Category: स्थानीय

  • मनाङमा हिमपहिरोमा परेर हराइरहेका व्यक्ति मृत भेटिए

    मनाङमा हिमपहिरोमा परेर हराइरहेका व्यक्ति मृत भेटिए

    मनाङ । अघिल्लो साता हिमपहिरोमा परि बेपत्ता भएका एक किसान चार दिनपछि मृत अवस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । चार दिनदेखि हिमपहिरोमा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।

    हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो ।

    गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन् । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ ।

  • मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

    पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवलबाट रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो । शव बोकेको यो बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा सडकबाट ६० मिटर तल खसेको छ । बुटवलमा निधन भएका वीरबहादुर विश्वकर्माको शव बोकेको यो बस शवको अन्त्येष्टीका लागि रिडी जाँदै थियो ।

    प्रहरीका अनुसार ज्यान गुमाउनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनारको ज्यान गएको छ । रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर रानाको समेत दुर्घटनामा ज्यान गएको छ ।

    दुर्घटनाका घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार जारी छ । ओरालो र घुम्ती सडकमा बस दुर्घटनामा परेको छ । सडक चिप्लो रहेको र तीव्र गतिका कारण नियन्त्रण गुमाएको अनुमान प्रहरीले गरेको छ ।

  • गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार मिनिट्रक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

    नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको हो । बालिकाको भने उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेको छ ।

  • हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

    हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

     पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् ।

    बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।
    उता, म्याग्दीमा बिहीबार हिमपातमा परी धवलागिरि गाउँपालिका १, गुर्जाका एकजना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दी सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार बेपत्ता हुनेमा ५० वर्षीय रामबहादुर छन्त्याल छन् ।

    उनी पनि भेडीगोठमा गएकोबेला हिमपहिरोमा परी बेपत्ता भएका हुन् । उनिसङ्ग तीन जना बेपत्ता भएकोमा दुई जना भने  सम्पर्कमा आइसकेका छन् । बेपत्ता छन्त्यालको खोजी कार्य भइरहेको छ ।

  • भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु

    भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु

    नेपालगन्ज ।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा घटना भएको हो । प्रहरीका अनुसार
    अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस

    भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको राससले लेखेको छ ।

    भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।

  • सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन

    सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन

    काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलबार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोहो ।

    गत आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको थियो । मन्त्रालयले उहाँहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उक्त दुर्घटनामा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

  • रौतहटमा जन्ती बोकेको स्करपियो दुर्घटना, ६ जनाको मृत्यु

    रौतहट । रौतहटमा जन्ती बोकेको स्करपियो गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटनामा परेको छ । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका १ स्थित जयनगरमा स्करपियो दुर्घटनामा परेको हो । तीव्र गतिको स्करपियो अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ ।

    दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार जारी छ । मृतक ६ जना गढीमाई नगरपालिका वडा नम्बर ३ का हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाद, २५ वर्षीय सेख छोटु, ५५ वर्षीय डा।मसिफिर, १५ वर्षीय सेख अतिउल्लाह रहनुभएको छ । अन्दाजी ४५ वर्षीय एक जनाको भने पहिचान खुलेको छैन ।

  • आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

    आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

    सिरहा । स्थानीय प्रशासनले सिरहामा बिहानैबाट निषेधाज्ञा जारी गरेको छ । प्रहरीका अनुसार जनमत पार्टीले केही दिनदेखि यहाँ आमहडताल र चक्काजाम गरिररहेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्गलाई लक्षित गरेर चक्काजाम गरेको छ । स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दुई दिन निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले उल्लेख गरेका छन् ।

    पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि।के।राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म० तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -२० र ३० बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । यो आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न माग राख्दै हडताल गरेको हो ।

  • सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु

    सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु

    सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार घटना आइतबार दिउँसो ३ बजेतिर भएको हो ।

    फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको हो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । घाइते एक जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

  • गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

    गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

    काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

    उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको खुलेको छ । पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको समेत प्रहरीले जनाएको छ ।

    गेष्ट हाउसको कोठाबाट विभिन्न ब्राण्डका मोबाइललगायत सामान बरामद भएको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखेको समेत जनाएको छ । उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल र ४२ हजार ४२ हजार नगद समेत बरामद भएको छ ।

  • नुवाकोट जिल्लाको गोसाइँकुण्ड युवा क्लवमा नयाँ नेतृत्व

    नुवाकोट जिल्लाको गोसाइँकुण्ड युवा क्लवमा नयाँ नेतृत्व

    नुवाकोट, शशी डंगोल

    नुवाकोट जिल्ला बिदुर नगरपालिका १० स्थित बेत्रावतीबजार तथा आसपासका क्षेत्रमा बिगत २५ बर्षदेखि निरन्तर सकृय गोसाइँकुण्ड युवा क्लबले नयाँ नेतृत्व चयन गरेको छ ।
    क्लव भवन बेत्रावतीमा सम्पन्न २५ औं बार्षिक साधारणसभा तथा अधिबेशनले सुवास डङोलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको हो ।

    कार्यसमितिमा उपाध्यक्ष रोजिना डङोल, कोषाध्यक्ष बिबश डङोल, सचिव ईश्वर थापा आइटम, सहसचिव सुजन लवट, सदस्यहरुमा पुर्णलाल डङोल, सुरेशबाबु डङोल, सस्मिता तामाङ, पुर्णबहादुर डङोल, ज्ञानबहादुर डङोल, रजनी डङोल रहेका छन् ।
    बिनपा वडा १० का अध्यक्ष गणेश नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा संस्थापक अध्यक्ष अष्टमान डङोल, पूर्व अध्यक्ष सुरज लवट तथा पुर्णबहादुर डङोल, समाजसेवी मङलदास लवट, ईश्वरलाल श्रेष्ठ, सोमलाल लवटले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा कोषाध्यक्ष बिबश डङोलले आर्थिक बर्ष २०७७ /०७८ मा भएको आर्थिक प्रतिवेदनमा १७ लाख १३ हजार ६०८ रुपैयाको बार्षिक लेखापरीक्षण प्रतिबेदनमा र निवर्तमान अध्यक्ष ज्ञानकुमार डङोलले बार्षिक गतिविधि तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    २४ वर्ष पार परिसकेको यस क्लबले अष्टमान डङोल, योगेश डङोल, पुर्णबहादुर डङोल, सुरज लवट,ज् ञानकुमार डङोलको सफल अध्यक्षहरु प्राप्त गरिसकेका छन् । क्लवले निरन्तर बेत्रावतीबजारको हकहितकालागी कृयाशिल रहदै हरेक किसिमका सामाजिक कार्यहरू गर्दै आइरहेको स्थानीय समाजसेवी शशी डंगोलले बताए ।

  • एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

    एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

    भैरहवा । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेका छन् । उनलाई संघीय इकाई कार्यालय भैरहवाको सरकारी आवासमै झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । संगठनले यसबारे अनुसन्धान थालेको समेत जनाएको छ । उनी सोही कार्यालयमा कार्यरत थिए ।

    २०४९ सालमा सेवा प्रवेश गरेका यादव ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ मा अनिवार्य अवकाश पाउँदै थिए । यस अवस्थामा उनले रोजेको आत्महत्याको बाटोले प्रहरी प्रशासनतर्फ भने अनेक प्रश्न सोझिएका छन् । स्थानीय संचारमाध्यमले भने प्रहरी प्रधान कार्यालयले उनीमाथि कारवाहीको तयारी गरिरहेको सार्वजनिक गरेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको अभियोग उनी सहित २० जना प्रहरी अधिकृतमाथि लागेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ।

    केही संचारमाध्यमले भने बढुवामा निकै हेपिएका उनी केही दिनदेखि निरास रहेको लेखेका छन् । उनी केही दिन अगाडी बेहोस भई ढलेको र डाक्टरले डिप्रसनको औषधी दिएको समेत संचारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै लेखेका छन् । आजै उनकी धर्मपत्नीले सत्यको जित हुने भन्दै फेसबुक स्टाटस लेखेकी थिइन् ।

  • सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो

    सिन्धुलीमा जंगली हात्तिको आतंक, एक सातामा दुई दर्जन घर भत्कायो

    सिन्धुली । सिन्धुलीमा जंगली हात्तिले आतंक फैलाएको छ । जिल्लाको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको प्रहरीले जनाएको छ । वडामा एक साता भित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको छ । वडा नं. ११ मा सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काएको हो । हात्तिले अन्न र फलफूलसमेत नष्ट गरेको विवरण छ ।

    सोमबार स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको स्थानीय प्रशासनले जनाएको छ । हात्ती बस्तीमा छिरेपछि स्थानीय भने भागेर ज्यान जोगाएका थिए । माथिल्लो पत्रिङ्गा र डुडेगैरीमा हात्तीले आतंक फैलाएको हो । चिसो मौसममा हात्तिले घर भत्काएपछि स्थानीयको विचल्ली भएको छ । सुरुमा घर भत्काएका १८ परिवारलाई शनिबार जिल्ला रेडक्रस शाखाले त्रिपाल, लत्ता कपडा, भाडा र दुधौली नगरपालिकाले खाद्यान्न सहयोग गरेको थियो ।

  • कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन

    कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन

    जनकपुर । विवादका कारण टुंगो लाग्न नसकेको नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका लागि आज मतदान हुने भएको छ । प्रदेश अधिवेशनअन्तर्गत बुधबारका लागि मतदानको कार्यक्रम राखिएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुदैछ ।

    केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका निधि प्रदेश २ मा भने कोइरालासँग मिलेका छन्। कोइराला(निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।

    राम सरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा नरेश यादव र हरेस यादव भिड्दैछन् । सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवबीच प्रतिस्पर्धा हुने छ । सहमहामन्त्रीमा निर्मला सुवेदी समेत प्रतिस्पर्धामा छिन् ।

    कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिए भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिए भने रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्। प्रदेशमा करिब २ हजार मतदाता रहेको कांग्रेसले जनाएको छ ।

  • गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु

    गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु

    गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर(१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीका वडानम्बर१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए ।

    स्थानीयले घाइते अवस्थामा फेला पारि उनीहरुलाई प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाएका थिए । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

    टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

    सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डमा टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । एक जना घाइते छन् ।

    स १क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार र ८ वर्षीय नाति अभिषेक छन् । ठक्कर दिने टिपर र चालकलाई प्रंहरीले नियन्त्रणमा लिएको छ ।

  • झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको हो । गतराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो क्रममा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक ईलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका चन्द्र बहादुर राई छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक ईलामको चुलाचुली–२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको समेत जनाइएको छ ।

  • पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो

    पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो

    काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोप लागेका मध्ये तीन जनामाथि दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ । नेपालमा सशस्त्र द्धन्द्धका बेला पत्रकार थापाको २०६१ साउन २७ मा जिल्लाको नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । सो क्रममा उनको ज्यान गएको थियो ।

    दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जाने बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए । यो अभियोगमा संगल्न मूख्य आरोपीमध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीन जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको हो । रोपी दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ४१ वर्षीय खड्कालाई सजाय सुनाइएको छ ।


    खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लु नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ ।

    मुल्तवीबाट जगाइएको कर्तव्यज्यानसम्बन्धी मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । युद्धकालीन समयमा घटना भएकोले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै यो घटनामा लामो समयदेखि मुद्दा चल्न सकेको थिएन । उनले रेडियो नेपालका लागि काम गर्थे ।

  • सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परि चालकको मृत्यु भएको छ । जिल्लाको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटनामा परेको थियो । चालक बलेफ(६ का राजु तामाङको मृत्यु भएको छ ।घाइतेको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार जारी छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गर्दा दुर्घटनामा परेको हो ।

  • लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङ । लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

    गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारी छन् । साथै, कपिलवस्तु घर भएका शिक्षक कमल थापामगरको पनि घटनास्थलमै मृत्यु भएको छ ।

  • बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु

    बैतडीमा जिप दुर्घटनामा परि चार जनाको मृत्यु

    बैतडी । बैतडीमा भएको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका १ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका १ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको छ ।

    गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको हो । घाइतेमध्ये थप ५ जनाको पाटन र गम्भीर घाइते एक जनाको डडेल्धुरामा उपचार जारी छ । सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका १ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो । जिप चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते

    थापाथलीमा टिपरको ठक्क्रबाट स्कुटरमा सवार एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं । काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
    थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई बिहान पौने ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो ।

    थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका स्कुटरको पछाडि सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार जारी छ । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको बताएको छ ।

  • कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

    कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

    धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार दुर्घटनामा गम्भीर घाइते रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

    शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उनीहरू मध्ये ८ जनालाई उपचारका लागि धनगढी पठाइएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

  • नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते

    नेपालमा २५५ जनामा कोरोना पुष्टि, २५६ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २५६ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ भने ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ जना रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा छ ।

  • म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    म्याग्दीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    म्याग्दी । म्याग्दीमा जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीदाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    दुर्घटनामा गाडीधनी समेत रहेका चालक दूतबहादुर पुन, मनोज पुन, भीम फगामी, बलबहादुर विक र नाम नखुलेका एक यात्रु घाइते भएका छन् । घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार जारी छ ।

  • जाजरकोटमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा परि कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २५ जना घाइते छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी जनाएको छ ।


    दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । उनीहरुको पहिचान भइसकेको छैन । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी छ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

    रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, बाबु-छोराको निधन

    रुपन्देही । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारी स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको निधन भएको हो ।

    बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको ज्यान गएको प्रहरीको भनाई छ । स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते छन् ।

  • एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै

    एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै

    चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा  एक हजार पाँच सय र नवलपरासीमा  एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन् ।

    महाधिवेशन स्थल र बन्दसत्र सञ्चालन हुने सौराहामा सुरक्षाकर्मीको निगरानी बढी हुने भएको छ ।  महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू र विदेशी पाहुना आउने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति तयार गरिएको बताइएको छ ।
    उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।  पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको समेत प्रशासनले जनाएको छ ।