Category: स्थानीय

  • एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेट आजदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको हो । अब भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु चल्ने छैनन् ।

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ ।

    नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । अब भने दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ । विदेशबाट फर्किंदा साथीभाइ वा आफन्तका लागि उपहार स्वरुप कसैले आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै छ भने आजदेखि भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्नुपर्छ ।

    दुईभन्दा बढी मोबाइल सेट ल्याउन खोजे जफत नै हुन्छ । कसैगरी छलेर मोबाइल भित्राइयो भने पनि मोबाइल सेटमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन–म्यासेज केही गर्न मिल्दैन । मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने एमडीएमएस प्रणालीले औपचारिक रूपमा दर्ता भएका र नभएका मोबाइललाई छुट्याउन सघाउँछ । करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई हानी भइरहेको तर्क गरेर यो प्रणाली स्थापना भएको हो ।


    नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल यो प्रणाली नेपालको मोबाइल बजारलाई पूर्ण वैधानिक बनाउन सहयोगी हुने बताउँछन् । एमडीएमएस नेपालको मोबाइल सेवामा जोडिएका फोनहरूको आधिकारिक तथ्यांक राख्ने प्रणाली हो । मोबाइल फोनको आयातको आधिकारिकता जाँच्न सक्ने गरी स्थापित प्रणाली भएकाले यसबाट भन्सार छलेर नेपालमा मोबाइल भित्रिन नदिने मुख्य उद्देश्य राखिएको छ ।

    नेपाली बजारमा आउने फोन सबै वैधानिक माध्यमबाट आएका हुँदैनन् । वैधानिक रूपमा फोन आयात गर्नेहरूले फोनको आईएमईआई नम्बर ९१५ अंकको युनिक नम्बर, जो मोबाइलमा ‘स्टार ह्यास (६ ह्यास’ डायल गर्दा देखिन्छ) दूरसञ्चार प्राधिकरणलाई आयात गर्नुअघि नै बुझाइसकेका हुन्छन् । ती नम्बरहरू प्राधिकरणका सबै रेकर्डमा हुन्छन् ।

    तर, बजारमा अवैध बाटोबाट पनि फोन आयात हुन्छ । भारतीय बजारबाटै पनि सीमावारी ल्याएर फोन बेच्ने गरिएको छ । यस्ता चोरीको बाटोबाट आउने फोनको रेकर्ड प्राधिकरणमा हुँदैन । यसैकारण वैधानिक बाटोबाट आएका फोन पहिचान गर्न र अवैध बाटोबाट आएका फोन नेपालमा चल्न नदिन यो प्रणाली बनाइएको हो । यसअनुसार आईएमईआई दर्ता नभएका फोन कालोसूचीमा पर्नेछन् र तोकिएको दिनभित्र दर्ता नगरिए मोबाइल सेवा दिन नसक्ने गरी ‘ब्लक’ हुनेछन् ।

  • बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    बझाङ । बझाङमा गतराति ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो ।

    उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ । झोलुङ्गे पुलको सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटनाम परेको बताइएको छ ।

  • त्रिपुरेश्वरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    त्रिपुरेश्वरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । घाइते सुनारको उपचारका क्रममा काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो।

  • धरानका मेयर हर्कलाई अदालतको आदेश : साबुन उद्योगको काम अगाडी नबढाउ

    धरानका मेयर हर्कलाई अदालतको आदेश : साबुन उद्योगको काम अगाडी नबढाउ

    काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो । मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

    न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । मेयर साम्पाङले कार्यपालिका बैठकको निर्णयको आधारमा उद्योग निर्माणको काम सुरु गराएका थिए ।

    तर वनको जग्गामा अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्यांकन पनि नगरेका कारण अदालतले काम रोक्न अन्तरिम आदेश दिएको हो । मेयर साम्पाङले ‘माया धराने’ साबुन उद्योगका लागि काम थालेका थिए । उद्योगका लागि उनले श्रम दान पनि सुरु गरेका थिए ।

  • चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

    चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु

    सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोका कारण दुई जनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको समाचार एजेन्सी राससले जनाएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ। केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो। दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए।

    एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दै आएका थिए। किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङ्ग्रिएर ज्यान गएको बताए। स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए।

    रमेशको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएकोबारे आफूलाई पनि कसैले जानकारी नगराएको वडाध्यक्ष रायले बताए। उनले चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको बताए।

  • झापामा दम्पत्ति मृत फेला

    झापामा दम्पत्ति मृत फेला

    झापा । झापामा एक दम्पत्ति मृत फेला परेका छन् । झापाको चारआली जंगलमा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ । सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका १३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो। उनीहरू श्रीमान–श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतक अर्जुनधारा नगरपालिका(११ बस्ने ५२ वर्षीय नेत्रकुमार इङनिम लिम्बू र उनकी ४२ वर्षीया श्रीमती सञ्जु लिम्बू छन्। उनीहरू मंसिर २१ गतेपछि परिवारको सम्पर्कमा नभएको बताइएको छ । डिएसपी पाठकका अनुसार शव केही गलिसकेको पनि छ। एउटाको डोरी चुँडिएर भुइँमा खसेको अवस्थामा शव फेला परेको थियो। स्थानीयले दिउँसो दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको देखिएको छ ।

  • प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा

    प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने भन्दै ललितपुर महानगरपालिकाको प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।

    प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जबाफदेही हुनुपर्ने बताए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरेका छन् । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए ।

    प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमुना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षणको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे ।

  • नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु

    नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु

    काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ ।

    ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । नेपाली सेनाका अनुसार विपत् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सो संयुक्त अभ्यास सुरु गरिएको हो ।

    यस संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपत् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्नेछन् । नेपाली सेनाबाट ३३४ जना र भारतीय सेनाबाट ३३४ जना सहभागी रहेको उक्त संयुक्त अभ्यास पुस १४ गते सम्पन्न हुनेछ । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास अहिलेसम्म दुवै देशमा गरी १५ पटक सम्पन्न भइसकेको छ ।

  • सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

    सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते

    सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो ।

    पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी गराएका छन् । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी रहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।

  • रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

    रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु

    काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय प्रान्त बिहारमा रक्सी बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको छ । तर, यसै प्रान्तमा विशाक्त रक्सीको सेवनबाट कम्तिमा ४३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो मानवीय क्षति पछिल्लो दुई दिनमा सारण जिल्लामा भएको हो । छपराको मसरक बजारमा घटेको घटनाले बिहारमा राजनीतिक तरंग समेत ल्याएको छ । खासगरी नीति कार्यान्वयनमा सरकार असफल भएको आरोप लगोको छ । मंगलबार मध्यरातिबाट अस्पतालमा बिरामी आउन थालेका थिए ।

    पछिल्लो दुई दिनमा हरेक एक घण्टामा रक्सी सेवन गरेका व्यक्तिको अस्पतालमा मृत्यु भएको देखिएको छ । ‘देशी शराब’ अर्थात् घरेलु प्रविधिबाट स्थानीय तहमा बनाइएका रक्सीको सेवनपछिको घटनाले त्यहाँको गरिब बस्ती शोकाकुल बनेको छ । प्रशासनले माइकिङ गरेर उपचारका लागि आउन आह्वान गरिरहेको छ । प्रहरीले घटनाको छानबिनका क्रममा १ सय २६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बनमा परेका छन् ।

  • पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ

    पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ

    पोखरा । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं। ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ छन् । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्य नभएको मौका पारी सुनका गहना र नगद चोरेको आरोप छ ।

    पीडित ९ जनाले अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि रामबजारबाट खटिएको प्रहरीको विशेष टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला

    चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । बुधबार र बिहीबार गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले जनाएको छ। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले ९केटो० गैंडा मृत भेटिएको थियो। उक्त केटोको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

    बिहीबार पनि अमलटारी सेक्टरकै लामिचौर पोष्टअन्तर्गतको गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको तिवारीले बताए। बिहान करिब ६ बजेको समयमा गस्ती टोलीले अन्दाजी १५ वर्षको उक्त गैंडा मृत अवस्थामा भेटेको उनले बताए। अन्दाजी १५ वर्षको पोथीको अर्को गैंडासँग जुधेर मृत्यु भएको अनुमान गरिएको छ। उक्त गैंडाको खाग र खुर सुरक्षित छ। चितवन निकुञ्जका अनुसार यस आर्थिक वर्षभित्र ५ वटा एक सिंगे गैंडाको मृत्यु भएको छ।

  • आज काठमाडौं महानगर दिवस, कामकाज बन्द

    आज काठमाडौं महानगर दिवस, कामकाज बन्द

    काठमाडौं । आज काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म सेवा बन्द गरिएको छ । महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी गराएको छ ।

    महानगरले हरेक मंसिर २९ मा महागर दिवस मनाउने गर्छ । ‘काठमाडौं महानगर, मातहतका सबै विभाग,आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ। महानगरपालिकाले साताव्यापी रुपमा कार्यक्रम गरी दिवस मनाइरहेको छ ।

  • काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

    काभ्रे दुर्घटनाका मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

    काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये १३ जनाको पहिचान खुलेको छ। प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ।

    बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको छ । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो। बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बसमा ३९ यात्रु सवार थिए।

  • काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    काभ्रे दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    काठमाडौं । काभे जिल्लाको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बेथानचोक(४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो । १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले पुष्टी गरेका छन् ।

    मृतकको पहिचान भने भइसकेको छैन । शिर मेमोरियलमा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार जारी छ । जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।

  • काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु

    काभ्रेको बेथानचोकमा बस दुर्घटना, कम्तिमा १३ को मृत्यु

    काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

    काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ । विस्तृत खबर आउन बाँकी छ ।

  • जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले पुष्टी गरेका छन् ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवारी चालक भगवतीमाई गाउँपालिका २ दैलेखका मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का छन ।

    उता, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते छेडागाड नगरपालिका–२ का जयलाल अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको बताइएको छ ।

  • कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइरहेको छ । फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको निरीक्षण गर्न गएको जेसीबी फर्किने क्रममा दुर्घटनामा परेको समाचारमा उल्लेख छ ।

    दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय चरित्र सार्की, वडा नम्बर २ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि उपचारका लागि कालीकोट जिल्ला अस्पताल पुर्याइएका रास्कोट नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा ज्यान गएको छ ।

    जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो जेसीबी चालकसहित तीन जना बेपत्ता भएको कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेदेखि बेपत्ता सबै स्थानीय रहेको प्रहरीले जनाएको छ। चालक भने कर्णाली हाइड्रोपावरका कर्मचारी हुन् ।

  • मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

    मणिपाल अस्पतालबाट खसेर महिलाको मृत्यु

    पोखरा । पोखरा ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खस्दा एक महिलाको ज्यान गएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

    छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको जनाएको छ । जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अस्पताल प्रशासन र पीडित परिवारबीच आजै वार्ता समेत भएको थियो ।

  • उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

    उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

    काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।
    अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् ।

    दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए । नेपालका विमानस्थलहरु चराको गतिविधिका कारण असुरक्षित मानिन्छन् ।

  • हँसिया प्रहार गरी कैलालीमा एक जनाको हत्या

    हँसिया प्रहार गरी कैलालीमा एक जनाको हत्या

    कैलाली । कैलालीमा हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ । हत्या मृतकका भिनाजुबाटै भएको प्रहरीले जनाएको छ । हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते भएको समेत प्रहरीको भनाई छ ।

    घाइते जयराजलाई कोहलपुरको अस्पतालमा उपचार जारी छ । घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको समेत जनाइएको छ ।

  • दोलखामा पुनः माओवादीले लियो अग्रता

    दोलखामा पुनः माओवादीले लियो अग्रता

    काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतगणना जारी छ । जहाँ सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ। आइतबार बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेका थिए । तर, पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्।

    जारी मतगणनाको ४९६३५ मत गणनामा माओवादीका कार्की २१ हजार ४१२ मतसहित अघि लागेका छन्। त्यहाँ एमालेका शिवाकोटी २१ हजार १४३ मतसहित पछि परेका छन्। शिवाकोटीलाई कार्कीले २६९ मतले उछिनेका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले २६९१ मत ल्याएका छन्।

  • गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दै सेना

    गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दै सेना

    काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेपछि डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको छ । शंकास्पद वस्तु भेटिए पछि सो क्षेत्रलाई प्रंहरीले सिल गरेको थियो । आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट गराइएको थियो । त्यसबेला समेत घरमा क्षति पुगेको थियो । अहिले बास्कोटा लोकन्थलीस्थित घरमा भने नभएको बताइएको छ । उनी काभ्रेस्थित घरमा रहेको बेला भक्तपुरमा यस्तो वस्तु राखिएको हो । शंकास्पद वस्तु कसले राखेको बारेमा नखुलेको समेत प्रहरीले बताएको छ ।

  • धनुषामा जन्ती बोकेको जिप दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    धनुषामा जन्ती बोकेको जिप दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    जनकपुर । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किदै गरेको जिप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृतकको पहिचान खुलिनसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख कार्यालयमै मृत फेला

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख कार्यालयमै मृत फेला

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार शुक्रबार दिउँसो धुलिखेल नगरपालिका ७ स्थित कार्यालय भवनको चौथो तलाको छतमा मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार ५० वर्षीय उनी लमजुङ घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका थिए। बिहान अफिस आएका उनी करिब ११ बजेतिर छतमा भएको ट्रसमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।

  • नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    नवलपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ ।

  • बैतडीमा एक युवती मृत फेला, एक घाइते

    बैतडीमा एक युवती मृत फेला, एक घाइते

    बैतडी । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहारको समेत घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेको प्रहरीको भनाई छ ।

    मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका रहेको बताइएको छ । उनीहरू मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको प्रहरीले जनाएको छ । खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

  • टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

    कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षका सन्देश कार्की घाइते भएका छन् ।

  • माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित

    माओवादीका उपमहासचिव गिरिराजमणी पोखरेल महोत्तरीमा पराजित

    काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए ।

    यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् । माओवादीका महासचिव देव गुरुङ समेत यस पटक एमालेसँगै पराजित भएका छन् ।

  • गृहमन्त्री बालकृष्ण खाँड पराजित

    गृहमन्त्री बालकृष्ण खाँड पराजित

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्। बोहराले ३६,७१७ मत पाएर निर्वाचित भए ।सुरुवाती मतगणनाबाटै झिनो मतअन्तरले प्रतिस्पर्धा गरिरहेका खाँड २६८१ मतले पछि परे। उनले ३४,०३६ मत पाए। पूर्वमन्त्री समेत रहेका बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन एमालेका उपमहासचिव घनश्याम भुसालसँग पराजित भएका थिए।

    अघिल्लो निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका खाँड यो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका खाँड २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रको रूपमा चिनिएका खाँड यसअघि रक्षा र सिंचाइमन्त्री तथा शिक्षा तथा खेलकुद राज्यमन्त्री भइसकेका छन्। बोहरा पनि पञ्चायतकाल देखि प्रजातन्त्रकालसम्म पटक पटक मन्त्री र सांसद भइसकेका छन् ।