रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
खोजी अभियान शनिबारबाटै थालिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आइतबार पुनः खोजी थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बबई नदी गहिरो छ ।
बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृत्यु हुने मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ ।
बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत हुन् । घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो ।
मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिएका छन् । घटनाको थप विवरण आएको छैन ।
झापा । झापामा आफैलाई गोली हानेर एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको को गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर घाइते बनाएका एक व्यक्तिले ‘आत्महत्या’ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको अनुमान गरिएको छ ।
उनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानेर घाइते बनाएको समेत बताइएको छ । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार जारी छ । उनी सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त भएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको छ ।
सल्यान । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी छन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा उनिहरुलाई अरिङ्गालले टोकेपछि उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा उपचारपछि मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार गम्भीर घाइते शोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको हो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका नवीन बस्नेतको भने श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार जारी छ ।
झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार साँझ मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकलाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।
मत्यु हुनेमा मे३प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे५प १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५ः२५ बजे मृत्यु भएको हो । घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ ।
दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुई जना किशोर–किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।,
उनीहरु तीन दिनअघि बाट सम्पर्क बिहिन थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेसँगै गाउँमा शोक छाएको छ । घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान थलेको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए ।
पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए । उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताए ।
दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा छन् । उनले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीब्र बनाएका छन् । रासस
काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल रद्द गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो । प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘‘।।कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’ तर, डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।
काठमाडौं । राष्ट्रिय खेलकुदको नवौं संस्करण आजबाट औपचारिक रुपमा शुरु हुँदैछ । यसअघि अनौपचारिक रुपमा खेलहरु भने जारी छन् । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुनेछन् । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ ।
गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैन । आगामी कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।
एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रंगशालामा हुनेछन् । आर्चरी र फेन्सिङ पनि पोखरा रंगशालामा हुनेछ । जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने छ ।
पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्समा हुनेछन् । साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुने छन् । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।
पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने छ भने म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ । बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । सुटिङ काठमाडौंमा हुनेछ ।
बारा । बारामा एउटै परिवारका तीन जनाको हत्या भएको छ । बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोका बस्ने दीपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र बच्चाको शव तीन सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ । दीपेन्द्र भने राती घाइते अवस्थामा भेटिएका थिए । उनको टाउकोमा चोट लाग्नुका साथै दाहिने खुट्टा र ढाड भाँचिएको छ ।
उनको अस्पतालमा उपचार जारी छ । सुजाताको माइती जीतपुरसिमरा–९ छातापिपरा हो । प्रहरीका अनुसार चारै जना घरबाट सँगै निस्किएका थिए । दीपेन्द्रले श्रीमती र छोराछोरी डोरा खोलामा घोंगी खोज्न गएको जवाफ दिएका थिए । प्रहरीका अनुसार मंगलबार सुजाताको माइती पक्षले प्रहरी कार्यालयमा खोज तलासका लागि निवेदन दिएका थिए । माइती पक्षले बुधबार पुनः अस्पताल गएर ज्वाइँ दीपेन्द्रसँग कुराकानी गर्दा दीपेन्द्रले खेतनजिकै खोलामा सुजाता र छोराछोरीलाई कसैले मारेको र आफू भागेको बयान दिएका थिए ।
दीपेन्द्रले भनेको ठाउँमा प्रहरी टोली लिएर पुग्दा छोरी र नाति नातिनीहरुको शव भेटिएसँगै प्रहरीले हत्या दीपेन्द्रले नै गरेको हुन सक्ने आशंका गरेका छ । पालैपालो घाँटी रेटेर हत्या गरिएको जस्तो अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ ।
काठमाडौं । एमाले नेता विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी दर्ता खारेज भएको छ । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । अन्य दुई भने हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो ।
अब नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचनमा सहज हुने आंकलन गरिएको छ । गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको पाइएको छ ।
काठमाडौं । पश्चिम नेपालमा बाढी र पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । २० जना वेपत्ता भएका छन् । निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ । २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा पनि घर पुरिँदा ४ जनाले ज्यान गुमाएका छन् । कालीकोटमा बेपत्ता भएका २३ मध्ये ४ जनाको शव फेला परेको छ ।
पाँच दिनदेखिको भीषण वर्षाका कारण गाउँमाथिबाट ठूलो पहिरो आउँदा सालिम गाउँकी ६१ वर्षीया हाजिरा भग्री, ३० वर्षीया होइजाली भग्री, १६ वर्षीया सुस्मिता भग्री, ४२ वर्षीय वीरबहादुर ऐडी, २४ वर्षीय सत्ता सावत, ३२ वर्षीय कृष्ण सावत, १६ वर्षीय चक्रबीर बोहरा र १३ वर्षीया गौकला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार बेपत्ता ९ मध्ये सोमबार ८ को शव भेटिएको हो । करिब डेढ दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । विस्थापितलाई प्रभात माध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।
हुम्लाको चंखेली–६ देनबाडास्थित देउच्या विकको घर पुरिँदा श्रीमतीसहित एक छोरा र दुई छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया होइजाली विक, ९ वर्षीया छोरी तुल्सी विक, ७ वर्षीया सुस्मिता विक र ५ वर्षीय छोरा वसन्त विकको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लगातार वर्षा र राति घटना भएकाले सोमबार बिहान मात्र प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनामा देउच्या विकसहित ३ जना गम्भीर घाइते भएका छन् । ठाउँ–ठाउँमा पहिरो खस्दा कालीकोटका विभिन्न ठाउँमा बेपत्ता २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । तिलागुफा–४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । राचुलीका २२ वर्षीय हेमराज शाहीको मलामी गएकाहरूलाई माथिबाट आएको पहिरोले बगाएको थियो । उनीहरू तिला नदीको किनारामा दागबत्ती दिने क्रममा थिए । घटनामा २ बाँचेका टेकराज शाही र अबराज शाहीलार्ई उपचारका लागि हेलिकोप्टरमा सुर्खेत लगिएको छ ।
यस्तै, आइतबार बिहान साढे १० बजे तिलागुफा–७ बालीमा गएको पहिरोले घर पुरिँदा बेपत्ता ध्रुवराज विष्टका ५ परिवारमध्ये २ छोराको शव फेला परे पनि ३ जना अझै बेपत्ता छन् । त्यस्तै खाडाचक्र–८ सेराबाडामा पहिरोले बगाउँदा सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत, तिलागुफा–६ भैसेकी ८० वर्षीया लालका शाही र तिलागुफा–७ बालीमा अब्दुल बटु बेपत्ता छन् ।
पहिरोमा पुरिएका सान्नीत्रिवेणी–८ का १६ वर्षीय केवल केसी र पचालझरना–७ का ४७ वर्षीय परिलाल बोहराको शव भेटिएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ । ३ जना घाइतेको उद्धार गरिएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ ।
घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ । ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न नसकिएको समेत समाचारमा उल्लेख छ ।
काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धन भएपनि त्यो रुकुम पश्चिममा भने कार्यान्वयनमा आउन सकेन । दलहरुको अडानका कारण सबै दल एक्लाएक्लै भिठ्ने भएका छन् । यो नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावमा होमिएका छन्। उनीहरूले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्तासमेत गरिसकेका छन्।
रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ एउटा मात्रै क्षेत्र छ। माओवादीबाट जनार्दन शर्मा प्रतिनिधि सभातर्फ उम्मेदवार छन् भने प्रदेश सभा (क)मा महेन्द्र केसी र (ख) मा राजकुमार शर्मा उम्मेदवार छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा केन्द्रीय सदस्य मानबहादुर नेपाली उम्मेदवार छन् भने प्रदेश सभा (क) मा कृष्णबहादुर रोकाय र (ख) मा प्रेमप्रकाश ओली उम्मेदवार छन्। रोकाय प्रदेश महामन्त्री हुन् भने ओली जिल्ला सभापति हुन्। नेकपा एमालेबाट प्रतिनिधि सभामा जिल्ला अध्यक्ष नन्दराम देवकोटा उम्मेदवार छन्। यस्तै प्रदेश सभा क्षेत्र (क)मा नारायणकुमार शाह र (ख) मा कर्णबहादुर घर्ती उम्मेदवार छन्।
काठमाडौं । माओवादी छाडेर एमाले छिरेका प्रभावशाली नेता प्रभु साह एमालेबाट समेत अलग भएका छन् । उनले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको विरोधमा साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले एमाले सत्ताका लागि मात्र राजनीति गर्ने पार्टी भएको समेत बताएका छन् । जसपामाथि विभिन्न आरोप लगाउँदै साहले एमाले नेतृत्वले गठबन्धन गरेपछि आफू स्वतन्त्र उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं ।’
कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ नभएको उनको भनाई छ । साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।
काठमाडौं । कांग्रेसले नेता मिनेन्द्र रिजालको क्षेत्रमा नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । यससँगै उनले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । २०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट निर्वासिचत बनेका थिए । यस क्षेत्रमा लड्नका निम्ति रिजाल पनि दाबेदार थिए। तर पार्टी कमिटीले कोइरालालाई टिकट दिएको हो ।
कांग्रेस क्षेत्रीय समितिले त्यस क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो। शनिबार राति बसेको संसदीय बोर्डको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। २०७४ सालमा रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई रिजालले हराएका थियो । एमालेले भने त्यस क्षेत्रमा यसपटक पनि पोखरेललाई नै मैदानमा उतारेको छ ।
जुम्ला । जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।
प्रहरी निरीक्षक जोशीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । हेलिकोप्टर झिकाएर उनीहरुलाई उपचार गर्न सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर बाटाहरु सबै बन्द भएकाले हेलिकोप्टर झिकाउनुको विकल्प छैन ।
अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ। आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।
नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहीत संस्था ‘समता ग्लोबल सिनेट’ले, नेपाल स्थित समता शिक्षा निकेतनलाई आवश्यक सक्दो सहयोग जुटाउने आफ्नो अभियानमा जोडिएका सहयोगीहरुलाई सम्मान गर्न यस समारोहको आयोजना गर्न लागेको हो।
”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा, समता शिक्षाका संस्थापक तथा प्रमुख अभियान्ता-उत्तम संजेलले समभाव लिइ अभियानमा जोडिएर सिनेटर बन्न सफल भएका व्यक्तित्वहरुलाई, सिनेटरको उपाधिसहित सम्मान गर्नु हुने जनाइएको छ।
समारोहका बारेमा जानकारी दिदै समता ग्लोबल सिनेटका अध्यक्ष प्राध्यापक डाक्टर उत्तम गाँउलेले भन्नु भयो, ‘यो हाम्रो संस्था ‘समता ग्लोबल सिनेट’को एउटा महत्वपूर्ण शैक्षिक अभियान हो। हाल यो संस्था नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाइ नेपाल राष्ट्रनिर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्य राखेर, नेपाल स्थित ‘समता शिक्षा निकेतन’लाई यथासक्य सहयोग गर्ने अभियानमा जुटिरहेको छ। त्यही अभियान अन्तर्गतको हो यो अति महत्वपूर्ण सुशोभन समारोह। शिक्षा प्रेमि, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यस अभियानमा जोडिएर हातेमालो गर्दै नेपाल निर्माणमा योगदान पुर्याउने यो सुवर्ण अवसर हो। तसर्थ, इच्छुकहरुलाई समभावले सिनेटर बनेर अभियानमा जोडिन आव्हान गर्दछु।’ संस्थाको वेभसाइट हेर्नका लागि यहाँ क्लिक 👆गर्नुहोस् !
प्रा. गाँउलेले कार्यक्रमका बारेका थप प्रस्ट्याउदै भन्नु भयो, ‘खासमा सुशोभन समारोहमा संस्थाको शैक्षिक अभियानमा जोडिएर महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सिनेटरको उपाधिसहित सम्मान गरिने छ।’
गत वर्ष अमेरिकामा स्थापना गरिएको यस संस्थामा हाल २२ जना सिनेटरहरु रहेका छन्। यस वर्षको अन्तसम्ममा दुइसय जना सिनेटरहरु पुग्ने अनुमान गरिएको छ। संस्थाका अनुसार, समता सिनेटरको उपाधि पाउनका लागि १ हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्दछ।र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिवद्धता प्रमाणित हुनु पर्दछ। समता सिनेटरको उपाधि दिने/ नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।
समता ग्लोबल सिनेटको आयोजना तथा बोस्टन स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटि र पशुपतिनाथ बुद्ध फाउण्डेशनको आतिथ्यतामा हुने उक्त समारोहमा, मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको आयोजकले जनाएको छ।यससंगै, उक्त सुशोभन समारोहको सांगीतिक माहोलमा समता शिक्षा निकेतनका संरक्षक तथा बरिष्ठ कलाकार द्वय ‘मह’ जोडी( मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकालसंग बोस्टनवासीले साक्षात्कार गर्न पाउने छन्।
यसैगरी, हालसम्म सुशोभन कार्यक्रमहरु नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासामा हुने गरी कार्यक्रम तालिका तय भएको आयोजकले जनाएको छ।
समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। विद्यालयले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुँरिदा तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको समेत प्रहरीको भनाई छ । मध्यरातमा गएको पहिरोपछि बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।
बारा । बिहीबार बिहान भएको बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालक फरार छन् । १६ जनामध्ये १४ जनाको सनाखत भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान साढे १० बजे बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।
मृत्यु हुनेमा जिल्ला बारा कलैया उपमहानगर पालिका २ बस्ने अन्दाजी वर्ष ४० को लिलाराज चौधरी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, सोही ठाउँ कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कँडेलको छोरा अन्दाजी वर्ष १४ को सफल कँडेल, जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १६ बस्ने वर्ष ६५ को सोमप्रसाद चौरसिया, सोही ठाउँ बस्ने वर्ष ३६ कि मन्निदेवी चौरसिया, जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका ७ बस्ने वर्ष ५६ कि शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष १९ कि स्वस्तिका श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापालाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।
जिल्ला बारा कलैया उपमहानगर पालिका १० बस्ने वर्ष ३५ कि नाजलिन खातुन, सोही ठाउँकी वर्ष २६ को ईताजत अन्सारी, बाराको जितपुरसिमरा उपमहानगर पालिका २२ बस्ने वर्ष २८ को सुरेश बिक, जिल्ला ओखलढुङ्गा बस्ने पूर्व प्रहरी नायब निरीक्षक लालबहादुर बोगटी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कँडेल, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ५ बस्ने वर्ष ५० को सन्तोषकुमार राय रहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएका २ को हेटौडा अस्पतालमा शव रहेको र नामथर वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ । घाइते सबैलाई उपचारको लागी ९ जनालाई हेटौडा, ४ जना वीरगन्ज र १९ जनाको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्ललाई उदृत गदै सञ्चारमाध्यमले जनाए अनुसार बुधबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
काठमाडौं । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’
बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।
काठमाडौं । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलाई उदृत गर्दै सञ्चारमाधयमले जनाएका छन् ।
एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक गएराति साढे १२ बजे काठमाण्डौबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।
घाइते ३६ जनामध्ये दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो मेडिकल कलेज चितवन र एक जनाको हेटौँडा अस्पताल र एक जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जना हेटौँडाका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किएका प्रहरीको भनाई छ ।
काठमाडौं । काठमाडौंको बांगेमुढामा मेयर बालेन साहविरुद्ध नाराबाजी तथा पुत्ला दहन भएको छ । सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरे । डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाउँदै उनीहरु विरोधमा उत्रिएका थिए ।
स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् । महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावि गरे ।
अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो।’ उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे।
अध्यक्ष ओलीले एमालेको एजेण्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।उनले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए।
काठमाडौं । काठमाडौं उपत्यकाकै सुन्दर पर्यटकीय स्थल जगडोलमा तेश्रो चङ्गाचेट प्रतियोगिता सम्पन्न भएको छ । लगातार दुुई वर्ष कोभिडका कारण रोकिएको चंगाचेट र सांस्कृतिक कार्यक्रम यस वर्ष भने भब्य रुपमा सम्पन्न भएको आयोजक यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सञ्जय पौडेलले जानकारी दिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ जगडोलस्थित झण्डा पार्कमा कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष बडा दसैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा परम्परा जोगाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्न थालिएको अध्यक्ष पौडेलले बाए । कार्यक्रमको शुभारम्भ संयुक्त रुपमा पानसमा बत्ती बाल्दै वडा अध्यक्ष राजु अधिकारी र क्लबका सभापति सञ्जय पौडेलले गरेका थिए ।
चङ्गाचेट प्रतियोगितामा कुल ४५ प्रतिस्पर्धीले भाग लिएका थिए । जसमा प्रथम स्थान मिर्मिरे बिहानले हात पार्न सफल भए । श्रवण श्रेष्ठ दोस्रो बने । कार्यक्रमलाई तीन समुह बिभाजन गरेर प्रतियोगित आयोजना गरिएको थियो । दसैं लागेसँगै चङ्गा उडाउने परम्परा आधुनिकताका नाममा मसिदै गएका कारण यो परम्परा जोगाउन समेत कार्यक्रम गरिएको पौडेलको भनाई छ ।
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटनामा पर्दा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताएका छन् ।
दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५र२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको उनले बताए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने महोत्सवका लागि स्टल बनाउन रड,फलामका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए ।
हुम्ला । तिब्बत सीमामा पर्ने नेपाली गाउँ हिल्सामा एक सय किलोवाट सौर्य विद्युत् उत्पादन भएको छ । सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन भएसँगै हिल्सावासीको उज्यालोमा बस्ने सपना पूरा भएको छ । यो आयोजनाको मुख्य लगानीकर्ता ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सोलार मिनी ग्रिडबाट हिल्सामा एक सय किलोवाट विद्युत् उत्पादन सुरु भएको बताएका छन् ।
उपभोक्ताले घरमा बिजुली बाल्न सुरु गरिसकेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ । थापाका अनुसार एक वर्षअघिदेखि यो आयोजनाको निर्माण तथा सौर्य प्यानल खरिद, ढुवानी र जडानका लागि निर्माण कम्पनीसँग सम्झौता भए पनि हिमपातका कारण सामान ढुवानी गर्न नसकिएकाले काम ढिलो भएको थियो । अब नेपाली भूभाग हिल्सामा पनि पूर्ण रूपमा विद्युतीकरण भएको बताउँदै उनले हिल्साका एक सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।
हिल्सावासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा सुरक्षा चौकीलाई समेत अब विद्युत्को समस्या समाधान भएको छ । उक्त मिनी ग्रिडका लागि नेपाल सरकार, नाम्खा गाउँपालिका, फिनल्यान्ड सरकार र युरोपियन युनियनको गरी साढे चार करोड रुपियाँ खर्च भएको छ ।
हिल्साका होटल व्यवसायी कर्मा लामाले सौर्य विद्युत् उत्पादन भएपछि यसअघि व्यक्तिगत खर्चमा राखिएका सौर्य प्यानल, मैनबत्ती वा टुक्की बाल्नुपर्ने हिल्सावासीको बाध्यता अब हटेको बताए । मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएपछि त्यसको जिम्मेवारी हिल्सा सोलार मिनी ग्रिड सहकारी संस्थालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।