Category: स्थानीय

  • रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

    रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

    काठमाडौं । रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना)जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

    यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन । यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताए । त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।

    त्यसैगरी यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय पनि गरिएको भूसालले जानकारी दिए । सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

    कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको भूसालले बताए ।

    भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । अहिलेसम्म दुवै बसको अवस्था पत्ता लागेको छैन । बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि तीन जना पौडिएर निस्किएका छन् ।

  • पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ । चितवनमा अहिले पानी परिरहेको छ ।

  • पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

    पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

    काठमाडौं । मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।

    पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा परी उहाँका छोरा भीमको मृत्यु भएको हो । भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । नेपाल प्रहरी र स्थानीयले बुधवार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन् । मनबहादुर भने गए राति घरमा नरहेका कारण जोगिएका छन् ।

  • कैलालीमा दुई पुरुष मृत फेला

    कैलालीमा दुई पुरुष मृत फेला

    काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेका छन् भने अर्का एकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेकोमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

    यसैगरी, नाम, थर, वतन नखुलेको अन्दाजी ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर माथि अचेत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    गोरखापत्रको सहयोगमा

  • मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

    काठमाडौं । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
    गलकोट नगरपालिका १ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

    उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् ।

    सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

  • ताप्लेजुङमा भूकम्पको धक्का

    ताप्लेजुङमा भूकम्पको धक्का

    काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

  • वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो ।

    वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

    गृहसचिव एकनाराण अर्यालले २१ असारमा लेखेको पत्रसहित संघीय मामिला मन्त्रालयका सचिव मुकुन्दप्रपाद निरौलाले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई यस्तो निर्देशन दिएका हुन् । स्थानीय तहमा आइपर्नसक्ने विपद व्यवस्थापन र पूर्वतयारीको काममा जुट्नुपर्ने भएकाले यो समयमा कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको हो ।

  • पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

    पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

    काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    पाँचखाल नगरपालिका-८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । सोमबार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउने काम सुरु हुँदैछ ।

  • कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

    कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

    काठमाडौं । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् । सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ को गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

    डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जानकारी दिए । उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् । आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।

  • विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

    विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले गरेको कामको सराहना गरेको छ । पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक पूर्वतयारी एवम् हालका पहलहरुको सराहना गरेका हुन् ।

    ‘केही दिनदेखि देशका विभिन्न भागमा लगातार परिरहेको अविरल वर्षाको प्रभावका कारण आएको बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुनुका साथै आम नागरिकले कष्टकर परिस्थितिको सामना गर्न परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’तर, सबै प्रकोप प्रभावित स्थानहरूमा सरकारी संयन्त्रको पहलकदमी अभाव हुनसक्नेतर्फ रास्वपा सचेत रही सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

    राष्ट्रिय स्वतन्त्र पार्टी पंक्तिका विभिन्न तहका समिति, संयन्त्र र सदस्यहरुले आफू सुरक्षा समेतलाई ध्यान दिई सर्तकतापूर्वक आ–आफ्नो स्थानीय क्षेत्रमा बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण विपद् पीडित तथा प्रभावितहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न यथा सम्भव आफू खटेर अरूलाई पनि खट्न र उद्धार कार्यमा संलग्न हुन प्रोत्साहन गर्दै सहयोग गरिदिन पनि विज्ञप्तिमा अपील गरिएको छ ।

  • मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

    मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

    काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३र३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २र२ तथा काठमाडौं र उदयपुरमा १र१ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो । त्यसबाट १४७ परिवार प्रभावित भएका छन् ।

    घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ । तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ । सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार देखिने पूर्वानुमान छ ।

  • सप्तकोशीका सबै ढोका खोलियो

    सप्तकोशीका सबै ढोका खोलियो

    काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ ।

    आज रातिबाट पानीको बहाव झन् बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतबार बिहान ९ बजेदेखि खोलिएको थियो । सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग विराटनगरका सम्पर्क भूआर्जन अधिकृत प्रमोद पौडेलले बताए ।


    आज बिहान १० बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार १५० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो । सन २०२० मा ३ लाख ३४ हजार नौसय, सन् २०२१ मा २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना विराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयले जनाएको छ ।

    पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च बन्दैगएको छ । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पार्दासम्म कुनै क्षति गरेको छैन । पूर्वी तटबन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धनजिक आएको छ ।

  • ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

    ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

    काठमाडौं । ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    सुमन तामाङले सञ्चालन गरेको उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए । आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा निरौला घोप्टो अवस्थामा सुतेको देखिएको थियो । तर बोलाउँदा पनि नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् ।

    उनी सुतेको कोठामा लागु औषध एम्पुलहरु समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

  • बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

    बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो दुई दिनमा ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार र आइतबार विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।

    नेपाल प्रहरीका अनुसार ज्यान गुमाउनेमा स्याङ्जामा तीन, पर्वत र काभ्रेमा दुई–दुई, पाल्पा, तनहुँ, उदयपुर र काठमाण्डौमा एक–एक जना रहेका छन् । त्यस्तै तनहुँमा तीन, दाङमा दुई, दोलखा, नवलपरासी र स्याङजामा एक–एक जना बेपत्ता छन् । घाइते हुनेमा स्याङजामा पाँच, तनहुँमा चार, ओखलढुङ्गामा दुई र गुल्मीमा एक जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

  • महाकालीमा पानी सतह बढ्यो, शारदा ब्यारेजमा आवागमन रोकियो

    महाकालीमा पानी सतह बढ्यो, शारदा ब्यारेजमा आवागमन रोकियो

    काठमाडौं । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएसँगै शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमन रोकिएको छ । महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेको छ । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाइन्छ ।

  • वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

    वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षा र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सडक अवरुद्ध भएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

    दार्चुलाको मालिकार्जुन नगरपालिका, २ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका,६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका, १३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

    अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

    आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर(जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दार्चुलाको मार्मा गाउँपालिका(२ का १० परिवार पहिरोको जोखिममा परेका कारण उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

    अछामको चौरपाटी गाउँपालिका(६ का ९ परिवार र मंगलसेन नगरपालिका ८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत थापाले थलारा गाउँपालिकाको झ्याँबगर भन्ने ठाउँमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताए । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।

  • नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

    नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । नारायणी नदीमा बाढीले बसती क्षेत्रमा डुबान थालेको छ । नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लर भत्काउँदा पुल बगेकोजिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटक घुम्न जाने गर्दथे । यहाँ बीपी कोइरालाको शालिकसमेत राखिएको छ ।

    नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका वडा न.. १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । भरतपुर महानगरपालिका ३ मा रहेको ‘हाम्रो घर’ नामक संस्थामा आश्रित २४ जना बालबालिका र दुई जना कामदार गरी २६ जनालाई एग्रोभेटको भवनमा सारिएको छ ।

    भरतपुर १७ गोब्रेनीमा नारायणी नदीले घर डुबाउने अवस्था आएपछि १७ घर धुरीका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई आफन्तहरुको घरमा र कसैलाई आश्रय मागेर सारिएको हो । घरका सामानहरुलाईसमेत डुङ्गाको सहायताबाट सार्ने काम भैरहेको छ ।

    भरतपुर महानगरपालिका ३ बालकुमारी नर्सिङ कलेजले भोगचलन गर्दै आएको भवनमा बस्ने ३ पुरुष र १ महिलालाई नजिकै रहेका आफन्तहरुको जिम्मा लगाइएको छ । भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र त्यहाँ रहेका १० घरका २८ जनालाई मारवाडी सेवा समाजको घरमा सारिएको छ ।

  • काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

    काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

    काठमाडौं । काभ्रेको रोशी गाउॅपालिका- ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

    सोही खोलाको लेदोसहितको बाढीले बीपी राजमार्गमा राखिएको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार रोशी गाउँपालिकाको सहयोगमा सड़क खुलाउने प्रयास भइरहेको छ ।

  • स्याङ्जामा पहिरो, २ जनाको मृत्यु

    स्याङ्जामा पहिरो, २ जनाको मृत्यु

    काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा ६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

    उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए । पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ ।

  • काठमाडौंमा बाढी आतंक, प्रहरीको गस्ती

    काठमाडौंमा बाढी आतंक, प्रहरीको गस्ती

    काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ’,उनले भने ।

    उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।


    उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।’ वर्षाका कारण शनिबार देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

    काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

    काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार डुबानमा परेका छन् । गत रातीबाट परेको बाढीले भक्तपुर, ललितपुर र काठमाडौंका धेरैजसो क्षेत्र जलमग्न भएका छन् । हनुमन्ते खोलाले भक्तपुरमा डुबान ल्याएको छ । नागार्जुनमा पहिरो जाँदा एक जनाको निधन भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका ३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको हो ।


    शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको हो । किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

    वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् । मध्यपुर थिमी नगरपालिका २ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।


    मध्यपुर थिमी नगरपालिका(३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका(४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ । वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।

  • अविरल वर्षाका कारण भक्तपुर डुबानमा

    अविरल वर्षाका कारण भक्तपुर डुबानमा

    काठमाडौं । भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।

    भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ। सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।

    वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन्।

    जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताइन्। कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताइन्। बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

    भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ। भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए।

    भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन्। चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ।

    rss

  • जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

    जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

    काठमाडौं । जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठुलो खोलामा शुत्रबार बेलुका पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जना कामदारको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

    त्यस्तै घाइते हुनेमा पातारासी गाउँपालिका(१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी रहेको डिएसपी कामतीले बताए । घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरू अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • अविरल वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

    अविरल वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अविरल वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

    पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

  • रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

    रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

    काठमाडौं । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६ बजेतिर माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी रहेका छन्। सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको छ। घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ। सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएकी छिन्। उनी जिप दुर्घटना हुँदै गर्दा हाम फालेर जोगिन सफल भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार जिप गुडिरहेको समयमा अचानक पहिरो खस्न थालेपछि चालकले गाडी पछाडि हटाएका थिए। गाडी स्टार्ट भइरहेकै अवस्थामा ओर्लिएर ओट राख्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

  • रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

    रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु

    काठमाडौं । रोल्पाको माडी गाउँपालिका ३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकामा २ जनाको मृत्युको घोषणा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । जिपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए । उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।

  • गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु

    गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।

    पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

  • स्याङ्जामा पहिरोमा परी आमाछोरीको मृत्यु

    स्याङ्जामा पहिरोमा परी आमाछोरीको मृत्यु

    काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

  • बागलुङमा पहिरो, दम्पत्ति पुरिए

    बागलुङमा पहिरो, दम्पत्ति पुरिए

    काठमाडौं । बागलुङको गलकोट नगरपालिका ८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

    अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ(कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

  • काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटनामा परेको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

    मृत्यु हुनेमा नागर्जुन नगरपालिका(६ खरिबोटका अन्दाजी ४०–५० वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिसकिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।