Category: स्थानीय

  • कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

    कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए।

    बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा सामान्य प्रशासन मन्त्री थिए। ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल, खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ,’ शर्माले सामाजिक सञ्जालमा शोक सन्देश लेख्दै भनेका छन्। बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्‍याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ।

  • धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

    धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।

    मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बिसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

    काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निस्शुल्क पार्किङको व्यवस्था गरेको थियो । त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।

  • हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

    हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

    काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी र बाग्मतीका उच्च पहाडी क्षेत्रमा छिटपुट वर्षा भएको छ ।

    त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ । तर आज काठमाडौंमा दिउँसोपख मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन । आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ । पश्चिमी वायुको प्रभावले हिजो सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

    कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, गुल्मी, बाग्लुङ, म्याग्दीलगायतका पश्चिमी जिल्लामा पानी परेको हो । पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते

    सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते

    काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले दुर्घटनाबारे जानकारी दिँदै भने, ‘‘बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते हुनुभएको छ । ६ जना डिस्चार्ज भइसक्नु भएको छ । अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस हुनुहुन्छ । उहाँको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ ।’ घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।

  • सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

    सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिएका छन् ।

    जीपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

  • पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु

    पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु

    काठमाडौं । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए। मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो। उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ।

  • ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका

    ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका

    काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा जर्मन नागरिक मृत अवस्थामा भेटिएकी छन् । उनको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरेको हो । मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ ।

    उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । बिहान ८ बजेतिर ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रो तलामा उनी मृत भेटिएपछि प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनको टाउकोमा सानो चोट देखिएको थियो । त्यसबाहेक शरीरमा अन्य कुनै चोट देखिएको छैन । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बिहान ८ बजेतिर जति पानी तान्दा पनि ट्यांकी नभरिएको भन्दै अपार्टमेन्टकी हाउस किपर सञ्चालकसमक्ष पुगेकी थिइन् ।

  • न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा

    न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ । यो संख्या साविक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा धेरै हो । अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको स्थानमा मात्र पनि १ हजार ५ सय दुई पाङ्ग्रे अट्न सक्छन् ।

    ‘योसँगै काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा ७ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारी पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ सेवा हो,’ पाण्डेले भने । महानगरको दाबीअनुसार यसबाहेक न्युरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनमा समेत पार्किङ सुविधा छ । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिने व्यवस्था छ ।

    पाण्डेका अनुसार आज सोमबार धरहराको पार्किङ भवनमा करिब ९ सय सवारी चालकले निःशुल्क पार्किङ सेवा लिएका छन् । महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय २ पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे सवारी पार्किङ गर्न सकिन्थ्यो ।

    जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सय दुई पाङ्ग्रे र पाँचवटा चार पाङ्ग्रे, प्युखा १ सय ५० दुई पाङ्ग्रे र ६ चार पाङ्ग्रे, खिचापोखरी १ सय ५० दुई पाङ्ग्रे र १५ चार पाङ्ग्रे र वीर अस्पताल महाबौद्धमा १ सय ५० दुई पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो । महानगरले न्युरोडभन्दा अगाडि बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत ठाउँमा पार्किङ निषेध गरिसकेको छ ।

  • काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण

    काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण

    काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

    कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।

    ‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने । स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

  • स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर

    स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ । स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिसा, रुखका पात लगायत संकलन भएको महानगरले जनाएको छ ।

  • काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र

    काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

    महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त मापदण्ड भन्दा बाहिर कुनैपनि पर्खाल बनाउन पाँइैदन । नारायणहिटीको मापदण्ड भन्दा अग्लो भएकोले संरचना सुधार गर्नको लागि महागरले ताकेता गरेको हो । महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।

  • अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध

    अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    राजुनाथ पाण्डेले भने, ‘भोलिदेखि पार्कि निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं ।’ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपास कालोपत्रे सडकमा पार्किङ निषेध हुने छ ।’ यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ ।

  • दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहार नजिक यात्रु बस दुर्घटना भएको छ । घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बस बर्दियाबाट काठमाडौं जाने क्रममा थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ ।

  • काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?

    काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?

    काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता गिरी अर्कै घरमा बस्ने गरेको पाइएको छ ।

    एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’मा सो घरमा बस्दै आएको प्रहरीले जनाएको छ । तर उनीहरूको नाम-ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा नभएको समेत प्रहरीको भनाई छ । शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको थियो। ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाएको समेत प्रहरीले जानकारी दियो ।

    हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो। अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो। ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।


    उनका अनुसार बाहिरबाट ताला समेत लगाइएको र भित्र महिला मृत फेला परेपछि हत्याकै आशंकामा अनुसन्धान अघि बढाएको थियो। ‘दुइ जना बस्ने घरमा महिला मृत फेला पर्नु र बाहिरबाट ताला लगाएको हुँदा हत्या हो भन्ने आशंकामा अनुसन्धान अघि बढ्यो,’ उनले भने, ‘घरेबेटीले आफ्नो घरमा बस्नेको विवरण नराख्दा मृत फेला परेकाको पहिचान सुरूमा खुलेन। अनुसन्धानकै क्रममा पहिचान खुल्यो।’

    एसएसपी खत्रीका अनुसार घरमा केही कागजात फेला परेपछि महिलाको पहिचान खुलेको हो। मृतक तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मिया हुन्। उनीसँगै बस्ने पुरूष भने गायब थिए। शव सडिगलिसकेको अवस्थामा हुनु र सँगै बस्ने पुरूष फेला नपरेपछि उनी नै मुख्य आरोपी हुनसक्ने प्रहरीको अनुमान थियो। ती पुरूषको पहिचान खुलाउन पनि प्रहरीले केही कागजातहरू फेला पारे। घरमा फेला परेका गार्मेटका कागजातबाट उनको पहिचान खुल्यो। उनी भारतको मोतिहारीका ४३ वर्षीय इकरामउल हक अन्सारी भएको उनले बताए।

    मृतक मिया र फरार रहेका अन्सारी दुबै जना विवाहित हुन्। उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए। काठमाडौंमा गार्मेट उद्योगमा कालिगढको काम गर्ने जिबिएस गार्मेटबाट भदौ २४ गते दुई हजार रुपैयाँ भुक्तानी लिएको रेकर्ड कार्ड प्रहरीले घरबाट फेला पारेको थियो। जसबाट उनीसम्म पुग्ने आधार पाएको एसएसपी खत्री बताउँछन्। तर सोही बेला अन्सारी भारत भागिसकेको सूचना प्रहरीले पायो।

    बल्खुबाट बिहान करिब ६–७ बजेतिर वीरगन्ज जाने सुमो चढेर भागेपछि परिसरले भारतीय प्रहरीसँग समन्वय गर्‍यो। ‘अनुसन्धान गर्दै जाँदा उनी रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा दुइ महिनासम्म भारतमा बसिरहेका रहेछन्,’ एसएसपी खत्रीले भने, ‘आफूले गरेका हत्याबारे प्रहरीले थाहा पाएरपाएनन् भनेर साथीहरूसँग उनले निरन्तर सूचना लिइरहेका हुन्थे। तर प्रहरीले थाहा नपाएपछि अन्सारी काठमाडौं नै फर्किएर आए।’

    काठमाडौं आएपछि कालिमाटीस्थित बिएन फेसन गार्मेन्टमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको एसएसपी खत्रीले बताए।
    प्रहरीका अनुसार घटना कात्तिक पहिलो साता भएको हो। हत्‍या भएको यकिन मिति भने खुलिसकेको छैन। इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो।

    इकरामउलले मदिरा सेवन गरी विवाद गर्ने गरेका थिए। एक राति करिब ९ बजेदेखि सुरू भएको विवाद भोलिपल्ट बिहान ३–४ बजेसम्म भएको थियो। त्यसैक्रममा इकरामउलले भित्री ढोकाको आग्लोले प्रहार गरी गम्भीर बनाएको अनुसन्धानबाट खुलेको छ। चिकित्सकको पोष्टमर्टम रिपोर्टअनुसार सफिनाको शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्।

    कुटपिट गरेपछि घाँटीमा सलले बाँधेर हत्या गरेको देखिएको एसएसपी खत्रीले बताए। हत्‍यापछि डरले इकरामउल घरमा ताला लगाएर हिँडेका थिए। उनले घरको चाबी पनि झाडीमा फालेर बल्खुतिर हिँडेर गएका थिए। परिसरले उनलाई आइतबार सार्वजनिक गरेको हो।

  • ६ महिनामा ९ वटा गैडा मरे

    ६ महिनामा ९ वटा गैडा मरे

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट २ वटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोस्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले २ वटा गैँडा मरेका थिए ।

    त्यस्तै तस्करहरूले ६ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्कर पक्राउ परिसकेका छन् । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले त्याे गैँडा तस्करले मारेको आशङ्का गरेको बताए । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उनले  बताए । अहिले पनि याे घटनाको अनुसन्धान भइरहेको छ ।

    निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२/७३ यता २ सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा सिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा छन् ।

  • त्रिशुलीमा झरेको गाडी गोताखोरले फेला पारे

    त्रिशुलीमा झरेको गाडी गोताखोरले फेला पारे

    काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी झरेको छ । मङ्गलबार बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि खोजीका लागि  गोताखोर परिचालन गरिएको थियो । सो टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

    डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको हो । गाडीमा कति मानिस थिए भन्ने खुलेको छैन ।
    गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट  १३ जनाको टोली परिचालन गरिएको थियो ।

  • झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

    झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक(९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । त्यस्तै कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

    यस्तै शनिबार नै झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो ।

    दुर्घटनामा कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

  • कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु

    कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु

    काठमाडौं । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएको छ । घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका १ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका ५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए । उनीसँगै दोहोरी साँझमा गएका कृष्णपुर नगरपालिका(४ का २८ वर्षीय टेकबहादुर नायकले घर पुर्‍याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै मृत्यु भएपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    विवादका क्रममा देउवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनीसँगै दोहोरी साँझ गएका ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का २७ वर्षीय विनोद शाह, गोदावरी-६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका-९ का ३८ वर्षीय रामबहादुर ऐर र उनीसँगै गएका टेकबहादुर नायक रहेका डीएसपी चन्दले बताए । मृतकका परिवारले उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

    दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

    काठमाडौं । दाङ बस दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

    त्यसअघि आठ जनाको सनाखत भइसकेको थियो। जसमा बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका– १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस–९ का २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

    मृतकहरूको पोष्टमर्टम दाङको लमही अस्पतालमा गरिएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो। दुर्घटनापछि गम्भीर घाइते १२ जनालाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाका घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १ जना घाइतेकोे उपचार जारी छ ।

  • काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार चन्द्रागिरी नगरपालिका ४ सेतो पहराबाट झरेको छ । सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
    शनिबार दिउँसो १ः५५ बजे प्र.३–०१–२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्। एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए। दुर्घटनामा परी गम्भीर घाइते ६ वर्षीया स्मारिका गौतमको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । डा. सृष्टी तिवारी गौतम सकुशल रहेको बताइएको छ ।

  • दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु

    दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु

    काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

    इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

    मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०–३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

    बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

    नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।

    रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् । यस्तै पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरू निर्विरोध चयन गरेको छ । सुदूरपश्‍चिम प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बास्तोला, कर्णाली प्रदेश उपाध्‍यक्षमा महेन्द्र पुन, कोशी प्रदेश उपाध्‍यक्षमा इन्द्र कुमारी लिम्बु र मधेश प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् ।

    यस्तै ७ जना सह(महासचिवहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा रामलाल डंगौरा, पदम अधिकारी, पवन कुमार साह, दिल कुमारी लावती, राजन गुरूङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन् । यस्तै सचिवमा तुलसी प्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजय कुमार बस्‍नेत निर्विरोध चयन भएका छन् । यस्तै पार्टीको सह(सचिवमा पनि पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्‍बु निर्विरोध निर्वाचित भएका छन् ।

    महासचिवमा उम्मेदवारी दिएका ३ जनाबीच सहमतिको प्रयास जारी छ । निर्वाचन समितिले २५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छ । सहमति हुन बाँकी पदमा सहमतिको प्रयास जारी रहेको नाउपाले जनाएको छ ।

  • कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु

    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने(चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

    नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
    ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन् ।

  • काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

    काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा शौच गराएमा जरिवाना तिर्नु पर्ने भएको छ । महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ । सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ।

    ‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा-पिसाब गराएर फोहोरमैला गर्न नपाइने भन्दै महानगरले जरिवाना तिराउने भएको हो । महानगर प्रहरी बलले यसको नियमन गर्ने भएको छ । केहि समयअगाडि महानगरले क्षेत्रभित्रका कुकुर र बिरालाहरूको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको थियो।

    जसमा घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरूको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जनावरधनीले गर्नुपर्ने उल्लेख छ। महानगर क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा छोड्न रोक लगाइएको छ ।

  • महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

    महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

    काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए ।

    दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए । दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।

  • म्याग्दीमा एकै घरका दुई जनाको हत्या

    म्याग्दीमा एकै घरका दुई जनाको हत्या

    काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

    उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजाको उपचारका क्रममा मृत्यु भएको छ । छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते छिन् र उनको पोखरामा उपचार भइरहेको छ । मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

    घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको डीएसपी कुँवरले जानकारी दिए । उनीहरुको दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको थियो । गम्भीर घाइते अवस्थामा रहेकी प्रियंकालाई पोखरामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अमृताको मणिपालमै उपचार भइरहेको छ ।

    प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । रासस

  • निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

    निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

    काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने बताएका थिए ।

    सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

    सरकारले गत मंसिर ५ गते माइतीघर-वानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो ।

  • बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

    बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

    काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

    समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् । शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

    मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

  • काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

    काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका पेट्रोल पम्पहरुलाई ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि रहेका छन् ।

    समितिलाई पेट्रोल पम्पहरुको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । महानगरपालिकाले गएको वैशाखमा पेट्रोलियम पदार्थ बिक्री मापदण्ड पूरा नगरेको वडा नम्बर १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो ।

  • नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने

    नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने

    काठमाडौं । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ । पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समिति र उक्त कम्पनीबीच २२ मंसिरमा सम्झौता भएको थियो ।

    समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार जाँच चौकी निर्माणको काम सम्पन्न नहुँदै यसको सञ्चालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट भइसकेको बारे सरकारलाई जानकारी गराइसकिएको छ । यो आयोजना समितिलाई हस्तान्तरण भएपछि सम्झौता कार्यान्वयनमा आउने उनले जानकारी दिए ।

    आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधिन छ । यहाँ अहिले पानी ट्यांकी, सीसीटीभी जडान, नेटवर्किङ, फायरफाइटिङ सिस्टम लगायतका काम भइरहेको समेत उनले जानकारी दिए । २६ असोज २०७७ मा निर्माणको काम सुरु भएको यस जाँच चौकीको १८ जेठ २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरिका थिए ।

    नियामक निकायले सेवा सञ्चालन गर्न नपाउने नियम अनुसार जाँच चौकीहरुको सञ्चालन निजी क्षेत्रका कम्पनीहरुमार्फत गर्न लागिएको गजुरेलले जानकारी दिए ।

    नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहने भएकोले समिति अन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीरकन्टेनर फ्रेट स्टेसन) हरुको सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनोट गर्नुपर्ने नीति रहेको उनले बताए ।

    सोही अनुसार नेपालगञ्ज एकीकृत जाँच चौकीका लागि समितिले ११ असार २०८० मा अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव आव्हान गरेको थियो । सो अनुसार दुई वटा कम्पनी एटलस टर्मिनल जेभी, भाटभटेनी, काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि विराटनगर बोलपत्र प्रक्रियामा सहभागी भएका थिए ।

    सहभागी दुई वटा कम्पनीमध्ये मूल्यांकन प्रक्रियाबाट छनोट भएको एटलस टर्मिनल जेभीले कानुन बमोजिम दर्ता गरेको संयुक्त लगानीको कम्पनी टीआरएस एटलस लोजिपार्क प्रालिसँग सम्झौता गरेको समितिको भनाइ छ । गजुरेलका अनुसार अहिले समिति मातहत रहेका ८ वटा पोर्टमध्ये सबै निजी क्षेत्रका कम्पनीबाट सञ्चालन गर्ने गरी सम्झौता भइसकेको छ ।