Category: स्थानीय

  • एमालेले तोक्यो प्रदेश इन्चार्ज

    एमालेले तोक्यो प्रदेश इन्चार्ज

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू तोकेको हो । बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रूपमा गोकर्ण विष्ट, मधेस प्रदेशको इन्चार्जको रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जको रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो ।

    बाग्मती प्रदेशको भने केन्द्रीय कार्यालयले नै विशेष कामको संयोजन गर्ने एमालेले जनाएको छ । त्यस्तै बैठकले पार्टीको केन्द्रीय सङ्गठन विभागको प्रमुखको रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएको र प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव स्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र सङ्गठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकेको छ ।

    एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरेफेर गर्दै सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

  • महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक

    महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक

    काठमाडौं । महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

    चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताए । सीसीटीभीमा देखिएको फुजेटअनुसार लुटेराले ढुक्कसँग लुटपाट गरेका छन् । सीसीटीभीमा स्पष्ट दृश्य देखिएको र उनीहरूले मुकुण्डो नलगाएकाले चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

  • बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु

    बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीकी ५३ वर्षकी डा.। सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेका छन् । दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

    दुर्घटनामा मृत्यु भएकी डा. खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको खुलेको एसपी राठौरले जानकारी दिए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा पश्चात बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने

    तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ।

    उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए।

    उपमहानगरले पक्की घरको एक हजार रुपैयाँ, कच्ची घरको पाँच सय रुपैयाँ, अव्यवस्थित बसोबासीका लागि एक सय रुपैयाँ, भूमिहीन दलितका लागि ५० रुपैयाँ र भूमिहीन सुकुमबासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ। ‘ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ’, घर्तीले भने। असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

    घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सलटेन्सीले सेवा-शुल्क फरक–फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ। प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै बैठकले तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिएको छ। नौ सामुदायिक र चार संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिएको प्रवक्ता वलीले जानकारी दिए।

    rss

  • बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो।

    यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

  • धरानमा १६ वर्ष अघि भएको सामूहिक बलत्कार काण्डका आरोपित दुई जना पक्राउ

    धरानमा १६ वर्ष अघि भएको सामूहिक बलत्कार काण्डका आरोपित दुई जना पक्राउ

    काठमाडौं । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलत्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
    २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि दुई जनालाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका अनुसार धनकुटा शहीदभूमि गाउँपालिका १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परका हुन् । घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी मल्लले बताए।

    २०६४ साल मंसिर २३ गते बेलुका तत्कालीन धरान नगरपालिका ५ (हाल धरान १२) मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो । धरान १० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा थियो । घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।

    करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । ‘पेन्डिङ फाइल खोल्ने डीआइजी र एसपी सापको निर्देशन अनुसार यो फाइल खोलेका थियौं,’ तीन महिनाअघि धरान हाजिर भएका डीएसपी मल्लले भने,’ पुरानो फाइल खोलेर अनुसन्धान गर्दा आरोपीसम्म पुग्यौं ।’

    प्रहरीका अनुसार पक्राउ परेका दुवै जना साथी हुन् । मिसिल अध्ययन गरी विगतमा रोकिएको स्थानबाट अनुसन्धान सुरु गरेको प्रहरी शंकास्पद व्यक्ति खोज्दै धनकुटा पुगेको थियो । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो । प्रहरीका अनुसार ललिता श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी थिइन् । उनको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो ।

    महिलालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए । महिलालाई लगेपछि उनले आफ्ना साथी कल्पन राईलाई पनि बोलाएर करणी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता र अर्कोमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे । महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

    हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए । डीएसपी मल्लका अनुसार त्यसबेला चन्द्रबहादुर शंकाको घेरामा थिए । तर पक्राउ परेका थिएनन् । उनी भागेर भारत गएर बसेको देखिएको डीएसपी मल्लले बताए । शंकास्पद नदेखिएका कारण कल्पन भने भागेको नदेखिएको उनले बताए ।

    लामो समय भारतको सिक्किम बसेका चन्द्रबहादुर केही वर्षअघि मात्रै घर फर्किएको प्रहरीले बताएको छ । ‘फाइल थन्किएको थियो, पटकपटक मृतकका आफन्तलाई बोलाएर सोधीखोजी गर्‍यौं,’ उनले भने, ‘सूक्ष्मरुपमा अनुसन्धान गर्‍यौं ।’ पक्राउ परेकामाथि बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

  • बझाङमा हिमपहिरो : तीन जना पुरिए

    बझाङमा हिमपहिरो : तीन जना पुरिए

    काठमाडौं । बझाङमा हिमपहिरोमा परेर ४ जना बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ । सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

    घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगेपनि स्थानीय बासिन्दाले बोहराको शव भेटिएको जानकारी प्रहरीलाई गराएका छन् । हिमपहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको भने खोजी भइरहेको डीएसपी भण्डारीले बताए ।

    उनका अनुसार पहिरोमा परेर दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो गएको खबर स्थानीय बासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । तर पैदल जानुपर्ने भएकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले बताएको छ ।

  • चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह

    चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह

    काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।

    शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए । अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

  • पोल्याण्ड लैजाने भन्दै होटेलमा मान्छे जम्मा गर्ने दुई जना पक्राउ

    पोल्याण्ड लैजाने भन्दै होटेलमा मान्छे जम्मा गर्ने दुई जना पक्राउ

    काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि पुगेका थिए ।

    तर अन्तर्वार्ता नलिएको भन्दै होटल परिसरमा होहल्ला भएपछि प्रहरी टोली पुगेको थियो । त्यसपछि दुई जना विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

  • रौतहटमा एक जनाको हत्या

    रौतहटमा एक जनाको हत्या

    काठमाडौं । रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो ।

    त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए । छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी मगरले जानकारी दिए ।

  • खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

    खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

    काठमाडौं । सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने भएका छन् । उनको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।

    धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने जानकारी दिए । आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने विश्वास व्यक्त गरे ।

    छलफलमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन र धार्मिक क्षेत्रका अगुवाहरुले आध्यात्मिक सम्मेलनले खप्तडको परिचय अझ बृहत बनाउने विश्वास गर्दे सम्मेलन सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका थिए । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले चौकीदारी गर्न भारत र खाडीमुलुक गएकाहरुलाई यो सम्मेलनले आमाको काखमा र परिवारको साथमा पुगाउने अवस्था सिर्जना गर्ने बताए । उनले सुदूरपश्चिमको नाम नै खप्तड प्रदेश राख्न माग गरे ।


    खप्तडसँग जोडिएको डोटीको पूर्बीचौकी गाउँपालिकाका पूर्व अध्यक्ष दीर्घ बोगटीले पनि सम्मेलनको सफलता भनेको संस्कृतिको पहिचानसँगै रोजगारीबाट सम्बृद्धि हो भन्ने विश्वास व्यक्त गरे । ५०० जना विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता हुने सो सम्मेलनमा झण्डै तीन करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

    २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तडलाई २०४२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको खप्तडमा १२ हजार फिट अग्लो खप्तड लेक पनि छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन र ५३ वटा थुम्काहरू छन् ।

    किम्वदन्तीअनुसार महाभारतका पाण्डवपुत्र भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिकस्थल प्रसिद्ध छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री त्यहँ पुग्छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । खप्तडमा विभिन्न खालका बन्यजन्तु, फुलहरु र जडीबुटी समेत पाइन्छन् ।

  • ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु

    ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु

    काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(७ मा बुधबार ट्र्याक्टरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय कमल सुवेदीका विद्यालय जाँदै गरेका ९ वर्षीया छोरी गंगा र १३ वर्षीया पुजनालाई मे १ त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो ।

    ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन् । घटनामा ११ वर्षकी रेश्मा बराइली र १० सोनिया अधिकारी घाइते भएका छन् । उनीहरुको पाँचर अस्पतालमा उपचार जारी छ । ट्र्याक्टर चालक फरार रहेकोले खोजी जारी रहेको प्रहरी निरीक्षक कुँवरले बताए ।

  • अर्घाखाँचीमा जंगलमा आगो लगाउने चार जना पक्राउ

    अर्घाखाँचीमा जंगलमा आगो लगाउने चार जना पक्राउ

    काठमाडौं । अर्घाखाँचीको भूमिकास्थानमा चार जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २६ गते भूमिकास्थान नगरपालिका वडा नम्बर २ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा जलेर चार जनाको ज्यान गएको थियो।

    आगलागीमा परी गम्भीर घाइते भएका भूमिकास्थान २ बेल्बासे टोलका ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधव बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वर्षीय पदमप्रसाद बेल्बासेको उपचारको क्रममा वैशाख २७ गते मृत्य भएको हो। घटनामा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्बासे उपचारपछि घरमा आराम गरिरहेकी छन्।

    वनमा आगो लगाएको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक विक, ७० वर्षीय देवीराम बेल्बासे र ३६ वर्षीय धर्मराज बेल्बासेलाई पक्राउ गरेको छ। उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो। पक्राउ परेका चारै जनामाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।

    मुलुकी अपराध संहिता २०७४ मा कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा ६ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

    घटना विवरणअनुसार वैशाख २६ गते बिहान घाँस काट्न गएका उनीहरूले जंगल क्षेत्रमा आगो लगाएका थिए। सोही आगो फैलिदै बेल्बासे टोलका घर, गोठ तथा परालका टौवामा सल्किएको प्रहरीले जनाएको छ। जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ।

  • ललितपुर महानगरले भन्यो : सुन्दरताको अभियानमा अवरोध नगर्नुहोस

    ललितपुर महानगरले भन्यो : सुन्दरताको अभियानमा अवरोध नगर्नुहोस

    काठमाडौं । ललितपुर महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न भनेको छ । महानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको अभियानमा केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमणमा लागेको र आफ्नो घरको गेट समेत सार्वजनिक बाटोतर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरी अरु नागरिकलाई समेत अवरोध सृजना गर्ने गरेको पाइएकोमा ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।

    त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई ३५ दिनभित्र सुधार गर्न पनि महानगरपालिकाको आग्रह छ । तोकिएको मिति ३५ दिनभित्र पनि सुधार नगरेमा कानुनी कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियान अन्तर्गत हरियाली प्रवर्द्धन, सडक पेटीमा सुधार, स्मार्ट बत्ती जडान, ऐतिहासिक सम्पदा तथा सार्वजनिक जग्गा संरक्षणका काम गर्दै आएको जनाएको छ ।

  • दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते

    दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते

    काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका २ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्‍याइएको थियो ।

  • सरकारको नीति तथा कार्यक्रम ५ जेठमा प्रस्तुत हुने

    सरकारको नीति तथा कार्यक्रम ५ जेठमा प्रस्तुत हुने

    काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने भएका छन् । यसबारे सरकारले राष्ट्रपति कार्यालय र संसद सचिवालयमा जानकारी गराएको छ ।

    राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी वर्षको बजेट निर्माण गर्छ। सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।

  • धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य

    धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद साम्य भएको छ । मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गरेका छन् । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी मागेको बताइएको छ ।


    मेयर साम्पाङका स्वकीय सचिवले २९ फागुनमा उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुसँग कामको प्रगति विवरण पठाउन निर्देशन पत्र पठाएपछि विवाद सुरू भएको थियो । १ चैतको कार्यपालिका बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त निर्देशन पत्र फिर्ता हुनुपर्ने माग राखेर विरोध जनाएका थिए । उक्त बैठकमा १० नम्बर वडाका अध्यक्ष विवेक राईले फरक मत राखेका थिए । जसका कारण कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो । सो बैठकमा फरक मत राखेका वडाध्यक्ष राईलाई ३ चेतमा मेयर साम्पाङले स्पष्टीकरण सोधेका थिए ।

    दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका थिए । तर मेयर साम्पाङले उल्टै वडाध्यक्षहरुको राजीनामा मागे पछि विवाद थप चर्किएको थियो । विवाद चर्किएपछि आन्दोलनरत वडाध्यक्षहरुले ७ चैतदेखि विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम थालेका थिए ।

    धरानको विवाद समाधान भएसँगे रोकिएका ५ वटा एजेण्डा आइतबारको कार्यपालिका बैठकबाट सर्वसम्मत पास भएको उपप्रमुख बेघाको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार नगर शिक्षा समिति चयन, नदीजन्य पदार्थ उत्खननको मापदण्ड, केही ऐनहरु संशोधन सर्वसम्मत पारित भएको छ ।

  • बारा २ बाट उपेन्द्र यादव विजयी

    बारा २ बाट उपेन्द्र यादव विजयी

    काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए ।

    नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल भएका छन् । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।

    उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका डा। स्वर्णिम वाग्ले विजयी भएका हुन् ।

  • बारामा उपेन्द्र यादव निरन्तर अगाडी

    बारामा उपेन्द्र यादव निरन्तर अगाडी

    काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर तीन हजार पुर्‍याए । जसपाका अध्यक्षसमेत रहेका यादवले नौ हजार ८७०, जनमतका कुशवाहले छ हजार ७७१, नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ मत पाएका छन् ।

  • मकवानपुरमा ट्याक्टर दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    मकवानपुरमा ट्याक्टर दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा घाइते मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

  • स्वर्णिम वाग्ले भारी मतअन्तरले विजयी

    स्वर्णिम वाग्ले भारी मतअन्तरले विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए ।

    राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो । यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । स्वर्णिम नेपाली कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन लडेका थिए ।

  • काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा दुई वटा छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका ७का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार जारी छ।

    यस्तै चन्द्रागिरि नगरपालिका(१० सतुङ्गल सिजी गेट अगाडि बा ५ ख ७००४ नम्बरको हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको थियो। प्रदेश ०३(०२०औ०१३ प ९१८ नम्बरको मोटरसाइकल सोही गाडी मुनी छिरेको थियो। उक्त दुर्घटनामा भने पाल्पाको तानसेन नगरपालिका(३ घर भएका २२ वर्षीय रसिक रामजालीको शनिबार बिहान मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, कैयौं घाइते

    विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, कैयौं घाइते

    काठमाडौं । विराटनगरमा शनिबार भएको झडपमा कम्तीमा १० जना घाइते भएको प्रहरीले जनाएको छ । छ जना प्रहरी र चार जना पहिचानवादी आन्दोलनकारी घाइते भएका हुन् । कोशी नाम खारेजी माग गर्दै आएको संयुक्त संघर्ष समितिले भने आन्दोलनकारीतर्फ छ जना घाइते भएको बताएको छ । यसअघि चैत ५ को आन्दोलनको क्रममा घाइते भई निधन भएका पदम लिम्बूको शव प्रदर्शनका क्रममा विराटनगरमा झडप भएको थियो। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार प्रदर्शनकारीले रोडसेस चोक नजिक मुख्यमन्त्री कार्यालय अगाडि निषेधाज्ञा तोडेपछि झडप भएको हो।

    झडप सुरू हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएको प्रहरीले दावी गरेको छ। एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ। आन्दोलनकारीतर्फ घाइते भएका झापाको शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ। आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ।

    एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो। यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन्। उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ।

  • दार्चुलामा तुइनबाट झरेर एक जनाको मृत्यु

    दार्चुलामा तुइनबाट झरेर एक जनाको मृत्यु

    काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर मृत्यु भएको हो । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

    सिङ्दलसिंहकी आमा सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

    सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेका छन् । उनकी श्रीमतीको भने चार वर्ष अघि मृत्यु भएको थियो ।

  • गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत

    गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे । मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।

    सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।

  • गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु

    गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो । बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो ।

    आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन् । उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिएका छन् । गुल्मीको ईस्मा गाउँपालिकामा हिजो भएको आगलागीमा दुई वटा घर र तीन वटा गोठ पूर्णरुपमा नष्ट भएका छन् ।

    स्थानीय सामुदायिक वनबाट लागेको आगो एक्कासी गाउँ पसेपछि घररगोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए । दुई हप्तादेखि गुल्मीका सामुदायिक वन एवम् राष्ट्रिय वनमा डढेलो र आगलागीका घटना बढेका छन् ।

  • लामिछानेका सवारी चालकलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

    लामिछानेका सवारी चालकलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।

    ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन्।

    सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो। तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले पनि अचेत छन्। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।

  • प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

    प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

    काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।

    तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । उनी आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । स्थानयि संचारमाध्यमहरुका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

    प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

  • दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

    दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

    काठमाडौं । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका(८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

    गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताएका छन् ।