Category: समाचार

  • यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

    यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

    विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

  • कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

    कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उभएको छ ।

    उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।

  • यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

    यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

    काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो ।

    विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ । थपिएका जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । ती जहाज यतीका क्याप्टेनहरूले नै बंगलादेश ढाकाबाट नेपाल ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

    उनका अनुसार कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान थाल्ने छ । यतीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आन्तरिक हवाई सेवा अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति लिइएको र जहाज थप गरेसँगै यात्रुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

    सन् २०२४ भित्रै थप तीन जहाज ल्याई १० पु¥याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनले बताए । यती एयरलाइन्समा हालै एसियन लाइफ इन्स्योरेन्स नयाँ लगानीकर्ताका रूपमा भित्रिएको थियो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने लक्ष्य लिएको छ । हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ ।

  • काठमाडौं भित्र पेट्रोल पम्पमा काम गर्ने कामदारले अनिवार्य ड्रेस लगाउनु पर्ने

    काठमाडौं भित्र पेट्रोल पम्पमा काम गर्ने कामदारले अनिवार्य ड्रेस लगाउनु पर्ने

    काठमाडौं । अब काठमाडौंका पेट्रोलपम्पमा काम गर्ने कामदारले ड्रेस लगाउनु पर्ने भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको हो । महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेकोे पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको हो ।

    नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा बसेको बैठकले पेट्रोल पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा कार्यरत ‘नोजल म्यान’ ले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने निर्णय गरेको महानगर प्रहरीले जनाएको छ ।

    पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौं महानगर प्रहरीले आधारभूत अग्नि नियन्त्रण तालिम दिने निर्णय भएको नगर प्रहरीले जनाएको छ । महानगर भित्र चारवटा पम्पमा पहेलो रङ र पीपीई नमुनाका रूपमा पेट्रोलियम डिलर्स एसोसिएसनले व्यवस्था गर्ने निर्णय भएको प्रहरीले जनाएको छ ।

  • महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

    महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिएका छन् । बिहीबार महानगरमा भएको भेटमा उनले यस्तो निम्तो दिएका हुन् । भेटमा बालेनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरेका छन् । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने ।

    युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे । भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

  • प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

    प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

    काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ ।

    सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ ।

    सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी भन्छन्, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ् वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ ।’

    पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खुला मञ्चलाई सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताए ।

    ‘उवडखावड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना हो । खेल मैदानको जस्तो कृतिम दुवो लगाउने कुनै योजना छैन,’ उनले भने ।

    महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विगत ३ दिनदेखि काम भइरहेको जानकारी दिए । ‘हामीले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौँ । ३ दिनदेखि काम भइरहेको छ,’ उनले भने ।

  • जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए

    जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।

    नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

    नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।

    साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् ।

    जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बंगलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

  • बाँसबारी जग्गा प्रकरणः व्यवसायी अरुण चौधरी पक्राउ

    बाँसबारी जग्गा प्रकरणः व्यवसायी अरुण चौधरी पक्राउ

    काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

    कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

    अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।

    २०२० सालमा चीन सरकारको अनुदान सहयोगमा बाँसबारी छाला तथा जुत्ता कारखाना स्थापना भएको थियो। २०४० को दशकको शुरूदेखि सरकारी निकायहरूबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन तयार हुन थाल्यो। लगातार घाटा बेहोरेको देखाएर कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी बिक्री गर्ने निर्णय गरियो। त्यसपछि, २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो।

    च्याम्पियन फुटवेयर लिमिटेडको सञ्चालकमा चौधरी ग्रुप परिवारका सदस्यहरू थियए। २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरको शेयर सदस्यमा विनोदकुमार चौधरी, अरूणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी भएको देखिन्छ।

  • बैंकक जान लागेका यात्रुको पैसा चोरी, नेवानिका लोडर समातिए

    बैंकक जान लागेका यात्रुको पैसा चोरी, नेवानिका लोडर समातिए

    काठमाडौं । बैंकक प्रस्थान गर्न लागेका एक यात्रुको थाई भाट चोरी नै विमानस्थलबाट चोरी भएको छ। नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी भएको हो।

    चोरीको आरोपमा अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएका थिए। त्यसपछि सीसीटीभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो।

    साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ। उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएको छ ।

  • सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

    सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिएका छन् ।

    जीपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

  • हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी

    हेटौडा कपडा उद्योग चलाउन सेनाको जिम्मा दिने तयारी

    काठमाडौं । हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारले सेनाको जिम्मा लगाउने तयारी गरेको छ । सो क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुधबार छलफल गरेका छन् । यसमा २ अर्ब रुपैयाँ लगानी गर्ने तयारी समेत सरकारको छ । सेनालाई उद्योग चलाउन दिने तयारी स्वरुप सरकारले अध्ययन गराएको छ ।

    नेपाली सेनाले गरेको अध्ययनले उद्योग पुनःसञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै, उद्योगका लागि वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने निष्कर्ष पनि अध्ययन कार्यदलले निकालेको छ । कार्यदलले गरेको अध्ययनले ९ वर्षपछि लागत उठाई उद्योग नाफामा जाने पनि निष्कर्ष निकालेको छ ।

    सेनाले गरेको अध्ययनले उद्योगका केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको देखाएको छ । उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको समेत उद्योगले उल्लेख गरेको छ ।

    अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको मोडालिटीसमेत प्रस्ताव गरेको छ । तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०–८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डीपीआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ ।

    प्रधानमन्त्री प्रचण्डले हेटौंडा कपडा उद्योग नेपाली सेनाले मानकका रुपमा सञ्चालन गरोस् भन्न चाहेको बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आयोजित उच्चस्तरीय छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नेपाली सेनाले मानकका रुपमा यो उद्योग नाफामा सञ्चालन गरिदिने हो भने त्यो निजी क्षेत्र र सरकारका लागि पनि शिक्षा हुने उनले बताएका थिए । प्रधानमन्त्रीले देशका उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जानु राम्रो नभएको बताएका थिए ।

    ‘विगतका सरकारी उद्योगहरू निजीकरण गरिए । त्यसको परिणाम राम्रो भएन, उद्योगहरू कौडीमा निजीकरण गरिए, देशमा औद्योगिक वातावरण कमजोर भयो । रोजगारी सिर्जना खुम्चिँदै गयो,’ प्रधानमन्त्रीले भने, ‘त्यसले युवा पलायनको भयावह स्थिति बन्दै गयो । अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ ।’ नेपाली सेनालाई उद्योग सञ्चालनको जिम्मा दिने बारे राजनीतिक सहमति लिने पनि प्रधानमन्त्रीले बताएका थिए ।

    ‘यसको थप अध्ययनका लागि सरकारको तर्फबाट पनि सानो टिम बनाएर जानेछौं र त्यसको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ,’ उनले भने । ०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि छ ।

    बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए ।

  • नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न

    नेवानिका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्रीका तीन प्रश्न

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् ।

    उनले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन भएन ? प्रतिवेदन कार्यन्वयन भए कुन चरणमा पुगेको छ ? भन्दै प्रश्न गरेका छन् । साथै, उनले त्यसको कार्य प्रगति विवरण बुझाउन समेत निर्देशन दिए । उनले न्यारोबडी जहाजको सिट भाँचिएको दुई सातासम्म समेत किन मर्मत नभएको भन्दै प्रश्न गरेका हुन् ।

    जवाफमा कार्यकारी अध्यक्ष अधिकारीले हरेक प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको र सबैको यथार्थ विवरण पेस गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, जहाजको सिट बनाउन कानुनी प्रक्रिया पूरा गर्दा समय लागेको र यसका केही दिनमै मर्मत हुने जवाफ दिएका छन् ।

    मन्त्री किराँतीले आगामी दिनमा हरेक प्रतिवेदन र मन्त्रालयबाट भएको निर्देशनको स्पष्ट जवाफ र प्रगति विवरण आफूलाई चाहिने र सोहीअनुसार प्रधानमन्त्रीलाई प्रगति विवरण पेस गर्ने उनले बताए । निगम सुधारका लागि पूर्वगर्भनर दीपेन्द्रबहदुर क्षेत्री नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वपाइलट कुलबहादुर (केबी) लिम्बु नेतृत्वको समितिले आज मन्त्री किराँतीलाई तेस्रो मासिक प्रतिवेदन पेस गरेको हो ।

  • यू-१९ विश्वकप बंगलादेशसँग सुगर सिक्समा हार्यो नेपाल

    यू-१९ विश्वकप बंगलादेशसँग सुगर सिक्समा हार्यो नेपाल

    काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग हारेको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए । तर खेल बंगलादेशले जित्यो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए ।

    यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए । एक समय ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको नेपालका लागि देव र विशालले ११५ बलमा ६२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले नेपाल एक समय २७.३ ओभरमा ९१–३ को अवस्थामा थियो ।

    तर देव जिशान आलमको बलमा कभरमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदा बलियो योगफल बनाउने अवसर गुमाएको थियो । गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुल्शन यू १९ एसिया कपपछि विश्वकपमा पनि चल्न सकेनन् ।

    यस विश्वकपमा गुल्शन न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ रनमा आउट भएका थिए । बंगलादेशका तीव्र गतिका बलरले सुरुवात देखिनै सट र बाउन्सर बलमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए । अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि नेपाल ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको थियो ।

    बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले ११ विकेट लिए ।

  • भारतमा कुहिरो कहर-हवाई र रेल सेवामा व्यापक कटौती

    भारतमा कुहिरो कहर-हवाई र रेल सेवामा व्यापक कटौती

    काठमाडौं । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिएका छन् । खराब मौसमका कारण जम्मुतवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका थिए ।

    रेवा–आनन्द विहार टर्मिनल, भागलपुर–आनन्दविहार एक्सप्रेस, बनारस–दिल्ली एक्सप्रेस, चेन्नई–दिल्ली एक्सप्रेस, हैदराबाद–दिल्ली एक्सप्रेस र रानीकमलापति–हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए । यसैबिच, मङ्गलबार बिहान राजधानीमा घना कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि अवरुद्ध भएको छ ।

    विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक–अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ । यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । सोमबार पनि, कुहिरो तथा अधिक चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मङ्गलबार राजधानीका थप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो । राससएएनहाई

  • बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, प्रधानमन्त्री प्रचण्डसँग भेट

    बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, प्रधानमन्त्री प्रचण्डसँग भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनीहरुबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो । नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री प्रचण्डले हार्दिक आभार व्यक्त गरेका छन् ।


    शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा यहाँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।

  • भारतीय सेनाले सोमालियाका समुन्द्री डाकाको कब्जामा रहेका १९ पाकिस्तानीको गरे उद्धार

    भारतीय सेनाले सोमालियाका समुन्द्री डाकाको कब्जामा रहेका १९ पाकिस्तानीको गरे उद्धार

    काठमाडौं । भारतीय जलसेनाले सोमालियानजिकै समुद्रमा समुद्री डाँकाहरूले अपहरण गरेका १९ पाकिस्तानी नाविकलाई मुक्त गराएका छन्। भारतीय सेनाको पानीजहाज ‘आईएनएस सुमित्रा’ले ३६ घण्टाको अवधिमा दोस्रो पटक कारबाही गर्दै उनीहरूको उद्धार गरेको हो। त्यसअघि समुद्री डाँकाहरूले अपहरण गरेको एउटा इरानी जहाजका १७ जनालाई मुक्त गराइएको भारतीय जलसेनाले जनाएको छ।

    विगत केही सातामा विभिन्न पानीजहाज र नाविकहरूले उद्धार र सहयोगका लागि गरेको आग्रहअनुसार आफूले काम गरेको भारतीय जलसेनाले जनाएको छ। केही समययता सोमालियानजिकै समुद्रमा पानीजहाजमा भएका आक्रमणहरूले उक्त क्षेत्रमा लुटेराहरू पुनः सक्रिय हुन थालेका हुन् कि भन्ने चिन्ता बढेको छ।

    आईएनएस सुमित्रा सोमालियाको पूर्वी तट र गल्फ अफ एडनमा सामुद्रिक सुरक्षा अभियानअन्तर्गत पारिचालित छ। भारतीय जलसेनाले जारी गरेको विज्ञप्तिअनुसार ज्यानुअरी २८ मा गुहार माग्दै पठाइएको एउटा सन्देश प्राप्त भएपछि आईएनएस सुमित्राले उद्धारको काम थालेको थियो। त्यस क्रममा इरानी झण्डा भएको एउटा जहाजलाई रोकिएको उसले जनाएको छ।

    सामाजिक सञ्जालमा जलसेनाले जनाएअनुसार त्यसपछि जलसेनाका अधिकारीहरूले “समुद्री डाँकाहरूलाई जहाज र त्यसका कर्मचारीलाई मुक्त गर्न बाध्य पारेका थिए। जहाजका १७ कर्मचारी मुक्त भएपछि जहाजको सरसफाइ गरियो र त्यो आफ्नो यात्रा पुनः निस्कियो।

    तर जलसेनाको विज्ञप्तिमा समुद्री डाँकाहरूको अवस्थाबारे केही उल्लेख गरिएको छैन। मङ्गलवार भारतीय जलसेनाले आईएनएस सुमित्राले फेरि अर्को इरानी झण्डावाहक जहाजको अवस्थिति पत्ता लगाएको र त्यसलाई रोकेको जनाएको छ। अल नईम नामक उक्त जहाज माछा मार्ने प्रयोजनमा प्रयोग हुन्छ।

    आफ्ना जवानहरू सरसफाइ गर्न र चालकदलका सदस्यको अवस्था बुझ्न उक्त जहाजमा गएको पनि भारतीय जलसेनाले जनाएको छ। उक्त घटनामा पनि लुटेराहरूको अवस्थाबारे केही भनिएको छैन। तर एक्समा प्रेषित एउटा तस्बिरमा हात पछाडि लगेर बाँधिएका मानिसहरूनजिकै जलसेनाका जवान उभिएको देखिन्छ। शनिवार सेशेल्सको सुरक्षा फौजले श्रीलङ्काका छ माझीलाई उद्धार गरेको थियो। उनीहरूको जहाज अपहरणमा परेको थियो।

    ब्लूमबर्गमा प्रकाशित एउटा विवरणका अनुसार रेड सीमा इरानबाट समर्थनप्राप्त हूथी लडाकु समूहले शृङ्खलाबद्ध आक्रमण गर्दा सामुद्रिक सुरक्षामा खलल पुगेको र परिणामस्वरूप सोमालियानजिकै समुद्रमा डकैतीको सङ्ख्या बढेको हो। ज्यानुअरी २६ मा भारतीय जलसेनाले मर्लिन लुआन्डा नामक ट्याङ्करबाट सहयोगको याचना गरिएपछि आफ्नो पानीजहाज आईएनएस विशाखापटनम गल्फ अफ एडनमा पठाइएको जनाएको थियो। हूथी विद्रोहीहरूले एउटा क्षेप्यास्त्र प्रहार गरेपछि यूकेसँग सम्बन्ध भएको उक्त ट्याङ्करमा घण्टौँ आगो लागेको थियो।

    फ्रान्स र संयुक्त राज्य अमेरिकाका जलसेनाका जहाजले पनि त्यस क्रममा सहयोग गरेका थिए। ज्यानुअरी महिनाको सुरुतिर भारतीय जलसेनाका कमान्डोहरूले समुद्री लुटेराहरूले आक्रमण गरेको लाइबेरियाली झण्डावाहक एउटा जहाजबाट २१ जनालाई उद्धार गरेका थिए।
    बीबीसी

  • आजबाट हिउँदे वर्षाको सम्भावना, कुन कुन भेगमा पर्ला पानी ?

    आजबाट हिउँदे वर्षाको सम्भावना, कुन कुन भेगमा पर्ला पानी ?

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।


    बुधबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

  • यु-१९ विश्वकप : आज नेपाल र बंगलादेश सुपर सिक्समा भिड्दै

    यु-१९ विश्वकप : आज नेपाल र बंगलादेश सुपर सिक्समा भिड्दै

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ ः४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

    उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक छ । नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

    नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । बंगलादेश भारत ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्स खेलेको थियो ।

    अफगानिस्तानलाई हराउन नेपालका आकाश चन्दले ५ विकेट र कप्तान देव खनालले ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्जुन कुमाल र गुलशन झा पनि नेपालका प्रमुख हतियार हुन् । अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । गुलशन भने तीनै खेलमा सस्तैमा आउट भएका छन् । सिनियर टोलीबाट खेलिसकेका गुलशनलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

    काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ । अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उनी आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ ।

    इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ । इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गरेका छन् । विश्वासको मत पाउन नसकेपछि उनी सन् २०२२ मा पदबाट हट्नुपरेको थियो ।

  • पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु

    पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु

    काठमाडौं । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए। मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो। उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ।

  • पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

    पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल अवैधानिक संरचना हटाउन कोषका पदाधिकारीलाई निर्देशन दिए ।


    तत्काल कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिसान घर खाली गराउन मन्त्री किराँतीले निर्देशन दिए । कोषले समेत मन्त्रीको निर्देशन अनुसार यस्तो संरचना हटाउने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका–८ गाँचा पोखरीस्थित साविक कित्ता नं. ९३, हालको कित्ता नं. १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेको कोषले जनाएको छ ।

    वडा नम्बर ३ भगवानस्थानमा साविक कित्ता नं. ५१ बाट हालको कित्ता नं। १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको कोषले जनाएको छ । सिफलको लामा पोखरी रहेको कित्ता नं. १३५, १८०, ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषको भनाइ छ । अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने कोषले निर्णय गरेको छ ।

    कोष सदस्यसमेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएको मन्त्री किराँतीको सचिवालयले जनाएको छ । गोठाटारस्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्न मन्त्रालयले समिति गठन गर्ने निर्णय समेत भएको छ ।

    हराएको जग्गा खोजी गर्न पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने मन्त्री किराँतीले जानकारी दिए । कुनै शक्ति केन्द्रको दबाब आफूलाई सह्य नहुने भन्दै उनले पशुपतिको बेथिति निर्मूल गर्नुपर्ने बताए । कोषको बैठकले पशुपति आर्यघाटको आरतीको विषयमा छानबिन गरी निर्णय खारेज गर्न कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

  • नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

    नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजना र अति कम विकसित मुलुक ९एलडीसी०बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग राय लिएको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिएका छन् । आयोग आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औं योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ । सोही क्रममा मंगलबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो ।

    नेपालस्थित अन्तराष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्त रुपमा गरिरहेका छन् । छलफलमा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको आयोगले जनाएको छ । नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडीसी स्तरोन्नति पछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताइन् ।

    १६औं योजनामा एलडीसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नु पर्ने उनको सुझाव थियो । अन्य सहभागी विकास साझेदारहरुले आफ्नो कन्ट्री प्रोगामलाई १६औं योजना र अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनु पर्ने बताए । आयोगका उपाध्यक्ष डा। श्रेष्ठले विकास साझेदारहरुबाट धेरै राम्रा सुझावहरु आएको बताए ।

    नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यबाद दिँदै आएका सुझावहरु १६औं योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसी मा समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । आयोगले यसअघि आज नै १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो ।

  • १७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

    १७ दिनमा भारतीय सिमाबाट चिनियाँ सीमा पदयात्रा गरी पुग्ने गरी रुट सार्वजनिक

    काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे । ‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भू(भाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भू(भाग समेटिएको छ ।

    आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिंखडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो । यो टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए । टोलीले कपिलवस्तु तौलिहवास्थित भारत सीमानाका खुनुवादेखि भगवान बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो ।

    ६० मिटर उचाइको नेपालको तराईका भू–भागदेखि पहाडी क्षेत्रका धेरै जिल्लाका ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यस्थल हुँदै ३ हजार ७ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रको रसुवा केरुङ नाका जोड्ने यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिंखडाले जानकारी दिए ।

    आफूअनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो ट्रेकिङ रुटलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनमा पूरा हुने उनी बताउँछन् । प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटक खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस ट्रेकिङ रुटमा कम खर्चमा भ्रमण गराउन विभिन्न गाउँमा भएका होमस्टे र स–साना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनले बताए ।

    उनका अनुसार दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो । ट्रेकिङ दौरान १७ दिनमा होमस्टे र साना होटलमात्र उपयोग गरिएको उनले बताए । भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने दाबी गरिएको छ । उनका अनुसार २० दिनको लागि ३ हजार ५ सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेको उनले बताए ।

  • संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको स्वीकार गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले बिजनेश दिएन भन्ने मत पनि थियो ।

    तर, यसपटक त्यस्तो नहोस्’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । सरकारले संघीय संसदको अधिवेशन यही माघ २२ गतेदेखि बोलाएको छ । ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । कानुन मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला’ प्रधानमन्त्री प्रचण्डले थपेका छन्, ‘यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।’

    छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताए ।
    कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताए । अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही विधेयकहरु दर्ता गर्न सकिने उनले बताए ।

    यसअघि कानुन मन्त्रालयले सबै मन्त्रालयसँग प्राथमिकताका आधारमा विधेयकहरुको प्रारम्भिक मस्यौदा मागेको थियो । त्यस अन्तर्गत १०९ वटा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयमा पुगेको छ । त्यस आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुसँग एक चरणको छलफल सकाएको छ । प्रधानमन्त्री प्रचण्ड, मुख्यसचिव अर्याललाई कानुन मन्त्रालयले मंगलबार विधेयकको तयारी लगायतका विषयमा ब्रिफिङ गरेको हो ।

  • श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

    श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

    काठमाडौं । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर देखिने गरी पर्वतीय उडान थालेको छ । नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो।

    एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भूभागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ। श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो।

    क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो। नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए। प्रबन्धक मानन्धरका अनुसार नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।

  • शहीद दिवस आज, शहीदको सम्झनामा विविध कार्यक्रम हुँदै

    शहीद दिवस आज, शहीदको सम्झनामा विविध कार्यक्रम हुँदै

    काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ ।

    आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

    सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको छ । वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

    यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

    शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

  • आजबाट कार्यालय समय ५ बजेसम्म

    आजबाट कार्यालय समय ५ बजेसम्म

    काठमाडौं । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिएको छ । आजबाट बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ ।

    जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार अब ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

  • समुदायमा कांग्रेस अभियान आजबाट

    समुदायमा कांग्रेस अभियान आजबाट

    काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् ।

    अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।

  • माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

    माल्दिभ्सका राष्ट्रपति विरुद्ध आउँदैछ महाअभियोग ?

    काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाएको छ । एमडीपीका एक सांसदले सन इन्टरनेशनललाई महाअभियोगको तयारीबारे जानकारी दिएका छन् । यद्यपि महाअभियोग प्रस्ताव दर्ता भने भइसकेको छैन । हालै मालदिभ्सको संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउने नियमहरुलाई सहज बनाइएको बीबीसीले जनाएको छ ।

    महाअभियोग प्रस्तावको पक्षमा एमडीपीसँगै डेमोक्रेट्स सांसदहरु पनि छन् । एमडीपीका ४३ र डेमोक्रेट्सका १३ गरी कूल ५६ सांसद छन् । संविधान अनुसार राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास गर्नका लागि ५६ भोट नै चाहिन्छ । संसदका सभामुख र उपसभामुख एमडीपीका हुन् । मुइज्जु नेतृत्वको सरकारमा चार सदस्य थप्ने विषयमा विवाद हुँदा मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भएको थियो । लगत्तै राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग लगाउने चर्चा सुरु भएको छ ।

    मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम० र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु राष्ट्रपति छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।