Category: स्थानीय

  • न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

    न्युयोर्कमा फोन्नाको पहिलो सम्मेलन सम्पन्न, अध्यक्षमा बिष्णु मगर

    अगष्ट ५, न्युयोर्क,

    फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, फोन्नाले न्युयोर्कस्थित कोरोना पार्कमा संस्थाको पहिलो सम्मेलन सम्पन्न गरेको छ । तदर्थ समितिद्वारा अगष्ट ५ मा आयोजित भेलाको सर्वसम्मतिले अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनले प्रत्यक्ष संलग्न र सरोकार रहने पद्दति अनुसार बिज्ञान खनाल, अच्युत सिग्देल, बुद्धिमान तामाङ, निरञ्जन पाण्डे, हरि अधिकारी गरी ५ जना सल्लाहकारमा निर्विरोध गरेको छ ।

    सन् २०२१ मा बिज्ञान खनालको पहलमा गठित तदर्थ समितिलाई बिस्तारित र मजबुत बनाउने सहमतिमा निर्बिरोध निर्वाचन सम्पन्न भएको थियो । खनालले नुवाकोटबाट न्युयोर्कमा आई बसोबास गरिरहेका जिल्लाबासीको एकता र सहकार्यको महत्व प्रवासमा अझ रहने आवश्यकता महसुस गरी सांगठनिक हुने पहलको शुरुवात गरिएको थियो ।

    न्युयोर्क निवासी नुवाकोटबासीको पहिलो एवम् ऐतिहासिक अधिवेशनको प्रस्तावित बुँदाहरु उपर निम्नानुसार निर्णय गरेका छन् ।
    १, नवनिर्वाचित कार्यसमितिले कम्तिमा बर्षको १ सामुहिक बृहत कार्यक्रम र १ सामुदायिक कार्यक्रम सम्पन्न गर्नेछ ।
    २, फोन्नाको भेलामा उपस्थित सम्पूर्णलाई सदासयता र सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्ने ।

    फोन्ना अधिवेशनमा अच्युत सिग्देल, शाश्वत सिग्देल, शार्दुल सिग्देल, पल्लवी सुबेदी, बिज्ञान खनाल, भगवती खनाल, आबृती खनाल, अग्रज्ञान खनाल, रामेश्वर खनाल, बिष्णुप्रसाद खनाल, लीला अर्याल खनाल, आकृती खनाल, विलिप खनाल, शिक्षा खनाल, हरीप्रसाद अधिकारी, बिष्णु राना मगर, फिलिक्स राना मगर, किशोर आचार्य, संगिता अधिकारी, साकार आचार्य, शिव शंकर डंगोल, योगेश आदी, उमेश राई, राज गुरुङ्ग, दिपक कुमार खड्का, बाला राई, सम्बिर राम्दान, प्रख्यात दोङ्, चित्र बस्नेत, दिनेश महर्जन, संगिता महर्जन, यादव तिमिल्सिना, पुष्पा लामा, सोनाम याङ्दी, तेन्जिङ लोडे भुटिया, सजबिना लामा, भुवन मान डंगोल, बुद्धमान तामाङ, देबेन्द्र लामा, उत्तम पाण्डे, राज लामिछाने, सरस्वती पराजुली, ईन्द्र प्याकुरेल, निरञ्जन पाण्डे, शान्तजी पन्त, देवकी पाण्डे पन्त,चिरन्जिवि पन्त, समृद्ध पन्त, आदर पन्त, सान्ता तामाङ, लगायतको उपस्थिति रहेको थियो ।

    फोन्नाले प्रवासी नुवाकोटबासीको हितका अलावा नुवाकोट जिल्लाको हितमा समेत कार्य गर्ने उद्देश्य राखेको नवनर्वाचित अध्यक्ष बिष्णु मगरले बताएको छ । फोन्नाको ऐतिहासिक/पहिलो अधिवेसनबाट निम्नानुसारको निर्बिरोध निर्वाचित कार्यसमिति तय भएको छ ।
    अध्यक्षः बिष्णु राना मगर
    उपाध्यक्षः भुवन मान डंगोल
    सचिवः देवकी पान्डे पन्त
    कोषाध्यक्षः देबेन्द्र लामा
    सदस्यः लीला अर्याल
    सदस्यः इन्द्र प्याकुरेल
    सदस्यः रामेश्वर खनाल
    सदस्यः दिपक पण्डित
    सदस्यः उत्तम पान्डे
    सदस्यः किशोर आचार्य
    सदस्यः योगेश आदी

    फोन्ना अधिवेशनको समापन नवनर्वाचित उपाध्यक्ष भुवनमान डंगोलले गरेका थिए। कार्यक्रममा उपस्थितलाई आयोजकले कर्टेसी बर्बेक्यू खानपिन गराएका थिए ।

  • काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु

    काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

    नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए ।

  • भारतमा कार दुर्घटना, एकै परिवारका चारसहित ६ जना नेपालीको मृत्यु

    भारतमा कार दुर्घटना, एकै परिवारका चारसहित ६ जना नेपालीको मृत्यु

    काठमाडौं । भारतमा भएको कार दुर्घटनामा६ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये चार जनाएको एकै परिवारका हुन् । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा उनीहरुको निधन भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । उनीहरु नेपालगन्जका हुन् ।

    नेपालगन्जको त्रिभुवन चोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको छ । यसै गरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा निधन भएको छ ।

    दुर्घटनामा निधन हुने ६ जना नै नातेदार भएको बताइएको छ । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज बजार शोकमा परेको छ । वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

  • ७१८ तरकारी र फलफूल परीक्षण गर्दा केरामा भेटियो सबैभन्दा बढी विषादी

    ७१८ तरकारी र फलफूल परीक्षण गर्दा केरामा भेटियो सबैभन्दा बढी विषादी

    काठमाडौं । बढी उपभोग हुने फलफूल केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा केरामा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।

    कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमुना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ।

    चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।

    प्राविधिक सहायक सिम्खडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ। पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ।
    चितवनमा प्रायः गरेर केरालाई क्वारेन्टिनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए। ३५ प्रतिशतभन्दा कम रोकावट आए मात्र केरा खानयोग्य हुन्छ।

    अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने फल हो। तर कहिलेकाहीँ केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुन सक्छ। यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चिकित्सक बताउँछन्।

    भरतपुर अस्पतालका डा गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बोनेट जस्ता औषधि प्रयोग गरेर पकाइएको केरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए। यस्तो केरा खाएमा पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने उनले बताए। गर्भवतीलाई यस्तो केरा खुवाएमा पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ।

    कृषि विज्ञका अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ। कर्बोहाइड्रेड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ। आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ।

    केरालाई विषादीरहितभन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुने चिकित्सक बताउँछन्। खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ।

  • जाजरकोटमा विषालु च्याउ सेवनबाट एक जनाको मृत्यु

    जाजरकोटमा विषालु च्याउ सेवनबाट एक जनाको मृत्यु

    काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।

    वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको जानकारी दिएका छन् ।

  • दोलखामा पहिरो, कम्तिमा ३ जना वेपत्ता

    दोलखामा पहिरो, कम्तिमा ३ जना वेपत्ता

    काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए । पहिरोले बस्तीका धेरै घर जोखिममा परेको र टेलिफोन सम्पर्क पनि हुन नसकेको उनले बताए ।


    यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए । दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

  • सामाखुसीबाट वेपत्ता किशोर १३ दिनपछि दक्षिणकालीमा मृत फेला

    सामाखुसीबाट वेपत्ता किशोर १३ दिनपछि दक्षिणकालीमा मृत फेला

    काठमाडौं । सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो ।

    काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ । मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो । सामाखुसी घर भएका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्दै आएका थिए ।

  • बौद्धबाट सर्वसाधारणलाई धम्क्याउने पाँच जना पक्राउ

    बौद्धबाट सर्वसाधारणलाई धम्क्याउने पाँच जना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक र रामेछाप स्थायी घर भएर काठमाडौं बस्दै आएका पाँचजना बुधबार पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा श्यामबहादुर लामा, विक्की लामा, भीमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रवीण तामाङ छन्। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि बुधबार प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।

  • मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको ज्यान गएको हो ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाहरुले गरेको राजमार्ग बन्द प्रहरीले खुलाएको छ ।

  • पश्चिम तराईमा भारी वर्षा, जनजीवन प्रभावित

    पश्चिम तराईमा भारी वर्षा, जनजीवन प्रभावित

    काठमाडौं । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङ देउखुरीको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान साढे २ बजे सूचना जारी गरेर पछिल्लो तीन घण्टायता ती क्षेत्रमा भारी वर्षा भएको जानकारी दिएको हो ।

    महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनीमा ७४.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी तौलिहवामा ६२.२ मिलिमिटर, लालमटियामा ६२ मिलिमिटर र भैरहवामा ५५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    भारी वर्षाका कारण सो क्षेत्र भइ बहने कोठी, बाणगंगा, सुरई लगायत खोलाहरूमा बहाव बढ्ने पूर्वानुमान छ । त्यसैले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन पनि महाशाखाले आह्वान गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थान आसपास अवस्थित छ ।

    त्यसैले पूर्वको तुलनामा पश्चिम क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा भूक्षयबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

  • रुकुम पश्चिममा पहिरोमा परी २ जनाको मृत्यु

    रुकुम पश्चिममा पहिरोमा परी २ जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

    प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार उनीहरु करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका थिए । आइतबार दिउँसो पौने तीन बजे बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरो ढिस्को खसेको थियो । पहिरोमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

  • सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता

    सामाखुसीमा भेलमा बगेका किशोर अझै वेपत्ता

    काठमाडौं । साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढी र भेगले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।

    खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

    विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न नसकेको उनले बताए । यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत खबर गरेको उनको भनाई छ ।

    बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए । रासस

  • दुई जिल्लामा आज अति धेरै वर्षा

    दुई जिल्लामा आज अति धेरै वर्षा

    काठमाडौं । आज झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

    जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ ।

    साथै कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । जल तथा मौस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

    आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न बाबुराम भट्टराईको प्रस्ताव

    कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्न बाबुराम भट्टराईको प्रस्ताव

    काठमाडौं । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् ।

    प्रदेश प्रमुख परशुराम खापुङलेले यही साउन १६ गते अपराहृन ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षले बहुमत जुटाउन सकेका छैनन् । सत्ता गठबन्धनले राप्रपाको साथ खोजेका छन् र कोशीका नेताहरुलाई छलफलका लागि काठमाडौंमा बोलाएका छन् ।

    तर डा. भट्टराईले भने यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताएका हुन् ।

    भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’

    जसरी भए पनि सरकार बनाउन खोजेका दलहरुको प्रयासलाई भट्टराईले सत्ता लिप्सा देखाएको भनेर टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ?’

    नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो । सर्वोच्चले संविधानको धारा १६८ -२० बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

  • महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने

    महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने

    काठमाडौं । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ।

    जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको छ। कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

  • नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु

    नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु

    काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

    सडकको पहिरो पन्छाएर बिहान ९ः५५ बजेदेखि सडक पुनः दुईतर्फी नै सञ्चालन गरिएको छ । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको थियो ।

  • काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेर कच्याककुचुक भएको छ ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक निलम्बनमा

    राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक निलम्बनमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

    ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङका सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’ जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

  • मुग्लिङ -नारायणगढ सडक खण्ड अवरुद्ध

    मुग्लिङ -नारायणगढ सडक खण्ड अवरुद्ध

    काठमाडौं । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । पानी परिराखेकाले परिहो पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।

  • बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

    बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

    काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिक-(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको भन्ने खबर छ,’ उनले भनिन्, ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’

    घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

    जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।

  • सामाखुसीमा बाढीले किशोरलाई बगायो, अवस्था अज्ञात

    सामाखुसीमा बाढीले किशोरलाई बगायो, अवस्था अज्ञात

    काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको बताइएको छ । उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता लागेको छैन ।

  • धनुषास्थित नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानेर हत्या

    धनुषास्थित नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानेर हत्या

    काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

    धनुषा प्रहरी समेत घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । महिलाको पनि पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।

    भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शवको पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताएका छन् । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।

  • ललितपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    ललितपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका–१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए। गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

    मृतक काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ र मकवानपुर हेटौंडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबा छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिइसकेको छ।

  • इनरुवामा बनाइयो विपिको पूर्ण कदको सालिक

    इनरुवामा बनाइयो विपिको पूर्ण कदको सालिक

    काठमाडौं । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरे । इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

  • धरानमा गोली हानेर एक जनाको हत्या

    धरानमा गोली हानेर एक जनाको हत्या

    काठमाडौं । सुनसरीको धरानमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

    प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।

  • यस्तो रहनेछ आज देशैभर मौसम

    यस्तो रहनेछ आज देशैभर मौसम

    काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राती देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भाग एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हल्का, मध्यमदेखि भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षापछि हुनसक्ने विपदबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

    सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । गत असार २७ गते प्रचण्ड पत्नी सीता दाहालको निधन भएको थियो । त्यसयता प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।

  • सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

    काठमाडौं । मंगलबार मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको छ । यो नेपालको इतिहासको ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो ।

    त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो, तर गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलततर्फ खटाएको थियो ।

    स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो । टोलीले सोलुखुम्बुको लामजुरा पासनजिकै हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।

    मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए । सोमबार प्रतिकुल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो । हेलिकप्टर ५५ वर्षीय अनुभवी पाइलट सीबी गुरुङले उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार उनीसँग ७ हजार घण्टा उडानको अनुभव थियो ।

  • धौलीगंगाको बाँध भारतले खोल्यो, महाकालीमा वहाव बढ्ने

    धौलीगंगाको बाँध भारतले खोल्यो, महाकालीमा वहाव बढ्ने

    काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधका ढोका भरेराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ ।

    राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

    भारतले सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

  • दैलेखमा छोरीमाथि बलात्कार गर्नेलाई ३३ वर्ष कैद

    दैलेखमा छोरीमाथि बलात्कार गर्नेलाई ३३ वर्ष कैद

    काठमाडौं । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो ।

    उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो । बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

    फैसलमा तीन लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चारवटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् ।

    सोमबार भएको सजाय निर्धारण पेसीमा पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । सरकारवादी मुद्दाहरुमा जिल्ला सरकारी वकिल कार्यालयले कसुरदारलाई अधिकतम सजायको मागदाबीसहित अदालतमा अभियोग दर्ता गराउने र पीडितका तर्फबाट निःशुल्क बहस पैरवी गर्ने गर्दछ ।