Category: स्थानीय

  • भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

    भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

    काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिका ७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।

    भोजपुर नगरपालिका १२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आगो निभाउन परिचालन गरिएको थियो ।

  • कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

    कैलालीमा फेरी लाग्यो ट्रकमा आगो

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको साता नबित्दै सोही प्रकृतिको घटना दोहोरिएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा बिरगञ्जबाट लाइटर,खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दका अनुसार प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको हो । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगो लागेको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।

  • चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने

    चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने

    काठमाडौं । काठमाडौं चक्रपथ सुधार आयोजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। बिहीबार सूचना प्रकाशन गरेर स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो।

    ‘‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नु पर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाडौं महानगरपालिका मातहत पर्दैन उल्लेख गरी होडिङ बोर्ड राखेको भेटिएको हुँदा उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को वर्खिलाप देखिएकोले यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र होडिङ्ग बोर्ड राख्ने पक्षले नै हटाइदिनु हुन सूचित गरिएको छ,’ सूचनामा भनिएको छ।

    केही दिनअघि काठमाडौं महानगरप्रमुख बालेन शाहले सडकमा राखिएको उक्त होर्डिङ बोर्डको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए।

  • सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

    सहकारी पिडितको आज काठमाडौंमा प्रदर्शन

    काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्न कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ ।

    ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ । सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ ।

  • स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

    स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

    काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए । आइतबार साँझ प्रहरीले ३९ लाख २० हजार रुपियाँसहित तीनजनालाई पक्राउ गरेको थियो ।

    उनले नेपालगन्जबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको एक करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपियाँ र १५ लाख ४० हजार भारतीय रुपियाँ बरामद गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपियाँ बरामद गरेको थियो ।

    प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए । उनीहरुको साथबाट भारतीय ११ लाख रुपियाँ पनि बरामद भएको एसपी बोहराले बताए । बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र आसिफ अन्सारीलाई ३४ लाख नेपाली रुपियाँ र चार लाख ४० हजार भारतीय रुपियाँसहित पक्राउ गरिएको एसपी बोहोराले बताए ।


    यसअघि आइतबार साँझ प्रहरीले स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हबिब जसगढलाई पक्राउ गरेको थियो । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ तर त्यसको हालसम्म पुष्टि नभएको प्रहरीको भनाइ छ ।

  • कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो

    कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो

    काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । लम्कीचुहा नगरपालिकाको दमकल समेत पुगेर आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन भइसकेको छैन ।

  • कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

    घरनजिकै पोल ढलेर तारले छोएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । बिजुलीको तारले घर छोएको छ । केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् । गंग उनका छिमेकी हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताएका छन् । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ ।

  • सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन् ।

    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का

    कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का

    काठमाडौं । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।

  • त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    त्रिशूली दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी बनाउने निर्देशन दिएका छन् । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।

    दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई जीवितै उद्धार गरिएको थियो। एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत भएको छैन । चालक लुम्बिनी संस्कृति नगरपालिका ९ का हरि रामलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

    त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

    काठमाडौं । धादिङ गजुरीस्थित गलौदीबाट बस त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
    बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

  • सुरेन्द्र पाण्डे लेख्छन् : आजै सरकार परिवर्तन हुन्छ

    सुरेन्द्र पाण्डे लेख्छन् : आजै सरकार परिवर्तन हुन्छ

    काठमाडौं । एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दावि गरेका छन् । सामाजिक फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने समेत बताएका छन् । अहिले दलहरु आन्तरिक छलपलमा जुटेका छन् । सत्ता गठबन्धनमा संकट आएसँगै एमाले र माओवादी मिल्ने संकेतहरु समेत देखिएका छन् । आजै माओवादी, एमाले, कांग्रेस र रास्वपाको सचिवालय बैठक बसिसकेको छ ।

  • चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

    चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

    काठमाडौं । चितवन प्रहरीले छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न असमेत प्रहरीले नुरोध गरेको छ। चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न भनेका हुन्।


    ‘प्रस्तुत घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरुमा संप्रेषित विषयबस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्नेगरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगरी दिनुहुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    शनिबार डिएसपी भण्डारीले विज्ञप्ति जारी गरी घटनाको जानकारी प्राप्त हुनासाथ सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको र सुक्ष्म अवलोकन गरिएको जानकारी दिएका छन्। अहिलेसम्म घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र तथ्यपरक तथा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्। साथै बालबालिकाको मृत्य जस्तो संवेदनशील विषयलाई गाम्भिर्यताका साथ लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

    ‘घटनाबारे प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेशागत मुल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भईरहेको र बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा प पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौं,’ विज्ञप्तिमा भनिएको छ। गत शनिबार बिहान रत्ननगर नगरपालिका १५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।


    घटनापछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्। सालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद थप भएको छ। यसैबीच सत्तारूढ दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

  • पोखरामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    पोखरामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–७ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको ज्यान गएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोकिँदा मोटरसाइकलमा सवार आचार्य र उपाध्याय घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

  • आज किन खोलिँदैछ सेती नदीको बाँध ?

    आज किन खोलिँदैछ सेती नदीको बाँध ?

    काठमाडौं । पोखरामा आज सेती नदीको बाँधी खोँलिदै छ । माछा मार्ने क्रममा बेपत्ता भएका युवकको खोजीका लागि यसो गर्नु परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोलिने छ । बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन आग्रह गरिएको छ । सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए ।

    १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको हो । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

  • कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

    कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताएका छन् ।

    उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो । उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तरगतको कसूरमा कारबाही प्रक्रिया अघि बढ्ने एसपी बोगटीले बताए ।

  • श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश

    श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश


    काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।

    भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी र नातिनीको बुधबार बिहान हत्या भएको थियो । परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ । ईश्वरी र काजी श्रीमान श्रीमती हुन् । उनीहरुसँगै परिवारमा ६ जना थिए । ईश्वरीको पहिलो श्रीमानतर्फका छोरा विदेशमा छन् भने उनका श्रीमती र छोरीसँगै थिए । ईश्वरी र काजीबाट छोरा (१५ वर्ष) र छोरी (८ वर्ष) थिए ।

    बुधबार बिहान बुहारी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकेँ, सबै मारिँसके’ भनेका थिए । किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको बताइएको छ ।

    उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि आरोप लगाएका छन् । आफ्नो सम्पत्तिबारे पनि बोलेको भेटिएको छ । उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । ‘विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।

  • पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए । दुर्घटनाको कारण खुलेको छैन ।

  • वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?

    वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?

    काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

    रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

  • तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    तनहुँमा जन्ती बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । तनहुँमा जन्ती बस दुर्घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बरादी, हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो मृत्य हुने दुवै जनाको खनाखत भइसकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • महोत्तरीमा झडप, प्रहरीले चलायो गोली

    महोत्तरीमा झडप, प्रहरीले चलायो गोली


    काठमाडौं । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप भएको छ । झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोलीसमेत चलाएको छ ।

    झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको उनले बताए । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ । अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी खटाइएको छ ।

  • ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…

    ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि आफ्नै श्रीमानले गोली चलाएपछि…

    काठमाडौं । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

    श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । घटना करिब साढे ७ बजेतिरको हो । श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई करिब साढे ८ बजेतिर प्रहरीले अर्जुन खोला नजिकबाट नियन्त्रणमा लिएको हो । हत्याको कारण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

  • खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

    खुलामञ्चसँगै टुडिखेलसमेत खुला गर्ने प्रक्रियामा महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गएको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौं कि हामी छउन्जेल खुलामञ्च सधैं सबैका लागि खुला हुन्छ । हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौं।’

    धेरैभन्दा धेरै अतिक्रमित क्षेत्र खुला गर्ने प्रक्रियामा महानगर गइसकेको भन्दै उनले यस्ता कुराहरू मिडिया र अभियन्ताको नजरमा कहिल्यै नपरेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विपद् र विशेष अवस्थाका लागिबाहेक अन्य कुनै पनि समयमा जे उपयोगिताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनुपर्छ भन्नेमा बहस भइरहनु अचम्म लाग्दो कुरा भएको उनले लेखेका छन् ।

  • काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् ।

    उनका अनुसार ३० जना घाइते भएको अवस्था छ । ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको चन्द्रौटामा उपचार जारी छ । काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जानकारी दिएको छ । मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको सनाखत भइसकेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

    पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय

    काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो ।


    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डीएसपी सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी छन् । यस्तै पाल्पाको तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मुस्ताङ जिप आफैं अनियन्त्रित भई कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

    दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्रभास र जिला प्रहरी कार्यालय पाल्पाबाट टोली परिचालित भएका थिए । उनीहरुले घाइतेहरुलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाएका थिए । अत्यधिक लोडका कारण जिप दुर्घटना भएको प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए । क्षमताभन्दा बढी लोडका कारण उकालोमा तान्न नसक्दा ब्याक भएर जिप दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माको भनाइ छ।

  • पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

    पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

    काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिएका छन् । अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटनामा परेको बताइएको छ । अहिले मृतकको पहिचान गर्ने काम भइरहेको छ ।

  • जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

    जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने यो दिनलाई विेशेष रुपमा मनाउने गरेका छन् ।

    तत्कालिन नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरुवात गरेको थियो । विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यो युद्ध समाप्त भएको थियो ।

    यस युद्धमा नागरिक, विद्रोही, सेना र प्रहरीलगायतका १७ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । वि।सं २०४६ सालमा निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो । तात्कालीक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए । सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्कासाथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भयो । विद्रोह सुरु गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदे माग राख्दै जनयुद्धको घोषणा गरिएको थियो ।

    रोल्पा, रुकुम, सिन्धुली, रामेछाप लगायतका पहाडी जिल्लामा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी, साना किसान बैंक र सरकार अन्य संयन्त्रमा आक्रमण गरेको थियो । जनयुद्धको प्रभाव देशव्यापीरुपमा पर्न गएको थियो जसका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सङ्कटका लागू गरेर अगाडि बढेको थियो । युद्धरत नेताहरुको टाउकाको मूल्यसमेत तत्कालीन सरकारले निर्धारण गरेको थियो ।

  • धापासीमा युवकको हत्या, एक जना पक्राउ

    धापासीमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या भएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी छ ।

    प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए । सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको बताइएको छ । प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानपछि घटनामा एक जनाको मात्र संलग्नता देखिएको छ । उता, शनिबार गौशालामा २८ वर्षीया प्रमिला दमाईको शव फेला परेको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । दुबै जनालाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

  • पूर्वराजा चितवनमा, के के छन् योजना ?

    पूर्वराजा चितवनमा, के के छन् योजना ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।
    पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ ।

    सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किने छन् । पूर्वराजाका आफन्तजनहरू पनि सो होटलमा बस्नेछन् । गत वर्ष पनि पूर्वराजा यहाँको होटलमा ८ दिन बसेका थिए । यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् । प्रसाईँको अभियानप्रति सकारात्मक भए पनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिएनन् ।

  • ललितपुरमा आमा र दुई बच्चाको मृत्यु

    ललितपुरमा आमा र दुई बच्चाको मृत्यु

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गेका छन् । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनाललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    महर्जनको कोठामा दुई जना बच्चा बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु घोषित गरिएको समाचारमा उल्लेख छ । बच्चाहरुको मृत्युको कारण खुलेको छैन । ‘उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएको भए पनि घटना भएको समय श्रीमान घरमा नभएको पाइएको छ ।