Category: स्थानीय

  • रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

    रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

    रोल्पा । रोल्पामा एक दम्पत्तिको शव फेला परेको छ । प्रहरीका अनुसार माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको हो । धारिलो हतियार प्रहार भएको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।

    उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव बुधबार दिउसो २ः३० वजे फेला परेको हो । प्रहरीले हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।

  • अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारु भएको छ । सडक बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।

  • कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

    कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

    तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्। पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्।

    २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए। उनी पराजित भएका थिए। भण्डारीले यसपालि तनहुँ १ मा उठ्न आवेदन दिएका छन्। वाग्ले सभापति शेरबहादुर देउवानिकट मानिन्छन् पौडेल भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन् । क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारका नाम पठाउने गर्छ।

  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते खबर छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आएको छ । मृतक र घाइतेको नाम खुल्न बाँकी छ । घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो। वडाध्यक्ष दोर्णबहादुर बहकरी प्रहरीमा घटनाबारे जानकारी गराएका थिए । घटनास्थलतर्फ प्रहरी जाँदैछ ।

  • चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

    चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

    काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्न पार्टी समक्ष निवेदन दर्ता गरेका छन् । उनले चितवन १ मा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार कांग्रेसको चितवन १ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्नेमा वाग्लेसहित ६ जना रहेका छन् । जसमा वर्तमान योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल समेत छन् । क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा नाम सिफारिस गर्दा यही सूचीलाई आधार मान्ने छ ।

    यसमा तीर्थराज खनियाँ, उमेश श्रेष्ठ, भीमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीले पनि उम्मेदवारीका लागि निवेदन दिएका छन् । यसअघि स्वर्णिम गोरखा १ मा लड्ने चर्चा थियो । तर, स्थानीय तहको निर्वाचनमा गोरखामा माओवादी केन्द्रले उत्साहजनक मत ल्याएको छ । जहाँ कांग्रेसको जनाधार कम बन्र्दै गएको छ ।

  • रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन

    रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन

    रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए । सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको बताइएको छ । घटनापछि प्रहरी र स्थानीयले एक छोरीको उद्धार गर्न सकेका थिए ।

  • कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान

    कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान

    धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

    नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ८ बजेसम्मै सतर्क रहन विभागले जनाएको छ ।

  • रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु

    रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु

    बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

    लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुग्रीम खराल छन्। दुर्घटनामा परी सुद्धोधन ३ का ३४ वर्षीय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाइते छन् ।

    उनीहरूको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार जारी छ । मृतक दुईजना बालबालिका र घाइते कमला खराल सुरज काफ्लेले चलाएको लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार थिए। दुर्घटनामा लु २८ प ४३७३ नम्बरको मोटरसाइकल चालक बुटवल ७ दीपनगरका २६ वर्षीय सुजन थापा र पछाडि बसेका सुभास खनाल सामान्य घाइते छन्। दुई मोटरसाइकल ठक्कर खाएपछि लु १ क ३०६४ नम्बरको मिनी ट्रकमा समेत ठोक्किएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?

    माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको छ । बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा रेणु दाहालले पाएकी छन् । भरतपुर महानगरकी मेयर समेत रहेकी रेणु नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज समेत हुन्।

    कुन क्षेत्रका चुनावी कमाण्डर को ?

    काठमाडौं

    १– अनिल शर्मा
    २– मा कुमार पौडेल
    ३– मा बद्री बजगाईं
    ४–गोविन्द बटाला
    ५– कल्पना शर्मा
    ६– हिमाल शर्मा
    ७– रामबाबु फुयाँल
    ८– सरिता श्रेष्ठ
    ९– शंकर दुलाल
    १०– अञ्जना विसङ्खे

    चितवन

    १– कञ्चन खनाल
    २–घनश्याम दाहाल
    ३–रेणु दाहाल

    ललितपुर

    १–गंगा पराजुली
    २–उर्मिला लामा
    ३–हरि दाहाल, पद्मा राई

    भक्तपुर
    १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
    २–दिलीप प्रजापती

    काभ्रे

    सूर्यमान दोङ र रुकु चौलागाई,

    सिन्धुपाल्चोक

    युवराज दुलाल र माधव सापकोटा

    दोलखा

    देवी खड्का

    रामेछाप

    श्यामकुमार श्रेष्ठ

    सिन्धुली

    दीर्घराज श्रेष्ठ र वसन्त माझी

    मकवानपुर

    १– विजय गौतम
    २–कुमारी मोक्तान

    नुवाकोट

    १–हितबहादुर तामाङ
    २–विमला सुवेदी

    धादिङ

    शालिकराम जम्कट्टेल

  • महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने

    महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने

    काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीले आफ्ना सवारी साधन पार्किङ गर्न सक्ने भएका छन् । यसअघि सेवाग्राहीले सडकमा आफ्नो जोखिममा सवारी साधन राख्नु पर्ने बाध्यता थियो । महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रयोजनका लागि भएको भन्दै सो स्थान गत शुक्रबार खाली गराएको हो । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन समेत सेवाग्राहीसँग भनेको छ ।

    साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएको थियो । विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ। आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।

    तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ। राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ।

  • १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

    १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

    बुटवल । बुटवलमा १ अर्ब ११ करोड रुपैयाँ लागतमाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । आज सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।

    एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गरे अनुसार रुपन्देही २ का सांसद तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको योजनामा सम्मेलन केन्द्र बनेको हो । सम्मेलन केन्द्रको जग्गा प्राप्तिमा पौडेलसँगै तत्कालीन सांसद सूर्यप्रसाद प्रधानले पहल गरेका थिए । सम्मेलन केन्द्रमा एक हजार १०० क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल रहेका छन् ।

    संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँ लागतमा केन्द्र बनेको हो । विक्रम संवत् २०७१ माघ १५ गते सम्झौता भएर निर्माण सुरू भएको सम्मेलन केन्द्र दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो । तोकिएको समयमा काम नगरेपछि २०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो ।

  • कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

    कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

    बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

    कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको थियो । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

  • व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

    व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

    काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यापारीमाथिको हस्तक्षेप रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेको छ । संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । घरधनी र महानगरको लडाइँमा व्यापारी परेको संघको भनाई छ । वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिने संघले बताएको छ ।

    महानगरको सर्वपक्षीय विकासका लागि उद्योगी व्यवसायीहरुले सधैं सक्रिय र क्रियाशील हुँदै आएको भन्दै संघले विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग समेत गरेको छ । व्यवसायलाई अन्य स्थानमा पुनर्स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको भन्दै संघले समय थप गरी यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कारबाही गर्न माग गरेको छ । एकतर्फी रुपमा जबरजस्ती व्यवसायीहरुलाई विस्थापित हुने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि संघले महानगरसँग अनुरोध समेत गरेको छ

  • नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

    नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

    काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका हुन् ।

    गृहमन्त्री बालकृष्ण खाणले विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए पनि उनीमाथि पक्राउ पुर्जी नै जारी भएको छ । काठमाडौंको सडकमा सार्वजनिक सवारी साधन साविकभन्द्या केही कम देखिएका छन् । निजी सवारी निर्वाध चलेका छन् । बिहान थापागाउँमा नेपाल यातायातको बा ४ ख ९०८९ नम्बरको बस तोडफोड भएको छ।

    कोटेश्वरमा बिहान महासागर यायायातको एक यात्रुबहाक बसमा ढुंगा प्रहार भएको छ । कोटेश्वरमा एक माइक्रोमा पनि तोडफोड भएको प्रहरीको अपडेट छ । डिल्लीबजारको सफ्टवारिका कलेजमा पनि मोटरसाइकलमा आएको एक समूहले तोडफोड गरेको छ । काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

  • पश्चिम तराईमा मध्यरातमा भुकम्प

    पश्चिम तराईमा मध्यरातमा भुकम्प

    बाँके । पश्चिम तराईमा  भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यरातमा आएको भुकम्पले स्थानीय त्रसित बनेका थिए ।

  • तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

    तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।
    मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

    करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार उनीहरुलाई करेन्ट लागेको थियो । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • दार्चुला दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान

    दार्चुला । बुधबार दार्तुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा बझाङ, बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहराको मृत्यु भएको छ ।
    शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

    उनीहरुको घटनास्थलमै मुत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु भारतको पिथौरागढ उपचारका लागि जाने क्रममा रहेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार घाइते हुने मालिकार्जुन गाउँपालिका–३ का ५० वर्षीया गोमतीदेवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार, महाकाली नगरपालिका–७ का २५ वर्षीय लिलाराम कोली, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना र बझाङ बुङ्गल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी घाइते भएका छन् ।

  • रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु

    रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु

    रौतहत । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठोक्किएका हुन् ।

    दुर्घटनामा अटोमा सवार ४ जना मानिस घाइते भएका थिए । उपचारका लागि अस्पताल लगिएका मध्ये ३ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चपुरका अनुसार मृत्यु हुनेमा सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा निधन भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

    कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो ।

    खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरको सूचनामा जनाइएको छ । स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाउन भनेका थिए ।

    अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको हो । व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।

  • धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

    धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १ सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सामाजिक सञ्जारमा राखेका छन् । उनले पहिलो नम्बरमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको बताएका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका उनले यसलाई श्रमक्रान्ती भनेका छन् ।

    ‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन्। उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्।

    ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्। पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ।

  • मोरङमा आगलागी, एक जनाको मृत्यु

    मोरङमा आगलागी, एक जनाको मृत्यु

    विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर हुन् । विद्युत सर्ट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।

  • दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

    दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

    दार्चुला । दार्चुलामा जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

    ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।

    विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।

  • प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    प्यूठान । प्युठानमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ६ बहानेमा जीप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापा छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाका अनुसार चेतना र करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आइतबार साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो ।

  • बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

    बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

    काठमाडौं । काठमाडौंबाट बल प्रयोग गरी फोहोर बन्चरे डाँडा लैजान खोजिएपछि आइतबारबाट पुनः फोहोर लैजाने काम प्रभावित बनेको छ । स्थानीयले आइतबार दिनभर जसो बाटोमा अवरोध गरिरहे । साथै महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी फोहोर ल्याउन नदिने भन्दै राजनीतिक दलका नेतृत्वको हस्ताक्षरमा एक विज्ञप्ती जारी भएसँगै महानगरपालिकाका मेयर बालेन साह भने आक्रोसित बनेका छन् ।

    उनले सामाजिक सञ्जालमा उक्त विज्ञप्ती राख्दै उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको बताएका हुन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा उनको आपत्ति छ । यसलाई उनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् । उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

    ‘‍‍‍‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’, बालेनले भनेका छन् ।

    आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि आइतबार नै दुई स्थानमा अवरोध भएको र त्यसलाई समाधान गरेपछि धुनिवेशीका सत्तारुढ तीन दलले विज्ञप्ति जारी गरेर अवरोध गर्न खोजेको भन्दै बालेनले यसलाई विडम्बनापूर्ण बनेका छन् ।


    ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ’ उनले भनेका छन् ।

    उनले यी कामहरु झुक्याएर नगरेको भन्दै विगतमा गरेका सहमति कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताएका छन् । ‘यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो’ बालेनले भनेका छन् ।

  • रुकुममा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यु

    रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको भ्यान दुर्घटना हुँदा रुकुममा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    दुर्घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन् । दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् । घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।

  • नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

    नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

    बैतडी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

    उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् । अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरु बेपत्ता किशोरीको खोजी कार्यमा जुटेको प्रहरीले जनाएको छ ।

  • झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

    झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

    झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर ज्यान गएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

    सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

  • चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

    चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

    रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक पहिरोले बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने पहुँच नै अवरुद्ध बनेको छ । गतराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो ।

    सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या देखिएको छ । पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

  • काठमाडौंमा नदी किनारमा बाढी पस्यो

    काठमाडौंमा नदी किनारमा बाढी पस्यो

    काठमाडौं । काठमाडौंमा गत राती आएको ठूलो वर्षाका कारण नदी किनारमा बाढी पसेको छ । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला डुबानका परेको छ । प्रहरी चौकीको मेस बगेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको बताइएको छ । प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको छ ।

    सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो ।

    विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो । ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।