Category: समाचार

  • कार्यबाहक प्रधानमन्त्रीले सुरक्षा अवस्था बारे लिए जानकारी

    कार्यबाहक प्रधानमन्त्रीले सुरक्षा अवस्था बारे लिए जानकारी

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षास्थिति बारे छलफल गरेका हुन ।
    बिहिवार रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

    त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए । उनले  सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे ।  सो अवसरमा वहाँले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिए ।

    उक्त अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले संचालित गतिविधिहरुलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
    बैठकमा मुलुकको समग्र शान्ति सुरक्षा बारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नु पर्ने कदमहरुबारे छलफल गरिएको थियो ।

  • गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली

    गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताए ।

    अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसन तन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएकोले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

    एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको ओलीको भनाइ छ । उनले आफूहरू एक्लै लड्दा पनि ८० सीट ल्याएको उल्लेख गर्दै गठबन्धनका दलहरू एक्ला-एक्लै लडे बेहाल हुने बताए ।

    मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको उनले भनाइ छ ।

  • घरमा मृत भेटिइन् बक्सिङ खेलाडी, युवक नियन्त्रणमा

    घरमा मृत भेटिइन् बक्सिङ खेलाडी, युवक नियन्त्रणमा

    काठमाडौं । बक्सिङ खेलाडी नीता गोसाईं मृत भेटिएकी छन् । भक्तपुर नगरपालिकास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मंगलबार मृत फेला परेकी हुन् । उनी सशस्त्र प्रहरी बलबाट बक्सिङ खेल्दै आएकी थिइन् ।

    २७ वर्षीया गोसाई सशस्त्र प्रहरी बल(एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन्। उनले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो ।

    परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या देखिएको भक्तपुर प्रहरीले जनाएको छ ।

    मृतकका परिवारले एक युवकविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन भन्दै जाहेरी पनि दिएका छन् । विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको आफन्तको दावी छ ।

    प्रहरीले ती युवकलाई पक्राउ गरी यसबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • काठमाडौंको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह

    काठमाडौंको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ । अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ ।

    महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्ने जिम्मेवारी दिएको हो ।

    ‘८ वर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । त्यस नगरले गरेका काम काठमाडौंसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेका हौँ,’ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भन्नुभयो, ‘हाम्रो विज्ञहरूको टोलीले एक महिनासम्म काठमाडौंमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गर्नेछ ।’

    विज्ञ समूहमा इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहान बुधबार नै काठमाडौं आइपुग्नुभएको छ । उहाँले सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताउनुभयो । ‘यसले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ,’ उहाँको भनाइ छ ।

    काठमाडौं महानगरपालिकाले अहिले फोहोर संकलन, ढुवानी र ल्याण्डफिल साइटमा अन्तिम व्यवस्थापनको कामसमेत आफैँ गरिरहेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ ।

    यस्तै, राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाई समेत महानगरपालिकाका कर्मचारी आफैँले गर्छन् । यसबाट दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पुर्‍याउने गरिएको छ । अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पुर्‍याउँछन् । उपत्यकासहित नुवाकोट र धादिङ्का पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

    झिनो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा पुगेको हो ।

    यसदिन २९८ कम्पनीको ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८६ रुपैयाँ बराबरको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३ वटा कम्पनीको बढेको छ भने अन्य सबै ओरालो लागेको छ ।

    चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

  • ६ महिनामा ९ वटा गैडा मरे

    ६ महिनामा ९ वटा गैडा मरे

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट २ वटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोस्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले २ वटा गैँडा मरेका थिए ।

    त्यस्तै तस्करहरूले ६ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्कर पक्राउ परिसकेका छन् । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले त्याे गैँडा तस्करले मारेको आशङ्का गरेको बताए । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उनले  बताए । अहिले पनि याे घटनाको अनुसन्धान भइरहेको छ ।

    निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२/७३ यता २ सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा सिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा छन् ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण आयोजनामा दवावमुलक यात्रा गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण आयोजनामा दवावमुलक यात्रा गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण आयोजनाहरुमा दवावमुलक यात्रा गर्ने भएको छ । पार्टीको केन्द्रिय समिती बैठकले यस्ता आयोजना तय गर्दै विवरण सार्वजनिक गरेको छ । भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको गरिएको पार्टीले जनाएको छ । त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको संभावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको समेत पार्टीले जनाएको छ । बैठकले आचारसंहिता समेत तय गरेको छ ।

    यस्तो छ आयोजनाहरुको सूची ..

  • असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

    असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

    काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन् ।
    माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री  बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेका हुन् ।
    शिखर सम्मेलनमा सहभागी हुने नेपाली  प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन । उनी
    उहाँ माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।

  • प्रधानमन्त्रीको निर्देशनपछि टुंगिएला प्रहरी समायोजन प्रक्रिया ?

    प्रधानमन्त्रीको निर्देशनपछि टुंगिएला प्रहरी समायोजन प्रक्रिया ?


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।

    बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए ।

    बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्।

    प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका हुन् ।

  • गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

    गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त


    काठमाडौं । सरकारले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाइ नियुक्त गरेको छ ।
    बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
    डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयकै प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
    यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र शर्मालाई मनोनयन गरेको छ ।

  • भिजिट भिसामा विदेश जानेलाई विमानस्थलमा सास्ती नदिन प्रधानमन्त्रीको निर्देशन

    भिजिट भिसामा विदेश जानेलाई विमानस्थलमा सास्ती नदिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु/गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।’

    प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

  • महंगो ब्राण्डका बोतलमा नक्कली मदिरा बेच्ने ९ जना पक्राउ

    महंगो ब्राण्डका बोतलमा नक्कली मदिरा बेच्ने ९ जना पक्राउ

    काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

    काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।

    त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् ।

    काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो ।

    सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए ।

  • ‘धारामा मेलम्चीको पानी आएन्, यो नम्बरमा फोन गर्नूस्’

    ‘धारामा मेलम्चीको पानी आएन्, यो नम्बरमा फोन गर्नूस्’

    काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरेको दुई दिनपछि खानेपानी मन्त्रालयले पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गरेका थिए ।

    मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरण समिति गठन गरेको जानएको छ ।

    खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा तोकिएका टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    सम्पर्कका लागि समितिका संयोजकः पदम बहादुर कुँवर, ९८५१३२४११०, सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०, सदस्यः उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५, सदस्यः विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२ र सदस्यः दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६ उल्लेख छ ।

  • रास्वपाको केन्द्रिय समिती बैठक बस्दै, के छन् एजेन्डा ?

    रास्वपाको केन्द्रिय समिती बैठक बस्दै, के छन् एजेन्डा ?


    काठमाडौं । राश्वपाको केन्द्रीय समिति बैठक आज बस्दै छ । महामन्त्री मुकुल ढकालका अनुसार बैठक दिउँसो ३ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा विभागहरुको रिपोर्ट कार्ड प्रस्तुत हुने उनले जानकारी दिए ।

    समसामयिक विषय र संगठनको अपडेट, आर्थिक तथा प्रशासनिक नियमावलीमा समेत छलफल हुने भएको छ । विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट र विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिने निर्णय समेत आज गरिने बताइएको छ । पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदन, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैङ्क, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययनमा समेत आज छलफल हुने भएको छ ।

  • कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर

    कालिन्चोकमा हिमपात, पर्यटकलाइ अवसर


    काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।

    दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको स्थानीय  होटल सञ्चालकहरुले जानकारी दिएका छन् । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

    तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ ।
    हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको छ ।

    कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ ।

    हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा  पर्यटकको चहलपहल खासै बढेको थिएन।

    पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेका छन् ।

    कालिन्चोकमा हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।  कालिन्चोकको कुरीमा झन्डै ९० सय वटा साना तथा ठूला होटल छन्। 

  • मेलम्चीमा दीर्घकालीन समाधान खोज्न समिती गठन

    मेलम्चीमा दीर्घकालीन समाधान खोज्न समिती गठन


    काठमाडौं । मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ ।

    मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

    समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।

    मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भए/नभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ 

    पुराना लाइनबाट लामो समय पानी वितरण नहुँदा माटो जमेकोले प्रारम्भिक चरणमा पानी धमिलो आउने समस्या देखिएको छ भने केही ठाउँमा वितरण प्रणाली कमजोर हुँदा चुहावट भइरहेको छ । मेलम्ची खानेपानी विकास समितिले यसको समाधान गर्ने जनाएको छ ।

    समितिले पानी सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रशोधन गरी वितरण गरिएको तर पुराना लाइनका कारण धमिलो आएकोले केही शंका नगर्न समेत अपिल गरेको छ ।

  • सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाले गरायो मन्त्रीको ध्यानाकर्षण

    सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाले गरायो मन्त्रीको ध्यानाकर्षण


    काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन्। माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो। कानुन परिमार्जन सहितका विगतका सुझाव किन कार्यान्वयन नगरेको भन्दै रास्वपाले प्रश्न समेत गरेको छ ।

  • प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

    प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन ।

    स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दु:ख पाउने भएकाले यसलाई गम्भीररुपमा लिनु निर्देशन दिएका हुन् ।

  • पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

    पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

    काठमाडौं । पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापासँग ३ लाख धरौटी मागिएको छ ।

    विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रूपैयाँ ८५ पैसा बिगो मागदाबी गरेको थियो ।

  • ‘ईपीएस’ कोरिया भाषा परीक्षाको मिति सर्‍यो

    ‘ईपीएस’ कोरिया भाषा परीक्षाको मिति सर्‍यो

    काठमाडौं । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परिक्षाको कार्यतालिका सरेको हो ।

    हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो ।

    अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परिक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको विभागले जनाएको छ ।

    गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

  • नारायणगढ-मुग्लिन सडकमा तीन नयाँ पुल सञ्चालनमा

    नारायणगढ-मुग्लिन सडकमा तीन नयाँ पुल सञ्चालनमा

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् ।

    यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए।

    आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । १९ पुलमध्ये पहिलो चरणमा चार पुल निर्माण भएका हुन् । पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए ।

    सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् । यो प्याकेजको अन्तिम म्याद चैत मसान्तसम्म रहेको आयोजना इन्जिनीयर विजय दराईले जानकारी दिए । आठ पुलमध्ये तीन पुल निर्माणको काम बाँकी छ । जुगेडी, खहरे र सिमलतालको पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने दराईले बताए।

    इच्छाकामनातर्फको पुल निर्माणका लागि एक वर्षको म्याद छ । सात पुलमध्ये दुई पुल सञ्चालनमा आइसकेका छन् । दुई पुलबाहेक सबै असारसम्ममा निर्माण सम्पन्न हुने गरी काम भइरहेको दराईले बताए ।

    खहरे खोलाको पुल निर्माणको काम भइरहेको छभने तुइन खोलामा अहिले पुल निर्माणका लागि दिउँसोको समयमा सडक बन्द गरेर पहाड फोर्ने काम भइरहेको छ । अहिलेसम्म १५ मिटर पहाड काटिसकिएको छ । थपिएको समयमा अधिकांश काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

    यस सडकखण्डमा २०७६ साल चैतदेखि १५ पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको थियो । विश्व बैङ्कको सहयोगमा पुल निर्माण गरिएका हुन् । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छ । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो । केही वर्षअघि सडक विस्तार गरिएपछि पुल फराकिलो बनाइएको हो ।

  • प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ, को-को परे ?

    प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ, को-को परे ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी र स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्रता दिएका छन् ।

    प्रधानमन्त्रीले आफ्नो कार्याकाल एक वर्ष पुगेको सन्दर्भमा १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सचिवालयको संरचना बदल्ने बताएका थिए । जस अनुरुप माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरिएको हो ।

    बिदाइ गरिएकामा एक स्वकीय उपसचिव, चार स्वकीय सहसचिव, एक स्वकीय शाखा अधिकृत र दुई प्रशासन सहायक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ​ यसैगरी दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई सवारी चालक छन् ।

  • राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागु, के-के गर्न पाइँदैन ?

    राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागु, के-के गर्न पाइँदैन ?

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

    आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बनिधत निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ।

    नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्तिलगायतलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ।

    मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक कार्यक्रम आदि गर्न नहुने व्यवस्था आयोगले गरेको छ।

    निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् माघ ८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने भनेको छ।

    मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको ३०० मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन गराउन नहुने पनि आयोगले जनाएको छ।

  • पेट्रोलियम पदार्थको मुल्य घट्यो

    पेट्रोलियम पदार्थको मुल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ २६ पैसा र डिजल  ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको हो । 

    निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपियाँ ५० पैसा, डिजल र मटितेल १४३ रुपियाँ ५० पैसा कायम भएको छ । साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजल र मटितेल प्रतिलिटर १५५ रुपियाँ कायम भएको छ । साथै काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोल प्रतिलिटर १६६, डिजल र मटितेल १५६ रुपियाँ कायम भएको छ ।

  • राष्ट्रिय सभा निर्वाचनमा आजबाट आचारसंहिता लागू

    राष्ट्रिय सभा निर्वाचनमा आजबाट आचारसंहिता लागू

    काठमाडौं । आगामी ११ माघमा हुने  राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुने भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।

    मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन 

    सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

    आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

    मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको तीन सय मिटर वरपरबाट प्रचार सामग्री हटाउनुपर्ने छ ।

    निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

  • भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम

    भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम


    काठमाडौं । आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ ।

    चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका उप-सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ ।

    उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ ।

    विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।

    ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएको थियो ।

    यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार ६७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

  • त्रिशुलीमा झरेको गाडी गोताखोरले फेला पारे

    त्रिशुलीमा झरेको गाडी गोताखोरले फेला पारे

    काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी झरेको छ । मङ्गलबार बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि खोजीका लागि  गोताखोर परिचालन गरिएको थियो । सो टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

    डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको हो । गाडीमा कति मानिस थिए भन्ने खुलेको छैन ।
    गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट  १३ जनाको टोली परिचालन गरिएको थियो ।

  • प्रधानमन्त्रीले गरे मेलम्ची खानेपानी वितरणको उदघाटन

    प्रधानमन्त्रीले गरे मेलम्ची खानेपानी वितरणको उदघाटन


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् ।

    सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए ।

    कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्रीले भने, ‘‘काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ।’’

    कार्यक्रममा प्रधानमन्त्रले आयोजनाको दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई  निर्देशन दिएको जानकारी दिए ।

  • संविधान कार्यान्वयन मार्फत  गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति  पौडेल

    संविधान कार्यान्वयन मार्फत  गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति  पौडेल

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन आग्रह गरेका छन् ।
    माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौं भन्ने प्रण गर्न आग्रह गरे।
    उनले भने, ‘यो संविधानले उत्पिडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । यो वेजोड अधिकारी दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं ।’

    उनले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे । उनले भने, ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सवै मिलेर आजको दिनमा प्रण गरौँ ।’

    उनले  माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए ।
    कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिती रहेको थियो ।

  • लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

    लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

    माघ १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

    सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ ।’’