Category: स्थानीय

  • धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

    धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

    जनकपुर । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको ज्यान गएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।


    तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव छन् ।

  • उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

    उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

    उदयपुर । उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको हो । सात घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो लागेको आगोका कारण स्थानीय ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । उदयपुरगढी गाउँपालिका(१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो।

  • मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

    मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

    विराटनगर । मोरङको लेटाङमा बिहिवार बिहानबाट  कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बुधबार  बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

    लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको हो ।  आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको  थियो ।

    घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युकाे आदेश जारी भएको थियो। कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ ।

  • चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न. १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको बाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो। त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृत्यु हुनेमा नागार्जुन नगरपालिका बस्ने २६ वर्षीय समीर गिरी र काठमाडौं महानगरपालिका १४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना रहेका छन् । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको थियो । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका(६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

  • मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

    मोरङको लेटाङमा आजबाट कर्फ्यू खुकुलो पारियो

    मोरङ । स्थानीयको आक्रमणबाट एक जना महिला प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले मोरङको लेटाङमा लगाएको कर्फ्यू केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार लेटाङको चार किल्ला सिमानाभित्र भने अनिश्चितकालीन कर्फ्यू जारी रहने छ । मंगलबार जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।

    मोरङ प्रशासनका अनुसार बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यू खुकुलो पारिएको छ । लेटाङमा एक शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीय र प्रहरीबीच झडपको स्थिति बनेको हो । झडपमा आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार भएपछि उनको निधन भएको हो । घटनामा एसपीसहित २८ प्रहरी घाइते भएका छन् ।

  • प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

    प्रधानमन्त्री देउवा आज मोरङसहित प्रदेश नं १ का तीन जिल्लामा पुग्दै

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देश दौडाहा जारी राखेका छन् । यसक्रममा उनी सोमबार पूर्वी नेपालका तीन जिल्लाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि मोरङ पुग्ने छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् ।

    सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ जाने कार्यक्रम राखिएको छ । प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट प्रहरीको ज्यान गएपछि सो जिल्लामा सुरक्षा व्यवस्थामाथि अझ निगरानी बढाइएको छ । प्रधानमन्त्री भने चुनावी रणनीति अनुसार स्थानीय तहमा भवन शिलान्यासमा सक्रियता बढाएका छन् ।

  • मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

    मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

    विराटनगर । स्थानीयको आक्रमणबाट महिला प्रहरीको निधन भएको स्थान मोरङको लेटाङमा आज बिहानैबाट स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी भएको बताएका छन् ।

    दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गरेका हुन् । सो क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको छ ।

  • मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

    मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

    विराटनगर । यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको पुष्टि स्थानीय संचारमाध्यमले गरेका छन् ।

    कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरका एसपी नविन राईलाई उद्तृत गर्दै संचारमाध्यमले लेखेका छन् ।
    यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी पुगेको हो । प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।
    त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि लगिएको थियो ।
    पौडेलले गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भिडले आक्रमण गरेको थियो
    आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भिडले प्रहरीमाथि आक्रमण गरेको हो ।

  • भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट झरेर एक जनाको मृत्यु

    भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट झरेर एक जनाको मृत्यु

    काठमाडौं । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्ग सडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर शनिबार एक जनाको ज्यान गएको छ । उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरको भनाई छ । ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

  • रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    बुटवल । रुन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएको प्रहरीले बताएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा बिहीबार बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल ४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनका श्रीमान र तीन वर्षीय छोरा घाइते छन् । घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उता, तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ । मोटरसाइकलका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको समेत नम्बर नखुलेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

  • चितवनमा पोखरीको दलदलमा फसेर एक सैनिक जवानको मृत्यु

    चितवनमा पोखरीको दलदलमा फसेर एक सैनिक जवानको मृत्यु

    चितवन । चितवनमा दलदले पोखरीमा डुबेर एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत थिए । मंगलबार बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा कटुवाल पोखरीमा हाम फालेका थिए । त्यसपछि उनको उद्धार हुन नसक्दा ज्यान गएको बताइएको छ ।

  • तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

    तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बस र जीप ठोक्किएका हुन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको छ । मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप एकआपसमा ठोक्किएर दुर्घटनामा परेको हो ।

  • भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

    भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

    सुर्खेत । सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका पाँच बजेको समयमा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ ।

    स्थानीय संचारमाध्यमले लेखे अनुसार भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका वडा नम्बर पाँचका ८ वर्षका दिनेश बुढा बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले घटनाको पुष्टी गरेका छन् । भेरीगङ्गा नगरपालिका वडा नम्बरं ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा बालबालिका बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

  • चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु

    चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु

    चितवन । चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा सबै यात्रुको निधन भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटनामा उनीहरुको निधन भएको हो शुक्रबार साँझ पाँच बजे इच्छाकामना २ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३(००२ प ५९८६ नं.को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा बस सडकबाट खसेको छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे सात बजे दुर्घटनामा परेको हो ।दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भइसकेको डिएसपी लालध्वज सुवेदीले संचारमाध्यमसँग गरेका छन् । सडकबाट बस ३ सय मिटर तल खसेको देखिएको छ । सामाजिक संजालमा दुर्घटनास्थबाट स्थानीयले तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेका छन् ।

  • दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

    दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

    दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका १ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।


    मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही(३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

  • जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

    जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर मङ्गलवार एक जनाको ज्यान गएको छ ।
    देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    आगो निभाउने क्रममा बोहोराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी गराएका छन् । घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा सामान्य उपचार गरी प्रभु एअरको हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रेफर गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

  • मध्यरातमा राजमार्गमा गाडी रोकेर तोडफोड गर्ने ३ जना पक्राउ

    मध्यरातमा राजमार्गमा गाडी रोकेर तोडफोड गर्ने ३ जना पक्राउ

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राससका अनुसार उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी गराएका छन् ।

    पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ । आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए । उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए । घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु७२प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

  • काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

    काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

    काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यो घटना सोमबार रातीको हो । यसअघि सोमबार नै ललितपुरमा एकै घरका ५ जनाको निसास्सिएर मृत्यु भएको थियो । सोमबार रामकोटमा बेहोस अवस्थामा भेटिएका मध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

  • भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार

    भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार

    काठमाडौं । भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार भएको छ । यो पदार्थ तेजाव हो वा अन्य वस्तु भन्ने खुलेको छैन । प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका ४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    पक्राउ पर्नेमा ६५ वर्षीय श्रीमान श्याम गुभाजु छन् । उनले ६० वर्षीय श्रीमती पूजामाथि केमिकल प्रहार गरेको बताइएको छ । श्यामले घरायसी विवादका कारणले श्रीमतीमाथि कुटपिट गरी रसायन प्रहार गरेको बताइएको छ । पूजाको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

  • राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमतिको अधिवेशन सम्पन्न

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमतिको अधिवेशन सम्पन्न

    चितवन फागुन १४ ।

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका कोषाध्यक्ष निर्मला भुजेलज्यूको विशेष अतिथ्यमा भद्रेनी जंगल रिसोर्ट, चितवन सौराहमा सम्पन्न भएको हो ।


    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सचिव नानु थामीज्यु, विशेष अतिथिमा याक्खा महिला समाज केन्द्रीय समितिका अध्क्षय इन्दिरा जिमी याक्खाज्यू, अतिथीमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नुवाकोट जिल्ला समन्वय परिषदका अध्यक्ष सर्मिला थापा मगरज्यू, अतिथीमा दराई महिला संघका अध्यक्ष लक्ष्मी दराईज्यू त्यसै गरि अतिथीमा चितवन जिल्लाका वडा सदस्य बिन्दु दराईज्यू र मकवानपुरका अतिथी सुशिला माँझीज्यू लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाहरुबाट १३ जातीय संस्थाका महिला दिदीबहिनीहरूको उपस्थिति थियो ।

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमति प्रदेशको प्रथम अधिवेशनले छिरिङ डोल्मा शेर्पाको अध्यक्षतामा ९ सदस्सीय प्रदेश समन्वय परिषद चयन गरेको छ ।

    बिजयी हुने पदाधिकारीका नामावाली :

    छिरिङ डोल्मा शेर्पा – अध्यक्ष
    अमिता नगरकोटी – उपाध्यक्ष
    देवी माया देवान – सचिव
    प्रतिकक्षा माँझी – सह-सचिव
    रोशनी भुजेल – कोषाध्यक्ष
    जानकी चौधरी – सदस्य
    राम कुमारी थामी – सदस्य
    लक्ष्मी दराई – सदस्य
    कान्छी तामाङ योल्मोपा – सदस्य

  • बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए

    बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए

    काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
    बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन्।

    फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित एक मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको परिसरले एक सूचना जारी गरी जनाएको छ। उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

  • ललितपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    ललितपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । ललितपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका-३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भ्यानका चालकलाई पक्राउ गरिएको छ ।

  • लमजुङमा भूकम्पको धक्का महसुस

    लमजुङमा भूकम्पको धक्का महसुस

    कास्की । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ ।

    जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु ३.२ रेक्टर स्केलकै भूकम्प गएको थियो । त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका(१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्‍याएको थियो ।

  • बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

    बैतडीमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

    बैतडी । बैतडीमा भएको टिपर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडकमा सोमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

    सो क्रममा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा पाटन नगरपालिका–३, जडाकोटका १२ वर्षीया ज्ञानु बिष्ट, सोही ठाउँका १७ वर्षीय अलीत अवस्थी र जनकराज पन्त रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको बताइएको छ ।

  • आगो ताप्दै गर्दा जलेर जुम्लामा एक जनाको मृत्यु

    आगो ताप्दै गर्दा जलेर जुम्लामा एक जनाको मृत्यु

    जुम्ला । जुम्लामा आगो ताप्दाताप्दै जलेर एक जनाको मृत्यु भएको छ । आगोले जलेर तातोपानी गाउँपालिका–४ गिरिखोलाका २६ वर्षीय गोविन्द रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि घाइते भएका रोकायाको उपचारका क्रममा ज्यान गएको हो । उनी बिहीवार दिउँसो ५ बजेतिर रोकाया गाउँ नजिक रानीजङ्गलमा बाख्रा चराउन गएका थिए ।

    चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाया चिच्चाएका थिए । त्यसपछि प्रहरीले उनको उद्धार गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगेको थियो । सोही अस्पतालमा उनको निधन भएको समाचारमा उल्लेख छ ।

  • बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेको हो । सो क्रममा चालक घाइते छन् भने पछाडी बसेका दुई जनाको मृत्यु भएको हो । घाइतेको अवस्था समेत गम्भीर छ । लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बिहान चार बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा बुटवलक्ँे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जाँनकारी गराएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको उपचार जारी छ ।

  • भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सोमबार बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेका दोलखाका ३४ वर्षिय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलका चालक घाइते छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार जारी छ । बस चालक पक्राउ परेका छन् ।

  • हत्या आरोपमा अघोरी बाबा पक्राउ

    हत्या आरोपमा अघोरी बाबा पक्राउ

    काठमाडौं । काठमाडौंको फर्पिङमा एक पुरूषको हत्याको आरोपमा प्रहरीले एक ‘अघोरी’ बाबालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका ६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले बिहीबार साँझ अन्दाजी ४०\४५ वर्षका बोल्न नसक्ने पुरूषमाथि दाउराको चिर्पट र बाँसले टाउकोमा हिर्काएका थिए। प्रहारबाट पुरूष गम्भीर घाइते भएका थिए।

    गम्भीर भएका उनलाई प्रहरीले मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको थियो। उनको शुक्रबार बिहान अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय फर्पिङले गिरीलाई नियन्त्रणमा लिएको हो । गिरी लामो समयदेखि त्यस क्षेत्रमा बस्थे। अर्का पुरूष पनि त्यही ठाउँमा मागी खाने गर्थे। प्रहरीका अनुसार उनीहरूबीच गाँजाको विषयमा पटक÷पटक झडप हुने गरेको खुलेको छ । बिहीबार पनि उनीहरूबीच झडप हुँदा गिरीले ती पुरूषमाथि चिर्पटले प्रहार गरेका हुन्।

  • दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

    दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

    दाङ । दाङको तुल्सिपुरमा गएराति दुई बजेदेखि लागेको आगलागीमा परि मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ५मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ । ती मध्ये चार जना बालबालिका रहेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँच मा बस्ने १३ वर्षिय सजिता खातुन,१४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस,पाँच वर्षिय अबिददिन अलि र ४० वर्षिय नजरदिन अलि रहेको प्रहरीले जनाएको छ । आगलागी भएपछि निस्सासिएर मृत्यु भएको प्रारम्भिक जानकारीमा आएको उहाँले बताउनुभयो । इरम फुटवेयर चप्पल गोदाममा रहेको घरमा आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा आएपनि क्षतिको विवरण भने अझै आएको छैन ।
    । पाँचै जनाको शवलाई राप्ती प्रादेशिक अस्पतालको शब घरमा लगिएको छ ।

    तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल,सेना,प्रहरी,स्थानीयवासीले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीको कारण भने अझै आएको छैन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा सम्बन्धित क्षेत्रमा एक टोली पुगेको छ । आगलागीमा परकाहरुको उद्दार गर्नका गएका सोही ठाउँका ३८ वर्षिय अमर डाँगी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ ।