Category: समाचार

  • क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

    क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

    नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । त्यसका लागि १५ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाहलाई समावेश गरिएको छ ।

    दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा कप्तान देवले ब्याटबाट र आकाशले बलबाट राम्रो प्रभाव देखाएका थिए । विशेष गरी अफगानिस्तानविरुद्धको समूह चरणको खेलमा नेपालले १ विकेटको ऐतिहासिक विजय हात पार्दा मध्यम गतिका बलर आकाशले ५ विकेट लिएका थिए भने देवले अर्धशतक बनाएका थिए ।

    दुर्भाग्यवश दक्षिण अफ्रिका जान नपाएका अर्का तीव्र बलर हेमन्तलाई पनि क्यानाडाविरुद्ध खेल्ने नेपाली टोलीमा राखिएको छ । यू–१९ विश्वकप खेल्न जानु केही दिनअघि मात्र बलिङका क्रममा बलले नली खुट्टामा लागेपछि हेमन्त दक्षिण अफ्रिका जान वञ्चित भएका थिए ।

    प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका पवन, अनिल, रिजनलाई क्यानाडाविरुद्धको शृंखलाका लागि नेपाली टोलीमा राखिएको छ । प्रधानमन्त्री कपमै ३० विकेट लिँदै उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीमा चुनिएका सूर्यलाई पनि नेपाली टोलीमा राखिएको छ ।

    नेपाली टोलीमा यसअघि पनि पर्दै आएका सूर्यले एकदिवसीय अन्तर्राष्ट्रियमा भने ‘डेब्यु’ गर्न बाँकी नै रहेको छ । पवन, रिजन, सूर्यलाई लिग–२ का लागि पनि राखिएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध २–२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । आठ राष्ट्र सहभागी लिग–२ को २०२४–२७ साइकलमा यो पहिलो शृंखला हो ।

    लिग–२ का लागि नेपाली टोलीमा रोहित, आसिफ, कुशल भुर्तेल र मल्ल, आरिफ, पवन, भीम, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल, करण केसी, ललित, सूर्य र रिजनलाई राखिएको छ । अर्जुन, दीपेन्द्र, गुल्सन र करणलाई भने क्यानाडाको शृंखलामा आराम दिइएको छ । लिग–२ का लागि प्रतिश जीसी, देव खनाल, अनिल र विवेक यादवलाई वैकल्पिकमा राखिएको छ ।

  • हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

    हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श समितिको बैठकले तय गर्ने छ ।

    यद्यपि आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।

    बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने र त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन् ।

  • इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

    इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

    काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनीकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध पौने ३ अर्ब रुपैयाँ जरिवाना हुनेगरी सजाय निर्धारण गरेको हो ।

    विशेष अदालतका प्रवक्ता धनबाहादुर कार्कीका अनुसार तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैंया बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद सजाय तोकिएको त्यस्तै उनकी श्रीमती श्रृजनालाई एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैंया जरिवाना तोकिएको छ ।

    इच्छाराजलाई तीन वर्ष र श्रृजनालाई एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ। सिभिल सहकारी घोटालाकै अर्क अभियुक्त केशवलाल श्रेष्ठविरुद्ध २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ जरिवाना र डेढ वर्ष कैद सुनाइएको छ । गत माघ ७ गते विशेष अदालतले तामाङ दम्पती र अर्का प्रतिवादी श्रेष्ठलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आइतबार ९माघ २१ ० को मिति तोकेको थियो ।

    सिभिल सहकारीका बचतकर्ताको अर्बौं रुपैैंया घोटालाको अभियोगमा तानिएका तत्कालीन र वर्तमान सञ्चालक तथा कर्मचारीविरुद्ध ठगी मुद्दा चलाइएको थियो । सहकारीको सम्पत्ति अपचलन गरी अन्यत्रै लगानी गरिएको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । विभागले २०७९ भदौमा तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख र उनकी श्रीमती श्रृजनाविरुद्ध १ अर्ब तीन करोड बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

    अदालतले जरिवाना असुलका लागि दोषि ठहरिएका व्यक्ति तथा मिना श्रेष्ठ, प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङका नाममा रहेको सम्पत्ति समेत जफत गर्ने फैसला गरेको छ । दोषी ठहर भएका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा प्रतिवादी उपर कसूर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने आदेश पनि गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारीको ठगीको अनुसन्धान गरेको थियो । त्यसकै आधारमा सरकारी वकिल कार्यालयले ठगी र संगठित अपराधमा दफा लगाएर अदालतमा मुद्दा दायर गरेको थियो । ५ अर्ब ७७ करोड ८० लाख ९० हजार रुपैयाँ बिगोसहित २०७८ मंसिरमा मुद्दा दायर गरेको थियो ।

    तामाङले २०५५ मा सिभिल सहकारी खोलेर अध्यक्ष बनेका थिए । त्यहीबीचमा उनले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारमा हात हालेका थिए । उनले आफ्नै सहकारीमार्फत ऋण लिएका थिए । धितो राखेकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी त्यसको अध्यक्ष बनेका थिए ।

  • लुडो खेल्दा प्रहरीको फन्दामा

    लुडो खेल्दा प्रहरीको फन्दामा

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९ वर्षीय विकास पुन छन् ।

    उनीहरुलाई पोखरा ११, धरहरा मार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुबाट एउटा लुडो खेल्न प्रयोग हुने बोर्ड, विभिन्न रङका १६ वटा गोटीलगायत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ५ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए । त्यस्तै, शनिबार नै प्रहरीले पोखरा १२ अमरसिंहबाट जुवा खेलिरहेको अवस्थामा थप ७ जनालाई पक्राउ गरेको छ । अमरसिंहमा बस्ने नरबहादुर गुरुङको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी विकले बताए ।

    उनका अनुसार पक्राउ पर्नेमा पोखरा १२ का ६५ वर्षीय नरबहादुर गुरुङ, ६७ वर्षीय बलराम थापा, ४४ वर्षीय भीमबहादुर मगर, ५३ वर्षीया कृष्णकुमारी विक, ५२ वर्षीय सोमबहादुर तामाङ, ४९ वर्षीय जसबहादुर गुरुङ र ५० वर्षीया मीना गुरुङ छिन् । उनीहरुकोे साथबाट २ सय १२ पत्ती ताससहित ६४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।

  • द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

    द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए ।

    आइतबार रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आवको बाँकी अवधिमा थप मेहनत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।

    उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकहरूले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताए । उनले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरी सोको आधारमा गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा जोड दिए । साथै उनले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्न निर्देशन दिए ।

    उपप्रधानमन्त्री खड्काले नेपाली सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्युन बजेटका कारण नेपाली सेनाको जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनैतिक महत्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे ।

    उनले समीक्षा बैठकलाई औपचारिकता निर्वाह गर्ने कार्यमा मात्र सीमित नराखी विकास आयोजनाको कार्यान्वयनमा रहेका बाधा व्यवधानलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्न र समस्याको निराकरणका लागि आवश्यक र कार्यान्वयन योग्य उपायहरू पहिल्याइ आयोजना कार्यान्वयनलाई गति दिन आवश्यक रहेको बताए । त्यस अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आवको दोस्रो त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमबारेमा प्रस्तुतीकरण राखेका थिए ।

    रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सबै आयोजना प्रमुखलाई निर्धारित समयमै लक्ष्य बमोजिमको प्रगति र माइलस्टोन हासिल गर्न निर्देशन तथा बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुँयालले विकास आयोजनामा खानी तथा नदीजन्य निर्माण सामग्रीको उपयोग गर्ने कुरा झन्झटिलो भएकाले यसलाई सहजीकरण गर्दै विकास आयोजनाका लागि आवश्यक कच्चापदार्थ स्थानीय तबरमा सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन आवश्यक भएको बताए ।

    उनले विकास निर्माणलाई गति दिन जग्गा प्राप्ति र रुख कटान लगायतका विषयलाई आवश्यक सहजीकरण गर्दै अघि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनालगायत विभिन्न सडक करिडोरको प्रगति सन्तोषजनक रहेको कुरा बताउँदै हुम्लाको सदरमुकामलाई यसै वर्ष राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने गरी नेपाली सेनाले प्रशंसनीय ढङ्गले काम गरिरहेको बताए ।

    प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाअन्तर्गत सञ्चालित आयोजनालाई निर्धारित लागत, समय र तोकिएको गुणस्तरमा सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको बताए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलगायतका पदाधिकारीको सहभागिता थियो ।

  • अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

    अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

    काठमाडौं । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीको जरिवाना झन्डै ५ गुणाले बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८०,’ जारी गर्दै जरिवाना रकम बढाएको हो ।

    नियमावली अनुसार मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई २ हजार रुपैयाँबाट बढाएर १० हजार पुर्‍याइएको छ । साथै, ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था गरिएको छ ।

    हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई २ हजार १०० रुपैयाँ जरिवाना तिराउने गरिएको थियो । अबदेखि जरिवानाको न्यूनतम दर १० हजार पुर्‍याउने र ६ महिनासम्म मार्ग इजाजत रद्द गर्ने नियम बनाइएको हो ।

    पोखराका यातायात व्यवसायीसँग भएको छलफलपछि मन्त्रालयले गत गत भदौ १ गतेदेखि ट्याक्सी मिटर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    ट्याक्सी व्यवसायीले मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्ने पटक–पटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम थप कसिलो बनाएको हो । हाल पोखरामा २ हजार ५०० सहित गण्डकी प्रदेशभर करिब ३ हजार ५०० ट्याक्सी सञ्चालनमा छन् ।

    नियमावली बनेसँगै विसं २०७६ मा जारी भएको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको छ ।

  • आलोकनगरमा चल्यो महानगरको डोजर

    आलोकनगरमा चल्यो महानगरको डोजर


    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

    महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका १४ वटा टहरामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।

    वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन गरेको हो । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरू हटाएर डोजर चलाउने काम भएको बताइएको छ।

  • हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

    हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

    काठमाडौं । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो। यो वर्ष हिमपात भएको यो तेस्रो पटक हो । हिउँ परेसँगै हवाई सेवा पुनः बन्द भएको नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ ।

    सदरमुकाम सिमकोटसहित माथिल्लो हुम्लाका खार्पुनाथ, नाम्खा गाउँपालिका तथा तल्लो क्षेत्रका अदामचुली, ताजाकोट, सर्खेगाड र चंखेली गाउँपालिकाको लेकमा हिउँ परेको छ । त्यस्तै बेसीमा पानी परिरहेको छ ।
    हिमपातका कारण सदरमुकामबाट लिमी र हिल्सा आवतजावत पनि बन्द भएको छ ।

  • ‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

    ‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

    काठमाडौं । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो पुस्तक बिक्रीको लागि देश दौडाहामा छन् । ‘महावीर पुन’ नामक आत्मकथा बेच्दै हिँडेका पुनले शनिबार बैतडी सदरमुकाम गोठालापानी, गढी र साहिलेक बजारमा पुस्तक बिक्री गर्ने क्रममा हालसम्म ३४ हजारप्रति पुस्तक बेचिएको बताए।

    पुस्तक बिक्रीबाट २ करोड ५५ लाख संकलन गरेको छन् । उनको जीवन कथामा आधारिक पुस्तकको मूल्य ७६० रुपैयाँ तोकिएको छ । पुनले गत पुस २४ गते काठमाडौंबाट मध्यपहाडी लोकमार्ग पुस्तक बेच्दै पश्चिम लागेका थिए।

    ‘तीन लाख पुस्तक बेचेर १५ करोड रकम संकलन गर्ने सोच बनाएका पुनले अबको दुई महिना पश्चिम नेपालबाट पूर्वतर्फको यात्रा गर्दै पुस्तक बेच्ने योजना बनाएका छन् ।

  • साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

    साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

    काठमाडौं । साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पीमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

    शनिबार घोराहीको सुपरलज होटेलमा बसेका नेपालीले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोल्पाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

  • गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

    गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको ४.३ प्रतिशत हो । जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले गम्भीर परिस्थितिको सामना गर्नुपरेको र सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको बताएका छन् ।

    “मध्य गाजामा तनाव बढ्दै गएको छ, जसले विद्यमान स्वास्थ्य सुविधाहरूको पहुँचलाई थप कमजोर बनाएको छ,” उनले भने, बिरामी र स्वास्थ्यकर्मी दुवैका लागि अस्पतालहरूमा निरन्तर पहुँचको कमीप्रति गहिरो चिन्ता व्यक्त गर्दै पिपरकोर्नले गाजामा ३६ अस्पतालहरूमध्ये केवल १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेको र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेको बताए । जारी द्वन्द्व र शत्रुताले स्वास्थ्य सेवालाई अस्तव्यस्त बनाएको छ । यसले युद्धसँग सम्बन्धित चोटपटक र दीर्घरोग दुवैको पर्याप्त उपचार प्रदान गर्न चुनौतीपूर्ण भएको छ ।

    “अब कम्तिमा आठ हजार गाजावासीहरूलाई उपचारका लागि रेफर गर्नु पर्ने भएको हामीले अनुमान गरेका छौँ,” पिपरकोर्नले भने । तीमध्ये छ हजार जना युद्धमा घाइते हुनुका साथै यसमध्ये कैयौँ गम्भीर घाइते रहेका छन् र उनीहरूमध्ये एउटा सानो अंशलाई मात्र दक्षिणी शहर राफामा सफलतापूर्वक स्थानान्तरण गरिएको उनले बताए । पिपरकोर्नले भने, “उत्तरी गाजामा प्रवेशमा कडा प्रतिबन्ध लगाइएको छ भने डब्ल्यूएचओको यस क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पुग्न गरिएका अनुरोधलाई लगातार अस्वीकार गरिएको छ ।”

    उहाँले थप्नुभयो, “गाजामा रहेका युरोपेली अस्पतालमा २२ हजार मानिसहरूले आश्रय लिएका छन् भने त्यहाँ पनि स्वास्थ्य सामग्रीहरू अपर्याप्त भएका छन् । रोगहरू फैलिने खतरा बढिरहेको छ ।” स्वास्थ्यकर्मीहरूले बिरामी र उनीहरूका आफ्नै परिवारको हेरचाहमा सन्तुलन कायम गर्न अथाह चुनौतीहरूको सामना गरिरहेका छन् । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् । खान युनिस शहरको अल नासिर अस्पताल एउटा मात्र एम्बुलेन्समा सीमित बनेको छ र बिरामीहरूलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको छ ।

    खान यूनिसमा रहेका ४०० बिरामी हेर्न विशेषज्ञको अभावका कारण अस्पतालको पर्याप्त हेरचाह गर्ने क्षमता जोखिममा परेको छ । गम्भीर स्वास्थ्य समस्याहरू मानवीय सङ्कट स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर गएको छ । खाद्य असुरक्षा र पानी प्रदूषणले सङ्क्रामक रोगहरूको फैलावटको लागि उर्वर भूमि सिर्जना गरेको छ ।

    गाजास्थित डब्लुएचओका प्रतिनिधिले चिन्ताजनक तथ्याङ्कहरू उद्धृत गर्दै भनेका छन्, “दुई लाख ४५ हजारभन्दा बढी श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका घटनाहरू, पाँच वर्षमुनिका बालबालिकाहरूमा पखालाका एक लाख ६० घटनाहरू, र लगभग ७० हजार छाला र अन्य समस्या रहेको देखिएको छ ।”

    गाजामा सीमित खाद्यान्न वितरणका कारण कुपोषण एउटा महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ । पिपरकोर्नले ३४२ आक्रमणमा ६२७ जनाको मृत्यु भएको र ७८३ जना घाइते भएका छन् । हाल ६१ जना स्वास्थ्यकर्मीलाई हिरासतमा लिइएको छ, जसले पहिलेदेखि नै समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीलाई थप जटिल बनाएको छ ।

    डब्लुएचओ गाजास्थित उपशाखाका प्रमुख अहमद दाहिरले खाना र सुरक्षाको खोजीमा हजारौं मानिस राफातर्फ पलायन भइरहेको र खानाको अभावका कारण धेरै दुब्लो र कमजोर देखिएको बताए । बिरामी र घाइतेहरूले पर्याप्त स्वास्थ्य सेवा पाउन सङ्घर्ष गरिरहेका छन् तर वरिपरिको तनावले प्रमुख चिकित्सा सुविधा, बिरामी र स्वास्थ्य सेवा प्रदायकहरूको पहुँचमा बाधा पुर्‍याएको उनले बताए । रासस-सिन्ह्वा

  • आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

    आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

    काठमाडौं । इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ सार्वजनिक गरिएको एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले इन्स्टाग्राममै आफू जीवित रहेको बताएकी छिन्। शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै उनले भनिन्, म तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु। एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको खबर आएको थियो।

    शनिवार पोस्ट गरिएको भिडिओमा पुनम पाण्डेले भनेकी छन्, आउनुस् जनचेतना फैलाएर एक अर्कालाई सजग बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमहरूबारे जानकारी गराउने कुरा सुनिश्चित गरौँ। यो रोगको विनाशकारी प्रभावलाई अन्त्य गर्न मिलेर काम गरौँ। शुक्रवार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका थिए। सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकेनन्। पुनम पाण्डेको परिवारले सार्वजनिक रूपमा केही बोलेको छैन।

    उनको मृत्यु कहाँ भएको हो भन्ने जानकारी नआएकाले शुक्रवार साँझसम्म शङ्काको वातावरण बनेको थियो। बत्तीस वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको क्षेत्रमा चर्चित नाम हुन्। यसअघि समेत उनले चर्चामा आउन विवादास्पद तरिका अपनाएकी थिइन्।

  • अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

    अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

    काठमाडौं । अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ। पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ। उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए।

    अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको दोहोर्‍याएको छ। यद्यपि राष्ट्रपति जो बाइडनले यस्ता आक्रमण जारी रहने चेतावनी दिएका छन्। गत आइतवार जोर्डनस्थित टावर-२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो

    इरानको कुड्स फौज र त्यससँग सम्बन्ध भएको भनिएका मिलिसिया समूहहरूसँग सम्बन्धित नियन्त्रण केन्द्रहरू लक्षित आक्रमण भएको बताइएको छ। सिरियाबाट प्राप्त विवरणअनुसार त्यहाँ २० जनाभन्दा धेरै इरानपक्षधर लडाकुको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्। त्यहाँको सेनाले सर्वसाधारणहरू समेत मारिएको जनाएको छ। इराक सरकारले आफ्नो भूमिमा भएको आक्रमणलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको छ। उसले सर्वसाधारणसहित कम्तीमा १६ जना मारिएको जनाएको छ।

    इराकी प्रधानमन्त्रीले आफ्नो सरकारसँगको समन्वय गरेर ती हमला नगरिएको बताएका छन्। इराक सरकारले सो हमलाको उक्त क्षेत्रमा ूभयानक नतिजाू देखा पर्ने चेतावनी दिएको छ। इरानले आफूमाथि लागेका सबै आरोपहरूलाई ूआधारहीनू भन्दै हमलाको निन्दा गर्ने क्रममा त्यसलाई ूरणनीतिक भूलू बताएको छ।
    शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, हाम्रो प्रतिक्रिया आजबाट सुरु भयो। यो हामीले चाहेको समय र स्थानमा जारी रहनेछ। गत आइतवार जोर्डनस्थित टावर(२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।

    त्यहाँ ४० जनाभन्दा बढी सैनिकहरू घाइते भएका थिए। उक्त घटनाका लागि ह्वाइट हाउसले इरानलाई जिम्मेवार ठानेको छ र उसले त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ। इराक र सिरियामा गरिएका हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्। त्यसमा लामो दूरीका बमवर्षक विमान पनि रहेको बताइएको छ।

    हालसम्म सिरियाका चार र इराकका तीन गरी सात स्थानमा आक्रमण भएको र ८५ वटा भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाको हमलाप्रति पहिलो प्रतिक्रिया इराकी सरकारबाट आएको छ।

    इराकी प्रधानमन्त्रीका सैन्य प्रवक्ताले इराकी भूमिमा अमेरिकी बमबारीको निन्दा गर्दै सामाजिक सञ्जालमा एउटा विज्ञप्ति पोस्ट गरेका छन्। यी आक्रमणहरू इराकी सार्वभौमसत्ताको उल्लङ्घन, इराकी सरकारको प्रयासलाई कमजोर पार्ने काम र इराक तथा यो क्षेत्रलाई अप्रत्याशित परिणामहरूमा तान्ने खतरा हुन्, विज्ञप्तिमा भनिएको छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ

    । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ ।

  • रास्वपाको दवाव अभियान आजबाट सुरु

    रास्वपाको दवाव अभियान आजबाट सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ ।

    रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक(काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

    अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीनरतीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ । रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागेको हो ।

  • फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

    फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

    काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् । बोर्डोविरुद्भको उक्त खेल १–१ को बराबरीमा सकिएको छ । शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् ।

    उनले ७५औं मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् । खेलमा आठौं मिनेटमा एन्टोइन स्टारोभाले गोल गर्दै गुईंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।तर, लौरा बौर्गोइनले ३६औं मिनेटमा बोर्डोका लागि बराबरी गोल गरिन् । यस बराबरीपछि गुईंगाम्प १३ खेलमा २ जित, ३ बराबरी र ८ हारको नतिजा निकाल्दै ९ अंक जोडेर आठौं स्थानमा छ ।

  • गणतन्त्र विरोधी हर्कतबाट डराउनु पर्ने अवस्था छैन : प्रधानमन्त्री

    गणतन्त्र विरोधी हर्कतबाट डराउनु पर्ने अवस्था छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान गरे । लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र भएको उनको भनाइ थियो ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले दर्बिलो ढंगले काम गरेकाले जनताको उन्नति र समृद्धि नचाहनेहरुले व्यवस्थाबिरुद्ध फैलाएको भ्रम र अफवाहको पछि नलाग्न उनले सुझाए । व्यवस्थाविरुद्ध भ्रम र अफवाह कसले फैलाएको भन्नेबारे प्रधानमन्त्रीले केही खुलाएनन् ।

    अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गर्दै प्रधानमन्त्रीले विदेशी मुद्रा संचिति, पर्यटक अवागमन वृद्धि र बढ्दो रेमिट्यान्स यसको साक्षी भएको बताए । रेमिट्यान्स ३० प्रतिशत बढेकोमा भने आफू खुसी नभएको प्रधानमन्त्रीले सुनाए । उनले आफू सरकारमा आएपछि राहदानी, लाइसेन्स बनाउने लाइन हटाएको, मल बीऊको सहज उपलब्धताले धान उत्पादन बढेको दाबी गरे ।

    सरकारको अर्जुनदृष्टि कृषि क्षेत्र भएकाले त्यसको विकासका लागि कृषिमा आधारित नयाँ उद्योग खोल्न र रुग्ण तथा बन्द भएका उद्योग संचालनका लागि काम थालनी भैसकेको उनले बताए । भारत र चीनसँग समेत कृषि उत्पादन बढाउनका लागि सहकार्य भएको उनले सुनाए ।


    संघीय सरकारको १८ करोड लागतमा निर्माण भएको दुधौली नगर अस्पताल भवनमा आफु काठमाडौं फर्कने बितिक्कै चिकित्सक र उपकरणको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले आश्वासन दिए । उपचारको अभावमा दुधौलीमा सर्पदंशबाट बर्सेनि कैयौं स्थानीयको मृत्यु हुने गरेकोमा अब आइसीयू, भेन्टिलेटर, औषधि तथा दक्ष चिकित्सको व्यवस्था गरिने प्रधानमन्त्री दाहालले बताए । यो वर्ष विषालु सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको थियो । सरकारले स्वास्थ्य र शिक्षामा नयाँ काम थालनी बताए पनि कस्तो काम भन्ने चाही खुलाएनन् ।

    कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकारले नदीजन्य पदार्थ बिक्री भएर हुने आम्दानी अब प्रदेशलाई नदिनुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु श्याम घिमिरे र लेखनाथ दाहालले कमला नदी नियन्त्रणको लागि बजेट व्यवस्था गर्नं प्रधानमन्त्री समक्ष माग गरेका थिए ।

  • गठबन्धन सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

    गठबन्धन सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको आरोप लगाए ।

    शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सवमा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हब हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको बताए ।

    युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए । ‘गठबन्धनवालाहरुको नीति नै गलत छन् । नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हब बनाउनुपर्ने हो । तर यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ,’ उनले भने । उनले नेपाललाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताए । ‘जसको ५ हजार भन्दा पुरानो शिक्षाको अनुभव छ । त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ । यी समस्याहरु छन् । यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ,’ उनले भने, ‘युवाहरुलाई सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतातिर प्रेरित गर्ने काम हुन सकिरहेको छैन । समस्याहरु छन् र समाधान पनि छ । तर सरकारले त्यसको मेसो पाउन सकेको छैन ।’

    अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए । देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने बताए ।

  • आइतबारबाट मौसम प्रतिकुल बन्दै, वर्षा र हिमपातले जनजिवन प्रभावित हुने सम्भावना

    आइतबारबाट मौसम प्रतिकुल बन्दै, वर्षा र हिमपातले जनजिवन प्रभावित हुने सम्भावना

    काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।

    ‘अहिलेको प्रणालीको प्रकृति हेर्दा गत बिहीबार भएको वर्षा र हिमपात जस्तै हुने देखिन्छ, तर तराई मधेशमा भने गाह्रो छ । भइहालेछ भने कतैकतै छिटपुटमात्र होला’, मौसमविद झाले भने । अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने छ । यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद झाले जानकारी दिए ।

    वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

    तापक्रम घटेर चिसो हुने क्रम शनिबारदेखि नै सुरु भइसकेको छ । जुम्लामा सबैभन्दा कम माइनस ६, जोमसोममा माइनस ५ र जिरीमा माइनस २ डिग्री सेल्सियस छ । शनिबार साँझ पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३।३ डिग्री सेल्सियस मापन भएको छ । न्यूनतम तापक्रम सबैभन्दा धेरै जनकपुरमा १० डिग्री सेल्सियस छ ।


    यसअघि १८ माघमा पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा समेत वर्षा र हिमपात भएको थियो । सोही दिन मौसमविदले शनिबार घाम लाग्ने र आइतबार फेरि वर्षा र हिमपात हुने प्रक्षेपण गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।

  • ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

    ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

    काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा सहयोग गर्न परिचालन गरिने बैंकले जनाएको छ । यो लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको बैंकले जनाएको छ ।

    नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो यो लगानी तथा परिचालनले ग्लोबल आईएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड–१९ महामारीबाट प्रभावित उद्यम, महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम–व्यवसायलाई सहयोग गर्न सघाउ पुर्‍याउने छ । यो ऋणको ५० प्रतिशत ग्लोबल आईएमईले साना तथा मझौला र खुद्रा ग्राहकका लागि जलवायु तथा लैङ्गिक क्षेत्रको लगानीमा समान विनियोजन गर्ने छ । बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यममा कर्जा प्रवाह गर्न प्रयोग गर्ने छ ।

    नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैङ्गिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलो हो । नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा २२ प्रतिशत योगदान गरेको छ र २० लाख बढीलाई रोजगारी दिएको छ ।

    यद्यपि, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा छ । यो अन्तर झन्डै ३ अर्ब ६० करोड डलरको छ । महिला स्वामित्व रहेका साना तथा मझौला उद्यममा यो स्थिति अझ कमजोर छ । महिला स्वामित्व रहेका करिब ५२ प्रतिशत साना तथा मझौला उद्यममा सीमित वित्तीय पहुँच रहेको तथ्यांक छ । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा केन्द्रीय बैंकबाट सधैं सहयोग पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    ग्लोबल आईएमई अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने बताए । नेपाल, बंगलादेश र भुटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले आर्ईएफसीको यो विनियोजनले नेपालमा थप महिला सशक्तीकरण गर्ने, रोजगारी सिर्जना गर्ने, र जलवायु तथा आर्थिक क्षेत्रमा वित्तीय पहुँच बढाउने लक्ष्य राखेको बताए । नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले आईएफसीको यो लगानीले नेपालका साना तथा मझौला उद्यममा फाइनान्सिङ गर्न सहयोग पुग्ने बताए ।

  • संसदमा अब विद्युतीय हाजिरी

    संसदमा अब विद्युतीय हाजिरी

    काठमाडौं । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो । यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि वानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ ।

    सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था मिलाइएको छ । विद्युतीय हाजिरीका लागि संसद सचिवालयले दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरिसकेको छ । भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको भने विद्युतीय हाजिरीको विवरण लिइएको छैन ।

  • बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

    बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

    काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा जान महिनामा पाँच दिनको समय पाउने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रुपमा संसदका गतिविधि रहने उल्लेख छ । सातामा तीन दिन सभाको बैठक चलाउने र तीन दिन संसदीय विषयगत समिति चलाउने प्रस्ताव गरिएको बताइएको छ ।
    यसो गर्दा सांसदहरु निर्वाचन क्षेत्रको गतिविधिसँग जोडिन नपाउने भनी प्रमुख सचेतक र सचेतकहरुले समय छुट्याउनुपर्ने प्रस्ताव गरेका थिए । एक महिनामा ५ दिन निर्वाचन क्षेत्र जान छुट्टी दिने गरी तालिका बनाइएको छ । यसअघि सांसदहरुले संसद चलिरहँदा निर्वाचन क्षेत्रमा हुने गतिविधिमा संलग्न हुन नपाएको गूनासो गर्ने गरेका थिए । त्यसलाई समेत सम्बोधन गरेर संसदीय क्यालेन्डर बनाउन लागिएको हो ।

    संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरू हुँदैछ । यो अधिवेशनमा संसदीय क्यालेन्डर बनाएर लागू गर्ने पनि सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको निर्णय छ । संसदीय क्यालेन्डर लागू गर्ने विषय र संसदीय क्यालेन्डरको स्वीकृति प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले औपचारिक रुपमा गर्नेछ । शुक्रबार बसेको सभामुख र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले हिउँदे अधिवेशनबाट विद्युतीय हाजिरी लागू गर्ने निर्णय पनि लिएको छ । राष्ट्रिय सभाले भने यसअगाडि देखि नै विद्युतीय हाजिरी गर्दै आएको छ ।

  • सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

    सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

    काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा दुबै खेलमा पराजित भएको छ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो ।

    नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरे । नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो ।

  • पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

    पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

    काठमाडौं । जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम् व्यवसायीको टोलीलाई पर्यटन बोर्डले स्वागत गरेको हो ।

    कार्यक्रममा राजदूत युताकाले जापान र नेपालबीच पुरानो सम्बन्ध रही आएको चर्चा गर्दै कानुनी सहजता भए जापानीहरू नेपालमा लगानी गर्न तयार रहको बताए । ‘नेपाल सुन्दर छ, जापानी नागरिकले नेपाल भ्रमण गर्न मन पराउँछन् । गत वर्ष जापानका विभिन्न कम्पनीका उच्च पदाधिकारीको नेपालमा भएको भेटघाट तथा अन्तरक्रियाले नेपालबारे थप बुझ्न सहयोग पुगेको थियो । यो भ्रमणमा पर्यटन क्षेत्रमा के गर्न सकिन्छ भन्ने चासो बढेको छ,’ उनले भने ।

    बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालको पर्यटनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईसँगै अन्य विभिन्न ऐतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल–जापान सम्बन्धको छुट्टै आयाम रहेको बताए ।

    उनले नेपालको पर्यतीय पर्यटन प्रवर्द्धनमा जापानको राम्रो भूमिका रहेको उल्लेख गरे । उनले नेपालमा जापानी रेस्टुरेन्ट बढ्दै गएको भन्दै नेपालको पर्यटन क्षेत्र लगानीका लागि उपयुक्त क्षेत्र भएको बताए । जापानबाट सन् २०२३ मा १६ हजार ४ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०१९ मा ३० हजार ५ सय ३४ आएका थिए ।

  • लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

    लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

    काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको रुपमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार श्री पुरानो गण ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार निधन भएको हो । उनी दोखला निवासी हुन् ।

    सिपाही थापा हेडक्वाटरको बंकरमा स्ट्यान्डवाई डिउटीमा रहदा आफैंले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेला परेको सेनाले जनाएको छ । त्यसपछि उनलाई मिसनको लेभल एक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उनको निधन भयो । सिपाही थापाको शव ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

    सेनाले लेबनानको सीमावर्ती इलाकामा लडाई चलिरहेको हुदा त्यसको मनोवैज्ञानिक असर बाहेक अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको जनाएको छ । साथै, हाल उक्त मिसनमा तैनाथ गण एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको र यहि फागुनको दोस्रो साता अदलीपद्ली हुने प्रारम्भिक चरणमा रहेको पनि सेनाले जनाएको छ ।

  • दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

    दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सरकारलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ।

    सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेपाल सरकार, सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलको लागि झिकाएको हो। शुक्रबार भएको प्रारम्भिक सुनुवाइपश्चात् अदालतले यो आदेश दिएको हो ।

    सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकार, संचार तथा प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलको लागि झिकाएको हो । शुक्रबार भएको प्रारम्भिक बहसपछि अदालतले कारण देखाउ आदेशसगै छलफलमा झिकाउने आदेश गरेकाे हाे ।

    शुक्रबारको छलफलमा निवेदक अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती, विशाल थापा र अधिवक्ताहरु विकास भट्टराई, किर्तिनाथ शर्मा पौडेल, विशाल उपाध्याय, रविन्द्र तामाङ, सकुन्तला भुषाल, त्रिलोक बहादुर चन्द, राजीव बास्तोला र ज्ञानेन्द्रराज आरणले नियुक्तिको मापदण्डमा कानुन व्यवसायीलाई नसमेटिएको र गैर कानुनी योग्यता राखिएकोले नियुक्तिको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।

  • वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै काठमाडौँ महानगर

    वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै काठमाडौँ महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि घरेलु फोहोर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ ।

    कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो ।

    वर्गीकरण गरिएको फोहोर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । फोहोर वर्गीकरणसँगै कामपाले वर्गीकरण गर्दा निस्किएका पुनः प्रयोग गर्न सकिने फोहोरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने पनि महानगरले जनाएको छ । स्रोतमा नै फोहोरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताका बारेमा पहिलो चरणमा नगरवासीलाई जानकारी गराइने बताइएको छ ।

  • बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

    बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

    काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ ।

    गएराती महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरी र थापालाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

    पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो ।

    जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतबाट फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको थियो ।

  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि भिसा आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ ।

    प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णीम दाहाललाई पक्राउ गरेको हो । अघिल्लो वर्ष सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको हो । भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र १२ कक्षाको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

  • हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

    हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

    काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी र बाग्मतीका उच्च पहाडी क्षेत्रमा छिटपुट वर्षा भएको छ ।

    त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ । तर आज काठमाडौंमा दिउँसोपख मौसम बदली भए पनि पानी पर्ने सम्भावना छैन । आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ । पश्चिमी वायुको प्रभावले हिजो सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

    कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, गुल्मी, बाग्लुङ, म्याग्दीलगायतका पश्चिमी जिल्लामा पानी परेको हो । पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।