Category: स्थानीय

  • हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

    हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

    काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी दिएको छ । सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिए । उनीहरुमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् ।

    फोहर संकलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ । सगरमाथाको आठ हजार मिटर उचाइसम्म पुगेर फोहर संकलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी अदित्य कार्कीले बताए । यही चैत २९ गतेदेखि सुरु हुने फोहर संकलन अभियान ५० दिनसम्म सञ्चालन हुने छ । सो अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुने छ ।

    खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा सङ्कलित कुहिने फोहर नाम्चेमै र नकुहिने फोहर काठमाडौँ ल्याएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ । यस्तै मानव शव सगरमाथाको दोस्रो शिविरबाट हेलिकप्टरमा आधार शिविर ल्याइने र त्यहाँबाट लुक्ला लगेर शव पहिचान गरेर सम्बन्धितको जिम्मा लगाइने छ । विदेशीको शव भए गृह मन्त्रालयमार्फत प्रक्रिया पुर्‍याएर पठाउने व्यवस्था मिलाइने सेनाले जनाएको छ ।

    सन् २०२३ मा सफाइ हिमाल अभियानअन्तर्गत सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइ गरेको थियो । ती हिमालबाट ३५ टन फोहर संकलन गरिएको थियो । सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा नेपाली सेनाले विभिन्न हिमालबाट झण्डै ११ टन फोहर संकलन गरेको थियो ।

    कोभिड–१९ का कारण सन् २०२० को सफाइ अभियान भने रोकिएको थियो । सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि र अमा दब्लम हिमालबाट २७ दशमलव ६ टन फोहर संकलन गरिएको थियो । त्यस्तै, सन् २०२२ मा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालबाट करिब ३५ टन फोहर संकलन गरेको थियो ।

  • कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

    कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

    संसद् बैठक चैत २७ गते (मंगलबार) बोलाइएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए ।

  • धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

    धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।

    ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का १५ वर्षीय दिपेश ओझा रहेका छन् । बालकहरु कसरी डुबे भन्नेबारे स्थानीयबीच विवाद भएकाले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ

    श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ

    काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

  • इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

    इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता

    इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् ।

    खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् । पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।

  • इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

    इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता

    काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।

  • इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

    इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर

    इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

    रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् । मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

  • सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो

    सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो

    काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएसँग कर्फ्यू खुकुलो पारिएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो । शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

    बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ । समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने पनि सहमति भएको छ ।

    ‘आवश्यक भए छानविन आयोग गठन गर्ने निर्णय भएको छ’, फुयालले भने,‘कुन मोडालिटीमा बनाउने भन्ने ब्याख्या चाहिँ भएको छैन, आवश्यकता अनुसार बनाउने निर्णय भएको छ ।’ हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । स्थीति नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ३९ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

  • नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

    नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर

    काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो ।

    उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए ।

    आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । ‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिंदैनौं,’ उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर व्यवस्थापन हुने गरेको छ । रासस

  • इलाम-२ मा एमालेलाई माओवादीको साथ

    इलाम-२ मा एमालेलाई माओवादीको साथ

    काठमाडौं । इलाम(२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । यो क्षेत्रमा पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी दिंदैछन् ।

  • गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

    गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

    यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए ।

    सङ्घीय सरकार, स्थानीय सरकार, क्याम्पस तथा चन्दा सङ्कलनबाट गरी करिब एक करोडको लागतमा तीन तले भवन निर्माण गरिएको सो भवनको चैत्र २३ गते बिहान ११ बजे राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख केशवराज काफ्लेले जनाएका छन् ।

  • क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

    क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् ।

    क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले यसको ऐतिहासिक महत्व छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट क्रिष्टल राख्ने काम हुने भएको छ । गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।

    त्यही क्र्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजा सहित बजार परिक्रम गराउँदै दरबार लैजाने कार्यक्रम रहेको छ । गोरखा नगरपालिकाले बजेट विनियोजन गरे सँगै अहिले क्वार्ज क्रिष्टल राख्नको लागि मजबुत खालको सिसाको बक्स बनाइएको छ । पारदर्शी सिसाबाट बनेको उक्त बक्स ३ फिट लम्बाई, २ फिट चौडाइ र २ फिट उचाइको हुन्छ ।

    त्यस क्वार्ज क्रिष्टल राख्नको लागि काठबाट बनेको ऐतिहासिक, पुरातात्त्विक झल्को दिने गरी बुट्टा कुदिएको टेबल निर्माण गरिएको छ । टेबुल मुनिको विद्युतीय प्रकाश क्वार्ज क्रिष्टलाई आकर्षण बनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको गद्दी र धार्मिक र पुरातात्त्विक महत्वका क्वार्ज क्रिष्टल एकै ठाउँमा राख्दा यसले पर्यटन प्रबद्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • चितवनमा भाले गैडा मृत फेला

    चितवनमा भाले गैडा मृत फेला

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ । निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा मात्रै १९ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये १५ वटा प्राकृतिक कारण (बुढो भएर, बाघको आक्रमण र रोग लागेर), चोरी सिकारीबाट तीन र कारण नखुलेको एक गैंडाको मृत्यु भएको छ ।

    निकुञ्जमा चालु वर्षको चैत २१ गतेसम्म ३ वटा बाघ, ५ वटा हात्ती, मगर गोही २ र घडियाल गोही १ वटाको मृत्यु भएको छ । यो वर्ष जम्मा ५८ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ भने १६३ वटा वन्यजन्तुको उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

  • कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप भीरबाट खसेको छ । सल्लाघारीममा बस खस्दा १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

  • पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु

    पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु

    काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    सो घटनामा परी स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार ५ बजेर ५० मिनेटमा हावाहुरी चल्दा रुख जरैबाट ढल्दा लु ८१ प ११३६ नम्बरको स्कुटरसहित उनीहरु च्यापिएका थिए ।

  • त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

    त्रिशुलीमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना(५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

  • मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    मुगुमा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो चार मोड भन्ने ठाउँको सडकबाट जीप खसेको थियो ।

  • सुनकोशीमा हराइरहेका बालबालिकाको शव फेला

    सुनकोशीमा हराइरहेका बालबालिकाको शव फेला

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र नौ वर्षीय रिदम मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । मंगलबार साँझ रिदम र बुधबार लोकबहादुर र रेखाको शव भेटिएको उनको भनाइ छ।

    साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम र कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको अवस्थामा आइतबार दिउँसो ३ बजे सुनकोसी नदीमा डुबेर बेपत्ता भएपछि उनीहरूको खोजी भइरहेको थियो।

    चौधरीका अनुसार बालबालिका बेपत्ता भएको स्थानदेखि करिब दुई किलोमिटर तल रिदमको शव बग्दै गरेको अवस्थामा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त वस्नेतसहितको टोलीले मंगलबार साँझ फेला पारेको हो। रेखा मगर र लोकबहादुर मगरको शव उनीहरू हराएको स्थानभन्दा करिब चार किलोमिटर तल बुधबार भेटिएको हो।

  • पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

    पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

    काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

    घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले धारितो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशंका रहेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

    कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा एक साथ १७ जनाले हाम फालेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यसमध्ये एक जना बेपत्ता भएका छन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका अनुसार शाहीको खोजी भइरहेको छ ।

    उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ । ‘उनीहरुलाई प्रहरीले रोक्न खोजेको बताइएको छ । तर पुलमा फोटो खिचेर फर्किने भन्दै उनीहरु पुलको बीचमा गएका थिए ।

  • ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

    ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

    काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ ।

    ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

    होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशीमा तीन बालबालिका वेपत्ता

    काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए ।

    उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए । बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।

  • दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    दाङमा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । राजपुर गाउँपालिका ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
    शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

    मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको उनले जानकारी दिए ।

  • दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा राप्ती गाउँपालिका ३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।

    त्यस्तै करेन्टबाट ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

  • हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

    हुम्लामा गाडी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । सु प ०१००१ नम्बरको गाडी शानिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।

  • बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

    बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

    काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका–६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए ।

    मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

  • मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

    मोरङमा अर्को विभत्स घटना, श्रीमतीको हत्यापछि आत्महत्या

    काठमाडौं । मोरङमा अर्को विभत्स घटना दोहोरिएको छ । जिल्लाको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको समाचारमा उल्लेख छ ।

    उनका छोरा भाग्न सफल भएका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरी हत्या गरेका छन् । गीताको घटनास्थलमै ज्यान गएको थियो । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।

    मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत

    बागलुङ दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो- सबैको सनाखत

    काठमाडौं । बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१(००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटनामा परेको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

    दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट १ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका २ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका ३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।

    घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो ।

  • बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    बागलुङमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

  • विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

    विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

    काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका युवक मृत फेला परेका छन् । उनको हत्या २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानमा देखिएको बताइएको थियो । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका हुन् ।

    विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको प्रहरीले जनाएको छ । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । चन्द्रिकाको बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको थियो । नेपालमा पछिल्लो समय प्रेम र यौनका लागि महिलामाथिको हिंसा बढ्दै गएको देखिएको छ ।