Category: स्थानीय

  • रसुवामा अवैध सुनसहित एक महिला पक्राउ

    रसुवामा अवैध सुनसहित एक महिला पक्राउ

    काठमाडौं । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।

    सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • भोजपुर केन्द्रविन्दु भएर गयो भूकम्प

    भोजपुर केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो।

    यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिइन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर स–साना भूकम्पहरू गइरहेका छन्। रासस

  • समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा

    समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा

    काठमाडौं । समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा गरिएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना भइसकेको छ । मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गरेको छ ।

    सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्दैछन् ।


    सभाको पूर्वसन्ध्यामा मोर्चाको गण्डकी प्रदेश संयोजन समिति पनि गठन गरिएको छ । मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको नेकपा ९माओवादी केन्द्र० का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले जानकारीदिए । मोर्चामा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् ।

    यसैगरी नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चाका सदस्य छन् । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् ।

    सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो गर्ने सहमति छ । हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गायत्री गुरुङले मोर्चाको नेतृत्व गरेकी छिन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको थियो । मोर्चालाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने नेताहरुले बताएका छन् ।

  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित

    काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोले मुग्लिन–नारायणगढ सडकमा यातायात असहज भएको हो । अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ ।

    सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाएर नसकुन्जेलसम्म सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ

  • तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन

    तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन

    काठमाडौं । दुई दिनदेख वेपत्ता नेपाली सेनाका मेजर विमल पण्डित अझै वेपत्ता छन् । उनी नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति हुन् । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिएका छन् ।

    उनी हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेको समेत पोखरेलले जनाएका छन् । उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको बताइएको छ ।


    पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङ वाकमा सेनाको टोली निस्किएको थियो । त्यसपछि उनले पीएसओलाई फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको बुझिएको छ ।

  • त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

    त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ गाईघाट नजिकै वनभोज ९पिकनिक० गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    दिउँसो साढे ४ बजेतिर नदीमा बेपता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

  • सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

    सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

    काठमाडौं । सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो ।
    पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो ।

    कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

    गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो । सम्पर्क तथा भूआर्जन अधिकृत पौडेलका अनुसार पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो ।

    सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र १९६८ यताकै छैटौँ पटक मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो ।

    पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको सम्पर्क अधिकृत पौडेलले बताउनु भयो । राजा वास, प्रकाशपुर, मधु वनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ ।

  • धरान प्रवेशमा कडाई

    धरान प्रवेशमा कडाई

    काठमाडौं । धरानमा आज आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ। विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको छ। सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ।

    निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं बाट बराहक्षेत्र वडा नं।३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ। त्यस्तै , इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

    निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ। धरानका मेयर हर्क साम्पाङसहित सबै राजनीतिक दलका नेताहरु, पुर्व मेयरहरु, नागरिक अगुवाहरुले सबैलाई संयम अपनाउन अपिल गरेका छन्। उनीहरूले धार्मिक र सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेका छन्। गो मंसका विषयमा चर्किएको विवादले धरान पछिल्ला दिनमा आतकिंत बन्दै गएको हो ।

  • मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

    मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

    काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडक अवरूद्ध भएको छ । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।

    डीएसपी पण्डितका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो पन्छाउन प्रहरीको टोली त्यसतर्फ पठाइएको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन् ।

  • मेलम्ची क्षेत्रमा आयो बाढी

    मेलम्ची क्षेत्रमा आयो बाढी

    काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।

    निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। “अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ”, उनले भनिन्, “वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।”

    पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए । रासस

  • आज पश्चिम नेपालमा मनाइदैछ गौरा पर्व

    आज पश्चिम नेपालमा मनाइदैछ गौरा पर्व

    काठमाडौं । आज महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिममा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइदैछ । चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमा मनाउन थालिएको हो ।

    चन्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

    कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

    गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । यस पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीले शुभकामना दिएका छन् ।

  • काठमाडौंबाट छुटेको यात्रुबाहक बस बारामा दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौंबाट छुटेको यात्रुबाहक बस बारामा दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट छूटेको यात्रु बाहक बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्र्घटनामा परेको छ । सो क्रममा कम्तिमा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सो बसमा भारतीय तीर्थयात्रु थिए । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटनामा परेको हो ।


    दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।

    दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटना पछि बसका चालक फरार थिए । उन िर सहचालकलाई प्रहरीले धनुषबाट नियन्त्रणमा लिएको छ ।

  • नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    काठमाडौं । चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

    ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।

  • चोरिएका दुई बच्चालाई बोरामा हालेर भारत लैँजाने क्रममा एक तस्कर पक्राउ

    चोरिएका दुई बच्चालाई बोरामा हालेर भारत लैँजाने क्रममा एक तस्कर पक्राउ

    काठमाडौं । चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका(३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिण झिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका(३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।

    सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा दुई बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए। नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

  • मोटरसाइकल दुर्घटनामा कास्कीमा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा कास्कीमा दुई जनाको मृत्यु

    पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेको बताइएको छ। दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो।


    चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ। रासस

  • सामाजिक सञ्जालमा अलबिदा लेखेका वडाध्यक्ष मृत भेटिए

    सामाजिक सञ्जालमा अलबिदा लेखेका वडाध्यक्ष मृत भेटिए

    काठमाडौं । मुसिकोट नगरपालिका–१ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । शनिवार बिहान ५ बजे सामाजिक सञ्जालमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथीभाइ ,शुभचिन्तक सबै प्रति माफी चाहन्छु । अलबिदा भन्ने स्ट्याटस लेखेका उनले झुन्डिएर आत्महत्या गरेको पाइएको छ ।

    सामाजिक सञ्जालमा स्ट्याटस देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव

    रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव

    काठमाडौं । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

  • कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो

    कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो

    काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

    “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”

    उनले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उनले भने, “विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिनेछ ।” रासस

  • मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

    दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु(५ का वडा सदस्य हुन् । यसैगरी सोरु ६ का सेरे रोकाया र हुम्ला सिमीकोट २ का उदीप बोहोरा पनि घाइते भएका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

  • धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु

    धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु

    काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।
    धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

    डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् । स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो ।

    धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो । धरानमा घर(घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए ।

    तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको अवस्थालाई मध्यनजर गर्दै ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणाका लागि केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरेको बताइन् ।

    साउन २६ गतेको बैठकपछि संघ र प्रदेशलाई ‘जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणाका लागि सिफारिस गरेको हो । त्यसअघि स्वास्थ्य कार्यालयले जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणाका लागि विपद व्यवस्थापन समितिलाई पत्र पठाएको थियो । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जिल्ला तहबाट केन्द्र र प्रदेशमा आपतकालीन अवस्था घोषणाका लागि अनुरोध भएको बताए ।

  • बाढीका कारण क्षतविक्षत कागबेनी

    बाढीका कारण क्षतविक्षत कागबेनी

    काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बाढीका कारण क्षतविक्षत भएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो ।

    मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५–१६ घर बगेका छन् । कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।’ प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।

    कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए । काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ ।

    बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ ।

    कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

  • सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

    सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

    काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

    उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् ।

    उनका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ । यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिइन् । उनले भनिन्, ‘वस्ती बाढीमा पसिसकेको चाहिँ छैन, तर हामी हाई अलर्टमा छौं ।’

  • बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

    बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

    काठमाडौं । बर्दियामा बबई नदीले तीन जनालाई बगाएको छ । तीनै जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको हो ।

    गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई साढे ४ बजे बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिएका छन् ।

    उनीहरू तीन जना बबईमा बाढी आएको समयमा दाउरा संकलन गर्न गएको र उनीहरू अलग अलग ठाउँबाट बगेको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गर्दा पनि उनीहरू फेला पार्न नसकेको र सोमबार बिहानैबाट फेरि खोजी सुरू हुने बताइएको छ ।


    बेपत्ताको खोजी र डुबानमा परेकाहरूको उद्धारका लागि ११ जना नेपाली सेना, ४९ जना सशस्त्र प्रहरी र एक सय दस जना नेपाल प्रहरी दिनभर परिचानल भएको बोहराले जानकारी दिए। दाउरा संकलन गर्न गएकी मध्यबाँसगढी नगरपालिका– ३ की ४० वर्षीया रामजानी थारूको भने सकुशल उद्धार गरिएको थियो।

    डुडुवा खोलामा बाढी आएको समयमा दाउरा संकलन गर्न गएकी थारू नदीको टापूमा फसेकी थिइन्। उनलाई प्रहरी निरीक्षक सुधिर खड्काको कमान्डमा खटिएको सात जनाको प्रहरी टोलीले सकुशल उद्धार गरेको डिएसपी बोहराले बताए। भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। अहिलेसम्म ८४ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

    बर्दिया नगरपालिका– ८ भगतपुरमा आठ घर डुबानमा परेका छन्। तीमध्ये चार घर परिवारका २२ जना विस्थापित भएका छन्। उनीहरूलाई सरस्वती आवासीय माध्यमिक विद्यालय, भगतपुरमा राखिएको छ। यही वडाको दूधामा ४० घर डुबानमा परेका छन्। ती मध्ये तीन घर परिवारका १४ जना विस्थापित भएको र उनीहरूलाई युवक मावि, दूधामा स्थानान्तरण गरिएको छ ।

  • भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    काठमाडौं । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।

    ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए । खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हुन् । मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस

  • नुवाकोटको ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

    नुवाकोटको ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन

    कपिल रिमाल, काठमाडौँ ।

    नुवाकोट जिल्लाको त्रिशूली कोलनी क्षेत्रसँग आबद्ध युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ गठन गरेको छ ।

    पृथ्वीनारायण शाहले राज्य एकीकरणका सिलसिलामा सैन्य तालिमलगायतका गृहकार्य गरेको नुवाकोट, विदुर नगरपालिकास्थित ऐतिहासिक बाघबगैँचा आसपासका युवा तथा बुद्धिजीवी एवं व्यवसायीको बृहत् भेलाले ‘त्रिशूली कोलनी–काठमाडौँ मैत्री समाज’ को गठन गरेको हो।

    युवा समाजसेवी अच्युतराज गौतमका अध्यक्षतामा गठित समाजका लागि विदुर- ८ र ९ का बासिन्दा भई हाल काठमाडौँ उपत्यकामा कामकाज गरिरहेका समाजसेवीसमेत समेटेर १३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरिएको छ ।

    समाजका वरिष्ठ उपाध्यक्षमा नारायणमान श्रेष्ठ र पुष्कर पौडेल, सचिवमा देबु दाहाल, कोषाध्यक्षमा विमला वैद्य तथा सदस्यमा बद्री फोयल, रामराजा भण्डारी, प्रल्हाद खतिवडा, उमङ्गमान शाक्य, वासु महर्जन, विनोद श्रेष्ठ, रवीन्द्र कर्माचार्य र रमिला डङ्गोल चयन भएका छन् । समाजको सल्लाहकारमा भने सञ्जु पण्डित, मोहन श्रेष्ठ, हरिप्रसाद रिमाल, श्याम केसी, गोपाल घटानी, नवीन बुढाथोकी, श्याम रिमाल, प्रदीप केसी, अमृत महर्जन र सङ्गीना वैद्य रहेका छन् ।

    संस्थाले छिट्टै विधान तयार गरी पृथ्वीनारायण शाहले नुवाकोट एकीकरणका लागि तयारी गरेको त्रिशूली, बाघबगैँचा (कलोनी) मा बृहत् पुनर्मिलन कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ ।

    संस्थाले यस क्षेत्रका जनताका पिरमर्का वा गुनासा सुनी सम्बोधन गर्ने, काठमाडौं तथा अन्यत्र जहाँ रहे पनि आपत्विपद्मा परेकालाई सक्दो आर्थिक, भौतिक र नैतिक समर्थन गर्ने एवं ऐतिहासिक- सांस्कृतिक- धार्मिक पहिचान कायम राखी प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने र यसलाई विशेष पहिचान दिलाउन प्रयत्नशील रहने, पर्यटकीय गतिविधि अभिवृद्धि, स्वास्थ्य सुरक्षा, सरसफाइ, आयआर्जनलगायत विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

    विक्रमको सत्रौँ शताब्दीमा नै राम शाहले गोरखाबाट पूर्व त्रिशूली नदी वारिसम्म नै राज्य विस्तार गरेका थिए भने पृथ्वीनारायणले विसं १८०१ मा बाघबगैँचा, बगुवा आदि क्षेत्रमा खेतीपाती गर्ने निहुँमा सैन्य तालिम दिलाई कान्तिपुरअन्तर्गत पर्ने नुवाकोट इलाका लिन सफल भएका थिए । सोही क्षेत्रमा नै तत्कालीन मुख्तियार भीमसेन थापाले विक्रमको सत्रौँ शताब्दीमा आँपका सात सय बोट लगाएका थिए जसमध्ये केही अहिले पनि कायमै छन् ।

    भेलामा नुवाकोट र काठमाडौँ उपत्यकामा रहेका बाघबगैँचा, बाग्टार, डिही बजार, कलोनी, हात्तीगौँडा, बगुवा बजार र राइसिङेका विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागिता थियो ।

  • बनेपा बजार पनि डुबानमा

    बनेपा बजार पनि डुबानमा

    काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए ।

    अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पुण्यमती खोलामा आएको बाढीले हरेक वर्ष डुबान गर्ने गरेको छ ।

  • काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

    काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

    काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

    काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

    आज रातभर आएको वर्षातकाकारण काठमाडौंका नदीहरुमा बाढी आएको छ । यसले शहरी इलाका नै डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला, मनोहरा, हनुमन्तेसहितका खोलाहरु उर्लिएका छन् ।

    यसले नदी किनारको शहरी इलाका डुबानमा परेको छ । घरहरु डुबेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आह्वान गरेको छ । आज काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट क्षेत्र आसपास भारी वर्षा मापन भएको छ ।

  • अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    अविरल वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणग-(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

    पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

  • सिद्धबाबा मन्दिर नजिकै जिपमाथि ढुंगा खस्यो, तीन जना घाइते

    सिद्धबाबा मन्दिर नजिकै जिपमाथि ढुंगा खस्यो, तीन जना घाइते

    काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यो राजमार्गमा माथिबाट पहिरो खस्दा बाह्रै मास जोखिम हुने गरेको छ ।