Category: स्थानीय

  • सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइका अनुसार वेलका नगरपालिका वडा नं ९ को धौरीमा तथा वडा नं ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५(५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ । आवश्यकता अनुसार वडा नं १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं. २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।

    बुधबार बिहान करिब ४ बजेतिर सप्तकोशी नदीको भंगालो दक्षिणपश्चिम क्षेत्रको वस्तीमा पसेको थियो । बाढीबाट प्रभावित करिब एक हजार परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले भत्काएको बाँध पनि मर्मत गर्ने काम भइरहेको छ । राहत वितरण तथा व्यवस्थापनको विषयमा छलफल गर्न बुधबार बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाको बैठक बसेको थियो ।

  • सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन

    सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गरेका छन् । कटानबाट प्रभावित नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, बासस्थान र राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको हो । उदयपुर परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला हो ।

  • बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान

    बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान

    उदयपुर । पश्चिम धार कटान गर्दै आएको सप्तकोसी नदी बुधबार बिहान ४ बजेबाट उदयपुरको बेलका नगरपालिका(८ डुम्रिबोटेबाट पश्चिममा पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको छ । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेका छन् ।

    नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जान सूचना जारी गरिरहेको छ । अब तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसख्या विस्थापनको उच्च जोखिममा परेको छ । हिले करिब २० मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ । कटान जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरा रहेको स्थानीयले जनाएका छन् ।

    कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेका छ । अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।

  • म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता

    म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । तीनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेर घरमुली घाम बहादुर विक, उनको श्रीमति र सात वर्षीया छोरी वेपत्ता भएको उनले जानकारी दिए ।

    स्थानीयवासीहरुले पुरिएको घरबाट दुईजनाको सव निकालेको र वेपत्ता भएकाहरुको खोजी भइरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए । इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल गइरहेको समेत बताइएको छ । पहिरोले दुईवटा घर र एक गोठ पनि पुरेको छ ।

  • करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते

    करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते

    दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

    प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

  • कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?

    कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?

    काठमाडौं । देशभर आएको वर्षाले ठूला नदीहरुको पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाका अनुसार कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सङ्खुवासभा, काठमाण्डौ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी, पाल्पा, कालीकोट र दार्चुला आसपास भएर बहने नदी खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

    पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु

    कास्की । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते छन्।

    अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

    उनकाअनुसार घटनामा घाइते सुनारलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    घटनामा कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते छिन्।

    उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको छ ।

  • बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ललितपुर । ललितपुरको बालकुमारीमा गतराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा निधन भएको हो । जीप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

    पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का

    काठमाडौं । पूर्वी नेपालको खोटाङको मार्तिमबिर्ता केन्द्र विन्दु भएर नेपालमा भूकम्प गएको छ । नेपालमा ६ रेक्टर स्केलको मध्यम खालको भूकम्प गएको हो । यसको धक्का काठमाडौंसम्म महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ः१३ मा गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यो नयाँ भूकम्प हो या गोरखा भूकम्पकै परकम्प हो भन्ने समेत खुलेको छैन ।

  • स्वर्गद्धारी दर्शन सकेर फर्कदैं गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

    प्यूठान । प्यूठानमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा परेको हो ।

    घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।

  • काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

    काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

    काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो।

    पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो। सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ।

    काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए। उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने र वाकवाकी लाग्ने, पेट दुख्ने, नाकबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु, बेहास हुने जस्ता डेंगीका लक्षण देखिन्छ।

  • बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

    बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो ।

    मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । दाइले योजनावद्ध रुपमा सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको हो ।

    उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिनअघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएका थिए । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या भएको देखिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०\५० हजार रुपैयाँ दिएर दुई पेशेबर हत्यारा बोलाइएको समेत खुलेको छ ।

  • सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

    सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

    काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो ।

    आइतबार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको थियो । घटनामा १२ जना घाइते भएका थिए ।

    भक्तपुर नगरपालिका(२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका ४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्योको रुखले च्यापेर मृत्यु भएको थियो। घाइतेहरूको इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार जारी छ ।

  • म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

    म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
    चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी गराए ।

    ‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १०० र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौ’ उनले भने, ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ ।’ घरेलु हिंसा, बिवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताए ।

    जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिए । अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ ।

  • इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

    इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए ।

    खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

    पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

    पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार दुर्घटनामा चालक सहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खड्क बहादुरको अवस्था गम्भीर छ ।

    घाइते हुनेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडीगाड गाउँपालिका वडा नं १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले छन् । चन्द्रकोट गाउँपालिका वडा नं ८ मझुवाकीकै २१ वर्षीया रचना सुवेदी, सोही ठाउँकै ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी पनि घाइते भएका छन् ।

    अन्य घाइतेहरुमा कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका वडा नं ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँकै १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका वडा नं १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका वडा नं ७ का २८ वर्षीय संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका वडा नं ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका वडा नं ७ का खड्क बहादुर विक छन् । उनीहरुको पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार जारी छ ।

  • श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

    चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरेका थिए ।

    आफ्नै घरको तीन तलामाथिको बैठक कोठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खोजेका थिए । घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । रूष्मालाई पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले पौने ११ बजेतिर मृत घोषणा गरेका थिए ।

    तीन तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएका कृष्णप्रसाद आचार्यलाई उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको पनि राति ११ बजे निधन भएको हो । आचार्य केही महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

  • अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

    अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

    अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

  • सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

    सुन्दरीजलमा खोलामा वेपत्ता किशोर मृत फेला

    काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । हिजो शनिवार खोलामा खसेर बेपत्ता भएका कपनका १६ वर्षका शुभमश्री प्रधानको शव आज आइतवार फेला परेको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए । मृत फेला परेका प्रधान हिजो शनिवार दिउँसो ढुङ्गामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा खसेका थिए ।

  • पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको हो । दुर्घटनामा घाइते भएकालाई विभिन्न अस्पताल लगिएको छ । दुर्घटनामा परेकाहरु पहिचान भइसकेको छैन ।

  • सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

    सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

    काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन् । उनीसँग सात जना साथी थिए । प्रहरीका अनुसार फोटो खिचाउन ढुंगामा बस्दा चिप्लिएर उनी खोलामा खसेको पाइएको छ । अहिले किशोरको खोजी भइरहेको छ।

  • तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

    तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

    सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

    शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए ।

    तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ’ उनले भने, ‘हिजोबाट हमीले नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्‍यौं ।’
    उनले नागरिकताको समस्याबाट पीडित नागरिकलाई बधाई पनि दिए । ‘माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ ।’

    प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ ।

  • नेपालमा ३३५ जनामा कोरोना पुष्टि

    नेपालमा ३३५ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

  • स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

    स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

    स्याङ्जा । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनए अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि बुबा उनको उद्धारमा पोखरमिा छिरेका थिए । सो क्रममा उनको समेत ज्यान गएको पाइएको छ । उनीहरुलाईउद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

    काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

    काभ्रे । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन् ।

    उता, रोशी खोलामा चौपायासहित एक जना बेपत्ता भएका छन् । गोठालो गएका नमोबुद्ध–९ का अन्दाजी ४८ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएको प्रहरीले जनाएको छ । सुनकोसी नदीमा उद्धारका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली पुगेछ । तर, बाढीका कारण सम्भव नभएको प्रंहरीले बताएको छ । उनीहरुको खोजीमा बिहीबार समेत टोली जुट्ने छ ।

  • पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

    पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गतराति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध बनेको हो ।

    सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम जारी छ । पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

  • काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काभ्रे । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।

    मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

    पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

    पोखरा । काठमाडौंमा जस्तै पोखरा महानगरपालिकामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन महानगरपालिकाले आह्वान गरेको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा आवेदन दिन आग्रह गरेको छ ।

    सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको महानगरले जानकारी दिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालका अनुसार सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको हो।

    सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ । पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ।

  • बाजुरामा भुकम्पको धक्का महसुस

    बाजुरामा भुकम्पको धक्का महसुस

    बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो । भूकम्पबाट क्षतिको विवरण भने आएको छैन ।

  • चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

    चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।