Category: समाचार

  • शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    काठमाडौँ, १ असोजः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उनले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गरे ।


    मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गरे । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    आयोगका अध्यक्ष डा लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताए । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

  • सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

    सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

    काठमाडौँ, १ असोजः युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो । निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ । यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ ।

    तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घरमहासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकाले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ ।

    बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिँदै नेपालमा रोजगारी गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्रसहित सबै सरोकार भएका निकायले सहकार्य गरी सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोसेढुङ्गा बन्ने उनले बताए ।

  • बाढीपहिरो पीडितका लागि यूएईद्वारा १० मिलियन डलर राहत

    बाढीपहिरो पीडितका लागि यूएईद्वारा १० मिलियन डलर राहत


    १ असोज, काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १० मिलियन अमेरिकी डलर (डेढ अर्ब रुपैयाँ) बराबरको आपतकालीन राहत सहायता गर्ने भएको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता उपलब्ध गराइएको हो । यूएई एड एजेन्सीमार्फत परिचालन गरिएको सहयोग बाढीपहिरो प्रभावित समुदायलाई तत्काल राहत, अत्यावश्यक सामग्रीको व्यवस्थापन तथा पुनःस्थापना र पुनरुत्थानमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रित गरिएको यूएईले जनाएको छ ।


    राहत कार्यक्रमअन्तर्गत यूएईले मानवीय सहायता सामग्री बोकेका विमानहरु नेपाल पठाएको छ । पहिलो चरणमा ८३ टन खाद्यान्न, आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सामग्री नेपाल पठाइएको थियो । उक्त राहत सामग्री बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न प्रयोग गरिने जनाइएको छ ।


    त्यसपछि दोस्रो चरणमा थप ४५ टन राहत सामग्री नेपाल पठाइएको छ । दोस्रो विमानमा खाद्यान्न तथा आश्रय सामग्रीका साथै विद्युत् आपूर्तिमा समस्या भएका क्षेत्रमा प्रयोग गर्न सकिने जेनरेटर र अन्य अत्यावश्यक सामग्रीसमेत रहेको यूएईको सरकारी समाचार संस्था वामले जनाएको छ ।


    यूएईका अनुसार राहत सामग्री नेपालस्थित यूएई दूतावास तथा सम्बन्धित नेपाली निकायसँगको समन्वयमा प्रभावित समुदायसम्म पु¥याइनेछ । विशेषगरी विपत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने प्राथमिकता राखिएको छ ।


    नेपालमा आएको प्राकृतिक विपत्तिप्रति यूएईले यसअघि नै दुःख व्यक्त गर्दै पीडित परिवार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको थियो । त्यसलगत्तै राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा आपतकालीन राहत प्याकेज घोषणा गरिएको हो । यूएईमा ७ लाखको हाराहारीमा नेपालीहरु रहेको जनाइएको छ ।

  • गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    १ असोज, यूएई । गुल्मी सेवा समाज, यूएईको आयोजनामा तीज फेस्टिभल २०२६ सम्पन्न भएको छ । अगष्ट २३ आइतबारका दिन बरदुबईस्थित जया किचनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारीको प्रमुख आतिथ्यता तथा गुल्मी सेवा समाज, यूएईका अध्यक्ष जीवनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

    सांगीतिक कार्यक्रममा लोक गायिका सुस्मा शाही ठकुरी, यूएईका स्थानीय कलाकारहरु रुद्र थापा, ध्रुव कुँवर, नारायण सुनार, पवित्रा टण्डन गायक तथा सांस्कृतिक विभाग प्रमुख विनय खत्रीको प्रस्तुति रहेको थियो । नेपाली सांस्कृतिक, परम्परा र मौलिक चाडपर्वहरुको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सेवाको उद्देश्यलाई जोडेर आयोजना गरिएको उक्त कार्यक्रमबाट संकलित वचत रकम समाजसेवाका क्षेत्रमा उपयोग गरिने समाजका अध्यक्ष जीवनसिंह ठकुरीले बताए ।

  • विश्वकर्मा समाज नेपाल, यूएईमा पुनः सुनार

    विश्वकर्मा समाज नेपाल, यूएईमा पुनः सुनार

    १ असोज, यूएई । विश्वकर्मा समाज नेपाल, यूएईको चौथो केन्द्रीय अधिवेशनले दुर्गाबहादुर सुनारलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । अगष्ट २ मा दुबईस्थित याक एण्ड यती क्लब एभरेष्टको हलमा आयोजित उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्ष गामबहादुर विक, उपाध्यक्ष बाबुराम सुनार, महिला उपाध्यक्ष सुमित्रा गहतराज, उपाध्यक्ष शंकर बराल, उपाध्यक्ष मनबहादुर सुनार, उपाध्यक्ष हुमराज विक, महासचिव किरण विश्वकर्मा, कोषाध्यक्ष हिरालाल सुनार विश्वकर्मा, सचिव श्यामकुमार विश्वकर्मा, सचिव सुरज बिसी, सचिव रामबहादुर सुनार (संगम), सचिव अमृत विक, सहकोषाध्यक्ष रामबहादुर सुनार, सहकोषाध्यक्ष प्रवीन बराइली, प्रवक्ता दुजमान सुनार, महिला संयोजक सुष्मा सुनार, प्रशिक्षक तथा परामर्श संयोजक चन्द्र विक र सांस्कृतिक संयोजक नारायण सुनारलाई चयन गरेको छ ।


    त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः दीपक सुनार, मिलन विक, दिनेश सुनार, सुनीता विक, पञ्चराम विक, बाबुराम विक, निर्मला विक, गोकर्ण सुनार, गोविन्द तिरुवा, धनराज विक र कल्पना सुनारलाई चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं रहेका थिए भने यूएईमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्मा तथा निर्वाचन समिति सदस्यहरु रत्न विक र शंकर सुनारले नयाँ कार्यसमिति घोषणा गरेका थिए । नयाँ निर्वाचित कार्यसमितिलाई ओहोदाको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम सुरज बिसी र सुष्मा सुनारले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

  • यूएईमा मनाइयो ३२औं विश्व आदिवासी दिवस

    यूएईमा मनाइयो ३२औं विश्व आदिवासी दिवस

    १ असोज, यूएई । नेपाल आदिवासी जनजाति महासंघ, यूएईले ३२औं विश्व आदिवासी दिवस २०२६ सम्पन्न गरेको छ । कार्यक्रम ५ अगष्टका दिन दुबईस्थित क्लब एसके सेवेनमा आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भागरथीकुमार भगतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए ।


    संयुक्त राष्ट्रसंघले दिएको मान्यताअनुसार विश्वभरका जनजातिहरुले मनाउने विश्व आदिवासी दिवस अगष्ट ९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका परम्परागत र सांस्कृतिक परिकारहरुको प्रदर्शनी पनि राखिएको थियो । यसैगरी विभिन्न जातजातिहरुका मौलिक भेषभूषा र सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको महासंघका अध्यक्ष भागरथीकुमार भगतले बताए ।


    उक्त कार्यक्रमको संयोजक महासंघका उपाध्यक्ष बुद्धबहादुर तामाङ रहेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव मनीसा सुब्बा र सचिव देव भुजेलले गरेका थिए । झाँकी सञ्चालन किसनलाल चौधरी र देवीमाया सुनुवारले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    नेपाल आदिवासी जनजाति महासंघ, यूएईमा रहेको १२ वटा जातीय संस्थाहरुको नेतृत्व गर्ने संस्था हो । तमु, मगर, तामाङ, राई, लिम्बु, नेवार, शेर्पा, थारु, भुजेल, सुनुवार, कुमाल र राजवंशी गरी १२ जातीय संघसंस्थाहरु यूएईमा क्रियाशील रहेका छन् र सबै जातीय संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका छन् ।

  • बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र


    म्याग्दी, १ असोजः चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीब्र पारिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो । फरकफरक प्याकेजमा ठेक्कामार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथामसँगै ढलान गरेर स्तरोन्नति गर्ने काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    “बर्खायाम र कोरला नाकामा आवतजावत गर्ने सवारीसाधनको चापका बाबजुद सडक स्तरोन्नतिको कामले निरन्तरता पाएको छ”, उनले भने, “यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ । बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौँ ।”

    आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे, बैसरी क्षेत्रमा एक किलोमिटर २०० मिटर सडक ढलान र विभिन्न ठाउँमा दुई हजार ३०० घनमिटर ग्यावियन, पलम र कङ्क्रिट पर्खाल निर्माणका लागि रु सात करोड ३० लाखमा शङ्करश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ ।

    गत वैशाखमा सम्झौता गरेका उक्त कम्पनीले बर्खायाममा पनि निर्माणलाई निरन्तरता दिएको छ । रु आठ करोड मा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी खण्डमा टेवा पर्खाल, कल्भर्ट निर्माण र ढलानको काम गरिरहेको छ । भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम तथा सवारीसाधनको चापका कारण रोकिएको छ ।

    ठेक्कामार्फत एक हजार ८९० घनमिटर ग्याविन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरेर सडक संरक्षण गरी करिब दुई किलोमिटर ९चार हजार ३७१ घनमिटर० सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिए । जोखिमयुक्त र सवारीसाधन आवतजावत प्रभावित बनाएका सिरुवारी, तातोपानीलगायत ठाउँका पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययनको चरणमा रहेको छ । यसअघि रु २५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।

    कमजोर भू–बनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण सिधा यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताए ।

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

    १ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । उनले आजै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    शुक्रवार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सोही दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता हुनेछ । साथै उनी भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शनिवार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ ।

    सोही दिन दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शनिबार नै उनी नेपाल फिर्ता हुनेछन् । भ्रमण टोलीमा सहसचिव अमृत लम्साल (अर्थ मन्त्राल), सहसचिव गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय, उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, नेपाली राजदूताबास नयाँदिल्ली, इकोनोमिक्स मिनिस्टर, तारानाथ अधिकारी,नेपाली राजदूताबास नयाँदिल्ली र उपसचिव कञ्चन बस्नेत, निजी उप सचिव, अर्थमन्त्री, सहभागी छन् ।

  • अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

    अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

    चितवन, १ असोजः अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।

    पूर्ण रुपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि सडक सञ्चालनमा ल्याइएको हो । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो । दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो । आजदेखि भने नियमित गरिएको हो ।

    कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आजदेखि सञ्चालनमा ल्याइएको छ ।
    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए । लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी आवतजावत गर्न पाएका थिएनन् । यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ ।

    गत भदौ १० गते भोटेकोशी बाढीपछि बढेको त्रिशूलीमा १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो । अन्य ठाउँमा सहज भए पनि कृष्णभिरमा पूरै भासिएपछि समस्या भएको हो । यो सडक हुँदै दैनिक १४ हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

  • नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

    नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने


    काठमाडौँ, १ असोजः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२, १४ र १६ गते आयोजना हुने भएको हो । क्यानका सचिव पारस खड्काले भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा नेपालले बङ्लादेशविरुद्ध सिरिज खेल्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख गरे ।


    “आगामी मार्चमा हुने नेपाल र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने जानकारी गराउन पाउँदा खुसी छौँ”, पारसले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्, “क्रिकेटभन्दा टाढा यो शृङ्खलाले नेपाल र बङ्लादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश प्रवाह गर्नेछ । दुई छिमेकी राष्ट्र नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै क्रिकेटप्रति पनि समान प्रेम छ ।”

    सचिव खड्काले शृङ्खला खेल्न तयार भएकामा बङ्लादेश क्रिकेट बोर्डप्रति आभारसमेत व्यक्त गरेका छन् । नेपाल र बङ्लादेशबीचको शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्टेडियममा हुने क्यानले जनाएको छ ।

  • सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

    सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

    काठमाडौँ, ३१ भदौः यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ । विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो ।

    काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ । विभागका निर्देशक मणिराम भुसालले काठमाडौँ उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए ।
    यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकामा गत साउन १८ गते एक सूचना जारी गरी मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो ।

  • चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    रसुवा, ३१ भदौः चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
    नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।


    उनका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकुल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो । बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसमेत गरी छ कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिए ।

    नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत् केन्द्रभित्र फसेका कर्मचारीको उद्धारको कामलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखेको प्रजिअ पाण्डेले बताए ।
    यसैगरी, खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट आजै पाँच जनाको शव फेला पारेको छ । उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

  • मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

    मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

    काठमाडौँ, ३१ भदौः सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीसहित चार जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    यस्तै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । बासिन्दा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखेको हितको लाभ रकममा पाँच प्रतिशत अग्रिम कर कायम गरिएको छ ।

    मन्त्रिपरिषद्ले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकम प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बिमा तथा क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको छ । बैठकले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ र चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

  • प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    काठमाडौँ, ३१ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालले जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले रसुवाका बाढीपीडितप्रति देखाएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गरे ।


    उनले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गरे । जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले जापानसँग विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत सहयोगको अपेक्षा व्यक्त गरे । त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उनले नेपालमा बाढी तथा यस्ता विपदहरुको उच्च जोखिम रहेको उल्लेख गर्दै यसका कारण तथा क्षतिका बारेमा थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको विषयमा जोड दिए ।
    राजदूत तोरुले नेपाल–जापानबीच आपसी सम्बन्धका विविध आयामहरूमा रहिआएको उल्लेख गर्दै सहकार्यका साथै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत विषयमा आफ्ना धारणा राखेका थिए । जापान लामो समयदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ ।

  • जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ, ३१ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आज यहाँ आयोजित दोस्रो संस्करणको ‘मोफा नलेज फोरम’ मा ‘जलवायु कूटनीति’ विषयमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको विषय बहुपक्षीय भए पनि त्यसका लागि दीर्घकालीन संस्थागत संरचना आवश्यक रहेको बताए ।


    “जलवायु परिवर्तनको विषय बहुपक्षीय विषय हो । तर त्यसको लागि हामीले दीर्घकालीन संस्थाको निर्माण गर्नुपर्छ,” उनले भने । मन्त्री खनालले सही संस्थाहरूको निर्माण गरी बहुपक्षीय संस्थाहरूसँग समन्वय गर्न सकेमा मात्रै जलवायु परिवर्तनका विषयमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे ।


    उनले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप)मा विषयहरू आउने–जाने भए पनि नेपाललाई कस्तो संस्थागत संरचना आवश्यक छ र त्यसलाई अन्तरराष्ट्रिय मञ्चमा कसरी बलियो रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । “नेपाललाई कस्तो संस्था चाहिन्छ र हामीले कुन अन्तरराष्ट्रिय फोरममा बलियो रूपमा प्रस्तुत गर्न सक्छौँ भन्ने कुरा महत्वपूर्ण विषय हो,” मन्त्री खनालले भने ।

    छलफलमा जलवायु परिवर्तनका विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा काम गरिसकेका तथा गरिरहेका विज्ञहरूसँग सुझाव तथा परामर्श लिइएको थियो । कार्यक्रममा सहभागीहरूलाई आफ्ना सल्लाह तथा सुझाव दिन आग्रह गरिएको थियो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घमा नेपालको सहभागिता तथा त्यहाँ नेपालले जलवायु परिवर्तनका विषयमा गर्नुपर्ने प्रस्तुतीकरणबारे पनि छलफल भएको थियो ।

  • सरकारको दावि : उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री

    सरकारको दावि : उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री

    काठमाडौँ, ३१ भदौः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी रु ११० मा चिनी बिक्री भइरहेको जनाएको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ । चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मङ्गलबार सरोकारवालाहरूसँग छलफल गरेका थिए । बजारमा भने यो भन्दा निकै महंगोमा चिनी बिक्रि भइरहेको छ ।

  • बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

    बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

    काठमाडौँ, ३१ भदौः त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु नौ करोड २५ लाख सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे ।


    विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो । उपकुलपति, रजिष्ट्रार र रेक्टरले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरेका छन् ।

    त्यस्तै, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।

    कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो । विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

  • अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

    रासस
    काठमाडौँ, ३१ भदौः आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ । क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उहाँको सामु सर्वाधिक ठूलो चुनौती थियो, एसिसी एसिया कपमा छनोट हुनु ।

    नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँ नेतृत्वको नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो । जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजय व्यहोयो । समूह विजेताको हैसियतामा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो ।

    फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो । नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो । उनले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राखे । सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । टोलीको सफलतामा निर्णायक प्रदर्शन गरेका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनी एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन भएका हुन् ।


    कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गरेका थिए । उनले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ । “एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो । उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहेका छन्, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ”, चौधरीले रासससँग भने, “प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गरे, टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उनको कप्तानी उत्कृष्ट रह्यो । आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ ।”

    क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहेका चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताए । टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उनले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताए । “सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो”, चौधरीले भने ।


    उनले अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताए । नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ । “नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ । जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ । यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन ।

    एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ । नेपालले त्यसको फाइदा उठाउन सक्छ”, पूर्वखेलाडी चौधरीले भने । ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ । नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ । शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ ।

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    सर्लाही, ३१ भदौः सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश०३–०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो । दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो ।

    दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ ।

    तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    चट्याङबाट बालिकाको मृत्यु

    त्यसैगरी, सर्लाहीको बागमतीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मङ्गलबार साँझ बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लागेर सोही स्थान बस्ने ठाकुरसिंह मोक्तानकी छोरी १२ वर्षीया दीना मोक्तानको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

    सोही घटनामा पर्नुभएकी हस्तबहादुर बम्जनको छोरी ११ वर्षीया प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते हुनुभएको छ । घाइते प्रतिमालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएकोे प्रहरीले जनाएको छ । अर्का घाइते पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष गौतमले जानकारी दिए ।

  • आज सर्वदलीय बैठक बस्दै

    आज सर्वदलीय बैठक बस्दै

    काठमाडौँ, ३१ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दैछ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने जनाइएको छ।

  • मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

    लमजुङ, ३१ भदौः मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो ।

    मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी)हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर आसपास रहेको देखाएका छन् । सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो । ती अध्ययन केही वर्षअघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के–कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेर गएको छ । विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछ ।

    नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन । तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको उनले बताए । “ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन । आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,” उनले भने । तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए ।
    प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उनको भनाइ छ । उनका अनुसार मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणसमेत बनेको छ । विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक २०० जना ताल क्षेत्रमा पुग्ने गरेको उनले बताए ।


    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताए । उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ । “ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन । जुनसुकै बेला जोखिम हुनसक्छ,” उनले भने ।


    जिल्लामा विपद् प्रतिकार्यको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको उनले बताए । जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

    ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उनले बताए । बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उनको भनाइ छ । यसैगरी, लालुपाते हाइड्रोपावरले डोना ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा अध्ययन भइरहेको प्रजिअ खनालले बताए । तालको जोखिम र त्यससँग जोडिएका संरचनालाई समेत ध्यानमा राखेर आवश्यक अध्ययन तथा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

    हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताए । हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार जोखिमयुक्त हिमतालको दुई–तीन वर्षको अन्तरालमा अनुगमन गर्नु आवश्यक हुन्छ ।

    सरकारले त्यस्ता हिमतालको स्थलगत निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्ने उनले बताए । मस्र्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरी त्रिशूली नदीमा मिसिन्छ । त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्र्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मस्र्याङ्दी नदीमा बाढी आएको खण्डमा जिल्लाको तल्लो तटीय क्षेत्र जोखिममा पर्न सक्ने बताए । उनका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही तल्लो क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत जोखिममा पर्न सक्छन् ।

    “मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन् । ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,” उनले भने । उनका अनुसार ठूलो आयामको विपद् आएमा अहिलेको स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुनसक्छ । त्यसैले पूर्वसूचना प्रवाह गर्ने तथा मानवीय जीवन जोगाउने विषयलाई प्राथमिकतामा राखेर विपद् तयारी गरिएको उनले बताए ।


    बाढीको जोखिमलाई पूर्ण रूपमा रोक्न नसकिए पनि नियमित अनुगमन, जोखिमको पुनःमूल्याङ्कन, पूर्वसूचना प्रणाली, सम्भावित बाढीको बहाव क्षेत्रको पहिचान तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ । मस्र्याङ्दी नदी आसपासमा बस्तीका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधार रहेकाले हिमतालको जोखिमलाई माथिल्लो हिमाली क्षेत्रमा मात्र सीमित विषयका रूपमा नहेरी तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिन्छ ।

  • भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन गृहमन्त्री गुरुङको चासो

    भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन गृहमन्त्री गुरुङको चासो

    भक्तपुर, ३१ भदौः गृहमन्त्री सुधन गुरुङले मङ्गलबार जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गरेका छन् । भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । गृहमन्त्री गुरुङले आगलागी भएमा अग्नि नियन्त्रणका लागि ‘ड्रोन’ प्रविधि आइसकेको बताउँदै त्यसतर्फ पनि सरकारले ध्यान दिने बताए । उनले दमकलको अवस्थाका बारेमा चासो लिनाका साथै समस्या समाधानका लागि आफू लाग्ने बताए ।

    कार्यालयका प्रमुख धौभडेलले बेल्जियमको समूहले अग्नि नियन्त्रकलाई तालिम दिने गरेको जानकारी गराए । उनले दुईवटा ड्रोन ल्याउन सके अग्लो ठाउँमा लाग्ने आगो नियन्त्रणका लागि सहज हुने बताए । यस वर्ष सरकारले प्रविधि एवं उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ । पुराना दमकलको सङ्ग्रहालय निर्माण गर्न र कर्मचारीको समस्या समाधानमा चासो दिन उनले आग्रह गरे ।

    गृहमन्त्री गुरुङ दमकलको अवलोकनपछि राति नै नवदुर्गा मन्दिर पुगेका थिए । गृहमन्त्रीले नवदुर्गा मन्दिरमा दसैँको नवमीका दिन राति बलि दिने खमेय (राँगो) का बारेमा जानकारी लिए । नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा एवम् पर्व सञ्चालनका लागि सरकारले चासो दिनुपर्ने बताए । यसबीच गृहमन्त्री गुरुङले कमलविनायक बजार र कमलपोखरीको अवलोकन गरे । सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्थाका बारेमा उनलाई जानकारी गराए ।

  • लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

    लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

    रासस
    बाजुरा, ३१ भदौः बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आउनुभएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उहाँको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ ।

    सदरमुकाम मार्तडी नजिकै गडखेतका लालबहादुर हरेक दिन बिहानदेखि साँझसम्म तरकारी बारीमै व्यस्त हुनुहुन्छ । उहाँले हाल करिब १२ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

    “सुरुमा तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ भन्ने विश्वास कम थियो । गाउँघरमा परम्परागत रूपमा अन्नबाली लगाउने चलन रहेकाले व्यावसायिक खेतीतर्फ किसानको खासै आकर्षण थिएन,” उहाँले भन्नुभयो, “अहिले भने आफूले उत्पादन गरेको तरकारीबाट आम्दानी हुन थालेपछि अन्य किसान पनि यसतर्फ आकर्षित भएका छन् ।”

    सहरबाट फर्किएर गाउँमै उद्यम

    लालबहादुर विसं २०७५ मा बाजुराबाट सङ्घीय राजधानी काठमाडौँ जानुभयो । नेपाली सेनामा कार्यरत उहाँकी साली पुनम रावलले तरकारी खेती गर्न काठमाडौँ आउन आग्रह गरेपछि लालबहादुरले पाँच वर्ष त्यतै व्यावसायिक तरकारी खेती गर्नुभयो ।

    “तीन रोपनी क्षेत्रफलमा १५ वटा टनेलमा तरकारी खेती गरिरहेको थिए । त्यहाँ बजारको कुनै समस्या थिएन, बारीमै बिक्री हुन्थ्यो । त्यो बेचेर वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन्थ्यो । दुईवटा गाई थिए, दिनमा ३५ लिटर दूध बेच्थेँ, राम्रो थियो,” ऐडीले भन्नुभयो ।

    काठमाडौँमा सेवासुविधा र बजारको सहजता भए पनि आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले उहाँ पुनः गाउँ फर्किनुभयो । गाउँ फर्किएपछि व्यावसायिक खेती गर्ने सोचका साथ उहाँले हिमाल बहुउद्देश्यीय कृषि फार्म दर्ता गर्नुभयो । केही आफ्नै जग्गा र केही भाडामा लिएर उहाँले गोलभेँडा, लौका, काँक्रो, प्याज, काउली, बोडीलगायत विभिन्न किसिमका तरकारी लगाउनुभएको छ ।

    वार्षिक १५ लाखको तरकारी बिक्री

    व्यावसायिक खेतीमा जम्नुभएका लालबहादुरको बारीबाट वार्षिक रु १५ लाख बराबरको तरकारी बिक्री हुने गरेको छ । उत्पादित तरकारी सदरमुकाम मार्तडी, बाम्का लगायतका बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उत्पादन भएको तरकारी घरमै आएर खरिद गर्ने व्यापारीदेखि स्थानीय बजारसम्म पुग्ने गरेको उहाँको भनाइ छ ।

    उहाँको बारीमा सबैभन्दा बढी गोलभेँडा छ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । सबै तरकारी बिक्रीबाट वार्षिक रूपमा रु आठ लाख बचत हुने गरेको उहाँले सुनाउनुभयो ।

    परम्परागत रूपमा अन्नबाली उत्पादन गर्दै आउनुभएका ऐडीले त्यसबाट हुने आम्दानीको तुलनामा तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउनुभयो । थोरै क्षेत्रफलमा मेहनत र लगानी गर्न सके तरकारीबाट छोटो समयमै आम्दानी लिन सकिनेमा उहाँ ढुक्क देखिनुहुन्छ ।

    मेहनतअनुसार आम्दानी हुने भएकाले आफूलाई यो काममा सन्तुष्टि मिलेको उहाँको भनाइ छ । “यसमा काम धेरै छ, तर मेहनत गरेअनुसार आम्दानी पनि हुन्छ,” उहाँ भन्नुहुन्छ, “आफ्नै जमिनमा परिवारका सदस्य मिलेर काम गर्न सकिने भएकाले बाहिर गएर रोजगारी खोज्नुपर्ने वाध्यता हुँदैन ।”

    गाउँभरि फैलियो तरकारी खेती

    गडखेतमा ३५ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये हाल २५ परिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन् । उनीहरूको मुख्य आम्दानीको स्रोत नै तरकारी बन्न थालेको छ ।

    ऐडीले सुरु गरेको व्यावसायिक खेती अहिले उहाँको व्यक्तिगत व्यवसायमा मात्रै सीमित छैन । उहाँको सफलताबाट प्रभावित भएर गाउँका अन्य किसानले पनि त्यसलाई अनुसरण गरेका छन् । यसले गाउँमा तरकारी उत्पादनको क्षेत्र विस्तार हुनाका साथै किसानको आयआर्जनको स्रोत बढाएको छ ।

    लालबहादुर काठमाडौँबाट गाउँ फर्किएर व्यावसायिक तरकारी खेती गर्ने गाउँकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । निर्वाहमुखी रूपमा सबैले उत्पादन गरे पनि व्यावसायिक रूपमा खेती गर्ने कोही थिएनन् । जब लालबहादुरले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभयो, त्यसपछि गाउँका धेरैजसो बारीमा टनेल देखिन थालेका छन् । “सुरुमा मैले मात्रै तरकारी खेती गरेको थिएँ,” ऐडीले भन्नुभयो, “तरकारी बिक्री गरेर राम्रो आम्दानी हुन थालेपछि गाउँका अरू किसानले पनि यसबाट राम्रो आम्दानी हुने रहेछ भन्ने ठानेर सुरु गर्नुभयो । यो मेरा लागि गौरवको विषय हो ।”

    एक जनाबाट सुरु भएको व्यावसायिक खेती विस्तार हुँदै गएपछि अहिले गाउँको पहिचान नै बदलिएको छ । खेतबारीमा देखिने टनेल, दैनिक बजार जाने तरकारीका भारी र त्यसबाट भइरहेको आम्दानीले गडखेतलाई तरकारीको पकेट क्षेत्रका रूपमा चिनाउँदै लगेको छ ।

    “मेरो दैनिक तीन भारीसम्म हुन्छ, अरूले एक–दुई भारी बजार पठाएकै हुन्छन्,” लालबहादुरले भन्नुभयो, “गाउँका सबै खुसी छन् । सीप सिकेर खान पायौँ, बिक्री गर्न पायौँ भनेर धन्यवाद दिइरहेका छन् ।” गाउँका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न ऐडीले आफ्नो अनुभव पनि बाँड्दै आउनुभएको छ । कुन समयमा कुन तरकारी लगाउने, कसरी खेत तयार गर्ने, उत्पादन बढाउन के कुरामा ध्यान दिने लगायतका विषयमा आफूले जानेका कुरा अरू किसानलाई बताउने गरेको उहाँ सुनाउनुहुन्छ ।

    रोजगारी र आम्दानीको आधार

    तरकारी खेती लालबहादुरका लागि केवल आम्दानीको माध्यम मात्रै बनेको छैन, परिवारको रोजगारीको आधार बनेको छ । वर्षभरि खेतबारीमा काम गर्नुपर्ने भएकाले परिवारका सदस्यलाई कामको अवसर मिलेको छ ।

    विदेश वा सहरमा रोजगारी खोज्नुभन्दा आफ्नै गाउँमा व्यावसायिक कृषि गर्न सके आम्दानीको राम्रो स्रोत बनाउन सकिने उहाँको बुझाइ छ । तरकारी खेतीबाट नियमित आम्दानी हुन थालेपछि कृषि पेसाप्रति उहाँको विश्वास बढेको छ । “आफ्नै गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मेरो अनुभव हो,” उहाँले भन्नुभयो, “तरकारी खेतीलाई व्यावसायिक रूपमा गर्न सक्ने हो भने परिवार पाल्न र आम्दानी गर्न समस्या हुँदैन ।”

    आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहेको उहाँले सुनाउनुभयो । बजारको मागअनुसार उत्पादन विस्तार गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्ने उहाँको सोच छ । उहाँलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साथ मिलेको छ । कृषि ज्ञान केन्द्र, बडीमालिकाले अनुदानमा वार्षिक टनेल तथा बीउ उपलब्ध गराउँदै आएको छ ।

    तरकारीमा आत्मनिर्भर बन्ने बाटोमा छ बाजुरा’
    कृषि ज्ञान केन्द्रका अनुसार बाजुरा अझै तरकारीमा आत्मनिर्भर हुन सकेको छैन । अन्य समयको तुलनामा बेमौसमी ‘सिजन’मा बाहिरबाट जिल्लामा आयात हुने गरेको छ । मौसमी सिजनमा भने निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।

    “मुख्य गरी पुस–माघ चिसो महिनामा बाहिरबाट तरकारी भित्रिने गरेको छ,” उहाँले भन्नुभयो, “अन्य समयमा भने निर्यात हुने गरेको छ । अब बिस्तारै बाजुरा तरकारीमा आत्मनिर्भर बन्दैछ ।” जिल्लाका नौवटै स्थानीय तहका विभिन्न स्थानमा व्यावसायिक खेती भएकाले विगतको तुलनामा आयात क्रमशः घट्दै गएको न्यौपानेले बताउनुभयो ।

    उहाँका अनुसार आर्थिक वर्ष २०८१\८२ मा जिल्लामा ५० लाख ७२ हजार २६७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत आर्थिक वर्षको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै उहाँले उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो ।

  • सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

    काठमाडौँ, ३० भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो ।

    मन्त्रालयले आज परिपत्र जारी गर्दै निजामती सेवा नियमावलीअनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिइ साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ । यसले स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालय जनाएको छ ।

    मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन र अन्यथा कानुनबमोजिम हुने व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराएको छ । सरुवा भएका कर्मचारीलाई रमाना नगरी तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा उक्त विषयलाई बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न महालेखा परीक्षकको कार्यालयलाई र निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिदिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत आग्रह गरेको छ ।

  • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    मुस्ताङ, ३० भदौ ः प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।


    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१आँै महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधानलगायतका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी, जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

    विश्व व्यापीरुपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरु पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरु फुट्ने हिम नदीहरुको बहाव बढ्ने, पानीका मुहानहरु सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्याहरु हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधितामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ । हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्नुहँदै प्रधानमन्त्री वालेन्द्र शाहले शुभकामना सन्देशमार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताए ।


    स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छिन् । सो सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ । हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले अपुरणीय जनधनसहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा भइरहेको सो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

  • बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

    बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

    काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गरेका छन् । सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्यको उपचारलगायत अत्यावश्यक विषयको सम्बोधन सरकारले गर्नुपर्ने बताइन् ।


    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डिएनको परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई प्रश्न आउन थालेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बाँस्कोटाले अस्पतालको बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य र सञ्चार क्षेत्रका संहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरिन् ।


    नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजीमा तीव्रता दिन आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर मृत्यु भएका महिलाको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायत विषयमा ध्यान दिन आग्रह गरे ।


    नेकपाका सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्यालाई लिएर एक चेली लामो समयदेखि सडकमा रहेकाले यस्ता माग सम्बोधनका कानुन ल्याउन माग गरिन् । रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीलाई समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिन्छ भनेर अध्ययन र कडा कारवाही गर्न माग गरे ।


    सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गए राति आएको बाढीका कारण असुरक्षा भएकाले सचेतना अपनाउन आग्रह गरे । सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्ति सम्बन्ध वा सामाजिक विवाद कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान र कारबाही गर्न आग्रह गरे । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त नहुने भएकाले राहत र उद्धार कामले तीव्रता पाउन नसकेको बताए ।


    रास्वपाका सांसद मोहनलाल आचार्यले बाँडेगङ स्थितिबारे ध्यानाकर्षण गराए । सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी, नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले बाढी पहिरो र रोकथामका साथै सडक दुर्घटनाको गम्भीर अवस्थाबारे ध्यान दिन आग्रह गरे ।

  • बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    काठमाडौँ, ३० भदौः काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
    आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

    दुर्घटनामा स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइतेको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • प्रतिनिधिसभाः महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभाः महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ, ३० भदौः सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज गराउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरे ।


    सांसद वदनकुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको भन्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न माग गरे । सांसद प्रकाशचन्द्र परियारले नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरे । सांसद चन्द्रमोहन यादवले लोकतन्त्रमा नागरिकलाई त्रसित बनाउने कार्य स्वीकार्य नभएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।


    सांसद जगतप्रसाद जोशीले भारतीय सीमावर्ती क्षेत्रमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह बन्दै गएको भन्दै लागुऔषधको ओसरपसार र सेवन रोक्ने प्रभावकारी योजना सञ्चालन गर्न माग गरे । सांसद जगदीश खरेल (ललितपुर)ले भोटेकोशी बाढी मानव सिर्जित र प्राकृतिक विपद् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालय मातहतको राहत कोषको नाम परिमार्जन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरे ।


    सांसद जनकसिंह धाँमीले कञ्चनपुरका विभिन्न भेगमा अलपत्र सडक पूर्वाधार तत्काल सम्पन्न गर्न माग गरे । सांसद झविलाल डुम्रेले स्याङ्जाको वालिङ नगरपालिकामा ५० शय्यासम्म सञ्चालन गर्न सकिने अस्पताल भवन निर्माण भएको महिनौँ भइसकेको भन्दै तत्काल गण्डकी प्रदेश सरकारसँग समन्वय गरी अस्पताल सञ्चालन गर्न माग गरे ।


    सांसद टुकाभद्रा हमालले नागरिकको जीवनभन्दा अस्पतालको बिल ठूलो हुने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुरसिंह थारुले वैदेशिक रोजगारमा रहेका नागरिकले भोगिरहेका समस्या समाधान गर्न सरकारसँग माग गरे ।


    सांसद तारा विश्वकर्माले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षितस्थलमा दीर्घकालीन पुनःस्थापना गर्न माग गरे । सांसद ताहिर अलि भाटले आइतबारको सार्वजनिक बिदाले शैक्षिक क्षेत्रमा असर गरिरहेको भन्दै तत्काल उक्त बिदा पुनःरावलोकन गर्न सुझाव दिए । सांसद दीपकराज बोहराले रसुवा बाढीबाट कञ्चनपुरका २६ जना नागरिक बेपत्ता भएको भन्दै उनीहरूको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन माग गरे ।


    सांसद देवराज पाठकले दाङको भालुवाङ बजारमा १७ परिवारको छ बिगा सात कठ्ठा दुई धुर जग्गा सशस्त्र प्रहरी बलले कब्जा गरेको भन्दै जनताको सम्पत्ति आजसम्मको क्षतिपूर्तिसहित फिर्ता गर्न माग गरे ।
    सांसद धनबहादुर बुढाले डोल्पालगायत हिमाली क्षेत्रको शैक्षिक क्यालेण्डर परिमार्जन गरी मङ्सिरभित्रै शैक्षिक सत्र सम्पन्न हुने व्यवस्था गर्न माग गरे । सांसद धर्मराज केसीले प्राकृतिक विपत्तिपछि नेपालले विभिन्न निकायबाट प्राप्त गरेका रकम कहाँ, कति खर्च भयो भनेर तेस्रो निकायबाट ‘अडिट’ गर्न सुझाव दिए ।

    सांसद नरेन्द्रकुमार केरुङले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको निर्णयले बौद्धमार्गी चिन्तित भएका जनाउँदै सो निर्णय फिर्ता लिन माग गरे । सांसद नरेन्द्रकुमार गुप्ताले भोटेकोशी बाढीबाट पाठ सिकेर नदी करिडोर क्षेत्रमा रहेको जोखिमपूर्ण वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारलाई सुझाव दिए ।


    सांसद नितिमा भण्डारी कार्कीले भोटेकोशी बाढीमा हराइरहेका पेशाकर्मीका ठाउँमा उनीहरूको परिवारका योग्य सदस्यलाई रोजगारी र सामाजिक सुरक्षा दिन आग्रह गरिन् । सांसद निराशा चौधरी डगौराले सरकारका विभिन्न निकायमा काम गरिरहेका करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गरिन् । सांसद निश्कल राईले इलामस्थित विभिन्न चिया बगानमा रासायनिक मल र कीटनाशक विषादी प्रयोग भइरहेको पाइएको भन्दै यसको प्रयोगमा रोक लगाउन माग गरे ।


    सांसद निनुकुमारी कर्णले जेनजी आन्दोलनका क्रममा महेन्द्रनारायण निधिको घरमा आगजनी गर्ने व्यक्तिले खुलेआम अराजक अभिव्यक्ति दिइरहेको भन्दै आपराधिक मानसिकता भएका व्यक्तिलाई कानुनी कारबाही गर्न माग गरिन् । सांसद पवित्रा विकले बागवानी विकास केन्द्रलगायत अन्य कृषि निकायमा काम गर्ने एक हजार ५०० बढी प्राविधिक कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय फिर्ता लिन माग गरिन् ।


    सांसद पुकार बमले भोटेकोशी बाढी प्रभावित परिवारलाई क्षतिपूर्ति, राहत, बीमालगायत प्रक्रियामा हुने प्रशासनिक झन्झट अन्त्य गर्न माग गरे । सांसद प्रशान्त उप्रेतीले मकवानपुरका राक्सीराङ, कैलाश, थाहा, भीमफेदीलगायत क्षेत्रमा भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।


    सांसद प्रेमबहादुर बयकले निर्वाचनका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका सर्वसुलभ शिक्षा, स्वास्थ्यलगायत जनअपेक्षा पूरा गर्न माग गरे । सांसद पूर्णप्रसाद लिम्बू, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रदीप विष्ट, प्रमिला कुलुज, प्रमेशकुमार हमाल र प्रेमलाल चौधरीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग

    प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग


    काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरिन् । सभाको बैठकमा उपनेता अर्यालले सरकार र अन्य पक्षले राहत, खोज, उद्धार, पुनःनिर्माणका भइरहेका कामलाई तीव्रता दिन विदेशीसमेतको सहयोग समयमा लिनेगरी सरकारले पहल गर्न नसकेको टिप्पणी गरिन् ।


    उनले राजनीतिक दल, स्थानीय तह, समुदाय र विभिन्न समूहलाई परिचालन गरेर पुनःस्थापनाका लागि पहल गर्नुपर्ने भूकम्पपछिको पुनः निर्माणको विगतको अनुभवलाई ध्यान दिन आग्रह गर्दै त्यस्ता काममा आफूहरूसरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट गरिन् ।

    पुनः निर्माणका लागि स्वायत्त र अधिकारसम्पन्न विशेष निकाय (प्राधिकरण) गठन र अन्तरारष्ट्रिय समुदायको सहयोगमा द्रूत गतिमा काम गर्न सुझाव दिँदै जलवायु परिवर्तनका कारण नेपाले भोग्नुपरेको क्षति र पाउनुपर्ने न्यायबारे सशक्त आवाज उठाउन आग्रह अर्यालले गरिन् । उनले बजारमा खाना पकाउने ग्यासको अभाव, मूल्यवृद्धि आदिबारे सरकारको ध्यानाकर्षण गराइन् ।

  • पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

    पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

    काठमाडौँ, ३० भदौः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गरेका हुन् । पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा उनले अपिल गरेका छन् ।


    पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका (आगामी असोज १६ देखि १९ गतेसम्म) सार्वजनिक गरी एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको उनको आरोप छ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको दाबी उनको दावी छ ।

    पूर्वसभापति देउवाले भोटेकोशी बाढीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी र उद्धारमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गरेका छन् ।