Category: समाचार

  • समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा

    समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ ।

    स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति रहेको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, वेगेन्द्रजंग वर्मशाखा मुख्य व्यक्ति रहेको न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत लगायत छन् । पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले र न्यू भेरी इन्जिनियरिङ वर्कसपलाई कुमाख गाउँपालिका सल्यानले कालोसूचीमा राखिदिन सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेका छन् ।

    यसैगरी नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा राख्न गरेको सिफारिसको आधारमा आराभाली इन्प्रmापावर इण्डियालाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ । यो कम्पनीको मुख्य व्यक्ति नयाँदिल्लीका राकेश जोली हुन् भने नेपालमा कम्पनीको आधिकारिक व्यक्ति भुषण थापा छन् । यसैगरी प्रेमकृष्ण श्रेष्ठ मुख्य व्यक्ति रहेको प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं र श्यामबहादुर जर्गामगर मुख्य व्यक्ति रहेको कोशी निर्माण सेवा काठमाडौंसँग पनि सात दिने स्पष्टीकरण माग गरिएको छ । प्रनिश इन्टरनेशनल प्रालिलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्शालले र कोशी निर्माण सेवालाई सुनकोशी गाउँपालिका सिन्धुलीले कालोसूचीमा राख्न सिफारिस गरेका छन् ।

    सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा जगदिशचन्द्र अग्रवाल मुख्य व्यक्ति रहेको दिनेशचन्द्र आर। अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड र जेभी शंकरमाली निर्माण सेवासँग पनि स्पष्टीकरण माग गरिएको छ । त्यसको आधिकारिक व्यक्ति दानबहादुर कार्की हुन् ।

    राजकुमार रावत मुख्य व्यक्ति भएको मामा भान्जा निर्माण सेवा उदयपुर, दशरथ वाइवा मुख्य व्यक्ति भएको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र प्रेम प्रसाद अधिकारी मुख्य व्यक्ति भएको पाँचखाल कन्सट्रक्सन प्रालि नयाँबानेश्वर काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ ।

    मामा भान्जा निर्माण सेवालाई सूर्योदय नगरपालिका इलामले, सत्यस्वरी कन्स्ट्रक्सनलाई इन्द्रसरोवर गाउँपालिका मकवानपुरले र पाँचखाल कन्सट्रक्सन प्रालिलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धुलिखेलले कालोसूचीमा राख्न सिफारिस गरेका छन् । यदि यी कम्पनी कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनि निकायका कुनै पनि कारबाहीमा सहभागी हुन पाउँदैनन् ।

  • भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

    भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो । बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् ।

    संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

    जयशंकरको भ्रमणका क्रममा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

    भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् । नेपालमा रहँदा जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने छन् ।

    जयशंकर नेतृत्वको भारतीय टोली परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछ । संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।

  • विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

    विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोक्दा उडान अवरुद्ध बन्न पुगेको छ । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए । कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा परेका थिए ।

    करिब तीन साता अघि अध्यागमन अधिकृत नुरबीर खड्का सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाउने गिरोहसँगको संलग्नताको आरोप पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेपछि नै कर्मचारीहरु असन्तुष्ट थिए । त्यसपछि उनीहरुले असल मनसायले गरेको काममा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्दै आएका थिए ।

    यसबारे अध्यागमनका कर्मचारीहरुले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख गोगनबहादुर हमाललाई ज्ञापन पत्र दिएका थिए । कर्मचारीहरुको त्यही ज्ञापन पत्र र गुनासोबारे जानकारी गराउन बुधबार महानिर्देशक तामाङ र कार्यालय प्रमुख हमाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार गएका थिए ।

    तामङ र हमाल गृहमन्त्रीसँग कुराकानी गर्न गएको समयमा यता विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीले काम रोकेका थिए । विमानस्थल अध्यागमन कार्यालयका उपसचिव झंकनाथ ढकालले असल मनसायले गरेको काममा अपराधी सरह व्यवहार भएको भन्दै कर्मचारीहरुले ज्ञापन पत्र दिएको र यस्तै अवस्थामा काम गर्न नसक्ने कुरा उल्लेख गरेको बताए । यही पृष्ठभूमिमा बुधबार अध्यागमनको कामै अवरोध गर्ने गतिविधि भएको हो ।

  • विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री

    विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बता‍एका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् ।

    नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ,’ उनले थपे, ‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ । त्यहाँको अवस्था देख्दा लाग्यो– मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला र ?’

    प्रधानमन्त्री दाहालले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए । उनले भने, ‘विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ । त्यसैले यसपटक श्रृंखलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोही अनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त बजेट व्यवस्था गर्ने विषयमा मेरो जोड छ ।’

  • लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय

    लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय

    काठमाडौं । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए ।

    नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ । प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उनको भनाइ छ ।

    पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो ।’

    बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो । त्यसपश्चात उनीहरुले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताए ।

    नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था ९ना० का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताए । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उनको भनाइ छ ।

    नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ । ‘नेपालमा प्याराग्लाडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्,’ उनले भने । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

  • पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो

    पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो

    काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएको विभागले निकालेको सूचनामा उल्लेख छ । यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।

    विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न शुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरेको जनाएको छ ।

  • सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान

    सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो । साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ ।

    मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको जनाएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ ।

    सङक्रमण देखिनेहरुको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने गरिएको छ । नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइन्छ । जेएन वान भारतसहित चीन, अमेरिका, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा फैलिइरहेको छ । तर नेपालमा अहिलेसम्म नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भैसकेको छैन ।

    डब्ल्यूएचओले हिउँदयाममा कोरोनासहित अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिँदै आएको छ । कोरोनाभाइरस र श्वासप्रश्वाससम्बन्धी अरु सङ्क्रमणबाट जोगिन भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाउन, हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्न, बेलाबेला साबुन पानीले हात धुन, कोभिडको लक्षण देखिए परीक्षण गराउन डब्लूएचओको सुझाव छ ।

  • भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने

    भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने

    काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् । संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।

    छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूले नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए । भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै उनीहरूले सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिए ।

    बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाइ रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो । मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा। भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरतराज पौड्याल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो ।

  • जापानको हानेदा विमानस्थल बन्द

    जापानको हानेदा विमानस्थल बन्द

    काठमाडौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रद्द भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको मृत्यु भएको छ ।

    अन्य ३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने सकुशल उद्धार गरिएको थियो । यो घटनापछि मंगलबारका लागि पूर्वनिर्धारित उडानहरु स्थगित भएका जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । हानेदा एयरपोर्टबाट हुने करिब एक सय उडानहरु स्थगित गरी बुधबारका लागि सारिएको छ । यसबाट करिब १० हजार यात्रुहरु प्रभावित भएका छन् ।

    यसैगरी जापान एयरलाइन्सले पनि आफ्ना ४४ उडानहरु स्थगित गरेको एनएचकेले जनाएको छ । उडान स्थगित हुँदा प्रभावित भएका यात्रुहरुको सुविधाका लागि सेन्ट्रल जापान रेलवे कम्पनीले बुधबारका लागि थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । कम्पनीले टोक्योदेखि शिन-ओसाकासम्मका लागि थप चार वटा बुलेट ट्रेन सञ्चालन गरेको छ ।

  • एक वर्षमा ९० हजार विदेशीले घुमे मुस्ताङ

    एक वर्षमा ९० हजार विदेशीले घुमे मुस्ताङ

    काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।

    एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार ४२५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए । ‘राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो,’ उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।’

    सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा २ हजार ३०० र २०२० मा २ हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए ।

    सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन् । १० हजार ७३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए।

    कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि ५०० डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति रु १ हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु ३ हजार तोकिएको छ ।

    उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

    म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

    समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । रासस

  • रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

    रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

    काठमाडौं । रुसी सेनामा भर्ती भएका तप तीन युवाको मृत्यु भएको छ । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका जनाइएको छ ।

    रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ ।

  • डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?

    डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?

    काठमाडौं । डेनमार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गरेकी छिन् । नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले आफू देशको शासनबाट हट्ने बताएकी हुन्। उनी जनवरी १४ मा राजगद्दीबाट हट्ने छिन्। त्यो दिन उनले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ। “म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उनले आफ्नो घोषणामा भनेकी छन्।

    महारानी मार्ग्रेटा ८३ वर्षकी भइन्। अहिले विश्वमा राजगद्दीमा भएकी उनी एकमात्र महिला हुन् भने राजतन्त्र भएका युरोपेली देशमा लामो समयदेखि सत्तासीन व्यक्ति पनि हुन्। उनले आफ्ना बुबा फ्रेडेरिक नवमको मृत्यु भएपछि सन् १९७२ मा राज्यारोहण गरेकी थिइन्। सन् २०२३ को सुरुतिर ढाडको शल्यक्रिया गरेपछि केही समय सोचेको र राजगद्दी परित्याग गर्ने निर्णय गरेको बताइन्।

    “शल्यक्रियाले स्वभाविक रूपमा भविष्यबारे सोच्न दियो-अर्को पुस्तालाई उत्तरदायित्व हस्तान्तरण गर्नुपर्ने समय त आइपुगेको हैन,” उनले भनिन्। मैले यो नै उपयुक्त समय भएको ठानेर निर्णय लिएकी छु,’ उनले डेन्मार्कका जनतालाई धन्यवाद दिँदै भनिन्।

    प्रधानमन्त्री मेड फ्रेडरिक्सनले उनको सेवाका लागि महारानीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले एउटा वक्तव्यमा महारानीले आजीवन गरेको समर्पण र राज्यका लागि गरेका अथक प्रयासका लागि कृतज्ञता ज्ञापन गरेका छन्। “एक हजार वर्षभन्दा बढी समयदेखि राजप्रतिनिधि ृराजा वा रानीे को कर्तव्य र पद हस्तान्तरण हुँदै आएको भए पनि राजगद्दी हस्तान्तरणको समय आएको थाहा पाउन सहज छैन,” प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ।

    ब्रिटिश वा अरू राजपरम्परामा जस्तो डेन्मार्कमा राज्यारोहणको औपचारिक समारोह हुँदैन। कोपन्हेगनस्थित अमेलिअन्बोर राजदरबारले उक्त दिन नयाँ शासकले राज्यारोहण गरेको घोषणा मात्र गर्छ। महारानी मार्गरेटाका उत्तराधिकारी उनका छोरा फ्रेडरिक हुन्। फ्रेडरिक डेन्मार्कका राजा तथा ग्रीनल्यान्ड र फेअरो आइलन्ड्सका राष्ट्रप्रमुख बन्ने छन्। डेन्मार्कमा संवैधानिक राजतन्त्र छ।

  • एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक

    एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक

    काठमाडौं \रासस। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।

    एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएको जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकको मुस्ताङमा आगमन बढेको छ ।


    सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुर्ई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए ।

    सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार एक सय ६६ जना तेस्रो मुलुकका छन् । दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए ।

    कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ ।

    उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

    म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

  • काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती

    काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती

    काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।


    उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो छ । घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने बताइएको छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने सम्भावना छ । आज राति पूर्वी पहाडी जिल्लामा मौसम आंशिक बदली हुने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

  • सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?

    सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?

    काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्। मिस्टर बिस्ट सन् २०२३ मा टि सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ ।

    उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् । विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ । उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेका बताएका छन् ।

    भिडियोमा उनी डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको देखिन्छ । नेपाल आइपुगेको गोप्य कारण भने नयाँ वर्ष २०२४ मा मात्र खुलाउने उनको भनाइ छ । यद्यपि, उनको नेपालको ‘मिसन सेक्रेट’ परोपकारी कार्यबाट प्रेरित रहेको हुनसक्ने अनुमान छ ।

  • नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    काठमाडौं । नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ।

    पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो। सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउँदा केही क्षति भएको छ। समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।

    जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोतो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोतो क्षेत्रमा पुगेको छ। अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्। ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ।

    भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन। जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ। जापान सरकारका प्रवक्ता योशिमासा हयाशीले उक्त क्षेत्रका बासिन्दालाई थप भूकम्पका लागि तयार रहन चेतावनी दिएका छन्।

    एनएचकेका एक प्रस्तोताले प्रभावित क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरे। टेलिभिजनहरूले मानिसहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरिएका सूचनाहरू प्रसारण गरिरहेका छन्। स्थानीय बासिन्दाहरूले भूकम्पपछिको अवस्थाबारे विभिन्न स्थानबाट भिडिओहरू सामाजिक सञ्जालमा राखिरहेको देखिएको छ।

    उक्त देशको सबैभन्दा ठूलो परमाणु ऊर्जा सञ्चालन केन्द्र कान्साई इलेक्ट्रिकले प्रभावित क्षेत्रका आफ्ना केन्द्रहरूमा “अस्वाभाविक गतिविधिहरू” नदेखिएको जनाएको छ। दक्षिण कोरियाको मौसम विज्ञानसम्बन्धी निकायले उक्त सुनामीको छाल त्यो देशको पूर्वी तटमा स्थानीय समयानुसार बेलुका साढे छ बजेदेखि सवा सात बजेसम्ममा पुग्न सक्ने जनाएको छ।

  • बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति

    बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति

    काठमाडौं । बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज सोमवार मृतक परिवारका एक–एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो ।

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत उपलब्ध गराउन पहल गर्ने, दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने उल्लेख छ । शव सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था पनि गृह मन्त्रालयले नै गर्ने भएको छ ।

    गत शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

  • अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

    अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

    काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो आगमन सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो । सन् २०२३ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नोपल आएका थिए । सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक आएका थिए । यस वर्ष चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको आगमन १ लाख ६९ हजार ५४३ रहेको थियो ।

    नेपालको पर्यटन इतिहासमा १० लाख माथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् २०१८ र सन् २०१९ मा १० लाख माथि पर्यटक भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए ।

  • ‘न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो, क्षति अवस्थामा भर पर्छ’ – सशस्त्र प्रहरी बल

    काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले कुनै पनि घटनामा न्यूनतम बल प्रयोग गर्नु आफूहरूको सिद्धान्त भएको बताएका छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले प्रहरी सकभर संयमित हुने गरेको स्पष्ट पारे ।

    “न्यूनतम बल प्रयोग गर्नु हाम्रो सिद्धान्त हो । कहिलेकाहीँ न्यूनतम क्षति र अधिकतम क्षति सिचुएसन (अवस्था)मा भर पर्छ,” बालकुमारी घटनाबारे उनले भने, “ईपीएस, युवा, अदालत अनि सुरक्षाको कुरा आउँछ । हामीले क्षतिको न्यूनीकरण गर्न खोजेकै छौँ ।”

    गएको शुक्रबार ललितपुरको बालकुमारीमा तनावपछि प्रहरीले गोली चलाएको थियो । घटनामा दुई युवकको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

  • सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

    सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

    काठमाडौं । बुटवल–पोखरा सडक खण्डमा रहेको सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

    पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।

    यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ।

    सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन ।

  • निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउन पुगेका सीके राउतसहित पक्राउ

    निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउन पुगेका सीके राउतसहित पक्राउ

    काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् ।

    ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

    माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै

    आज अंग्रेजी नयाँ वर्ष, विश्वभर मनाइंदै

    काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

    इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

  • कांग्रेसले आज एकता दिवस मनाउँदै

    कांग्रेसले आज एकता दिवस मनाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ ।

    मिलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने निम्तो नगरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा संविधान लेखनमा संलग्न राजनीतिक दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको पौडेलले बताए । यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो । साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको जानकारी दिए । ‘राजनीतिक दल विच केही मुद्दामा प्रतिस्पर्धा हुन्छ । केही कुरामा राष्ट्रिय दृष्टिकोण चाहिन्छ,’ महामन्त्री गगन थापाले भने, ‘संविधान बनायौं, केही कुरा अड्किएर बसेका छन् । संविधान कार्यान्वयनमा अड्किएका विषयलाई टुंग्याउन को सत्तापक्ष र को प्रतिपक्षले अर्थ राख्दैन ।’

    २०१७ साल पुस १ गतेको शाही कुपछि जेलमा परे कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जुलमुक्त भएलगत्तै भारत निर्वासित भएका थिए । भारतमा आठ वर्ष बिताएपछि राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने भन्दै बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गर्दछ ।

  • सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

    सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।

  • बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु

    बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु

    काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

    उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले बताएका छन् ।

  • एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

    एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी

    काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मुत्युको संख्या बढेको आइएफजेले जनाएको छ ।

    पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो तर यस वर्षको घातक तथ्याङ्कहरूले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाको सवाललाई नराम्रो रूपमा चित्रण गरेको आइएफजेका महासचिव महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन् ।

    यस वर्ष मारिएका पत्रकारहरुमा गाजा द्वन्द्वमा मारिने ६८ प्रतिशत छन् । गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार मारिए । सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् । एसिया प्यासिफिक क्षेत्रमा भारतमा ३, अफगानिस्तानमा २ , फिलिपिन्समा २, बंगलादेशमा २, पाकिस्तानमा २ र चीन १ पत्रकार मारिएका छन् ।

    उत्तर र दक्षिण अमेरिकामा गरी तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरन र एक अमेरिकी पत्रकार मारिए । आइएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई तुरुन्तै अपनाउन आह्वान गरेको छ ।

  • भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर

    भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर

    काठमाडौं । भारत छत्तीसगढको दुर्ग जिल्लाको एउटा फास्ट-ट्र्याक कोर्टले पत्नीलाई अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पारेको भनेर पतिलाई कठोर श्रमसहित नौ वर्षको कारावास र दश हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यसबाहेक पत्नीलाई कुटपिट गरेको आरोपमा एक वर्षको थप कैद र एक हजार भारतीय रुपैयाँ जरिवाना पनि पतिले तिर्नुपर्नेछ।

    भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन कृत्यबारे बहस भइरहेका बेला यो फैसला आएको हो। यसै साता सोमवार राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय न्याय संहितासमेत तीन विधेयकमाथि आफ्नो मन्जुरी दिएकी छन्। नयाँ भारतीय न्याय संहितामा अप्राकृतिक यौन कृत्यको धारा ३७७ लाई हटाएको छ।

    दुर्गको अदालतको फैसलापछि निमिष अग्रवाललाई जेल हालिएको छ। पति र पीडित महिला दुवैका परिवार ठूल्ठूला कारोबारसँग जोडिएका छन्। फैसलापछि पीडित महिलाले भनिन्, ूमलाई हर तरिकाले प्रताडित गरियो। म मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा प्रताडित भइरहेँ। म लाजका कारण अप्राकृतिक यौन सम्बन्धलाई उजागर नगर्ने अरू महिलाहरूलाई पनि आफ्नो हकका लागि आवाज उठाउन आग्रह गर्छु।

    पीडित महिलाले भनिन्, चाहे अप्राकृतिक यौन सम्बन्धको मामिला होस् या कुटपिटको या दाइजो प्रताडनाको, कानुनले तपाईँलाई मद्दत गर्छ ।
    उनले भनिन्, म महिलाहरूलाई भन्न चाहन्छु कि तपाईँको मर्माहत हुनुभएको छ या शरीरमा चोट पुगेको होस्ऽ आफ्नो आवाज उठाउनुपर्छ। समाज र कानुन अब धेरै जागरुक भइसकेका छन्। पीडित महिलाका बुबाले बीबीसीसँगको कुराकानीमा भनेका छन् पछिल्ला केही वर्ष उनको परिवारले जुन पीडा भोगेको छन्, त्यसबारे कसैले सोच्न पनि सक्दैन।

    पीडितका पिताले बीबीसीसँग भने, अदालतले सुनाएको फैसलाबारे म के टिप्पणी गरूँरु यसलाई त मैले सजाय या न्याय पनि भन्न सक्दिनँ। म ७० वर्ष माथिको छु। पूरै परिवारले यतिका वर्ष जे भोग्यो, त्यसको अगाडि अदालतको फैसलाबारे म के भनूँ । पीडितका वकिल निरज चौबेका अनुसार यो मामिलामा पीडितका सासूससुरालाई पनि दश महिनाको सजाय सुनाइएको छ।

    पीडितकी नन्दलाई पनि छ महिनाको सजाय सुनाइएको छ। अदालतमा दायर मुद्दाका अनुसार दुर्गका कारोबारी निमिष अग्रवालको बिहे १६ ज्यानुअरी २००७ मा दुर्गकै एक व्यापारीकी छोरीसँग भएको थियो। बिहे छिनिएपछि निमिष र उनका पिताले पैसा अभाव रहेको भन्दै पीडितसँग माग्न सुरु गरेका थिए। बिहेपछि पैसा माग्ने काम थप बढ्यो।


    पीडितको दाबी छ कि उनका बाबुले बिहे छिनिएपछि अलगअलग समयमा तीन करोड पाँच लाख रुपैयाँ रकम बुझाए। तर निमिष र उनका परिवार थप १० करोड रुपैयाँ र एक बीएमडबल्यू कारको मागमा अडिइरहे। त्यसपछि पीडितमाथि कुटपिट सुरु भयो। त्यसमा निमिष अग्रवालका पिता, माता र बहिनी पनि सामेल हुन्थे। पीडितको आरोप छ कि सन् २०११ मा जब उनी गर्भवती भएको र गर्भमा छोरी भएको थाहा भयो, उनीहरूले गर्भपतन गर्न भने। तर पीडितले मानिनन्। पीडितका अनुसार छोरी जन्मेपछि कुटपिटको थप बहाना मिल्यो।

    त्यसपछि पतिले पीडितसँग अप्राकृतिक यौन सम्पर्क थालेको आरोप लगाइएको छ। त्यस क्रममा पतिले पोर्न फिल्म हेर्ने र पीडितसँग त्यस्तै भिडिओ पनि बनाउने पीडितको भनाइ छ। मे २०१६ मा पीडित महिलाले पति, सासू-ससुरा र नन्द विरुद्ध प्रहरीमा निवेदन हालिन्। प्रहरी र अदालती कारबाहीका साथमा सामाजिक बैठकहरूमा पनि यो मामिला सुल्झाउन कोसिसहरू भए तर ती विफल रहे। तर निमिष अग्रवाल र उनका परिवारका वकिलहरूले ती महिलाका सबै आरोप मनगढन्ते र घर पक्षलाई प्रताडित गर्ने उद्देश्यले गरिएको बताए। तर अदालतले पीडितको पक्षमा फैसला दियो।


    स्थानीय अदालतपछि यो मामिला मामला उच्च र सर्वोच्च अदालतसम्म पुग्यो। अन्ततः गत शनिवार दुर्गको फास्ट-ट्र्याकु अदालतले बयान र सबुतहरूका आधारमा आफ्नो फैसला सुनायो। अदालतले आफ्नै फैसलामा अपराधको प्रकृति हेरेर निमिष अग्रवाललाई भारतीय दण्ड संहिता १८६० को धारा ३७७को आधारमा कठोर श्रमसहित नौ वर्षको कैदको सजाय सुनाएको छ र १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ।

    जानकारहरू यो फैसला असाध्यै महत्त्वपूर्ण रहेको बताउँछन्। यस्ता मुद्दाबाट समाजमा एक प्रकारको बुझाइ पनि विकास हुन सहयोग पुग्ने ठानिन्छ किनभने यस्ता विषयमा निकै कम चर्चा हुने गर्छ। छत्तीसगढ उच्च अदालतका वकिल दिवेश कुमार भन्छन्, यो फैसला यस्तो समयमा आएको छ, जब भारतमा म्यारिटल रेप अर्थात् पत्नीसँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाउने कसुरलाई अपराध बनाउनुपर्छ भन्नेबारेका निवेदनहरू सर्वोच्च अदालतमा परेका छन्।

    भारतीय दण्ड संहिता १८६० को धारा ३७५ मा बलात्कारको परिभाषा छ। धारा ३७६ मा यो अपराधको सजायको प्रावधान छ। यसै गरी धारा ३७७ मा अप्राकृतिक यौन कृत्यबारे लेखिएको छ। तर उक्त कानुनका अनुसार कोही पुरुषले १५ वर्ष वा त्यसभन्दा माथि उमेर रहेकी आफ्नी श्रीमतीका साथ बिनासहमति पनि शारीरिक सम्बन्ध राखेमा त्यो बलात्कार मानिँदैन। तर सन् २०१७ मा सर्वोच्च अदालतले महिलाको उमेर बढाएर १५ बाट १७ पुर्‍याएको थियो। भारतीय दण्ड संहिताको धारा ३७५ मा रहेको सो व्यवस्थामाथि आपत्ति जनाउँदै निवेदनहरू दायर गरिएका छन्।

    BBC

  • ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

    ग्राउन्ड ह्यान्डलिङको विषयमा विवाद नगर्न प्राधिकरणका कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए । मन्त्री किरातीले देशलाई वायु सेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउन्ड ह्यान्डलिङ पनि चाहिने स्पष्ट पारे । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किरातीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिए ।


    उनले भने, ‘वायु सेवा निगमको बारेमा विना प्रसङ्ग किन बढी कुरा उठ्छन् ? के तपाईँ (कर्मचारी) हरू नीति निर्माता हो ? पटक–पटक तपाईँहरू किन वायु सेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? निगमले ग्राउन्ड ह्यान्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईँहरू ठूलो–ठूलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरूको सरोकारको कुरा हो । वायु सेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनका निम्ति ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ ।’

    मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत आक्रोशित भए । उनले कर्मचारीले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यङ्ग्य गरे । उनले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारी हिँड्नुपर्ने बताए ।

  • सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध

    सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध

    काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् ।

    सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको सिंहले बताए । तर सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखकै कामका लागि मैतीदेवी पुगेर फर्किएको र उक्त गाडीसँग पास रहेको बताएका छन् ।

  • गाजामा फैलन थाल्यो संक्रामक रोग

    गाजामा फैलन थाल्यो संक्रामक रोग

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । राष्ट्रसङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

    राष्ट्रसङ्घका अनुसार झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् । तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाको रहेको सिन्ह्वाले जनाएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेको समाचार संस्था ओसीएचएले जनाएको छ ।