Category: स्थानीय

  • मकवानपुरमा कार दुर्घटना, २ जनाको मृत्यु

    मकवानपुरमा कार दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ गइरहेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका ६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

  • तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

    छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

  • मनमैजुमा ट्राफिक प्रहरी मृत फेला

    मनमैजुमा ट्राफिक प्रहरी मृत फेला

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् ।

    अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको हो । घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

  • कपनबाट दुई पेस्तोलसहित एक जना पक्राउ

    कपनबाट दुई पेस्तोलसहित एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको कपनबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन पैयुटारस्थित डेराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो। शुक्रबार बिहान ६ बजे एक युवकलाई हतियार लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर २ घर भई कपनमा डेरा गरी बस्ने २३ वर्षीय अर्जुन दर्नाल सुनार छन्। उनलाई प्रहरीले डेराबाटै पक्राउ गरेको हो। उनीबाट दुई वटा पेस्तोल फेला परेको एसपी अधिकारीले बताए। प्रहरीले उनीमाथि हातहतियार खरखजाना शीर्षकमा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

  • पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह

    पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

    काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी थालेको प्राधिकरणले जनाएको छ ।

  • पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा १३ जना घाइते भएका छन् । बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।

    दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । १५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

  • दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

    दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

    काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको हो ।

    भारतबाट फूपूको घरमा आएका दाजुभाइको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । रासस

  • डडेलधुरामा खोलामा डुबेर दुई किशोरीको निधन

    डडेलधुरामा खोलामा डुबेर दुई किशोरीको निधन

    काठमाडौं । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका २ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिएका छन् ।

    मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी पाठकले जानकारी दिए।

  • काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या

    काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको जानकारी दिए ।

    घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट

    काठमाडौं । ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ ।

    त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्‍याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । आज मात्र मीननाथको रथलाई अघि लगाएर तानिनेछ । भोलिदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ ।

    आज गाबहालका बासिन्दाहरुले छवयालाभू मनाइरहेका छन् भने अहिले मच्छिन्द्रनाथको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ । आज रथ तानिने भएकोले मच्छिन्द्रनाथको रथमा हरियो धूपी लगायतले सिँगारपटार गर्ने काम हुनेछ ।
    रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलमा घुमाउने प्रचलन रहेको छ । रथ तान्नुअघि र गन्तव्यमा पुगेपछि गुरुज्यूको पल्टनबाट सलामी दिने चलन छ । मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

    १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाण्डौका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका किसान ललितचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट ल्याएको किंवदन्ती छ ।

  • भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द

    भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द

    काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
    जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए । नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।

  • कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

    कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

    काठमाडौं । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५)अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

    कोशीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

    २६ चैतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । एमाले र माओवादीले आफूहरुले समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्रीले २५ वैशाखसम्म प्रदेशसभामा विश्वासको मत लिनुपर्ने मत राख्दै आएका थिए । र प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए २५ वैशाखपछि पदमुक्त हुने व्यहोराको संकल्प प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त संकल्प प्रस्ताव प्रदेशसभाले पारित पनि गरेको थियो ।

  • नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा काठमाडौँ बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको प्रहरीको भनाइ छ । उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

    घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ललितपुरमा आगलागीमा घाइते दुई बालिकाको निधन

    ललितपुरमा आगलागीमा घाइते दुई बालिकाको निधन

    काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका(१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए । उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो ।

    घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालकै आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सोमबार जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको अस्पतालले जनाएकको छ । आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

  • जनकपुर रेल तीन दिन बन्द हुने

    जनकपुर रेल तीन दिन बन्द हुने

    काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।

    ‘‘मिति २०८१–०१–२३ गते आइतबारदेखि २०८१–०१–२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा-जनकपुर-जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

  • त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

    त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

    काठमाडौं । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।


    क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने परियोजनाले जनाएको छ ।

    परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा ुपुनप्रयोगु गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको कार्यक्रम उनले बताए ।


    कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायतका काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिक मुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ ।

  • धादिङमा घरमा आगलागी, दम्पत्तिको निधन

    धादिङमा घरमा आगलागी, दम्पत्तिको निधन

    काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो। सूचना प्राप्त भएपछि इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको थियो। ‘प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,’ डिएसपी मिश्रले भने।

    उनका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि छ। राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ। ‘घरमा वयोवृद्ध बुढाबुढीमात्रै बस्नुहुँदो रहेछ, उहाँहरू निस्कन सक्नुभएन होला,’ डिएसपी मिश्रले भने। राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उनले बताए। थाक्रे गाउँपालिका ५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ। मुचुल्लकाका लागि प्रहरीहरू आउँदै हुनुहुन्छ । हामी कुरिरहेका छौं, उनले भने। वडाध्यक्ष तामाङका स्थानीयले पानी ओसारेर आगो निभाएका थिए।

  • न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न

    न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न

    बिके नेवा, न्युयोर्क ।

    प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम अहिले ७ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ ।
    नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
    लामो विधि अनुसार पूजा सम्पन्न भएपछि कन्यालाई एक किसिमको विविध धागोले बनाइएको साडी र सिन्दुर लगाइदिएर विभिन्न उपहार दिने गरिन्छ ।

    यसपालीको ७ औँ इही पूजामा ६ जना कन्याको पूजा गरिएको थियो । न्युयोर्क निवासी, लंग आइल्याण्ड निवासी र बोस्टन निवासी पूजामा सहभागी भएका थिए ।
    न्युयोर्कको ज्याक्सन हाइटस्थित धर्म हाउसको हलमा भएको उक्त पूजाको पुरोहित बाशल राजोउपाध्याय हुनुहुन्थ्यो ।


    सजना महर्जनको प्रमुख व्यवस्थापन, सुरजलक्ष्मी श्रेष्ठको सहव्यवस्थापन र पूजामा पुरोहितलाई साथ दिने र विशेष किसिमको परिकार राखी थाय भुको व्यवस्थापन हृदय तुलाधर र अनिता नकर्मीले गर्नुभएको थियो । पूजामा महत्वपूर्ण सहयोगीको भूमिका कृष्णमाया महर्जन, मुना डंगोल र सरिता श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा नेवाः गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहले इहीमा सहभागी ६ जना कन्या एलिसा थांजु, सिचु श्रेष्ठ, युरिका डंगोल, नेहा श्रेष्ठ, अटुमन राई श्रेष्ठ, र जयदा अमात्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    अध्यक्ष सिंहले सहभागीहरु र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेवाः गुठीले नेवाहरुको कला, संस्कृतिलाई बचाइराख्न, भावि पुस्तालाई देखाउने, सिकाउने र प्रवर्दन गर्दै आएको बताउँदै प्रत्येक वर्ष आफ्नो कार्यक्रम गर्दै आएकोले यसलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

    नेवाः गुठी न्युयोर्कले नयाँ वर्षको भिन्तुना कार्यक्रम, इन्द्रजात्रा कार्यक्रम, म्हपूजा, रञ्जना लिपि सिकाउने धिमय बाजा सिकाउने, धिमय नाच सिकाउने लगायत प्रत्येक वर्ष सामूहिक व्रतबन्ध(कायता पूजा) र इही पूजा गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा झन्डै १५० जनाको सहभागिता थियो । कार्यक्रमको अन्त्यमा नेवारी भोजको आयोजना गरिएको थियो ।

  • सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । घटनामा कम्तिमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटनामा परेको थियो । ५२ जना घाइते भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

    दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान सात बजेर २० मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे लगिदैछ ।

  • सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो

    सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो

    काठमाडौं । लितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

  • काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

    काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

    काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको हो।

    यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको एसपी रेग्मीले बताए। छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको एसपी रेग्मीले बताए। ‘यी सवारी साधनमाथि आवश्यक कारबाही गर्न हामीले सम्बन्धित निकायलाई पत्र लेखिसकेका छौं,’ उनले भने, ‘ब्लुबुक नै नभएका र नवीकरण नगर्ने सवारीसाधनहरू भेटिएका छन्।’

  • बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो ।

    सो दुर्घटनामा परी मोटरसाइकल चालक ३३ वर्षीय धनबहादुर जोगीको मृत्यु भएको प्रहरीले बताएको छ । पैदल यात्री उर्लावारीका ४५ वर्षीय रामकिशोर चौधरी र मोटरसाइकलमा सवार दर्पण जोगी घाइते छन् । सोमबार नै चतराबाट पकली तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुनसरीको बराहक्षेत्र ५ जमटोकीस्थित पकली–चतरा सडकखण्डमा विद्युतको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते छन् ।

  • पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

    पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

    काठमाडौं । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए । उनका अनुसार शनिबार साँझ ६.३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    हावाहुरी, र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुन गोठमा जान पिँढीमा निस्किँदा एक्कासि चट्याङ लागेको थियो । त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीको टोली अहिले दुवै घटनास्थलमा मुचुल्काका लागि पुगेको र थप विवरण पछि आउने उनले बताए । शनिबार साँझ परेको वर्षासँगैको असिनाले पनि पर्वतको मोदी गाउँपालिकामा ठूलो नोक्सानी पुर्‍याएको छ । सुन्तलाको पकेट क्षेत्र रहेको वडा नं २ देउपुरमा भर्खरै फल लाग्न थालेका सुन्तला झारेर नष्ट गरिदिएको स्थानीय प्रकाश चापागाइँले जानकारी दिए ।

  • दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु

    दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु

    काठमाडौं । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

    आन्द्राभरैयाका ४ बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।

    पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए । उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री

    नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथली सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले सुरक्षामा सम्झौता नहुने बताए ।

    गृहमन्त्री लामिछानेले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए । उनले काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि उल्लेख गरे ।

  • डोल्पामा डढेलोमा परी तीन बालक गम्भीर घाइते

    डोल्पामा डढेलोमा परी तीन बालक गम्भीर घाइते

    काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले स्थानयि सञ्चारमध्यमलाई जानकारी गराएका छन् ।

    दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेको समाचारमा उल्लेख छ । गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ । थप दुई जनाको उपचार जारी छ ।

  • भोजपुरमा पौडी खेल्दा दुई युवकको मृत्यु

    भोजपुरमा पौडी खेल्दा दुई युवकको मृत्यु

    काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

  • बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

    बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

    काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।

    सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकेर दिउँसो ३ बजेदेखि भैरवको रथ तान्न सुरु गर्ने योजना रहेको उनले जानकारी दिइन् । दिउँसो ३ बजेदेखि रथ तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने तयारी छ । गुठी संस्थान भक्तपुरले रथयात्राको सम्पूर्ण खर्च व्यवस्थापन गरेको छ ।

    लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

    चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि बिस्केट जात्रा सुरु हुने परम्परा छ । रथ तान्ने क्रममा टोलवासीबीच ढुंगा हानाहान र झडप हुने गरेकाले शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । जात्रालाई मर्यादित बनाउन मदिरा बिक्रीवितरणमा रोक समेत लगाइएको छ । जात्रा सुरु हुनुपूर्व शान्ति र सद्भावको कामना गर्दै भक्तपुर नगरपालिकाले बिहान दत्तात्रय मन्दिरदेखि न्यातपोलसम्म र्‍याली आयोजना गरेको छ ।

  • डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

    डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

    काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो ।

    यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो । उनका अनुसार, डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो । तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा उनीहरु निस्किन सकेका थिएनन् ।

  • सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

    सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

    काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । यसबारे अध्ययन गर्न छानबिन समिति समेत गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । आगलागी नियन्त्रणमा लिन लामो समय लागेको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको छ । यसका साथै स्काभेटर, दमकल, ट्याङ्करसहित १ हजार बढी सुरक्षाफौज परिचालन गरिएको छ ।

    उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिन खटिएका थिए । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको थियो ।