्ला बारीभरी

    यसपाली बिदा छैन, आउँछु अर्को पाली आमा

     

    पाइन मैले पठाउन, सौदा केही यसैपाली

    नयाँ नाना नभएनि, लाउनु भाको टाली आमा

     

    सम्झि रा‘छु गाऊबेसी, बालसंगी सबैलाई

    हांसिखुसी रहुन सबै, बगैचाका माली आमा

     

    पींग खेल्दै रमाउनु, खुसीयाली सबैतिर

    आशिर्वाद भवानीको, छाओस सबमा लाली आमा

  • लघुकथा : उपहार

    लघुकथा : उपहार

    आचार्य प्रभा

    ईशा आमालाई फुर्क्याई रहेकी थिई | “आवर मम् ईज सो लभ्ली एण्ड ग्रेट… थ्यान्क्यु मम्, फर योर ग्रेट गिफ्ट !” हातमा आईफोन खेलाउंदै ईशा खुशीले हर्षबिभोर बनिरहेकी देखेर सँगै पढ्ने साथी निलिमा आफ्नी आमालाई मनमनै धिक्कारी रहेकी थिई |

    “हाम्री आमालाई त बिजनेस गर्न भन्दा कवयित्री बन्दै ठिक्क छ | आयस्ताको काम केहि छैन । दिन भर कथा र कविता लेख्नमै ब्यस्त | पागलले गर्ने काम | कहिले काँही यसो केही ल्याई दिन भन्यो भने सय रुपैयाँ भन्दा बढीको केही चिज ल्याईदिने होईन !”

    निलिमा मनमनै किट्किट बनिरहेकी थिई । र “अब घरमा गएर ,म आज चाँहि आमालाई नभकुरी छाड्दिन।” भनेर सोंचिरहेकी थिई |

    अचानक ईशाको घरको ढोकामा दुई महिला प्रहरी आएर ईशाकी आमालाई खोजी गर्न थाले । ईशाले ती महिला प्रहरीहरु देख्नासाथ आमालाई बोलाई ।

    ती महिला प्रहरीहरुले आफ्नी आमासंग सोधपुछ गर्न थाले। तब ती सोधपुछका शब्दहरुले ईशा मौन बनी र व्यंग्यात्मक दृष्टि फ्याँक्दै अघि दिएको कोशेली (बर्थडे गिफ्ट) आमाको हातमा थमाउँदै भनी;

    “मम्, मैले आज जसरी म जन्मनुको सार र तँपाईले मलाई जन्मदिनुको खुशी मनाउंदै थिएँ तर यो रहस्यमय तँपाईको ब्यापार ब्यवसायको घटना र कर्तुत सुन्दा आज मेरो जन्मदिन मनाउनुको खुशी होईन बरु जन्मनुको दुख उर्लेर आयो । ल लिनुहोस् तँपाईले दिनुभएको उपहार आफै राख्नु होस् ! मलाई चाहिन्न यो लुटेको धनको उपहार !”

    उक्त घटना देखेर निलिमा अघि आफ्नी आमालाई धिक्कारेका शब्दहरु सम्झिदै आफैलाई पो धिक्कार्न थाली । उता महिला प्रहरीहरुले ईशाकी आमालाई घिसार्दै गाडीमा कोचिसकेका थिए |

  • कविता : कालो बादल

    कविता : कालो बादल

    भीमनारायण श्रेष्ठ / काठमाडौं

    प्रभातकालीन नियमित घुमफिर

    चिसो सुनसान वातावरण चिर्दै

    आफ्नै तालमा

    अघि बढिरहेको पाईला

    अचानक रोकिन पुगे

    घाम झुल्किन लागेको थियो

    अनायास

    कालो बादल मडारिन थाले

    मौसम विपरित हावा चल्न थाले

    बेमौसमको भूमरिमा

    रन्भुल्ल परें

    नील गगनको मध्य भागमा

    मडारिएको भूमरि

    कुनाकाप्चामा समेत हानिन थाले

    असंख्य डाँडाकाडाँ र पहाडमा ठोकी

    सहर बजारतिर हानिन थाले

    यस्तैमा एकहूल आवाज

    धर्म संस्कृति र

    गुठी संस्कार

    हाम्रो मौलिक पहिचान

    देशको गहना बोकी

    सांस्कृतिक धरोहरको

    धरातलमा उभिए

    माईतिघर मण्डला

    मडारिएका ति कालो बादल

    चिर्न खोज्दै

    शंखघोष गर्न

    प्लेकार्ड उठाउँदै

    पंक्तिबद्ध शान्त सौम्य

    उभिएका थिए

    युवा महिला र बृद्धबृद्धा

    यस्तैमा

    मडारिएको त्यो कालो

    बादल भित्रबाट

    लठ्ठी बन्दुक र अश्रुग्याँस सहित

    उपस्थित भए

    महाभारतका कौरव

    चक्रब्यूह रची

    अनायास

    चक्रव्यूह भित्रको अभिमन्यु सरी

    अवला ति महिला बृद्धबृद्धा माथि

    लठ्ठी र बूठ निर्मम बर्साए

    अश्रुग्याँस खसाले

    कतिलाई पानीको फोहराले हुत्याए

    तितरवितर भएका

    ति सुमधुर आवाज

    क्रोधको ज्वाला मुठ्ठीमा कसी

    वाध्यता र विवश भई फर्के

    अनि,

    क्रोधको ज्वाला भित्रभित्रै सल्किए

    निभ्न लागेको धर्म संस्कृति

    गुठी संस्कार र परम्परा

    सांस्कृतिक धरोहर जीवन्त राख्न

    गाउँ शहर बजार

    अनि कुना काप्चाबाट समेत

    शक्तिको राँको बालेर

    मानव भेल ओर्लिए

    माईतिघर मण्डला

    सडक पेटी सब ढाके

    मानौं

    आज ठूलै जात्रा पर्व हो

    सांस्कृतिक बाजागाजा समेत

    नाचगान गर्दै

    आधाकारी रोबोटका हातमा

    फूल र पानी ठम्याउँदै

    आदर सत्कार गरे

    मायाका भोका ति रोबोट आज

    नतमस्तक उभिरहे

    चारैतिरबाट सल्बलाएको

    सांस्कृतिक ज्वारभाटाबाट उठेको

    एक झट्का हावाहुरीले

    मडाएिको त्यो कालो बादल

    बिस्तारै बिलायो

    अनि,

    निलो आकाश खुले

    अमृतसरी हावा चले

    सुनौलो घामको किरण

    विस्तारै चारैतिर छाए…

  • लघुकथा : ओईलाउँदै गएका टीकाहरु

    लघुकथा : ओईलाउँदै गएका टीकाहरु

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    २०७३ सालको दशैंमा…

    बाबुले छोरालाई मोवाइलमा हेर्दै उत्साही स्वरमा बोल्यो, ‘कान्छु, जसरी भए पनि यो दशैमा आउनु है ।’

    मोवाइलबाट आवाज सुनियो, ‘यसपाली अफिसमा कामको चाप नै बढी छ बा । फेरि दशैं हामी अमेरिकामा पनि धुमधामै मनाउँछौँ नि । बरु हजुरहरुलाई दशैं आनन्दले मनाउन एक लाख पठाइदिन्छु नि बा।’

    ‘कुरा पैसाको होइन । मात्र टीका ओइलाउला की भन्ने चिन्ता हो ।’

    ‘दाईलाई बोलाउनुस न बा, यो दशैंमा, मेरो त कुनै सम्भावना छैन ।’ मोवाइलबाट छोराको आवाज आयो ।

    ‘तेरो दाजूलाई पनि काम थुप्रो छ रे यो वर्षमा, तैले जस्तै उस्ले पनि जर्मनीबाट पचास हजार पठाउँदैछ । ल भैगो ब्यस्त भए, भन्नु केही छैन । धन्य छोराहरु, तिमीहरुको कृपाले यो दशैं हामी बुढाबुढीले चाँदीको जमरा र सुनको टीका लगाएर टार्ने भयौँ । सवैका छोराछोरी तिमीहरु जस्ता होऊन् । डेढ लाखले म के मात्र गर्ने ?’ बाबुले यति भन्दै रुँदै फोन राख्यो ।

    २०७४ सालको दशैंमा…

    गएको शिवरात्रीमा, सत्तरी वर्ष लागेको बाबुले छोरालाई भिडियोमा नाप्यो । छोरालाई अझै लम्वाई र चौडाइमा हेर्ने इच्छाले उपलब्ध प्रबिधिको सहारा लियो । छोराको बडेमान शरीरको सजिवता, काँचको पर्दामा स्यानो सजिवतामा चल्मलाएको देखेर होला, बाबुको आँखाबाट दुईथोपा आँसु तरक्क चुहायो । बाबुले आँसु पिउँदै सोधे – ‘कान्छा, अव तँ कैले नेपाल आउँछस् ?’

    ‘हेरौँ, बुबा अव बिदा भयो भने आउँछु, सायद दशैतिर आउँछु कि !’

    छोराले दशैतिर आउँछु कि ! भनेपनि बुढाको आशामनले छोरा दशैतिर आउँछ नै भन्ने बुझ्यो ।

    ‘हुन्छ, कान्छु, यसपालि दशैंमा तेरो नाममा पनि टीका अलि बढी मुछेर राख्छु है ।

    जसरी भए पनि आउनु । तेरी आमाले तेरो नाम लिन थालेको पनि वर्षो भइसक्यो ।’

    विडम्वना, छोरा त्यो सालको दशैमा पनि आएन ।

    २०७५ को दशैंमा…

    यो साल, छोरालाई आइपेडमा ओछ्याएर भलाकुसारी गरेपछि बाबुले भन्यो –‘कान्छा, आऊ यो दशैंमा जसरी भए नि, तेरी आमा विरामी छे । तेरो मात्र नाम लिइरहन्छ ।’

    ‘बुवा यो वर्ष त मेरो झनै भ्याउँदैन । बरु आमालाई एकपटक मोवाइल दिनुस न दर्शन गरुँ ।’ बाबुले आफ्नी रोगी स्वास्नीलाई मोवाइल दिँदै बोल्यो–

    ‘ला, तेरो कान्छुको दर्शन गर ।’

    आमाले चाउरिएको हातले समातेको आइपेडबाट एक भद्र पुरुष स्वर कोठैभरि गुँजियो, ‘आमा, दर्शन ! के गरुँ आमा, निधारमा टीकाको प्यास छ नि त । अम्रिका थाहै छ नि हजुरलाई दिनरात फुर्सद हुँदैन । दुख नमान्नु होला आमा, यसपालि पनि पोहरझैँ फोटैमा टीका लगाइदिनुस न है ।’

    २०७६ को दशैंमा…

    यो दशैंमा भने छोरा आफैले फोन गरी खुसीले गदगद हुँदै बोल्यो–

    ‘बुबा हजुर, यो दशैंमा म घर आउँदै छु । हामीले हजुरहरुको निम्ति धेरै सामान जोरजाम गरेको छौँ । हजुरको निम्ति आइपेड र आमालाई अमेरिकाको महँगा साडीहरु…।’

    यो वर्ष बाबुको स्वरमा गतसाल झैं उत्साह थिएन । आवाज गलेको थियो । त्यही ओइलाएको स्वरमा आफूलाई सम्हाल्दै बोल्यो–

    ‘पर्दैन कान्छा, अव आउन । तेरी आमाले भर्खर मात्र तेरो नाम लिएर प्राण त्यागेकी छे । तैले इच्छा नै गरेको हो भने नआइजो पनि भन्दिनँ । सिधै आर्यघाटमा आउनु । केही ल्याउनु पर्दैन तैले अम्रिकाबाट । कान्छा पनि होस्, दागबत्ती अझै हामीले तेरै नाममा छोडेर राख्या छौँ । चौबीस घण्टा समय दिन्छौँ, पुगिस् भने तैले झोस्न पाउँछस् , होइन भने त्यो पनि हामी मेसिनलाई सुम्पिँदै छौँ । अँ, लेकटप, मोबाइल, टिभी केही पनि ल्याउनु पर्दैन है । आउँदा, अमेरिकाबाट एउटा सेतो कपडा, बास्नादार धुपहरु र सके थोरै दाउरा लिएर आउनु है । हामीले अहिलेसम्म पाएको सवैभन्दा मूल्यवान् कोशेली सम्झेर थाप्नेछौँ । दशैंचाँही मनाइन्न यसपालि । टीका जुठो भो कान्छु, फेरि ओइलाइ पनि सकेको छ । यो घराँ, अब कुनै पनि दशैंमा टीका फुल्दैन’, उताबाट छोराले दशपटक हेलो, हेलो भनेपनि यताबाट केवल सुँक्कसुँक्कको मात्र प्रत्युत्तर आईरह्यो ।

  • अमेरिकामा नेपाली गजल उत्सव

    अमेरिकामा नेपाली गजल उत्सव

    ओहायो 

    अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा आयोजना गरिएको गजल यात्राको गजल उत्सव – तेश्रो श्रृंखला भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया, न्यूयोर्क, न्यूजर्सी, ओहायो , म्यास्याच्युट्स (बोस्टन), ह्यूस्टन, टेक्सस(डालास), भरमन्ट, कोलोराडो लगायतका विभिन्न राज्यबाट करिब ४४ जना गजलकारहरू उक्त कार्यक्रममा गजल वाचनका लागि उपस्थित भएका थिए । 

    गजल यात्रा समूह २०१७ मा टेक्ससबाट गजलकारहरू- बासु पुष्पा अधिकारी, पवन लामिछाने र नेत्र आचार्य( नेत्र कौडिन्य) ले स्थापना गरेर गजल उत्सव -१ आयोजना गरेका थिए भने यो उत्सव २०१९ सम्म आई पुग्दा यो यात्राले तेश्रो श्रृंखला (गजल उत्सव -३ )मनाउन सफल भएको छ।

    गजल उत्सव -३ मा गजलकारहरूलाई मतला, काफिया, रदीफ र मकता गरी ४ भागमा विभाजन गरिएको थियो। करिब डेढ़ सय दर्शक,गजलकारको शानदार उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय गजलकारहरूको व्यवस्थापन प्रशंसनीय थियो। एयरपोर्टमा आईपुगेका र फर्कने सबै गजलकारलाई स्थानीयहरूले पिकअप ड्रप, खाना र बासको व्यवस्था गरेर नेपाली गजल उत्थानमा सक्रिय सहयोग गरेका थिए। 

    कार्यक्रमको शुरूवात कार्यशाला गोष्ठीबाट गरिएको थियो। गोष्ठीमा गजल यात्राका सँस्थापकहरूले एउटा एप्स बनाएका थिए, जसमा तपाईं बहर/छन्दमा, स्वनिर्मित लय, लय निरपेक्ष या सबै के मा गजल लेख्न हुन्छ ? मुसलसल या गैर मुसलसल गजलमध्ये कस्तो गजल लेख्न रूचाउनु हुन्छ ? भन्ने जस्ता प्रश्नहरूको जवाफ एप्समै लिएर मत सर्वेक्षण गरिएको तथा गजल संरचना, हालका गजल विकास तथा बहरे गजल र गैर बहरे गजलका विषयमा उपस्थित गजलकारहरूमा छलफल एवम् ज्ञानको आदान-प्रदान  गराईएको थियो।

    सो उत्सवमा गजलकारहरू आनन्द श्रेष्ठ, पवन लामिछाने, दु:खी अतित, पूर्ण नर्जली, सुरेश वाग्ले, पूजा बागिश, राज बराल, सविन शर्मा,पुरानाघरे, सौरभ तिम्सिना,रोहित राना, डिल्लु चौलागाईं, अमृत लामिछाने,अजित राई, धर्मेन्द्र तिम्सिना, सतिश त्रिपाठी, भागवद बॉस्तोला, सुजन माझी, उत्तम साम्पाङ्ग, बिक्न दादा, पातलो अन्तरे, कृष्ण कुसुम, विकु दवाडी, केशव असफल, भक्त घिमिरे,नेत्र आचार्य, खेम रिजाल, सुशील रेग्मी, यदुनाथ अधिकारी, नरेश गौतम, केशव न्यौपाने, गोवर्द्धन पूजा, सरूँ काली,पदम विश्वकर्मा, मदन दुलाल, बासुपुष्पा अधिकारी, मणी गौतम, अविनाश भट्टराई एक्स्ट्रा, वैरागी माईला, अरूण तामाङ्ग, चरण बजगाईं लगायतले आफ्ना २-२ वटा गजल वाचन गरेका थिए भने गजल गायक केशव पौडेल लगायतका गायकहरूले विभिन्न गजलकारका गजल गाएर कार्यक्रमलाई थप रोचक बनाएका थिए। 

    आगामी गजल उत्सव-४ कुन राज्यमा गर्ने भन्ने विषयमा  ‘गजल यात्रा’ समूहले अबको केही समयको अन्तरालमा सार्वजनिक गर्नेछ।

  • कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

    कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

    काठमाडौं

    यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कारद्वारा  प्रवासमा बसेर पनि निरन्तर नेपाली भाषा साहित्यमा काम गर्दै आएका कवयित्री / गीतकार दीपा राई पुन सम्मानित हुने भएको छ ।

    “बिहानको सुनौलो घामले

    एक टुक्रा मुस्कान छर्छ

    टिपेर सिउरी दिन्छु आफैलाई

    सौन्दर्यताको गहना सम्झेर…”

    उक्त सम्मान रेडियो नेपालका प्रथम समाचार वाचक राजेन्द्रप्रसाद नेपालको स्मृतिमा स्थापना गरिएको हो । रेडियो नेपाललाई विराटनगर जुट मिलबाट सिंहदरवारभित्र स्थापना गर्न तारणीप्रसाद कोरालासँग सहकार्य गरेका प्रजातन्त्र सेनानी श्रष्टा नेपालको स्मृतिमा स्थापित सो सम्मान नेपाली वाङ्ममयको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत दीपा राई पुनलाई प्रदान गर्न लागिएको हो । यसअघि उनले भानुभक्त स्वर्ण पदक, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसास, अनेसास रविना फाउण्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार २०१३/१४, प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार २०१६ (हङकङ साहित्यिक साझा श्रृङ्खला), ज्योति साहित्य सम्मान २०७२ (ज्योति साहित्य प्रतिष्ठान), साहित्य सम्मान (लायन्स क्लब अव काठमाडौं रेन्बो सीटी), अनल ज्योति सम्मान २०७२ (अनल ज्योति बोर्डिंग स्कूल), राष्ट्रिय नारी सम्मान पत्र – २०७३ (राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित), राष्ट्रिय नागरिक विकास समाज विशेष नागरिक सम्मान २०७५, ‘राष्ट्रिय नारी श्रष्टा सम्मान २०७५ (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) लगायतका पुरस्कार र सम्मानहरु पाईसकेका छन् । उनका तीन कविताकृति तिम्रो सपनाको म, स्पन्दनका रागहरू र छुटेको वाग्दाता र एक गीति एल्बम – प्रतिरूप प्रकासित / रेकर्ड भएका छन् ।

    सेप्टेम्बरको २८ तारिख २०१९, शनिवारका दिन मोती जयन्ती मनाउँदै भव्य साहित्यिक समारोहका दिन सो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । अनेसास बोष्टन च्याप्टर र राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न हुने सो कार्यक्रममा यस वर्ष सारङ्गीवादक श्याम नेपालीलाई राजमित्र विशेष सम्मान गरिने राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’ ले जानकारी दिएका छन् ।

  • बालिका लोकश्रीको गीत रेकर्ड

    बालिका लोकश्रीको गीत रेकर्ड

    अमेरिका ।
    अमेरिका बस्दै आएकी ९ बर्षिया लोकश्री आचार्यले भर्खरै नेपाली गीत रेकर्ड गरेकी छिन । उनले गाएको माया किन लाग्छ बरै वोलको गीत हिजो मंगलबार युटुबबाट सार्वजानिक गरिएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफ्ना मातापीता र भाईको साथमा टेक्सासस्थित लबक शहरमा बसिरहेकी छिन । यहाँस्थित लेगेसी इलिमेन्टी स्कुलमा ग्रेड ४ मा अध्ययनरत लोकश्री परिवारकासाथ छुट्टी मनाउन गत जुलाई १५ मा नेपाल पुगेकी थिइन । नेपाल छँदा उनले उक्त गीत रेकर्ड गराउने मौका पाएकी थिईन ।

    आफ्ना मातापीताको पहलमा उनले यो साईत जुरेको उनले वताइन । दिनदुखीप्रति मायाभाव दर्साउने उक्त गीतलाई अहिलेका चर्चित संगितकर्मी दिपक शर्माले रचना एवं संगीत गरेका हुन् भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । धर्मराज आचार्यको छायाँकन रहेको उक्त गीतको भीडियोलाई राम श्रेष्ठले सम्पादन गरेका छन् । ए वन म्युजिसियनमा रेकर्ड गरिएको उक्त गीतको सवटाईटल भद्र शर्माले गरेका हुन् ।
    भविश्यमा संगीतकर्ममा लाग्ने रुची रहेको वताउने उनले पियानो, भायोलिन लगायतका कक्षाहरु पनि लिईरहेकीछिन । लोकश्रीले दोस्रो बर्षको जन्मदिवसको अवसरमा असहाय वालवालिकाहरूको सहयोगमा जुटिरहेको रक्षा नेपालमा आफ्नो जन्मदिन मनाउदै एक लाख रूपयॉ समेत सस्थालाई सहयोग गरेकी थिईन ।

  • गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान

    गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान

    काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ ।

    त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु लोकप्रिय गायक राजेशपायल राईले गुमाउनु परेको छ ।

    सोमबार दिउँसो उनको काठमाडौं, शान्तीनगरस्थित घरमा आगलागी भएको छ ।

    उक्त दूर्घटनामा मानवीय क्षति त भएन, तर राजेश पायल राईले जिन्दगीभरको मिहेनतबाट कमाएमा महत्वपूर्ण अवार्ड जलेका छन् ।

    प्रहरीका अनुसार बिजुली सर्ट भएर घरमा घरमा आगलागी भएको पाइएको छ । उनले जुन कोठामा सम्मान र अवार्ड राखेका थिए, सोही कोठाबाट सल्किएको आगोले अवार्डहरु नष्ट गरिदिएको छ ।

    उनका छरछिमेकी, प्रहरी र दमकलको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

    कार्यक्रमको सिलसिलामा विदेशमा रहेका राईले फेसबुकमा स्टाटस लेख्दै आज भगवानबाट पनि गल्ती भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदो रहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’

  • कविता : बलात्कार

    कविता : बलात्कार

    भीमनारायण श्रेष्ठ / थानकोट

    आजभोली दिनका दिन

    खवर पत्रिकाहरुमा

    छापेका हुन्छन्

    बलात्कारका घटना

    कतै बालिका बलात्कार

    कतै किशोरी बलात्कार

    कतै युवती बलात्कार

    अझ कतै कतै त

    महिला र बृद्धा समेतको

    बलात्कार…

     

    बलात्कार पनि अनेक

    रुप र रङ्ग अनेक

    कहिँ एकल बलात्कार

    कतै सामुहिक बलात्कार

    कतै त सहमतिमा सहवास

    सहमति टुटेमा बलात्कार

    अनि त

    बलात्कारी माथि नै

    मोलमोलाईको बलात्कार

    फेरि अर्को

    अपहरणमा बलात्कार

    बलात्कार पछि

    जघन्य हत्या र

    हिंसाको अपराध

     

    एउटा बलात्कारको घटना

    सेलाउन नपाउँदै

    फेरी अर्को बलात्कार

    दिनहुँ जसो आइरहने

    यस्तै खवर…

     

    कति होलान् अझ

    खवरमा आउन नपाउँदै

    डर, धम्की, आश र त्रासको

    मिलोमतोमा सेलाउँछन्

    धैर्यको बाँध नफुन्जेल

    हुन्छन् बेखवर

    बलात्कार…

     

    खवरमा छाएका

    केही बलात्कारका घटना

    न्यायिक कठघरामा उभ्याउन

    जुरमुराउँछन्

    जन आक्रोश

    जन आवाज र जन दवाव

    थेग्न नसकी सरोकार

    केही हदसम्म साम्य पार्न

    गठन गर्छन् सरकार

    छानविन आयोग

     

    छानविन नामको चरो

    भुर्रर्र… उड्छन्

    घटनास्थल पुग्छन्

    छानविनको नाटक गर्छन्

    बुझाउँछन् प्रतिवेदन

    नाम मात्रको दस्ता

    बलात्कारी को हो

    थाहा छैन

    दोषी को हो ?

    उत्तर दिंदैन 

    बस्,

    यति मै सीमित

    कलम अगाडि बढ्दैन

    अगाडि बढ्न चाहँदैन आयोग

    सायद…

    कलमको नीब भाच्चिएर हो कि ?

    अथवा; मसी सकिएर हो

     

    नीव र मसीको

    दोष कितान हुन नपाउँदै

    उम्कन र उम्काउन सफल हुन्छन्

    पूजिवादी बलात्कारी  

     

    के गर्नु यहाँ

    रक्षक नै भक्षक भएपछि

    कसको के लाग्छ

    जन आवाज र जन दवाव

    अनि आक्रोश

    आस्थाका आधारमा

    मत्थर हुन्छन्

    अझ भनौं

    मत्थर पार्छन्

     

    बलात्कार

    यौन हिंसा

    निन्दनीय व्यवहार

    हो सामाजिक अपराध

    गरौं आज चारैतिरबाट

    खवरदार…

     

    समाजमा व्याप्त

    बलात्कारीका कुदृष्टी

    पूँजिवादको गिद्धे नजर

    बहिष्कार गरौं

    बलात्कारीका कुदृष्टी

    गिद्धे नजर

    सुधार केन्द्रको

    वन्दी गृहमा, नजर बन्दमा

    कैद गरौं,

    अनि

    कालकोठरीमा कोचौं

  • फेसबुकको एउटा साथी; पायल

    फेसबुकको एउटा साथी; पायल

    प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर

    मैले फेसबुक चलाउन थालेको धेरै समय बितेको छैन । केही समय मात्र भयो होला, मेरो एउटा हितैसीको अनुरोधमा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ । प्रारम्भमा, फेसबुक मेरा लागि उत्सुकता र जिज्ञासाको विषय बनेको थियो । आज नौला–नौला साथीको आगमनले मेरो फेसबुकको आफ्नै एउटा परिधि र समाज छ । आज फेसबुक मेरो फुर्सदको साथी बनेको छ ।

    एकदिनको कुरा हो । म फेसबुकमा आफ्ना साथीहरुको चेट लिस्ट नियाल्दै थिएँ । ऐश्वर्या रायको तस्बिर राखेकी एक अनजान महिला साथीलाई मैले ‘हाइ’ भनेँ । उनले पनि ‘हेलो’ भनिन् । मैले उनको नाम सोधेँ । उनले आफ्नो नाम पायल बताइन् । कुरा लम्बिने क्रममा हाम्रो शिक्षा, पेशा र जीवनक्रमका बारेमा पनि केही कुरा साटियो । मेरो गजलको उनले खुलेरै प्रशंसा गरिन् । फेसबुकभित्र बेवारिस छोडिएका मेरा टुक्रा–टुक्रा गजलका भावले उनको मन छुँदा रहेछन्

    । मेरो फेसबुकमा त्यस्ता साथी कमै छन्, जो अरुको प्रोफाइलभित्र​ के छ भनेर नियाल्छन् । सबैलाई आफ्नो प्रोफाइलको ब्यस्तता नै प्रिय छ र आफ्नो कम्प्युटरमै दुनियाँ खुम्चिएको छ । मेरो गजलमा पहिलो प्रतिक्रिया उनकै गाँसिन्थे । त्यो मेरो गजलको शौभाग्य पनि हो । मेरो प्रणय गजललाई कस्को लागि रचना गर्नु भएको हो भनी सोध्ने क्रम निरन्तर रुपमा दोहरियो । कहिले गजलको उदास भावलाई उनी घृणा गर्थिन् । मेरो गजललाई मुस्कुराएकै सुहाउँछ भनेर उनी मलाई दुखद होइन, सुखद सृजनाहरु कोर्न प्रेरणा दिन्थिन् ।

    मलाई थाहा थिएन, उनी को हुन् ? किनभने उनले फेसबुकमा आफ्नो तस्वीर पनि राखेकी थिइन । म उनलाई मायाले मेरी पायल भन्थेँ, जसलाई हाम्रो घनिष्ठताले पनि सहज बनाएको थियो । अनुहारमा कितावमा बेअनुहार भएर चिनिएकी ती युवतीको नाम वास्तवमा पायल पनि हो कि होइन, मलाई जानकारी थिएन । म उनलाई प्रोफाइलमा एउटा तस्वीर राख्न अनुरोध गर्थे। ‘यो अनुहार किताव हो र यसमा एउटा अनुहार चाहिन्छ, मेरी पायलजी । तपाई पनि एउटा अनुहार भएको मानिस हो, त्यसैले दर्ता गर्नुस् न आफ्नो अनुहार, तपाईको के जान्छ र ?’ म प्रश्न गर्थेँ ।

    उनी च्याटमै ‘हेहे’ गरी हाँस्थिन् र भन्थिन्– ‘मेरो अनुहार फेसबुकमा राखेर तपाईलाई तर्साउनु छ र ? मेरो अनुहार पूरै आगोले जलेको छ ।’ म उनको वाक्यलाई ठट्टा सम्झेर भन्थेँ –‘के आगोले पोलेको अनुहार, अनुहार होइन र ? अरु जे भनून्, मलाई तपाई सुन्दर लाग्यो । तपाईको जुन काल्पनिक चित्र मेरो मनमा उदय भएको छ, त्यसलाई म पूजा गर्छु ।’ म पनि बदलामा हाहा गरी हाँस्थेँ । उनी मेरो भावना र विचारको खुलेरै प्रशंसा गर्थिन् । उनको अनुहार एकपटक नियाल्न मैले दुई महिना जति अनुरोध गरेँ । एकपटक रातको १२ बजे उनले च्याटमा भनिन् –‘आज तपाईलाई मेरो वास्तविक रुपको दर्शन दिन्छु । मेरो प्रोफाइलमा गएर हेर्नुस है त ।’ मलाई तत्क्षणै उत्सुकता जाग्यो र मैले हुन्छ भनेँ । एउटा तस्वीर देखियो प्रोफाइलमा, जसको आधा भाग पूरै आगोले जलेको थियो, त्यो अनुहार कुरुपताको प्रतिमा थियो । मलाई विश्वासै लागेन, यो तस्वीर मेरी चिरपरिचित मित्र पायलको हो । उनले मेरै तस्वीर भनेर बारम्बार भन्दा म बिश्वास गर्न बाध्य भएँ । उनले फेरि भनिन् –‘हामीजस्ता कुरुप महिलालाई यो अनुहार कितावको के महत्व छ र ?’ मलाई त्यो क्षण, कुनै दुखद सपना जस्तो लागेको थियो ।

    त्यसको भोलिपल्ट फेरि उनको तस्वीरको ठाउँमा ऐश्वर्या रायकै तस्वीर मुस्कुरायो । अनुहार किताबभित्रको त्यो एउटा अनुहार, जो अरुको सुन्दर अनुहार सापटी मागेर बाँचिरहेको छ, के उसलाई आफ्नो अनुहारको अस्तित्वमा बाँच्ने अधिकार छैन ? अब मेरी पायलसित फेरि एकपटक च्याट भए म यही प्रश्न गर्ने हिम्मत बटुलेर फेसबुकभित्र नयाँ–नयाँ गजल बोकेर बाँचिरहको छु । खोइ, अचेल मेरो गजलमा सबैको प्रतिक्रिया छ, मेरी पायलको छैन ।

     

     

     

    Sent from my iPhone

  • नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

    नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

    न्यूयोर्क 

    नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित घ्याल्सुन्दो समाजको सभाहलमा नेपाली मुक्तक मेला सम्पन्न भएको छ । आईतबार ८ तारिख मध्यान्ह तिर शुरुभएको मुक्तक मेला करिव २ घण्टा चलेको थियो । अमेरिकामा पहिलो पटक भएको नेपाली मुक्तक वाचन कार्यक्रम नेपाली भाषा साहित्यको क्षेत्रमा थप आयाम भएको आयोजकको तर्फबाट साहित्यकार आनन्द श्रेष्ठले बताए । कार्यक्रममा करिब दुई दर्जन श्रष्टाहरुले आ-आफ्ना रचना बाचन गरेका थिए ।

    मेलाका प्रमुख अतिथ्यता नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले गर्नु भएको थियो । विदेशमा नेपाली समुदायको पहिचान स्थापित गराउन यस्ता साहित्यिक कार्यक्रमले ठूलो महत्व राख्ने धारणा भट्टराईले राखेका थिए । नेपालबाट कार्यक्रममा सहभागी हुन आएका मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले मुक्तक आकारमा सानो भए पनि यो लेख्न त्यति सजिलो नभएको र मोटो गद्य पुस्तकभन्दा उत्कृष्ट मुक्तक शक्तिशाली हुने अभिव्यक्ती दिएका थिए । साहित्यिक रेडियो प्रस्तोताको रुपमा ख्याति बनाईसकेका पौडेलको अभिव्यक्तीको समय कार्यक्रम थप स्तरीय महसुस गरिएको थियो । 

    न्यूयोर्कका डा. तारा निरौलाले मुक्तक शक्तिशाली विधा भएको धारणा राख्नुभयो । साहित्यकार डा. मधु माधुर्यले नेपाली मुक्तकको इतिहास पुरानो भएको बताउँदै वर्तमानमा मुक्तक विधाप्रति साहित्यकारहरूको आकर्षण बढेको सकारात्मक हो भन्नु भयो । सञ्चारकर्मी शैलेश श्रेष्ठले कार्यक्रममा वाचित मुक्तकबाट आफूलाई हौसला मिलेको र आगामी दिनमा लेख्न प्रयास गर्ने बताए ।

    गजलकार/मुक्तककार आनन्द श्रेष्ठले नेपाली मुक्तक विधाको विकास र विस्तारका लागि न्यूयोर्कमा आगामी दिनमा नियमित कार्यक्रम गर्ने जानकारी गराए । कार्यक्रममा नदिया लिवाङ, ज्योतिकुमार श्रेष्ठ, पद्मा लिंखा मगर, डा. गोविन्द कोइराला, रश्मि भट्ट, विनोद रोका, कुन्ती थापा, लक्ष्मी श्रेष्ठ, पुष्पा अधिकारी, किशनसिंह धामी, विजया सिंखडा, व्याकुल पाठक, अच्युत सिग्देल, शान्ता अधिकारी घिमिरे, पुनम काफ्ले, पुरुषोत्तम पन्थी, सौरभ कारञ्जित, सिर्जना शर्मा, कमला प्रसाईं, कविनविक्रम शाह, बद्री पौडेल, ज्योति पौडेल, जानुका वस्ती ढकाल लगायतका श्रष्टाहरुले आआफ्ना मुक्तक वाचन गरेका थिए । पहिलो पटक नितान्त एक बिधालाई लिएर गरिएको कार्यक्रमबाट सहभागीहरु उत्साहित र हौसिएका देखिन्थे ।

  • प्रज्नाले निकालिन् गित

    प्रज्नाले निकालिन् गित

    विश्व न्यूज संवाददाता
    अमेरिका ।
    अमेरिकाको केन्टकी राज्यमा बस्ने ८ वर्षिया प्रज्ना पाठकले फर्कि आऊ बोलको गित वजारमा ल्याएकी छन् । मणि भट्टराईको शब्द र स्वरुपराज आचार्यको संगितमा निकालिएको गितमा बाध्यताले परदेशीया बुबाहरुलाई स्वदेश फर्कन आग्रह गरिएको छ ।
    पश्चिमा संगितामा समेत अब्बल प्रज्नाले सानो उमरेदेखिनै. गित गाउन थालेकी थिइन् । उनले ६ वर्षको उमेरमा द न्यू गर्ल इन टाउन नामक पुस्तक समेत प्रकाशन गरी त्यस पुस्तक विक्री गरी संकलित २ हजार ५ सय डलर बाल अस्पताललाई सहयोग गरेकी थिइन् । उनका बुबा मुर्रे स्टेट युनिभर्सिटीका एशोसिएट प्रोफेसर मनोज पाठकले छोरी प्रज्नालाई गित – संगितमा रुची भएकाले त्यही वातावरण प्रदान गरिरहेको बताए ।