Category: स्थानीय

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ। राति भने देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा रातिपनि मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखका आकलन छ।

    त्यसकारण हावाहुरी, भारी वर्षा, मेघ गर्जनचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

    मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मनहरी गाउँपालिका ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाएका हुन् ।

    ट्रक ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति ननगरपालिका(८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका(२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका(३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए ।

    आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ ।

  • श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

    काठमाडौं । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    राधिका पिताम्बरका जेठी श्रीमती हुन् । गतराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घरभित्र चुकुल लगाएकै अवस्थामा श्रीमती राधिका लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    छिमेकीहरूको खबरपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरीक्षक मदन बस्नेतको कमान्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। साथै प्रहरी चौकी जौबारीबाटसमेत प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको कमान्डमा दुई जना प्रहरी घटना स्थल पुगेको थियो। श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यु भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार श्रीमती राधिकाको बायाँ गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ। प्रहरीले धारिलो हतियारको प्रयोग भएको हुन सक्ने बताएको छ।

    श्रीमतीको हत्यापछि घर नजिकैको रूखमा गएर खतिवडाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ। आमाको हत्या बुवाले नै गरेको १४ वर्षीया छोरी रचना खतिवडाले बताएको प्रहरीे जानकारी दिएको छ। घटनास्थल सुरक्षित राखिएको प्रहरीको भनाई छ ।

  • बर्दियाको हिरासतबाट भागेका दुई बन्दी पक्राउ

    बर्दियाको हिरासतबाट भागेका दुई बन्दी पक्राउ

    काठमाडौं । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।

    उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

  • पोखरामा सुरु भयो राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय समन्वय परिषद्को सचिवालयको आयोजनामा शनिबार पोखरामा राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठकमा सुरु भएको हो ।

    प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको संघीष संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ ।


    विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन ।

    संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्न अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो । बैठकबाट तीन तहका सरकारबीचका अस्पष्टता र साझा अधिकारमा कानुन, नीतिलगायतमा देखिएका समस्याको समाधान हुने विश्वास लिइएको छ ।

  • बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने

    बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने गुनासो आएकाले यस विषयमा व्यवसायलाई निर्देशन दिएको हो ।

    विभागका निर्देशक होमनाथ भट्टराईले जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानीको उत्पादन, ढुवानी एवं बिक्रीवितरणका क्रममा संलग्न रहने उत्पादनकर्ता, ढुवानीकर्ता एवं बिक्रेता सबैले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम आआफ्नो व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले दर्ता नगरी सञ्चालन गरेको कम्पनी वा व्यवसायी फर्मका बारेमा अनुगमन भइरहेको र त्यस्ता भेटिएमा कानुन अनुसार हदैसम्मको कारबाही हुने जानकारी दिए ।


    साथै विभागले विज्ञप्तिमार्फत उपभोग गर्ने पानी खरिद गर्दा लेबल हेरेर आफूले पिउने पानी कहाँ कसले उत्पादन गरेको हो त्यसको सुरक्षित ढुवानी तथा ओसारपसार र भण्डारण भए वा नभएको र जारको गुणस्तर राम्रो भए वा नभएको यकिन गरेर मात्रै खरिद गर्न आमउपभोक्तालाई आग्रह गरेको छ ।

  • झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु

    झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड सि अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताएका छन् ।

    मृतक दुई जना बाबुछोरी हुन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले बताएको हो। दुर्घटनामा पाँच जना घाइते छन्। उनीहरूको उपचार भइरहको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • दाङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु


    काठमाडौं । दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। 

    चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो। अहिले चौधरी र केसी दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ। 
    शनिबार दिउँसोदेखि नै दाङमा चट्याङसहित वर्षा भइरहेको छ।

  • बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    काठमाडौं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो 

    चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

    चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले

  • गैंडाकोटमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

    गैंडाकोटमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

    काठमाडौं । नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा डुबेका करिब १३\१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । रासस

  • ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

    ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

    प्रहरी इन्सपेक्टर दासका अनुसार सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजी जारी छ । पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए । प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

  • गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

    गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतकको पहिचान खुल्न बाँकी छ ।’ बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘त्यो गाडीमा १८–१९ जना थिए भन्ने खुलेको छ ।’

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

  • आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, झण्डा आधा झुकाइने

    आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, झण्डा आधा झुकाइने

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

    गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ । चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • सुदूरपश्चिम प्रदेशका कानून मन्त्रीको सडक दुर्घटनामा निधन

    सुदूरपश्चिम प्रदेशका कानून मन्त्रीको सडक दुर्घटनामा निधन

    काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

  • दार्चुलामा भूकम्पको धक्का महसुस

    दार्चुलामा भूकम्पको धक्का महसुस

    काठमाडौं । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

  • पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

    पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

    काठमाडौं । सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको खोजी कार्य आज पनि जारी छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले बताएको छ । बाढीपहिरोमा परेर सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् । पाँचथरमा दुई तथा सङ्खुवासभा र ताप्लेजुङमा एक–एक जनाको ज्यान गएको छ । धनकुटाको छथर जोरपाटीमा तमोर नदी किनारमा हिजो बेलुकी एक महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    सङ्खुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । यी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कोशीका विभिन्न जिल्लामा २० घर बगाएको र आठ घरमा आंशिक क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार सङ्खुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बगाएको छ । पाँचथरका ३१ घरपरिवार विस्थापित भएका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले बढी क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीसमेत खोज, उद्धार र राहतको काममा सक्रियताका साथ लागेको सरकारले जनाएको छ ।

  • देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त

    देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

    बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

  • संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन

    संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन

    काठमाडौं । संखुवासभा जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

    बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिए । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत बताइएको छ । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता

    ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता

    काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गतरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

    गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ । बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो । कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

  • पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता

    पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता

    काठमाडौं । पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    तर, विवरण आउन बाँकी रहेको जनाएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । प्रहरीका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलाको पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ ।

  • मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड

    मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका छन् ।

    आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय पदाधिकारीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

    काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

    सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

    विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।

  • रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत

    रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् । आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् ।

    ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत ।’, भट्टराईले लेखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

  • ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते

    ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते

    काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो ।

    बसमा २४ जना यात्रु थिए । घाइतेमध्ये १८ जनाको बी एण्ड बी अस्पताल ग्वार्कोमा र एक जनाको किस्ट अस्पताल इमाडोलमा उपचार भइरहेको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिएका छन् । बस तीव्र गतिमा कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

    उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

    काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो ।

    वुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले विमानभित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। ‘टेक्निकल टिमहरुले हेरिरहेका छन्। कहाँ के फल्ट छ भनेर, अर्को विमानबाट यात्रीहरुलाई काठमाडौं पठाइएको छ’, सिंहले भने ।

  • आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

    आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

    काठमाडौं । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ ।

    कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् भने लामो दूरीका गाडी छुटेका छैनन् । पहाडी जिल्लामा आम हडतालको असर कम परेको छ । बिहानैदेखि केही चोकमा आन्दोलनकारीको उपस्थिति रहेको र प्रहरी पनि परिचालन गरिएको छ । लामो दूरीका गाडी सुदूरपश्चिममा भित्रिए पनि छुट्न भने नपाएको प्रहरीको भनाई छ ।

  • पोखरामा उच्च विन्दुमा पुग्यो तापक्रम

    पोखरामा उच्च विन्दुमा पुग्यो तापक्रम

    काठमाडौं । पोखरामा शुक्रबार ३६ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो । अहिलेसम्म मापन भएको सबैभन्दा माथिल्लो विन्दु हो । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ । मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको तापक्रमले अहिलेसम्मकै उच्च हो ।

    ‘अप्रिल र मे महिनामा चाहिँ अलि बढी गर्मी हुन्थ्यो । जुन लागेपछि प्रायजसो वर्षा हुन्थ्यो’, अर्यालले भने, ‘तर, यसपटक वर्षा भएन । जसका कारण जुन महिनामा तापक्रमको नयाँ रेकर्ड बनेको छ ।’ सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो ।

    सन् १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसक्ने भए पनि यस वर्ष अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए । ‘अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसकेको हुन्थ्यो । यो पटक अझै ३\४ दिन सम्भावना न्यून देखिन्छ’, अर्यालले भने । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो ।

  • कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

    कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

    काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका(६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । जिप सडकबाट १५० मिटर तल खसेको छ ।

  • कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

    कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ । प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको र गाडी सात सय मिटर तल खोलामा खसेको थियो ।

    इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भए पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले बताएका छन् ।

  • सीटीईभीटीका उच्च तहका कर्मचारीसहित सुनकोशीमा खसेको जिप फेला, दुई जनाको शव भेटियो

    सीटीईभीटीका उच्च तहका कर्मचारीसहित सुनकोशीमा खसेको जिप फेला, दुई जनाको शव भेटियो

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

    त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्स्पेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोर सहितको टोलीले खोजिरहेको थियो । तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भँगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । त्यसपछि गाडीसँगै २ वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


    भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो । चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए । भेटिएका दुई शव सहसचिव र विद्युत प्राविधिकको रहेको सनाखत भएको छ ।

  • बुटवलमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    बुटवलमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।
    बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गुल्मी मालिका गाउँपालिका ४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ ।