Category: समाचार

  • साली नदीको दर्शन गर्न पुगे एमाले अध्यक्ष ओली

    साली नदीको दर्शन गर्न पुगे एमाले अध्यक्ष ओली

    काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्। स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्।

    त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा समेत गरेका ओलीको सचिवालयले जनाएको छ। स्वस्थानी ब्रत कथा आरम्भ भएसँगै साली नदीमा हरेक वर्ष मेला र धार्मिक महोत्सव लाग्ने गर्छ।

    एमाले अध्यक्ष ओली यसअघि पनि विभिन्न शक्तिपीठ र धार्मिक धामहरुमा घुम्दै आएका छन्। भौतिकवादी भनिने कम्युनिस्ट नेताले राजनीतिक फाइदाका लागि मठ–मन्दिर धाउने गरेको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना समेत हुँदै आएको छ।

  • पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

    पाकिस्तानमा कुनै पनि दलले ल्याएनन् बहुमत, सेनाको भूमिका शंकास्पद

    काठमाडौं । पाकिस्तानमा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताइएको छ । आम चुनावको अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जितेका छन् ।

    तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्। समाचारहरूका अनुसार शरिफको पीएमएल-एन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ। आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ। यस अवस्थामा सेनाको भूमिका शंकास्पद मानिएको छ । पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन्। जेनरल असिम मुनिरले एउटा स्थिर नेतृत्व आवश्यक रहेको बताए।
    चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन। एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्। उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।

    उक्त सन्देशमा भनिएको छः म तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ, तपाईँहरूले इतिहास रच्नुभएको छ। खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्। पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूको जित अनपेक्षित खालको छ। किनकि त्यहाँ कैयौँ विज्ञहरूले शरिफलाई देशको शक्तिशाली सेनाको साथ रहेको बताउँदै आएका थिए। तर चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।

  • आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

    आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आबुधाबी डायगल सुरु भएको छ । डायलगमा नेपालले गन्तव्य देशहरूले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । आबुधाबी डायलगमा श्रमिकले लिने र श्रमिक पठाउने २१ देशका श्रममन्त्री र श्रम अधिकारी सहभागी छन् ।

    शनिबार सुरु भएको पहिलो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले गन्तव्य देशले श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेका छन् । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारबाहेक अन्य देशले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गरेका छैनन् ।

    कतारले पनि न्यूनतम तलब एक हजार रियाल मात्रै निर्धारण गरेको छ । कतारले यसलाई पुनरालोकन गर्ने जनाउँदै आएको छ । यूएई, साउदी, कुवेत, बहराइन र ओमनले न्यूनतम तलब निर्धारण नगर्दा श्रमिकको करारपत्र परिवर्तन हुने गरेको छ ।

    बैठकमा श्रम सहसचिव पोखरेलले गन्तव्य देशहरूले एकै प्रकृतिको गुणस्तरीय करारपत्रलाई कार्यान्वयन ल्याउनुपर्ने, सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, न्यायोचित भर्ना अभ्यास र कार्यस्थलमा व्यावसायिक स्वास्थ्य तथा सुरक्षाको सुनिश्चिता हुनुपर्नेमा जोड दिएका छन् ।

    उच्च श्रम अधिकारीहरूको शनिबारको बैठकले आइतबार हुने मन्त्रीस्तरीय बैठकका लागि एजेन्डा तय गरेको छ । मन्त्रीस्तरीय बैठकमा श्रमिकको श्रम विवादलाई सम्बोधन गर्न प्रविधिको प्रयोग, तलब सुरक्षा, रेमिट्यान्सको उचित प्रयोग, घरेलु श्रमिकको अधिकार, श्रमिकको स्वास्थ्य परीक्षण, सीपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासमाथि छलफल हुने भएको हो ।

    डायलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय टोली आबुधाबी गएको छ । आबुधाबी डायलगपछि यो टोली फेब्रुअरी १२ देखि १४ सम्म यूएईमा हुने वर्ल्ड गभर्नमेन्ट समिटमा सहभागी हुने कार्यक्रम छ ।

  • ललितपुरमा आमा र दुई बच्चाको मृत्यु

    ललितपुरमा आमा र दुई बच्चाको मृत्यु

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गेका छन् । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनाललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    महर्जनको कोठामा दुई जना बच्चा बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु घोषित गरिएको समाचारमा उल्लेख छ । बच्चाहरुको मृत्युको कारण खुलेको छैन । ‘उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएको भए पनि घटना भएको समय श्रीमान घरमा नभएको पाइएको छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
    पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • कस्तो बन्नेछ आगामी बजेट ? यस्तो संकेत गरे अर्थमन्त्रीले

    कस्तो बन्नेछ आगामी बजेट ? यस्तो संकेत गरे अर्थमन्त्रीले

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।
    नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए ।

    ‘विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन्, उनले भने, अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ । उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे ।

    ‘चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ, उनले भने। उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए । मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उनले आग्रह गरे । अर्थतन्त्र बलियो बनाउनसके जनता र राज्य दुवै बलियो हुने भन्दै उनले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गरे ।

  • क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

    क्यानडासँगको खेलमा नेपालले के के बनायो कीर्तिमान ?

    काठमाडौं । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितसँगै नेपालले विभिन्न कीर्तिमान समेत बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाए ।

    अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रन बनाए । यस्तै, भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए । सोमपाल कामी र कुशल मल्ला समान९र९ रनमा नटआउट रहे । आजको जितसँगै तीन खेलको शृङ्खला नेपालले एक खेलअघि नै जितेको छ ।

  • लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

    लगातार दोस्रो खेलमा चम्किए कप्तान रोहित

    काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको योगदान दिएका थिए ।

    पहिलो खेलमा क्यानडालाई ७ रनले हराउन रोहित पौडेलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडालाई रोहितले मध्यक्रमका दुई प्रमुख ब्याटर परगत सिंह ३८ र निकोलस किर्तोनको २० रनमा विकेट लिँदै २८५ रनमा रोक्न सफल भएका थिए । एक समय ३ सय रन सजिलै कटाउने देखिएपनि रोहितले नेपाललाई खेलमा फर्काएका थिए ।

    जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहितपछि अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्कासहित ५० तथा देव खनालले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिएका थिए । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

  • क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

    क्यानडाविरुद्ध नेपालको प्रभावशाली जित

    काठमाडौं । नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै जितेको छ । शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै हात पारेको हो । नेपालले पहिलो खेल ७ रनले जितेको थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो। सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

    २८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो।। आजको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए। उनले १०१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरि ७१ रन बनाए। खेलमा अनिल शाहले विस्फोटक ब्याटिङ गरी आक्रामक सुरूवात गरेका थिए। उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए।

    अर्धशतक बनाएलगत्तै उनी आउट भएका थिए। आज कुशल भूर्तेलको स्थानमा उनलाई खेलाइएको थियो। अर्का ओपनर आशिफ शेख १० रन बनाएर आउट भए। देव खनालको विकेटपछि आएका भीम सार्कीले २१ बलमा ४ चौका हानेर २३ रन जोडे। पवन सर्राफले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १४ रन बनाए। त्यसपछि कुशल मल्ल र सोमपाल कामीले ९–९ रन प्रहार गरेका थिए।

    नेपालले ४५।१ ओभरमै लक्ष्य पूरा गरेको थियो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो। क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए। उनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा सोमपाल कामीबाट आउट हुनुअघि श्रीयस मोव्बाले ४० रन जोडे। उनले ४२ बलमा ४ चौका प्रहार गरे।

    त्यसअघि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए। अर्का ओपनर नवनीत धलिवलले ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाए। त्यस्तै पर्गत सिंहले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे। निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे। बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २र२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले ११ विकेट लिए।

  • एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

    एसीसी वुमन्स प्रिमियर कप-२०२४ : नेपाल विजयी

    काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकालेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटायो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन् । सीता रानामगर एक छक्का र एक चौकासहित ३६ रनमा अविजित रहिन् भने कविता कुँवरले ४ रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चानका मन बेट्टीले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकलले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको थियो ।

    हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान दुईरदुई, पुजा महतो र सीता रानामगरले एक–एक विकेट लिए । १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

  • पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

    पाकिस्तानको मतगणनामा के आइरहेको छ नतिजा ?

    काठमाडौं । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए(इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्। शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ। तीमध्ये सबैभन्दा धेरै ७० भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको बीबीसी उर्दूले जनाएको छ। पीटीआईमाथि देशभरि प्रतिबन्ध लगाइएपछि खान समर्थित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

    उनीहरूलाई पार्टीको निर्वाचन चिह्न क्रिकेटको ब्याट प्रयोग गर्न पनि निर्वाचन आयोगले रोक लगाएको थियो। गत वर्ष स्वैच्छिक निर्वासनबाट फर्किएका अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग (नवाज) पार्टीले स्वतन्त्र उम्मेदवारपछि सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ। यो दलले ६० भन्दा धेरै सिटमा जित हासिल गरेको छ। यो पार्टीका प्रमुख नवाज शरिफ लाहोरबाट विजयी भएका छन्। यसअघि तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफलाई पाकिस्तानको शक्तिशाली सेनाले साथ दिएको कतिपय विश्लेषकहरूले बताउँदै आएका छन्।

    निर्वाचनको पूरा नतिजा नआउँदै खान र शरीफको दलले आ(आफ्नो जितको दाबी गर्दै आएका छन्। मतपरिणाम आउन बाँकी क्षेत्र पाकिस्तानका विभिन्न प्रान्तहरूमा पर्छन्। ती क्षेत्रहरूमा यसअघि शरिफको दलले पकड देखिएको थियो। तेस्रो धेरै मत हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले ल्याएको छ। उक्त दलले शुक्रवार साँझसम्म ५० भन्दा धेरै क्षेत्रमा जित हासिल गरेको छ। जरदारी कम्बर शहादत्तकोट क्षेत्रबाट निर्वाचित भएका छन्।

    विश्लेषकहरूले हालसम्मको मत परिणामका आधारमा कुनै एक पार्टीले बहुमत पाउने प्रस्ट नदेखिएको बताएका छन्। निर्वाचन आयोगको नियम अनुसार स्वतन्त्र उम्मेदवारहरू चुनावमा निर्वाचित भएपछि निर्वाचन चिह्न भएको कुनै दलमा आबद्ध हुने ठानिएको छ। तहरिक(ए(इन्साफ पार्टीको चुनाव चिह्न नभएका कारण खानको दलले समर्थन गरेका उम्मेदवारहरू अर्को दलमा जानुपर्ने बाध्यता छ। उनीहरूलाई नवाज शरिफ र बिलावल भुट्टो जरदारी दुवैको दलले आफ्नो दलमा ल्याउन प्रयास गरिरहेका छन्।
    राजनीतिक विश्लेषक रफिउल्लाह काकड स्वतन्त्र उम्मेदवारहरूलाई जरदारीको दल र अर्को कुनै सानो दलसँग मिलेर गठबन्धन बनाउने वा खानको पीटीआईमै आबद्ध हुने व्यवस्था खोज्ने दुई विकल्प देखिएको बताउँछन्। पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्। राष्ट्रियसभा भनिने सङ्घीय संसद्‌सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५,००० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

  • आज सोनाम ल्होसार, देशभर मनाइंदै

    आज सोनाम ल्होसार, देशभर मनाइंदै

    काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

    भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

  • समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री

    समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताएका हुन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् ।

    उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरेका छन् । ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

    श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् । यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व रहेको उनको भनाइ छ ।

    साथै प्रधानमन्त्री प्रचण्डले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन् । उनले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

  • एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

    एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै

    काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन् । हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो ।

    हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान २र२, पुजा महतो र सीता रानामगरले एक–एक विकेट लिए ।

    १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

  • नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा

    नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा

    काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ ।

    आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामी बेन्चमा छन् । नेपालले तीन परिवर्तन गरेको छ । आकाशले डेब्यु गरेका छन् भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

  • नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

    नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।

    सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन् । वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए । उक्त कुरा पनि उनले स्मरण गरेका छन् । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसरका र उपायबारे कुराकानी गरेको उनले सम्झिएका छन् ।

    त्यसबेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए । ‘त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीरूले औपचारिक सम्झौताका लागि पटक–पटक छलफल गरेका थिए,’ उनको भनाइ छ, ’पर्थमा (यसपाली) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ । यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ ।’

  • नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

    नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासँग टी २० आई सिरिज खेल्ने भएको छ । सिरिजको तालिका सार्वजनिक भएको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।

    नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ (मार्च २) मा नेदरल्यान्ड्सँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले फागुन २२ मा (मार्च ५) मा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । सबै खेल बिहान साढे ११ बजे सुरु हुनेछन् ।

    नेपाली क्रिकेट टोली आगामी दुई महिना निकै ब्यस्त रहनेछ । नेपालले तीन खेलको ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ । पहिलो खेलमा नेपाल बिहीबार ७ रनले विजयी भएको थियो । क्यानडापछि लिग २ को सिरिज हुनेछ । लिग २ फागुन ३ देखि १३ सम्म हुनेछ ।

    नेपालले लिग २ मा फागुन ३ मा नामिबिया र फागुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल टी २० आई त्रिकोणात्मक सिरिजपछि हङकङ जानेछ । हङकङ, नेपाल, ओमान र युएईबीच चार देश सम्मिलित टी २० आई सिरिज पनि हुनेछ ।

  • विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

    विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरूवा भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। उनको काज सरूवा भएको हो।

    माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो

  • कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति, पुन: नामकरणको पहल गर्ने

    कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति, पुन: नामकरणको पहल गर्ने

    काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ ।

    सरकार र संयुक्तसंघर्ष समितिको आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो ।

    सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवम् आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ ।

    दोस्रोमा आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने भनिएको छ ।
    यस्ता छन् पाँच बुँदे सहमति

    १. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

    २. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

    ३. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

    ४. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

    ५. अर्काे वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।

  • अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी रानीपोखरी सरुवा

    अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी रानीपोखरी सरुवा

    काठमाडौं । अध्यागमन अधिकृतमाथि हातपात भएको घटनामा जोडिएका असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ ।

    असई सञ्जय तामाङ र दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको छ। माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो ।

    घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समिति गठन गरिएको थियो । सो समितिले घटनामा संलग्न प्रहरीलाई निलम्बन सिफारिस गरेको थियो । समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामा बुझाएका थिए।

    प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि उनी राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्।

  • नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा खुलायो रोजगारी

    नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा खुलायो रोजगारी

    काठमाडौं । नेपाल प्रहरीले १ हजार ८५६ जना जवानसहित ठूलो पदमा भर्ना खोलेको छ । भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने शुक्रबार सार्वजनिक सूचनामा उल्लेख छ ।

    प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो । दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ ।

    खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ । यसैगरी गत कात्तिक ३ गते भर्ना खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु

    बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु

    काठमाडौं । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ ।

    जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा बुधबार हाजिर जमानीमा रिहा भएका छन् ।

    भूमिसुधार कार्यालय काठमाडौंका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलका अनुसार कार्यालयका कर्मचारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधिले बिहीबार ग्रान्डी अस्पतालमा पुगी ठाकुरलाई बाटोको म्यादबाहेक २१ दिनभित्र उपस्थित हुन पत्र बुझाएका छन् । उनीहरुले ठाकुरलाई पत्र बुझाउँदा टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाललाई रोहबरमा राखेका छन् ।

    तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाले घाटामा गएको कारण देखाउँदै १३ भदौ २०४३ मा च्याम्पियन फुटवेयर प्रालिसँग प्रवद्र्धन सम्झौता गरेको थियो । सम्झौता अनुसार च्याम्पियनमा बाँसबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयर रहेको थियो । त्यसै अनुसार ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ता कारखानाको ६ रोपनी जग्गा प्रतिरोपनी २ लाख ५० हजार मूल्य कायम गरेर च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको थियो ।

  • पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता

    पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता

    काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी रहँदा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार अगाडि छन् ।

    पीटीआईका अध्यक्ष गौहर रजाले आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गरेका छन् । उनले जेलमा रहेका कैदी (इमरान खान) देशको प्रधानमन्त्री बन्ने दाबी समेत गरे । पाकिस्तानको नेशनल एसेम्लीमा कुल ३३६ सिटमध्ये २६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्दछ ।

    वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो । त्यसपछि पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका थिए । सरकारले पक्रेर जेलमा हालेका कतिपय उम्मेदवाररु जेलबाटै चुनाव लडेका छन् । सबैभन्दा धेरै सिटमा अग्रता देखिएपछि उत्साहित भएका पीटीआईका कार्यकर्ताहरुले ठाउँठाउँमा खुसियाली जुलुस निकालेका छन् ।

    पीटीआईको सुरुवाती अग्रतालाई अप्रत्यासित मानिएको छ । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । तर मत गणनाको सुरुवाती चरणमा शरीफको पार्टी दोस्रो र बिलावल भुट्टोको पार्टी तेस्रो स्थानमा छन् ।

    इमरान खान नेतृत्वको पार्टीका स्वतन्त्र उम्मेदवारहरु अग्रस्थानमा रहेपछि मत परिणाम सार्वजनिक गर्न ढिलाइ गरिरहेको आरोप निर्वाचन आयोगलाई लागेको द डनको अनलाइन संस्करणमा उल्लेख छ । विद्युतीय मेसिनबाट मतदानबाट गरिएकाले सबै निर्वाचन परिणाम आजै सार्वजनिक हुने अनुमान छ ।

  • विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

    विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

    काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए ।

    यो अहिलेसम्म नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनको भनाइ छ । सम्मेलनमा विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने अर्थमन्त्री डा। महतले बताए । त्यो अगाडि अप्रिल २८–२९ (१६–१७ वैशाख) मा नेपालमा लगानी सम्मेलन हुँदैछ ।

    लगानी सम्मेलनलाई उपलब्धिमूलक बनाउन सके नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी समेत बढ्ने सम्भावना रहेको उनले बताए । बैठकमा अर्थमन्त्री डा। महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको समेत बताए । उनले गम्भीर भएर परियोजनाको तयारी गर्न समेत निर्देशन दिए ।

    ‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने । लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउन लगानी सम्मेलनको प्रमुख ध्येय रहेको अर्थमन्त्री महतको भनाइ थियो ।

  • हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती

    हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती

    काठमाडौं । सरकारले हुलाकको संगठन संरचना परिवर्तन गर्दै १६ सय ३६ दरवन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुने भएको छ ।

    मन्त्रिपरिषदको निर्णयले हुलाकको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज भएका छन् । सरकारले संगठन तथा व्यवस्थापन(ओ एन्ड एम) सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ६३६ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गरेको हो ।


    चालु आर्थिक वर्ष २०८०–८१को बजेटले सरकारले जिल्ला र इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन भएको हो ।

    बजेटले सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न गर्नुपर्ने भनिएको थियो ।


    सरकारको निर्णयअनुसार हुलाकका खरिदारदेखि अधिकृतसम्मको दरबन्दी कटौती भएको छ । हुलाक सेवामा अहिलेसम्म कुल १७ हजारभन्दा बढी कर्मचारीको दरबन्दी थियो । त्यसमध्ये ६ हजारभन्दा बढी स्थायी दरबन्दी कायम भएकोमा १ हजार ६३६ सय कर्मचारीको दबरन्दी हटेको हो ।

    सरकारले हालका ८६२ वटा इलाका हुलाक कार्यालयहरुलाई पुनर्संचना गर्दै ६७६ स्थानीय तहको मुकाममा एक–एक वटा स्थानीय तहस्तरीय हुलाक कार्यालय स्थापना गर्ने गरी संगठन संरचनजा फेरेको छ । ७७ वटा जिल्ला सदरमुकाममा रहने जिल्ला कार्यालयहरुले सोही स्थानीय तहको हुलाकको काम गर्नेछन् । पुनर्संरचना भएर बन्ने हुलाक कार्यालयहरुमा खारेज भएका इलाका हुलाकसहित विभिन्न हुलाक कार्यालयबाट दरबन्दी व्यवस्थापन गर्ने गरी नयाँ संगठन संरचना बनेको छ ।

  • महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने

    महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ । कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो ।
    उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ ।

    एउटा सेटमा २ वटा बिन हुन्छन् । पहिलो खाले सेट सानो आकारको हुन्छ । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् ।

    यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १ सय ५० रुपैयाँ र डस्टबिन प्रतिसेट २ हजार ९ सय ५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

  • जलवायु न्यूनीकरण गर्न डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीच साझेदारी

    जलवायु न्यूनीकरण गर्न डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीच साझेदारी

    काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।

    बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् ।

    नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ ।

    कार्यक्रममा डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने धारणा व्यक्त गरे। साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए ।

    नेपाल स्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु सङ्कटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई दिगो बनाउन महत्वपूर्ण हुने बताए।

    साथै उनले दुई संस्थाबीचको सहकार्य अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएको समेत उल्लेख गरे । नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रुपमा मिलेर काम गर्न आग्रह गरे ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तले निम्त्याएका विपद्लाई न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाइ काम गरिरहेको जानकारी दिए।

    डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु सङ्कट, उदीयमान जोखिम, र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ ।

    दुवै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलार्ई एकीकृत गर्ने लक्ष्य राखेका छन् ।

    डब्लूडब्लूएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाख भन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो ।

  • केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग

    केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग

    काठमाडौं । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ । गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उहाँका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो ।

    महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जङ्गलबाट बाहिर निकालेका थिए । यद्यपि सिएनएनका अनुसार म्याकेन्जी र अन्य २९ जनाले दोषी नभएको स्वीकार गरेका छन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिकरूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइको छ ।

    कथितरूपमा उहाँको ट्रायल माच ७ देखि सुरु हुने सिएनएनले बताएको छ । गुड न्युज इन्टरनेसनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्सडे ९प्रलयको दिन० पन्थको नेतृत्व गरेको आरोप छ । डुम्सडेमा उहाँले मृतकहरू स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीहरूलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिनुभएको थियो ।

    त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । अनुसन्धनकर्ताहरूले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा हुनुहुन्छ । पछि शव परीक्षणको नतिजाबाट बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो ।

    अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको सिएनएनले बताएको छ । गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकहरूले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शवहरू गम्भीररूपमा कुहिएका कारण डिएनएमार्फत पीडितहरू पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकहरूले जवाफ दिएका थिए । रासस–एएनआई

  • नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज

    नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज

    काठमाडौं । नेपाल र क्याानडाबीच तीन वान डे सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल बिहान ९ :१५ मा काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुवात गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ । क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।


    नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्नसक्ने सम्भावना छ । उता स्पिनर सूर्य तामाङले आज डेब्यू गर्ने बलियो सम्भावना छ । नेपालले प्रमुख स्पिनरको रुपमा ललितनारायण राजवंशी र सूर्यलाई मैदान उतार्ने सम्भावना छ । तीव्र गतिका बलरमा सोमपाल कामी र रिजन ढकालको सम्भावना छ ।

    नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिनसक्छ । तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन् । कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन् । दीपेन्द्रले बलिङ आक्रामण पनि सम्हाल्नेछन् । दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन् ।

    उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुविधा छ । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालमा फ्रेन्चाइज लिग खेलिसकेका श्रीमन्था विजयरत्नेले राम्रो ब्याटर हुन् । २०१८ मा उनले डिभिजन टुमा नेपालविरुद्ध शतक हानेका थिए । त्यस्तै भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङविरुद्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए ।

    दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएकोछ । नेपालले यस सिरिज आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको रुपमा खेलेको हो । क्यानडाले लिग २ सिरिज यूएईमा गएर खेल्नुअघि खेलेको हो ।

  • हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने

    हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने

    काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटना बढेका छन् । उता सरकारले सुरक्षा प्रवन्ध कडा बनाएको बताएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जना घटिएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ ।

    निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ । निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् । यो निर्वाचनबाट को प्रधानमन्त्री बन्ला भन्ने चासो छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा रहेका कारण प्रधानमन्त्रीको प्रतिस्पर्धामा छैनन् ।


    इमरान खालको पार्टी पाकिस्तान तेहरिक–ए-इन्साफ (पीटीआई)ले आफ्नो चुनाव चिह्न क्रिकेट ब्याट पनि पाएको छैन । निर्वाचन आयोगले पीटीआईलाई क्रिकेट ब्याट चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि सो पार्टीका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् । पीटीआईको समर्थनमा केही नयाँ अनुहारका युवा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

    यो निर्वाचनको प्रतिस्पर्धामा सबैभन्दा अगाडि ७४ वर्षीय पूर्वप्रधानमन्त्री नवाज शरीफ रहेको चर्चा छ । यदि उनको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले चुनाव जितेमा नवाज शरीफ चौथो पटक प्रधानमन्त्री बन्ने छन् । अमेरिकी थिङ्कट्यांक विल्सन सेन्टरका दक्षिण एशियाका निर्देशक माइकल कुगल्मनलाई उद्धृत गर्दै बीबीसी नेपालीले लेखेको छ, ‘उनी निकै लोकप्रिय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन् ।’

    नवाज शरीफ १ नोभेम्बर १९९० देखि १८ जुलाई १९९३ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि दोस्रो पटक १७ फेब्रुअरी १९९७ देखि १२ अक्टुबर १९९९ सम्म प्रधानमन्त्री बने । उनको दोस्रो कार्यकालमा तत्कालीन सैनिक शासक परवेज मुशर्रफले कू गरेपछि नवाज शरीफ सत्ताच्युत भएका थिए । सन् २०१३ मा भएको निर्वाचनपछि उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनी पछिल्लो पटक ५ जुन २०१३ देखि २८ जुलाई २०१७ सम्म प्रधानमन्त्री थिए । तीनपटकसम्म प्रधानमन्त्री बन्ने उनी पाकिस्तानको पहिलो नेता हुन् ।

    भ्रष्टाचारको अभियोग लागेपछि उनी चार वर्षसम्म पाकिस्तानबाट निर्वासित भएका थिए । चुनाव लड्ने तयारीका साथ उनी गत अक्टुबरमा मात्र स्वदेश फर्किएका थिए । उनीमाथिका अभियोग पनि एक-एक गर्दै चुनाव अगाडि टुंगो लगाइएको छ । साथै पाकिस्तानको सेनाको साथ पनि नवाज शरीफलाई रहेकाले उनी यो निर्वाचनबाट फेरि सत्तामा फर्किने अनुमान गरिएको छ ।

    नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने अनुमान गरिएको हो । यसैगरी बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि यो निर्वाचनको प्रमुख प्रतिस्पर्धी हो । पीपीपीले जरदारीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।