जनकपुर । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादवको मृत्यु भएको प्रहरीले बताएको छ । मंगलबार साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भजनकिर्तन गर्न जोडेको माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरे । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।
बुटवल । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको ज्यान गएको छ । सडकमा हिँडिरहेको समयमा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । तनहुँको म्याग्दे गाउँपालिका ४ का ४३ वर्षीय कपिल वाग्लेको गत राती रुपन्देहीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज हुन् । उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गतराती आठ बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, श्रावण २५। वन तथा भु-संरक्षण विभाग बबरमहल डिभिजन वन कार्यालयद्वारा सामुदायिक वन दिवस तथा भु-संरक्षण दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण समारोह २०७८ सम्पन्न गरेको छ।
“प्रकृतिको भरपोषण प्रभावकारी भु – संरक्षण “को नाराका साथ भु-संरक्षण दिवस साथै “सामुदायिक वनको सम्पति:समृद्धि,प्रकृति र संस्कृति” नाराका सामुदायिक वन दिवस दुई वटै कार्यक्रम समायोजन गरेर सौन्दर्यजात र फलफूलका वृक्षहरु रोपण गरेर मनाइएको थियो।
वन तथा भु-संरक्षण मन्त्रालयका सचिव डा.पेम नारायण कडेलले वृक्षरोपण गरि समुद्घाटन गरेको कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पोखरेल, वन तथा भु-संरक्षण विभागका महानिर्देशक देवशमणी त्रीपाटी, डिभिजन वन कार्यालय प्रमुख बद्री कुमार कार्की, बौद्ध प्रहरी वृत्त प्रमुख ढुण्डीराज न्यौपाने, गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, फेकाेपन महासचिब बृख बहादुर शाहि ,सचिब ठाकुर भण्डारी, राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, सामुदायिक वन अध्ययन केन्द्रका प्रमुख विष्णु ज्ञवालि लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा आफ्नो भनाइ राख्दै राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष एवं सामुदायिक वन पर्यापर्यटन तथा वन उधम राष्ट्रिय संजालको अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती ( स्मारक ) सातै प्रदेशको पर्यापर्यटनको अभियानको एउटा स्तम्भ केन्द्र बिन्दुको रूपमा जाने बताए। साथै उनले जनप्रतिनिधि, जनता,राजनीति दल र सरकारको तर्फबाट शहिदहरुलाई माल्यर्पण गर्ने पुन्य भुमिमा वृक्षरोपण समारोह गरि दुई वटा कार्यक्रम संगै गर्न सफल भएको बताए।कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा भु-संरक्षण मन्त्रालयका सचिव डा. कडेलले माटो र पानी प्राकृतिका आधारभूत स्रोतहरु भएकोले यसको संरक्षण गर्ने विषयलाई प्रभावकारी बनाउने बाताए।साथै कडेलले वृक्षरोपण गरि भु -संरक्षण हुने र सामुदायिक वन सबैको साझा सम्पति भएकोले सबैले संरक्षणमा जोड दिनु पर्ने बताए।
अमृता के सी ( रोनी ) काठमाडौं, श्रावण २४ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ३ स्थित गाम्चामा कुखुराको चल्ला वितरण गरेको छ।नगरपालिकाले विपन्न वर्गका लागि आय-आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ वस्तुगत टेवा कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको हो । महिला समुहलाई लक्षित गरि करिब ५१ घर परिवारका महिला दिदी बहिनीहरुलाई आय आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ करिब १०२० वटा कुखुराको चल्लाहरु नगर प्रमुख सन्तोष चालिसेले शनिबार एक कार्यक्रम बिच वितरण गरेका हुन्।
कुखुराका चल्ला वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप-प्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यय,सामाजिक विकास शाखा प्रमुख गोमा प्रसाईं, नगर कानुनी सल्लाहकार विनय कुमार पण्डित, गो.न.पा. ३ वडा सदस्य लक्ष्मि भण्डारी लगायत स्थानियहरुको बाक्लो उपस्तिथि रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख नेपालले नगरपालिकाबाट उक्त क्षेत्रका महिला दिदिबहिनी साथै स्थानियको जीवनस्तर उकास्न समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन्।साथै वितरण गरेको चल्लालाई उत्पादन मुखी बनाएर वस्तिमा आर्थिक समृद्धिलाई टेवा पुग्ने हेतुले व्यवसाय सुरु गर्न समेत अनुरोध गरिन् ।भने नगर प्रमुख सन्तोष चालिसेले वितरण गरेको एक घर प्रती २० वटा चल्लाबाट सयौं चल्ला उत्पादन गरि उत्पादनलाई व्यवसायीक हिसाबले सुरु गर्न सुझाव दिए। चालिसेले स्थानिय निकाय संग आफ्नो ठाउँ अनुसारको आवश्यकता पर्ने जस्ले उत्पादनका साथै आर्थिक उपार्जन गरि आय आर्जनको बाटो अगाडि बढाउन सक्ने कार्यक्रमको माग गरि स्वरोजगार हुन समेत आग्रह गरेका छन् ।
काठमाडौं, श्रावण २३ ।बूढानीलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल घुस रकम सहित पक्राउ परेका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं ६ स्थित होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रंगेहात पक्राउ गरेको हो।
नगरपालिका भित्रको एक सडक निर्माण कार्य सम्झौता बमोजिम सम्पन्न भए पश्चात भुक्तानी दिने क्रममा सेवाग्राही सँग ७२ हजार घुस रकम माग गरेको सूचना पाएको आधारमा अख्तियार टोलीले पौडेललाई पछ्याएको थियो । होटल सब्रिनामा अख्तियार टोलिले उक्त रकम सहित पौडेललाई पक्राउ गरेको हो ।पौडेललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ। पौडेल तात्कालीन कपन गा.बि.स. हुँदा देखी कपन गा.बि.स. र हाल बूढानिलकण्ठ नगरपालिकाको प्राविधिकको रुपमा निकै सकृया हुँदै आएका छन् ।
काठमाडौं, श्रावण २२ ।नेपाल कम्युनिस्ट पार्टी एमालेको बूढानिलकण्ठ नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बूढानिलकण्ठ नगरपालिका वडा -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको बैठक नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा समापन भएको छ।
बिहिवार सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई , केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी सह इन्चार्ज नारायण सिलवाल ,जिल्ला सचिव दिपक निरौला , क्षेत्रीय संयोजक तेज ढकाल ,जिल्ला सदस्यहरु संगम गहतराज, मिठाराम अधिकारी, लक्ष्मी संग्रौला, सुशीला सिलवाल ,बिदुर बिक्रम खड्का ,अनिता लामा, बूढानिलकण्ठ नगर प्रमुख उदव खरेल, उपप्रमुख रमा राई लगायत अतिथि रहेका थिए।कार्यक्रममा पार्टीका विभिन्न विषयहरुमा छलफल साथै शाखा अध्यक्ष र सचिवको नाम घोषणा गरिएको थियो ।
को को बने अध्यक्ष र सचिव ?
वडा नं १ : हरी भारती ( अध्यक्ष ) र नबिन श्रेष्ठ ( सचिव )
वडा नं २. राजेन्द्र श्रेष्ठ ( अध्यक्ष ) र निशा बराल ( सचिव )
वडा नं ३ : गणेश कुँवर ( अध्यक्ष ) र राज कुमार महर्जन ( सचिव )
वडा नं ४ : कमला पन्त ( अध्यक्ष ) र पर्शुराम शर्मा ( सचिव )
वडा नं ५ : नारायण दुलाल ( अध्यक्ष ) र चन्द्रमान श्रेष्ठ ( सचिव )
वडा नं ६ : प्रशान्त डंगोल ( अध्यक्ष ) र रामहरी खड्का ( सचिव )
वडा नं ७ : मंगलदास श्रेष्ठ ( अध्यक्ष ) र विश्व निरौला ( सचिव )
वडा नं ८ : बिनोद थापा ( अध्यक्ष ) र सबिन अधिकारी ( सचिव )
वडा नं ९ : दिलिप थिङ्ग ( अध्यक्ष ) र मिना श्रेष्ठ ( सचिव )
वडा नं १० : जगत प्रसाद निरौला ( अध्यक्ष ) र शम्भु पौडेल ( सचिव )
वडा नं ११ : कृष्ण भट्टराई ( अध्यक्ष ) र अंगुर पौडेल ( सचिव )
वडा नं १२ : शंकर भट्टराई ( अध्यक्ष ) र विष्णु भट्टराई ( सचिव )
वडा नं १३ : टिकेस नारायण श्रेष्ठ ( अध्यक्ष ) र धर्म श्रेष्ठ ( सचिव )
बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
बैतडी प्रहरीका अनुसार जङ्गली बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको खुलेको छ । दाजुभाई भने बँदेल धपाउन मकैबारी छिरेका थिए । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटेको छ । जिल्लामा जङ्गली जनावरले मकै नष्ट गर्न थालेपछि त्यसलाई जोगाउन कृषकले अनेक उपाय लगाउने गरेका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, श्रावण २१। गोकर्णेश्वर नगरपालिका बेसिगाउँ स्थित एक मःम पसलमा सोमबार कोरोना विरुद्धको खोप लगाइदिइरहेका २ जना स्वास्थकर्मी सहित केही खोप प्रहरीले बरामद गरेको थियो। बौद्ध प्रहरी प्रमुख नायव निरिक्षक (डिएसपी) ढुण्डीराज न्यौपाने अनुसार खोप किनबेचको भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको र खोप सोही मःम पसल नजिकै रहेको एक फार्मेसीबाट लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए। यसै विषयलाई माध्यम बनाएर जनप्रतिनिधि र कर्मचारीकै मिलीमतोमा खोप मःम पसलसम्म पुगेको आशंका गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिका भित्र यस्तो कार्य भयो के कसरी भयो छानबिन हुदैछ भन्दै नगरपालिकाको नाम लिएर बदनाम गर्न खोजेकोमा नगरपालिकाले खेद व्यक्त गरेको छ।”स्वास्थ्य मन्त्रालयले खोपको जिम्मेवारी स्थानिय तहलाई दिएको भन्दै नगरपालिकाले सोही अनुसार सेन्टर तोकेर खोप वितरण गरिरहेको र नगरपालिकाको कुनै सरोकार नभएको सुचित गराउदैं नगर प्रमुख सन्तोष चालिसेले यस्तो कार्य गर्नेलाई सक्त कारबाही गर्न समेत अनुरोध गरेका छन् “।उनले भने खोप लगाउने केन्द्रमा हो,खोपको लागि बिहान देखि बेलुकी सम्म यति धेरै लाइन छ नगरपालिकाको कोहि कसैले दिएको भए प्रमाण हुनुपर्यो भन्दै शंकाको भरमा नगरपालिकाको नाम लिएकोमा खेद व्यक्त गरेका छन् ।
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीका कारण उच्च जोखिममा रहेका घरमा नबस्ने आह्वान गरेको छ । १ असारयता मेलम्चीमा ढुंगा र हिलोमाटोसहितको बाढीले नदीतटीय क्षेत्रका घरमा ठूलो क्षति गरेको छ । बस्ती क्षतिगस्त भएको र थप क्षतिको सम्भावना रहेको भन्दै मेलम्ची नगरपालिकाले यस्तो आह्वान गरेको हो । नगरपालिकाले असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरिरहेको समेत जनाएको छ ।
बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त समेत गरेको छ । तत्कालका लागि सामूहिक रूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको थियो । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गरेका छन् ।
कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको समेत उनले जानकारी दिएका छन् । पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको नगरपकालिकाको अपिलमा उल्लेख छ ।
हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको समेत जनाएको छ ।
बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको समेत बताइएको छ ।
अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रु ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको छ । पुनर्निर्माणका लागि प्राप्त हुने रु पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रु तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको उनले जानकारी दिए ।
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको थियो ।
मोटरसाइकल बसमा ठोक्किएर अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको प्र.२ ०१, ००१ प ९५५६ नम्बरको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र.न.२.०१.००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ ।
चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते छन् ।
काठमाडौँ, श्रावण १९ ।गोकर्णेश्वर नगरपालिकाद्वारा कोभिड १९ विरुद्धको भेरोसेल (चाइनिज) पहिलो खोप नलगाएकाहरुलाई मिति २०७८/०४/१९ गते मंगलवारको दिन लगाउने भएको छ।नगरपालिकाद्वारा प्रकाशित सूचनाको अनुसार सहयोगी मा वि गोकर्णमा खोप लगाउने कार्य संचालन हुने भएको हो । पछिल्लो समयमा खोप केन्द्रमा झडप भएर गोकर्णेश्वर नगरपालिकाले खोप कार्यक्रम नै स्थगित गरेको थियो।उक्त समस्यालाई मध्य नजर गर्दै नगरपालिकाले खोप संचालनलाई व्यवस्थित बनाउन खोप सेवा लिनका लागि आ-आफ्नो वडाको वडा प्रमुखहरुबाट कुपन लिएर मात्र खोप केन्द्रको लाइनमा बस्न प्रकाशित सूचनामा अनुरोध गरेको छ।
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ । प्रहरीले मुकुट चोरी भएसँगै भारतसँगको नाका सील गरि खोजी शुरु गरेको छ । आइतबार बेलुका सवा ७ बजे चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक रामपुकार महतोलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।
महतोका अनुसार पुजारीहरु पोखरीको सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली घटनास्थल पुगेको थियो । मुकुट खोजी गर्न भारतीय सीमानाका बन्द गरिएको छ ।
कैलाली । शुक्रबार एकै परिवारका पाँच जना सवार रहेको जीप कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको थियो । सो क्रममा तीन जना छोराछोरी घाइते अवस्थामा उद्धार गरिएको छ भने दम्पत्ति नदीमा वेपत्ता भएका छन् । उनीहरुको खोजि कार्य जारी रहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरु सवार जीप भने भेटिएको छ । शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जीप ‘टुुक्रा–टुुक्रा भएको अवस्थामा फेला परेको छ । जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको खोजि जारी छ । दुर्घटना जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते भएक हुन् । उनीहरुको नेपालगञ्जमा उपचार जारी छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जानकाी गराएको छ ।
दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को लापरवाहीका कारण दार्चुलामा एक नेपाली युवाको ज्यान गएको छ । तुइनबाट महाकाली नदी तरिरहेका ३० वर्षिय युजा जयसिंह धामी नदी पार नहुँदै तुइनको फलामे डोरी भारतीय सीमा सुरक्षा बलले निकालिदिंएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । महाकालीमा खसेर उनी पौडिन नसकेपछि खोलाले बगाएको छ । घटना शुक्रबार बिहान भएको हो ।
दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनीमाथि सुरक्षाबलले जानाजान लापरवाही गरेको छ । धामीसँगै गएका तीन जना तुइन तरेर पार भएका थिए । ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्ढाथोकीले नेपाली संचारमाध्यमलाई जनाए अनुसार धामी नदी छेउमा नपुर्ग्दै एसएसबीले फलामे डोरी निकालेको हो ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गर्दै यस्तो आग्रह गरिएको हो । धामी नेपाली सेनाको जागिर छाडेर विदेश जाने योजनामा थिए । सोही अनुसार भिसा आएपछि उनी काठमाडौं जान दार्चुलाको सदरमुकाम जान नदी पार गर्दैथिए ।
काठमाडौँ, श्रावण १५। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा मिनी टाटाले ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।रामेछाप जिल्ला उमाकुण्ड ४ स्थायी घर भइ गोकर्णेश्वर ४ माकलबारी बस्ने वर्ष २८ को तेज बहादुर दमाईको बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान ठक्कर दिंदा उनको घटनास्थलमा मृत्यु भएको हो ।
गाडी चालकको लापरबाहीले उक्त घटना घटेको भन्दै आक्रोशित स्थानीयले घटना पश्चात उक्त गाडीलाई तोडफोड गरेका छन् । गाडी चालक र खलासिलाई प्रहरीले नियन्त्रणमा लिएका छन् भने गाडी साहु सम्पर्कमा छैनन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा बुधबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर चार जनाको पाल्पामा उपचार जारी छ । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा, वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडाकी ६२ वर्षीया सुनिता विक छन् । उनीहरुमध्ये थापा र कार्की स्थानीय व्यवसायी हुन् । उनीहरुसहितका व्यापारी शान्तिपुरबाट सरकारलाई कर तिर्न जिल्ला सदरमुकाम तमघास हिँडेका थिए । दुर्घटनाको कारण खुलेको छैन । सडकबाट करीव ४ सय मिटर तल झरेको जिप दुर्घटनामा तीन जनाको भने घटनास्थलमै ज्यान गएको हो ।
रसुवा जिल्लालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अतुलनीय योगदान गरी जिल्लाको मुहार फेर्ने अग्रज व्यक्ति दावा फिन्जो तामाङ रसुवावासीले सम्झिरहनुपर्ने उदाहरणीय व्यक्ति हुन् । १९९४ साल असार १५ गते साविकको स्याफ्रु – ४ सानो भार्खु हाल गोसाईकुण्ड गाउँपालिका- ५ भार्खुमा बाबु डिनडुव वाङदी तामाङ(ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरवाट जन्मिनु भएका उहाँ पेशाले कृषि, सामाजिक सेवा र राजनीतिमा सकृय हुनुहुन्छ।
सामान्य किसान परिवारमा जन्मनु भएका दावा फिन्जो तामाङका एक श्रीमती दुई छोरी र तीन छोराहरू रहेका छन । उहाँले विसं २०१५ सालमा संयुक्त राष्ट्रिय प्रजातान्त्र पार्टीको सक्रिय सदस्य बनि राजनैतिक जीवनको शुरुवात गरेका हुन् । वि. स.२०१८ देखि २०१९ सालसम्म जिल्ला पन्चायतको कार्यवाहक सभापतिक रूपमा कार्यरत हुनुहुन्थ्यो भने २०१९ देखि २०२४ र २०२४ देखि २०२९ सालसम्म गरी दुई कार्यकाल जिल्ला पञ्चायतको सभापति हुनुभयो । वि. स.२०३० साल भाद्र १० गतेदेखि गाउँ फर्क राष्ट्रिय अभियान, बाग्मति अन्चल समितिमा श्री ५ बाट मनोनित सदस्य भई वर्णानुक्रम अनुसार अध्यक्ष समेत हुनुभयो । वि. स .२०३३ सालमा राष्ट्रिय पन्चायतको आम निर्वाचनवाट रसुवा जिल्लाको प्रतिनिधित्व हुने गरि रा. प सदस्यमा निर्विरोध भई करिव ७ रा. प उपाध्यक्ष हुनुभयो । स्वर्गीय राजा विरेन्द्रसंग उहाँको सम्बन्ध प्रगाढ रहेका कारण उहाँले “रसुवा जिल्लालाई पनि सडक सन्जालले जोडेपछि अरू पुर्वाधारहरू बिस्तारै बन्दै जानेछ”, भनेर विन्ति जाएर गरेपछि राजा विरेन्द्रले त्रिशूलीदेखि सोमदाङ सम्म १०५ कमि सडक निर्माण गरी बेत्रावति, कालिकास्थान, राम्चे, ठाडे, धुन्चे, स्याफ्रु, गोल्जुङ,गत्लाङ हुँदै सोमदाङसम्म सडक पुग्। उहाँले चन्दनवारीमा रहेको चिज कारखाना स्थापना, स्याउ खेतिको सुरूवात, उन्नत खेति प्रणाली तथा पशुपालनको व्यवस्थापन, पैदलमार्गको निर्माण, गाउँ-गाउँमा शैक्षिक तथा स्वास्थ्यको जागरणका साथै पुर्वाधार निर्माण गरी समग्र रसुवाको हित हुने कार्यमा योगदान अतुलनीय छ । उहाँ कै पहलमा रसुवामा थामुचेतको चिलिमे र लाङटाङको छोङदिमा गरी दुई वटा एयरपोर्ट पनि बनेका छन् ।
चिन, भारत, बङगलादेश, थाईल्याण्ड समेत पुगिसकेका उहाँ वि. स.२०२२ सालमा श्री ५ बाट सम्मान पत्र, आदरपत्र, प्रवल गोरखा दक्षिण वाहु चौथा २०२४, प्रसिद्ध गोरखा दक्षिण बाहु दोश्रा २०३५, त्रिशक्ति पट्ट दोश्रा २०३०, महेन्द्र रत्न भूषण २०२९, सेवा पदक २०३४ पाउनु भएको छ।
उहाँलाई रसुवाबासिले एक कुशल व्यक्ति तथा जिउँदो ईतिहासको रूपमा ग्रहण गरेका छन् । साच्चिकै जिल्लाको लागि उहाँले गर्नु भएको योगदान कहिल्यै मेटिदैन । उहाँले सुरूवात गरेर नै आज समृद्ध रसुवा वन्न सफल भएको छ । ८५ प्रतिशत तामाङ बाहुल्यता रहेको रसुवालाई आफ्नो भेषभुषा सस्कृति र भगवानको वास भएको जिल्ला भनेर समेत चिनाउनु भएको छ ।आफ्नो स्वार्थमा नरमाई भावि सन्ततिहरूको बारेमा सोचेर अगाडि बढेका उहाँको पाईलाले अहिले सार्थकता पाएको छ । हाल उहाँ निजी निवासमा धर्म कर्ममा लागिरहनु भएको छ ।
सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने जमात बढ्दा स्थानीयमा आक्रोस बढेको हो ।
यसले कपन क्षेत्रमा हरेक दिन लुटपाट, चोरी , सडक दुर्घटना र ग्यांग फाइटका घटना समेत बढ्दै गएका छन् । स्थानीयहरुका अनुसार स्थानीय संरचनामा क्षति गर्ने, टेलिफोनको तार चोर्ने सम्मका गतिविधि बढेका छन् । जगडोलस्थित स्थानिय झण्डा पार्कमा बसेर रातको एक दुई बजे सम्म होहल्ला गर्दा स्थानीयलाई सास्ती बढेको जगडोलका स्थानीय बासिन्दा राम प्रसाद पौडेलले बताए ।
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत साबिक कपनका प्रसिद्ध गुम्बा मन्दिर पार्क वरिपरीका स्थानमा अहिले आन्तरिक पर्यटकको घुँइचो बढेको छ । तर, पर्यटकको भेसमा अवान्छित गतिविधि गर्नेहरु बढेपछि भने स्थानीयमा चिन्ता बढेको हो । बिहान र साँझ वाकिङ गर्ने र सामान्य घुमघाम गर्ने देखि काठमाडौं उपत्यका, चागु , बौद्ध , स्वयम्भू , शिवापुरी , बुढानिलकण्ठ लगायतको मनमोहक दृस्य हेर्न समेत यो स्थान धेरैको रोजाइमा परेको छ ।
एक्लै हिड्न डराउँछन् स्थानीय लागु औषध र मदिरा सेवन गरि भिड जमाएर बस्नेहरुका कारण यो क्षेत्रमा स्थानीयलाई एक्लै हिँड्न समेत डर लाग्ने भएको छ । साझ, बिहान स्थानीयले एक्लै हिड्न पनि मुस्किल भएको पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकल स्ट्न्ट गरेर डाँडोमा उडाउउने देखि झण्डा पार्कको डिलमा बसेर गाँजा तान्नेहरुको जमात बढेको छ । बढ्दो आन्तरिक पर्यटनलाई रचनात्मक ढङ्गबाट सेवा पुर्याउन तथा पर्यटनबाट लाभ लिन यस क्षेत्रमा केही राम्रा रिसोर्ट र रेस्टुरेन्टहरु खुलेको भए पनि स्थानियहरुले भने यस्ता भिडबाट प्रत्यक्षरुपमा कुनै फाईदा लिन नसकेको गुनासो गर्छन् ।
स्वादिस्ट खानपान र बास सहितका यी रिसोर्टहरु अलि टाढाका पर्यटकहरुको गन्तब्य बन्न पुगेको छ । स्थानियले भने रिसोर्ट र रेस्टुरेण्टबाट समेत रोजगारी तथा अन्य कुनै फाईदा लिन सकेका छैनन् । केही सिमित व्यवसायीलाई यो क्षेत्रको आन्तरिक पर्यटनले प्रत्यक्ष फाइदा पुर्याए पनि पर्यटकको भिड भित्र लागु औषध दुर्ब्यसननी बढेपछि स्थानियमा त्रास बढेको झण्डा पार्क छेउमा नै घर भएका एक स्थानिय बताउछन् । उनी भन्छन्, अब त गाँऊका मान्छे त्यो पार्कको बाटो हिंड्न नसकिने भइयो । उनका अनुसार युवा युवती आपत्तिजनक अवस्थामा भेटिनु सामान्यजस्तै भएको छ । रातको दुई बजे सम्म गाँजा तान्नेहरुको झुण्ड पार्कमा बसेको हुन्छ ।
प्रभावहिन गस्ती झण्डापार्कमा पहल बढेपछि गाउँलेहरुले यहाँ पालो पालो गस्ती गर्थे । तर यसले गाउँले कै जिउज्यान असुरक्षित हुन पुगेपछि प्रहरी गुहारिएको थियो । थोरै दरबन्दी भएको प्रहरीको टुकुडी पनि शहिद पार्कको गेटमा यस्ता व्यक्तिबाट आक्रमणमा परिसकेको छ । त्यसपछी प्रहरीले समेत यहाँ गस्ती रोकेको छ । जगडोल झण्डा पार्क असुरक्षित भए पछी स्थानिय क्लब जगडोल युवा क्लब तथा गाँऊलेहरुले संयुक्त रुपमा वडा अध्यक्ष राजु अधिकारीसँग सि सि क्यामरा बत्ती र फोहोर फाल्ने डस्ट बिन माग गरेका थिए ।
तर, वडाबाट यसमा कुनै काम नभएको क्लबका अध्यक्ष संजय पौडेलले बताए । घुम्ने बहानामा आउने यस्ता भिडबाट गाउँ असुरक्षित बन्दै गएपनि प्रशासनले कुनै पहल लिन नसकेको उनको भनाई छ । पार्कमा आउनेहरुसँग पार्किङ शूल्क लिएर व्यवस्थित गर्न सके मात्र पनि स्थानीयले निजी सुरक्षा गार्ड राख्न सक्ने उनी बताउँछन् । यसले रोजगारी पनि सिर्जना हुने उनको भनाई छ । वडाले सहमति दिए मोटरसाईकल र कार पार्किङको शूल्क उठाइने उनले बताए ।
केही समय अगाडी दिलिप थापा मगर लगायत युवा कपन गुम्बा छेउको खाली जग्गामा हुने यस्ता समस्या लिएर वडा कार्यालय तथा कपन चौकीमा समेत पुगेका थिए । हाल उनीहरुको सकृयतामा , सिभिल प्रहरी , गस्ती प्रहरी समेतले निगरानी राखी अनैतिक गतिविधिमा लाग्नेलाई सम्झाउने बुझाउने र अटेर गरेलाई कारबाही समेत हुन थाले पछि केही न्यूनीकरण भएको बताइएको छ । चेतना मुलक पोस्टर , पम्प्लेटको ब्यबस्था गर्ने , युवाहरुलाई गाइड गर्ने, अभिभावकलाई सजक तुल्याउने जस्ता कार्यक्रम स्थानीय सरकारले ल्याउनु पर्नेमा स्थानीयको माग छ ।
भविश्यका कर्णधारको दयालाग्दो दृष्य घुम्न आउनेहरु विभिन्न उमेरका हुन्छन् । तर, यहाँ युवापुस्ताको अवस्था भने दयालाग्दो देखिने गरेको स्थानीयहरु बताउँछन् । लागू पदार्थ सेवन गरि झालझुलमा झुलिरहेका, मादक पदार्थ सेवन गर्दै वोतल फुटाउने , अपशब्द बोल्ने, महिलाहरुलाई जिस्काएर अभद्र व्यबहार गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, झैझगडा र हुलदङ्गा गर्नेहरु अधिकांश युवा उमेरका मानिस छन् । स्थानीय ज्योती के सीले सिर्जनात्मक गतिविधि गर्दै आफ्नो करियर र सामाजिक विकासमा लाग्नु पर्ने युवा यसरी दुर्ब्यसनीमा फस्नु भनेको समाज नै खराब बन्दै जानु भएको बताउँछन् । देखेर नदेखै झै गरि हिड्नु , मेरा बाल बच्चा होइनन अरु कै त हुन भनी बेवास्ता गर्नाले भोलि स्थानीयका युवा युवतीमा समेत यस्तो दुर्ब्यसनीको लत बस्ला भन्ने पिर स्थानीयमा छ ।
वडाको प्रतिक्रिया के छ ? बुढानिलकण्ठ ११ का वडा अध्यक्ष राजु अधिकारीका अनुसार सो क्षेत्रमा उछृङ्खल गतिविधि बढ्दै गएको गुनासो स्थानीयबाट धेरै नै आएको छ । यस्ता गतिविधि रोक्न स्थानीय तथा सुरक्षा निकायसङ्ग औपचारिक छलफल गरि छिट्टै योजना बनाएर काम गर्ने प्रतिवद्धता उनले जनाए । पर्यटन र पर्यावरण विकासको साथै यसको चुनौतीको सामना गर्न वडाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने स्थानीयको मागमा आफु सहमत रहेको उनको भनाई छ ।
सुदर्शन के सी ( शान ) १० श्रावण,काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ११ शंकरे डाँडामा अवस्थित स्थानीय मायादया क्लिनिकको भवन वडालाई हस्तान्तरण गरिएको छ । स्वास्थ क्षेत्रमा निकै लामो इतिहास बोकेको नेपाल बौद्ध महायान केन्द्र गुम्बा द्वारा निर्मित मायादया क्लिनिक भवन आइतबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सोही वडालाई हस्तान्तरण गरिएको हो । तत्कालिन कपन गा. वि.स. अध्यक्ष आत्त्माराम पौडेलको कार्यकाल २०४८ सालमा उनको पहलमा कपन गा. वि.स. परिसरको जग्गामा उक्त गुम्बाद्वारा भवन निर्माण गरि निरन्तर स्वास्थ्य सेवा पुर्याउदै आएको थियो । तत्कालीन अवस्थामा कपन क्षेत्रमा अन्य कुनै स्वास्थ्य केन्द्र, मेडिकल तथा हस्पिटल नहुदा त्यती बेलाका गा.वि.स. अध्यक्ष आत्माराम पौडेलको पहलमा मायादया क्लिनिकले स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान पुर्याएको थियो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले गरेका थिए । कार्यक्रममा नेपाल गुम्बा विकास समितिका अध्यक्ष खेल्पो गेसी युप्टेन जिगडोल, नगर प्रवक्ता नवराज भट्टराई ,कार्यपालिका सदस्य शान्ता ढकाल , नेपाल बौद्ध महायान केन्द्रका उपाध्यक्ष ग्याल्सेन लामा ,वडा सदस्यहरु बिनोद कुमार तामाङ्ग , रत्ना नगर्ची , बिमल लामा, नेपाली कांग्रेस वडा नं ११ सभापति राधेश्याम कार्की , नेकपा एमाले वडा नं ११ का अध्यक्ष कृष्ण भट्टराई ,माया दया क्लिनिकका महासचिव साङ्गे तेन्जिङ्ग शेर्पा लगायतको उपस्थितिमा रहेको थियो।भवन हस्तान्तरण पश्चात् वडा कार्यालयको तर्फबाट माया दया क्लिनिकलाई धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो।
वडालाई हस्तान्तरण गरिएको उक्त भवनमा नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गर्ने जानकारी गराउदै मायादया क्लिनिकले बूढानीलकण्ठ नगरपालिका भित्र मृगौला सम्बन्धि उपचार केन्द्र सन्चालन गरि सेवा पुर्याउने जानकारी दिएको छ ।
इलाम । इलाममा जंगली च्याउ खाएका बाबुछोराको मृत्यु भएको छ । जिल्लाको फाकफोकथुममा जङ्गली च्याउ सेवनबाटबाबु–छोराको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गत साउन ३ मा घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको हो । नेपालमा जंगली च्याउ सेवनबाट वर्षेनी ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
बिर्तामोडस्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीका अवसर पारेर रु. एकाउन्न हजार मंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको छ । मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्चल नेपाली साहित्यकारहरुको प्रतीमा सहित निर्माणाधिन वौद्धिक वाटिकाको निर्माण सहयोगका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले उक्त सहयोग प्रदान गरेको हो । बिर्तामोड झापामा पत्रकारिता तथा साहित्यलाई कर्मथलो बनाई विगत ३ दशक योगदान पुर्याएका स्व. खनालको सडक दुर्घटनामा दिवंगत भएपछि उहाँको संझनामा स्थापना भएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक श्रीमती रुपादेवी खनाल, सचिव डा. पुण्यप्रसाद पौड्याल कोषाध्यक्ष भानुभक्त खनाल, सदस्यहरु गंगाप्रसाद भट्टराई, खड्गप्रसाद दाहाल लगायत मंगल सेवा समितिका अध्यक्ष श्री गोपाल खनाल सहित सचिव नरेन्द्र तिम्सीना, सह-सचिव हरिओम न्यौपाने, फ़ोटो पत्रकार बिजय बराल लगायत उपस्थित थिए । गोपीकृष्ण स्मृति प्रतिष्ठानले गतवर्ष कोटिहोम, सुरुङ्गामा पि.सी.आर. ल्याव स्थापनाका लागि सहयोग प्रदान गरेका थिए । स्व. खनालको स्मृतिग्रन्थ प्रकाशनका लागि प्रेसमा अन्तिम चरणमा रहेको कुरा सचिव मार्फत जानकारी प्राप्त भएको छ । न्युजर्सीको जर्सीसिटी निवासी (स्व.खनालका पुत्र) समाजसेवी मनोज खनालको परिकल्पनामा गठित प्रतिष्ठानले झापाको सेरोफेरोमा सामाजिक कार्य गर्दै आएको छ ।
अमृता के सी ( रोनी ) काठमाडौँ, श्रावण ८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको काठमाडौँ पुर्बी भेगस्थित लायन्स क्लब अफ काठमाडौँ जर्नीले लायन वर्ष २०२१ र २०२२ को लागि पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब जर्नीले बानेश्वरस्थित मोजो ब्यांकेट होटेलमा डिस्ट्रिक्ट गभर्नर रेबत बहादुर कार्कीको प्रमुख आतिथ्यमा आफ्नो पदस्थापन कार्यक्रम सम्पन्न गरेको हो ।क्लबकी संस्थापक अध्यक्ष रोज बिष्टको सभापतित्वमा सम्पन्न पदस्थापन कार्यक्रममा संस्थापक अध्यक्ष बिष्टले आफ्नो क्लबले एक वर्ष भित्र गरेका विभिन्न सामाजिक कामहरुको विवरण पेश गरेकी थीईन ।कार्यक्रममा संस्थापक अध्यक्ष रोज बिष्टले नवनिर्वाचित अध्यक्ष विशाल भण्डारीलाई आगामी कार्यकालको लागि दुबोको माला लगाएर अध्यक्ष पद हस्तान्तरण गरेकी थिईन् ।
पदस्थापन कार्यक्रममा गभर्नर रेवत बहादुर कार्कीले नेपालमा लायन्सको लामो इतिहासको चर्चा गर्दै नयाँ सदस्यहरुलाई सपथ गराउदै नयाँ आगन्तुक सदस्यहरुलाई लायन्स क्लबका निती नियम बारे सम्झाएका थिए ।
कार्यक्रममा पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर अनन्त प्रसाद भेटुवाल, पूर्व गभर्नर टंक बहादुर श्रेष्ठ,फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर कर्म गुरुङ,सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर नरनाथ सापकोटा,डिस्ट्रिक्ट सेक्रेटरी धर्म शरण श्रेष्ठ, डिस्ट्रिक्ट क्याबिनेट टेजरर कोमल शाक्य लगायतका लायन चिफ तथा लायन लिडरहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२२ का डिस्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्किको टिमलाई लायन्स क्लब अफ काठमाडौँ जर्नीको टिमले फूलमालाले भव्य स्वागत तथा सम्मान गरेको थियो।
बाँके । बाँकेमा कपाल काटिसकेपछि खोलामा नुहाउन पसेका तीन किशोरको खेलामा डुबेर ज्यान गएको छ । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन किशोरको ज्यान गएको हो । घटना बुधबारको हो । ज्यान गुमाउनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर छन् । साथिहरु मिलेर कपाल काटेपछि उनीहरु नुहाउन पसेका थिए । पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबर प्रहरीलाई पुगेको थियो । त्यसपछि भएको खोजीमा उनीहरुको शव भेटिएको हो । थप दुई जनालाई भने सकुसल उद्धार गरिएको छ ।
काठमाडौँ, साउन ५ ।काठमाडौं क्षेत्र नं. ३ नेविसंघका क्षेत्रीय सभापति राजेश अधिकारीले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईमा काँग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समयदेखी काँग्रेस राजनितीमा सकृय अधिकारीले गत हप्ता नगरपालिकाको क्रियाशिल भेलामा लिखित दस्तावेज सहित औपचारिक रुपमा सभापतिमा दावि गरेका हुन् ।
२०४६ सालको जनआन्दोलनको दौरान जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका अधिकारी लामो समयदेखि नेपाली काँग्रेसको विद्यार्थी संगठनमा काम गर्दै आएका छन् ।
हाल नेविसंघ काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत रहेका अधिकारी २०५३ सालमा पशुपति बहुमुखी क्याम्पसमा स्ववियूको तदर्थ समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । २०५५ सालमा जोरपाटि गाविसको नेविसंघ सभापतिमा पनि निर्विरोध निर्वाचित भई सफलतापूर्वक कार्यकाल पुरा गरेका थिए । उनी २०६७ सालमा जोरपाटि गा.वि.स.मा नेपाली काँग्रेस गाउँ इकाई समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
युवा विद्यार्थीहरुलाई नेपाली काँग्रेसको बलियो वैचारिक र सांगठनिक शक्ति मान्ने अधिकारीले शहिद आदर्श क्याम्पस भद्रवासमा स्ववियू एकाई कमिटि गठन गरी ने.वि.संघ नेतृत्वलाई विजयी गराएका थिए । नेपाली कांग्रेसका श्रद्धेय नेताहरु जननायक विश्वेश्वरप्रसाद कोईराला, प्रजातन्त्रका पिता लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने गरेको बताउछन् । अधिकारिको नेतृत्वमा छहारी युवा क्लबबाट एसएलसीमा उत्कृष्ठ जोरपाटीका १० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भनें नेविसंघबाट काठमाडौं क्षेत्र नं. ३ का ए प्लस लेभलका ३३ जनालाई २०७४ सालमा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । उनले छहारी युवा क्लबमा १५ वर्ष रहेर पूर्वी भेगीय क्रिकेट टुर्नामेण्ट सफलतापूर्वक सम्पन्न गरेको, सुन्दरीजल देखि छहारी युवा क्लबसम्म शान्तिको कामना सहित खुल्ला दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको, स्थानीय कृष्ण रथ यात्रा लगायतका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेर सामाजिक विकासका कार्यमा आफूलाई सँधैं अगाडी राख्दै आएकोले आफ्ना कामहरु स्थानीय तथा राजनीतिक क्षेत्रका अग्रज, साथिभाई, क्रियाशिल सबैले देखेकाले आफूलाई मुल्यांकन गरि इकाई सभापतिका लागि योग्य ठहर्याउने विश्वास व्यक्त गरे ।
अमृता के सी ( रोनी ) काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी भएका थिए।
अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो। यो खोप एक डोजमात्र लगाए पुग्छ।उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसवाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान शिवलाई हारगुहार गरे । भगवान शिवले विषवाट बचाउन उक्त कालकुट विष आफैले निलेपछि घाँटिमा अडकियो । विषको जलनलाई शान्त पार्न शितलता खोज्दै हिमालय क्षेत्र गोसाईकुण्ड तर्फ आउँदा रसुवाको धैवङको कालिकामाई मन्दिरमा आई विश्राम लिने क्रममा भगवान शिवले शिरमा वोकेर हिड्ने महाकाली देवीलाई स्थापना गरी गोसाईकुण्ड गएको जनविश्वास रहेको छ।
पछि सोही स्थानमा कालिका मन्दिर निर्माण गरि पूजा गर्न थाले । त्यस क्षेत्रलाई कालिका स्थान भनि नामाकरण गरियो भन्ने भनाई छ ।शिव भगवान बिषले आकुलव्याकुल भएर हालको गोसाईकुण्डमा रहेको ठाउँमा गई पानीको अभावमा काकाकुल भईरहँदा त्रिशूलले ढुङ्गामा हानेपछि पानी निस्कियो । त्यसलाई नै त्रिशूल धारा भनि नामाकरण गरियो । सोही त्रिशुलधाराबाट वगेर बनेको पोखरीमा भगवान शिव डुवुल्की मारेर बिराजमान हुनुभयो । भगवानको पनि भगवान् शिवको बासस्थानको रूपमा रहेको यस कुण्डमा नुहाएमा पापवाट मुक्ति मिल्ने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
यस स्थानमा आजभोली बाह्रै महिना भक्तजनहरू आउने गरेतापनि विषेश गरी जनैपूणिर्मा र दशहरामा ठुलो मेला लाग्दछ ।तर गत वर्षदेखि भने कोभिडका कारण मानिसहरू आवतजावत गरेका छैनन् । मेला लागेको बेला नेपालका बिभिन्न जिल्ला लगायत, भारतबाट समेत लाखौको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन। कुण्ड मार्गका ठुला ठुला ढुंङ्गाहरुमा बिभिन्न आकृतिहरु देखिन्छ। पदमार्गमा सरस्वती कुण्ड, भैरबकुण्डपछि गोसाईकुण्ड पर्दछ।भैरब कुण्डमा भने भक्तजनहरु दर्शन गर्न, जान नहुने मान्यता छ। टाढाबाट हेर्दा कालो देखिने यो कुण्ड सायद निक्कै गहिरो भएको कारण कालो देखिएको हुनुपर्छ। तर यहाँ आजसम्म कोही पनि जाने गरेको पांईदैन। यहाँ रहेका कुण्डहरु मध्ये गोसाईकुण्ड नै सबैभन्दा ठुलो कुण्ड हो।
यसरी गोसाई कुण्ड र कालिकास्थानको महिमा युगौदेखि एकआपसमा जोडिदै आएको छ। धार्मिक मान्यता अनुसार गोसाई कुण्ड यात्रामा जाने क्रममा बाटैमा पर्ने कालिकामाईको दर्शन गरी गोसाईकुण्ड (गोसाईनाथ) जाँदा यात्रा सहज हुने र भगवान खुसी हुने आस्था जनमानसमा रही आएको छ
धार्मिक आस्थाको केन्द्र गोसाईकुण्ड समुन्द्र सतहदेखि ४३८०मिटर अर्थात १४ हजार फिटको उचाईमा अवस्थित छ भने कुण्डको लम्बाइ र चौडाई करिव ३७० मिटर रहेको छ । गोसाईकुण्ड नेपालको दोश्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ। धेरैजसो स्वदेशी तथा बिदेशी विद्यार्थीहरु यस क्षेत्रमा अध्ययन तथा अन्बेषणका लागि पुग्ने गर्दछन। आफुलाई बाघको डमरु भनि अंग्रेजहरुलाई थरथर बनाउने नेपालका राष्ट्रिय बिभुति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईकुण्डमै आएर गरेका थिए। त्यसैले गोसाईकुण्डमा अहिले राष्ट्रिय बिभुति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको शालिक बनाईएको छ। यसै कारण स्वदेशी तथा बिदेशी पर्यटकहरु धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससंग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन। यस क्षेत्रमा तामाङ्ग समुदायको बसोबास रहेको छ। तसर्थ तामाङ्ग समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ्ग संस्कृति अनुसार गोसाईकुण्ड मेलामा बिभिन्न लामा, झाँक्री नांच तथा तामाङ्ग सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।
तर यस स्थानमा गोले थरका मानिसहरु भने जादैनन किनभने पहिले गाले थर भएका दुई जना झाँक्रीका वुढावुढी गोसाईकुण्ड गएछन । वाटोमा पर्ने भैरव कुण्ड पुगेपछि बुढाले; “म कुण्डमा पस्छु तैले ठ्याङ्ग्रो वजाएर बस् ।जब म बाहिर निस्कन्छु तैले अछेता छर्किनु” भनेछन । बुढीले हुन्छ भनेपछि झाँक्री कुण्डमा पसेछ तर नागले वेरिएको अवस्थामा बाहिर निस्केपछि वुढी आत्तिएर बजाईरहेको ठ्याङग्रो वजाउन छोडेर अछेता छर्केछिन। त्यसपछि झाक्रिलाई सर्षले कुण्डमा नै तानेको भएर गोले थरका मानिसहरू भने गोसाइकुण्ड जादैनन् ।
यस कुण्डप्रति हिन्दूहरूको मात्र नभई बौद्ध धर्मावलम्बीले पनि व्यापक रूपमा आस्था राख्दछन् । पुरोहित टंकप्रसाद ढकालका अनुसार गोसाईकुण्डसंगै कालिका माईको समेत महिमा रहेकोले जनैपुर्मिमामा कुण्डको मेला लाग्दा गोसाईकुण्ड गएर फर्केर आएकाहरूका लागि कालिकामा दही खुवाउने चलन छ ।
अमृता के सी ( रोनी ) काठमाडौँ, साउन ३ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा जिल्ला क्षेत्र र वडा स्तरका विभिन्न पदहरुका आकांछीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसै क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित ३ नम्बर क्षेत्र तरुण दलका कोषाध्यक्ष जय राम बिष्टले ईकाइ सभापतिमा आफ्नो दाबेदारी घोषणा गरेका छन् ।लामो समय देखी लायन्स क्लब ईन्टरनेशनल मार्फत समाजसेवामा सक्रिय साथै केही वर्ष देखी सुन्ताखान स्थित स्थानिय टोल सुधारको लागि लगातार खटिदै आएका बिष्टले वडा नम्बर ३ को ईकाई सभापतिमा दाबी गरेका हुन्।
पार्टीमा अब समयको माग अनुसार बिस्तारै बिस्तारै युवाको नेत्रित्व हुनु पर्ने र ईकाइ भित्र पनि थुप्रै साथी भाईको अनुरोध र दबाद पछी ईकाइ सभापति भएर पार्टीको लागि काम गर्ने निर्णयमा पुगेको बिष्टले विश्व न्युजलाई बताए । बिष्ट स्थानिय देबी बालसुधार माध्यमिक विधालयको व्यवस्थापन समितीको अध्यक्ष हुन् भने स्थानिय क्लब तथा मन्दिर उपभोक्ता समितीहरुमा नेतृत्व गर्दै आएका छन् ।
बुढानीलकण्ठ ११ पैयाटार हाईटमा रहेको नागबेली पाखामा हिजो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । करिब सात रोपनीको सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसलाई आकर्षक पार्कको रुपमा विकास गर्दै लैजाने उद्देश्यका साथ स्थानीय पैयाटार आकाशदेवी नेवा समुहको संयोजनमा वृक्षारोपण गरेको हो । लाइन्स क्लब अफ काठमाण्डौ नोभेला, लाइन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुच, लाइन्स क्लब अफ काठमाण्डौ नमोबुद्द लयायतका संस्थाहरु समेतको सहभागितामा वृक्षारोपण सम्पन्न भएको हो ।
नागबेली पाखामा बिभिन्न संस्थाहरुले दिएको अम्बा, हरो बर्रो, धुपि, जाकृन्डा, कपुर, तेजपत्ता, काइयो, कल्की लगायतका १५० बिरुवा लगाईएको थियो भने नेवा समूह आँफैले संकलन गरेका बिभिन्न प्रजातिका २०० फलफुलका बिरुवाहरु लगाईएको थियो । लाइन्स क्लब, स्थानीय समाजसेवी, संघ संस्थाका पदाधिकारी एवम् सदस्य तथा बुढानिलकण्ठ वडा नम्बर ११ का वडा अध्यक्ष र सदस्यहरुको उपस्थितिमा बिरुवाहरु रोपिएको थियो ।
लाइन्स क्लब अफ नोभेला कि गोमा दाहालले पैयाटार आकाश देवी नेवा समूह र स्थानीयको जागरुकता र उद्देश्यको प्रशंसा गर्दै आगामी दिनमा लाइन्स क्लबका तर्फबाट अन्य सहयोगको निरन्तरता दिने बताउनु भयो । बुढानीलकनण्ठ नगरपालिका वडा न. ११ का वडा अध्यक्ष राजु अधिकारीले सो जग्गा संरक्षण गरी पार्क निर्माण कार्यको लागि नापजाँच तथा सिमाङ्कन, तारबार र गुरु योजना बनाउन वडाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उक्त नेवा समुहका अध्यक्ष ओम श्रेष्ठले स्थानीयलँग सर सल्लाह गर्दै जग्गा संरक्षण, रोपिएका बिरुवाहरुको संरक्षण गर्दै बहु उपयोगी पार्क बनाउने प्रतिबद्धता गरे ।
अमृता के सी ( रोनी ) काठमाडौँ,साउन २ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ।महाधिवेसन नजिकिदै गर्दा पार्टी भित्रका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि तिब्र रुपमा बढेको छ। उम्मेद्वारी घोषणा कै क्रममा स्थानिय नेता श्रीराम चालिसे (राज) ले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।रामहिटी स्थित क्लब मण्डलामा शुक्रबार एक कार्यक्रम बिच नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नम्बर ३ को प्रदेश (क) को सभापतिको लागी उम्मेद्वारी दिएको घोषणा गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वरको वडा नं ५ र ९ समेटिएर बनेको प्रदेश क्षेत्रमा अनुभवीलाई सम्मान ,युवाहरुलाई काम र सबैलाई संगठनमा अवसरका लागि प्रदेश क्षेत्रीय सभापतिमा दावी गरेका चालिसे विभिन्न सामाजिक संघ संस्था र अभियानहरुमा सक्रिय रहदै आएका छन् ।
आफ्नो क्षेत्रका युवाहरु माझ चर्चित विभिन्न सामाजिक क्रियाकलापमा अग्रपंक्तिमा आएका चालिसेले गुट परम्परा मास्न र पार्टीको युवा शक्तिलाई एकजुट बनाइ सबैलाई मिलाएर काठमाडौँ क्षेत्र नं ३ (क ) मा सुदृढ नेपाली काँग्रेस निर्माण गर्नको लागि उम्मेदवारी दिएको बताएका छन् ।
राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला उधमशिलता, वित्तिय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि बाग्मति प्रदेश, नगरपालिका र गाउँपालिकाहरुबाट गरी १९ जना उद्यमी महिलाहरु पुरस्कृत हुनु भएको छ । यसै गरी ललितपूर महानगरपालिकाबाट उत्कृष्ट महिला उधमीमा छनौट भई समाज विकास मन्त्रालय, बागमति प्रदेशबाट २ लाख नगद पुरस्कार पाउनु भएका निसु प्रडक्सन प्रालिका प्रवन्ध निर्देशक, नेपाल इन्डिपेनडेन्ट फिल्मसका संस्थापक अध्यक्ष र यल अन्तराष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सवका निर्देशक निशा श्रेष्ठका अनुसार राष्ट्रपति महिला सशक्तिकरण परियोजनाले महिला उद्यमीलाई हौसला मिल्ने र उद्यमशिलता वृद्धि हुने बताएकी छिन् । प्रदेशबाट मात्र नभई यस प्रकारको कार्यक्रम नगरपालिका र वडा स्तरबाट पनि हुनु पर्ने उनी बताऊछिन् । जस्ले गर्दा उद्यमी महिलाहरुलाई अघि बढ्न हौसला मिल्ने छ ।
निशा श्रेष्ठले यो पुरस्कार भिडियो र डिजिटल डिजाइन एवं सम्पादन शिर्षकमा पाएका हुन् । भिडियो र डिजिटल डिजाइन एवं सम्पादन महिलाको संख्यात्मक वृद्धिका लागि र अहिलेको स्मार्ट प्रविधिलाई बुझ्न पनि यस्ता खालका परियोजनाको आवश्यक हुने तथा भिडियो र डिजिटल डिजाइन एवं सम्पादनमा महिलालाई प्रोत्सहान स्वरुप आउने यस्ता परियोजनाले काम गर्न थप मद्दत गरेको छ, उनी बताउँछिन्। उनका अनुसार सरकारले महिलाका विषयमा बहस पैरबी गर्न र सबै किसिमका उद्यमलाई अगाडि बढाऊन प्रविधि राम्रो माध्यायम भएकाले भिडियो र डिजिटल डिजाइन एवं सम्पादन क्षेत्रलाई बढवा दिनुपर्दछ ।।