काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
२५ घरमा पूर्ण क्षति भएको छ । १० घरमा पहिरोले आंशिक क्षति पुर्याएको छ । पहिरोले संखुवासभामा एक, ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । पहिरोबाट मात्रै ६९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । चट्याङले १७ लाख ७६ हजार रुपैयाँको क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ भने सप्तरीमा दुई जना घाइते भएका छन् ।
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ ।
घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ । त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।
काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो ।
हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै पहिरोमा परी पोखरा(२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
‘अवस्था सिरियस रहेको छ । अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घरमा पूर्ण रूपमा क्षति भएको छ।’
काठमाडौं । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो ।
माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए । घाइतेको उद्धार भइसकेको उपाध्यक्ष सिंहले जानकारी दिए ।
काठमाडौं । डोल्पामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी कक्षा ५ मा अध्ययनरत १२ वर्षीयाकी रविना विष्ट र कक्षा २ मा अध्ययनरत १० वर्षीयाकी सोनी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । शनिबार बिहान फोक्सुन्डो खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । भारतीय सञ्चारमध्यमका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ ।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ । सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाको एक हजार ३७८ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ ।
हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ । स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ । जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताएका छन् ।
तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसङ्ख्यालाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उनीहरूले बताएका छन् । गत महिना पश्चिम बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको बताइएको छ । रासस
काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।
काठमाडौं । देशको पूर्वी भू–भागमा मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। जसका कारण कोशी प्रदेशका तराईका भूभागमा भारी वर्षा भइरहेकाले जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनेको छ। पछिल्लो २४ घन्टामा मोरङको लेटाङमा १८३ मिलिमिट वर्षा भएको छ। त्यस्तै झापाको कन्काइमा १४२।६ र मैनाचुलीमा १३१.८ मिलिमिटर पानी परेको छ। यता सुनसरीको धरानमा पनि भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १३९.४ मिलिमिटर वर्षा भएको छ।
अहिले कोशी, मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा वर्षात् भइरहेको छ। कोशीमा मनसुनी वायुको प्रभाव हो भने काठमाडौं उपत्यका आसपासचाहिँ पोखरामा विकास भएको प्रणाली सक्रिय भएको महाशाखाले जनाएको छ । पोखरामा सोमबार साँझदेखि नै प्रणाली बनेको थियो। यो प्रणाली केहीबेर अझै सक्रिय रहनेछ। पछिल्लो तीन घन्टामा सिन्धुपाल्चोकको ढुंगेमा ३७ मिलिमिटर वर्षा भएको छ। काठमाडौं उपत्यकामा भने मध्यम प्रकृतिको वर्षा भइरहेको छ।
काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना ३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।
पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् । पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।
काठमाडौं । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए ।
बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।
काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीमा नाला बनाउनको लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ को फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । कावासोती थानादेखि पूर्वतर्फ लगिएको ढलको नाला एक महिनाअघिदेखि खन्न शुरु गरिएको हो ।
थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न फटाफट काम नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए पनि मेयरले बेवास्ता गरेको स्थानीयबासीको आरोप छ । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् ।
काठमाडौं । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । ‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ उनले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’ पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।
काठमाडौं । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ९छविलाल०, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए ।
काठमाडौं । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका ५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका ५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ ३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो ।
निरु लिम्बु घाइते छिन् । उनको उपचार भइरहेको छ । लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धार्मिकस्थल गोसाईंकुण्डमा जेठ २५ गतेबाट गंगादशहरा मेला लाग्ने भएको छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, “जोडी मिलोस्” भनेर भाकल गर्दा जोडी मिल्ने धार्मिक किंवदन्ति रहेको छ।
जीवनमा सके ३ पटक, नसके १ पटक भएपनि पुग्नै पर्ने ठाउँ गोसाईंकुण्ड ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । गोसाईंकुण्ड चौंथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यस वरपर १ सय ८ वटा कुण्डहरू रहेका छन् । जसमध्ये पार्वतीकुण्ड पनि हो । मुख्य गोसाईंकुण्ड चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक बनाइदिएको छ । यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले मन तानिन्छ । गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ ।यस कुण्डलाई सन २००७ सेम्टेम्वरमा रामसार सूचिमा समावेश गरिएको छ ।
जेठ २५ गतेबाट १० दिनसम्म लाग्ने गंगादशहरा मेला भर्न देश विदेशबाट मानिसहरूको विशेष भिड लाग्छ । बर्सेनि दुई चोटी दशहरा मेला र जनैपुर्निमाको वेला मेला लाग्छ तर ९ वर्ष यता १२ महिना नै मानिसहरू आवतजावत गरिरहन्छन् । कोही हाइकिङका लागि, कोही तामाङ संस्कृति हेर्न कोही धार्मिक हिसाबले जोडी मिलोस् सन्तान प्राप्त होस भन्नका लागि कोही सुख शान्तिका लागि कामनाका लागि आउने गर्छन् ।
भगवान् शिवले कालकुट विष सेवन गरेर सम्पूर्ण प्राणी जगतलाई बचाउन आफुले खाएर घाँटीमा अडकिएपछि पानीको खोजीमा हिडिरहदा सारा ब्रह्माण्ड नै घुम्दा कहीँ शुद्ध र चोखो ठाउँ नभेटेपछि हिडदै जाँदा बेत्रावतीमा आइपुगेर पानी खान लाग्दा वेतको लौरो छोडिएकोले बेत्रावती भएको भन्ने गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डियम बताउँछन् । त्यसपछि शिव भगवान् उकालो लागेर गोसाईंकुण्ड पुगेर समाहित भएको हो भन्ने भनाई रहेको छ ।
गोसाईंकुण्ड नेपालको दोस्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थीहरू यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि पुग्ने गर्दछन् । आफूलाई बाघको डमरु भनि अङ्ग्रेजहरूलाई थरथर बनाउने नेपालका राष्ट्रिय विभूति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईंकुण्ड मै आएर गरेका थिए । त्यसैले गोसाईंकुण्डमा अहिले राष्ट्रिय विभूति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको सालिक बनाइएको छ। यसै कारण स्वदेशी तथा विदेशी पर्यटकहरू धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससँग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन्।
यस क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ । तसर्थ तामाङ समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ संस्कृति अनुसार गोसाईंकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।
• कसरी पुग्ने ?
काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानव शास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाईंकुण्ड जाने विद्यार्थी, शिक्षक र अन्वेषकहरू सुन्दरीजल ९१८९५ मिटरबाट यात्रा आरम्भ गर्छन् । हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटोको चिप्लो बाटो पार गर्नुपर्छ, अनि आउँछ, तामाङ बस्ति, मूल खर्क। गुराँस र दियार सल्लाका वनमा वैशाख(जेठमा गुराँससँग प्रीति लगाउँदै उक्लिएपछि आइपुग्छ, बोड्लाङ भन्ज्याङ। यो भन्ज्याङ काटेर अझै उकालो लागेपछि पहिलो बास चिसापानी पुगिन्छ।
पूर्वबाट आउने जाने मुख्य मार्ग पाटी भन्ज्याङ । यहाँबाट ठाडै उकालो हिँडेपछि साँझ बास बस्न कुटुम्साङ पुगिन्छ। कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र साँझ थाडेपाटी पुगिन्छ।
गोसाईंकुण्ड क्षेत्रको पहिलो कुण्ड, सूर्यकुण्ड यहाँबाट केही तल झरेपछि आइपुग्छ, गोसाईंकुण्ड । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाईंकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमिनमा गाडेको त्रिशूलबाट तीन वटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ। गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला गङ्गा दशहरा र जनपूर्णिमामा मेला लाग्छ।
गोसाईंकुण्ड स्नान गरेर तल रुझ्दै गर्दा भैरव नाग कुण्ड देखिन्छ। वैशाख जेठमा जाँदा चोल्याङ र तेन्जे डाँडाको काखैकाख हिँड्दा सेतो गुराँसका फूलहरू देखिन्छ। काठमाडौँबाट माछापोखरी बालाजु कंलकि,गल्छी देविघाट, वट्टार, त्रिशूली, बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै गोसाईंकुण्ड पुगिन्छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको मज्जा पनि लिन सकिन्छ। धुन्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ। कार्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए बाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ। तर यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ। चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ। धुन्चेबाट गाडी र बेत्रावतीतिरको पैदल यात्रा दुई विकल्प छन् ।
काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका ।छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो ।
शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका जीवन बुढाको उपचार जारी छ । गत वर्ष पनि यार्सागुम्बा टिप्न गएका चार जनाको मृत्यु भएको थियो । गत वर्ष तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन खुला गरेको छ । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सागुम्बा संकलन हुने गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ । महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ । ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।
काठमाडौं । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएको जानकारी आएको बताए ।
सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको उनले जानकारी दिए । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न गुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुँदैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । श्रम मन्त्री डोलप्रसाद अर्यालका अनुसार हरेक प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजबाट शुरु हुँदैछ ।
जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने छ । कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।
श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ । मेलाका लागि मङ्गलवारदेखि दर्ता खुला गरिएको छ । श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल लगायतका स्टल रहनेछन् ।
मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । श्रममन्त्री अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको पनि बताउँछन् । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।
काठमाडौं । सुर्खेतमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गतराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे आएको थियो । दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको डिएसपी विश्वकर्मालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकको सनाखत भएको छैन । प्रहरीले दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको छ। घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८–२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका ९ पाखाका नरेन्द्र विष्ट छन्।
काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए । दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् । रासस
काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं। २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए । दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । जनकपुरमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा शनिबार बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र आदित्य महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
उनका अनुसार गर्मी छल्न पोखरीमा नुहाउन हिँडेका दुवै जना केही बेरमै डुबेका थिए। स्थानीयले दुवैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउँदा बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएको थियो ।
तर चिकित्सकले मृत घोषणा गरे । तादीखोलामा पौडी खेल्ने गएका छजना युवामध्ये मृत्यु भएका दुई युवकलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।
काठमाडौं । इलामको माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८–९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा लगिएको थियो ।
त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सँगै पौडी खेल्न गएका अर्का बालक किस्मनलाई भने खोजी गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको प्रहरीले डिएसपी प्रकाश जबेगूले बताए ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नु नपर्ने बताएका छन्। झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन्।
‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि, त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर,,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो ।’
उनले मन्त्री, ‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भनेर प्रतिप्रश्न गर्दै एक जना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए। ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने, डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार भए, सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छरु,’ उनले भने।
उनले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको हो? भन्दै प्रतिप्रश्न पनि गरे। ‘के लेखेको आरोप उनीमाथि लागेको छ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उनले भने।
देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उनको भनाइ थियो। नागरिकता सम्बन्धी अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको छ। मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ। मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार तीन दिनको म्याद थप गरी धनुषा प्रहरीले हिरासतमा राखेको छ।
काठमाडौं । काठमाडौंको थलीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जाएका छन् । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ ।
घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।
काठमाडौं । तनहुँको व्यास नगरपालिका(३, दमौलीमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।
आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । रायका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तनहुँका सांसद स्वर्णीम वाग्लेले आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्दछु।’
काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी भएको थियो । आगलागीमा सञ्जय गिरी परिवारका सदस्य घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिएका छन् । उनको ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा मृत्यु भएको थियो । आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाकाको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी छ । उनको अवस्था सामान्य छ । उनलाई नर्मल वार्डमा सारिएको ललितपुर प्रहरीले जनाएको छ ।