Category: समाचार

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २०.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको हो ।

    यसदिन ३०५ कम्पनीको ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

    आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट झन्डै २० करोड र माउन्टेन इजर्नीको १५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तेह्रथुम पावरको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, धौलागिरि लघुवित्त र सिंगट्टी हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

    राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

    काठमाडौं । राष्ट्रिय सभामा माओवादी केन्द्रले ६ उम्मेद्‌वारको नाम टुंगो लगाएको छ । आइतबारको गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो।

    बैठकले कोशी प्रदेशमा चम्पा कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विक र सुदूरपश्चिम प्रदेशमा रेनु चन्दको नाम टुंगो लगाएको हो ।

    फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्रका ३ सांसदको पद रिक्त हुँदैछ। गठबन्धनका साझा उम्मेदवारका रुपमा तय भएका ६ जनै उम्मेदवारले जितेमा उसलाई ३ सिट नाफा हुनेछ।

  • केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ

    केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ

    काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट मानन्धरलाई पक्राउ गरेको हो ।

    मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ। त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ किलो ७ सय ५४ ग्राम गाँजा, लागुऔषध जोग्ने डिजिटल तराजु पनि बरामद भएको छ।

    विगत एक वर्षदेखि उनले गाँजा मिसाएर केक लगायत विभिन्न प्रकारका खानेकुरा बनाएर अनलाइनमार्फत् बेच्दै आएको अनुसन्धानबाट खुलेको छ। गाँजा मिसाएर बनाउने गरेका परिकारका मेनुहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

  • सत्ता गठबन्धनका चार दलबीच भागबण्डा मिल्यो, समाजवादीलाई दुई सिट

    सत्ता गठबन्धनका चार दलबीच भागबण्डा मिल्यो, समाजवादीलाई दुई सिट

    काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

    सहमति अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले पाउनेछ ।

    गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएकाे छैन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक-एक सीट दाबी गरेका छन्।

  • बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का

    बंगलादेश निर्वाचन : भोट नहाल्दै सत्तारुढ दलको जित पक्का

    काठमाडौं । बङ्लादेशमा भोट नहाल्दै संत्तारुढ दलको जित पक्का भएको छ । त्यहाँ आज आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । सेना, प्रहरी, नौसेना र वायुसेनाका अधिकारी सुरक्षाका लागि खटिएका छन् ।

    प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ । उसको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का जस्तै भएको समाचारहरुमा जनाइएको छ ।

    बीएनपीले भोलि बिहानसम्म हड्ताल आह्वान गरेको छ । गएको अक्टोबर अन्तिममा प्रमुख विपक्षी पार्टीले ढाकामा प्रधानमन्त्री हसिनासँग आमचुनावका लागि स्वतन्त्र र निष्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग गरेको थियो । तर माग पूरा नभएको र आफ्ना वरिष्ठ नेताहरुका साथै हजारौँ मानिस पक्राउ परेपछि चुनाव बहिष्कार गरेको विपक्षी दल बीएनपीले जनाएको छ ।

  • यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

    यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

    काठमाडौं । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर आफुखुसी युरोप गइरहेका नेपालीका लागि सरकारले सहजीकरण गरिदिएको छ । सरकारले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार पठाउन कानुनी बाटो खोलिदिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ सार्वजनिक गर्दै संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको छ ।

    कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्न श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय मागपत्र प्रमाणीकरण समिति बनाउने बताएको छ । समितिमा रोजगारदाताले कामदारलाई उपलब्ध गराउने पारिश्रमिक एवम् सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कामदारको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने हुन्छ ।

    त्यसरी मागपत्र प्रमाणीकरण भएमा खाडी क्षेत्र र मलेसियाका रोजगारदाताले एकसय जनाभन्दा कम कामदार लैजान चाहेमा ४० हजार रुपैयाँ, एकसयभन्दा माथिका लागि ६० हजार रुपैयाँ पेस गर्नु पर्ने हुन्छ । त्यस्तै, पूर्वी एसिया, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा एकसयभन्दा कमका लागि ५० हजार र एकसयभन्दा बढीका लागि ७५ हजार रुपैयाँ पेस गर्नुपर्नेछ । युरोप तथा बाँकी अरु देशमा एकसयभन्दा कमका लागि ३५० यूएस डलर र एकसयभन्दा बढीका लागि ५ सय डलर राजस्व बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

    कार्यविधिमा संस्थागत माग पत्र पेस भएको १५ दिनभित्र दूतावासले प्रमाणीकरण नगरेमा सिधै श्रम मन्त्रालयले हेर्ने व्यवस्था गरिएको छ । यसअघि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार दूतावासबाट मागपत्र प्रमाणित भएपछि मात्रै कामदार भर्ना प्रक्रिया शुरु हुन्थ्यो । अब संशोधित व्यवस्थाअनुसार युरोपसहित गन्तव्य देशको रोजगारदाताले नेपाली कामदार ल्याउनको लागि नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि पेस गर्नुपर्ने हुन्छ ।

    १५ दिनभित्र जाँचबुझ भइ नआएको अवस्थामा प्राप्त रोजगारीका अवसर गुम्न नदिन एवम् वैदेशिक रोजगारलाई विश्वसनीय र व्यवस्थित बनाउनका लागि मन्त्रालयमा नै मागपत्र पेस गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।

  • त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

    त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो।

    खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो। सो मापदण्ड विवादित बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञापन रद्द गर्न निर्देशन दिएका थिए। समितिले आज अर्को सूचना निकालेर विज्ञापन रद्द गरिएको जनाएको छ। रद्द भएपछि उपकुलपति नियुक्तिका लागि समितिले अर्को विज्ञापन जारी गर्नेछ।

  • राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

    राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आगामी माघ ११ गतेमा हुँदैछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक गरिएको थियो ।


    प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर आज अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा कूल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

    २०७२ को संविधान जारीपछि पहिलोपल्ट ०७४ माघमा राष्ट्रिय सभा गठन भएको थियो । संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यकबाट प्रतिनिधित्व हुनेगरी ५६ जना निर्वाचनबाट चुनिएका थिए । एक महिलासहित ३ जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पुरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु विदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।

  • म्याग्दीमा एकै घरका दुई जनाको हत्या

    म्याग्दीमा एकै घरका दुई जनाको हत्या

    काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

    उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजाको उपचारका क्रममा मृत्यु भएको छ । छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते छिन् र उनको पोखरामा उपचार भइरहेको छ । मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

    घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको डीएसपी कुँवरले जानकारी दिए । उनीहरुको दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको थियो । गम्भीर घाइते अवस्थामा रहेकी प्रियंकालाई पोखरामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अमृताको मणिपालमै उपचार भइरहेको छ ।

    प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । रासस

  • राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

    राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने भएका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट गर्ने निर्णय गरेको हो ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ, लेखकले भने, ‘गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरूबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ । सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ ।’

    सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरूमध्ये कसलाई कति सिट दिने भन्ने विषयमा शनिबार नै टुंगो लगाउने पनि लेखकले बताए । एमालेसँग राष्ट्रिय सभा निर्वाचनका बारेमा भएको छलफलका विषयमा लेखकले भने, ‘सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा बृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो, तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौँ ।’

  • निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

    निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ

    काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने बताएका थिए ।

    सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

    सरकारले गत मंसिर ५ गते माइतीघर-वानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो ।

  • बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

    बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

    काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

    समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् । शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

    मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

  • उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’

    उत्तर कोरियाली नेता किमको संभावित उत्तराधिकारी ‘छोरी’

    काठमाडौं । उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी सम्भावित उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। दक्षिण कोरियाको गुप्तचर निकाय न्याश्ननल इन्टेलिजन्स सर्भिसले किम जू-ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि उक्त निकायले नेतृत्वको उत्तराधिकारसँग सम्बन्धित प्योङ्याङका सबै सम्भावित योजना आफूले नियालिरहेको जनाएको छ।

    किम जू ए सन् २०२२ को अन्त्यतिर पहिलो पटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्। त्यसपछि उनी चर्चामा रहँदै आएकी छन्। ूपहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जू एका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्,ू न्याश्ननल इन्टेलिजन्स सर्भिसले भनेको छ।

    ूतर हामी सबै सम्भावना नियाल्दै छौँ किनभने किम जङ-अन अझै युवा छन्, उनको स्वास्थ्यमा ठूलो समस्या छैन र अरू धेरै परिवर्तनशील कुराहरू छन्। किम जू ए उत्तर कोरियाका शासककी माहिली छोरी हुन्। उनको उमेर १० वर्ष भएको ठानिएको छ।
    गत महिना आयोजित एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका एक मन्त्रीले पनि उत्तर कोरियाली नेताको सम्भावित उत्तराधिकारीबारे उस्तै आकलन गरेका थिए। किम जङ-अनकी छोरीलाई निरन्तर महत्त्व दिइनुलाई उत्तर कोरियाले विषम आन्तरिक अवस्थाका बीच चाँडोचाँडो उत्तराधिकारको उद्देश्य खुलाउन खोजेको प्रमाण मान्न सकिन्छ, एकीकरणसँग सम्बन्धित मामिला हेर्ने मन्त्री किम युङ होले भनेका थिए।

    उत्तर कोरियाबारे चासो राख्ने पर्यवेक्षकहरूले किम जू एलाई सन् २०२२ को नोभेम्बर महिनामा पहिलो पटक सार्वजनिक गरिएपछि अहिले किमकी प्रिय छोरीको साटो सम्मानित छोरी भनेर सम्बोधन गरिनु अर्थपूर्ण मानेका छन्। उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र सम्मानित विशेषण प्रयोग गरिन्छ। यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई सम्मानित कमरेड भन्न थालिएको थियो।

    उत्तर कोरियामा सर्वसाधारण मानिसहरूलाई किमको वंश पवित्र भएको बताउने गरिन्छ। त्यसको अर्थ देशमा उक्त परिवारले मात्र शासन गर्न पाउँछ भन्ने हो। किम देशको शासनसत्ताको नेतृत्व आफ्नो परिवारभित्र चौथो पुस्तालाई हस्तान्तरण गर्न पाइयोस् भन्ने चाहन्छन्। डिसेम्बरमा उत्तर कोरियाले ठोस इन्धनबाट चल्ने ह्वासङ-१८ अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दा किम जू ए आफ्ना पितासँग देखा परेकी थिइन्।

    उत्तर कोरियाले गत नोभेम्बर महिनामा जासुसी भूउपग्रह प्रक्षेपण गर्दा पनि उनी किमसँगै उपस्थित थिइन्। किम जू एलाई चाँडै उत्तराधिकारीका रूपमा चिनाएर शासनमा पुग्नुअघि नै उनी स्थापित भइसकून् भन्ने उद्देश्य राखिएको हुन सक्ने विश्लेषकहरूको धारणा छ।

    उत्तर कोरियामा महिलाहरू नेतृत्वमा पुगेका छैनन्। त्यसैले पितृसत्तात्मक समाजमा हुने पूर्वाग्रह हटाएर किम जू एलाई सजिलो बनाइदिन पनि त्यसो गरिएको हुन सक्छ। सन् २०१३ मा किम जू‍बारे पहिलो पटक चर्चा गरिएको थियो। त्यति बेला भूतपूर्व अमेरिकी बास्केटबल खेलाडी डेनिस रड्मनले उत्तर कोरियाको भ्रमण गरेका थिए। रड्मनले किम परिवारसँग समुद्रनजिकै समय व्यतीत गरेको र उनीहरूको बच्चा बोकेको जनाएका थिए। किम आफ्नो परिवारबारे गोप्यता राख्न खोज्छन्। विवाह गरेको केही समयसम्म पनि उनले आफ्नी पत्नी रि सोल जूबारे कुनै जानकारी दिएका थिएनन्।

    BBC

  • इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु

    इजरायली हमलामा अहिलेसम्म साढे २२ हजारको मृत्यु

    काठमाडौं । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्।

    गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् । यसैबीच इजरायली सेनाले शुक्रबार “मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल(सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गरेको थियो ।

  • टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

    टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा हुनेछ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् ।

    समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई-दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

    यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी-२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ । गत कात्तिकमा काठमाडौंमा भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

  • उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

    उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।

    आफूले विश्वविद्यालयको सुधारका निम्ति खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गनुपर्ने उल्लेख थियो। जसको चौतर्फि विरोध भएको थियो।

  • पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

    पशुपतिको आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ ।

    कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् ।

    शुक्रबार अत्यन्त जरुरी सूचना भन्दै कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जारी गरेको सूचनामा भनिएको छ, ‘बुढासुब्बा डिजिटल प्रा. लि. ले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको वागमति नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’

  • पूर्वराजासँग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेटवार्ता

    पूर्वराजासँग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेटवार्ता

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु भैरहवा पुगेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा.धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन्।

    पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ। भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन। पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवामा छन्।

  • भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

    भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

    भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

  • गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

    गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

    काठमाडौं । अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई पछिपार्दै अडानी फेरि भारत र एशियाकै धनी व्यक्ति बनेका हुन् ।

    ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार गएको २४ घण्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अडानीले अम्बानीलाई उछिनेका हुन् । शुक्रबार उनको नेटवर्थ ९७ अर्ब ६० करोड डलर पुगेको छ ।

    बिहीबार अडानी मा १४ औं स्थानमा रहेका उनी शुक्रबार अम्बानीलाई उछिनेर १२ औं स्थानमा उक्लेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए ।

    अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको सेयरमा व्यापक गिरावट आउँदा अडानी अम्बानीभन्दा पछि परेका थिए । उक्त रिपोर्ट सार्वजनिकपछि अडानी समूहको पूँजीकरण झन्डै साढे ३ खर्ब भारुले घटेको थियो ।

  • राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

    राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जाँदै छन् । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए । राष्ट्रपति पौडेल आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

  • नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

    नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

    काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु रुस जान पाउने छैनन् । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको बताएको छ ।

    ‘हाल रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिक रुसी सेनामा भर्ना भई युद्धमा दुःखद् निधन भएका समाचार विभिन्न समाचारपत्रमा आइरहेको सन्दर्भमा,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्ययन तथा छानबिनसमेत भइरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिक रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’ यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासले पनि यूएईबाट रुसको यात्रा गर्न दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) चाहिने जनाएको छ ।

    रुसी सेनामा भर्ना हुन गएका मध्ये ठूलो संख्या यूएईमा कार्यरत नेपाली रहेको पुष्टि भएको छ । अहिले मारिएका अधिकांश नेपाली यूएईको सुरक्षा गार्डदेखि बाइक राइडरसम्म छन् । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति र पेसा व्यवसायमा संलग्न भएका बाहेक यूएईमा बसोबास गर्ने नेपालीले रुस भ्रमण गर्नुपरेमा यस दूतावासबाट एनओसी लिएर मात्रै यात्रा गर्नुहुन नेपाल सरकारको निर्णयअनुसार सबैमा अपिल गरिन्छ,’ बिहीबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्ने नेपालीको संख्या बढेपछि सरकारले श्रम स्वीकृतिमा रोक लगाएको बताइएको छ । युक्रेनी सेनामा समेत नेपालीको संलग्नता हुने सम्भावना बढेपछि युक्रेनसमेत जान रोक लगाइएको छ । विभागले रुस जानका लागि मंसिरमा ४० जनालाई श्रम स्वीकृति दिएको थियो । विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १७ महिनामा ६ सय ३६ नेपाली रुस गएका छन् ।

    सबैभन्दा बढी पछिल्लो ५ महिनामा ३ सय ४४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ नेपाली रुस गएका छन् । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।

    रुस र युक्रेनबीच २ वर्षदेखि करिब १७ सय किलोमिटर फ्रन्टलाइन (सीमाक्षेत्र) मा युद्ध चर्किरहेको छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । रुसले सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

    रुसी सेनामा भर्ती हुनेमा अधिकांश पूर्वनेपाली सेना, पूर्वप्रहरी, पूर्वमाओवादी लडाकु छन् । रुसी सेनामा भर्ती भएका नेपालीले कम्तीमा ७ सय नेपाली भर्ना भइसकेको दाबी गरेका छन् । तर, सरकारले भने दुई सय नेपाली मात्र रुसी सेनामा भर्ना भएको दाबी गर्दै आएको छ ।

    केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको जानकारीमा दुई सय नेपाली रहेको बताएका थिए । विभिन्न प्रलोभनमा परेर रुसी सेनामा भर्ना भएका नेपालीमध्ये १० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । सय जना सम्पर्कविहीन छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

  • ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम ३.७ डिग्रिमा झरेको छ । आज यो सिजनकै सबैभन्दा चिसो दिन समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा हिँजो ५ डिग्रि तापक्रम रहेको थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेको छ ।

    यसले अझै चिसो बढाउने देखिएको छ । आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना भने छैन ।

  • त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

    त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो। उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ।

    दरखास्त दिँदा बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना बुझाउनुपर्ने छ। त्रिविमा कात्तिकदेखि उपकुलपति रिक्त छ। डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो। रिक्त रहेको २ महिनापछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सुरू भएको हो। आवेदन परेकामध्येबाट समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले त्रिविको उपकुलपति नियुक्त गर्नेछ।

  • पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

    पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनताले पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको बताए ।
    पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो ।

    कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।

  • प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव जयशंकरबीच केहीबेर ‘वान अन वान’ समेत कुराकानी भएको थियो । उनले भने, ‘त्यो भेटमा पनि दुई देशको सम्बन्ध विस्तार र सहमति तथा समझदारीहरु कार्यान्वयनकै विषयमा कुराकानी भएको छ ।’

  • मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी कस्तो छ ?

    मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी कस्तो छ ?

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको दावि सरकारी अधिकारी्हरुले गरेका छन् । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ। यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ। सिनियर डिभिजनल इन्जिनियर कुँवरले भने, ‘अबका बाँकी काम केही कठिन रहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ।’

    उनले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए। सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौंवासीलाई पानी पुर्‍याउने बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौंमा पानी लाने गरी मरमतको काम भइरहेको बताए।

    अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो। अहिले ४५ कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए।

    गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो। अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ। विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरूपमा ल्याउने गरिएको छ। रासस

  • इरानमा शक्तिशाली विष्फोट, झण्डै एक सय मारिए

    इरानमा शक्तिशाली विष्फोट, झण्डै एक सय मारिए

    काठमाडौं । इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा १०० जना भन्दा बढी मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानको राष्ट्रिय प्रसारकले अन्य कैयौँ घाइते भएको जनाएको छ। सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल(जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो। केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती विस्फोटहरू बमका कारण भएको जनाएका छन्।

    इरानको सरकारी प्रसारकले उद्धृत गरेका केरमन प्रान्तका उप-गभर्नरले उक्त हमला आतङ्कवादी आक्रमणका कारण भएको बताएका छन्।
    भिडिओहरूमा सडकहरूमा शव र एम्बुलेन्सतर्फ मानिसहरू दौडिरहेका देखिन्छ। कसले उक्त विस्फोट गराएको हो भन्ने यकिन भएको छैन र कुनै पनि समूहले तत्कालै त्यसको जिम्मा लिएको छैन। तर पछिल्ला वर्षहरूमा इस्लामिक स्टेट र अन्य सुन्नी जिहादी समूहहरूले उक्त देशका शिया मस्जिदहरूमा घातक आक्रमण गरेको बताएका छन्।

    स्थानीय अधिकारीहरूले रिमोटबाट विस्फोट गराइएको बताएका छन्। सामाजिक सञ्जालहरूमा राखिएका भिडिओ फुटेजमा सुलेमानीको मृत्युको चौथो स्मृतिसभामा सहभागी हुन सयौँ इरानीहरू कब्रिस्तानतर्फ गइरहेको देखिन्छ। सुलेमानीको चिहानमा भने क्षति नपुगेको भिडिओहरूमा देखिन्छ।

    सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिएका थिए । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सुलेमानी मारिएका थिए। सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा उनको ज्यान गएको थियो। सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो।

    रिभोलुशनरी गार्ड्सको विदेशमा कारबाही गर्ने शाखा क्विड फोर्सका कमाण्डरको रूपमा उनी उक्त क्षेत्रभरि इरानी नीति लागु गर्ने एक प्रमुख व्यक्ति थिए। उनी क्विड फोर्सका गोप्य अभियानहरू चलाउने र उसका सहयोगी सरकार तथा हमास र हिजबुल्लाहलगायत सशस्त्र समूहहरूलाई सहयोग गर्ने कार्यमा क्रियाशील रहेको बताइन्थ्यो।

    उनले ती समूहहरूलाई रकम, अस्त्र, गोप्य जानकारी र अन्य खाले सहयोग गर्ने गर्थे। सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारी भनेका थिए।

    bbc

  • जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

    जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

    काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउने भारतीय विदेशमन्त्री एस जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई आजै भेट्ने छन् । काठमाडौंस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार जयशंकर आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्ने छन् ।

    त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डसँग मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा भेट्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ । बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।

    शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने छन् । सोही दिन १२ बजेपछि उनी नयाँदिल्ली फर्किनेछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

  • राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

    राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज बस्ने भएको छ । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो ।

    सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुंगो नलागेपछि आ-आफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु फेरि बैठक बस्न लागेका हुन् ।

    राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् । कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुँदै छ ।