Category: स्थानीय

  • माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते

    माओवादी केन्द्रका मातृका यादव पराजित, कार्कीले जिते

    धनुषा । धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए ।

    तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाए । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।

  • गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो

    गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा सुजातालाई एमालेले हरायो

    नेपाली कांग्रेसकी नेता सुजाता कोइराला पराजित भएकी छिन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । यो गिरिजा प्रसाद कोइराला निर्वाचित भइरहने क्षेत्र हो । तर, सुजाता भने एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल ३३ हजार १४८ मत ल्याउँदै विजयी भए । कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छिन् ।


    यसअघि कोइराला सुनसरी क्षेत्र नम्बर ५ (हाल ४) बाट पराजित भएकी थिइन् । उनी पराजित भएको दुवै क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले पटक पटक निर्वाचन जितेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी सुनसरी ५ बाट उम्मेदवार बनेकी थिइन् । तर पराजित भइन् । सुनसरी क्षेत्र नम्बर ५ बाट गिरिजाप्रसाद कोइराला २०५१ र २०५६ मा निर्वाचित भएका थिए । यो पटक पनि बुबाकै क्षेत्र मोरङ २ बाट उम्मेदवार बनेकी थिइन् । गिरिजाप्रसादले २०४८, ०५१ र ०५६ मा मोरङ–१ बाट चुनाव जितेका थिए, उक्त क्षेत्र हाल मोरङ–२ मा पर्छ ।

  • नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

    नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

    काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाए । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।

  • रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

    रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

    गौर । रौतहटमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गौरमा गतराती यस्तो घटना भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । गौर नगरपालिका १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

    आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् । प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो ।

    सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो । आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुगेका थिए । गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।

  • कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद

    कमल थापा हार नजिक, एमालेलाई दिए धन्यवाद

    काठमाडौं । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापा हार नजिक पुगेका छन् । मत गणना जारी रहँदा उनले हार स्वीकारसमेत गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापाको क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिइरहेकी छन् ।

    डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद दिएका छन् ।

  • बाँकेबाट राप्रपाले खोल्यो जितको खाता

    बाँकेबाट राप्रपाले खोल्यो जितको खाता

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट राप्रपाले जितको खाता खोलेको छ । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भए ।

    उनी २९ हजार ५७७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाएका छन् । राणा सो क्षेत्रमा चर्चित राजनीतिज्ञ हुन् ।

  • गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु

    गुल्मीमा जिप दुर्घटना, कम्तिमा ४ को मृत्यु

    काठमाडौं । गुल्मीमा भएको जीप दुर्घटनामा कम्तिमा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ ।

    दुर्घटननामा सत्यवती गाउँपालिका ३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

  • जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता

    जुम्लाबाट सांसद बन्ने होडमा ज्ञानेन्द्र शाही, उच्च अन्तरको अग्रता

    काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

    नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् । जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका थिए । स्थानीय तहमा समेत यो क्षेत्रमा माओवादी पहिलो पार्टी हो ।

  • सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

    सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

    काठमाडौं । काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो । राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । काठमाडौंमा दुई पांग्रे सवारी साधन बढी असुरक्षित बन्दै गए पनि सरकारले सार्वजनिक यातायात सुधारमा कुनै ध्यान दिन नसक्दा मानिसहरुले अकालमा ज्यान गुमाएका छन् ।

  • सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

    सोलुखुम्बुमा खटिएका मतदान अधिकृत मृत भेटिए

    सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ पुगेका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय गए राती सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि मधुमेह र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगिसकेको छ ।

  • आज रातीबाट निर्वाचनको प्रचार प्रसार गर्न नपाइने

    आज रातीबाट निर्वाचनको प्रचार प्रसार गर्न नपाइने

    काठमाडौं । नेपालमा आज रातीबाट निर्वानको प्रचार प्रसार गर्न नपाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

    यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। यसैबीच, निर्वाचनका लागि सुरक्षा रणनीति पनि तयार भइसकेको छ । जसअनुसार अतिसंवेदनशील मतदानस्थलमा हवाई गस्तीको पनि व्यवस्था गरिएको छ ।

  • नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

    नुवाकोटमा आमा-छोरीको विभत्स हत्या, एक जना पक्राउ

    नुवाकोट । नुवाकोटमा आमा छोरीको विभत्स हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ छन् जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

    घटनालगत्तै उनी फरार थिए । उनी काठामाडौँतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको प्रहरीले बताएको छ ।

  • पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

    पौडी खेल्ने क्रममा सिरहामा तीन जना बालकको डुबेर मृत्यु

    काठमाडौं । सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । उनीहरु भारतीय रहेको प्रहरीले जनाएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी गराएका छन् ।

    आइतबार इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भएको थियो । अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

    रौतहटमा प्रभु साहलाई समर्थन गरेका ५ जनप्रतिनिधिलाई एमालेको स्पष्टीकरण

    रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेपछि नेकपा एमालेले रौतहटका ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो ।

    पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन नेकपा एमालेको मधेस प्रदेश कमिटीले उनीहरुका नाममा पत्र काटेको छ । अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको छ । प्रभु साहले नेकपा एमालेको टिकट लिएर पनि रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनलाई सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

  • फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

    फुलचोकीमा हराएका ४ जनाको ११ घण्टापछि उद्धार

    ललितपुर । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ धण्टापछि उद्धार गरिएको छ । फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने १२५ जना विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक पनि थिए। शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए।

    छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ। शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ। उनीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

  • सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

    सुदुरपश्चिम भेगमा ५.१ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।


    दार्चुलालगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । डोटीमा भने भूकम्पको धक्का पछि स्थानीयको भागाभाग भएको छ । भुकम्पको क्षतिबारे कुनै जानकारी भने आएको छैन ।

  • बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

    बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

    काठमाडौँ

    दिर्घजिवी स्वयंसेवी संस्थाका संस्थापक अध्यक्ष समिर श्रेष्ठले लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीको सहकार्यमा काठमाडौँ देखि इलामसम्मको साइकल यात्रा सम्पन्न गरेका छन् । ‘ह्विल्स अफ होप’ नाम दिएर नोभेम्बर ६ मा साताव्यापी साइकल यात्रा सुरु गरिएको थियो ।

    बाल्यकालमा लाग्ने क्यान्सरबारे सचेजना जगाउने उद्धेश्यले साइकल यात्रा आयोजना गरिएको लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीका प्रेसिडेन्ट महेश दाहालले जानकारी दिए ।

    नेपालमा बर्षेनी १६ सय बालबालीका क्यान्सरबाट पिडित हुने गरेका छन् । बाल्यकालको क्यान्सरबारे सचेतना जनाउन दिर्घजिवी स्वयंसेवी संस्था निरन्तर सकृय छ । पहिलो दिन चितवनसम्म पुगेको साइकल यात्रा त्यसपछि क्रमशः निजगढ लाहान इनरुवा झापा हुँदै शुक्रबार इलाम पुगेर सम्पन्न भएको हो।

  • बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    बसुन्धरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा कालिका ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका ५ वर्षीय कल्पना राना मगर छन् । प्रहरीले ना. ८ ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

  • प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    प्युठानमा जिप दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    प्युठान । प्युठानमा भएको जिप दुर्घटना परी कम्तिमा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।

    प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

    चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् । गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।
    जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

  • डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    डोटी भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुग्यो

    काठमाडौं । पश्चिम नोपलको अधिकांश भूभाग मंगलबार रातभर भूकम्पको त्रासमा रह्यो । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ ।

    स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो ।

    भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो । भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।

    गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु

    असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु

    सुर्खेत\रासस । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिए ।


    “असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश÷दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो”, उनले भने, “विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।” त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक÷एक गरी २५ व्यक्ति बेपत्ता भएको उनले जानकारी दिए ।

    चालु आव ०७९र०८० को साउन, भदौ र असोज महिनामा विपद्बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।

    त्यस्तै, तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७(१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले बताए । उनका अनुसार विपद्बाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् ।

    कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । “विपद्को समयमा एक सय २८ मान्छेको उद्धार गरिएको थियो”, सचिव भुसालले भने, “खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।”

    विपद् कुनै पनि बेला हुनसक्ने जनाउँदै उहाँले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

  • दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ

    दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ

    दाङ । दाङमा तीन साता अगाडी एउटै खाल्डोमा पुरिएको अवस्थामा भेटिएका किशोर किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी भएको छ । रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई सार्वजनिक गरेको छ ।


    दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न विद्युतीय धराप थापेका थिए । सोही धरापमा परी रोशनी र शदरको ज्यान गएको प्रहरी अनुसन्धानले देखाएको छ । तुलसीपुर १३ स्थित जनकल्याण सामुदायिक वनमा उनीहरू दुबैको शव एकै ठाउँमा पुरिएको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।

    एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको हो। पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ।

    शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । त्यसपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा लुकाएका थिए । पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू बिरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ।

  • पूर्वी नेपालमा भूकम्प

    पूर्वी नेपालमा भूकम्प

    काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ ।

    आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६ रेक्टरस्केल भन्दा साना भूकम्प निरन्तर जाने गरेका छन् ।

  • लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पुण्यप्रसाद बोहोराको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का २७ वर्षीय बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पाण्डेका अनुसार शनिबार राति १० बजे लोकन्थलीमा प्र ३ङ०२–०१२प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

  • निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा

    निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा

    डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ,” शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।”

    सो अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए । प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे, “केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?” प्रधानमन्त्री देउवाले भने, “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।”

    उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे । प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ छ । उनले भने, “अति नै भएपछि हामी अदालत गएका हौँ ।”

    सभालाई सम्बोधन गर्दै उहाँले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, “खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । ” सम्बोधनका क्रममा उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा जोड दिए । (रासस)

  • श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या

    श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या

    दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं। १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्।

    चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो। बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन्। उनीहरू घोराही १५ स्थित निरूको फुपुको घरमा गएका थिए। बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए। श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए।

    तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन्। निरू एउटा कोठामा मृत फेला परेको र अर्को कोठामा नवीन झुण्डिएको अवस्थामा फेला परेको डिएसपी गौतमले जानकारी दिए। निरुको घाँटी थिचेर हत्या गरेपछि नवीनले अर्कै कोठामा गएर आत्महत्या गरेको खुलेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले जानकारी दिए।

  • तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ

    तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ

    रुपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई उदृत गर्दै राससले जनाए अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए।

    प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि २५ हजार रूपैयाँ पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो। सोमबार साँझ नै प्रहरीले बा ८ च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा त्रिपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए। फिक्का निलो रङको कारको टुक्रा घटनास्थलमा भेटिएको थियो।

    सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो। सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए।

  • इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

    इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल  ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो । त्यसक्रममा  मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए ।
    गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । 

    बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
    बिहिवार  बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् ।  घाइतेहरूको अवस्था सामान्य छ । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेकाे थियो । 

    अहिले भने अवस्था सामान्य रहेको छ । शान्त भएको विवाद राती बढ्न सक्ने आशङ्कामा त्यस क्षेत्रमा आज बिहीवार दिउँसाे ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

  • अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

    सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।

    सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी गराएका छन् । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।

    यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा  सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । उनीहरुको  बुटवलमा उपचार जारी छ ।