Category: समाचार

  • सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

    सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

    काठमाडौं । सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

    महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

  • कोशीमा महिलातर्फ एमाले विजयी, गठबन्धनबाट फ्लोरक्रस

    कोशीमा महिलातर्फ एमाले विजयी, गठबन्धनबाट फ्लोरक्रस

    काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।

    कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।
    कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

  • न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी ठाउँ व्यवस्था मिलाउने प्रस्ताव

    न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी ठाउँ व्यवस्था मिलाउने प्रस्ताव

    काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ ।

    राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए।

    प्रवक्ता अधिकारीले भने, ‘बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन् । यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ ।’

    धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) ठाउँमा ३०० चारपाङ्ग्रे सवारीसाधन र ७०० दुईपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौँ । सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौँ ।’

    सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका लागि भएको सम्झौताको समय सकिएपछि अब नवीकरण नगर्ने निर्णय भएको जानकारी दिए ।

    महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सापास गराएर व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको आरोप लगाए । उनले भने, ‘सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो । आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो । तर कोषले पार्किङ प्रयोजन भनेर नक्सापास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ ।’

    एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अन्य स्थानमा विकल्प खोज्न समय दिए पनि व्यापारीले सुनवाई नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे । अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ ।

    महानगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालवरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फीरूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन् । व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक सङ्घसंस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरोरूपमा पार्किङ निषेधको निर्णय गरेको बताए । उनले भने, ‘पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन् । अहिले न्यूरोडको व्यावसायिक भविष्य सङ्कटमा देखियो । विकल्प नदिई पार्किङ निषेधित गर्नु न्यूरोड क्षेत्रका व्यवसायीलाई धरासायी र विदेश पलायन गराउनु हो ।’

    नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्यूरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको बताए ।

    पार्किङको व्यवस्था गरेर मात्रै निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘तीन–चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन । न्यूरोडमा दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन् । त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’को निर्णय गर्नुपर्ने हो ।’

  • भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन

    भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार ६६५ रुपैयाँ बराबर सङ्कलन भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो ।

    भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् ।

    भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले रू २ अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई रू दुई अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

    सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट रू एक करोड ११ लाख ११ हजार एक सय ११ बराबर सहयोग जम्मा भएको छ । त्यस्तै, बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान रू एक करोड बराबर सहयोग गरेका छन् ।

    जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ ।

  • ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स

    ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स

    काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स ९वायुसेवा निगम० ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ । सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो ।

    १ सय ५८ सिट क्षमताका ‘ए३२०’ र २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको चर्को ब्याजदरको ऋण तिर्न र नयाँ जहाज खरिद प्रयोजनसहित कम ब्याजदरको ऋण लिन आशय पत्र निकालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । यसरी लिइने रकमले ऋण तिर्ने, १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा वाह्य सेक्टरमा उडान गर्न जहाज किन्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा प्रयोग गर्ने योजना रहेको पौडेलले बताए ।

    यस्तो ऋण एकैपटक नलिई व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने र यस्तो ऋण प्राप्त भएपछि वार्षिक साढे ३ अर्ब रुपैयाँबराबर ब्याज रकम कम तिर्नुपर्ने देखिएको समेत पौडेलले जानकारी दिए ।

    प्रवक्ता पौडेलका अनुसार यो रकम आगामी १० वर्ष भित्र लिइसक्ने योजना छ । त्यसमध्ये कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न ४८ अर्ब ऋण तत्काल लिने र अन्य रकम भने फण्ड सुरक्षित गरी राख्ने योजना छ । ‘जुन बेला निगमलाई जहाज किन्न पैसा चाहिन्छ, सम्झौता अनुसार सोही कम्पनीबाट ऋण लिने भन्ने योजनासहित अगाडी बढेका हौं,’ उनले भने ।

    निगमको १० वर्षे कार्ययोजना कार्यान्वयन गर्न आवश्यक रकमको जोहो गर्न सहुलीयतपूर्ण ऋण खोजिएको भन्दै उनले यसको प्राप्ति १० वर्ष भित्रै हुने र तत्काल यो सबै पैसा नलिइने उनले बताए । निगमको कार्ययोजनामा १० वर्ष भित्र १२ वटा जहाज थप्ने योजना छ । नेपाल भित्र मंहगो ब्याजदरको मात्र रकम हुने भएकाले विदेशी कम्पनीबाट यस्तो रकम आउने सक्ने अनुमानसहित अन्तर्राष्ट्रिय आषय पत्र निकालिएको उनले बताए ।

  • यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

    यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानले नेपाललाई ५ विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कम भएको छ । अब नेपालले अफगानिस्तानसँगको खेल जित्नै पर्नेछ । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे ।

    पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी दिए हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १–१ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके ।

    उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए । पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।

  • आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने

    आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६र६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

    प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो । ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

  • उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने सामग्री खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

    सामान खरिदपछि गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरि निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १ सय ६० किलोवाटको भीएफडी प्यानले ५ वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रूपमा बढी सामान खरिद गरेको पाइएको अख्यितारले जनाएको छ ।

    अख्यितारले तत्कालीन महाप्रबन्धक पौडेलसहित त्यतिबेलाका नायब महाप्रबन्धक नवलकिशोर साह, कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल, निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई विपक्षी बनाएको छ । उनीहरूले २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ उद्योगलाई क्षति गराएको जनाउँदै त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका थिए ।

  • भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

    भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

    काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ।

    उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको पाएको प्रवक्ता घिमिरेले बताए।

    उनीहरूले सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको देखिएको पनि अख्तियारले जनाएको छ।
    अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको हो।

    ‘विकल पौडेलको हकमा उनले अमेरिकाको स्‍थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई बुधबार पक्राउ पुर्जी दिएर थप अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    उनीहरू दुवै जना हाल निलम्बित छन्। विशेष अदालतमा दायर भएका दुई वटा छुट्टाछुट्टै कसुरको मुद्दा विचाराधीन छ। सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो।

    विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो। अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो।

  • काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र

    काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

    महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त मापदण्ड भन्दा बाहिर कुनैपनि पर्खाल बनाउन पाँइैदन । नारायणहिटीको मापदण्ड भन्दा अग्लो भएकोले संरचना सुधार गर्नको लागि महागरले ताकेता गरेको हो । महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।

  • पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या

    पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या

    काठमाडौं । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।

    शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।

  • बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु

    बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु

    काठमाडौं । धर्मगुरुको रुपमा चिनिएका रामबहादुर बम्बजविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ। जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु भएको हो।

    डकाहाबाट भिमानतिर जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। जसमा बा ५८ प ९१४१ मा सवार किशोरीका बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकलमा सवार व्यक्ति भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।

  • मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान

    मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान निवासमै चियापान गरेका हुन्।

    चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत पुगेका थिए । बिहीबार कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

    शून्य समयको उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।

  • यु-१९ विश्वकप  : नेपाल र पाकिस्तान बीचको खेल आज

    यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज

    काठमाडौं । आईसीसी यू १९ विश्वकप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

    न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउने योजनामा छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ।

    आज नेपालको परीक्षा तीव्र गतिका बलरसँग हुन्छ । गत डिसेम्बरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिएपछि नेपाल १५२ रनमै अल आउट भएको थियो । अग्ला कदका जिशानको बाउन्स र सट बलमा नेपाल फसेको थियो । उक्त खेलमा उबेद शाहले १ र अमिर हसनले २ विकेट लिएका थिए ।

    दक्षिण अफ्रिका तीव्र गतिका सहयोगी पिचमा यी तीन बलरविरुद्ध खेल्न सहज हुनेछैन । जिशानको बलमा रन बनाउन निकै कठिन पर्न सक्छ । एक महिनाअघि मात्रै एसिया कप खेलेको हुँदा पाकिस्तानलाई नेपालको कमजोरी राम्रोसँग थाहा छ । त्यसैले सट र बाउन्सर बलको प्रयोग बढी हुनसक्छ ।

    नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । उनी नेपाली ब्याटिङका खम्बा हुन् । उनलाई सिनियर टोलीबाट खेलेका देल खनाल र गुलशन झाले पनि साथ दिन आवश्यक छ । देव र गुलशनबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । उक्त एसिया कपमा उत्तम थापामगर ५१, अर्जुन कुमाल २१ र दीपेश कँडेलले ३१ रन बनाएका थिए । आकाश र उत्तमले पनि उक्त जिम्मेवारी लिनुपर्छ ।

    नेपालले आजको खेलमा ओपनर दीपक बोहराको स्थानमा विपिन रावललाई मौका दिनसक्छ । त्यस्तै तीव्र गतिका बलर आकाश चन्दको स्थानमा बायाँ हाते बलर दुर्गेश गुप्ताले मौका पाउन सक्छन् । तल्लोक्रमका दीपक बोहराको स्थानमा विशाल विक्रम केसीलाई पनि मौका दिनसक्छ ।

    नेपाल आजको खेलमा पनि तीन स्पिनरका साथ जाने देखिन्छ । सुवाश भण्डारी, दीपेश कँडेल र तिलक भण्डारी स्पिनर हुन् । दीपेश प्रमुख स्पिनर हुन् । सुवास र तिलकले न्युजिल्यान्डसँग बलिङसँगै ब्याटिङमा पनि राम्रो प्रभाव छाडेका थिए ।

  • नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम

    नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम

    काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए।

    यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उनले बताए। हालको भौतिक प्रगतिलाई हेर्ने हो भने समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा ७ प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ । तर कामको गति असाध्यै न्यून रहेको योजना प्रमुख मगरले बताए ।

    निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उनले बताए। जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ ।

    बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र दुई लेन सडक निर्माण सम्पन्न भएको छ । पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा करिब एक सय २५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । यस हिसाबले अझै एक सय किलोमिटर बढी कालोपत्र गर्नुपर्ने काम बाँकी छ ।

    ‘एकतर्फीको हिसाब गर्दा करिब २१ किलोमिटर कालोपत्र गर्ने काम सकिएको छ,’ योजना प्रमुख मगरले भने, ‘सय किलोमिटरभन्दा धेरै कालोपत्र गर्न अझै बाँकी छ।’ साउनभित्रमा सबै काम सक्नेगरी निर्देशन गर्नुका साथै जनताको सुविधालाई ध्यानमा राखेर पहिला एकतर्फी कालोपत्र काम गर्न भनिएको योजना प्रमुख मगरले बताए।

    ‘साउनभित्र सबै काम सम्पन्न गर्नुपर्ने भनेका छौँ,’ त्यसमा पनि पहिला ६५ किलोमिटर एकतर्फी सक्नुपर्छ भन्ने निर्देशन गरेका छौँ, यस्तो गरियो भने अलि चाँडै यात्रा सहज हुन्छ भन्ने हो”, योजना प्रमुख मगरले भने। उनका अनुसार ठूला पुल १२ निर्माण गर्नुपर्नेमा सबैको काम जारी छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा २१ वटा पुलको काम सकिएको र अब एउटाको मात्रै काम बाँकी छ । गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माणको काम चलिरहेको छ ।

    करिब रु १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । साथै निर्माणको काम नसकिँदा धुलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित बनेका छन् । धुलोका कारण व्यापार व्यवसायसमेत प्रभावित बनेको डण्डाका व्यापारी कृष्ण अधिकारीको गुनासो छ। रासस

  • गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै

    गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।

    संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम गर्ने महामन्त्री थापाको तयारी छ । उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्ने थापाले बताए । थापाले संवाद यात्राको कार्यक्रम विहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।

  • नेपालका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउनबारे सरकारले अध्ययन गर्दै

    नेपालका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउनबारे सरकारले अध्ययन गर्दै

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययनको तयारी भइरहेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदले चार विमानस्थल सञ्चालनका विषयमा चासो राखेका थिए । जवाफ दिने क्रममा मन्त्री किरातीले यसबारे अध्ययनका लागि समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

    अहिले भैरहवा, पोखरा विमानस्थलको व्यवस्थापन फरक फरक संस्थालाई दिँदा समन्वय गर्न सहज नभएको भन्दै उनले भने, ‘चार वटालाई नै बण्डलिङ गर्ने र त्यसले निश्चित समयभित्र नयाँ एयरपोर्ट पनि बनाउने । सुरक्षाको प्रबन्ध नेपाल सरकारले गर्छ, अरु पीपीपी मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर हामीले अध्ययन समिति बनाउँछौं ।’

    अरु देशका ठूला विमानस्थलहरु पनि पीपीपी मोडलबाटै सञ्चालन भइरहेको उनले बताए । मन्त्री किरातीले भने, ‘जहाँसम्म नेपालमा सुरक्षाको प्रश्न देखाइन्छ, त्यो पुरानो कुरा हो । सबभन्दा थ्रेट त नेपाललाई भन्दा दिल्लीलाई छ नि । दिल्ली त चलाइराखेका छन् । सिंगापुर पनि त्यसरी नै चलेका छन् ।’ यसबारे मन्त्री वा मन्त्रालय तहबाट निर्णय गर्ने नभई राष्ट्रिय सहमति खोज्नुपर्ने मन्त्री किरातीले बताए ।

  • कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी

    कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी

    काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने तयारी अगाडी बढाएको छ र मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनिरहेको कोटेश्वर चोकको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले २०७६ मा गरेको अध्ययनका आधारमा सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढाएको हो ।

    सरकारले आर्थिक वर्ष २०७४\७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन । अब सरकारले जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी जापानसँग ऋण सम्झौता गर्नेछ । तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने र कोटेश्वर चोक छल्ने गरी त्रिभुवन विमानस्थलमुनि दुईतर्फी सुरुङ बनाउन ऋण लिन खोजिएको सडक विभागले जनाएको छ । अब मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने छ ।

    जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ । यो सुरुङ विमानस्थलको रनवे–सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दामुनि खनिनेछ । सुरुङले रन–वे तर्फको भाग छुने छैन । तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ ।

  • सामाजिक सञ्जाल नियमन अब अनलाइनबाटै

    सामाजिक सञ्जाल नियमन अब अनलाइनबाटै

    काठमाडौं । सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ । सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो । सोही निर्देशिकाका आधारमा अनलाइनबाट गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको छ ।

    सामाजिक सञ्जाल दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरेर अनलाइन गुनासो लिन सुरू गरिएको मन्त्रालयका उपसचिव एवम् इकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए । मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकन क्लिक गरेर गुनासो दर्ता गर्न सकिने संयोजक पाण्डेयले जानकारी दिए ।

    प्राप्त गुनासो अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उनले जानकारी दिए । नेपालमा सामाजिक सञ्जालका रूपमा सञ्चालनमा रहेका सबै प्लटेफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न सरकारले सूचित गरेको थियो । सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिए ।

  • माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस

    माघ २२ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस

    काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । । यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

  • भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो

    भिजिट भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो

    काठमाडौं । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुला बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो ।

    अध्यागमन विभागले सूचना जारी गरि भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न समेत भनेको छ ।

    यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो । अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ ।

  • एमालेद्वारा मध्यपहाडी क्षेत्रका ७५१ योजना र माग सरकारसमक्ष प्रस्तुत

    एमालेद्वारा मध्यपहाडी क्षेत्रका ७५१ योजना र माग सरकारसमक्ष प्रस्तुत

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित ७५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन्।

    गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझाव एवं देखिएका समस्यालाई लिपिबद्ध गरी सो पार्टीले सरकारलाई हस्तान्तरण गरेको हो ।

    पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अद्यावधिक स्थिति र कतिपय स्थानमा पुनः रेखाङ्कन तथा सुधार गर्नुपर्ने विषयमा समेत एमालेले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । सो क्रममा मध्यपहाडी क्षेत्रले सबैभन्दा बढी १५७ वटा माग सडकसँग सम्बन्धित र २५ वटा मोटरेबल पुल प्राथमिकतामा राखेको देखिएको छ ।

    सो सुझावमा सडक, शिक्षा, पर्यटन, कृषि तथा फलफूल, स्वास्थ्य, उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाई, भवन निर्माण, संस्कृति संरक्षण तथा प्रवद्र्धन, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछूत तथा हिंसाविरुद्ध, खानेपानी व्यवस्थापन तथा स्रोत संरक्षण, भूकम्पप्रभावित क्षेत्रलगायत ठाउँमा पुनःनिर्माण तथा पुनःस्थापना, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण तथा तटबन्ध निर्माणलगायत विषयमा मुख्य माग रहेका छन् ।

    पहाडी गाउँबस्तीमा बसाइँसराइ ठूलो चुनौतीका रुपमा देखापरेको, कतिपय बस्तीहरु रित्तिँदै गएको, विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्दै गरेको र कतिपय ठाउँमा त वृद्धवृद्धाको हेरचाह गर्ने या मलामी जाने युवाको समेत अभाव देखिएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    यस्तै, उत्पादित वस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउनु पनि बसाइँसराइका कारण बन्न पुगेको उल्लेख गर्दै पार्टीले किसानको हित संरक्षणका लागि विदेशी मुलुकका कृषि उत्पादनको अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहन नियन्त्रण गर्न, पुँजी र प्रविधिको प्रबन्ध, बाली बीमा, उत्पादनको समर्थन मूल्य र बजारको व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

    गत कात्तिक १७ गते जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाको काम अत्यन्त सुस्त र निराशाजनक रहेको उल्लेख गर्दै अस्थायी आवास र न्यानो कपडाको अभावमा चिसोले ३४ जनाभन्दा बढी भूकम्पपीडितको ज्यान जानु लज्जास्पद स्थितिका रुपमा एमालेले विश्लेषण गरेको छ ।

    सो पार्टीले अविलम्ब अस्थायी आवासका लागि राहत उपलब्ध गराएर र पीडितका लागि अस्थायी आवास सुनिश्चित गरेर नागरिकको जीवन रक्षा गर्न सरकारसँग माग गरिएको छ ।

  • ‘जय श्रीराम’ भन्दै देउवाले दिए मोदीलाई बधाई, नेपालका दलबाट आएको पहिलो प्रतिक्रिया

    ‘जय श्रीराम’ भन्दै देउवाले दिए मोदीलाई बधाई, नेपालका दलबाट आएको पहिलो प्रतिक्रिया

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

    सामाजिक सञ्जाल एक्स देउवाले मङ्गलवार भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्।
    अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो ।

    उनले लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई। पवित्र प्राण प्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायिहरूका लागि गौरवको क्षण हो। जय श्री राम!’

    सोमवार भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा नेपालका विभिन्न स्थानमा दिपोत्सव गरेर मनाइएको थियो।

    मङ्गलवार पहिलो पटक राम मन्दिर सर्वसाधारणका लागि खोलिएको छ। बिहानैदेखि भगवान रामको दर्शनका लागि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।

  • सडकबाट पार्किङ हटाएको विरोधमा न्युरोडका व्यापारीले गरे प्रदर्शन

    सडकबाट पार्किङ हटाएको विरोधमा न्युरोडका व्यापारीले गरे प्रदर्शन

    काठमाडौं । काठमाडौंको न्युरोड व्यवसायीहरुले क्षेत्रका कालोपत्रे सडकमा पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

    लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई काठमाडौं महानगरपालिकाले हटाएपछि व्यवसायीहरुले विरोध गरेका हुन् । व्यापरीहरुले पार्किङ हटाएपछि व्यापार नहुने भन्दै पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका हुन् ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु

    राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि लागु भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै गत रातीदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको छ । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् । राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

  • एसईई परीक्षा १५ चैतबाट

    एसईई परीक्षा १५ चैतबाट

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) १५ चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको हो । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।


    १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

  • रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु

    रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु

    काठमाडौं । रुसी सेनामा थप एक जना नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको नेपाली सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

    गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन । मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।

  • रविको स्पष्टीकरण : खातामा १ करोड ८० लाख जम्मा भएको छैन

    रविको स्पष्टीकरण : खातामा १ करोड ८० लाख जम्मा भएको छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको स्पष्टीकरण दिएका छन् ।
    पार्टी केन्द्रीय कार्यालय चस्मतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बै‌ंक खातामा पैसा नै जम्मा नभएको दाबी गरे ।

    ‘एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन,’ कान्तिपुर दैनिकको मुख्य समाचार देखाउँदै लामिछानेले भने, ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ। व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो त ?’ उनले समाचारका लागि भन्दै सधैंजसो राति १० बजेतिर फोन आउने गरेको पनि बताए। कान्तिपुर दैनिकले सोमबार ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्माु शीर्षकमा समाचार लेखेको थियो। यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पत्रकार सम्मेलन गरेका थिए।

  • आफुले मिडियामाथि पर्सनल अट्याक गरेको भन्दै रविले मागे माफी

    आफुले मिडियामाथि पर्सनल अट्याक गरेको भन्दै रविले मागे माफी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटक पत्रकार सम्मेलनका दौरान आफूले आवेशवमा आएर पर्सनल अट्याक गरेको स्वीकार गरेका छन् । त्यसका लागि उनले माफि समेत मागेका छन् । नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि तुच्छ शब्दमा आलोचना गरेका थिए।

    सोमबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको उनले बताए। ‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो। तपाईंहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुनेजस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला, यसपालि तपाईंहरूलाई घाटा हुने भयो र अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु। त्यसका लागि म क्षमा चाहन्छु। त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो। मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उनले भने।

    सभापति लामिछानेले जिबी राई जोडिएको सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै प्रष्टीकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए।

    उनले ग्यालेक्सी टेलिभिजनको गुडविल सेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताएका थिए।

  • अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध

    अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    राजुनाथ पाण्डेले भने, ‘भोलिदेखि पार्कि निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं ।’ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपास कालोपत्रे सडकमा पार्किङ निषेध हुने छ ।’ यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ ।