सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको उपचार जारी रहेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । आइतबार मध्याह्न १२ बजे राप्ती लोकमार्गको कपुरकोटको खारखोला भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ । प्रहरी र स्थानीय उद्धारमा जुटेको खबर छ ।
Category: स्थानीय
-

म्ह: पुजाका दौरान मङ्गलबजारमा आगलागी, एकै घरका चार जनाको मृत्यु
काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्रकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
म्ह पुजाका लागि बालिएको दियोबाट आगो सल्किएको र त्यसपछि ग्यास सिलिन्डर पड्किएर घटना भएको प्रहरीको अनुमान छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।
-

विकलको ९४ औं जन्मजयन्तिको उपलक्ष्यमा बालप्रतिभाहरू पुरस्कृत
कात्तिक १९, काठमाडौं
विशिष्ट आख्यानकार तथा बाल साहित्यकार रमेश विकलको ९४ औं जन्मजयन्तिको उपलक्ष्यमा विहिवार राजधानीमा बालप्रतिभा पुरस्कार वितरण र सम्मान अर्पण समारोह आयोजना गरियो । कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजले संयुक्त रूपमा केही समयअघि आयोजना गरिएको कविता प्रतियोगिताका विजयीहरूलाई नगद पुरस्कार सहित सम्मान गरियो ।
प्रतियोगितामा पहिलो स्थान प्रविज्ञा नेपालले हासिल गरेकी थिइन् । विभूती अधिकारी दोस्रो हुँदा तेस्रो स्थान समर्पण न्यौपानेले हासिल गरे । दिलासा तिवारी र बन्दना जैसवालले संयुक्त रूपमा सान्त्वना पुरस्कार पाए । पुरस्कारको राशी क्रमश: नगद ५ हजार ३ हजार र २ हजार रहेको छ । त्यस्तै सान्त्वना पुरस्कारको राशी नगद १ हजार रहेको छ । पुरस्कृत बाल प्रतिभाहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित प्रतिष्ठानका पदाधिकारीहरूले सम्मान गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलले साहित्यकार विकलको बहुआयामीक व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष घिमिरे सहित वरिष्ठ उपाध्यक्ष केके कर्माचार्य, महासचिव विजय चालिसे, वरिष्ठ सदस्य मातृका पोखरेल अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । यसअघि आरूबारी चोकमा रहेको विकलको अर्धकद तथा र प्रतिष्ठान प्राङ्गणमा रहेको पूर्णकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीहरू सहित प्रमुख अतिथि, अतिथि लगायतले माल्यार्पण गर्नुभएको थियो ।
-

जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही छन् ।
अर्का एक जनाको पहिचान खुलेको छैन । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का छन् । घाइते धनबहादुर चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
-

गोकर्ण स्थित सुनौलो पाइला बालगृहको स्मारिकाको तेस्रो अंक विमोचन
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक १७। गोकणेश्वर नगरपालिका वडा नं ९ स्थित असहाय बालगृह ‘सुनौलो पाइला’ ले आज एक कार्यक्रम बिच संस्थाको तेस्रो स्मारिका विमोचन गरेको छ । बागमती प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो।
जोरपाटी स्थित पिस बेङ्क्वेटमा संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) को सभापतित्वमा आयोजित समारोहमा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, प्रमुख सल्लाहकार दिपक रिसाल लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, महिला समुहहरूको प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा संस्थाको स्मारिका विमोचन गरिएको हो ।२०७५ सालमा २ जना असहाय बालबालिकालाई आश्रय दिएर सुरु भएको संस्थामा अहिले १२ जना बालबालिका आश्रित छन् ।बालबालिकाहरुको सुनौलो भविष्य निमार्णको लागी एउटा बच्चाले आफ्ना अभिभावक सहितको सम्पूर्ण सेवा सुविधाका साथै अतिरिक्त क्रियाकलापमा समेत संस्थाले महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै भोलिको दिनमा सुनौलो पाइलालाई हाक्न सक्ने व्यक्ति बनाउन लागि परेको जानकारी संस्थाकि अध्यक्ष बिष्टले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले ´नगरपालिकाले संस्थाको आफ्नै भवन बनाउन छिट्टै जग्गा उपलब्ध गराउने` आश्वासन दिएका छन् ।कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाले सामाजिक क्रियाकलापमा हातेमालो गर्न सबैलाई अनुरोध गरे ।साथै सुनौलो पाइलालाई भवन निमार्णको लागि जग्गा उपलब्ध गराउने नगर प्रमुखको भनाइलाई सम्मान गर्दै जग्गा प्राप्ति पछि भवन निर्माणकार्यको लागि प्रदेश सरकारबाट आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


-

जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाडमा गत राति ट्याक्टर दुर्घटना परेको प्रहरीले जनाएको छ । तीनै जनाको घटना स्थलमै मत्यु भएको हो ।
नलगाड नगरपालिका ५ कालीमाटी बजारबाट सामान लिएर बारेकोट गाउँपालिका तर्फ गइरहेको ट्याक्टर नलगाड – ५ पोखरागाउँ नजिकैको रातको १ बजे झुल्के डाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका – ५ पारीगाउँका ६० वर्षीय दल वहादुर खत्री, ३२ वर्षीय सुरेस खत्री र गाडिचालक नलगाड –७ दल्लीका २५ वर्षिय चंखलाल विक छन् ।
सडक वाट करीव ५ सय मिटरको दुरीमा तीन जनाको शव फेला परेको थियो । प्रहरीका अनुसार मृतक दलवहादुर र सुरेस बाबुछोरा हुन् । ट्याक्टरका सह चालक नलगाड– ७ वगाराका १७ विनोद परियार गम्भीर घाइते छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार जारी छ ।
-

नेपाली मन जोडने जनसम्पर्क समितिको जलपान समारोह
बिष्णु सिंह (बैजु), न्युयोर्क
दशैँ र तिहारको बीचमा नेपाली कांग्रेस पार्टीले हिमाल, पहाड र तराईका बिभिन्न तह र तप्काका जनसमुदायलाई आमन्त्रण गरी जलपान समारोह गर्ने परम्परा रही आएको छ। २०४७ पश्चात शुरुमा पार्टीका सर्वमान्य नेता गणेसमानजीले आफनै बासस्थानमा यो कार्यक्रम गर्ने गर्दथे। यो कार्यक्रम कुनै राजनैतिक बिषयमा छलफल र भाषण गर्ने नभई नेपालीहरु एकापसमा भेटघाट गरि दशैँ, तिहार, छट पर्व र अन्य आउदै गरेको पर्वहरुको स्वागत र शुभकामना दिदै भलाकुसारी गर्दै भाईचारा र मित्रता बढाउने अवसरको रुपमा रहेको छ।
भाईचारा र आपसी मित्रता बढाउन ज्यादै महत्वपुर्ण भएकोले यो कार्यक्रम काग्रेसको बिभिन्न तह र बिदेशस्थित काग्रेसी भातृ संस्थाहरुमा पनि चलन थाल्यो। यसै अनुरुप जनसम्पर्क समिति अमेरिकाले पनि बर्षेनी यो कार्यक्रम गर्दै आएको छ। शुरुमा समितिका च्यापटरहरुले छुट्टाछुट्टै यो कार्यक्रम गर्दथे। तर यसपाली अक्टोबर २९ मा समितिको केन्द्रिय कार्यालयबाटै यो कार्यक्रम ज्यक्सनहाईट स्थित थकाली रेष्टुरेन्टमा आयोजना गरियो।
महासचिव मुनेंद्र नेम्वाङ्गले सहभागीहरुलाई स्वागत अभिवादन गर्दै कार्यक्रम शुरु गरेका थिए । दिवंगत नेताहरु बिपी कोइराला, गणेशमान सिंह , सुबर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको तस्विरहरुमा माल्यार्पण र फुल अबिर चढाउदै सहभागीहरुले श्रद्धाञ्जली चढाएका थिए। तत्पश्चात सभापति आनन्द बिष्टले सबै सहभागीहरुलाई शुभकामना दिदै; “यसरी बिदेशमा सबै नेपाली दाजुभाइ दिदी बहिनीहरु एकापसमा भेटघाट गर्न पाएकोमा आफु ज्यादै गौरवान्वित भएको साथै अहिले बिस्तारै पार्टी भित्रै र जनसम्पर्कमा पनि मनमुटाव मत्थर हुदै गएको”बताए।
कार्यक्रममा भोजराज थोकर, मुनेंद्र नेम्वाङ्ग, कृष्ण बहादुर बिष्ट, केशवराम राई, टेक गुरुङ, सिता खरेल, अनिता परियार, बिनिता तामांग, राजु रौनियार, कल्पना कार्की, संजिव श्रेष्ठ, कान्छाराम लामा, पुनम राना मगर, रमा रौनियार, बिष्णु सिंह, मिलन शाही, प्रदिप श्रेष्ठ , बिनोद सुबेदी, बेगम पण्डित, मोहन श्रेष्ठ र अन्य बिभिन् महानुभावहरुको उपस्थिति थियो। खचाखच भरिएको हलमा आउने र जाने सहभागीहरु चलिरहेको थियो।
कार्यक्रममा दिदीबहिनीहरुले देउसी भैलो गीत गाएर उठाएको ३०० डलर जति रकम नेपालका गरिब बालबच्चाहरुलाई सहयोगार्थ पठाईएको छ।
दिउसो २ बजे शुरु भएको कार्यक्रम सांझ ६ बजे समापन गरिएको थियो । सबै सहभागीहरु भेटघाट गर्न र आफ्ना साथीहरुसंग फोटो खिचाउन पाएकोमा निकै खुसी भएको देखिन्थ्यो। सहभागीहरुले “हामी अनेक तर नेपाली एक” भन्ने चरितार्थ गरिदिएका थिए।
भाईचारा र आपसी मित्रता बढाउन ज्यादै महत्वपुर्ण भएकोले यो कार्यक्रम काग्रेसको बिभिन्न तह र बिदेश स्थित काग्रेसी भात्री संस्थाहरुमा पनि चलन थाल्यो। यसै अनुरुप जनसम्पर्क समिति अमेरिकाले पनि बर्षेनी यो कार्यक्रम गर्दै आएको छ। शुरुमा समितिका च्यापटरहरुले छुट्टाछुट्टै यो कार्यक्रम गर्दथे। तर यसपाली अक्टोबर २९ मा समितिको केन्द्रिय कार्यालयबाटै यो कार्यक्रम ज्यक्सनहाईट स्थित थकाली रेष्टुरेन्टमा आयोजना गरियो।
महासचिव मुनेंद्र नेम्वाङ्गले सहभागीहरुलाई स्वागत अभिवादन गर्दै कार्यक्रम शुरु गरेका थिए । दिवंगत नेताहरु बिपी कोइराला, गणेशमान सिंह , सुबर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको तस्विरहरुमा माल्यार्पण र फुल अबिर चढाउदै सहभागीहरुले श्रद्धाञ्जली चढाएका थिए। तत्पश्चात सभापति आनन्द बिष्टले सबै सहभागीहरुलाई शुभकामना दिदै यसरी बिदेशमा सबै नेपाली दाजुभाइ दिदी बहिनीहरु एकापसमा भेटघाट गर्न पाएकोमा आफु ज्यादै गौरवान्वित भएको साथै अहिले बिस्तारै पार्टी भित्रै र जनसम्पर्कमा पनि मनमुटाव मत्थर हुदै गएको बताए।
कार्यक्रममा भोजराज थोकर, मुनेंद्र नेम्वाङ्ग, कृष्ण बहादुर बिष्ट, केशवराम राई, टेक गुरुङ, सिता खरेल, अनिता परियार, बिनिता तामांग, राजु रौनियार, कल्पना कार्की, संजिव श्रेष्ठ, कान्छाराम लामा, पुनम राना मगर, रमा रौनियार, बिष्णु सिंह, मिलन शाही, प्रदिप श्रेष्ठ , बिनोद सुबेदी, बेगम पण्डित, मोहन श्रेष्ठ र अन्य बिभिन् महानुभावहरुको उपस्थिति थियो। खचाखच भरिएको हलमा आउने र जाने सहभागीहरु चलिरहेको थियो।
कार्यक्रममा दिदीबहिनीहरुले देउसी भैलो गित गाई उठाएको ३०० डलर जति रकम नेपालका गरिब बालबचाहरुलाई सहयोगार्थ पठाईएको छ।
दिउसो २ बजे शुरु भएको कार्यक्रम सांझ ६ बजे समापन गरिएको थियो । सबै सहभागीहरु भेटघाट गर्न र आफ्ना साथीहरुसंग फोटो खिचाउन पाएकोमा निकै खुसी भएको देखिन्थ्यो। सहभागीहरुले “हामी अनेक तर नेपाली एक” भन्ने चरितार्थ गरिदिएका थिए।
-

कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु
कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका ३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार नदीमा नुहाउने क्रममा उनीहरु डुबेको बताइएको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुको शव बाहिर निकालिएको थियो ।
-

नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा
सुपेन्द्र बस्नेत, बोष्टन
तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु रहेका छन्। भाषा आयोगको पछिल्लो प्रतिवेदन अनुसार भने बोलीचालीका लागि प्रयोगमा आएका भाषाहरुको संख्या १३१ पुगिसकेको छ। त्यसै गरी यहाँ १० भन्दा बढी धर्मावलम्बीहरु धार्मिक स्वतन्त्रताको भरपूर उपयोग गरिरहेका छन्। यि विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुका आ-आफ्नै मोलिकता झल्काउने विशेष खाले चाडबाड, रितिरिवाज, परम्परा, लवाइ खवाइ, रहनसहन, बोलीचाली रहेका छन्। यि आँकडाहरुलाई सम्पदाका दृष्टिकोण हेर्दा, नेपाल विविध सम्पदाको धनी देश हो। र, विविधता बीचको एकताको स्वर्गीय भूमि हो भन्दा अतिसंयुक्ति नहोला।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा ८०.६ प्रतिशत हिन्दू धर्मावलम्बीहरु रहेका छन्। आफ्नो धर्म संस्कृति अनुसार स्थापित हुदै आएका परम्परा, रितिरिवाज, चालचलनलाई समय अनुसार परिस्कृत र परिमार्जित गर्दै आफ्नो पहिचानसहितका चाड पर्वहरु परापूर्व कालदेखि नै मनाउदै आइरहेका छन्। जस मध्यको दशैं र तिहार प्रमुख बडा चाड हुन्। यि चाडबाडमा धार्मिक केन्द्रियता भएतापनि, यसको महत्व भने बहुआयामी रहेको छ। धार्मिक, साँस्कृतिक, सामाजिक, रितिरिवाज, परम्परा, रहनसहन, चालचलन आदिका दृष्टिकोणले यि चाडबाडहरुले समग्र नेपाली समाजलाई एकता, धार्मिक सहिष्णुता र भाइचाराको सुत्रमा बाँधिराख्न अहम भूमिका खेलिरहेका छन्। जसले गर्दा नेपाल र नेपालीको अमूल्य पहिचान बोकेको चाड बडा दशैं र तिहारलाई केवल हिन्दू धर्मावलम्बीहरुको चाड मात्र नठानी समग्र नेपालीहरु कै चाडका रुपमा मान्ने र मनाउने गरिदै आएको छ। त्यसैले नेपाल र नेपालीको गौरव र पहिचान बढाउने यि चाडबाडहरुलाई मर्म अनुसार बृहत रुपमा प्रचाप्रसार गर्नुका सोथै सोही अनुसार मनाउनु पनि जरुरी छ। यसै सन्दर्भमा देश विदेशमा रहेका नेपालीहरु यस वर्षको महान चाड बडा दशैंलाई विधिवत् समापन गरी, अर्को महान चाड ‘तिहार’ मनाउने संघारमा रहेकाले आवश्यक तयारीमा जुटिसकेका छन्। तिहारलाई हिजोआज धार्मिक चाड मात्र नभनि झिलिमिली उज्यालोको चाड, प्रकृति पूजनको चाड, फूलैफूलको चाड, जनावर तथा पंक्षी पूजन चाड, दिदीभाइ तथा दाजुबहिनीको चाड, दिपावलीको चाड, तिहार आदि भनेर पनि पुकारिने गरिन्छ। मुख्य गरी ५ दिनसम्म बृहत रुपमा मनाइने यो चाडको महिमा, गरिमा, महत्व, भूमिका र गरिने विविध वृहत् क्रियाकलापहरुलाई मध्यनजर गर्दा, यस महान चाडलाई ‘तिहार’ नै भनि प्रचारप्रसार गर्नु पर्दछ।र, चाडको मुल मर्म र महत्व अनुसार नै बृहत रुपमा नै मनाउनु पनि आवश्यक छ।त्यसैले यहाँ ‘तिहार’को महत्व र मर्म दर्शाउने केही संक्षिप्त धार्मिक तथा पौराणिक कुराहरु प्रस्तुत गर्ने कोसिस गर्दैछु।
हरेक वर्ष नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशी तिथिदेखि कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्मको पाँच दिन नेपालीहरुको महान चाड ‘तिहार’ पर्दछ। जसलाई यमपञ्चक पनि भनिन्छ। पौराणिक धार्मिक आस्था र विश्वासका आधारमा पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको पूजा, अर्चना, प्रार्थना तथा आराधना गरिने भएकाले यस चाडलाई यमपञ्चक भनिएको हो। पौराणिक धार्मिक कथन अनुसार सूर्यका यमराज र यमुना दुई छोराछोरी थिए। एकपटक यमुनाले आफ्नो दाजुलाई आफ्नो बासस्थानमा निम्तो गरेकी थिइन्। आफ्नो बहिनीले दिएको आत्मीय निम्तोलाई सहर्ष स्विकार गर्दै कार्तिक कृष्ण त्रयोदशीका दिन आतिथ्यता ग्रहण गर्नका लागि यमराज बहिनी यमुना कहाँ गएका थिए। बहिनीले पनि आफ्नो निम्तो स्विकार गरेर आएकाले आफ्नो दाजुको अतिथ्य सत्कारमा कुनै कसर बाँकी राखिनन्। यमराज पनि आफ्नो बहिनीको सत्कारमा आनन्दित भइ कामको थकान मेटाउन कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म (पाँच दिनसम्म) लामै विश्राम गरे। र, पाँचौं दिन बहिनी यमुनाको हातबाट टिका लगाएर बहिनीलाई आशिर्वाद दिइ बिदा भएका थिए। यही धार्मिक कथनको मूल मर्मलाई आधार मानेर ‘तिहार’ मनाउन लागिएको किम्बदन्ति रहेको छ। यस अर्थमा परापूर्व कालदेखि नै तिहारको पाँचैं दिनलाई उत्तिकै महत्त्वपूर्ण मानेर हरेक दिन धार्मिक महत्व र मर्मका आधारमा धार्मिक विधिहरुलाई अवलम्बन गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन चलिआएको छ। जस अनुसार तिहारका पाँचैं दिनको पहिचान, मर्म, महत्व र गरिने क्रियाकलाहरु संक्षिप्तमा यसप्रकार रहेका छन्:

१) कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात काग तिहार
कार्तिक कृष्ण त्रयोदशीको दिन तिहारको पहिलो दिन हो। यस दिनलाई ‘काग तिहार’ भनिन्छ। मुख्य गरी कागलाई यमराजको दूत तथा सन्देश वाहक मानेर पूजा गरिन्छ। पंक्षीमा चतुर मानिने सर्वभक्षी प्राणी कागलाई समग्र पंक्षीको प्रतिनिधिका रुपमा पनि पूजा गर्ने गरिन्छ। काग तिहारका दिन चोखो नितो गरी स्वास्थ्यकर स्वादिष्ट भोजनहरु बनाएर कागलाई डाकी पूजाआजाका साथ खुवाउने गरिन्छ। यसरी पूजा तथा भोजन दिने बेलामा धार्मिक मन्त्र ‘ऐन्द्र बारुण वायव्या याम्या वै नैऋतास्तथा। वायसाः प्रतिगृह्णन्तु मयादत्तमिमं बलिम्।।’ उचारण गरिन्छ। जसको अर्थ हो, पूर्व, पश्चिम, वायव्य, दक्षिण, नैऋत्य आदि दिशामा रहेका कागहरूले यो बलि ग्रहण गरून्। यस दिनमा आयुर्वेदका भगवान धनवन्तरीको जन्म जयन्ती पनि मनाइन्छ। यस दिनलाई धन त्रयोदशी अर्थात धन्तेरस पनि भनिन्छ।यस दिन नै धनधान्य लक्ष्मी माताको विशेष पूजा गर्न आवश्यक सरसामानहरु खरिद गर्ने गरिन्छ। यस दिन कमलको फूलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर खरिद गरेर घरभित्र्याउने प्रचलन छ। यसो गर्दा लक्ष्मी माता खुसी भई घर भित्रने, बास गर्ने, आशिर्वाद दिने र धनधान्य बनाइ दिने धार्मिक विश्वास रहेको छ। यस दिन नयाँ भाँडाकुँडा तथा सुन वा चाँदीको बस्तु किनेर घरको पूर्वी-उत्तर दिशामा राखेमा फलिफाप हुने विश्वास गरिन्छ।
२) कार्तिक कृष्ण चतुर्दशी अर्थात कुकुर तिहार
यो तिहारको दोश्रो महत्वपूर्ण दिन हो। यो तिहार अन्तरगत पर्ने कुकुर तिहार हो। जसलाई यमपञ्चकको दोस्रो दिन पनि भनिन्छ। कुकुरलाई यमराजको दूत मानिने भएकाले यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ। कुकुर यमदूत भएकाले यमराजलाई खुसी बनाउन कुकुरलाई पूजा गर्ने गरिन्छ। कुकुरलाई पूजा गर्नुमा मानव उपयोगी उसका महत्वपूर्ण गुणहरु पनि हुन् भन्ने कोणबाट व्याख्या गरिने गरेको भएतापनि, धार्मिक मुल्य र मान्यताका आधारमा भने यमदूत भएकै कारण पूजा गरिएको विश्वास गरिन्छ। कुकुर तिहारका दिन यमराजको स्मरण गरी कुकुरलाई पूजा गरेर टिका तथा माला लगाइ दिएर मिष्ठान्न भोजनहरु खुवाउने गरिन्छ। कुकुरलाई पूजा गरी मिष्ठान्न भोजन गराउदा यस्तो मन्त्र उच्चारण गर्ने गरिन्छ। ‘द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ।’ जसको अर्थ हो, वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु। तिमीहरू अहिंसक बन।
३) कार्तिक अमावस्याका अर्थात गाई तिहार
कार्तिक अमावस्याका दिन तिहारको तेश्रो दिन हो।यस दिनमा माताको रुपमा पूजिने गाईको विशेषरुपमा पूजा गरिन्छ। यस दिन गाई बस्ने गोठको सरसफाइ गर्नुका साथै गाईलाई पनि सफासुग्घर राखेर पूजा गर्ने गरिन्छ। गाईलाई धनधान्य माता देवी लक्ष्मीको प्रतिक मानिने भएकाले साँझपख मठ मन्दिर तथा घर आगनमा बत्ती बालेर झिलिमिली पार्दै लक्ष्मीपूजा पनि गरिन्छ। यस दिनको राति माता लक्ष्मी पृथ्वीलोकमा आउने र आशिर्वाद तथा वरदान दिने धार्मिक विश्वासका साथ घरको आगनमा रहेको तुलसीको मोठदेखि वा मुल दैलोदेखि घरभित्रका पूजा स्थल तथा कोठाहरुसम्म गाईको गोबर तथा रातोमाटोले लिपेर, आगनमा रंगोली र लक्ष्मीको पैतालाको छाप बनाएर पूजा आजा गरिन्छ। भगवान रामले कार्तिक कृष्ण औंसी अर्थात आजको दिनमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको र बहिनी यमुनाको सत्कारबाट यमराज खुसी भएका कारण नरक जान नपर्ने धार्मिक विश्वासमा झिलिमिली बत्ति बालेर खुसियाली मनाइएको धार्मिक विश्वास गरिन्छ। यस दिनको राती समूह बनी घरघरमा पुगेर महिलाहरुले धार्मिक ग्रन्थ, आस्था, विश्वास, परम्परा अनुसार यमुना-यमराज, बली राजा, भगवान राम लगायतको गाथा भट्याउदै गाउदै भैलिनी खेल्दछन्। तर, हिजोआज पुरुषहरुले पनि भैलेनी खेल्ने गर्दछन्। हिजोआज भैलिनीलाई धार्मिक क्रियाकलापका अतिरिक्त मनोरञ्जन तथा हर्षोल्लासको महत्वपूर्ण क्षण र आर्थिक सहयोग जुटाउने सुवर्ण अवसरकारुपमा पनि लिएर गीत संगितको समिश्रणसहित परिस्कृत र परिमार्जित रुपमा भैलिनी खेल्ने गरिन्छ। यस दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि परेकाले विभिन्न कार्यक्रम गरि लक्ष्मी जयन्ती पनि मनाइन्छ।४) कार्तिक शुक्ल परेवा अर्थात गोरु तिहार
यो कार्तिक शुक्ल प्रतिपद तिथिको दिन हो। जसलाई गोरु तिहार भनिन्छ। यस दिन धार्मिक मरम, मुल्य, मान्यता र विधि अनुसार गोरुको पूजा गरिन्छ । यस दिन गोवर्द्धन र बलि राजाको पनि पूजा गरिन्छ। यस दिनको राती मुख्य गरी पुरुषहरुले समूहमा मिलेर द्येउसी खेल्ने चलन छ। हिजोआज भने महिलाहरुले पनि महिला-महिला मिलेर वा पुरुषहरुसंग मिलेर पनि देउसी खेल्ने गर्दछन्। यस दिन नेवारी समुदायका लागि विशेष दिन हो। जसलाई नेवारहरु महःपूजा ज्यू(शरिर)पूजाको दिन भनिन्छ। यस दिन नेवारी समुदायले धार्मिक विधि अनुसार आफ्नो शरीरको विशेष पूजा गर्ने गर्दछन्। यो दिन नेपाल संवत् अनुसार नयाँ वर्ष प्रारम्भको दिन पनि भएकाले शुभकामना आदानप्रदानसहितको हर्षोल्लासको रौनक हुने गर्दछ।
५) कार्तिक शुक्ल द्वितीया अर्थात भाइतिहार
यो दिनलाई तिहारको प्रमुख दिन अर्थात पाँचौं दिन हो। जसलाई भाइतिहार अर्थात भाइटिका भनिन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई श्रध्दा र भक्तिपूर्वक टीका लगाइदिन्छन्। धार्मिक आस्था र विश्वासका आधारमा यस दिन दिदीबहिनीले यम-यमुना, यमराज, यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गर्ने गरिन्छ। पात्रो अनुसार साइतमा दिदीबहिनीले दाजुभाइको चीरायु, सुस्वास्थ्य, सुख, शान्ति, ऐश्वर्यको कामनासहितको प्रार्थना गर्दै निधारमा सप्तरंगी टीका, दूबो, मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन्। धार्मिक विधि अनुसार भाइटिका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सगुन, प्रसाद, सेलरोटी, मिठाईं, फलफूल, मसला आदि प्रदान गर्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने प्रचलन छ। यस दिन दिदीबहिनीले हृदयदेखिकै प्रार्थना गरेका कारण खुसी भएका यमराजको आदेश अनुसार यमदूतले धर्तीबाट मानिसलाई यमलोक नलैजाने धार्मिक विश्वास रहिआएको छ। बहिनी यमुनाको निम्तो मान्न दाजु यमराज यमलोकबाट धर्तीमा आएको र कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसेको धार्मिक कथन छ। जसलाई यमपञ्चक पनि भनिन्छ। यही पाँच दिनलाई नेपालमा नेपालीहरुले परापूर्वकालदेखि नै महान चाड ‘तिहार’ भनेर सम्बोधन गरी, हर्षोल्लासका साथ मनाउदै आइरहेका छन्।
यसरी धार्मिक, साँस्कृतिक, सामाजिक, पारिवारिक, परम्पार, रितिरिवाज, पहिचान र गरिने विविध क्रियाकलापहरुका दृष्टिकोणले ‘तिहार’ बहुआयामी भएको र चाडको महिमा, गरिमा, पहिचान, मर्म र महत्व वृहत रहेको पुष्टि हुन्छ। तसर्थ, यस महान चाडलाई सोही अनुसार महत्वपूर्ण रहेका पाँचैं दिनको प्रतिनिधित्व गर्ने वृहत् नाम ‘तिहार’ नै भनेर सम्बोधन गरौं ! शुभकामना आदानप्रदान गरौं ! प्रचाप्रसार गरौं ! संरक्षण र सम्वर्द्धन गरौं ! र, धार्मिक आस्था, विश्वास, मर्म, विधि र क्रियाकलापहरुलाई केन्द्रमा राखेर सक्दो वृहत रुपमा हर्षोल्लासका साथ मनाऔं भनि सबैलाई अपिल गर्दै नेपाल र नेपालीको मौलिक पहिचान बोकेको यो वृहत महान चाड ‘तिहार’ को सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
धनधान्य हुनुका साथै ऐश्वर्य मिलोस् !
माता लक्ष्मीले सदा बास गरुन् ! -

गिरिजा प्रसाद कोइरालाका लत्ताकपडा लगायत सामग्रीहरु बी.पी. संग्रहालयलाई हस्तान्तरण
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक १२। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कॉंग्रेसकी नेत्री सुजाता कोईरालाले आफ्ना पिता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रयोग गरेका सामानहरु बी.पी. संग्रहालय सुन्दरीललाई हस्तान्तरण गरेकी छिन् ।गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित बी.पी. संग्रहालय सुन्दरीलका अध्यक्ष परशुराम पोखरेलका अनुसार पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले गिरीजा बावुको पार्थिब शरिरको दाह संस्कारका बखत निकालिएको अस्तु एवं उनले लगाएका कपडाहरू कोट, दौरा, सुरुवाल, अक्सिजन, मास्क साथै प्रयोग गरेका कप, प्लेट र चम्चा लगायतका सामग्रीहरु संग्रहालयलाई मंगलबार एक कार्यक्रम बिच हस्तान्तरण गरेकी छिन् ।ति सामग्रीहरु संग्रहालयमा सुरक्षित रुपमा प्रदर्शनमा राखिने अध्यक्ष परशुराम पोखरेलले जानकारी गराए । साथै यी दुबै इतिहॉंस पुरूष बी.पी. कोइराला एवं गिरीजी प्रसाद कोइराला सहोदर दाई,भाई नेपालको राजनितीक फाँटको उच्चतम स्थानमा रहेको बताउदै बि. पि. संग्राहलयमा नै नेपाली काँग्रेसका धरोहरका सामाग्री राख्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

-

नेपाल कम्युनिस्ट पार्टी एमाले बूढानीलकण्ठ नगर कमिटीको अध्यक्षमा प्रदिप डङ्गोल
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक १० । नेपाल कम्युनिस्ट पार्टी एमाले बूढानीलकण्ठ नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रदिप डङ्गोल सर्वसम्मत निर्वाचित भएका छन् । उक्त अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा शम्भु भट्टराईलाई निर्वाचित गरेको छ भने सचिबमा श्री कृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी उप सचिवमा सुनिता गुरुङ र दोर्जे लामालाई निर्वाचित गरेको सो अधिवेशनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो । बूढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा मंगलबार सम्पन्न उक्त अधिवेशनको विशेष अतिथीमा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, प्रदेश कमिटी सदस्य एवं बूढानीलकण्ठ नगर प्रमुख उद्दव खरेल, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, संगम गहतराज, काठमाडौं जिल्ला कमिटी सचिब एवं बागमती प्रदेशको संसदीय दलको प्रमुख सचेतक दिपक निरौला, निर्वाचन मण्डलको अध्यक्ष एंव नेकपा एमाले काठमाडौँ जिल्ला कार्यालय सचिब बिदुर बिक्रम खड्का लगायत जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।

धेरै युवापुस्ता कमिटीमा आउन खोजेपनी सिन्डिकेट जस्तो स्थित खडा भइ थोरै मात्र युवामा नगर कमिटी आएकोले थोरै आक्रोश र तनाव बिच रातको ११:४० मा निर्वाचन सर्वसम्मत सम्पन्न भएको छ।

-

नेपाल कम्युनिस्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दब बिष्ट निर्वाचित
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक १०। नेपाल कम्युनिस्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दब बिष्ट निर्वाचित भएका छन्। उक्त अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा लक्ष्मण श्रेष्ठलाई निर्वाचित गरेको छ भने सचिबमा राजु राणा मगर निर्वाचित भएका छन्। त्यसैगरी उप सचिवमा सुदिप ढुङ्गाना र ज्ञानदेवि श्रेष्ठ निर्वाचित गरेको सो अधिवेशनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित ड्रिम हाउस इन्टरनेसनलमा भएको नगर अधिवेशनले उद्दब बिष्टलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।

-

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावि पेश
हेटौडा । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मूख्यमन्त्रीमा दावी पेश गरेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेलगत्तै पाण्डले विपक्षी गठबन्धनको तर्फबाट दावि पेश गरेका हुन् ।
पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए। पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा सांसदसहित ५९ जनाको हस्ताक्षर पेश गर्दै मुख्यमन्त्री पदमा दावी गरेका हुन्। बागमतीमा बहुमत पुर्याउन ५५ सांसदको मत चाहिन्छ । नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा गर्दै मार्ग प्रशस्त गरेकी थिइन । उनको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलबाट मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् ।
-

गोकर्णेश्वरमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा बुबाको मृत्यु, छोरी घाइते
काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ माकलबारीका ४४ वर्षीय गंगाराज राई छन्। मंगलबार बिहान बा२ख १३८ नम्बरको ट्याङकरले बा६३प ६२०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी १९ वर्षीया छोरी सुस्मा राईको भने उपचार जारी छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको समेत जानकारी गराएको छ ।
-

नेकपा एमाले बूढानीलकण्ठको नगर अधिवेशन कार्तिक ९ गते हुने
काठमाडौँ, कात्तिक ८। बूढानीलकण्ठ नगरपालिकाका अन्तर्गतका १३ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन सम्पन्न गरेको नेकपा एमाले नगर अधिवेशनको तयारीमा जुटेको छ।नेकपा एमाले बूढानीलकण्ठले कात्तिक ९ गते नगर अधिवेशन वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा आयोजना गर्दै नगर अधिवेशन तयारीको अन्तिम चरणमा पुगेको हो ।आगामी केन्द्रिय महाधिवेशनको तयारी स्वरुप भर्खरै विधान महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले शनिबार देशैभरी वार्डस्तरीय अधिवेशन एकैपटक सम्पन्न गरेको थियो ।
कार्तिक ६ गतेबाट वडा अधिवेशन सम्पन्न गरेको नेकपा एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले कार्तिक ९ गतेको लागि नगर अधिवेशन तयारीको अभियान शुरु गर्ने बताएका छन् ।
१९ सय भन्दा बढी संगठित सदस्य रहेको नेकपा एमाले बूढानीलकण्ठको अधिवेशन कार्तिक ९ गते बिहान ११ बजे अमुप्रस्थ पार्टी प्यालेसमा हुने जानकारी दिदै डंगोलले व्यापक सहभगिताका लागि नगरवासीमा उनले अनुरोध समेत गरेका छन्।

-

तीन बालकमाथि यौनजन्य कसुर गरेको आरोपमा पोखराबाट क्यानडेली नागरिक पक्राउ
पोखरा । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई यौनजन्य कसुर गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्ले शनिबार पक्राउ परेका हुन् । तीन जना बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा उनी पक्राउ परेको बताइएको छ । राससका अनुसार बालकहरुको उद्धार समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको समेत प्रहरीले जनाएको छ ।
-

बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बुटवल । बुटवलमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गत राती एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी बसेका सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ समेत घाइते छन् । उनको बुटवलमा उपचार भइरहेको छ ।
-

नेकपा एमाले बूढानीलकण्ठ ११ को अध्यक्षमा कृष्ण प्रसाद भट्टराई, को को बने पदाधिकारी ?
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले बूढानीलकण्ठ ११ वडा कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले कृष्ण प्रसाद भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। शनिबार भएको वडाको अधिवेशनले भट्टराईको नेतृत्वमा ३१ सदस्य कमिटी चयन गरेको हो ।को – को बने प्रतिनिधि ?
अध्यक्ष:-कृष्ण प्रसाद भट्टराई
उपाध्यक्ष:- प्रकाश कटुवाल
सचिव:- अंगुर पौडेल
उप सचिव:-भोलानाथ दाहाल र अनिता सापकोटा नेपाल
सदस्य:-गीता मिश्र पुडासैनी ,महेश्वर खड्का, ज्ञान प्रसाद पोखरेल, भवानी भट्टराई देउजा, सरस्वती न्यौपाने, टेकबहादुर गुरुङ, रत्न नगर्ची दर्जी, तोयानाथ खतिवडा, सुर्य बहादुर लामा, तेज कुमारी बोगटी, राजु पौडेल, बिष्णु माया खड्का, दिल बहादुर कार्की, रामकृष्ण मैनाली गीता ज्ञवाली रवीदेबी गोदार, सुशिला सुनार, गोपाल मोक्तान, मनबहादुर प्रजा ,समिर लामा, दिलिप राउत क्षेत्री, डिल्ली प्रसाद ओली, बर्षा सुनार, स्वस्तिका सुनार, र महेश्वर केसी सदस्यमा निर्वाचित भएका छन्। उक्त अधिवेशनमा प्रदेश कमिटी सदस्यहरु उद्दव खरेल, मिठाराम अधिकारी र संगम गहतराजको उपस्तिथि रहेको थियो।
-

नेकपा एमाले गोकर्णेश्वर वडा नं ३ को अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ निर्वाचित
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले गोकर्णेश्वर वडा नं ३ को वडा कमिटीको अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्टको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको वडा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।

को-को बने प्रतिनिधि ?
अध्यक्ष :-बुद्धि बहादुर श्रेष्ठ
उपाध्यक्ष:- सुजन पौडेललाइ
सचिब:- नबिनराज बिष्ट
उप सचिव:- सचिन लामा र रजनी अर्याल भण्डारी
सदस्य:- उमेश बिष्ट, रामेश्वर बिष्ट, उज्ववल बिष्ट, दिपेन्द्र बिष्ट, दशरथ गिरी, सुरेन्द्र बिष्ट,रामचन्द्र श्रेष्ठ, सुर्य बहादुर लामा, सुरेश लामा, विकास लामा, मोहन लामा सिताराम कुइकेल, दिकपाल भण्डारी श्याम कृष्ण भण्डारी, विजय बस्नेत, अशोक बस्नेत, रमिता केसी, अनिता श्रेष्ठ, सृजना भुषाल, अमला बिष्ट, सुनिता तामाङ अमृता घिमिरे, सुशिला बिष्ट, राममाया नगरकोटी, जमुना श्रेष्ठ र डम्बर बिक निर्वाचित भएका छन् ।
-

ऐतिहासिक मन्दिर गोकर्णेश्वरलाई नगरपालिकाको होस्टे हैंसे
अमृता के सी ( रोनी )
काठमाडौँ, कात्तिक ४ । गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिद्वारा आयोजित विजया दशमी, दिपावली, भिन्तुना र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा म्युजिक सामाग्री हस्तान्तरण कार्यक्रम गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
बुधबार सम्पन्न कार्यक्रममा उप प्रमुख शान्ति नेपाल, नगर प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ, नगर सदस्य बालकृष्ण श्रेष्ठ, वडा ४ का ईकाइ सभापति ज्ञान कुमार श्रेष्ठ लगायत स्थानिय बुद्धिजीवी, समाजसेवी, शिक्षाविद्हरुको बाक्लो उपस्तिथि रहेको थियो।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति अध्यक्ष एवं वडा नं ४ का वडा प्रमुख श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मन्दिर क्षेत्रमा भएको गतिविधि बारे प्रकाश पारेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख नेपालले गोकर्णेश्वर मन्दिरलाई राम्रो र व्यवस्थित बनाउन नगरपालिकाको आर्थिक सहयोगमा अक्षय कोष व्यवस्था साथै सुनको छाना निमार्ण कार्य भैरहेको बताइन् । साथै नगरपालिका भित्रको धार्मिक अस्तित्व र धार्मिक महत्त्व भएको धरोहरलाई जगेर्ना गर्न सम्पूर्णलाई अनुरोध गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले गोकर्णेश्वर मन्दिरको नामबाट गोकर्णेश्वर नगरपालिकाको नामाकरण भएको बताउदै विश्वव्यापी रुपमा धार्मिक धामको रुप दिन नगरपालिका लागि परेको बताए ।साथै उनले मन्दिर मन्दिर जस्तो बनाई २४ सैँ घण्टा भजन कृतनको सुमधुर धुनले गुन्जायामान होस् भनी म्युजिक सामाग्री हस्तान्तरण गरेको बताए ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिका सचीव ईश्वर पाण्डेले मन्दिरमा छाना निमार्णको सुरुको अवस्था देखि हालको अवस्था सम्म भएको आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै सरोकार वालाहरुलाई मनमा लागेको कुरा सोध्न परेमा बिहान १० बजे देखि बेलुका ५ बजेको समय भित्र समितिको कार्यालयमा आएर जानकारी लिनु हुन समेत अनुरोध गरेका छन् ।

-

प्रधानमन्त्री आज सुदुरपश्चिमका बाढी र डुबान प्रभावित क्षेत्रमा जाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदुरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । बिहीबार धनगढी पुगेर त्यहाँबाट हेलिकप्टरमार्फत् डडेल्धुरा, डोटीलगायत क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम मै बास बस्नेछन् । गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा बढी क्षति गरेको छ । यसअघि बुधबार सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । घरबारबिहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ ।
-

बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे
काठमाडौं । पछिल्लो दुई दिनमा नेपालमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयका अनुसार यसमध्ये बुधबार मात्र ५० जनाको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् । २७ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । बुधबार साँझसम्म सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एकरएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।
-

धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु
धनकुटा । पहिरोका कारण धनकुटामा घर भत्किदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । मंगलबार राति खसेको पहिरोमा परि ६ जना घाइते छन्
मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
-

नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता
काठमाडौं । नेपालमा जारी वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । सरकारी अधिकारीहरुले कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । बझाङमा दुई दर्जन मानिस बेपत्ता भएको खबर आएको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा एउटै गाउँका २२ जना पहिरोमा हराइरहेको स्थानीय तहबाट रिपोर्ट सार्वजनिक भएको छ । प्रहरी पुगिनसकेका कारण यकिन विवरण आइसकेको छैन । बिबिसीले गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई उदृत गर्दै लेखे अनुसार डोटी र सुनसरीमा दुई-दुई जना र कालिकोट अनि डडेलधुरा जिल्लामा एक एक जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
अन्य पाँच जना घाइते भएको बताइएको छ।
प्रहरीका अनुसार सुदुरपश्चिममा पहाडी जिल्ला जोड्ने लगभग सबै सडकहरू अवरुद्ध छन्। महेन्द्रनगरमा बढी डुबान देखिएको र महाकाली नदीमा पानीको सतह खतराको विन्दुमा पुगेको छ ।महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्याएको छ।
त्यसबाहेक बैतडी जिल्लामा सेती नदीको किनारमा रहेको एउटा गाउँ जोखिममा रहेको विवरण आएपछि करिब ६० जनाको प्रहरी टोली घटनास्थलमा गएको छ ।
बझाङ जिल्लाको सदरमुकाम समेत बाढीले प्रभावित भएको छ र त्यहाँको बसपार्कमा नदी पसेको छ ।
बझाङ जिल्लाको थलहरा गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा परी २२ जना हराइरहेको खबर गृह मन्त्रालयमा आएको छ ।
डडेलधुरा र कञ्चनपुरमा महाकाली नदीमा फसेका गरि नौ जनाको सकुशल उद्धार गरिएको छ । -

आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै
काठमाडौं । मंगलबार दशैको अन्तिम दिन अर्थात, कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गर्ने दिनका रुपमा कोजाग्रत पुर्णिमालाइ मनाउने प्रचलन रहेको छ ।५ दिन सम्म दशैको टीका जमरा लगाउने प्रचलन रहेको स्थानमा आज अन्तिम दिन टीका र जमरा लगाइन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पुर्णिमाका दिन पूरा हुन्छ ।आज बेलुकी सबै बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं सकिन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्तिके स्नान भने बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।
-

गोकर्णेश्वरका युवा समुहद्वारा ३०० वर्ष पुरानो संस्कृतिको जगेर्ना
अमृता के सी (रोनी)
काठमाडौँ, असोज ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित ऐतिहासिक स्थान ‘देसे’ मा दशैँको टीकाको दिन ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ ।
विजया दशमीको टिकाको दिन असत्यमाथि सत्यको जित भएको भन्दै देखाइदै गरेको देवि नाच ३७ वर्षसम्म यो नाच नाच्ने मानिसहरू नभएपछि देखाइएको थिएन । ४ वर्षअघि स्थानीय युवाहरूको सक्रियतामा पुनः यस नाचलाई नियमित रूपमा नचाउन थालिएको छ ।
परंपरा, कला र संस्कृति जोगाउन युवा पुस्ताले देखाएको सकृयतालाई स्थानीय तथा आसपास क्षेत्रका सबैले सह्राहनीय कार्य भनि प्रसंशा गरेका छन्
-

रसुवाको रहस्य; सिङ्गेभूमी थान
सरस्वती न्यौपाने, रसुवा
“हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै”
रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान ।
गोसाईंकुण्ड गाउँपालिका वडा नं ६ ठाडे निवासी साप ग्याल्वो घलेका अनुसार उक्त थान परापूर्व कालदेखि आफै उत्पत्ति भएको ढुङ्गा हो । अरू देवीदेवता भन्दा यसको महिमा बेग्लै छ । यस सिङगेभूमी थान र छङगम देवी बूढाबूढी हुन् भन्ने धार्मिक किंवदन्ती समेत रहेको छ ।
यिनी बुढाबुढी एक आपसमा नमिलेर छुट्टै वारपार गरेर बसेका छन् । यस थानमा पूजा गर्दा रातो लुगा लगाएर रातो अविरले पूजा गर्नुहुँदैन र केटी मान्छे जानै नहुने भन्ने धार्मिक भनाइ छ । जहाँ विशुद्ध अछेता, गाईको दूध, पैसा मात्र चढाउनुपर्छ भन्ने मान्यता छ ।
यस थान नजिक घना रूखै रूख छन्‚ सो रूखहरु काटे अनिष्ट हुने जनविश्वास छ । यसर्थ गाउँलेले त्यहाँका रुख पनि काट्दैन र गाईबस्तु र बाख्रा पनि चराउँदैनन् । यस ठाउँमा सोमबार र बिहीबार पारेर जानुपर्ने हुन्छ । अर्को रहस्यमय कुरा चाहिँ छङगमदेवि र मूलखर्कदेवी दिदीबहिनी हुन् । मुलखर्क देवीमा चाहिँ पहिरोले पुरेर ढुङ्गा देखिँदैन ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्रमा रहेका सिङगे भूमिथानलाई स्थानीय सरकारले संरक्षणमा जोड दिने हो भने पर्यटन प्रवर्द्धनमा टेवा पुग्दछ । यहाँ हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै छन् । पासाङल्हामु राजमार्गसँग जोडिएको भए तापनि धार्मिक हिसाबले स्थानीय बाहेक कमैलाई मात्र यसबारे जानकारी छ।
आजको २१ औँ शताब्दीमा मानिसको चालचलन‚ रीतिरिवाज परम्परा संस्कृति परिवर्तनतर्फ अग्रसर भइरहँदा भगवानलाई विश्वास नगरे पनि ठाडे गाउँवासी भने रीतिरिवाज र भगवानप्रति आस्था राख्छन् ।
सरस्वती आधारभूत निमाविका प्राध्यापक भन्छन्‚ ‘यो त कुनै मानव निर्मित नभई भगवानको पालाकै हो । यहाँ फोहोर गर्ने महिलाहरू महिनावारी हुँदा हेलचक्र्याइँ गरे रोग लाग्ने गाउँमा भयावह हुने गर्छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाक्पा घलेका अनुसार हामी जतिऔँ शताब्दीका मान्छे भए पनि आफ्नो संस्कृति, संस्कारलाई मान्नु पर्छ । यसले मानिसहरूलाई मानिस हुन सिकाएको छ । सिङ्गेभुमि थान ओझेलमा रहेको थान हो । यसले यस गाउँ र मानिसलाई असल बाटोमा डोर्याएको छ । यसको महिमाबारे विश्वसामु चिनाउन जरुरी रहेको विव्यस अध्यक्ष घले बताउँछन् ।
पर्यटन विकास र आधुनिकीकरणको प्रभावले परापूर्वकालदेखि नै जगेर्ना गर्दै आएको प्रकृति सम्बद्ध खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवानले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउँछन् । लोक कथामा छङ्गमदेवीजस्तै उच्च महिमा यहाँका धेरै गाउँ ठाउँका नामसँग जोडिएका छन् ।
-

गोकर्णेश्वरमा भगवती युवा क्लबद्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
अमृता के सी ( रोनी )
काठमाडौँ, असोज २५।गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित भगवती युवा क्लबद्वारा आयोजित आन्तरिक ब्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ। गोकर्णेश्वर वडा नं ९ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिता गो. न. पा. ९ स्थित भगवती युवा क्लबको ब्याडमिन्टन कोर्टमा खेलिएको थियो ।
विजया दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा, मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खेलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिता गो. न. पा. ९ का वडा अध्यक्ष राजिव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

भगवती युवा क्लबका अध्यक्ष सन्यज वि. क. को सभापतित्वमा सम्पन्न कार्यक्रममा गो.न.पा-९ वडा सदस्य हरिकृष्ण कारन्जित, गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो।असोज ९ गते देखि शुरु भएको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी तर्फ रामजी कुमार श्रेष्ठ घोषित भए भने जुनियर तर्फ उदयमान खेलाडीको रुपमा धर्म शरण श्रेष्ठ र जुनियर तर्फ सुशील तामाङ घोषित भए ।शनिबार सम्पन्न प्रतियोगितामा फाईनल खेलमा बिजेता भएका तपशिल बमोजिमका टिमहरू रहेका छन् ।

सिनियर तर्फबाट
१.सुमन ताम्राकार +केदार दवाडी( प्रथम )
२.बिबेक मगर + जयराम आचर्य (द्रोस्रो )
३.रामहरि श्रेष्ठ + मोहन श्रेष्ठ (तेस्रो )जुनियर तर्फबाट
१.दिनेश के.सि + बिमल कारन्जित (प्रथम )
२.कृष्ण के.सि + राजु श्रेष्ठ (द्रोस्रो)
३.सन्जय बि.क + सुशील तामाङ( तेस्रो )

-

गोकर्णेश्वर नगरपालिकामा नियम विपरीत खोलिएको अस्फाल्ट प्लान्ट स्थानियद्वारा तोडफोड
काठमाडौँ, असोज २४ ।गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सिमानामा स्थित पानी खोल्सामा स्थानियको विरोधको बाबजुद नियम विपरीत संचालित अस्फाल्ट प्लान्ट ( बिटुमिन) कारखाना शनिबार स्थानियहरुले तोडफोड गरेका छन् ।करिब ७० को संख्यामा जम्मा भएका स्थानियहरुले वातावरण प्रदुषण भएको भन्दै नियम विपरीत खोलिएको उक्त कारखाना तोडफोड गरेका हुन् ।

स्थानीय जनतालाई जानकारी समेत नदिई करिब ३ महिना अगाडि संचालन गरिएको उक्त कारखानाबाट निस्किएको धूवाँको मुस्लोले ५ वटा गाउँलाई प्रदुषित गरेपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए। स्थानीयको चर्को विरोध पछि प्राविधिक रूपमा गोकर्णेश्वर नगरपालिका भित्र गैरकानुनी रुपमा संचालित कारखाना बन्द गराउन नगर प्रमुख सन्तोष चालिसे र वडा अध्यक्ष राजिव थापा माथी दबाब परेको थियो ।स्थानीयको चर्को विरोध पछि त्यतिबेला नगर प्रमुख चालिसेले सात भित्र अस्फाल्ट कारखाना हटाउने वचन दिएका थिए।नगर प्रमुख चालिसेको वचन बद्दता पछि कारखाना साच्चै बन्द भएको जन विश्वास थियो। तर बर्खा सिद्दिए लगत्तै राती-राती अस्फाल्ट कारखाना संचालन गरि वातावरण प्रदुषण भएपछि स्थानीयहरु रात भर सुत्न नसकेको गुनासो गर्दै आएका छन् ।समस्यामा परेका स्थानीयहरु एक हप्ता भरी सामाजिक संजाल मार्फत जोडिएर शनिबार कारखाना तोडफोड गर्न उत्रिएका हुन्। यसै विषयमा गोकर्णेश्वर वडा नं ९ का वडा अध्यक्ष थापाले उक्त अस्फाल्ट प्लान्ट वडाले पहिले बन्द गर्नु भनेर पत्र काटि सकेकोले नियम बमोजिम हटिदिन अनुरोध गरेका छन्।साथै स्थानियहरुलाई आक्रोशीत नभई समझदारीमा आउन आग्रह गरे।

नियम विपरीत खोलिएको भनिएको उक्त कारखाना गोकर्णेश्वर नगर प्रमुखको घर भन्दा करिब २०० मिटरको दुरिमा रहेको छ।
-

बूढानीलकण्ठ नगरपालिकाले दियो जगडोलस्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो गाँऊ व्यवस्थित गर्ने जिम्मा
अमृता के सी ( रोनी )
काठमाडौँ, असोज २० ।बूढानिलकण्ठ नगरपालिकाले स्थानिय जगडोल स्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो वडा अन्तर्गतको सार्वजनिक जग्गामा सरसफाई शौचालय, विश्रामस्थल, पार्क निर्माण, घुम्ती र टहरा पसलको व्यवस्थापनको लागि अनुमती सहितको पत्र हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधवार एक अनौपचारिक कार्यक्रममा क्लबका पदधिकारीहरुलाई एक पत्र हस्तान्तरण गरेको हो ।
बूढानीलकण्ठ नगरपालिकाले गत वर्ष गरेको ५० लाख रकम मार्फत पार्क तथा भवन निर्माण गर्दै गरेको यज्ञडोल जगडोल युवा क्लबले स्थानिय दार्हे गौडामा रावणको सालीक सहितको पार्क निर्माण गर्ने जनाएको छ। पार्क निर्माणका लागि नगरपालिकाले थप चालिस लाख दिन लागेको क्लबका अध्यक्ष सञ्जय पौडेलले बताए । नगरपालिकाबाट पत्र प्राप्त गरे पछी क्लबका अध्यक्ष पौडेलले वडा अध्यक्ष राजु अधिकारी र नगर प्रमुख उद्धब खरेललाई आफ्नो फेशबुक स्ट्याटस मार्फत् धन्यबाद दिएका छन्। अध्यक्ष पौडेलले लेखेका छन् “साबिक कपन गा बि स हाल बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ११ स्थित सुन्दर गाँऊ जगडोल भित्र अनियन्त्रितरुपमा विकास भएका टहरा व्यवसाय र ति टहरामा अनियन्त्रितरुपमा बिक्रि वितरण गरिने मदिराजन्य पेय पदार्थका कारण सिंगो गाउँ नै असुरक्षित हुने मध्यरातसम्म होहल्ला हुने भए पछी हामीले यज्ञडोल जगडोल युवा क्लब मार्फत यि सबै विकृतीहरुलाई नियमगन गर्नुका साथै धार्मिक महत्व बोकेको जगडोलमा रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहितको यज्ञ पार्क निर्माण गर्न अधिकार पाँऊ भनी यज्ञ पार्क निर्माण समिती एवं यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट वडा कार्यालय ११ लाई स्वीकृतिको लागि निवेदन दिएका थियौ ।

यसरी अनियन्त्रित रुपमा दिनहुँ थपिदै गएका टहराहरुका कारण सुन्दर जगडोल बिस्तारै कुरुप समेत बन्दै गए पछी स्थानिय क्लबको दायित्व सम्झिएर हामीले रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहित नमुना पार्क बनाउने र यस्ता टहराहरुलाई व्यवस्थित गर्न सटर सहितको भवन निर्माण गरी ति व्यवसायहरुलाई करको दायरामा ल्याई सुन्दर जगडोल निर्माण गर्ने प्रण गर्यौं । हाम्रो निवेदनलाई स्विकार गरी वडा कार्यालयले गरेको सिफारिसलाई बूढानीलकण्ठ नगरपालिकाले आज अनुमोदन पत्र हस्तान्तरण गरेको छ ।

अनुमोदन मात्र होईन बूढानीलकण्ठ नगरपालिकाले थप ४० लाख रकम नवनिर्मित पार्क निर्माणको लागि बिनियोजन समेत गरेको छ। यो रकम समेत गरी बु.न.पा.ले हालसम्म गरेको सहयोग ९० लाखको हुनेछ ।

बूढानीलकण्ठ नगरपालिकाले हामीलाई गरेको यो विश्वासको लागि नगर प्रमुख उद्धब खरेल, वडा अध्यक्ष राजु अधिकारी, नगरपालिकाका सरोकालवाला कर्मचारी साथमा यस क्लबका सम्पूर्ण पदाधिकारी अनी जगडोलका अग्रज बा आमा युवा साथीहरु सबै धन्यबादका पात्र हुनुहुन्छ। साथै छिमेकी नगरपालिका गोकर्णेश्वोरले पनि यो पार्क निर्माणका लागि १० लाख छुट्टाएको छ । यो सहयोगको लागि नगर प्रमुख सन्तोष चालिसेलाई पनि यज्ञ पार्क निर्माण समिती एवम् यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट धन्यबाद दिन चाहन्छौ ।”

