Category: स्थानीय

  • जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

    जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

    जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। जिल्लाको हिमा गाउँपालिका (१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।
    जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन्। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए ।

    प्रहरी निरीक्षक भट्टका अनुसार गए राति चौकीदार गाउँतिर गएका थिए। सोही बेला ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको हो। राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउलेले ४ बजे मात्र थाहा पाएका थिए। जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो। शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

  • ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

    ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

    ललितपुर । ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठक्कर खाँदा चालकको ज्यान गएको छ । दुर्घटना गएराति भएको हो । प्रहरीका अनुसार गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो ।

    वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको वाग्मती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँदा चालक गोदावरी नगरपालिका(५ का २० वर्षका सुरेश मोक्तानको ज्यान गएको हो । स्कुटर ठोक्किनुको कारण खुलेको छैन ।

  • काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते

    काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते

    काठमाडौं । काठमाडौंमा घर भित्रै पसेर चितुवाले मानिसमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार घटनामा पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गरेको हो ।

    भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएक हुन् । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार जारी छ । चितुवाको आक्रमण गर्दा विभिन्न भागमा चिथोरेको थियो ।

  • भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो

    भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो

    काठमाडौं । भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । साथै सोही समयमा काठमाडौंमा परेको ठूलो वर्षाले समेत आगो निभाउन सहयोग गरेको थियो ।

    भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गरेका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

  • सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

    सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

    पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    बुटवलदेखि दोभान सम्मको करिब ८ किलोमिटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले र धुले पहिरो झर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो। अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग निर्माण गर्दैछ।

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात\आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    रासस

  • काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला

    काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला

    पोखरा । काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायत कागजपत्रका आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको हो । मंगलबार घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जनाए अनुसार शव पुरानो भइसकेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

    काठमाडौं । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको पुष्टी भएपछि तीन जनालाई कैद तथा जरिवाना सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनीलाई कैद र जरिवानाको सजाय सुनाएको हो । अदालतले सुर्खेत गुर्भाकोट नगरपालिकाका चौमन घर्तीमगर र भूपेन्द्र बुढा मगरलाई सात\सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यौन दुर्व्यवहार भएको भनिएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

    फैसला अनुसार घर्ती र बुढाले जनही ८ हजार र पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीवार उक्त फैसला गरेको हो। सुर्खेत गुर्भाकोटको एक होटलमा अभियुक्तहरूले २०७८ साल जेठ २१ गते राउटे युवतीहरूमाथि यौन हिंसा गरेको भिडियो सार्वजनिक भएको थियो । जेठ २३ मा उनीहरू पक्राउ परेका थिए।

  • मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्य

    मिनी ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्य

    काठमाडौं । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । स्कुटरले ओभरटेक गर्ने क्रममा मिनी ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

    ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

    दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ। यसले सबैलाई खुसी तुल्याएको छ। बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए।


    रिमबहादुर सानोमा विद्यालय जान पाएका थिएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्। ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्‍यो। बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु,’ उनले भने।

    आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुरले बताए। ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले भने। रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भए। त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन्। उनले बिहान र बेलुकाको समयमा घरको काम गर्छन्।

    ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु। दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु,’ उनले भने। आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो। भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनले बताए। रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ। ‘उमेरले पढ्न छेक्दो रहेनछ। त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ,’ उनले भने। रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन्।

    श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन्। ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु’, उनले भनिन्। श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनले बताइन्। रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन्।

    प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो। ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने। शिक्षकहरूलाई सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्रीले बताए। अहिले विस्तारै बानी परेका छन्। ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो। अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ,’ प्रअ खत्रीले भने।
    रासस

  • काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गतराति २ बजे सानो भर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर पल्टिँदा स्कुटरको पछाडि बस्ने चितवनका अर्जुन लोहनीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको मनमोहन मेडिकल कलेज सीतापाइलामा ज्यान गएको हो । स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    उता, काठमाडौंको शङ्खरापुर नगरपालिका ९ खुलालटारमा गतराति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ । बा ५८ प ६५५० नम्बरको मोटरसाइकल पल्टिँदा चालक त्यहीँ ठाउँका ४५ वर्षका दीपक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते

    धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते

    चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालीका–८ मझुवामा रहेको कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।

    त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । हिजो बेलुका ६ बजेतिर चट्याङ परेको बताइएको छ ।

  • स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान

    स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान

    बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा आज मतदान जारी छ । वैशाख ३० मा सम्पन्न मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गर्न लागिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा प्रहरी खटेको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन ।

    स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए । पुनः निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो ।

  • दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता

    दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता

    दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् । भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ । तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन ।

    यसअघि यो स्थानमा गत वर्ष भारतीय सुरक्षाकमीएले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएका थिए । गत वर्ष घटना भएको स्थान मै भने अहिले पुल बनिसकेको छ, तर मान्छेहरुले लुकिछिपी अन्यत्र पनि तुइन हालिहाल्दा घटना हुने गरेको स्थानीय प्रशासनको भनाई छ । गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट खसेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

  • रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको पहिचान

    काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

    दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङको ज्यान गएको हो । यस्तै सुनापति गाउँपालिका ४ की समिता तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की धनमाया तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।

    २२ जना घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् । २१ जनामध्ये १२ जनाको धुलिखेल अस्पताल काभ्रे, सात जनाको बीएण्डबी अस्पताल काठमाण्डौ र दुई जनाको केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ । बुधबार बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटनामा परेको हो । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    मोरङ । मोरङमा शुक्रबार राति महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आगलागीबाट उनीहरुको घर समेत जलेको छ । शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको हो । उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बस्थे ।

  • पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

    पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    गतराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका छन् । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ ।

  • अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

    अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएसँगै मेलम्ची नदीमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमा महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा मापन भएको छ। मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको उल्लेख गरेको छ ।

    उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार इलाम र झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम बढेका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

  • पाँचथरमा पहिरो, तीन जना वेपत्ता

    पाँचथरमा पहिरो, तीन जना वेपत्ता

    पाँचथर । अविरल वर्षापछि आएका पहिरोमा परी पाँचथरमा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने सकुसल छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापालाई उदृत गर्दै स्थानीय सञ्चारमध्यमले जनाएका छन् ।

  • सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

    सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

    उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिएका छन् । गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको प्रहरीको भनाई छ । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

  • दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

    दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

    दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्। गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन्। घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। भण्डारीको हात र खुट्टामा चोट लागेको छ। चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए। रासस

  • पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

    पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।

  • जंगली च्याउ सेवनबाट ६ जना गम्भीर बिरामी

    जंगली च्याउ सेवनबाट ६ जना गम्भीर बिरामी

    बुटवल । बुटवलमा जंगली च्याउको सेवनबाट ६ जना गम्भीर बिरामी परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । त्यसमध्ये पाँच जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकको अवस्था गम्भीर रहेको उस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए । घटना बुधबार साँझ करिव साढे ५ बजेको हो । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई राती पौने ९ बजेको समयमा आफन्तले अस्पताल पुर्याएका थिए ।

  • भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

    भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

    काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । जसका कारण महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आह्वान गरेको छ । भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

    पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भएको हो । ले जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।

    बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भने पनि त्यसपछि पनि महाकालीमा जलसतह बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जारी गरेको सूचनामा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

  • मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

    मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

    काठमाडौं । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन् ।

    मङ्गलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरुले भनेका छन्, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्तीलगायतको अन्य संरचनामा समेत क्षति पुर्‍याउँदै आएको छ । यसबाट मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं ।’’

    यसरी अपील गर्ने नगरप्रमुखत्रयमा सुरेन्द्र श्रेष्ठ, जीवन खत्री र उपेन्द्र कार्की छन् । अपीलमा हाल अल्पकालीन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन प्रयास भइरहेको उल्लेख छ ।

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


    धनगढी । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।

  • उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

    उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

    काठमाडौं

    स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको `थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो। नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित सो कार्यक्रम नगरका १०, ८ र ३ नं वडामा सञ्चालन गरिएको थियो। कार्यक्रममाको प्रमुख अतिथी क्रमश: वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, नगरप्रमुख मिठाराम अधिकारी र पूर्व नगरप्रमुख उद्धबराज खरेल रहनुभएको थियो। कार्यक्रममा उप-प्रमुख अनिता लामा सहित वडाअध्यक्षहरु, कृष्ण शाह (ठकुरी), श्रीराम केसी, रवि खड्का, बसनारायण महर्जन, शम्भु प्र भट्टराई, राजु अधिकारी, सुमित्रा त्रिपाठी (पाण्डे) सहित नगरका अधिकांश वडा सदस्यहरु, पूर्व जनप्रतिनीधिहरु, नगरका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्र. दाहाल लगाएतका अतिथिहरुको उल्लेख्य सहभागीता रहेको थियो। नगरपालिका भित्रका वडाका कर्मचारी, बुढानीलकण्ठ स्कुल, बुढानीलकण्ठ माध्यामिक विधालय, सेन्ट जेभियर स्कुल, हिमालय माध्यामिक विधालय, फ्युजन स्कुल, रिलायन्स इन्टरनेशनल स्कुल, जोसेफ स्कुल, बाल उद्धार मा. वि, भ्याली पब्लिक स्कुल, अमरदीप स्कुल, नेशनल युनाइटेड ऐकेडमी लगाएतका दर्जन भन्दा बढि सामुदायिक र निजी शैक्षिक संस्थाका शिक्षक प्रतिनीधिहरु र विधार्थीहरुको सहभागिता रहेको सो अभियानमा स्वास्थ्यकर्मी, अभिभावक, सामाजसेवी, महिला अधिकारकर्मी, महिला तथा आमा समुहका प्रतिनिधि, सुरक्षाकर्मी, युवायुवती जेष्ठ नागरिक, सुरक्षाकर्मी, सहकारीका प्रतिनीधि, टोलसमूहका प्रतिनीध, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनीधि, विधालय सञ्चालन समितिका प्रतिनीधि, मजदुर, स्थानीय व्यावसायी, राजनीतिज्ञ, सामाजिक सरोकारवाला सहित सञ्चाकर्मी लगाएतको उत्साहजनक उपस्थिति रहेको थियो। अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारेर सञ्चालित अभियानमा १३/१४ वर्षका बच्चादेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकहरुको संलग्नता रहेक‍ो थियो। ३ अ‍ोटा कार्यक्रममा गरेर ५०० जना भन्दा बढि सहभागीहरुको उपस्थिति रहेको कार्यक्रम हरेक दिन विहान १० बजेदेखि साँझ ५:३० सम्म चलेको थियो। अतिथि तथा सहभागीहरुका लागि खाजा तथा खानाको समेत व्यवस्था गरिएको कर्यक्रम ज्ञान र सचेतनाका हिसावले निकै फलदायी र आकर्षक रहेको प्रतिक्रिया सहभागीहरुले दिनुभएको थियो। नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रम अब नगरपालिकाभित्र हरेक ४/४ महिनामा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। यसरी नै पूर्व मेयर उद्धवराज खरेलले आफैं पनि सकरात्मक सोचका अभियानमा सरिक हुन अत्यन्तै रुचि राख्ने भएकाले आफु र समाजले खोजेजस्तै कार्यक्रम ल्याएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो भने नगरका उप प्रमुख अनिता लामाले यस्ता कार्यक्रम बुढानीलकण्ठ नगरपालिका सहित देशका ७५३ ओटै स्थानीय तहका टोलटोलमा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो।
    स्वास्थ्य मन्त्रालय (NCASC) वाट Award Of Excellence प्राप्त ‘ थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो।
    नेपालीहरुमा रहेका गिरवी , अशिक्षा, पछौटेपन, बसाईँसराईँ, बेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया तीव्र रूपमा वढ्दै गएको छ। विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा शहरी र शहरोन्मुख क्षेत्रहरुमा बढी देखिन्छ। यसलाई केही हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न Drug, HIV प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा स्कुल फाउण्डेशनले सोही विषयमा वनाइएको चलचित्र सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमका साथ यो अभियानलाई अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाएको छ।
    यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालय लगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले एक्नलेज्ड गरेका छन् ।
    अभियानको मुख्य आकर्षणको रूपमा रहेको वास्तविक जीवन कथामा आधारित चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव, व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पार्ने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। परिवारको सहि निगरानीको अभाव र खराब सङ्गगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र जीवन क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ। अत: एकै वाक्यमा भन्नुपर्दा समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।
    ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज), सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष रहेका सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । पछिल्लो समयका चर्चित गीतकार तथा चलचित्र निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव पनि हुन्।
    सो कार्यक्रममा सिनेमा थेरापीसँगै चर्चित मोटिभेसनल स्पिकर सुदन ज्ञवालीद्वारा मोटिभेसनल सेसन, चर्चित मनोविश्लेषक बासु आचार्यद्वारा मनोपरामर्श सेसन र ई. राजेन्द्र चटौतद्वारा डिजिटल एडिक्सन र सामाजिक सञ्जाल र इन्टरनेटको सहि सदुपयोगका लागि थिङ्क पोजेटिभ, थिङ्क डिजिटल सेसन सञ्चालन गरिएको थियो। स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको सो कार्यक्रममा, ब्लड सुगर, रक्तचाप, तौल परिक्षण सहित , जीवनजल लगाएत औषधि, महिलाहरुको लागि निशूल्क सेनीटरी प्याड र पुरुषहरुका लागि कण्डम वितरण गरिएको थियो।
    स्वदेश तथा विदेशमा सञ्चालन गर्ने योजना बनाइएको यस अभियान विभिन्न चरणहरु गरि प्रत्यक्ष रूपमा म १ सहभागी २० लाख मा म पनि नाराका साथ सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको हस्ताक्षर र प्रतिक्रिया संकलन गर्ने लक्ष्य आयोजकको रहेको छ।

          

  • इलाममा जिप दुर्घटना, तीन जनाको निधन

    इलाममा जिप दुर्घटना, तीन जनाको निधन

    इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो १२ बजेतिर मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उनकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र उनीहरुका ज्वाइँ इलामको माङ्सेबुङ गाउँपालिका ६ का ५० वर्षका जयराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

    थापाका अनुसार हिमप्रसाद र जयरामको घटनास्थलमै मृत्यु भएको हो भने पदमकुमारीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । जिपका चालक अनुप राई भने सामान्य घाइते छन् । चिप्लो सडकमा जिप अनियन्त्रित भएर पल्टिएको देखिएको प्रहरीको भनाई छ ।

  • काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

    काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

    काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । शनिबार राती बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीको भनाई छ । सो क्रममा मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका २ का राजु दुतराजको ज्यान गएको हो । प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।

  • कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह

    कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह

    कास्की । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन हुँदा त्यस आसपासको क्षेत्रमा जोमि बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।

    अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो । अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्