Category: समाचार

  • सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय खोज्न कार्यदल गठन

    सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय खोज्न कार्यदल गठन

    काठमाडौं । पछिल्लो समय सवारी दुर्घटनामा भइरहेको बढोत्तरीलाई मध्यनजर गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्सीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् ।
    नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए । यस्तै शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका(४ स्थित हिमचुली सेतोपहरामा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो भने शनिबार नै बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।

    सवारी दुर्घटनाबाट दुई दिनभित्रमा १९ जनाको ज्यान गएपछि मन्त्रालयले भौतिक तथा प्राविधिक त्रृटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए । सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा कार्यदल गठन भएको उनले बताए ।

    संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको उनले बताए ।

    कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ ।

    सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले बताए ।

    आइतबार बसेको सडक सुरक्षा परिषद्‍को बैठकले पनि चार वटा निर्णय गरेको छ । मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा विज्ञहरुको सूची तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयक उपर समितिमा पठाउने निर्णय गरेको छ ।

  • न्यायाधीश पत्नीले सर्वोच्च परिसरमा गरिन् आत्मदाह प्रयास

    न्यायाधीश पत्नीले सर्वोच्च परिसरमा गरिन् आत्मदाह प्रयास

    काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

    उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।

    उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

  • चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड कर

    चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड कर

    काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १.८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुप अन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ ।

    आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने उच्च रहेको छ ।

    यद्यपि, राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमी आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।

    ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’

    अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित बृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिए ।

    गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

    ‘चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तिय क्षेत्र, अटोमोवाईल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा हामीले तिब्र गतिमा लगानी विस्तार गरिरहेका छौँ । नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्याउन चाहान्छौँ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हाम्रो ग्रुप एकसय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ । र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’

    नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ ।

  • राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

    राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि कानूनको व्यवस्थाबमोजिम खर्चको सीमा तोकेको हो ।

    ‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची-१ ले रु.३,५०,०००।- (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ’, आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ।

    उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

    त्यस्तै, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी कानून बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आग्रह गरेको छ ।

  • मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै

    मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै

    काठमाडौं । काठमाडौं उपत्यकामा सोमवारबाटै मेलम्चीको पानी वितरणको तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा एक कार्यक्रममा मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने तयारी गरिएको छ । भोलीबाटै उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएइको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट पानी पुस २५ बाट हेडवर्क्समा पठाइएको छ ।

    पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने भएको छ । सुरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

  • झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

    झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक(९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । त्यस्तै कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

    यस्तै शनिबार नै झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो ।

    दुर्घटनामा कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

  • कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु

    कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु

    काठमाडौं । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएको छ । घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका १ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका ५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार २५ पुसको साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा भेटिएका थिए । उनीसँगै दोहोरी साँझमा गएका कृष्णपुर नगरपालिका(४ का २८ वर्षीय टेकबहादुर नायकले घर पुर्‍याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै मृत्यु भएपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    विवादका क्रममा देउवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनीसँगै दोहोरी साँझ गएका ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का २७ वर्षीय विनोद शाह, गोदावरी-६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका-९ का ३८ वर्षीय रामबहादुर ऐर र उनीसँगै गएका टेकबहादुर नायक रहेका डीएसपी चन्दले बताए । मृतकका परिवारले उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना

    माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको देखिएको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    चीनमा कोइला खानीमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् । दुर्घटना कोइलाखानीमा ग्यास विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सिसिटिभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

    खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ । यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्याङ्क अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो । गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

    नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । रासस-एएफपी

  • दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

    दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत

    काठमाडौं । दाङ बस दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

    त्यसअघि आठ जनाको सनाखत भइसकेको थियो। जसमा बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका– १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस–९ का २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

    मृतकहरूको पोष्टमर्टम दाङको लमही अस्पतालमा गरिएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो। दुर्घटनापछि गम्भीर घाइते १२ जनालाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाका घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १ जना घाइतेकोे उपचार जारी छ ।

  • काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार चन्द्रागिरी नगरपालिका ४ सेतो पहराबाट झरेको छ । सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
    शनिबार दिउँसो १ः५५ बजे प्र.३–०१–२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्। एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए। दुर्घटनामा परी गम्भीर घाइते ६ वर्षीया स्मारिका गौतमको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । डा. सृष्टी तिवारी गौतम सकुशल रहेको बताइएको छ ।

  • काठमाडौं विमानस्थलबाट अहिलेसम्मकै धेरै यात्रुले गरे यात्रा

    काठमाडौं विमानस्थलबाट अहिलेसम्मकै धेरै यात्रुले गरे यात्रा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो ।

    कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४.५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४६० रहेको छ । यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् । फ्लाइट संख्या सन् २०२२ को तुलनामा २९.४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ भन्दा १०.७६ प्रतिशतले कम हो ।

    कार्गो आगमन भने सन् २०२२ भन्दा १३.९८ प्रतिशतले कमी अर्थात २२ हजार ९४६,३७७ टन मात्र भएको छ । अन्तर्राष्ट्रिय यात्रुको आवतजावत बढे पनि आन्तरिक आवागमन भने घटेको छ । सन् २०२३ मा त्रिभुवन विमानस्थल प्रयोग गरेर ४१ लाख ५० हजार ३२६ जनाले आवतजावत गरेका छन् ।

    जुन सन् २०२२ को भन्दा ७.०७ प्रतिशतले कमी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । आन्तरिक हवाइ उडानको संख्या भने ९६ हजार ९८९ रहेको छ । यो पनि सन् २०२२ को तुलनामा १०.३६ प्रतिशतले कम हो । आन्तरिक उडानमा कार्गो ओसारपसार तीन हजार ४२६.८६१ टन भएको छ । यो मात्रा भने सन् २०२२ को भन्दा १०.८७ प्रतिशतले वृद्धि हो ।

  • चालु आवको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

    चालु आवको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०्–८१ को पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार भएको हो । यस वर्ष सरकारले ७ प्रतिशत हाराहारीको विस्तार हुने अनुमान गरेको छ ।

    बहुराष्ट्रिय निकायहरुले भने ४ प्रतिशत हाराहारीमा मात्र वृद्धि हुने प्रक्षेपण गरिरहेका छन् । कार्यालयले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार हुने बताएको हो । अघिल्लो आवको चौथो त्रैमासिकको भन्दा भने चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्रमा केही संकुचन आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।

    तथ्यांक अनुसार यस आवको पहिलो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको कुल मुल्य अभिवृद्धि सबैभन्दा धेरै १५.८ प्रतिशत रहेको अनुमान गरिएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित प्रत्यक्ष आधारित रहेको यो क्षेत्रमा बालुवा गिट्टीको प्रभाव बढी देखिन्छ ।

    यस अवधिमा निर्माण क्षेत्रको जीडीपी समेत ११.४ प्रतिशतले विस्तार भएको छ । वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दोस्रो स्थानमा छ । यो १३.२ प्रतिशतले विस्तार भएको तथ्यांक कार्यालयले जनाएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम आदि कारणले यस क्षेत्रमा सकारात्मक वृद्धि देखिएको हो ।

    आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतको विस्तार भएको छ । खुद्रा तथा व्यापार क्षेत्रमा भने १.४ प्रतिशतले संकुचन आएको देखिएको छ । समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुमा आएको कमीले यो क्षेत्रको वृद्धिदरमा प्रभाव परेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । घरजग्गाको कारोबार समेत २.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

  • डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो

    डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो

    काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली शुक्रबार मध्यराति जोडिएको छ । मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडेको हो । शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको हो । विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो । यस विवादको अध्ययन गर्न सरकारको आयोग गठन गरेको छ ।

  • दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु

    दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु

    काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

    इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

    मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०–३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

    बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

    नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।

    रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् । यस्तै पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरू निर्विरोध चयन गरेको छ । सुदूरपश्‍चिम प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बास्तोला, कर्णाली प्रदेश उपाध्‍यक्षमा महेन्द्र पुन, कोशी प्रदेश उपाध्‍यक्षमा इन्द्र कुमारी लिम्बु र मधेश प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् ।

    यस्तै ७ जना सह(महासचिवहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा रामलाल डंगौरा, पदम अधिकारी, पवन कुमार साह, दिल कुमारी लावती, राजन गुरूङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन् । यस्तै सचिवमा तुलसी प्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजय कुमार बस्‍नेत निर्विरोध चयन भएका छन् । यस्तै पार्टीको सह(सचिवमा पनि पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्‍बु निर्विरोध निर्वाचित भएका छन् ।

    महासचिवमा उम्मेदवारी दिएका ३ जनाबीच सहमतिको प्रयास जारी छ । निर्वाचन समितिले २५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छ । सहमति हुन बाँकी पदमा सहमतिको प्रयास जारी रहेको नाउपाले जनाएको छ ।

  • पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू उपस्थित

    पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्रीसहित शीर्ष नेताहरू उपस्थित

    काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चियापान कार्यक्रम आयोजना गरेको छ ।

    भृकुटीमण्डपमा भएको चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । राप्रपाका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

    कार्यक्रममा सभामुख देवराज घिमिरे‚ उपसभामुख इन्दिरा राना, मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, उद्योगी, व्यापारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारण उपस्थित थिए।

    बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो ।

  • उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

    उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिदिने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न बाँकी उद्योगमा काटिएको बिजुली लाइन जोडिदिने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले मंगलबार नै उद्योगहरूमा लाइन जोड्न निर्देशन दिए पनि प्राधिकरणले पत्र आइनपुगेको भन्दै आलटाल गरिरहेको थियो । बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएपछि प्राधिकरणले ४ दिनपछि उद्योगहरूमा विद्युत् लाइन जोडिदिने निर्णय गरेको हो ।

    मंगलबारको मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ आयोग समेत गठन गरेको छ । आजको बैठकले उक्त आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नहुन्जेलसम्मका लागि उद्योगहरूमा लाइन जोडिदिने निर्णय गरेको हो ।

    डेडिकेटेड फिडर तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगहरूले बिजुलीको महशुल नतिरको भन्दै प्राधिकरणले पुस ६ गते यता २४ उद्योगको लाइन काटेको थियो । तीमध्ये हिमाल आइरनले पहिलो किस्ताबापतको रकम बुझाएपछि प्राधिकरणले लाइन जोडिदिएको थियो भने अन्य उद्योग बन्द थिए ।

    प्राधिकरणले पहिले चरणमा पुस ६ गते जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु ४ अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु १ अर्ब ९४ करोड, घोराही सिमेन्टले रु १ अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु १ अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।

    त्यस्तै, पुस ९ गते सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको थियो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ ।

    प्राधिकरणले पुस १३ गते एकैपटक १४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले से बेला जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ)को लाइन काटेकेा थियो ।

    त्यसैगरी, बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ), बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जएभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटेकाे थियो ।

    त्यस्तै, पुस २३ गते मात्रै हुलास स्टील उद्योगको लाइन काटेको थियो । उक्त उद्योगले ४२ करोड २४ लाख रुपैयाँ महशुल बुझाउन बाँकी छ । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकक लाइन उपभोग गरेका ६१ उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ महशुल उठाउन बाँकी रहेको छ ।

  • आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

    आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा

    काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदैछ । यस अवसरमा मुलुकभर विभिन्न कार्यक्रम आयोजना हुनेछन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

    तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

    विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।

    पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरुले शुभकामना सन्देश दिएका छन् । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

    राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ संघसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

  • नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

    नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

    काठमाडौं । नेपालमा उपभोक्ता मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा पनि तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४.९५ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको यहीं अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष घ्यु, तेल, तरकारी, माछा मासु उपसमूहको वस्तुहरुको मूल्यमा कमी आएको, पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्य घटेका कारण समग्र मूल्य वृद्धिदरमा कमी देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा औंल्याइएको छ ।

    क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.४२, तराईको ४.२६, पहाडको ५.४२ र हिमालको ७.४६ प्रतिशत देखिएको छ । २०८० मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.६६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

  • बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

    बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ।

    बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

    बिहीबार प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। बमजनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

  • गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको संयुक्त लगानीमा बनाइने

    गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको संयुक्त लगानीमा बनाइने

    चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन् ।

    प्रमुख दाहालका अनुसार उक्त आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले समेत अनुदानका रूपमा बजेट उपलब्ध गराउने छ । रङ्गशालाका लागि यसअघि सट्टाभर्नामा जग्गा लिने सहमति भएकामा अहिले सो प्रावधान नरहेपछि लिज ऐनअन्तर्गत ४० वर्षका लागि रङ्गशालालाई जग्गा लिन मन्त्रिपरिषद्ले सहमति दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रङ्गशालाको काम अघि बढाउन लागेको उनले बताइन् ।

    महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा रु ७५ करोड बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन रु १ अर्ब लाग्ने प्रमुख दाहालले जानकारी दिइन् । पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइने उनको भनाइ छ ।

    प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए सङ्घीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रङ्गशाला बनाउने तयारी गरिएको हो । प्रमुख दाहालका अनुसार प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने छ ।

    धुर्मुस–सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रङ्गशाला निर्माण कार्य अलपत्र बनेको छ । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्त्वपूर्ण आयोजनाको रूपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सङ्घीय सरकारले अनुमति दिएसँगै अब कामले गति लिने बताए ।

  • काठमाडौंका ३ ठाउँमा ‘एएनपीआर’ क्यामेरा जडान, दुर्घटना गराएर भागे पनि तुरुन्तै फोटो पठाउने

    काठमाडौंका ३ ठाउँमा ‘एएनपीआर’ क्यामेरा जडान, दुर्घटना गराएर भागे पनि तुरुन्तै फोटो पठाउने

    काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

    अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ ।

    जसलाई ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर)भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूम्रपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ ।

    आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

    ‘मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङमात्रै थाहा भयो, तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ, अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ,’ मैनालीले भन।

    ‘मनिसले सत्य नबक्न पनि सक्छ, तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ,’ प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले थपे, ‘अहिले हामीले कोटेश्वरको मुनिभैरव, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रमा जडान गरेका छौँ ।’

    आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ । उनका अनुसार चारवटा मुनिभैरवमा, चारवटा महाराजगञ्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ । त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ । त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ ।

    यसअघि प्रहरीलाई ‘हिट एण्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ ।

    केही दिनअघि जडान गरिएको उक्त क्यामेराका लागि काठमाडौँ महानगरपालिकाको सहयोग रहेको छ । यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ । अरु पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ, अब यो आर्थिक वर्षभरिमा काठमाडौँका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिए । रातिको समयका लागि समेत यसले काम गर्छ । गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ ।

    उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा १७० वटा राख्न लागिएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) १५० स्थानमा जडान गर्न लागिएको छ । उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौँको प्राविधिक सहयोग रहेको छ । सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक–फरकरूपमा काम गर्ने बताए ।

    उनले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताए । हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ । भीडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उनले बताए । रासस

  • रेलमार्गमा छलाङ मार्दै चीन, उच्च गतिको रेलवे ४५ हजार किलोमिटर पुग्यो

    रेलमार्गमा छलाङ मार्दै चीन, उच्च गतिको रेलवे ४५ हजार किलोमिटर पुग्यो

    बेइजिङ । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले जनाएको छ ।

    चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज १लाख ५९ हजार किलोमिटर रहेको छ ।

    चीनको रेल क्षेत्रमा लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो ।

    सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् । जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।

    गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेशनमा सेवाको सुरुवात् तथा निर्माणाधीन ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।

  • स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

    स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने बताएको हो ।

    उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।

    अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह-भुक्तानीको व्यवस्था लागू हुनेछ।

    दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ ।

    सह-भुक्तानी लागू नहुने अस्पताल वा सेवा प्रदायकहरु
    प्राथमिक स्वास्थ्य केन्द्र
    २५ शय्या सम्मका सरकारी अस्पताल

    सह-भुक्तानीको व्यवस्था लागू हुने अस्पतालहरु
    संघीय अस्पताल
    २५ शय्या माथिका प्रदेश,प्रादेशिक अस्पताल
    सबै निजी वा सामुदायिक अस्पतालहरु

  • बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

    बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

    काठमाडौं । बाल यौन दुराचारको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। रेग्मीको इजलासमा बम्जनमाथि बयान सुरु गरिएको छ।

    हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

  • प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

    प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनको भ्रमण स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिने छन् ।

    त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

  • अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ

    अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ

    काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरे्को छ । क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने–गराउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका २१ को निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका ११ हिरापुरा घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका(४ अनामनगर बस्ने २५ वर्षीय निशान गौतम छन्।

    प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनीहरूलाई आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

  • कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु

    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने(चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

    नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
    ढकाल दम्पतीका दुई छोरा र एक छोरी छन् ।

  • भारतीय क्रिकेट मैदानलाई नेपालले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राख्ने

    भारतीय क्रिकेट मैदानलाई नेपालले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राख्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव गरेको विवरण सार्वजनिक भएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा बलिया तथा टेष्ट राष्ट्रलाई बोलाएर खेल खेल्ने पूर्वाधार नभएका कारण भारतीय मैदानलाई घरेलु मैदानका रुपमा प्रयोग गर्न भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुरा राखिएको जानकारी दिएका छन् ।

    १९ पुसमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला नेपाल क्रिकेट संघका पदाधिकारी र खेलाडीहरुले भेटेका थिए । सो क्रममा आफूहरुको प्रस्तावमा भारतीय विदेशमन्त्री सकारात्मक रहेका अध्यक्ष चन्दले जानकारी गराएका छन् ।
    नेपालमा ठूला देशसँग क्रिकेट खेल्न पर्याप्त पूर्वाधार नहुँदासम्म भारत लगायत विश्वका अन्य राष्ट्रहरुसँग खेल्ने वातावरण बनाउन भारतमा घरेलु मैदानको योजना बनाएको उनको भनाइ छ । नेपालले केही दिनमै भारतसँग यससम्बन्धी औपचारिक प्रस्ताव राख्ने र नेपालबाट आवतजावत गर्न जुन स्थानमा सहज त्यहीँको मैदान माग गर्ने उनले बताएका छन् ।, भारतमा देहरादुन, नोयडा र लखनउमध्ये कुनै एक मैदानलाई नेपालले होम ग्राउन्डका रुपमा उपयोग गर्ने चाहना राखेको समाचार प्रकाशित भएका छन् ।