Category: स्थानीय

  • ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

    ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

    काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउनु पर्ने भएको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएको भन्दै महानगरले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

    सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’

    ‘महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।’ यदि सात दिनभित्र तारहरु नहटाए कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ ।

  • ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

    ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।

    प्रहरी निरीक्षक झरना सुनारका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ।

  • दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात

    दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात

    काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा त्यही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको छिन् ।

    मंगलबार दिउँको २ बजे हाम फालेका उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। के कति कारणले हाम फालिन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

    नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।


    दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन। बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। बस सडकबाट २० फिट तल खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।

  • खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

    खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए ।

    लामो समय देखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग विक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान बाइबा छन् ।

    सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौँ–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

    त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

    गैँडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको उनी बताउँछन् । ‘उनले सम्झना भन्ने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको छ’, सिंह भन्छन्, ‘कमलाले काठमाडौँ लैजान वीरमानसहितको सहयोग लिएको पाइएको छ ।’ चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौँसम्म खाग ल्याएर लाखौँ रुपैयाँमा विक्री गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

  • सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

    सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

  • झापामा दुईवटा ट्रक ठाेक्किँदा दुई जनाकाे मृत्यु

    झापामा दुईवटा ट्रक ठाेक्किँदा दुई जनाकाे मृत्यु

    झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

    उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नम्बरकाे ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नम्बरकाे ट्रकले ठक्कर दिएको थियो ।

  • धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ

    धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ

    जनकपुर । धनुषामा हिरासत तोडेर सोमबार भागेका ६ जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर ६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् ।

    महतोलाई धनुषाको मिथिला नगरपालिका८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए । अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।

  • आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

    आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

    बाँके । बाँकेमा बाबुले आफ्नै छोरा र श्रीमतीमाथि आगो लगाएका छन् । सो क्रममा छोराको जलेर ज्यान गएको छ । श्रीमती घाइते भएकी छिन् । बाँके, कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए ।

    त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् ।


    कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।

    साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए । ‘अब बाँच्नुपर्छ भनेर बाबु बोकेर म हिंडें,’ गंगाले भनिन्, ‘परैबाट पेट्रोल छ्यापेर आगो फाल्दियो ।’ बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

  • आज शहीद दिवस, देशभर मनाइदैं

    आज शहीद दिवस, देशभर मनाइदैं

    काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

    यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

    माघ १६ गते सोमबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

    यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ ।

    वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।

    विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

    पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्योसमेत सञ्चालनमा आउन सकेको छैन ।

    स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ । विदेशी पाहुना आउँदासमेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।

    शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । रासस

  • पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने

    पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने

    काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटना जाँच आयोगले आफ्नो कामलाई तिब्रता दिएको छ । सोही क्रममा आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरोमा लैजाने निर्णय भएको जानकारी दिए ।

    दुर्घटनाका कारण खोज्न यो उपकरण महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका जाँचबुझ समितिको तीन सदस्यीय टोली शुक्रबार सिङ्गापुर जाँदै छ । परीक्षणका क्रममा फेला परेका तथ्यमा थप अध्ययन तथा विश्लेषण गरेर टोली एक हप्तामा नेपाल फर्किनेछ ।

    जाँचलाई थप प्रभावकारी बनाउन फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनी र क्यानडाबाट विमानको इन्जिन निर्माता कम्पनीको टोलीसमेत सिङ्गापुर आउने भएको छ । ब्ल्याक बस्कको परीक्षण गर्ने संसारभरका प्रयोगशालामध्ये सिङ्गापुर सरकारले स्थापना गरेको ट्रान्सपोर्ट इन्भेटिगेसन ब्युरो विशेष सुविधासम्पन्न प्रयोगशाला मानिन्छ ।

    ब्ल्याक बस्कको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार परीक्षण हुनेछ । हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा नेपालको सिङ्गापुर, बेलायत र फ्रान्ससँग सम्झौता रहेकाले परीक्षण निःशुल्क हुनेछ । १ माघमा भएको दुर्घटनामा ७२ जना परेका थिए । जसमध्ये २ जना अझै वेपत्ता छन् ।

  • संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

    संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन

    काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको अस्पतालले जनाएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । सरकारी सञ्चारमाध्यम गोरखा पत्रका अनुसार आचार्यको बुधबार बिहान ५ बजे निधन भएको हो । डा. किरण नकर्मीले यसको पुष्टी गरेका हुन् । डा. नकर्मीका अनुसार उनको ८०प्रतिशत भाग जलेको थियो ।

    नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुगेकी थिइन् । गम्भीर बिरामीसँग अन्तरर्वार्ता शैलीमा गरेको उनको कुराकानीको यतिबेला आलोचना समेत भइरहेको छ ।

  • पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

    पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

    काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो। गौमुल गाउँपालिका १ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएको समेत समाचारमा उल्लेख छ ।

    मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।


    बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा आंशिक क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

  • कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

    कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

    काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । मंगलबार बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र २-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

  • चितवनमा अर्को गैंडा मृत फेला

    चितवनमा अर्को गैंडा मृत फेला

    चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिवार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।
    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

    भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए । तिवारीका अनुसार प्राकृतिक कारणले गैँडाको बच्चा मरेको हुन सक्छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मरेको रेकर्ड छ ।

  • सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु

    सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु

    सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा –प्र–०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

    दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका दैलेख भैरवी गाउँपालिका(५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्ने अवस्थामा छन् । दुर्घटनाको कारण खुलेको छैन ।

  • चितवनमा तस्करले मारे दुई वटा गैंडा

    चितवनमा तस्करले मारे दुई वटा गैंडा

    चितवन । चितवनमा तस्करले दुई वटा गैंडा मारेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेको निकुन्जले जनाएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् ।

    स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । चालु आर्थिक वर्षमा निकुञ्जमा चोरी शिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

  • धरानमा खुकुरी प्रहार गरी एक जनाको हत्या

    धरानमा खुकुरी प्रहार गरी एक जनाको हत्या

    धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
    खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्। स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए।

    उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए। भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए।

    गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ। मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। हत्याको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने

    जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने

    काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण हुने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरिने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् ।

    गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुन् । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मङ्गलवार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।

    केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए । उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका थिए । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये एक जनाको शव प्राप्त भइसकेको छैन । खोजी कार्य आज पनि जारी रहेको नेपाली सेनाले जनाएको छ ।

  • पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने

    पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाठौँ ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट शवहरु काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याउने तयारी छ ।

    आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ। पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिन्छ । शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको छ ।

  • पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था

    पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था

    काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानसम्म स्थगित भएको छ। सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी गराएका छन् ।

    आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको हो । पोखरा महानगरपालिका(१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए। फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ। यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ।

  • जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने

    जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने

    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

    पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको उनले बताए । दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना थिए । ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । केही शव दुर्घटनास्थलबाट निकाल्न कठिनाइका भएको छ भने केही फेला परेका छैनन् । आज पनि उद्धारको काम जारी छ ।

  • मकवानपुरमा स्कुटर  दुर्घटना, तीन जनाको मृत्यु

    मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

    हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याए लगत्तै (सवा १२ बजे) डाक्टरले मृत घोषणा गरेका थिए ।

    इलाका प्रहरी कार्यालय मनहरीका अनुसार गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

  • कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

    कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

    कैलाली । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका(९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पर्सामा निसास्सिएर दुई जनाको मृत्यु

    पर्सामा निसास्सिएर दुई जनाको मृत्यु

    काठमाडौं । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका(२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।

    त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको डीएसपी गिरीले बताए ।

  • प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म

    प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । उनले खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन गर्ने कार्यक्रम छ । गोरखाबाट उनी निर्वाचित भएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार संसदमा विश्वासको मत पाएका थिए ।

    उनीसँगै प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् । गोरखा नगरपालिका(६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा नेपाली सेनाले परम्परागत पोशाकमा परेड प्रदर्शन गर्ने कार्यक्रम छ । आज पृथ्वी नारायण शाको जन्म जयन्ती पनि हो ।

  • गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा

    गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा

    काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा बनेको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाज १०ः ३० बजे रेसुङ्गा विमानस्थल प्रस्थान थर्नेछ । जहाज ५५ मिनेटको उडानमा गुल्मी पुग्नेछ ।
    यो विमानस्थल ३३ करोड लागतमा बनेको हो । यहाँ पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग छ । यहाँ साना जहाजमात्र उड्न सक्छन् । यहाँ २०७५ जेठ २५ मा धुले मैदानमा परीक्षण उडान भएको हो । आज रेसुंगा नगरपालिकाले नगरभर बिदा दिएको छ ।

  • दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

    दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ

    काठमाडौं । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं। २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीको आरोप छ । मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीले जनाएको छ ।

    उनको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढेको डीएसपी पण्डितले जानकारी दिए ।

  • पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

    पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटनामा पर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका भएको प्रहरीले जनाएको छ । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जनाएका छन् ।

    रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटनामा परेको हो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताएका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् ।

  • पाँचथरमा आगलागी, २ जनाको मृत्यु

    पाँचथरमा आगलागी, २ जनाको मृत्यु

    काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा एक घरमा लागेको आगलागीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको हो । आगो लागेर टिनको छानो भएको तीन तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । आगलागीको कारण खुलेको छैन ।