धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको ज्यान गएको छ । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो उनीहरुको मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा पोखरीमा डुबेरका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राईको भने उद्धार भएको छ। घरबाट बिहान निस्केका उनीहरु हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि पोखरीमा खोजी गर्ने क्रममा डुबिरहेका दुवैलाई निकालिएको थियो। पोखरीबाट निकालेर उपचारका लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
काठमाडौं । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु हटाइएको छ। कुकरमा तार जडान गरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शंकास्पद वस्तु हटाउन नेपाली सेनालाई आग्रह गरेको थियो।
घटनास्थल पुगेर नेपाली सेनाले उक्त वस्तु हटाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीस्थित सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेका हुन्। कुकरमा तार जडान गरिए पनि उक्त कुकर खाली रहेको प्रहरीले जनाएको छ ।
नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४२ तछलाथ्व: एकादशी (Saturday, 11 June 2022) का दिन, सातौं सामुहिक ईही न्यूयोर्क स्टेटमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष श्री महेन्द्र बीर बज्राचार्यज्यूले जजमान (मुख्य कर्ता) भै सहयोग गरि पुजा सम्पन्न गर्नु भएको थियो ।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगंको भवनमा आयोजना गरिएको सामुहिक ईहीमा ४ वटा राज्यहरु न्युयोर्क, कनेटिकट, म्यासाचुसेट्स् र न्युजर्सीबाट जम्मा १२ जना बालिकाहरूको सहभागी थियो । सोफी सिंह, नेश्मा मास्के, इभलिन राजकर्णिकार, साम्राज्ञी सिंह, मलीहा श्रेष्ठ, आर्या श्रेष्ठ, तीसा श्रेष्ठ, सह्राना स्थापित, तिशा शाक्य, उर्वीना श्रेष्ठ, रोमा प्रधान र आब्या श्रेष्ठ सहभागी रहेका उक्त कार्यक्रममा सहभागी बालिकाका अभिभावक-आफन्तकहरू गरि सयौं जना जनाको उपस्थिति थियो ।
नख:का महा-सचिव श्री तुलसी नारायण चित्रकारज्यूले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरि सुरू गरिएको उक्त कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यद्वारा इहीमा सहभागी बालिकाहरु, बालिकाहरुका अभिभावक-आफन्तकहरू, पाहुनाहरू तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गरिएको थियो भने नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराउनु भएको थियो।उक्त कार्यक्रममा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, प्रथम उपाध्यक्ष नरेश मान शाक्य, महा-सचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सदस्यहरू नम्रता प्रधान, महेन्द्र कुमार बज्राचार्य तथा किरण रंजितज्यूले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान पनि गर्नुभएको थियो । अन्तमा, अध्यक्ष बज्राचार्यले कार्यक्रममा उपस्थित सबै अतिथि बालबालिका, अभिभावक, गुभाजु, गुरुमा, नखःका सम्पूर्ण सदस्य तथा सहयोगी, स्वयमसेवीहरूलाई धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्जल भविष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।
नखःका दितिय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सदस्य नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार, मोहिनी कर्माचार्य तथा उजिला प्रधानले इहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लसकुस गरि इही गर्ने स्थलमा भित्र्याएको थियो । साथै वहाँहरूले सगुन सहित “थायभु” तयार गरेर बालिकाहरूलाई वितरण गरेका थिए । संस्थाका सदस्यहरू गौतम कर्माचार्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, मृगेन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य, प्रज्वल रंजित, निराजन पाण्डेले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गर्नु भएको थियो । नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन् २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अमेरिकामा रहेर पनि आफ्नो परम्परा र संस्कृतिक कार्यक्रम जगेर्ना गर्न र न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परा समेत संरक्षण र जगेर्ना हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णुमान प्रधानले जानकारी दिनुभयो।
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान सवा २ बजे आपसमा ठोक्किएका थिए ।
मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । अर्का युवकको पहिचान भइसकेको छैन। उनीहरुको शव भक्तपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो ।
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका १ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।
टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने उनीहरूबीच एकापसमा झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
रुकुम । रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का छन् । जिपमा चालक र सहचालक मात्र रहेको जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
धादिङ । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक स्थानीयबाट लुटिएका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउ रोकेर किसानले मल झिकेका छन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले ट्रकको मल लुटेका हुन् ।
भिडियोमा सुरक्षाकर्मीले हतियारले महिलालाई हिर्काएको देखिन्छ । शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४÷५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । एउटामा गहुँ र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको खुलेको छ ।
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गतराति पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।
पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ । नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री वलीविरुद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी छिन् । मीनाले आफू र छोरीमाथि अनाहकमा घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाई छ । मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीलाई बुटवल पठाइएको छ ।
विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको थियो । विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले बताएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीले बताएकी छिन् ।
विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुगेकी थिइन् । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । विमला पछिल्लो समय आफ्नै व्यवहारका कारण आलोचित हुँदै आएकी छिन् ।
काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गतराति ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ ५ घर भइ काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनको शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा १० बजे ज्यान गएको हो । दुर्घटना पौने १० बजे भएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ । रातको समयमा अत्यधिक गतिमा गुड्ने ट्रक र टिपरका कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । तर, यसको नियन्त्रणमा प्रहरीले कुनै तदारुकता देखाउन सकेको छैन ।
तनहुँ । जिल्लास्थित चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।
दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका खडकाले जानकारी दिए । उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।
हेटौडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा सवारी दुर्घटनामा परी बावु छोरीको मृत्यु भएको छ । भारतबाट ग्याँस बोकेर आएको एनएल–१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको छ । ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा भान्जाले मामाको हत्या गरेका छन् । बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् । तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहारबाट गम्भीर घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रविलाई नियन्त्रणमा लिएर अनुसन्धान गइरहेको छ । काठमाडौंमा बस्ने रवि नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए । घर आएपछि रवि मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए ।
तनहुँ । पृथ्वी राजमार्गको तनहुँमा पर्ने मुग्लिन–आँबुखैरेनी सडक खण्डमा शनिबार साना गाडी मात्र चलाउन पाइने भएको छ । आबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।
शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन गर्न सकिने आँबुखैरेनी प्रहरीले जनाएको छ। सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो। यो खण्डमा ठूला सवारी साधन भने चल्ने छैनन् । शुक्रबार बिहान सडक भासिएर कार, मोटरसाइकल र स्कुटर खस्दा दुई जनाको ज्यान गएको थियो।
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको दिउँसै पहिचान भएको थियो।
अर्का मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ।
भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ। ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए। रासस
काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुका ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । यसअघि स्थानीय जनप्रतिनिधिसँग मात्र भएको चित्त नबुझाइ स्थानीयले निरनतर आन्दोलन गरिरहेका थिए । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो ।
सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ । यस्तो छ सहमति पत्र
काठमाडौं । बुधबार अपरान्ह काठमाडौंमा भिषण वर्षात भयो । जलमग्न भएको काठमाडौंका मूख्य सडकनै डुबानमा परे । लाजिम्पाटमा भने युवकसहित टुकुचा खोलाले मोटरसाइकल नै बगाएको छ। बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका(२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको थियो ।
प्रहरीका अनुसार काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज अर्याललाई तत्कालै उद्धार गरिएको थियो । उनले चलाएको बागमती प्रदेश ०२– ०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला परेको छैन । काठमाडौंको जमल, अनामनगरसहितका सडकमा लामो समयसम्म पानी जम्दा यातायात प्रभावित बनेको थियो ।
बाँके । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मानखोलाको जङ्गलमा पाँचजना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो ।
भैरहवा । रुपन्देहीस्थित रोहिणी खोलाको पुलबाट खोलामा झर्दा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जनाका पहिचान खुलेको छ । गृह मन्त्रालयका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमाका विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्षप्रसाद बस्याल र भारतीय नागरिक अरविन्द शर्माको निधन भएको छ । बसमा सवार ३३ जना नै घाइते छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८९१ नम्बरको बस आइतबार बिहान ४ बजेर ४५ मिनेट जाँदा खोलामा खसेको थियो ।
मृतकमध्ये १ महिला र ८ पुरुष रहेक छन् । उता, गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनाका घाइतको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी यस्तो निर्देशन दिएका हुन् । चालक निदायका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बुटजल । परासी–भैरहवा सडकखण्डमा पर्ने रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलमा बस दुर्घटनामा परी ९ जनाको मृतयु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।
घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकमध्ये एक महिला र ८ जना पुरुष छन् । उनीहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार जारी छ । दुर्घटनाको कारण खुलेको छैन ।
काठमाडौं । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका(४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम-पूर्वले जानकारी दिएको छ । मृत्यु हुनेमा सिस्ने ४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् ।
घाइतेकोे रुकुम-पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ । ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।’घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । रासस
बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो ।
बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस
बारा । बारामा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४÷५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए । घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार !
तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ । काठमाडौंको उत्तर पुर्बी डाँडामा अबस्थित जगडोलको स्थानीयबासीको हैसियतले यो पत्र लेख्ने जमर्को गरेको हुँ । काठमाण्डौस्थित जगडोल गाउँ अलि पर बसेर हेर्दा गोकर्ण नगरपालिका भित्रकै एउटा गाँऊ होला भन्ने भान पर्दछ तर भुगोलको हिसाबले जगडोल बुढानिलकण्ठ नगरपालिका भित्रपर्ने तर बुढानिलकण्ठ नगरपालिका प्रशासनको नजरमा भने हत्तपत्त नपर्ने, एैतिहासिक एवं पौराणिक महत्त्व बोकेको रमणीय गाउँ हो । काठमाडौंको जनघनत्व र अव्यवस्थित भवन निर्माणले निम्त्याएको प्रदुषणले निसासिएर जगडोलको स्वच्छतामा रमाउदै टहलिन, बिहान चारै बजे देखि सयौ मानिसहरू “ मर्निङ वाक “ आउने कुरामा तपाईंहरू पनि सायदै अनविज्ञ हुनुहुन्न होला ! तपाईं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ज्यु त बिहान घुम्ने सयौ मानिसहरु मध्येको एउटा अंग नै हुनु हुन्छ ।
नगरपालिका प्रमुख ज्युहरु !
म अब मुल बिषय तर्फ प्रवेश गर्छु ।उता काठमाडौं महानगरपालिकाका नब निर्बाचित प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको फोहोर समाधान नगरे सम्म आफू माला नलगाउने प्रण गरेको देखेर मलाई डाह लागेको छ । तर यता प्रकृतिले हराभरा हजारौ पर्यटकको गन्तब्य उपत्यका कै शिर ,जगडोल जाने मुल सडकको प्रबेशद्वारमा अज्ञात मानिसले ल्याएर दुर्गान्धित बनाउने गरेको त्यो फोहोरको थुप्रो र गन्धले तपाईं हामी सबैलाई दिनहु गिज्याउदै आएको छ । कस्ले फाल्छ कसरी फाल्छ आज सम्म अत्तो पत्तो छैन । तर त्यो हरियाली दिनहु फोहोरको पहिरो बन्दै गएको छ । सभ्य समाज ,पढे लेखेकाहरुको बस्ती तर कानुन बिपरित डकैती सैलीमा गाउँको बिचमा फोहोर फ्याकेर दुर्गान्धित बनाईन्छ तर समाज ,प्रशासन सबै मौन ।तपाईं हामी सधैं हिंड्ने बाटोमा बसेर गिज्याई रहने ति फोहोरको थुप्रोलाई हाम्रै आँखाले मात्र देखेको हो कि हाम्रो नाकले मात्र महसुस गरेको हो त्यो त थाहा भएन । स्थानिय प्रशासन वा प्रतिनिधिका आँखाले देखेका भए त कती बर्ष बित्यो त्यो क्रमभङ् हुन्थ्यो होला ? यो बिषय कतिपयका लागि सामान्य हुनसक्छ तर कृयाकलापका हिसाबले यो बिषय सामान्य हुँदै होईन । भोग्नेहरु पिडा भयो भन्छन् । लाजै भयो भन्छन ।
रमणीय र प्राकृतिक श्राेत साधनले भरिभराउ जगडाेल क्षेत्रको प्रवेशद्वारमा अस्तब्यस्त फ्याकिएको फोहोरको गन्धले ख्याल ख्यालैमा हद पार गरिसकेको छ । वरिपरी महंगा रिजोर्ट स्वादिस्ट पारीकार पाक्ने गर्दछन् तर नाकैमा पोतिएको त्यो फोहोरको थुप्रोले यस अगाडिका जन प्रतिनिधिलाई यो गन्धले कहिल्यै पिडा दिएन ।तर दैनिक आवत जावत गर्ने सर्वसाधारण र पर्यटकका लागि यो पिडा बनेर बसेको बर्षाै भै सक्यो । सुरुमा दुई चार पोका ल्याएर सुरु गरिएको यो प्रकृया अहिले बढाएर रातको समयमा ट्रकमा नै ल्याएर खन्याएर भाग्ने गरेको छ ।
यदि काठमाण्डौ महानगरका प्रमुख बालेनले जस्तै तपाईं हाम्रा दुबै नगरका प्रमुखले पनि त्यो फोहोर हटाउने प्रतिबद्धता पहिलो दिन देखी गर्नु भएकाे भए हामी कति भाग्यमानि महसुस गर्ने थियौ होला । राज्यको करोडौं करोड लगानीमा अस्त ब्यस्त पसारो परीरहेको सहिद पार्क कै काखमा त्यो फोहोरको डङुर् नाची रहेको छ । न शहिद पार्क प्रशासनलाई त्यो फोहोरले गन्हाउने गरेको छ न जन प्रतिनिधिका नाकमा त्यो गन्ध पस्ने गरेको छ ।
प्रमुख ज्युहरु ! अचम्म त यो छ कि फोहोरलाई फोहोर देख्ने अनी फोहोरको गन्ध नाकले थाहा पाउने चांहि किन गाउँले र सर्वसाधारण मात्र हुने होला ? जगडाेल हुँदै शिबपुरी हाइकिङ गर्न आन्तरिक एवं बाह्य पर्यटकहरु समेत आउने गरेका छन् , उक्त मुख्य प्रवेश मार्गमा रातको समय पारेर ट्रकका ट्रक फाेहरहरू लेराइ दोस्रो ओखरपौवा बनाएर आवत जावत गर्न समेत हम्मे हम्मे पर्ने अवस्थामा छ ।हुन त जगडाेलका स्थानिय बासिहरुले उक्त फोहोर कसले कसरी ल्याउछ भन्ने पतालगाउन बिभिन्न उपाय यस अगाडि नगरेका पनि होईनन् । कुन ठाँऊको फोहोर होला भनेर स्थानिय युवाहरुले फोहोर खोसरेर कागजमा भएको फोन नम्बरमा फोन गरेर समेत पत्ता लगाउने कोशीस गरे । केही सिप लागेन । सि सि क्यामेरा पनि जडान गरिएका छन तर उक्त क्यामेराको भिडियो बौद्ध प्रहरीले हेर्ने सहमति पनि नभएको होइन तर के त्यो क्यामराले काम गरेको छ ? न बौद्ध प्रहरी नै यो बिषयमा संबेदनसिल देखिन्छन् ।न प्रहरीले पत्ता लगाउने कोशीस नै गरेको छ । सुरु सुरुका दिनहरुमा १ , २ पोका फोहोर त हो नि भनेर वास्ता नगर्दा, अहिले मरेका सिनो देखि हरेक फाेहर थुप्रीसकेका अबस्थामा छ ।बटुवा देखि सवारि साधन प्रयोग कर्ता र बटुवाहरु आवत जावत गर्ने हरेकको नाकमा ठुःस गन्ध पुगे पछी एकछिन नाक मुख छोपी हिंड्ने गरेका छन्। प्रहरी प्रशासनको खिल्ली उडाउदै मध्य गाँऊमा ट्रकका ट्रक फोहोर मिल्काउदा समेत न प्रशासन न गाँउले सबै चुप चाप भएको देख्दा हामी नेपाली ” हामी यस्तै त हो नि ब्रो ” भने जस्तो भयौ कि जस्तो पनि लाग्छ ।
भूमिका जती नै बाँधे पनि जती नै बयान गरे पनि त्यो फोहोर त्यहा बाट हट्नु पर्यो ।जसरी पनि हटनु पर्यो । हाम्रा नगर प्रतिनिधिज्युहरु अब त्यहाँ पुग्दा नाक मुख थुनेर खुम्च्यार हिड्दै अर्को पाँच बर्ष नबिताइ दिनुहोला भनी अनुरोध साथ यो पत्र सार्बजनिक गरेको हुँ । बिकास र परिवर्तनका नाममा ठुला ठुला गुड्डी हाक्नु भन्दा गाउँले ले महसुस गर्ने यस्तै कामहरु गर्दै जानुस् तपाईंहरुको योगदान अजर र अमर हुने छ । धन्यबाद ।
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परी २२ जनाको निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टी गरेको छ । निधन भएकामध्ये १० जनाको शव सोमबार साँझ काठमाडौं ल्याइएको छ । बाँकी शव आज काठमाडौं ल्याउने तयारी रहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको हो । दुर्घटनास्थलमा रहेका चार शवलाई मंगलबार बिहान मुस्ताङकै कोवाङमा झारिएको छ।
कोवाङमा रहेका शवलाई आजै काठमाडौं ल्याइने छ । एउटा शव भने अझै फेला परेको छैन । २१ जनाको मात्र शव फेला परेको प्रहरीले जनाएको छ । आज पनि घटनास्थलमा सर्च अपरेशन जारी राखिएको छ । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको हो ।
काठमाडौं । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ । धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ ।
बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो । उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग छन् । उनीहरु दुर्घटनामा परेको खबरसँगै गाउँ नै शोकमा डुबेको छ ।
उदयपुर । उदयपुरकमा ट्रक दुर्घटनामा परी चार जनाको मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटनामा परेको छ । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बनेको पहिलो दिनमै बालेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटको स्थलगत अनुगमन गर्न पुगेका छन् । पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा नियमित गाडी जान नसक्दा काठमार्डौंमा फोहोर उठ्न सकेको छैन । स्थानीयले विभिन्न माग राखेर गाडीमा अवरोध गरिरहेका छन् । बालेन शुक्रबार धन्यवाद र्याली सकेर सिसडोल र बन्चरेडाँडा पुगेका हुन् ।
बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले अवरोध भने जारी राखेका छन् । उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल गरे । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास थालेको छ । उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।
दैलेख । कालिकोटबाट नेपालगन्जका छुटेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ । म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ स्थित सिस्नेमा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटनामा ठूलो हताहतीको आहंक गरिएको छ । यद्दपी क्षतिको विवरण भने आइसकेको छैन । बस यात्रुले खचाखच भरिएको प्रहरीले बताएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगेपछि मात्र विस्तृत विवरण आउने भएको छ ।
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरी जन्मनासाथ १ लाख रुपैयाँ बराबरको बीमा हुने निर्णय गरेकी छिन् । पदभार ग्रहणका अवसरमा पहिलो निर्णय गर्दै उनले मासिक सात हजार लिटर खानेपानी निःशुल्क दिने घोषणा समेत गरेकी हुन् । खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले भनाई छ ।
उनका अनुसार आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णय भएको हो । महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ। यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीको हकमा लागु हुनेछ।